प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनहरूको उद्‌घाटन

२०७९-०४-२३

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र  २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्‍याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गर्नुभयो । यसैगरी उहाँले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामूखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको चर्चा गर्नुभयो । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उहाँले व्यक्त गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो ।

सोही स्कूलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

  उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् ।

नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित छुट्टाछुट्टै स्थानबाट नौ जना पक्राउ
२०७९-०६-११

काठमाडौं, चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध डाईजेपाम १ हजार एम्पुल, फेनारगन १ हजार एम्पुल र नुर्फिन १ हजार एम्पुल सहित सर्लाही ईश्वरपुर नगरपालिका-४ बस्ने २६ वर्षीय हिमाल माझीलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । नागढुङ्गास्थित चेकप्वाइन्टमा प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरीले सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको ना.५ ख ६५९९ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसका सहचालक हिमालले बसको डिक्कीमा लुकाई ल्याएको उक्त लागूऔषध फेला पारी उनलाई प्रहरीले पक्राउ गरेको हो ।  सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-११ पदमपुरबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ ८० मिलीग्राम सहित सोही ठाउँ बस्ने २१ वर्षीय ललित खत्रीलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत समेतबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा ललितलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कैलाली, धनगढी उपमहानगरपालिका-२ सन्तोषी टोलस्थित सडकबाट अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ ७ सय ५० ग्राम सहित सोही उपमहानगरपालिका-५ बस्ने १८ वर्षीय किशोर समेत २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको  छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।   धनुषा, सबैला नगरपालिका-१० गेरुवाही नहरस्थित सडकबाट अवैध लागूऔषध भाङ करिब १५ किलोग्राम सहित धनौजी गाउँपालिका-२ बस्ने ४२ वर्षीय राम प्रसाद साहलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सवैलाबाट खटिएको प्रहरीले साइकलमा सवार राम प्रसादलाई जाँच गर्ने क्रममा उक्त भाङ सहित फेला पारी पक्राउ गरेको हो ।   पर्सा, वीरगंज महानगरपालिका-१४ गण्डक चोकबाट नियन्त्रित लागूऔषध टिटि ५ हजार १ सय पिस र निटजा केयर ३ हजार ट्याब्लेट सहित भारत घर भई वीरगंज महानगरपालिका-१६ बस्ने २७ वर्षीय ओम प्रकाश महतो लगायत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गण्डकबाट खटिएको प्रहरीले ई-रिक्सामा सवार उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध हातहतियार सहित पक्राउ तथा बरामद
२०७९-०६-११

अर्घाखाँची, भूमिकास्थान नगरपालिका-१ राजिमेबाट एकनाले भरूवा बन्दुक १ थान सहित सोही नगरपालिका-१ ओखटे बस्ने ४० वर्षीय जितेन्द्र भुसाल लगायत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लु.६४ प ८९०९ नम्बरको मोटरसाइकललाई प्रहरी चौकी दाकावाङबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त भरूवा बन्दुक सहित फेला पारी पक्राउ गरेको हो । पाँचथर, याङवरक गाउँपालिका-३ स्थित गुप्तेश्वर महादेवथान मन्दिर नजिकबाट एकनाले भरूवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने ४ वटा छर्रा र ३ थान टर्चलाईट सोमबार दिउँसो प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी नागीथर्पुबाट खटिएको प्रहरीले उक्त मन्दिर नजिक बाटोमा वेवारिसे अवस्थामा रहेको उक्त हतियार फेला पारी बरामद गरेको हो । प्रहरीले यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

ईलाका प्रहरी कार्यालय बेलबारीको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७९-०६-११

मोरङ, १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा ईलाका प्रहरी कार्यालय बेलवारीको नवनिर्मित कार्यालय भवनको मंगलबार बिहान उद्‍घाटन भएको छ । भवन उद्‍घाटन पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री कार्कीले जनताको जीउधनको सुरक्षाको प्रमुख जिम्मेवारी बोकेको प्रहरी पहिला आफैमा सुरक्षित हुनुपर्ने भएकोले प्रहरी बस्ने भवन सुरक्षित र व्यवस्थित बनाउन प्रदेश सरकार हरदम तयार रहेको बताउनुभयो । कार्यक्रममा मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले आम नागरिकलाई सुरक्षाको प्रत्याभूति गराउने गरी खटिने प्रहरीको गाँस, बास र कपासमा सरकारले बिशेष ध्यान दिनुपर्ने बताउनुभयो । कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै चौबिसै घण्टा ड्युटीमा रहनु पर्ने प्रहरी कर्मचारीहरुलाई भौतिक सुबिधा सम्पन्न यस्ता भवनले थप मनोवल बढ्ने र हौसलाका साथ दुरुस्त भई कार्यक्षेत्रमा खटिन प्रेरणा मिल्ने बताउनुभयो । उक्त साँढे २ तले नवनिर्मित भवन १ नम्बर प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालयबाट विनियोजित २ करोड २९ लाख १३ हजार २ सय ७६ रुपैया २५ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा स्थानीय जन प्रतिनिधिहरु, नागरिक समाजका प्रमुख तथा प्रतिनिधिहरु, संचारकर्मी लगायत स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।