फार्महाउसको आवरणमा लागूऔषधको कारोबारमा संलग्न १३ जना पक्राउ
२०८३-०३-०१
- A
- A-
- A+
काठमाडौं, फार्महाउसको आवरणमा अवैध लागूऔषधको कारोबारमा संलग्न रहेको अभियोगमा काठमाडौंको टोखा र चन्द्रागिरीमा फार्महाउस संचालन गर्दै आएका १३ जनालाई लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नुवाकोट किस्पाङ गाउँपालिका-२ घर भएका २२ वर्षीय निमा तामाङ, २३ वर्षीय बिक्रम लामा, रूपन्देही बुटवल उपमहानगरपालिका-७ घर भएका २९ वर्षीय सागर बुढाथोकी, भक्तपुर मध्यपुर थिमि नगरपालिका-४ घर भएका ४५ वर्षीय उद्धव श्रेष्ठ, भक्तपुर चाँगुनारायण नगरपालिका-७ घर भएका २७ वर्षीय विकास काफ्ले, सिन्धुली फिक्कल गाउँपालिका-४ घर भएकी ३२ वर्षीया माया विशङ्खे, कालिकोट पलता गाउँपालिका-३ घर भएका २६ वर्षीय खड्क रोकया, २७ वर्षीया कमला थामी, बाजुरा स्वामिकार्तिक खापर गाउँपालिका-१ घर भएकी २९ वर्षीया मेनुका थामी, बारा जीतपुर सिमरा उपमहानगरपालिका-७ घर भएका ३४ वर्षीय प्रदिप भन्ने सञ्जय साह सोनार, पर्सा बहुदरमाई नगरपालिका-९ घर भएका ३६ वर्षीय प्रमोद प्रसाद कलवार, काठमाडौं महानगरपालिका-१६ घर भएकी ४० वर्षीया मोनिका श्रेष्ठ र सोही महानगरपालिका-७ घर भएकी २९ वर्षीया सुशिला महर्जन रहेका छन् ।
प्रहरीले नियन्त्रित लागूऔषध ट्रामाडोल २ लाख ९ हजार ट्याब्लेट, बुप्रेनोर्फिन, डाईजेपाम र फेनारगन गरी जम्मा २ हजार ४ सय एम्पुल, नगद ७ लाख ८७ हजार ५ सय रूपैयाँ र मोबाइल २८ थान बरामद गरेको छ । प्रारम्भिक अनुसन्धानको क्रममा उनीहरूले भारतबाट लागूऔषध खरिद गरी ल्याई आफ्नो फार्महाउस परिसरको जमिनमा खाडल भित्र लुकाई संञ्चय गरी माग बमोजिम बजारमा बिक्री गर्दै आएको खुल्न आएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।