प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न

२०७९-१०-२९

  • A
  • A-
  • A+
Share

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो । 

सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७९’ को लोकार्पण समेत गर्नुभयो ।

समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान  र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो । वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।

प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पिजिडिपिएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उहाँले अब छिट्टै ‘मास्टर ईन पुलिस साइन्स’ कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समय अनुकूल प्रशिक्षार्थीहरुको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उहाँले निर्देशन समेत दिनुभयो ।  

उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले सीमित स्रोत साधनका बावजुद प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधारको विकास, प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षण विकास योजना, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो ।

सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वार्षिकोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, लाइभ म्युजिक विथ डान्स तथा सांगीतिक धुन समेत प्रस्तुत भएको थियो ।

समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
२०८१-०१-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवर हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन फ्रान्स प्रस्थान
२०८१-०१-१०

काठमाडौं,   National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building का विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनु हुनेछ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको विदाइ
२०८१-०१-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।  बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गर्नुभएको कार्य सह्रानीय रहेको बताउनुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त हुनुभएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लाग्नु भएको हो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको   थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०८१-०१-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-०२

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी,  इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव सम्पन्न
२०८०-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । उहाँले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्‍घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले अस्पतालका भिजिटिङ कन्सल्टेन्ट प्रध्यापक डा. सानु मैया दली, अस्पताललाई स्थापना कालदेखि सेवा सहयोग गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक श्री बहादुर थापा र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो । यसै गरी एन.पि.एल. समाज कल्याण संस्था ललितपुरलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत स्त्री तथा प्रसुती विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारमा प्रदान गरिने स्वास्थ्य सेवाको आधारमा प्रहरीको कर्मचारीको मनोबल, उत्प्रेरणा, हौसलाका साथै स्वास्थ्यमा समेत अभिवृद्धि भई तिनीहरूबाट सम्पादित कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई सेवा गर्नुपर्ने बताउँदै शारीरिक तथा मानसिक रूपले सक्रिय रहनुपर्ने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था र प्रहरीबाट सम्पादित कार्यसम्पादन एवम् प्रभावकारी सेवा प्रवाह एक अर्कासँग अन्तरसम्बन्धित विषयवस्तु भएको हुँदा संगठनले यसलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पताललको विकास र विस्तारमा सँधै सहयोगी र सकारात्मक रहँदै यसका लागि संगठनले खेल्नुपर्ने भूमिका तथा सहयोगप्रति सदैव चिन्तनशील तथा प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ह्‍विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका ३ जना शिशुहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै संघका अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दर प्रसाद हैंजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।