प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह

२०७९-०२-१९

  • A
  • A-
  • A+
Share

  काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधिको साथै सामाजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरू कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । 

नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, मातहत ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।

सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन दिनुभयो । हालै एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उहाँले जानकारी दिनुभयो । 

कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभएको थियो । 

कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी. लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।


  


सम्बन्धित समाचार
अवैध लागूऔषधसहित पक्राउ
२०७९-०३-२१

काठमाडौं, चन्द्रागिरी नगरपालिका-१५ तिनथानाबाट ३ किलो ५ सय ग्राम अवैध लागूऔषध गाजाँको धुलो जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने सप्तरी घर भएको ३२ वर्षीय जिवन चौधरीलाई सोमबार साँझ प्रहरी पक्राउ गरेको छ । झोलामा लुकाई ल्याउँदै गरेको उक्त पदार्थ सहित प्रहरी प्रभाग बलम्बुबाट खटिएको प्रहरीले फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं, दक्षिणकाली नगरपालीका-५ फर्पिङ बसपार्कबाट प्रतिबन्धित लागूऔषध १ सय ९२ एम्पुल डाइजेपाम, १ सय ९९ एम्पुल नूफिन र १ सय ९९ एम्पुल फेनारगन सहित बारा कलैया नगरपालिका-९ रामपुर बस्ने २४ वर्षीय ईन्ताज अन्सारीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कलैयाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५९५८ नम्बरको टाटा सुमोलाई प्रहरीले जाँच गर्ने क्रममा सुमोमा सवार उनको झोलाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।  बागलुङ, बागलुङ नगरपालिका-३ चिप्लेटी बसपार्कबाट नियन्त्रित लागूऔषध ९ सय १७ एम्पुल नुरफिन, ९ सय ५ एम्पुल फनारगन र ९ सय २४ एम्पुल डाइजेपाम सहित रुपन्देही खैरेनी नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण प्रसाद पुरी सहित ४ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । बुटवलदेखि बागलुङतर्फ जाँदै गरेको लु.२ ख ५३१६ नम्बरको बसमा सवार उनीहरूलाई जिल्ला प्रहरी कार्यालय बागलुङबाट खटिएको प्रहरीले उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।   यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।