प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित

२०७९-१२-१२

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।

  सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उहाँको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गर्नुभयो । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । 

प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । 

गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताउनुभयो ।  

उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । 

नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’   

नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उहाँले उल्लेख गर्नुभयो ।  

कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो । 

प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सङ्क्षिप्त जीवनीः

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भिम बहादुर कुँवर र माता नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो ।

त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो । उहाँ प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँ तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । साथै उहाँले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ ।

आफू र मातहतमा निष्ठावान भए संगठन बलियो हुन्छ भन्ने मान्यता राख्दै काम गर्ने अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साथै उहाँसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा समेत काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको अनुभव गर्नुभएका कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो ।

कार्य कुशलताका हिसावले अब्बल प्रहरी अधिकृत प्रहरी महानिरीक्षक कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशलता प्रस्तुत गर्दै आउनुभएको छ । असहज परिस्थितिमा पनि सहज तरीकाले काम गर्न सक्ने क्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको बखत धरै अभियुक्तहरू पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल हुनुभएको थियो । साथै समाजमा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठूलै चुनौती सामना गरी प्रहरीको पोजिसनलाई मजबुद बनाउन र अपराध अनुसन्धानमा रचनात्मक कार्य गरी उत्कृष्ट कार्य सम्पादन गर्न कुँवरको भूमिका अब्बल रहेको छ । आफू खटिएका हरेक प्रहरी कार्यालयमा काम गर्दा आइपर्ने चुनौतीलाई संयमित भई काम गरी एउटा उत्कृष्ट प्रणालीको विकास गर्ने परिपाटी उहाँले बसाउनु भएको छ ।

राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उहाँले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय छ । 

 



सम्बन्धित समाचार
हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
२०८१-०१-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवर हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन फ्रान्स प्रस्थान
२०८१-०१-१०

काठमाडौं,   National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building का विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनु हुनेछ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको विदाइ
२०८१-०१-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।  बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गर्नुभएको कार्य सह्रानीय रहेको बताउनुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त हुनुभएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लाग्नु भएको हो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको   थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०८१-०१-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-०२

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी,  इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव सम्पन्न
२०८०-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । उहाँले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्‍घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले अस्पतालका भिजिटिङ कन्सल्टेन्ट प्रध्यापक डा. सानु मैया दली, अस्पताललाई स्थापना कालदेखि सेवा सहयोग गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक श्री बहादुर थापा र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो । यसै गरी एन.पि.एल. समाज कल्याण संस्था ललितपुरलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत स्त्री तथा प्रसुती विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारमा प्रदान गरिने स्वास्थ्य सेवाको आधारमा प्रहरीको कर्मचारीको मनोबल, उत्प्रेरणा, हौसलाका साथै स्वास्थ्यमा समेत अभिवृद्धि भई तिनीहरूबाट सम्पादित कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई सेवा गर्नुपर्ने बताउँदै शारीरिक तथा मानसिक रूपले सक्रिय रहनुपर्ने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था र प्रहरीबाट सम्पादित कार्यसम्पादन एवम् प्रभावकारी सेवा प्रवाह एक अर्कासँग अन्तरसम्बन्धित विषयवस्तु भएको हुँदा संगठनले यसलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पताललको विकास र विस्तारमा सँधै सहयोगी र सकारात्मक रहँदै यसका लागि संगठनले खेल्नुपर्ने भूमिका तथा सहयोगप्रति सदैव चिन्तनशील तथा प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ह्‍विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका ३ जना शिशुहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै संघका अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दर प्रसाद हैंजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।