प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

सर्वोच्च शिखर सगरमाथाको सफल आरोही नेपाल प्रहरीका कर्मचारी सम्मानित

२०८०-०२-१९

  • A
  • A-
  • A+
Share

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरी तथा इन्टरपोलको झण्डा सगरमाथाको चुचुरोमा फहराउन सफल आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, सहयोगी व्यक्त र सम्बद्ध संस्थालाई सम्मान गरिएको छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहमा प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली, आरोहणमा सहयोगी भूमिका निर्वाह गर्ने विवस शेर्पा र एलिट हिमालयन एडभेन्चरका डाईरेक्टर मिङ्‍मा डेविड शेर्पालाई दोसल्ला ओढाई सम्मानपत्र सहित सम्मान गर्नुभयो । साथै आरोही नेपालीले उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठलाई झण्डा तथा आरोहणका सामग्री हस्तान्तरण गर्नुभयो । उक्त झण्डा प्रहरी महानिरीक्षकमार्फत इन्टरपोल हेड अफ एनसिबिको आगामी बैठकमा इन्टरपोल प्रमुखलाई हस्तान्तरण गरिने छ भने अन्य सामग्री नेपाल प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय प्रहरी संग्राहलयमा राखिने छ । 

समारोहलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेकोमा हार्दिक बधाई दिँदै आगामी दिनमा पनि प्रहरी सेवामा रहेर यसै प्रकारले राष्ट्र र संगठनको गौरव स्थापना गर्ने कार्यमा सफलता प्राप्तिको लागि शुभकामना व्यक्त गर्नुभयो । समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रण, तस्करी नियन्त्रण लगायत हरेक क्षेत्रमा राष्ट्रले दिएको जिम्मेवारी नेपाल प्रहरीले सफलता पूर्वक गौरवका साथ पूरा गर्दै आएको चर्चा गर्दै उहाँले नेपाल सरकार सदैव नेपाल प्रहरीको भूमिकाप्रति अत्यन्तै प्रसन्नताका साथ प्रोत्साहित गर्न प्रतिवद्ध रहेको बताउनुभयो ।  सरकारको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीले देश र जनताको सेवालाई केन्द्रबिन्दुमा राखेर आफ्नो गौरव र प्रतिष्ठा कायम गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा समेत आफ्नो कार्यसम्पादनलाई गम्भीरतापूर्वक वहन गरी आफूलाई रूपान्तरण गर्ने संकल्प गर्न उहाँले अनुरोध गर्नुभयो ।  

सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले यस आरोहणमार्फत इन्टरपोलका सदस्य राष्ट्रहरू आपराधिक क्रियाकलापहरू विरुद्ध ऐक्यवद्ध रहेको सकारात्मक सन्देश दिन सफल भएको चर्चा गर्नुभयो । साथै उहाँले समयको विकासक्रमसँगै सिर्जित अपराधका नौलो आयामहरूले प्रहरी समक्ष ल्याएका थप चुनौतीहरूको नियन्त्रणका लागि प्रहरीलाई विभिन्न तरिकाले सक्षम बनाउन इन्टरपोलले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख    गर्नुभयो । नेपाल प्रहरीको उपस्थितिले विश्वभरिका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति वृद्धि हुनुका साथै नेपालको पर्यटन प्रवर्द्धन एवम् अर्थतन्त्रमा समेत टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । आरोहणको लागि सहयोग पुर्‍याउने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागलगायत अन्य संघ संस्था तथा सरोकारवाला निकायप्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । 

प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य तथा इन्टरपोल र सम्मान कार्यक्रमका बारेमा जानकारी दिनुभएको उक्त समारोहमा वि.सं. २०३३ सालमा नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै टुकुचे हिमाल सफलतापूर्वक आरोहण गर्ने ९ सदस्यीय टोलीमध्येका अवकाश प्राप्त प्रहरी नायव उपरीक्षक कमल भण्डारी र सर्वोच्च शिखर सगरमाथा आरोही प्रहरी वरिष्‍ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीले आरोहण गर्दाको आ-आफ्नो अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा आरोहण सम्बन्धी वृत्तचित्र प्रस्तुत गरिएको थियो । 

सम्मान समारोहमा प्रधान सेनापति महारथी प्रभुराम शर्मा, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान बिभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवहरू, पर्यटन विभागका महानिर्देशक, विभिन्न मन्त्रालय एवम् पर्यटन तथा आरोहणसँग सम्बन्धित संघ संस्थाका आमान्त्रित अतिथिहरू लगायत नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।


सम्बन्धित समाचार
गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न
२०८०-०४-१९

काठमाडौं, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर सम्पन्न भएको छ ।  गृह मन्त्रालयमा शुक्रबार आयोजित समारोहमा गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादन सम्झौतामा हस्ताक्षर गर्नुको साथै उक्त सम्झौता आदान प्रदान समेत गर्नुभयो । उक्त अवसरमा गृह सचिव भट्टराईले कार्यसम्पादन सम्झौताका विषयहरू समग्रमा शान्ति सुरक्षा, सेवा प्रवाह, विकास निर्माण र सुशासन लगायत गृहमन्त्रालयका सम्पूर्ण जिम्मेवारीहरू प्रतिबिम्बित गरेको उल्लेख गर्नुभयो । सम्झौता कार्यान्वयन गर्ने क्रममा गृहमन्त्रालयको नेतृत्वको तर्फबाट हुने सहजीकरण, नीतिगत मार्गनिर्देशनका साथै आवश्यक पर्ने स्रोत साधनको परिचालनमा समेत मन्त्रालयको साथ सहयोग र उच्च स्तरको समन्वय हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौतामा उल्लेख भएका विषयहरू र सम्पादन गर्नुपर्ने कार्यहरू उचित तरिकाले सम्पादन गर्नेतर्फ सबैको आ-आफ्नो सम्पूर्ण प्रयास, चिन्तन, क्रियाशीलता एवम् लगन उच्च हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  नेपाल सरकार गृह मन्त्रालयको कार्यक्षेत्र बमोजिमको कार्य सम्पादन गर्न सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा १९ तथा सुशासन (व्यवस्थापन तथा संचालन) नियमावली, २०६५ को नियम ११ बमोजिम गृह सचिव भट्टराई र प्रहरी महानिरीक्षक कुँवरबीच उक्त सम्झौता भएको हो । 

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण तथा निर्देशन सम्बोधन कार्यक्रम सम्पन्न
२०८०-०३-२१

काठमाडौं, उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले बिहीबार नेपाल प्रहरी शिक्षालय भरतपुरको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभएको छ । सोही अवसरमा उहाँले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसरमा वृक्षारोपणसमेत गर्नुभएको थियो ।निरीक्षण पश्चात उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने र नागरिकसँग प्रथम सम्पर्क हुन जाने राज्यको निकाय नै प्रहरी भएकोले जनताले सरकारको अनुभूति गर्ने गरी काम गर्नुपर्ने बताउनुभयो । ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर जनमुखी प्रहरी सेवा प्रदान गर्नको लागि दक्ष प्रहरी जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी शिक्षालयले गरेको प्रयास अत्यन्तै सराहनिय रहेको उहाँले उल्लेख गर्नुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरि कानूनी राज्यको प्रत्याभूति दिन सक्ने प्रहरी जनशक्ति उत्पादन गर्न निर्देशन दिनुभयो । ‘प्रहरी जागिर मात्र होईन सेवा पनि हो’ भन्ने भावनालाई आत्मसाथ गरी प्रहरी संगठनको गौरव र गरिमालाई नयाँ उचाईमा पुर्‍याउने गरी काम गर्ने सिप सहितको प्रशिक्षण नवप्रवेशी प्रहरी अधिकृत तथा जवानहरुलाई प्रदान गर्न शिक्षालयलाई आग्रह गर्नुभयो । शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो । 

लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम सम्पन्न
२०८०-०३-११

काठमाडौं, उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मूल समारोह कार्यक्रम, २६ जुन २०२३ राष्ट्रिय सभागृह प्रदर्शनी मार्गमा सोमबार सम्पन्न भएको छ । गृह मन्त्रालयद्वारा आयोजित उक्त कार्यक्रमको सुरुमा गृह मन्त्रालय तथा विभिन्न मन्त्रालयहरु, सुरक्षा निकायहरु, काठमाडौं ललितपुर भक्तपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरु एवम् सरोकारवाला निकायहरुका प्रतिनिधिहरुको सहभागितामा लागूऔषध सम्बन्धी विभिन्न जनचेतनामूलक पर्चा, पम्प्लेट सहितको प्रभातफेरि र्‍याली भृकुटीमण्डप, भद्रकाली हुँदै राष्ट्रिय सभागृहमा आएर मूल समारोह कार्यक्रममा परिणत भएको थियो । कार्यक्रममा उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषधसँग सम्बन्धित लेखरचना समेटिएको गृह मन्त्रालयद्वारा प्रकाशित ‘सुरक्षित जीवन’ नामक जर्नल २०औँ संस्करणको विमोचन गर्नुका साथै दिवसलाई सफल पार्न सहयोग गर्ने नेपाल प्रहरी  संगीत विद्यालय, सेभ द चिल्ड्रेन, रिकभरि नेपाल लगायतका विभिन्न संघसंस्थालाई प्रशंसापत्र वितरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री तथा गृहमन्त्री श्रेष्ठले लागूऔषध दुरूपयोग रोकथाम र नियन्त्रणका विषय बहुसरोकारको विषय भएकोले सम्वद्ध निकायहरूको समन्वय र सहकार्यबाट लागूऔषध उत्पादन, विक्री वितरण, संचय  र ओसारपसार नियन्त्रणको साथै उपचार तथा पुनस्थापना, जोखिम न्यूनीकरण, जनचेतनालाई अभियानको रूपमा संचालन गरी तीनै तहको सरकारको नीति कार्यक्रममा मूलप्रवाहीकरण गरी संचालन गर्न आवश्यक रहेको उल्लेख गर्नुभयो । लागूऔषध अपराध विरूद्ध राष्ट्रिय एक्यवद्धता जुटाउन सबै पक्षबाट इमान्दार प्रयास आवश्यक रहेको उहाँले चर्चा गर्नुभयो ।  उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै गृह सचिव दिनेश भट्टराईले लागूऔषध नियन्त्रण र नियमनको मुख्य जिम्मेवारी रहेको गृहमन्त्रालयले जिम्मेवारी निर्वाह गर्न गैरसरकारी संघसंस्था, नागरिक समाज लगायत विभिन्न सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै समाजको साझा उद्देश्य प्राप्ती गर्न आफ्ना गतिविधिहरू निर्देशित र केन्द्रीकृत गर्दै आएको बताउनुभयो ।   सहसचिव तथा मुख्य औषध नियन्त्रण अधिकारी रूद्रादेवी शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा राष्ट्रिय युवा परिषदका उपाध्यक्ष सुरेन्द्र वस्नेत, एफडिडिआरको तर्फबाट प्रशान्त शर्मा, रिकभरिङ नेपालको तर्फबाट विष्णु फुँयाल र नेसफाडाको तर्फबाट ऋषि ओझाले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । ‘लागूऔषध दुरूपयोग विरुद्धको ऐक्यबद्धता: व्यक्ति समाज र राष्ट्रको प्रतिबद्धता’ भन्ने मूल नाराकासाथ सम्पन्न उक्त कार्यक्रममा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको टोलीले सङ्गीत प्रस्तुती गरेको थियो भने लागूऔषध सम्बन्धी सचेतनामूलक भिडियो समेत प्रदर्शनी गरिएको थियो । साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले कविता वाचन तथा नृत्य प्रस्तुती गरेका थिए ।   गृह सचिव दिनेश भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, गृहमन्त्रालयका महाशाखा प्रमुखहरु तथा अन्य कर्मचारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विभिन्न मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, नागरिक समाज, संचारकर्मीहरु, विद्यार्थी एवम् आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।  

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा योग विज्ञान शिविर तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न
२०८०-०३-०४

काठमाडौं, नवौं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार एक दिवसीय योग विज्ञान शिविर २०८० तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न भएको छ ।  कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले हाम्रा प्राचीन चिन्तक, दार्शनिक र योगीहरूले योग अभ्यासलाई जीवनको अभिन्न अंगको रूपमा लिँदै आएको चर्चा गर्नुभयो । योग अभ्यासलाई जीवनको अभिन्न अंग र वैज्ञानिक अभ्यासको रूपमा अनुशरण गर्न सकेमा व्यक्तिलाई स्वच्छ एवम् समाजलाई पनि अगाडि बढाउन महत्वपूर्ण योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  योग भनेको योग अभ्यास मात्र नभई यसको महत्वलाई आत्मसात गर्दै आफू र समाजलाई समेत अभ्यास गराउनुपर्ने बताउँदै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, “योग अभ्यास एवम् ध्यानले शरीरिक एवम् मानसिक रूपले स्वच्छ बनाउन, जागरूक, संतुलित बनाउन र आफूलाई रूपान्तरण गर्ने प्रकृयामा योगदान पुर्‍याउँछ ।” सरकारको नीति तथा कार्यक्रममा योग र ध्यानलाई संस्थागत रूपमा नै अगाडि बनाउन प्रोत्साहित गर्न आफूले पहल गरेको चर्चा गर्दै उहाँले गृहमन्त्रालय मार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, प्रशासनिक क्षेत्र एवम् कारागार समेतमा योग शिविर संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरीले गर्दै आएका कामप्रति गर्व गर्दै आगामी दिनमा अझ बढी गर्व एवम् प्रतिष्ठा स्थापित गर्न सम्पूर्ण प्रहरी कर्माचारीहरूले कर्तव्यबोधका साथ कार्य सम्पादन गर्न निर्देशन दिनुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिविरको माध्यमबाट योगको महत्व र योगाभ्यासका बारेमा सकल दर्जा माझ सचेतना अभिबृद्धि गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । एकै दिनमा योग सम्बन्धी सम्पूर्ण जानकारी हासिल गर्न सम्भव नहुने बताउँदै उहाँले योगको सही अभ्यास र निरन्तरता एवम् यसबाट लाभग्राही हुने अवसरको लागि यो कार्यक्रम सहायकसिद्ध हुने अपेक्षा गरिएको उल्लेख गर्नुभयो ।  निश्चित अनुशासन र पद्धतिमा बाँधिएर अवलम्बन गरिने योगाभ्यासबाट शरीरमा स्फूर्ति बढ्ने, रोग प्रतिरोधात्मक क्षमताको विकास हुने तथा सकारात्मक सोचतर्फ व्यक्तिलाई उत्प्रेरित गर्न सकिने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “योग व्यक्तिको शरीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्यलाई सुदृढ गर्ने अभ्यास भएकोले स्वस्थ व्यक्ति र सुखी समाजको निर्माण योगबाट सम्भव छ । योग गर्ने व्यक्तिमा सकारात्मक सोच विकास भई नकारात्मकतालाई न्यूनीकरण गर्ने र सकारात्मक सोचले रिस द्वेष एवम् प्रतिशोधको भावनालाई समेत कम गर्दछ, फलस्वरूप यसको प्रभावबाट समाजमा हुने अपराधहरूमा पनि कमी ल्याउन मद्दत गर्दछ ।” शान्त, धैर्यवान भई निर्णय गर्नुपर्ने प्रहरी अधिकृत तथा जवानहरूको मन एवम् मस्तिष्क स्थिर हुन जरूरी रहेको उल्लेख गर्दै उहाँले नेपाल प्रहरीमा नियमित योगाभ्यास गराउने र तालिम प्रदायक निकायहरूमा संचालित तालिमका प्रशिक्षार्थीहरूलाई योगाभ्यास गराउने लक्ष्यसहित नेपाल प्रहरी प्रधान कार्यालय र पतंजलि योग समिति नेपालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको जानकारी दिनुभयो ।  सो अवसरमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लवदेव मिश्र, युवा केन्द्रीय संयोजक लोकनाथ खनाल र सह-केन्द्रीय प्रभारी अर्चना घिमिरेलाई प्रशंसापत्र प्रदान गर्नुभएको थियो भने उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले कृतज्ञताको चिनो प्रदान गर्नुभएको थियो ।  पतंजली योग समिति नेपालका संरक्षक तथा कार्यक्रम संयोजक अवकाश प्राप्त प्रहरी नायव महानिरीक्षक ज्ञानेन्द्र बिक्रम महतले योग शिक्षा बारेमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पतंजली योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनु भएको थियो ।   संयुक्त राष्ट्रसंघको आव्हानमा सन् २०१५ देखि हरेक वर्ष जुन २१ लाई अन्तर्राष्ट्रिय योग दिवसको रूपमा विश्वभर मनाउन थालिएपछि यस वर्ष पतंजली योग समिति नेपालको तत्वावधान र नेपाल प्रहरीको आयोजनामा उक्त शिविर संचालन गरिएको हो ।  कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लगायत पदाधिकारीहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिवहरू, पतंजली योग समिति नेपालका पदाधिकारी एवम् योग गुरूहरू, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरू समेतको सहभागिता रहेको थियो ।

गृहसचिव दिनेश भट्टराईबाट नेपाल प्रहरी प्रधान कार्यालय निरीक्षण तथा निर्देशन सम्बोधन
२०८०-०२-०२

काठमाडौं,  गृहसचिव दिनेश भट्टराईले मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले गृहसचिव दिनेश भट्टराईलाई हार्दिक स्वागत गर्नुभएको थियो । सो क्रममा गृहसचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको थियो । निरीक्षण भ्रमणका क्रममा गृह सचिव भट्टराईले नेपाल प्रहरी प्रधान कार्यालयस्थित डिजिटल फरेन्सिक ल्याव, पोलिग्राफ शाखा र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै त्यहाँबाट हुने काम र गतिविधिबारे जानकारी लिनुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै गृहसचिव भट्टराईले गृह प्रशासन मातहत कार्यरत सबैले आफू ‘शासक होइन सेवक हो’ भन्ने भावका साथ नागरिक सेवामा समर्पित भएर आर्थिक सामाजिक रूपान्तरणको अभियानलाई सार्थक बनाई सामाजिक न्यायसहितको समृद्धि हासिल गर्ने कार्यमा एकजुट हुनुपर्ने बताउनुभयो । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, अखण्डता, राष्ट्रिय एकता, स्वाभिमान र राष्ट्रिय सुरक्षाको कार्यभारलाई आत्मसाथ गर्दै देशमा शान्ति सुव्यवस्थाको समुचित प्रबन्ध मिलाउन नेपाल प्रहरीको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘मन्त्रालय नेतृत्वले अगाडि सारेको दृष्टिकोण, मूल्यमान्यता, निष्ठा र आदर्शलाई नेपाल प्रहरीले गम्भीरतापूर्वक मनन गरी जनताको लोकतान्त्रिक अधिकार उपभोगको अवस्थालाई सुनिश्चित गर्दै नागरिकमैत्री व्यवहार अवलम्बन गरी राष्ट्र र जनतालाई केन्द्रभागमा राखेर तोकिएको जिम्मेवारी व्यावसायिक ढंगले उच्च मनोबलका साथ वहन गर्ने कुरामा म विश्वस्त छु ।’ प्रहरीले नागरिक समक्ष गर्ने कार्यव्यवहारबाट सरकारको छवि उजागर हुने उल्लेख गर्दै उहाँले प्रहरी प्रशासनले गरिब, निमुखा, शोषित पीडित, कमजोर एवं पहुँचबिहिन नागरिकको सारथी बनी उजुरी, गुनासो तथा समस्यालाई सम्बोधन गर्न अग्रसरता एवम् थप क्रियाशिलता हुनुपर्नेमा जोड दिनुभयो ।  गृहसचिव भट्टराईले विभिन्न स्वरूपमा हुने आपराधिक गतिविधि समयमै अनुसन्धान एवं नियन्त्रण गरी प्रहरी संगठनको छवि उच्च राख्न विशेष आग्रह गर्दै  नागरिकको मौलिक एवं लोकतान्त्रिक अधिकारलाई सुरक्षित गरी भरपर्दो र त्रुटिरहित सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिनुभयो । प्रहरी संगठन आफैमा अनुशासनको पर्याय भएको उल्लेख गर्दै गृहसचिव भट्टराईले भन्नुभयो, ‘कुनै पनि सुरक्षाकर्मीलाई पेशागत आचरण विपरीत काम गर्न छुट छैन । तसर्थ सदाचारलाई मूलमन्त्र मानेर आदेशको श्रृङ्खला अनुरूप कार्य गर्न सकल दर्जालाई म निर्देशन गर्न चाहान्छु ।’ मातहतका प्रहरी कार्यालयहरूले आफ्नो कार्यालयबाट प्रदान गरिने सेवाको गुणस्तर र बितरण प्रक्रियामा आमूल सुधार गरी सेवा प्रवाहलाई थप चुस्त, दुरूस्त र प्रभावकारी बनाउन कार्ययोजनाका साथ काम गर्न जरूरी रहेको उहाँले बताउनुभयो ।  साथै उहाँले सरूवा, बढुवा, पदस्थापना लगायतका वृत्ति विकासका अवसरलाई न्यायोचित र अनुमानयोग्य बनाउने र अनावश्यक दवाव सिर्जना गर्ने जस्ता गैर व्यावसायिक प्रवृत्तिलाई निरूत्साहित गरिने बताउँदै संगठनमा स्थापित आदेशको श्रृङ्खला अनुरूप आगामी दिनमा वृत्ति विकासका अवसरलाई न्यायोचित तवरबाट अगाडि बढाइने बताउनुभयो । महिला तथा बालबालिकाविरुद्ध हुने हिंसाप्रति थप चनाखो एवं संवेदनशील हुन उहाँले उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै सार्वजनिक सम्पत्तिको तोडफोड लगायत अवाञ्छित, अराजक र उच्छृङ्खल गतिविधिलाई निरूत्साहित गर्दै अनुसन्धान र तहकीकातका माध्यमबाट संलग्नलाई कानूनी दायरामा ल्याउन समेत निर्देशन दिनुभयो । सो अवसरमा आभार सहितको मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले गृहसचिव ज्यूबाट प्राप्त अत्यन्तै महत्वपूर्ण, समसामयिक र सान्दर्भिक निर्देशनलाई संगठनले पूर्णरूपमा ऐक्यबद्ध भई अक्षरस पालना गरी नतिजा दिने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले संगठन सुदृढिकरणका लागि आन्तरिक शुद्धिकरणलाई प्रस्थानविन्दू बनाउँदै जनमैत्री एवं प्रविधिमैत्री प्रहरी विकास र प्रहरी कार्यसम्पादन गुणस्तर अभिवृद्धि एवं प्रहरी कर्मचारीको मनोबल उच्च राख्दै संगठनको समग्र छवि उचो राख्ने लगायतका विषयलाई प्राथमिकतामा राखी संगठनको दुई वर्षीय कार्ययोजना निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । प्रणालीगत व्यवस्थापन साँगठनिक विकासको आधारशिला भएको चर्चा गर्दै संगठनको प्रत्येक सदस्यले व्यावसायिक क्षमता प्रदर्शन गर्नसक्ने वातावरणको निर्माण गर्दै योग्यता र कार्यसम्पादन लक्षित कार्य पद्दती निर्माण गर्न संगठन पूर्ण दृढ रहेको उहाँले बताउनुभयो । अपराध रोकथाम एवं घटित अपराधको प्रभावकारी अनुसन्धान, सामाजिक विकृतिको नियन्त्रण र सेवा प्रवाहमा जनअपेक्षा अनुरूपको कार्य सम्पादनको लागि सुदृढ प्रहरी संयन्त्र आजको आवश्यकता रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नागरिक सुरक्षाको प्राथमिक दायित्व बोकेको नेपाल प्रहरीलाई सुदृढ कार्य सम्पादनको लागि उपयुक्त रणनीतिसहित प्रविधि एवं साधनयुक्त बनाउन नेपाल सरकार र तालुक मन्त्रालयबाट निरन्तर सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । निर्देशन सम्बोधन कार्यक्रम अघि नेपाल प्रहरीको संस्थागत प्रस्तुतीकरण कार्यक्रममा गृहसचिव दिनेश भट्टराई समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा, निर्वाचन सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र सुपरिवेक्षण, अन्तर्राष्ट्रिय समन्वय र सहायता, प्रहरी कार्यमा प्रविधिको प्रयोग, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । निर्देशन सम्बोधन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका सहसचिवद्वय केदारनाथ शर्मा र जितेन्द्र बस्नेत, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् भर्चुअल रूपमा ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको उपस्थिति रहेको थियो ।

माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठद्वारा नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण
२०७९-१२-२०

काठमाडौं, माननीय उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सोमबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण भ्रमण गर्नुभई उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनुभयो । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभएको   थियो । सो क्रममा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण गर्नुभएको   थियो ।निरीक्षण भ्रमणका क्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलीग्राफ सेक्सन, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबको निरीक्षण गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो ।निरीक्षण पश्चात आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले उपस्थित प्रहरी अधिकृत तथा जवानहरु एवम् भिडियो कन्फेरेन्समार्फत ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरु, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू,  तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू तथा सबै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन सम्बोधन गर्नुभयो । सो क्रममा उहाँले ‘सत्य सेवा सुरक्षणम्’ को मुल मन्त्रलाई आत्मसात गरी सेवाभावबाट ओतप्रोत भई नागरिकको जिउधनको सुरक्षा र अमनचयन कायम गर्न अहोरात्र खटिएर प्रहरी सेवा प्रदान गर्न गरिएका प्रयास अत्यन्तै सराहनीय रहेको चर्चा गर्नुभयो । सरकारको प्रतिनिधिको रुपमा सर्वप्रथम जनतामाझ पुग्ने नै प्रहरी भएको र सरकारको प्रतिनिधिको रुपमा नागरिकसँग प्रथम सम्पर्क हुने हुँदा कार्यस्थलमा सुरक्षाकर्मीले गर्ने व्यवहारबाट नागरिकको सरकारप्रतिको धारणा निर्माण हुने उल्लेख गर्दै उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले भन्नुभयो, ‘तपाईहरुले शरीरमा लगाएको बर्दी र काँधमा लगाएको फुलीमा सर्वसाधरणको भरोसा र विश्वास लुकेको छ । स्वच्छ, निष्पक्ष र छिटोछरितो सेवा प्रवाहमार्फत नागरिकको भरोसा र विश्वासलाई कायम राख्न अझ मेहनत गर्नु हुनेछ भन्ने आशा लिएको छु ।’ तस्करी र राजश्व चुहावट नियन्त्रणमा नेपाल प्रहरीको भूमिका स्मरणीय र उल्लेखनीय रहेको बताउँदै उहाँले यसको गुणात्मक वृद्धिका लागि दृढ भई कारवाही गर्न समेत निर्देशन दिनुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले मुलुकमा शान्ति-सुरक्षा स्थापना गर्न, नागरिकको जनधनको सुरक्षा सुनिश्‍चित गर्न, महिला बालबालिका, ज्येष्ठ नागरिकको पूर्ण सुरक्षा प्रत्याभूति गर्ने क्रममा तथा आमनागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराउन ऐन-कानूनले निर्दिष्ट गरेका जिम्मेवारीहरुलाई पूर्ण पालना गरी कानूनी राज्यको प्रत्याभूति दिन निर्देशन दिनुभयो । कुनै पनि अवाञ्छित दबाब र चलखेलमा नपरी संगठनको उद्देश्यलाई केन्द्रमा राखेर सम्पूर्ण प्रहरी कर्माचारीहरू ऐक्यबद्ध भई कार्य गर्नुपर्ने बताउनुहुँदै उहाँले पेशागत मर्यादा र प्रतिष्ठालाई कायम गर्दै संबिधान र कानूनले संगठनलाई दिएको जिम्मेवारी पूरा गर्न निर्भिकता पूर्वक सिर्जनात्मक ढंगले दायित्व निर्वाह गर्न समेत बताउनुभयो । पदस्थापना बढुवा, सरूवालाई अधिकतम प्रणालीगत र संस्थागत ढंगले आगाडि बढाउन गृहमन्त्रालयले आवश्यक पहल गर्ने उहाँले उल्लेख गर्नुभयो ।  उपप्रधानमन्त्री एवम् गृहमन्त्री श्रेष्ठले सीमित स्रोत साधन, न्यून जनशक्ति र अपर्याप्त भौतिक पूर्वाधारका बावजुद पनि नेपाल प्रहरीले शान्ति सुरक्षा, अपराध नियन्त्रण, महामारी नियन्त्रण, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन, खोज उद्धार तथा राहत लगायतका प्रतिकार्यमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्दै विपद्‍ जोखिम न्यूनीकरण तथा प्रतिकार्यका लागि सदैव तयारी अवस्थामा रहन आवश्यक रहेको बताउनुभयो । साथै मिटरब्याजबाट पीडितहरुको उजुरी समयमा नै अनुसन्धान गरी दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन र पीडितलाई उचित न्याय दिलाउने कार्यलाई उच्च प्राथमिकताका राखी कार्यसम्पादन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो ।सो अवसरमा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले माननीय उपप्रधानमन्त्रीज्यूबाट नेपाल प्रहरीको सांगठनिक अभिवृद्धि तथा प्रहरी कर्मचारीहरुको वृत्ति विकासलगायतका विषयहरुमा प्राप्त निर्देशनका लागि कृतज्ञता व्यक्त गर्नुभयो । तालुक मन्त्रालयबाट नेपाल प्रहरीको वृत्ति विकास, संरचनागत सुधार र हालसम्म प्राप्त सहयोगको लागि धन्यवाद व्यक्त गर्दै उपप्रधानमन्त्रीज्यूको नेतृत्व एवं अभिभावकत्वमा प्रहरी कर्मचारीको वृति विकास र क्षमता अभिवृद्धिमा ठोस कदम चालिने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले आर्थिक अनियमितता एवं गैरव्यावसायिक आचरण विरुद्ध शून्य सहनशीलताको नीति आवलम्बन गर्दै आन्तरिक शुद्धीकरण अभियानलाई कठोरतापूर्वक लागू गर्न संगठन पूर्णरूपमा प्रतिवद्ध रहेको बताउँदै तालुक मन्त्रालयको सदिक्षा र सहयोगबाट आन्तरिक शुद्धिकरणको यो अभियानले सार्थकता पाउने बताउनुभयो । लागूऔषधको सेवन, बिक्री-वितरण तथा ओसारपसार र सञ्चय गर्ने जस्ता अवैध गतिविधिलाई निस्तेज गर्न नेपाल प्रहरीले प्रवर्द्धनात्मक, नियन्त्रणात्मक र दण्डात्मक नीति अवलम्बन गर्दै आएको र लागूऔषध नियन्त्रण तथा रोकथाम कार्यलाई उच्च प्राथमिकतामा राखी निर्ममतापूर्वक कारवाही गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  नेपाल प्रहरीले मानव अधिकारको सम्मान तथा संरक्षण, कानूनको निष्पक्ष कार्यान्वयन र सूचनामा आधारित एवम् प्रमाणमुखी अनुसन्धानलाई उच्च महत्व दिँदै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराधको संजाल र आवाञ्छित गतिविधि निस्तेज गर्न संगठन दृढ संकल्पित रहेको तथा हुण्डी, क्रिप्टोकरेन्सी कारोबार, विदेशी मुद्रा तथा गैरकानूनी सुन ओसारपसार उपर नेपाल प्रहरीले कठोर भई कारवाही र अनुसन्धान गर्दै आएको बताउनुभयो ।  निरीक्षण भ्रमणको क्रममा गृहमन्त्री श्रेष्ठ समक्ष नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रबिन्द्र केसीले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङक तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी मनोबल, उत्प्रेरणा र क्षमता अभिवृद्धि, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, चुनौति, भावी योजना र अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा गृहसचिव विनोद प्रकाश सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, गृहमन्त्रालयका प्रवक्ता, प्रहरी नायव महानिरीक्षकहरु एवम् वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, गण प्रमुखहरू, तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी प्रमुखहरुको भर्चुअल उपस्थिति रहेको थियो ।