अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १८ जना पक्राउ
२०८२-०१-१३
- A
- A-
- A+
कैलाली, धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ सय ६० मिलिग्राम सहित बैतडी दशरथचन्द नगरपालिका-१ बस्ने २७ वर्षीय वीरेन्द्र सिंह भाटलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी कैलाली, धनगढी उपमहानगरपालिका-२ भन्सार कार्यालय नजिकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित डोटी जोरायल गाउँपालिका-१ गैरा बस्ने २४ वर्षीय किरण बहादुर विश्वकर्मालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १९ ग्राम २ मिलिग्राम सहित सोही उपमहानगरपालिका-१३ बस्ने ३५ वर्षीया पुष्पा लोनियालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालगंजतर्फ आउँदै गरेकी उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१६ दरैयाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ९ सय ४० मिलिग्राम सहित २ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बेलबारी नगरपालिका-३ बस्ने २५ वर्षीय किरण राई र सोही नगरपालिका-११ बस्ने २२ वर्षीय रोमन राई रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको को.१२ प ६७९० नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ४ सय मिलिग्राम सहित नुवाकोट शिवपुरी नगरपालिका-४ बस्ने २६ वर्षीय रमेश गुरूङलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी मोरङ, विराटनगर महानगरपालिका-१६ स्थितबाट नियन्त्रित लागूऔषध एभिल १० एम्पुल, डाईजेपाम १० एम्पुल, लुपिजेसिक १० एम्पुल र फेनारगन १० एम्पुल सहित सुनसरी धरान उपमहानगरपालिका-१३ बस्ने ३६ वर्षीय तीर्थ राईलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१ चौकीटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय मिलिग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा हेटौंडा उपमहानगरपालिका-११ बस्ने २७ वर्षीय समुन गुरूङ र सोही उपमहानगरपालिका-१ चौकीटोल बस्ने २० वर्षीय बुद्ध थिङ रहेका छन् । प्रहरी चौकी चौकीटोलबाट खटिएको प्रहरीले चौकीटोलबाट हेटौंडा बजारतर्फ आउँदै गरेको ना.१ ह १५२८ नम्बरको अटोलाई जाँच गर्ने क्रममा अटोमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ साहाटोलबाट अवैध लागूऔषध गाँजा करिब ३१ किलोग्राम सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बराहक्षेत्र नगरपालिका-१ बस्ने २८ वर्षीय समिर राई र २८ वर्षीय संजिव राई रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी चिरौलीचोकबाट खटिएको प्रहरीले को.१६ प ६४७४ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी सुनसरी, धरान उपमहानगरपालिकाका विभिन्न स्थानबाट अवैध लागूऔषध सहित ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले धरान उपमहानगरपालिका-१५ गोबिन्द मार्ग बस्ने ३४ वर्षीय सुरेश गुरूङलाई ट्रामाडोल ३७ ट्याब्लेट र स्पासपेन ८२ ट्याब्लेट, सोही उपमहानगरपालिका-१५ सुनगाभा मार्ग बस्ने २२ वर्षीय नरेश राईको कोठाबाट नरेश सहित २३ वर्षीय अनिकेत राई र १६ वर्षीय कीशोरलाई ट्रामाडोल २ सय १८ ट्याब्लेट, सोही उपमहानगरपालिका-८ सहिद रतन मार्ग बस्ने २५ वर्षीय सनम परियारलाई ट्रामाडोल २० ट्याब्लेट र स्पास्पेन २० ट्याब्लेट, सोही उपमहानगरपालिका- १५ सडन रोड डेरा गरी बस्ने धनकुटा डाँडा बजार घर भएका ४५ वर्षीय चन्द्र लिम्बुलाई ट्रामाडोल २ सय ६६ ट्याब्लेट र स्पास्पेन १० ट्याब्लेट तथा धनकुटा साँगुरीगढी गाउँपालिका-८ बस्ने ३७ वर्षीय कुल बहादुर बान्ताबालाई गाँजा ५ सय ग्राम सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।