प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

आठ महिनाको अवधिमा जुवातास खेल्ने १८१७ जना पक्राउ

२०८०-१२-२०

  • A
  • A-
  • A+
Share

काठमाडौं, काठमाडौं ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागी समेत ११ जना गत माघ १५ गते नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ परे । 

यसैगरी भक्तपुर चाँगुनारायणस्थित रुद्राक्ष होटलमा जुवातास खेलिरहेको अवस्थामा होटल संचालक ४१ वर्षीय रेल कुमार तामाङ समेत २० जना नगद ६ लाख ७ हजार ५ सय रूपैयाँ र ६ बुक ताससहित चैत १९ गते राति पक्राउ परे । 

यसैगरी ललितपुर लुभु बस्ने ४७ वर्षीय हरिबोल चौलागाई समेत ११ जना नगद ३ लाख ६४ हजार १ सय २० रूपैयाँ र ६९ बुक ताससहित चैत ३ गते जुवातास खेल्दै गर्दा पक्राउ परे । 

पक्राउ परेका उपरोक्त व्यक्तिहरू जुवातास खेल्ने प्रतिनिधि पात्र मात्र हुन् । चालू आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा जुवातासमा संलग्न १ हजार ८१७ जना पक्राउ परेका छन् । जसमध्ये काठमाडौं उपत्यकाबाट ७७९ जना, कोशी प्रदेशबाट ११५ जना, बागमती प्रदेशबाट ११३ जना, गण्डकी प्रदेशबाट २९९ जना, लुम्बिनी प्रदेशबाट ९४ जना, कर्णाली प्रदेशबाट १०४ जना र सुदूरपश्चिम प्रदेशबाट ३१३ जना रहेका छन् । उक्त अवधिमा उनीहरूको साथबाट २ करोड ६३ लाख ४५ हजार ४१७ रूपैयाँ बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट १ करोड ४१ लाख ४ हजार ३५९ रूपैयाँ, कोशी प्रदेशबाट १७ लाख ८८ हजार ६२५ रूपैयाँ, बागमती प्रदेशबाट २३ लाख ७३ हजार १९४ रूपैयाँ, गण्डकी प्रदेशबाट ३७ लाख ३४ हजार ७५९ रूपैयाँ, लुम्बिनी प्रदेशबाट ७ लाख ३७ हजार ४७२ रूपैयाँ, कर्णाली प्रदेशबाट ९ लाख ६४ हजार ७२१ रूपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २६ लाख ४२ हजार २८७ रूपैयाँ बरामद भएको हो । सो अवधिमा जुवातास खेल्नेहरूबाट ५५४ बुक तास, २५० थान कौडा लगायतका सामान बरामद भएको छ । जसमध्ये काठमाडौं उपत्यकाबाट २७९ बुक तास तथा ९८ थान कौडा, कोशी प्रदेशबाट ४४ बुक तास तथा १६ थान कौडा, बागमती प्रदेशबाट २१ बुक तास, ४० थान कौडा, लंगुरबुर्जा तथा जुवा, गण्डकी प्रदेशबाट २९ बुक तास, ९६ थान कौडा, लुडो तथा गोटी, लुम्बिनी प्रदेशबाट ४१ बुक तास, कर्णाली प्रदेशबाट १८ बुक तास र सुदूरपश्चिम प्रदेशबाट १ सय २२ बुक तास बरामद भएको छ । 

जुवातास खेल्ने व्यक्तिहरू सुराकी र विशेष सूचनाको आधारमा पक्राउ पर्ने गरेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “जुवा खेलेको विशेष सूचना प्राप्त हुनासाथ प्रहरी टोली खटिई रित पूर्वक तलासी लिने गर्दछ । रकम हार जित हुने गरी जुवातास खेल्दा समाजमा नकारात्मक असर बढि हुने हुँदा यसलाई कानुनी दायरामा ल्याइएको हो । खासगरी जुवातास चाडपर्वको समयमा बढि खेल्ने गरेको पाइएता पनि प्रहरीले भने यसलाई सदैव प्राथमिकतामा राखी निग्रानी गरिरहेको हुन्छ । जुवातास जन्य सामाजिक विकृतिलाई निर्मूल पार्न सामाजिक एक्यवद्धता आवश्यक रहेको छ । ”     

मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफा अन्तर्गत पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा तीस हजार रूपैयाँसम्म जरिवाना गर्ने कानूनी व्यवस्था रहेको छ । यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रूपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकै पिच्छे थप तीन महिनासम्म कैद र दश हजार रूपैयाँसम्म जरिवाना गर्ने व्यवस्था रहेको छ । साथै जुवा खेल्न प्रयोग भएको साधन र जुवाबाट प्राप्त सम्पूर्ण चलअचल सम्पति जफत हुने कानुनी प्रावधान छ । 

तथ्याङ्क विश्‍लेषण गर्दा चाडवाडको बेला र रातको समयमा बढी जुवातास खेल्ने गरेको पाइन्छ । जुवातासको कारण व्यक्ति, घरपरिवार र समाजमा विकृति निम्तिने गर्छ । यसबाट चोरी, डकैती, कुटपिट र हत्या लगायतका अपराध समेत हुने गरेको देखिन्छ । स्वच्छ, व्यवसायिक एवम् नागरिक केन्द्रित प्रहरी सेवा प्रदान गर्ने नेपाल प्रहरीको दृष्टिकोण अनुरूप समाजका विकृति र विसंगती हटाई अपराध नियन्त्रण गर्न प्रहरी कटिबद्ध छ । यसका लागि सचेतना कार्यक्रम सञ्चालन, रेडियो, टेलिभिजन र सामाजिक संजालबाट समेत जानकारीमूलक सामग्री प्रसारण तथा प्रकाशन गर्ने गरिएको छ । प्रहरी नायव महानिरीक्षक ढकाल भन्नुहुन्छ, “खासगरी जुवातास वा सट्टेबाजी सम्बन्धी कानुनको उद्देश्य सुधारात्मक रहेको पाइन्छ । कानुनको मर्म अनुरूप कार्यान्वयन गरी सामाजिक सद्‍भाव कायम गर्न नेपाल प्रहरी सदैव सचेत छ ।”   


सम्बन्धित समाचार
ट्राफिक नियम उल्लङ्घन तथा जरिवाना भुक्तानी सम्बन्धी प्रणाली प्रभावकारी बन्दै
२०८१-०१-०३

 काठमाडौं, ट्राफिक नियम उल्लङ्घन गरी जफत गरिएका कागजपत्र फिर्ता लिन र जरिवाना तिर्न सेवाग्राहीलाई ट्राफिक कार्यालयसम्म पुग्नुपर्ने झन्झटबाट अधिकांश सेवाग्राही मुक्त भएका छन् । ट्राफिक नियम उल्लङ्घन गर्नेहरूको अभिलेख संकलन गरी कारवाही गर्न ट्राफिक प्रहरीलाई सहज भएको छ । यो सबै सुविधा नेपाल प्रहरीले संचालनमा ल्याएको ट्राफिक नियम उल्लङ्घन र ट्राफिक जरिवाना भुक्तानी सम्बन्धी प्रणाली Traffic Violation Record System (TVRS) का कारण सम्भव भएको हो ।  यस प्रणाली मार्फत ट्राफिक प्रहरीले विभिन्न ट्राफिक नियम उल्लङ्घन गरेबापत जारी गर्ने चिट र कारवाहीको विवरण अभिलेखमा राखिन्छ । कुनै पनि सवारी चालकले गरेका सवारी सम्बन्धी कसूरहरूको अभिलेखका आधारमा कति जरिवाना तिर्नु पर्ने हो यस प्रणालीले स्वचालित रूपमा निर्धारण गर्दछ । पटके कसूरहरूको विवरण पनि यस प्रणालीले आफै हिसाब राख्दछ । टिभिआरएस प्रणालीको प्रभावकारिताबारे नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी कार्ययोजना,२०८० ले व्यवस्था गरेको प्रविधिमैत्री सेवाको संस्थागत विकास गर्ने लक्ष्य अनुरूप आधुनिक प्रविधिको प्रयोग मार्फत प्रहरी सेवालाई थप चुस्त बनाउन पहल गरिएको छ । सो क्रममा टिभिआरएस प्रणालीको थप विस्तार गरिएको छ । हालसम्म ४५ जिल्लाहरूमा यो प्रणाली कार्यान्वयनमा आएको छ । प्रणालीले ट्राफिक जरिवाना असुल गर्न र सेवाग्राहीलाई झन्झटमुक्त सेवा प्रदान गर्न सहजीकरण गर्ने अपेक्षा गरिएको छ ।” टिभिआरएस प्रणाली विसं २०५८ सालमा शुरू भएको हो । समयानुकूल परिमार्जन गर्दै आर्थिक वर्ष २०७६/०७७ बाट हालको अवस्थामा काठमाडौं उपत्यकामा सञ्चालनमा आएको हो । हाल यस प्रणाली देशभरिका ४५ बढी जिल्लाहरूमा सञ्चालनमा रहेको छ । आर्थिक वर्ष २०७६/०७७ देखि हालसम्म ३१ लाख ४७ हजार ९ सय ५३ वटा ट्राफिक नियम उल्लङ्घनका कसूरहरू यस प्रणालीमा दर्ता भएका छन् । जसबाट कूल २ अर्ब ३३ करोड २ लाख २८ हजार ९ सय ६४ रूपैयाँ राजस्व संकलन भएको देखिन आएको छ । प्रणालीको सञ्चालन सँगै सर्वसाधारणले ट्राफिक जरिवाना पारदर्शीरूपमा सहजै तिर्न पाएका छन् । टिभिआरएस प्रणालीको विकास र अनुगमन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी भन्नुहुन्छ, “प्रहरी सेवा प्रवाहमा प्रविधिमैत्री प्रणालीको विकास गर्ने संगठनको नीति अनुरूप सेवाग्राहीको सहजताको लागि यस प्रणालीको विकास गरिएको हो । यस प्रणालीको सफ्टवयरले ट्राफिक नियम उल्लङघन गर्नेको नाम, सवारी साधनको नम्बर र कसूरको प्रकार ट्रयाक राख्छ । दक्ष प्रहरी कर्मचारी र प्रविधिको प्रयोग गरी प्रणाली संचालन गरिएको छ ।” टिभिआरएसमा दर्ता भएका विवरणको आधारमा ट्राफिक नियम उल्लङ्घनकर्ताले विभिन्न अनलाइन वित्तिय प्रणालीहरूको प्रयोग गरी जरिवाना तिर्न सक्दछन् । ट्राफिक प्रहरीले सवारी तथा यातायात व्यवस्था नियमावली अनुसार विभिन्न नियम उल्लङ्घन गर्ने व्यक्तिलाई जरिवाना तथा कारवाही गर्ने गर्दछ । कारवाहीमा परेका व्यक्तिको चिट नम्बर र लाइसेन्स नम्बर, ब्ल्यु बुक, नाम र अन्य विवरण इन्ट्रि गरिन्छ । कारवाहीमा परेका व्यक्तिहरूले अनलाइन मार्फत वा सम्बन्धित राजस्व खाता भएको बैंकको शाखाहरूमा गई जरिवाना बापतको राजस्व रकम भुक्तान गर्न सक्दछन् । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठ भन्नुहुन्छ, “हाल प्रणाली लागू भएका ४५ जिल्लामा भएका अभिलेख एकीकृत हुन्छन् । जति पनि ट्राफिक नियम उल्लङ्घनमा चालक परेका छन् त्यसको अभिलेख यस प्रणालीमा रहन्छ । यसले ट्राफिक कारवाही गर्न पटके हो वा होइन हेर्न सजिलो बनाएको छ । सेवाग्राहीलाई पनि आफ्नो अभिलेख कहाँ छ र कसरी लिने भन्ने सजिलै थाहा पाउन सक्ने बनाएको छ । समग्रमा ट्राफिक कारवाही सम्बन्धी अभिलेख व्यवस्थित बनाएको छ ।”   नेपाल प्रहरीले प्रविधिको प्रयोगलाई तीव्रता दिँदै आएको छ । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धानलाई वस्तुनिष्ठ बनाउन होस् वा ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीले विभिन्न आधुनिक प्रविधिको प्रयोगलाई जोड दिँदै आएको छ । दुर्घटना न्यूनिकरण र रोकथाम गर्ने, ट्राफिक नियमको प्रभावकारी कार्यान्वयन गर्ने ट्राफिक प्रहरीको प्रमुख उद्देश्यलाई लक्ष्यमा पुर्‍याउन यो प्रणाली सहयोगी सावित भएको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अभिलेख दुरूस्त र व्यवस्थित रूपमा राख्दै प्रविधियुक्त ट्राफिक प्रहरीको मिसनमा यो प्रणाली कोसेढुंगा सावित भएको छ ।”

हराएका मानिसको खोजीमा सक्रिय नेपाल प्रहरी
२०८०-१२-३०

काठमाडौं, बालक हुन वा वृद्ध कुनै पनि मानिस अचानक हराए भने त्यसको पीडा खप्न कसलाई पो सहज होला र ! तै पनि विभिन्न परिस्थितिका कारण वा जान अनजानमा मानिसहरू हराउने गरेका छन् । घरपरिवारबाट अचानक सम्पर्क विहीन हुने गरेका छन् । जसको कारण घरपरिवारका सदस्य, इस्टमित्र सबै त्यसको पीडा सहन बाध्य छन् ।  आफ्ना प्यारा सदस्य हराएको पीडाको खबर सुन्दा कस्को मन चसक्क नछोला र ! यही दुखद पीडापछि मानिसहरू प्रहरीलाई सम्झछन् र खोजीका लागि अनुरोध गर्दछन् । यसरी सूचना प्राप्त हुनासाथ खोजी गर्ने क्रममा हराएका मध्ये   सिन्धुपाल्चोकका ८ वर्षीय बालकलाई काठमाडौं ढुंगेअड्डामा प्रहरीले फेला पार्‍यो । उनलाई भ्वाइस अफ चिल्ड्रेन ललितपुरमा संरक्षणका लागि पठाइयो । यसै गरी धनुषाकी १४ वर्षीया बालिका कोही कसैलाई जानकारी नगराई घरबाट गत कात्तिक ८ गते हराई बेपत्ता भएको खबर प्राप्त भयो । तत्काल खटिएको प्रहरीले हुलियाका आधारमा खोजी गर्दा जनकपुरधाममा फेला पारी उनकी आमालाई जिम्मा लगायो । यसै गरी धनुषाकै २१ वर्षीया किशोरी जानकारी बिना नै गत फागुन २ गते हराई बेपत्ता भइन् । प्रहरीले खोजी गर्ने क्रममा क्षिरेश्वरनाथमा फेला पार्न सफल भयो ।   उपरोक्त मानिसहरू बाहेक यसरी खोजी गर्ने क्रममा अन्यलाई समेत प्रहरीले फेला पारेको छ । प्रहरी खोजी तथा उद्दारमा जुट्ने क्रममा चालू आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा ६ हजार ४२ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये १ हजार १७९ जना पुरूष, २ हजार ४३९ जना महिला, ७२७ जना बालक, १ हजार ६ सय जना बालिका र ९७ जना जेष्ठ नागरिक रहेका छन् । फेला परेका मानिसहरू मध्ये काठमाडौं उपत्यकाबाट १ हजार २७२ जना, कोशी प्रदेशबाट १ हजार २५४ जना, मधेस प्रदेशबाट ५५३ जना, बागमती प्रदेशबाट ६२४ जना, गण्डकी प्रदेशबाट ८३३ जना, लुम्बिनी प्रदेशबाट ७३४ जना, कर्णाली प्रदेशबाट ३०९ जना र सुदूरपश्चिम प्रदेशबाट ४६३ जना रहेका छन् । सो अवधिमा १० हजार ४९ जना मानिस हराएका थिए । हराएका मध्ये ३ हजार ३७९ जना पुरूष र ६ हजार ६७० जना महिला रहेका छन् ।  हराएका मानिसहरूको खोजी तथा उद्दारपछि परिवारसँग पुनर्मिलन गराउने गरिएको छ । पहिचान खुल्न नसकेका बालबालिकालाई संरक्षण गृहहरूमा संरक्षणका लागि जिम्मा लगाउने गरिएको छ । मानिस हराएपछि थपिएका पीडा हटाउन प्रहरी सदैव सक्रिय रहँदै आएको छ । खोजी तथा उद्दारका लागि प्रहरीले विभिन्न सरोकारवाला निकायहरूसँगको समन्वयमा काम गर्ने गरेको छ । खोजी सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अनजान वा लापरवाहीले अप्ठ्‍यारोमा परेकाको खोजी तथा उद्दार गर्नु मानवीय कार्य हो । नागरिकको जीवन रक्षाको काम गर्ने प्रहरी संगठनले दु:खमा परेका नागरिकको पीडा घटाउन खोजी कार्यमा सक्रियता र तिब्रता अपनाएको छ । खोजी मात्रै होइन मानिस के कारण हराउँछन् ? यस्तो अवस्था आउँन नदिन सचेतना फैलाउने, सम्झाउने र पुन:घटना दोहोरिन नदिन वातावरण सिर्जना गर्न पनि प्रहरीको पहल रहने छ ।” हराएका मानिसहरूको विवरण राख्न नेपाल प्रहरीले udb.nepalpolice.gov.np वेबसाइटको व्यवस्था गरेको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले उक्त वेबसाइटको गत भदौ १७ गते उद्‍घाटन गर्नुभएको थियो । तत्पश्चात वेबसाइटमा विवरण राख्न र हराएका व्यक्ति सनाखत गर्न सहज भएको छ । सरोकारवाला सबैले एकै स्थानबाट सूचना पाएपछि खोजीमा सक्रियता अपनाउन, पहिचान गर्न र उद्दार गर्न सजिलो भएको छ । आर्थिक वर्ष २०७१/०७२ देखि हालसम्म ३६ हजार ९८५ जना हराएका मानिस फेला परेका छन् । ती मध्ये ११ हजार ३५९ जना पुरूष र २५ हजार ६२६ जना महिला रहेका छन् । सो अवधिमा ९३ हजार ६९१ जना मानिस हराएका थिए । हराएका मध्ये २८ हजार ६९० जना पुरूष र ६५ हजार १ जना महिला रहेका छन् । तथ्याङ्क विश्‍लेषण गर्दा सबै भन्दा महिला हराउने गरेको देखिन्छ ।   हराएका व्यक्ति खोजी गर्न नेपाल भर नेपाल प्रहरीका सबै युनिटहरू सक्रिय छन् । जंगलमा हराएकालाई साइरन बजाउँदै र ठूलो स्वरमा कराउन लगाउँदै खोजी गर्ने गरिएको छ । भौगोलिक अवस्था र परिस्थिति अनुसारको खोज तरिका अपनाउने गरिएको छ । लोकेशन थाहा पाउन प्रविधिको प्रयोग र अन्य विभिन्न तरिका अवलम्बन गर्ने गरिन्छ । खतराको अवस्थालाई आँकलन गरी सुरक्षा अपनाउने गरिएको छ । आफू जोगिएर खोजी तथा उद्दार गर्न प्रहरी सचेत छ । खोजी तथा उद्दार सम्बन्धमा जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्‍वर तिवारी भन्नुहुन्छ, “हराएका मानिसहरू खोजी गर्न प्रहरी गस्ती बढाइएको छ । सूचना संकलन, प्रविधिको प्रयोग, सशक्त रूपमा प्रहरी परिचालन, सम्बन्धित प्रहरी कार्यालय तथा सरोकारवाला निकायसँग समन्वय लगायतका गतिविधि गरी सक्रिय रूपमा खोजी गर्ने गरिएको छ । प्रहरी र आफन्तको संयुक्त प्रयासबाट समेत तदारूकताका साथ खोजी हुने र हराएका मानिस फेला पर्ने गरेका छन् ।”  खोजी गरी पत्ता लागिसकेपछि मानिसहरूले भन्ने गरेका छन, “अब म सचेत हुन्छु । अप्ठ्यारो स्थितिमा खोजी गर्नुजस्तो पुनित र राम्रो कामको लागि नेपाल प्रहरीलाई धन्यवाद छ ।”

नेपाल प्रहरी र आम नागरिकलाई सहज सुविधा प्रदान गर्दै ‘नेपाल प्रहरी मोबाइल एप’
२०८०-१२-२८

काठमाडौं, विश्‍वमा प्रविधिको विकासँगसगै नेपाल प्रहरीले सम्पादन गर्ने कार्यहरूलाई प्रविधिमैत्री बनाउदै लैजाने उद्देश्य रहेको  छ । स्मार्ट फोन र अन्य मोवाइल उपकरणहरूमा सर्वसाधरण जनताको सहज पहुँचसँगै मोवाइल एपको प्रयोग पनि बढ्दै गएको छ । प्रविधीमैत्री परिकल्पना अनुरुप रूपान्तरण हुने क्रममा विभिन्न किसिमका सूचना र सन्देशहरू संकलन तथा सम्प्रेषण गर्न नेपाल प्रहरीले विसं २०७६ असोज २४ गतेबाट ‘नेपाल प्रहरी मोबाइल एप’को सुरुवात गरेको हो ।  जुनसुकै व्याक्तिले गुगल प्लेस्टोर र एप्पल स्टोरबाट उक्त मोबाइल एप डाउनलोड गरी सुविधा प्रयोग गर्न सक्छन । प्रहरी कर्मचारीहरूले यूजरनेम र पासवर्ड राखि लगइन गर्न सक्छन् भने सर्वसाधारणले नाम, थर, मोवाइल नम्बर, इमेल र ठेगाना सहि रूपले भरेर रजिष्ट्रेसन गरी लगइन गर्न सक्छन् । एपको प्रयोगले आम नागरिक आफू पीडित भएको अवस्थामा होस् वा कुनै घटनाको प्रत्यक्षदर्शीको रुपमा प्रहरीलाई स्थान सहितको सूचना प्रदान गर्न सक्छन् । प्रहरीलाई पनि सो स्थानमा छिटो छरितो रुपमा सहजै पुगी प्रहरी सेवामा प्रभावकारिता ल्याउन मद्दत पुगेको छ । साथै नेपाल प्रहरी मोबाइल एपद्वारा अडियो, फोटो र भिडियो जस्ता प्रमाणजन्य सूचना प्राप्त गरी अपराध अनुसन्धानमा सहजताका साथै प्रहरी कार्यलाई अझै चुस्त राख्न समेत मद्दत पुगेको छ ।  नेपाल प्रहरीलाई घटनाको छिटोछरितो रिपोर्टिङ गर्न मोवाइल एपले सहयोग पुर्‍याउँछ । नेपाल प्रहरीको Area Of Responsibility (AOR) निकै बृहत् रहेको र जनशक्ति न्यून रहेको अवस्थामा मोबाइल एपको प्रयोग गरी आम नागरिकहरूले प्रहरीसँग सम्बन्धीत सूचना GPS मा आधारित रहेर फोटो, भिडियो, अडियो र टेक्सट सूचनासहित खबर गर्न सकिने प्रावधान रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरीको कामकारबाहीलाई प्रविधिमैत्री सेवाको रुपमा संस्थागत विकास गर्ने उदेश्य अनुरुप पाइलट प्रोजेक्टको रुपमा एप सञ्चालन भएको हो । हाल ७७ वटै जिल्लाहरूमा प्रहरी एपमार्फत आएका गुनासा र सूचनाका आधारमा नजिकैको प्रहरी कार्यालबाट तुरून्त प्रहरी परिचालन गर्ने व्यवस्था गरिएको छ । समुदायमा घट्ने अपराधिक कृयाकलाप, विभिन्न घटनाहरू तथा सूचनाहरूलाई छिटो छरितो र प्रविधियुक्त तवरबाट सम्बोधन गरी थप क्षति हुन नदिन तथा अपराधिलाई तत्काल नियन्त्रणमा लिनुका साथै समग्र शान्ति सुरक्षा तथा अमनचयन कायम राख्न एपले सहयोगी भूमिका निर्वाह गर्दै आएको छ ।”  नेपाल प्रहरीको आन्तरिक प्रयोजन अन्तर्गत यस प्रणाली मार्फत ईन्ट्रानेट पोर्टल (Nepol.cd), PMIS profile, Geo-Attendance, Police Calendar, GPS Tracker, Patrolling जस्ता सुविधाहरू छन् । आम नागरिकका लागि विभिन्न सुविधाहरू रहेका छन् । जसमध्ये Report incident बाट आम नागरिकले आकस्मिक रूपमा प्रहरीबाट सहयोग चाहिएमा रिपोर्ट गर्न सक्छन् । Emergency Number बाट आपतकालिन नम्बर प्राप्त गर्न सकिन्छ । FM Station बाट ट्राफिक एफएम सुन्न सकिन्छ । News बाट नेपाल प्रहरीको विभागीय तथा अन्य समाचार पढ्न सकिन्छ । Notice बाट नेपाल प्रहरी सम्बन्धी सम्पूर्ण सूचनाहरूको जानकारी लिन सकिन्छ । Police Station Nearby बाट नजिकका प्रहरी कार्यालयहरू र तिनको फोन नम्बर थाहा पाउन सकिन्छ । E-compliant बाट प्रहरीसँग सम्बन्धित गुनासो र सेवाबारे उजुरी दिन सकिन्छ । Public Eye बाट तुरून्तै रिपोर्ट गर्न सकिन्छ । Police Clearance Report बाट प्रहरी चारित्रिक प्रमाणपत्र सम्बन्धी जानकारी लिन सकिन्छ । Panic Mode अन्तर्गत आकस्मिक रुपमा प्रहरीबाट सहयोग चाहिएको खण्डमा उक्त Feature Enable गरे लगत्तै नेपाल प्रहरीले Dashboard मा सो व्यक्तिको सम्पर्क नम्बर तथा स्थान सहितको सूचना प्राप्त भई सम्बन्धित स्थानमा प्रहरी परिचालन गर्न सघाउ पुर्‍याउँदछ ।  हालसम्म एपका १ लाख ८ हजार ९८ जना प्रयोगकर्ता रहेका छन् । ती मध्ये ५५ हजार २२८ जना सर्वसाधारण र ५२ हजार ९७० जना प्रहरी कर्मचारी रहेका छन् । यस एपमार्फत ९ हजार ३८४ वटा घटनाको खबर प्राप्त भएको छ ।  यस एपको निर्माण तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय सूचना प्रविधि निर्देशनालयले गर्दछ । निर्देशनालयका प्रहरी उपरीक्षक सरोज शाक्य भन्नुहुन्छ, “यो एप हरेक नागरिकले प्रयोग गरी आफू सुरक्षित हुन र प्रहरीलाई पनि सघाउन सक्छन् । हाल केही सुविधाहरू थप गरी एप परिमार्जन गर्ने काम भइरहेको छ । छिट्टै यो एपको नयाँ भर्सन सार्वजनिक गर्ने क्रममा रहेकोले नयाँ एन्ड्रोइड डिभाइसहरूमा यो एप अपडेटको अवधि भर गुगल प्लेस्टोरको लिस्टिङमा नदेखिने अवस्था रहेको समेत जानकारी गराउँदछु ।” मोबाइल एपमा नेपाल प्रहरीका कर्मचारी तथा आम नागरिक दुवैलाई सहज हुने गरी विभिन्न सुविधा रहेका छन् । एप मार्फत आफू पीडित भएको अवस्थामा वा कुनै घटनाको प्रत्यक्षदर्शी भएको बेला प्रहरीलाई स्थान सहितको सूचना तुरून्तै आदानप्रदान गर्ने प्रणाली रहेको  छ । मोबाइल एप सञ्चालनलाई निरन्तरता दिन हरेक प्रहरी कर्मचारी र आम नागरिकहरू एपमा आवद्ध भई सेवाको पहुँच वृद्धि गर्न आवश्यक छ । प्रहरी नायव महाननिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपाल प्रहरी मोवाइल एपले आम नागरिकलाई सूचनामैत्री बनाइ सुरक्षित समाजको निर्माण गर्न अहम् भूमिका निर्वाह गरेको छ । सवै प्रहरी कर्मचारी तथा आम नागरिकलाई मोवाइल एपको सेवा लिन अनुरोध छ ।” 

चालु आर्थिक वर्षमा नेपाल प्रहरीमा २३ हजार ६७३ जनालाई तालिम प्रदान
२०८०-१२-२७

काठमाडौं, नेपाल प्रहरीमा व्यावसायिक तथा दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न विभिन्न प्रकारका तालिम दिने गरिएको छ । नव नियुक्त भई आउने प्रहरी कर्मचारीलाई आधारभूत तालिम र संगठनमा सेवारत प्रहरी कर्मचारीलाई व्यावसायिक ज्ञान, सीप र कौशल प्रदान गर्न उन्नत तालिमहरू प्रदान हुने गर्छ । यस्ता तालिमध्ये कतिपय विदेशमा समेत संचालन हुने गर्दछन् । अधिकांश तालिम संगठनभित्रकै  विभिन्न तालिम प्रदायक युनिटहरूले संचालन गर्दछन् भने कतिपय संगठन बाहिरका संघ-संस्थासँग समन्वय गरी तालिम दिलाइने गरिएको छ ।    चालु आर्थिक वर्ष २०८०/०८१ को साउनदेखि हालसम्मको अवधिमा नेपाल प्रहरीका जम्मा २३ हजार ६७३ जना प्रहरी कर्मचारीहरूले विभिन्न तालिम प्राप्त गरेका छन् । जसमध्ये राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजबाट ५ हजार ४२७ जना, कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट ९ सय ३८ जना, मधेस प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरबाट ६ सय ६२ जना, बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौलीबाट ८ सय २२ जना, गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखराबाट ७ सय ९४ जना, लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलबाट ९ सय ७३ जना, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र नेपालगंजबाट १ हजार १०८ जना, सुदूरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलबाट ९ सय ९६ जना र घुम्ती प्रशिक्षण तालिमतर्फ ९ हजार ८६७ जना रहेका छन् । यसै गरी संघ-संस्थातर्फ १ हजार ७७५ जना र वैदेशिक तालिम ३११ जना रहेका छन् । यस आर्थिक वर्षमा कूल लक्षित संख्या २८ हजार १२४ रहेको छ भने घुम्तीतर्फ ११ हजार ९७० रहेको छ । सो अवधिमा आधारभूत तालिम ३ हजार ४६० जना, व्यवस्थापन तालिम १ हजार २८५ जना, कार्य तालिम १ हजार ८७७ जना, अपराध अनुसन्धान तालिम २ हजार ४७१ जना, सुरक्षा तालिम १ हजार ६०५ र उन्नत प्राविधिक तथा अन्य गरी १ हजार २२ जनाले तालिम हासिल गरेका छन् ।   नेपाल प्रहरीले तालिमको माध्यमद्वारा प्रहरी कर्मचारीहरूको ज्ञान सीपको विकास गर्ने र कार्य क्षमता अभिवृद्धि गराउन यस्ता तालिम प्रदान गर्ने गर्छ । तालिम प्रदान गर्ने सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “हरेक कार्यालयको कामको प्रकृति अनुसार सम्बन्धित कर्मचारीलाई नै तालिम प्रदान गर्ने गरिएको छ । अनुशासित एवम् कर्तव्यनिष्ठ भई देश र जनताप्रति बफादार रहेर काम गर्न तालिमले सघाउ पुर्‍याउने गर्दछ । प्रहरीको आचरण व्यवहारलाई जनमैत्री, सेवामुखी एवम् चुस्तदुरूस्त बनाउने सन्दर्भमा तालिमको माध्यमद्वारा ज्ञान, सीप र कार्य कौशलता प्रदान गर्ने गरिएको छ । तालिमको दौरानमा मानव अधिकारको संरक्षणको लागि मानव अधिकारका मापदण्डहरूप्रति सम्मान र विश्वास राख्दै कार्यक्षेत्रमा काम गर्नेगरी प्रशिक्षण प्रदान गरिन्छ ।” संगठनका सदस्यहरूलाई समान अवसर जुट्ने गरी तालिमको व्यवस्था हुने गर्छ । चालु आर्थिक वर्षको उक्त अवधिमा स्वदेशका विभिन्न संघ-संस्थाबाट जम्मा १ हजार ७७५ जना प्रहरी कर्मचारीले तालिम हासिल गरेका छन् । जस मध्ये प्रहरी अतिरिक्त महानिरीक्षक १ जना, प्रहरी नायव महानिरीक्षक १ जना, प्रहरी वरिष्ठ उपरीक्षक १६ जना, प्रहरी उपरीक्षक २१ जना, प्रहरी नायव उपरीक्षक ८१ जना, प्रहरी निरीक्षक २६५ जना, प्रहरी वरिष्ठ नायव निरीक्षक १५४ जना, प्रहरी नायव निरीक्षक १४४ जना, प्रहरी सहायक निरीक्षक ३०५ जना, प्रहरी वरिष्ठ हवल्दार ६७ जना, प्रहरी हवल्दार १७० जना, प्रहरी सहायक हवल्दार १७७ जना र प्रहरी जवान ३७३ जना रहेका छन् । प्रहरी कर्मचारीहरूलाई तालिममा छनौट तथा व्यवस्थापन नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखाबाट हुने   गर्छ । तालिम प्रदान तथा व्यवस्थापन सम्बन्धमा महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले भन्नुहुन्छ, “नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ मा व्यवस्था भएबमोजिम योजनाबद्ध रूपमा तालिम संचालन तथा व्यवस्थापन गर्ने गरिएको छ । साथै तालिमलाई थप विधि र पद्धतिमा लैजानको लागि तालिम आवश्यकता पहिचान गरी तालिम क्यालेन्डर निर्माण मार्फत तालिम संचालन गर्ने गरिएको छ ।” नेपाल प्रहरीले अन्य देशका प्रहरी संगठन तथा तालिम प्रदायक संस्थाबाट तालिम प्राप्त हुने गरेको छ । यसबाट सम्बन्धित देशको तालिम प्रणाली, ज्ञान, सीप र अनुभवबारे जानकारी हुने गरेको छ । नेपाल प्रहरी शुरूदेखि हालसम्म वैदेशिक तालिमतर्फ जम्मा ६९ देशमा गरी ४ हजार ५२० वटा तालिममा सहभागी भएको छ । ती तालिममा शुरूदेखि हालसम्मका प्रहरी महानिरीक्षक ३४ पटक, प्रहरी अतिरिक्त महानिरीक्षक १०५ पटक, प्रहरी नायव महानिरीक्षक २७७ पटक,  प्रहरी वरिष्ठ उपरीक्षक ४१० पटक, प्रहरी उपरीक्षक ५७६ पटक, प्रहरी नायव उपरीक्षक ९०३ पटक, प्रहरी निरीक्षक १ हजार २८२ पटक, प्रहरी वरिष्ठ नायव निरीक्षक १५ पटक, प्रहरी नायव निरीक्षक ५६२ पटक, प्रहरी सहायक निरीक्षक २७० पटक, प्रहरी हवल्दार ३२ पटक र प्रहरी जवान ५४ पटक सहभागी भएका छन् । प्रहरी संगठनको मूल्य, मान्यता र अनुशासनलाई कायम राख्दै जनअपेक्षा अनुसार सेवा उपलब्ध गराउन सक्ने दक्ष, सक्षम, सु-प्रशिक्षित एवम् सेवामुखी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी सक्रिय छ । प्रशिक्षणको दौरानमा नियमित अतिरिक्त क्रियाकलापको माध्यमबाट प्रशिक्षार्थीहरूको व्यक्तिगत क्षमतालाई प्रस्फुटन गराई नेतृत्व क्षमताको विकास गर्न उद्देश्यसहित तालिम प्रदान गर्ने गरिएको छ । यसका लागि निरन्तर उच्च गुणस्तरीय प्रहरी प्रशिक्षण प्रदान हुने गर्छ । प्रहरी नायव महानरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “प्रशिक्षणलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले तालिम प्रदायक युनिटहरूको भौतिक सुधार, तालिम पाठ्यक्रम परिमार्जन र दक्ष प्रशिक्षकको व्यवस्थामा ध्यान दिएको छ । नेपाल प्रहरी कार्ययोजना २०८० मा तालिमलाई व्यवस्थित बनाउन निर्देश गरिएको छ ।” तालिम केन्द्रहरूले ज्ञान, कर्म, कौशलको मान्यता अनुसार प्रशिक्षण प्रदान गर्ने गर्दछन् । सुरक्षा, अपराध नियन्त्रण तथा अनुसन्धान लगायतका सबै प्रहरी कार्यमा सैद्धान्तिक, व्यवसायिक एवम् पेशागत कौशलता अभिवृद्धिको लागि ध्यान दिइन्छ । जिम्मेवारी बोधसहित कुशल र निपूर्ण जनशक्तिको विकास हुनसके कार्यक्षेत्रमा आईपर्ने जस्तोसुकै चुनौतीको सामना गर्न सक्षम हुने विश्वास छ । अब्राहम लिंकनले भनेका थिए, “मलाई रूख ढाल्न छ घण्टा देऊ र म पहिलो चार घन्टा बन्चरो उदाउन लगाउने छु ।”  

अलपत्र परेका पर्यटकको उद्धारमा सक्रिय पर्यटक प्रहरी
२०८०-१२-२५

काठमाडौं,  घटना: १   २०८० मङ्सिर २५ गते काठमाडौं फर्पिङमा एक जना ३३ वर्षीय फिनिस नागरिक बेवारिसे अवस्थामा फेला परे । उनको मानसिक अवस्था पनि ठिक नभएको थाहा हुन आयो । उनलाई पर्यटक प्रहरीले तत्काल उद्दार गर्‍यो । रिप्पा सिद्धि योग संगठन डल्लु फर्पिङसँगको समन्वयमा उनलाई सोही संगठनको गुम्बामा राखियो । ती फिनिस नागरिक  मङ्सिर २९ गते गुम्बाबाट भागेको खबर प्राप्त भयो । तत्काल खटिएको पर्यटक प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं ठमेलमा फेला पारी उद्दार गर्‍यो । उनलाई आवश्यक प्रक्रिया पूरा गरी नेपालस्थित फिनल्याण्ड दूतावास र ती विदेशी नागरिककी आमासँगको समन्वयमा एअर इन्डियाको उडानद्वारा स्वदेश फिर्ता पठाइयो ।घटना: २२०८० चैत १४ गते बेलायती नागरिक ६५ वर्षीया टेरे जुवानिता बटलर भिषा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बसिरहेको अवस्थामा पर्यटक प्रहरीले काठमाडौं बौद्धमा फेला पार्‍यो । उनको सन् २०२२ अक्टोबर २७ मा भिसा समाप्त भइसकेको रहेछ । उनी भिसा नवीकरण नगरी गैह्रकानुनी रुपमा नेपालमा बस्दै आइरहेको पुष्टि भयो । उनलाई पर्यटक प्रहरीले आवश्यक कारबाहीको लागि अध्यागमन विभाग कालिकास्थान काठमाडौंमा बुझायो ।  * * * * * *यी दुई विदेशी नागरिकको घटना प्रतिनिधि घटना मात्र हुन् । यसरी अलपत्रमा परेका तथा बिरामी भएका १२ जना विदेशी नागरिकलाई चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ८ महिनाको अवधिमा पर्यटक प्रहरीले उद्दार गरी स्वदेश फिर्ता पठाएको छ । यसै गरी सो अवधिमा गैह्रकानुनी रुपमा नेपालमा बसेका ८ जना विदेशी नागरिकलाई आवश्यक कारबाहीका लागि पर्यटक प्रहरीले अध्यागमन विभाग बुझाएको छ । नेपाल भ्रमणमा रहेका विदेशी पर्यटकहरूको सेवा, सुरक्षा एवं आवश्यक सूचनाहरू उपलब्ध गराउने उदेश्य सहित विसं २०३५ माघ १२ गते पर्यटक प्रहरीको स्थापना भएको हो । नेपाल प्रहरीको विशेष इकाईको रुपमा रहेको पर्यटक प्रहरी हाल काठमाडौं उपत्यकाको १० ठाउँमा र उपत्यका बाहिर १२ जिल्लाका १९ ठाउँमा विस्तार भई काम गर्दै आएको छ ।पर्यटक प्रहरीको सेवा विस्तार र भावी रणनीतिका सम्बन्धमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “पर्यटक प्रहरीले गरेको कामको देश विदेशमा समेत प्रशंसा भइरहेको छ । पर्यटकसँग सम्बन्धित मुद्दा दर्तादेखि फैसला कार्यान्वयनसम्म सम्पूर्ण अनुसन्धान गर्न सक्ने पर्यटक प्रहरी कार्यालयको रुपमा विकसित गर्दै लैजाने नेपाल प्रहरीको नीति छ । प्रमुख पर्यटकीय स्थलको पहिचान र अपराधको विश्‍लेषण गरी प्राथमिकता अनुसार क्रमश: पर्यटक प्रहरीको स्थापना गर्नका लागि आवश्यक प्रकृया अगाडि बढाइने नीति छ । भौतिक संरचना व्यवस्थापन, समयानुकूल प्रविधिमैत्री सेवा, दोहोरो वार्तालापका लागि भाषागत व्यवस्था र तुरुन्त परिचालनका लागि थप सवारी साधनको व्यवस्था गर्न प्रहरी संगठन लागीपरेको छ ।”चालु आर्थिक वर्षको साउनदेखि हालसम्म पर्यटकसँग सम्बन्धित ३७० वटा उजूरीहरु परेका छन् । ती मध्ये सामग्री हराएका २७३ वटा, चोरीका ४९ वटा, ठगी गरेका ११ वटा, लुटपाट ५ वटा, अभद्र व्यवहार १७ वटा, आक्रमणका २ वटा, दुर्घटनाका २ वटा, धाकधम्की १ वटा, मानिस हराएको ४ वटा, दुर्व्यवहार १ वटा र अपहरणका १ वटा रहेका छन् । आर्थिक वर्ष २०७७/०७८ मा ७९ वटा, आर्थिक वर्ष २०७८/०७९ मा १८० वटा र आर्थिक वर्ष २०७९/०८० मा ५३२ उजूरी परेका थिए । यी आर्थिक वर्षको तथ्याङ्क विश्‍लेषण गर्दा डकुमेन्ट र सामग्री हराएको संख्या सबैभन्दा बढी देखिन्छ । पर्यटक प्रहरीले पर्यटकहरूलाई पर्न आएका समस्या, दु:ख, पिरमर्का, हैरानी तथा गुनासाहरू समयमै समाधान गर्ने गर्दछ । पर्यटकको नेपाल बसाइँ सुरक्षित तथा भयरहित रहेको अनुभूति दिलाउन र पर्यटन विकासमा टेवा पुर्‍याउन पर्यटक प्रहरी सक्रिय छ । पर्यटक प्रहरी कार्यालय भृकुटीमण्डपका प्रमुख प्रहरी नायव उपरीक्षक नरेन्द्र कुँवर भन्नुहुन्छ, “पर्यटकलाई आवश्यक सूचना प्रदान गर्ने, पर्यटकीय क्षेत्रमा नियमित गस्ती गर्ने, पर्यटकलाई आवश्यक सहयोग गर्ने र पर्यटन क्षेत्रमा अभद्र व्यवहार, अश्‍लिल तथा अवाञ्क्षित क्रियाकलाप गर्नेलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सम्बन्धित कार्यालयमा पठाउने गरिएको छ । घटना, दुर्घटना, प्रकोप एवं पर्वतीय तथा सहासिक पर्यटनका क्रममा स्वास्थ्य लगायत अन्य कारणले अलपत्र परेका पर्यटकहरुको खोज तथा उद्दार गरी सम्बन्धित निकाय, दूतावास वा आफन्तसँग सम्पर्क गर्ने/गराउने र पर्यटन क्षेत्रमा आईपर्ने हरेक कार्य सक्रिय भई सम्पन्न गर्दै आएका   छौं ।”विरानो देशमा आउँदा अचानक आइपर्ने यस्ता समस्या र गुनासोहरू पर्यटक प्रहरीबाट तत्काल सुनुवाई भई समाधान हुने गरेको छ । यस्ता समस्या भएमा हटलाइन नम्बर ११४४ मा सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ । पर्यटक प्रहरीको छिटोछरितो, आत्मिय र सुरक्षित सेवाबाट पर्यटकहरू खुसी हुने गरेका छन् । कामको सिलसिलामा आइपर्ने चुनौती सामना गर्न पर्यटकको भरपर्दो अभिलेखीकरण गरी तत्काल समस्याको सम्बोधन गर्न सक्ने संयन्त्रको विकास गर्नुपर्ने देखिन्छ । प्रहरी नायव महानिरीक्षक भीम प्रसाद ढकाल भन्नुहुन्छ, “नेपालबारे अन्तर्राष्ट्रिय स्तरमा सकारात्मक सन्देश जाने गरी काम गर्न पर्यटक प्रहरी सक्रिय छ । यसका लागि पर्यटक प्रहरीलाई आवश्यक तालिम दिने गरिएको  छ । सम्पूर्ण पर्यटक प्रहरी कार्यालयहरूको स्थापनाको औचित्य पुष्टि, पहिचान, स्तरोन्नति र व्यवस्थित गर्ने काम भइरहेको छ ।” पर्यटन सम्बद्ध सरोकारवालाहरूसँग समन्वय गरी नेपाल प्रहरीले उत्कृष्ट नतिजा दिने गरी काम गरिरहेको उहाँको भनाइ छ ।

स्वास्थ्य सेवामा निरन्तर प्रतिबद्ध नेपाल प्रहरी अस्पताल
२०८०-१२-२३

काठमाडौं, विसं २०४० चैत २७ गते सेवा आरम्भ गरेको नेपाल प्रहरी अस्पतालले समयानुकूल सेवा विस्तार गर्दै आएको छ । अस्पतालको विकास, विस्तार र गुणस्तर वृद्धिका लागि आधुनिक प्रविधिको प्रयोग र दक्ष जनशक्तिबाट सेवा प्रदान गर्दै आएको छ । अस्पताल ४ दशकदेखि स्वास्थ्य सेवामा निरन्तर प्रतिवद्ध रहँदै आएको छ । बहालवाला तथा पूर्व प्रहरी कर्मचारी र तिनका परिवारहरूको स्वास्थ्य उपचारको प्रमुख लक्ष्यका साथ स्थापित अस्पतालले २०७४ कात्तिक २६ गतेदेखि औपचारिक रूपमा सर्वसाधारणलाई समेत स्वास्थ्य उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालबाट हाल आकस्मिक, बहिरङ, अन्तरङ (बेड भर्ना), भिजिटिङ कन्सल्टेण्ट सेवा, फिजियोथेरापी, फार्मेसी, प्याथोलोजी, रेडियोलोजी र सर्जरी लगायतका सेवा प्रदान गरिन्छ ।  चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म आठ महिनाको अवधिमा नेपाल प्रहरी अस्पतालले १ लाख ८० हजार ६५८ जनालाई स्वास्थ्य सेवा प्रदान गरेको छ । जसमध्ये बहालवाला प्रहरी ६१ हजार ६०४ जना, प्रहरी परिवार ६२ हजार ८९३ जना, अवकाश प्राप्त प्रहरी कर्मचारी २४ हजार २२५ जना, अवकाश प्राप्त प्रहरी कर्मचारीका परिवार २१ हजार ५९८ जना र सर्वसाधारण १० हजार ३३८ जना रहेका छन् । अस्पतालले आफूलाई समयानुकूल विकसित र परिमार्जित गराउँदै आएको छ । हाल नेपाल प्रहरी अस्पताल महाराजगंज, लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज बाँके, गण्डकी प्रदेश प्रहरी  अस्पताल पोखरा, मधेस प्रदेश प्रहरी अस्पताल रूपनी, सुदूरपश्चिम प्रदेश प्रहरी अस्पताल दिपायल, कोशी प्रदेश प्रहरी अस्पताल सुनसरी र बागमती प्रदेश प्रहरी अस्पताल हेटौंडाबाट सेवा प्रदान भइरहेको छ । अस्पतालले स्वास्थ्य सेवा विस्तार र स्तरोन्नतिमा विशेष ध्यान दिँदै आएको छ । अस्पतालका मेडिकल डाइरेक्टर प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह भन्नुहुन्छ, “राष्ट्रिय सुरक्षाको मुख्य जिम्मेवारी बहन गर्दै आएको नेपाल प्रहरीले स्वास्थ्य सेवामा समेत महत्वपूर्ण योगदान पुर्‍याएको छ । सेवाको सहज पहुँच र गुणस्तरीय सेवाबाट प्रहरी कर्मचारीको मनोबल उच्च भई कार्यसम्पादनमा प्रभावकारिता बढेको छ । अस्पताललाई स्वास्थ्य उपचारको आस्थाको केन्द्र बनाउन प्रहरी अस्पताल प्रयासरत छ ।” सो अवधिमा अस्पतालको सेवाबाट मेडिकलतर्फ ४९ हजार २९ जना, फिजियोथेरापीतर्फ १५ हजार ७२२ जना, सर्जिकलतर्फ ९ हजार ९१ जना, अर्थोपेडिकतर्फ १६ हजार ७०१ जना, गाइनोतर्फ १४ हजार १५० जना, पेड्रिएटिकतर्फ ६ हजार ६७६ जना, स्किनतर्फ ८ हजार ४० जना, नाक-कान-घाँटीतर्फ ८ हजार ३३९ जना,  आँखातर्फ ६ हजार ९७९ जना, डेन्टलतर्फ १५ हजार १६५ जना, मानसिकतर्फ ५ हजार ५१३ जना, न्यूरोतर्फ ७२८ जना, अङ्कोलोजीतर्फ २८५ जना, टेलिमेडिसिनतर्फ ४३ जना, कार्डियोतर्फ १ हजार ३४२ जना, ड्रेसिङतर्फ ७ हजार ७४७ जना, इमरजेन्सीतर्फ ९ हजार ४१५ जना लाभाञ्वित भएका   छन् । यसैगरी यी बाहेक अस्पतालका अन्य विविध सेवाबाट समेत सेवाग्राही लाभाञ्वित भएका छन् ।  अस्पतालका सबै युनिटमा चिकित्सक, नर्स, स्वास्थ्यकर्मी समेत गरी जम्मा १ हजार ७ जना प्रहरी कर्मचारी हाल कार्यरत छन् । मानव स्वास्थ्य जस्तो संवेदनशील र अपरिहार्य सेवा प्रदान गर्न कर्मचारीहरूले अथक मेहनत र प्रयास जारी राखेका छन् । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “अस्पतालको सेवालाई थप गुणस्तरीय, विश्वसनीय र उत्तरदायी बनाउन एवम् अस्पताललाई सुदृढ, सक्षम र अब्बल संस्था बनाउन आवश्यक नीति नियमको तर्जुमा गर्दै अगाडि बढ्न विशेष पहल भइरहेको छ ।” अस्पतालको उपचार बहालवाला कर्मचारीहरूलाई नि:शुल्क छ भने अन्यको लागि न्यून शुल्क कायम गरिएको छ । साथै सर्वसाधारणका लागि अन्य सरकारी अस्पताल सरह र कुनै सेवा त त्यो भन्दा पनि थोरै शुल्कमा अस्पतालले सेवा दिइरहेको छ ।अस्पतालको सेवा विस्तार र गुणस्तर वृद्धिका सम्बन्धमा अस्पतालका प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंह भन्नुहुन्छ, “अस्पतालमा उपलब्ध जनशक्ति र स्रोतसाधनको अधिकतम उपयोग गरी अस्पतालबाट प्रदान हुने सेवालाई आधुनिक प्रविधियुक्त र उत्तरदायी बनाउन अस्पताल प्रशासन कटिबद्ध छ ।”अस्पतालले नियमित सेवाको साथै अस्पतालको पहुँच कठिन भएका विकट स्थानमा समेत स्वास्थ्य सेवा पहुँच पुर्‍याउन समय-समयमा विशेषज्ञ चिकित्सक सहितको स्वास्थ्यकर्मी टोली खटाएर नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । त्यस्ता शिविरमा आवश्यकता र अस्पतालको क्षमता अनुसार नि:शुल्क औषधी समेत वितरण गर्ने गरिएको छ । यसबाट समाजमा अस्पतालप्रति सकारात्मक सन्देश जानुका साथै ठूलो संख्यामा सेवाग्राही लाभाञ्वित भएका छन् ।