अवैध लागूऔषध सहित विभिन्न स्थानबाट ३३ जना पक्राउ
२०८३-०२-२९
- A
- A-
- A+
काठमाडौं महानगरपालिका-१६ वनस्थली मिलिजुली एरियाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७० ग्राम सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने कञ्चनपुर कृष्णपुर नगरपालिका-३ घर भएका २९ वर्षीय सन्तोष राहल, धादिङ ज्वालामुखी गाउँपालिका-५ घर भएका ३१ वर्षीय धिरन आले मगर, ललितपुर महालक्ष्मी नगरपालिका-१ डेरा गरी बस्ने कञ्चनपुर शुक्लाफाँटा नगरपालिका-४ घर भएका २२ वर्षीय पुस्कर महरा र रामेछाप सुनापति गाउँपालिका-१ घर भएका १८ वर्षीय किशोर रहेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सन्तोषको कोठा तलासी गर्दा १० ग्राम उक्त पदार्थ फेला पारी सन्तोष र धिरेनलाई बुधबार पक्राउ गरेको हो । यसैगरी पुस्करको कोठा तलासी गर्दा ६० ग्राम उक्त पदार्थ र डिजिटल तराजु २ थान फेला पारी पुस्कर र किशोरलाई बिहीबार पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-८ पशुपति भुवनेश्वरी चोक नजिकबाट अवैध लागूऔषध गाँजा करिब ५ सय ग्राम सहित सोही ठाउँ बस्ने २६ वर्षीय विवेक लिम्बुलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-४ शंखपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ७० ट्याब्लेट सहित २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं माछापोखरी बस्ने मकवानपुर घर भएका २३ वर्षीय राम तामाङ र काठमाडौं बुढानिलकण्ठ बस्ने सर्लाही घर भएका १९ वर्षीय समिर लामा रहेका छन् । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
रूपन्देही, सिद्धार्थनगर नगरपालिका-१ डण्डाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २ ग्राम ९ मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने १९ वर्षीय राधेश्याम धोबी समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले बेलहियाबाट भैरहवातर्फ जाँदै गरेको लु.६७ प ७५८१ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सिराहा, गोलबजार नगरपालिका-२ टोडकिया बस्ने ६० वर्षीय दुख्नी देवी साहलाई अवैध लागूऔषध गाँजा ५ किलो ५ सय ग्राम सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
बाँके, नेपालगंज उपमहानगरपालिका-१ राना चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ५ सय मिलिग्राम सहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २७ वर्षीय बिनोद तामाङ र प्युठान, प्युठान नगरपालिका-२ घर भएका २७ वर्षीय प्रेम आचार्य रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी बिट बिशालनगरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
तनहुँ, आँबुखैरेनी गाउँपालिका-४ बेनीटारबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४२ एम्पुल, फेनारगन ४२ एम्पुल र बुप्रेनोर्फिन ४२ एम्पुल सहित लम्जुङ बेसीशहर नगरपालिका-८ बस्ने २३ वर्षीय सुनिल बस्नेतलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरीले नारायणघाटबाट डुम्रेतर्फ जाँदै गरेको बा.प्र.०६-००१ ज ०६२२ नम्बरको माईक्रोमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यसैगरी तनहुँ, देवघाट गाउँपालिका-५ झारखानीबाट नियन्त्रित लागूऔषध डाइजेपाम ३ एम्पुल, बुप्रेनोर्फिन ३ एम्पुल र प्रोमेथाजाइन ३ एम्पुल सहित सोही ठाउँ बस्ने काठमाडौं टोखा नगरपालिका-९ घर भएका २६ वर्षीय प्रसुन बिक्रम कुँवरलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय देवघाटबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।
सिन्धुपाल्चोक, जुगल गाउँपालिका-५ ढाडेबाट अवैध लागूऔषध गाँजा करिब ९० ग्राम सहित सोही ठाउँ बस्ने २४ वर्षीय राजेन्द्र मगर समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जलबिरेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो । साथै सोधपुछको क्रममा उक्त गाँजा चौतारा साँगाचोकगढी नगरपालिका-९ भैंसे बस्ने ५१ वर्षीय सूर्य बहादुर तामाङसँग किनेको भन्ने खुल्न आएपश्चात प्रहरीले उनको घर तलासी गर्दा २ किलो गाँजा फेला पारी उनलाई समेत पक्राउ गरेको छ ।
ललितपुर, ललितपुर महानगरपालिका-११ युएन पार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १७ ट्याबलेट, स्पास्मो ५ ट्याबलेट र अवैध लागूऔषध पोलेन ३ ग्राम सहित काठमाडौं हात्तीसार बस्ने उदयपुर घर भएका २६ वर्षीय अभिषेक राई समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग पुल्चोकबाट खटिएको प्रहरीले उनहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ सुब्बाकुनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ ग्राम सहित बाँके कोहलपुर नगरपालिका-१४ बस्ने २२ वर्षीया कौशिला सुनार समेत २ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको प्रहरीले नेपालगंजबाट सुर्खेततर्फ आउँदै गरेको भे.६ प ९४१६ नम्बरको स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
यसैगरी सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-१० चन्द्रनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ ग्राम ७ सय ४० मिलिग्राम सहित सोही ठाउँ बस्ने ३४ वर्षीय भुवन बिकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
जुम्ला, तातोपानी गाउँपालिका-५ लाम्राबाट अवैध लागूऔषध चरेस जस्तो देखिन पदार्थ ३ सय ८० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय साईजन नेपाली समेत ४ जनालाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कैलाली, टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ७० मिलिग्राम सहित सोही नगरपालिका-१ ब्लक नम्बर २३ बस्ने १८ वर्षीय किशोरलाई बिहीबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
मोरङ, विराटनगर महानगरपालिका-९ ट्राफिक चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब १ सय १९ ग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत अररिया जिगबनी टिकुलिया बस्ने १९ वर्षीय इरफान खान र विराटनगर महानगरपालिका-१७ रानि बस्ने १९ वर्षीय इफ्रिदि मिँया रहेका छन् । लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले वीआर ३८ एएस ६५९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।