प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न

२०७९-१२-१५

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।

नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । 

सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । 

नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।



सम्बन्धित समाचार
एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर
२०८१-०४-१०

काठमाडौं, Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै उहाँहरूले समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशहरू मध्ये SLTD (Stolen and Lost Travel Document) Database हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेशलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा WISDM (INTERPOL Web Services For Data Management) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो । साथै WISDM लाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज संचालन गर्दा राहदानी विभागको सिस्टममा एकिकृत गर्न सकिने भनि राहदानी विभागद्वारा भएको सुझाव अनुरूप नै यो समझदारी भएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले  समझदारीको महत्व र औचित्यताको बारेमा आफ्नो विचार सहितको मन्तव्य व्यक्त गर्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।   

सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहको बिदाइ
२०८१-०४-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको चर्चा गर्नुभयो । सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदको कारण साउन १० गतेबाट सेवानिवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

आन्तरिक तथा बाह्‍य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०३-२८

कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार कास्कीमा आयोजित कार्यक्रममा ‘आन्तरिक तथा बाह्‍य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम' सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि कुटि रिसोर्ट एण्ड स्पा पोखरामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गरी एक अर्काको असल अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखा तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न
२०८१-०३-२६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना, २०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रूपमा बढ्दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसले व्यक्ति तथा परिवारलाई मात्र नभई समग्र समाज तथा देशलाई नै विविध दृष्टिकोणबाट असर पार्ने गरेको बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमा स्थिति अझ भयावह हुने तथ्यलाई मनन गरी देशव्यापी रूपमा शोध अध्ययन गरी कार्ययोजना समेत तयार भएको बताउनुभयो । आत्महत्या न्यूनीकरणका क्षेत्रमा भावी रणनीति तर्जुमा तथा कार्यदिशा तय गर्न प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले आत्महत्या न्यूनीकरण तथा रोकथाम नेपाल प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा साझा संयन्त्र बनाएर आगाडि बढ्न जरूरी रहेको बताउनुभयो । आत्महत्या न्यूनीकरणका लागि आवश्यकता अनुसारको रणनीति अवलम्बन गर्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी प्रभावकारी ढंगबाट कार्ययोजना कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शोध अध्ययन प्रतिवेदन तथा कार्ययोजना सार्वजनिकीकरण गर्नुका साथै शोध अध्ययन कार्यमा खटिने विषय विज्ञ तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।कार्यक्रममा गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भूसाल र मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् प्रमुख कनसल्टेन्ट साइक्याट्रिष्ट  डा. अनन्त प्रसाद अधिकारीले प्रतिवेदन र कार्ययोजना सम्बन्धी आ-आफ्नो दृष्टिकोण सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले शोध अध्ययन प्रतिवेदन र कार्ययोजना प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यान्वयन कार्ययोजना र नेपाल प्रहरी कार्ययोजना २०८० मा समावेश रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा देशव्यापी विस्तृत अध्ययन सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागसँगको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ समेत तर्जुमा गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति समेत रहेको थियो । 

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०३-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गर्नुभएकोमा बधाई समेत दिनुभयो । संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट Traffic Police Mirror विमोचन
२०८१-०३-२०

काठमाडौं, ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘Traffic Police Mirror 2024’ विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच उक्त मिररको विमोचन गर्नुभएको हो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदि ट्रेडिङ लगायतका संघ-संस्थाहरूलाई प्रशंसापत्र प्रदान  गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको उक्त मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताउनुभयो ‌।     सो अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई समेटेको बताउनुभयो । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताउनुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायीहरूका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो ।