अवैध लागूऔषधसहित विभिन्न स्थानबाट सात जना पक्राउ
२०८१-०३-१७
- A
- A-
- A+
सुनसरी, बराहक्षेत्र नगरपालिका-९ राजाबास बानडाँडाबाट नियन्त्रित लागूऔषध ट्रमाडोल ३ सय ४० ट्याब्लेटसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी प्रकाशपुरबाट खटिएको प्रहरीले बराहक्षेत्र नगरपालिका-९ राजाबास बानडाँडास्थित २३ वर्षीय कन्चन राईको घर तलासी गर्ने क्रममा उक्त लागूऔषधसहित ती किशोरलाई पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिका-८ तिनकुनेबाट नियन्त्रित लागूऔषध स्पास्मो ३ हजार ५ सय ट्याब्लेट र ओपोट्याब १ हजार ७ सय ट्याब्लेटसहित सोही उपमहानगरपालिका-१७ बस्ने राजु साहलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट तिनकुनेबाट खटिएको प्रहरीले विराटनगरबाट धरानतर्फ आउँदै गरेको प्र.१-०२-००२ ख०२६९ नम्बरको बसलाई जाँच गर्दा बसमा सवार राजुलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
पर्सा, वीरगंज महानगरपालिका-१६ रजक जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ६ ग्राम १ सय ३० मिलिग्रामसहित २ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-१ चौकी टोल बस्ने २६ वर्षीय दिवन बम्जन र सोही ठाउँ बस्ने २८ वर्षीय सुवास पौडेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र प्रहरी चौकी इनरूवाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपाल पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
मोरङ, सुन्दरहरैचा नगरपालिका-४ बडराबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३२ ग्राम ७ सय ४० मिलिग्रामसहित सोही ठाउँ डेरा गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ४४ वर्षीय अमृत भुजेललाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो । साथै उनले प्रयोग गरेको प्र.१-०२-०५१ प ५३६६ नम्बरको स्कुटर, मोबाइल २ थान र नगद ६० हजार रूपैयाँ समेत प्रहरीले बरामद गरेको छ ।
कपिलवस्तु, बाणगंगा नगरपालिका-८ लौगाईबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम २ सय मिलिग्रामसहित सोही ठाउँ बस्ने २१ वर्षीय नबिन बेलबासेलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनिटारस्थित सडकबाट नियन्त्रीत लागूऔषध ट्रमाडोल ९६ ट्याब्लेटसहित गोरखा पालुङटार नगरपालिका-५ बस्ने ३० वर्षीय शुभ प्रभात तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले मुग्लिङबाट आँबुखैरेनीतर्फ जाँदै गरेको ग.१ ख ४५६२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।