प्रविधिमार्फत धम्की दिने र समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा ३६ जना पक्राउ
२०७९-०४-०९
- A
- A-
- A+
काठमाडौं, काठमाडौं महानगरपालिका-९ तीनकुनेस्थित स्काई वोर्ल्ड सर्भिस सेन्टरमा अवैध तवरले कामदारहरू राखी विभिन्न प्रकारका प्रविधिमार्फत धम्की दिई रकम मोल मोलाई गर्ने तथा समाजमा उच्छृङ्खल गतिविधि गरेको अभियोगमा १ जना चिनियाँ नागरिक, २ जना भारतीय नागरिक र ३३ जना नेपाली नागरिक सहित ३६ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा उक्त सेन्टरका प्रशासन प्रमुख चिनियाँ नागरिक ४३ वर्षीय HU Yuehua, भारत उत्तर प्रदेशका २६ वर्षीय मनोज शैनी तथा १९ वर्षीय नेहा गुप्ता र नेपाली नागरिक २८ जना पुरूष तथा ५ जना महिला सहित ३३ जना रहेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौं, नगर प्रहरी कार्यालय, प्रहरी वृत्तहरू समेतबाट खटिएको प्रहरीले उक्त ठाउँमा अवैध तवरले कामदारहरू राखी सूचनाका विभिन्न प्रकारका प्रविधिमार्फत धाक, धम्की दिई, ब्यक्तिगत गोपनीयता ह्याकिङ गरी रकमको मोल मोलाई गर्ने र समाजमा उच्छृङ्खल गतिविधि गरिरहेको अवस्थामा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । उक्त सेन्टरबाट नगद ८ लाख २९ हजार रुपैयाँ, ३ सय ६२ थान ल्यापटप, ७ सय ४८ थान कम्युटर र १ थान डिभिआर समेत प्रहरीले बरामद गरेको छ ।
उनीहरू उपर प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।