प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम सम्पन्न

२०७९-०६-०७

  • A
  • A-
  • A+
Share

काठमाडौं,  नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ । 

कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हाँसिल गर्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि औपचारिक रूपमा शुरु हुने भएतापनि हालै सम्पन्न भएको पुरूष क्रिकेटमा नेपाल प्रहरीको क्रिकेट टिमले स्वर्ण पदक जितेर उत्कृष्ट सुरूवात गरिसकेको उहाँले बताउनुभयो ।

प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा हुने खेलहरूमा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपाल प्रहरीको गरिमा उच्च राख्न शुभेच्छा व्यक्त गर्नुको साथै खेलमा सहभागी हुने अन्य १० टिमलाई समेत सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुदलाई सफल बनाउनु हामी सबैको दायित्व भएकोले नेपाल प्रहरीबाट पूर्ण सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  

कार्यक्रममा नेपाल ओलम्पियन संघका अध्यक्ष तथा रनिङ ट्रफी टुर कार्यदलका संयोजक दिपक बिष्टले ट्रफि टुरमा नेपाल प्रहरीले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हालसम्म ३ वटा प्रदेश, नेपाली सेना र नेपाल प्रहरीमा ट्रफि प्रदर्शनी गरिएको जानकारी गराउनुभयो । नेपाल प्रहरीसँगको समन्वयमा खेलकुद सम्बन्धी कार्यहरू गर्दै आएको स्मरण गर्दै खेलकुदको माध्यमबाट नेपाल प्रहरीले राष्ट्रका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो । 

राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को अवसरमा उक्त प्रदर्शनी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, रनिङ ट्रफि टुर कार्यदलका सदस्यहरू दिपक श्रेष्ठ, अरूणा शाही र मिरा राई तथा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्रिय खेलकुदमा सहभागी हुन लागेका खेलाडीहरू, वरिष्ठ प्रहरी अधिकृहरू लगायतको उपस्थिति रहेको थियो । 


सम्बन्धित समाचार
प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०६-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताउनुभएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा उहाँले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक गर्नुभयो । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । उक्त क्यूआर कोड कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा आजैदेखि कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिनाभित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने उक्त कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई उक्त कार्यालयले अनुरोध समेत गरेको छ । उक्त क्यूआर कोड हाल कोशी प्रदेश प्रहरी कार्यालय र मातहत कोशी प्रहरी प्रदेश तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूका गेट लगायतका सार्वसाधारणको सहज पहुँच हुने सार्वजनिक ठाउँमा उपलब्ध गराइएको छ ।  साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुका साथै उक्त कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो । 

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
२०८०-०६-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रका पूर्व अध्यक्षद्वय श्रीमती ज्ञानु ज्ञवाली र श्रीमती कुशुम लता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सामाजिक सेवा मार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताउनुभयो । लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदान, कुलतमा फसेका व्यक्तिहरूलाई पुन:जीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिवद्धताको साथै सामाजिक रूपान्तरणको लागि खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । लागूऔषधको कारोबार तथा लागूऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराउनुभयो ।  समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिवन्दले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरुलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोही अनुरूप काम गर्दै आएको उल्लेख गर्नुभयो ।   केन्द्रकी सचिव श्रीमती सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०६-०५

 चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको समिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतिलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने चर्चा गर्दै आफ्नो कर्तव्यलाई अर्जुन दृष्टि सम्झेर तल्लीन भएमा व्यावसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गर्नुभयो । प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैंगिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरुको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यावसायिकता समेत झल्काउने उहाँले बताउनुभयो । प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन् गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् । कानूनले तपाईका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईका निर्णयहरूलाई निर्देशित गर्दछ । संगठनप्रति वफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु ।’   कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो । तालिम संयोजक प्रहरी  नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।   उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, सञ्चारकर्मीहरू तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सात सदस्यीय टोली गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता
२०८०-०६-०३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । कार्यशालाको दौरानमा प्रहरी महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गर्नुभएको  थियो । भेटघाटको क्रममा उहाँहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको थियो ।उक्त कार्यशालामा साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण भएको थियो ।कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सात सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान
२०८०-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली सोमबार मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ ।  Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म गणतन्त्र कोरियामा सञ्चालन हुने ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको साथै प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री सम्मिलित रहनुभएको छ ।उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ । साथै साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता-पत्रमा हस्ताक्षर
२०८०-०५-२४

काठमाडौं, नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिनुहुँदै नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो । सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै सम्झौता अनुसार नेपाल पुलिस स्कुलका शिक्षकहरूलाई प्रदान गरिने समयानुकूल ज्ञान र सीपले नेपाल पुलिस स्कुलको शिक्षण पद्दति र विद्यालय सुधारको दिशामा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरूबिचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गर्नुभयो ।समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा. भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले उल्लेख गर्नुभयो ।समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले सम्झौताको महत्व र उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित ९ वटा विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र ९ वटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्ने छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलहरूको समग्र शैक्षिक स्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।