प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रभावकारी बन्दै लागूऔषध विरूद्ध लालटिन अभियान

२०८१-०१-१८

  • A
  • A-
  • A+
Share

काठमाडौं, जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे । पढाई पनि बिग्रदै गएको थियो । उनको यो अवस्था देखेर घर परिवार चिन्तित भए । उनीहरूको आग्रहमा किशोर लालटिन समूहको सम्पर्कमा आए । अहिले उनी खुसी छन् । घर र स्कुलमा रमाउन थालेका छन् । पढाई पनि राम्रो हुँदै गईरहेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘कर्णालीमा लागूऔषध विरूद्ध लालटिन अभियान’ अन्तर्गत गठित लालटिन समन्वय डेस्कको सम्पर्कमा आएपछि ती किशोर लागूऔषध दुर्व्यसनबाट मुक्त भएका हुन् । अहिले उनी जस्ता धेरै युवाहरू अभियान अन्तर्गत संचालित कार्यक्रमहरूको प्रभावले दुर्व्यसन मुक्त भएका छन् । सो क्षेत्रमा लागूऔषधको अवैध कारोवार पनि घटेको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान,२०८० अन्तर्गत लालटिन अभियान संचालन गरिरहेको छ । लागू पदार्थ उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवन विरूद्ध प्रहरी परिचालन गरी कानूनी दायरामा ल्याउने लगायतका उद्देश्यले २०८० असोज २५ गतेदेखि अभियान संचालन गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “तत्कालिन अवस्थामा म आफै प्रदेश प्रहरी कार्यालय कर्णालीको प्रमुख थिएँ । लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू जोगाउन र लागूऔषधको अवैध कारोवार नियन्त्रण गर्न अभियान संचालन गरिएको हो । अभियान कर्णालीका १० जिल्लामा एकैपटक शुरू गरिएको थियो । प्रहरीको सक्रियताले सबै जिल्लाका गाउँ गाउँसम्म अभियान पुग्न सफल भएको छ । अहिले १ वर्ष पछि आएर समीक्षा गर्दा लागूऔषध कारोवार र प्रयोग घट्दो अवस्थामा रहेको पाइएको छ । यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।” 

अभियान अन्तर्गत विभिन्न लालटिन समूह गठन गरी काम भइरहेको छ । शुरूदेखि हालसम्म ७ महिनाको अवधिमा जम्मा १ हजार २०० वटा लालटिन समूह गठन भएका छन् । तीमध्ये जिल्ला लालटिन समन्वय डेस्क ९ वटा, नगरपालिका स्तरीय लालटिन समूह २२ वटा, गाउँपालिका स्तरीय लालटिन समूह ४३ वटा, वडा स्तरीय लालटिन समूह ५४१ वटा, गाउँ/टोल लालटिन समूह २५६ वटा, कलेज लालटिन समूह १४ वटा र विद्यालय लालटिन समूह ३१५ वटा रहेका छन् । 

लागूऔषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गरी अभियान संचालन गर्ने गरिएको छ । बढि प्रभाव परेका क्षेत्र र वर्ग लक्षित नियन्त्रणका उपायहरू अवलम्बन गरी सक्रिय रूपमा काम गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “अभियान अन्तर्गत जिल्लादेखि पालिका, वडा, वस्तीस्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन गरी काम गरिएको छ । समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” 

चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कर्णाली प्रदेशमा १ सय २९ जना लागूऔषध कारोवारी पक्राउ परेका छन् । सो अवधिमा ८२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २ सय १५ जना पक्राउ परेका थिए । उक्त आर्थिक वर्षमा ११४ मुद्दा दर्ता भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७२ जना मानिस पक्राउ परेका थिए भने ९५ मुद्दा दर्ता भएका थिए । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा २५ रोपनी जग्गामा लगाएको गाँजा खेती र ६ सय १८ रोपनी जग्गामा लगाएको अफिम खेती फडानी गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ५ सय ३७ रोपनी जग्गामा लगाएको गाँजा खेती र ४ सय ७१ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ८ रोपनी जग्गामा लगाएको गाँजा खेती र ५९ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो ।

अभियान अन्तर्गत विभिन्न लक्षित वर्गहरूको लागि निरन्तर रूपमा प्रभावकारी तवरले लागूऔषध विरूद्धको सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गरिएको छ । यसबाट समाजमा विकरल रोगको रूपमा फैलिएको लागूऔषध दुर्व्यसनी रोक्न अभियान सफल भएको छ । शान्ति सुरक्षा र सुरक्षित कर्णाली कार्यक्रम गाउँ गाउँसम्म पुगेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “आम नागरिकहरूलाई सचेत बनाई सक्रिय सहभागिता गराउने अभियानको लक्ष्यले सार्थकता पाएको छ । लागूऔषध दुर्व्यसन र कारोवारको कारण सुक्ष्म रूपमा अध्ययन गरी त्यसको समाधन गर्न सहज भएको छ । यसबाट लागूऔषध सेवन, कारोवारबाट हुने अपराधलाई निरूत्साहित पार्न सहज भएको छ । यसले समाज र नागरिकहरूमा सुरक्षाको अनुभूति बढाएको महसुस भएको छ । ”


सम्बन्धित समाचार
लागूऔषध दुर्व्यसन सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०७

प्युठान, मल्लरानी गाउँपालिका-४ खलङ्गास्थित उद्योग वाणिज्य संघको सभाहलमा लागूऔषध दुर्व्यसन र यसले पार्ने नकारात्मक प्रभावका बारेमा सचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा उद्योग वाणिज्य संघ प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सो अवसरमा प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले लागूऔषधबाट हुने नकारात्मक असरहरूको बारेमा जानकारी दिँदै लागूऔषध दुर्व्यसनीबाट व्यक्तिगत जीवन मात्रै नभई पारिवारिक, आर्थिक तथा सामाजिक जीवनमा समेत ठुलो असर पर्ने बताउनुभयो । कार्यक्रमका प्रशिक्षक वसन्त पुन, सुन्दर गौतम र जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी सहायक निरीक्षक आकाश खड्काले लागूऔषध सम्बन्धी परिचय र यसले पार्ने नकारात्मक प्रभाव तथा कानूनी सजाय सम्बन्धी व्यवस्थाका बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  उद्योग वाणिज्य संघ प्युठानका अध्यक्ष पशुपतिनारायण नकर्मिको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सामाजिक अभियन्ता, सञ्चारकर्मी, महेन्द्र माध्यामिक विद्यालयका शिक्षक तथा विद्यार्थीहरूको सहभागिता रहेको थियो । 

प्रहरी परिवार पुनर्मिलन कार्यक्रम सम्पन्न
२०८१-०२-०६

प्युठान, प्युठान नगरपालिका-३ स्थित शहिदपार्क बिजुवारमा “प्रहरी परिवार पुनर्मिलन कार्यक्रम” शनिबार सम्पन्न भएको छ । नेपाल पूर्व प्रहरी संगठन प्युठानको समन्वय र नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले यस्ता कार्यक्रमले बहालवाला प्रहरी कर्मचारी, पूर्व प्रहरी कर्मचारी, अशक्त प्रहरी कर्मचारी, आश्रित परिवारजनहरू तथा अमर प्रहरी परिवारजनहरूमा आपसी सद्‍भाव प्रगाढ बनाउँदै कार्य सम्पादन गर्न र तनाव व्यबस्थापन गर्नमा सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो ।सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले पूर्व प्रहरी तथा अमर अशक्त प्रहरीको महत्वपूर्ण योगदानको चर्चा गर्दै यस्ता कार्यक्रमले प्रहरी संगठन थप मजबुत हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापालाई प्रशंसापत्र प्रदान गर्नुभयो । नेपाल पुर्व प्रहरी संगठन प्युठानका अध्यक्ष मोहन सिंह बिष्टले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघ लुम्विनी प्रदेशकी अध्यक्ष निलम कडायत लगायतको उपस्थिति रहेको थियो ।

लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विवाह नियन्त्रण सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०६

प्युठान,  नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरको प्रमुख आतिथ्यता लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा र बाल विबाह नियन्त्रण" सम्बन्धी सचेतनामूलक कार्यक्रम प्युठान नगरपालिका-९ मरन्ठाना मजुवास्थित बाल विद्या माविमा शनिबार सम्पन्न भएको   छ । प्युठान नगरपालिकाको आयोजना र जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय तथा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेशको सहकार्यमा उक्त सचेतनामूलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा संघकी अध्यक्ष कुँवरले लागूऔषध, लैंगिक हिंसा र बालविवाह जस्ता चुनौतीको सामना गर्न सबै सचेत हुन जरूरी रहेको बताउँदै प्रहरीद्वारा संचालित हुने यस्ता किसिमका सचेतनामूलक कार्यक्रमले समाजमा चेतनाको अभिबृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले समाजमा शान्ति शुरक्षा स्थापना गर्न समाज र प्रहरीको हातेमालो हुन जरुरी रहेको बताउँदै अपराध न्यूनीकरण तथा रोकथाम गर्न स्थानीय स्तरबाटै जागरूक हुनुपर्नेमा जोड दिनुभयो । प्युठान जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले सबै किसिमका हिंसा र अपराधको बारेमा सबै जागरूक हुनुका साथै कुनै पनि अपराधिक घटना भएको देखेमा सम्बन्धित निकायमा तत्कालै उजुरी दिनुपर्नेमा जोड दिनुभयो । जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्‍वर थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख देबेन्द्र वर्मा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य शुशिल पोख्रेल, सोही नगरपालिका-९ का वडाध्यक्ष विकास केसीले आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । प्युठान नगरपालिकाका प्रमुख बिष्णु बहादुर योगीको अध्यक्षतामा सम्पन्न उक्त ‍कार्यक्रममा गन्दर्भ समाज नेपाल प्युठानका साँस्कृतिक टोलिद्वारा सचेतनामूलक गीतसमेत प्रस्तुत गरिएको थियो ।

दुर्व्यसन, हिंसा र विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-५ कुमिकोटस्थित वडा कार्यालयको सभाहलमा ‘लागूऔषध दुर्व्यसन, लैंगिक हिंसा तथा जातिय विभेद न्यूनीकरण सम्बन्धी अभिमुखीकरण’ कार्यक्रम मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्यमा मल्लरानी गाउँपालिका प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो ।कार्यक्रममा जिल्ला प्रहरी कार्यालय प्युठानको तर्फबाट लैंगिक हिंसाको परिभाषा, लैंगिक हिंसा हुनुको कारण, यसको प्रकार, रोकथाम, लागूऔषधको परिचय, प्रकार, असर, बच्ने उपाय, दुर्व्यसनका चरणहरू र कानूनी प्रावधान बारेमा प्रस्तुतीकरण गर्दै लागूऔषधको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गरिएको थियो । सो अवसरमा जातिय विभेदको सम्बन्धमा सचेतनामूलक भिडियो प्रस्तुत गर्दै नेपाल पत्रकार महासंघ प्युठानका सदस्य लोकेन्द्र सुनारले जातिय छुवाछुत, भेदभावको पृष्ठभूमि, जातिय भेदभाव तथा छुवाछुत सम्बन्धी विद्यमान कानूनी व्यवस्था र सजाय, बाल विवाहको परिभाषा, असर, बाल विवाह रोकथामको उपाय, यसको कानूनी प्रावधान, प्युठान जिल्लामा बाल विवाहको अवस्थाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  मल्लरानी गाउँपालिका वडा नम्बर ५ का वडाअध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा स्थानीय जनप्रतिनिधि, सोही गाउँपालिकाका कर्मचारीहरू एवम् स्थानीय भद्रभलाद्‍मीको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०२-०२

प्युठान, मल्लरानी गाउँपालिका-३ वरबोटस्थित भानुभक्त माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन, किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ मंगलबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, दुर्व्यसनमा लाग्नुको कारण, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका तथा कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो । 

दुर्व्यसन तथा दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम सम्पन्न
२०८१-०१-३१

प्युठान, माण्डवी गाउँपालिका-२ मार्कवाङस्थित सुन्नानो आधार माध्यामिक विद्यालयमा ‘लागूऔषध दुर्व्यसन र किशोर किशोरीहरू माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार विरूद्ध सचेतनामूलक कार्यक्रम’ आइतबार सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय प्युठानको सहकार्य तथा जिल्ला प्रशासन कार्यालय प्युठानको समन्वयमा सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानले उक्त कार्यक्रम आयोजना गरेको हो । सामाजिक विकास डिभिजन कार्यालय बिजुवार प्युठानका प्रमुख पुण्य प्रसाद न्यौपानेले किशोर किशोरी माथि हुने शारीरिक तथा यौनजन्य दुर्व्यवहार सम्बन्धी प्रस्तुतीकरण गर्दै गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सहायक निरीक्षक नबिन शाहले लागूऔषधको परिचय, प्रकार, असर, यसबाट बच्ने उपाय, लागूऔषध नियन्त्रणमा शिक्षक, विद्यार्थी र प्रहरीको भूमिका र कानूनी प्रवाधान बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा शिक्षक, विद्यार्थीहरू, स्थानीय जनप्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।