अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०१-१५
- A
- A-
- A+
जाजरकोट, भेरी नगरपालिका-१ रिम्ना बजार चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ करिब ६ किलोग्राम सहित ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नलगाड नगरपालिका-१० रग्दा बस्ने २२ वर्षीय हरि बानिया, सोही नगरपालिका-९ बस्ने ३० वर्षीय दिपक सिंह र २२ वर्षीय सुरेश सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय जाजरकोटबाट खटिएको प्रहरीले तल्लुबगरबाट नेपालगंजतर्फ जाँदै गरेको क.प्र.-०२००१ च ११४५ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक हरि र बोलेरोमा सवार दिपक र सुरेशलाई पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ ग्राम ४ सय ७० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-५ बस्ने भोजपुर पौवादुम्मा गाउँपालिका-४ घर भएका ३४ वर्षीय दिपेन्द्र राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय रानी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भिमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ६० मिलिग्राम सहित सोही नगरपालिका-१९ बस्ने २३ वर्षीय रमेश भट्टलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय गड्डाचौकी समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
दाङ, लमही नगरपालिका-५ रातोडाँडाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ९० मिलिग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने भारत उत्तर प्रदेश बलरामपुर ग्राम प्रेमनगर लालनगर बस्ने २४ वर्षीय दानिश अखतर खान र २२ वर्षीय मार्कण्डेय मिश्र रहेका छन् । वडा प्रहरी कार्यालय लमहीबाट खटिएको प्रहरीले उनीहरूको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।