प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राजस्व छलिका सामानहरु सहित पक्राउ

२०७९-०४-०५

  • A
  • A-
  • A+
Share

काठमाडौं महानगरपालिका-७ गोपीकृष्णनगरबाट करिब १ करोड रूपैयाँ मूल्य बराबरको राजस्व छलिका सामानहरू सहित काठमाडौं महानगरपालिका-७ साततले बस्ने पर्सा सखुवा पर्सौनी गाउँपालिका-१ घर भएका नवराज शर्मा भन्ने ४० वर्षीय छविलाल अगस्तीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । 

काठमाण्डौ उपत्यकाभित्र केही व्यक्तिहरूले गैरकानूनी रूपमा भारतबाट विभिन्न सामानहरू राजस्व छली गरी ल्याई भण्डारण गरी कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उक्त कार्यमा संलग्न छविलाललाई गोपीकृष्णनगरस्थित गोदामबाट विलविजक नभएका चुरोट, गुट्खा लगायतका सुर्तिजन्य वस्तुहरू, अक्सिमिटर, आतिसवाजीजन्य पटाका लगायतका सामान फेला पारी उनलाई पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा गोपीकृष्णनगरमा छविलालले कोठा भाडा लिई सरसामानहरु भन्सार छली ल्याई भण्डारण गरी निजको श्रीमतीको नाममा रहेको श्रीजल एण्ड सुजाता ट्रेडिङ कन्सर्न प्रालिको नामबाट कारोबार गर्ने गरेको खुल्न आएको छ । उनको गोदामबाट बिभिन्न ब्रान्डका २ हजार ९ सय ८० बन्डल विदेशी चुरोट, मुर्गा छाप, सन फ्लावर लगायतका ४ सय २० किलोग्राम विभिन्न किसिमका पटाका, ४८ किलोग्राम पानराज गुट्खा, बजाजको मोटरसाइकलका पार्टपुर्जा, ईलेक्ट्रोनिक्स चिप्सहरु र ३ सय ८० थान फिङ्गर प्रिन्ट अक्सिमिटर प्रहरीले फेला पारी बरामद गरेको छ । 

उनलाई थप अनुसन्धान एवं कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर र बिस्फोटक पदार्थ सम्बन्धि कसूर अन्तर्गतको मुद्दामा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको छ । 


सम्बन्धित समाचार
कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा पक्राउ
२०८१-०१-१३

सल्यान, कुमाख गाउँपालिका-६ बस्ने वर्ष २१ को बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही गाउँपालिका-५ कौचे बस्ने मानसिंह कुमाई लगायत ११ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । सोही नगरपालिका-५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई फर्कने क्रममा मानसिंह लगायतका व्यक्तिहरूको समुहले बिकास वली समेत ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारको क्रममा मृत्यु भएको हो । साथै कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन् भने १ जनाको नर्सिङ होममा उपचार भइरहेको छ । 

इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार व्यक्ति युएईबाट पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगार कसूर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी बाँके खजुरा गाउँपालिका-२ सितापुर बस्ने कमल विश्वकर्मा पक्राउ परेका छन् । एनसिबि अबुधावी युएईको समन्वयमा युएईमा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । वैदेशिक रोजगार कसूर मुद्दाको अनुसन्धानको सिलसिलामा उनलाई अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि बैदेशिक रोजगार विभाग अनुसन्धान तथा मुद्दा शाखा ताहाचल काठमाडौंबाट अनुरोध भएपश्‍चात एनसिबि काठमाडौंको अनुरोधमा ईन्टरपोल महासचिवालयबाट सन् २०२४ फेब्रुअरी २ मा रेड नोटिस जारी भएको थियो ।उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ । 

वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८१-०१-१३

काठमाडौं, वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाईदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौं चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५  घर भई काठमाडौं महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक कँडेल रहेका छन् ।   पक्राउमध्ये सत्यन्द्रले क्यानडा पठाईदिन्छु भन्दै पीडितहरूबाट ३८ लाख २० हजार रूपैयाँ ठगी गरेको र विवेकले माल्टा पठाईदिन्छु भन्दै ३ जना पीडितबाट ३ लाख रूपैयाँ ठगी गरेको खुल्न आएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले सत्येन्द्रलाई काठमाडौं अनामनगर र विवेकलाई काठमाडौं बागबजारबाट पक्राउ गरेको हो । उनीहरूलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।