प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन

२०७९-०७-२१

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गर्नुभएको छ ।

निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गर्दै निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशन   दिनुभयो । तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्न समेत प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिनुभयो ।

निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्यांकनको कडी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षाका क्रममा असल नियतबाट भएका काम-कारवाही प्रति संगठनको सदैव साथ रहने विश्वास दिलाउनु भएको छ । ६ महिना अघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।

यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन  दिनुभयो । उहाँले स्रोत-साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न समेत निर्देशन दिनुभयो ।

उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, मोरङ, विराटनगर महानगरपालिका-१५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५२ मिलिग्राम सहित २ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उदयपुर कटारी नगरपालिका-५ का ३० वर्षीय घनश्याम लाखे र  ईलाम माङ्सेबुङ गाउँपालिका-२ बस्ने २३ वर्षीय मनोज अधिकारी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १-०३-००१ प १३५९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । सुनसरी, दुहबी नगरपालिका-३ स्थित सडकबाट अवैध लागूऔषध गाँजा १७ केजी सहित ईटहरी उपमहनगरपालिका-११ बस्ने ३७ वर्षीय महमद हजरत अली समेत ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर र सिआरभी दुहबीबाट खटिएको संयुक्त टोलीले ईटहरीबाट विराटनगरतर्फ जाँदै गरेको को.२ ह ३०४४ नम्बरको अटो जाँच गर्ने क्रममा उक्त परिमाणको लागूऔषध फेला पारी चालक अली समेत ३ जनालाई पक्राउ गरेको हो ।    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

स्रोत नखुलेको नगद सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं,  पर्सा, वीरगञ्ज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट स्रोत नखुलेको नगद २० लाख रूपैयाँ सहित बारा बिश्रामपुर गाउँपालिका-४ बस्ने २७ वर्षीय श्याम किशोर प्रसाद साहलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले प्रदेश २-०३-०११ प ६३४३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक साहको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । उनी उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिमको कसूरमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । कपिलवस्तु, कपिलवस्तु नगरपालिका-२ जमुवारपुल चोकबाट स्रोत नखुलेको भारतीय नगद २१ लाख ७ हजार १ सय रूपैयाँ सहित भारत घर भई कपिलवस्तु मायादेवी गाउँपालिका-१ ईमिलिया बस्ने २८ वर्षीय हमिद मुसलमान समेत ३ जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले भैरहवाबाट तौलिहवातर्फ आउँदै गरेको युपि ५५ एएम ०४५९ नम्बरको कार जाँच गर्ने क्रममा उक्त नगद फेला पारी कारका चालक मुसलमान समेत ३ जनालाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित पक्राउ
२०७९-१०-२०

काठमाडौं, काठमाडौं महानगरपालिका- १४ टेकुस्थित सडक किनारबाट नियन्त्रित लागूऔषध बुप्रेनोर्फिन २ हजार २ सय एम्पुल, डाईजेपाम २ हजार २ सय एम्पुल र फेनारगन २ हजार २ सय एम्पुल सहित सर्लाही हरिवन नगरपालिका-८ स्थायी ठेगाना भएका ३९ वर्षीय कैलाश बिकलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले ना.१ ज ५५२४ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी गाडी चालक कैलाशलाई पक्राउ गरेको हो । यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट अवैध लागूऔषध खैरो हेरोइन १० ग्राम ५ मिलिग्राम र १ थान डिजिटल तराजु सहित सिन्धुली कमलामाई नगरपालिका-११ का ३२ वर्षीय बिमल चौहानलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उक्त खैरो हेरोइन सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-७ गौरीघाटस्थित सडक किनारबाट अवैध लागौषध खैरो हेरोइन २ ग्राम र नगद १ लाख ६७ हजार ५ सय रुपैयाँ सहित २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सिन्धुली कमलामाई नगरपालिका-४ का ३५ वर्षीय मनोज थापा मगर र ३३  वर्षीय राम कुमार श्रेष्ठ रहेका छन् । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले मनोजको साथबाट २ ग्राम र राम कुमारको साथबाट उक्त नगद फेला पारी उनीहरुलाई पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा राम कुमारको काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ स्थितमा रहेको कोठाबाट थप खैरो हेरोइन २५ ग्राम र डिजिटल तराजु १ थान बरामद गरेको हो । साथै उनीहरूलाई उक्त लागूऔषध खैरो हेरोईन बिक्री गर्ने सिरहा गोलबजार नगरपालिकाका ३५ वर्षीय सिकेन्द्र साफीलाई बुद्द एयरको उडानद्दारा जनकपुरबाट काठमाडौं आएको अबस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचर काठमाडौंको आन्तरिक टर्मिनल कक्षतर्फको ट्याक्सी पार्किङबाट अवैध लागूऔषध खैरो हेरोईन ५० ग्राम सहित पक्राउ प्रहरीले पक्राउ गरेको हो ।  मोरङ, बिराटनगर महानगरपालिका-१५ बाट अबैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम ५६ मिलिग्राम सहित २ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २२ वर्षीय अमन अछामे र २२ वर्षीय संजिव बिक रहेका छन् । लागूऔषध ब्युरो बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।