प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी कैलालीको उद्‌घाटन

२०७९-०४-१६

  • A
  • A-
  • A+
Share

कैलाली, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गर्नुभयो । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो । 

प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितीको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारीता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।  

अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नती र विकास संगठनको प्राथमिकतामा रहेको बताउनुभयो । 

नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी लगायतका महानुभावले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मी, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-०४-३०

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-४ भैरवस्थानबाट ४७ ग्राम ६ सय २० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ सहित सोही ठाउँ बस्ने ३७ वर्षीय किरण गिरी र उनकी श्रीमती २६ वर्षीया सरला शाही थापालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतबाट प्रदेश लागू औषध नियन्त्रण ब्यूरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरीले उनीहरूलाई कोठाको विभिन्न ठाँउमा लुकाई राखेको उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिरहा, औरही गाउँपालिका-१ हनुमानचोकबाट ३० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित गोलबजार नगरपालिका-५ बस्ने २५ वर्षीय सुरेन्द्र कुमार महरालाई आइबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको ‘अनटेस्ट’ मोटरसाइकलमा सवार सुरेन्द्रलाई प्रहरी चौकी हर्कटीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  दाङ, तुलसीपुर उपमहानगरपालिका-१६ दक्षिण कुरुरिया बस्ने ५० वर्षीया पार्वती खत्रीलाई ५ किलोग्राम अवैध लागूऔषध गाँजा सहित आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पार्वतीले आफ्नै घरमा लागूऔषध गाँजा बिक्रीबितरण गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मलवार र ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनको घर खानतलासी गर्दा घरको बैकलमा बोराभित्र लुकाई राखेको उक्त गाँजा फेला पारी पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट १ सय २० ट्याब्लेट नियन्त्रित लागूऔषध नाईट्राभेट सहित काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका-१० बस्ने २५ वर्षीय आशिस शाहीलाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विर्ता पर्सा र लागूऔषध नियन्त्रण ब्यूरो वीरगंजबाट खटिएको संयुक्त टोलीले जाँच गर्ने क्रममा आशिसको साथबाट उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

अपहरण, शरीर बन्धक गरी हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०७९-०४-२९

पर्सा, अपहरण, शरीर बन्धक गरी बारा बिश्रामपुर गाउँपालिका-५ ईटियाही बस्ने २३ वर्षीय राजकुमार ठाकुरको हत्या गरेको अभियोगमा २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरुमा बारा बिश्रामपुर गाउँपालिका-५ ठेगाना भएका २८ वर्षीय उत्तम पटेल र सोही ठाउँ ठेगाना भएका ३० वर्षीय प्रितम पटेल रहेका छन् । राजकुमार ट्युसन पढ्न पर्सा वीरगंज महानगरपालिका-१६ नगवातर्फ साईकल चढी गएकोमा सम्पर्क विहीन भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले घटनाको अनुसन्धानका लागि वीरगंजमा महानगरपालिका-१६ नगवास्थितमा टेलर सञ्चालन गरी बस्दै आएका उत्तम पटेल र उनकै दाइ प्रितम पटेललाई नियन्त्रणमा लिएको थियो । थप अनसुन्धानको क्रममा राजकुमार र उनीहरूकै बहिनीबीच प्रेम सम्बन्ध रहेको शङ्कामा राजकुमारलाई आफ्नै टेलरमा लगि हत्या पश्चात शव बोराभित्र राखी ना.३८ प ४३९५ नम्बरको मोटरसाइकलमा भारतको रक्सौल रेल्वे स्टेशन पुर्‍याई मुजफ्फरपुर जाने ट्रेनको शौचालय छेउको खाली ठाउँमा  छोडेको खुल्न आएको छ । उनीहरू विरुद्ध अपहरण तथा शरीर बन्धक र ज्यान सम्बन्धी कसूर (कर्तव्य ज्यान ) मुद्दामा थप अनुसन्धान भइरहेको छ । 

कुटपिटबाट मृत्यु, चार जना अभियुक्त पक्राउ
२०७९-०४-२९

गोरखा, पालुङटार नगरपालिका-५ धरमपानी बस्ने ३५ वर्षीय बुद्धि बहादुर बिकको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा सोही ठाउँ बस्ने ३४ वर्षीय राम शरण बिक लगायत ४ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ । उनीहरुले मादक पदार्थ सेवन गरी कुटपिट गर्दा गम्भीर घाइते भएका बुद्धि बहादुरको आँपपिपल अस्पताल पालुङटारमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।