अवैध लागूऔषध सहित विभिन्न स्थानबाट पाँच जना पक्राउ
२०८२-०६-२२
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-६ महांकाल पानी ट्याङ्की बस्ने संखुवासभा घर भएका २८ वर्षीय श्याम शेर्पालाई नियन्त्रित लागूऔषध डाईजेपाम २८ एम्पुल, नोर्फिन २९ एम्पुल र फेनारगन २९ एम्पुल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट महांकालबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
झापा, मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय ९० मिलिग्राम सहित सिबिर क्याम्प बेलडांगी झापामा शरणार्थीको रूपमा बसोबास गर्ने ३० वर्षीय मिलन माझीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय काँकरभिट्टा समेतबाट खटिएको प्रहरीले भारतको पानी ट्याङ्कीबाट नेपालतर्फ सिटीसफारीमा आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-२ फुटाहा ४ नम्बर चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ३ सय ६० मिलिग्राम र नगद ५ हजार ५० रूपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गुलरीया नगरपालिका-१२ बिक्रीगाउँ बस्ने २१ वर्षीय आशिष चौधरी र बाँके कोहलपुर नगरपालिका-२ बर्दहवा बस्ने १९ वर्षीय दिपेश थारू रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सर्लाही, बागमती नगरपालिका-६ बाट नियन्त्रित लागूऔषध ट्रामाडोल २ सय १४ ट्याब्लेट, स्पास्मो २ सय ट्याब्लेट र नगद २ हजार ५ सय ३० रूपैया सहित सोही ठाउँ बस्ने २८ वर्षीय जिवन घिसिङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी राजघाटबाट खटिएको प्रहरीले बा.प्र.०२-०३० प ५५७० नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।