अवैध लागूऔषध सहित १० जना पक्राउ
२०८१-०३-२१
- A
- A-
- A+
सुनसरी, धरान उपमहानगरपालिका-११ मंगलबारे चोकबाट नियन्त्रित लागूऔषध स्पास्पेन ५ सय ५५ ट्याव्लेट र ट्रामोल २ सय ७० क्याप्सुल सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका-११ बस्ने २२ वर्षीय सागर बिक र सोही उपमहानगरपालिका-४ बस्ने २० वर्षीया युनिका श्रेष्ठ रहेका छन् । इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै थप सोधपुछको क्रममा उनीहरूले उक्त लागूऔषध धरान उपमहानगरपालिका-१२ चतरा लाईन बस्ने ३४ वर्षीय चिम्रे भन्ने हेम बहादुर ठकुरीलाई पुर्याई दिन लागेको खुल्न आएपछि हेम बहादुरलाई समेत आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
चितवन, भरतपुर महानगरपालिका-१ पुलचोक स्थित होटल एण्ड लजबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब २ ग्राम सहित सोही महानगरपालिका-१२ गोन्द्राङ बस्ने २३ वर्षीय यम बहादुर गुरूङ लगायत ५ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, बिराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट नियन्त्रित लागूऔषध एभिल २ एम्पुल, डाईजेपाम २ एम्पुल, लुपिजेसिक २ एम्पुल, फेनारगन २ एम्पुल र नाईट्राभेट ३० ट्याब्लेट सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बिराटनगर महानगरपालिका-६ बस्ने १९ वर्षीय रामु बिक र उर्लाबारी नगरपालिका-९ बस्ने १९ वर्षीय भिम कटेल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।