प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

वैदेशिक रोजगारीमा पठाईदिने भन्दै ठगी गर्ने कन्सलटेन्सीका संचालकहरू पक्राउ

२०८१-०२-३१

  • A
  • A-
  • A+
Share

काठमाडौं, वैदेशिक रोजगारी तथा भिजिट भिषामा विभिन्न देश पठाइदिन्छु भन्दै एक हजार जना भन्दा बढी व्यक्तिहरूबाट २ करोड ५० लाख भन्दा बढी रकम ठगी गरेको अभियोगमा विभिन्न कन्सलटेन्सीका ६ जना संचालकहरूलाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा काठमाडौं कोटेश्‍वर बस्नेहरू सुर्खेत वीरेन्द्रनगर नगरपालिका-९ घर भएका २७ वर्षीय रेशम रावल, २४ वर्षीय प्रेम बहादुर रावल, डडेल्धुरा अमरगढी नगरपालिका-९ का २६ वर्षीय राजेश साउद तथा अछाम रामारोशन गाउँपालिका-१ घर भएका २५ वर्षीय टंकराज खनाल, काठमाडौं धुम्बाराही बस्ने काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका-९ घर भएका ३० वर्षीय सुरेन्द्र तामाङ र काठमाडौं नरेफाँट बस्ने मोरङ पथरी शनिश्‍चरे नगरपालिका-१० घर भएका ३५ वर्षीय सन्तविर घिमिरे रहेका छन् ।    

रेशम रावलसमेतले काठमाडौं कोटेश्वर र तिनकुनेमा संचालन गरेका युनिक, वर्ल्डवाइड तथा रियान्स कन्सलटेन्सी, ग्लोबल ह्‍युमन रिसोर्सेस म्यानेजमेन्ट कम्पनी र रावल ट्राभल एण्ड टुर्स समेतबाट पोल्याण्ड, पोर्चुगल, फ्रान्स, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशहरूमा वैदेशिक रोजगारी तथा भिजिट भिषामा पठाउने भन्दै गैरकानूनी रूपमा कागजात र रकम संकलन गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । प्रहरीले उक्त कन्सलटेन्सीबाट २ सय २० थान राहदानी समेत बरामद गरेको छ ।

उनीहरूले विभिन्न सामाजिक संजालमार्फत विभिन्न देशहरूमा आकर्षक तलब भत्ता सेवा सुविधाहरू पाइन्छ भनी झुट्टा विज्ञापन प्रचार प्रसार गर्ने गरेको, पीडितहरूको सक्कल कागजपत्र लिएको र विदेश पठाउने काम नभएपछि उक्त कागजपत्र माग्न जाँदा पीडितहरूलाई १ लाख ५० हजारदेखि २ लाख रूपैयाँसम्म रकम दिनु अनि मात्र डकुमेन्ट फिर्ता दिने भनी फर्काउने गरेको, विभिन्न होटल, कृषि फर्म, विद्यालय आदिको स्ट्याम्प प्याड प्रयोग गरी झुट्ठा कागजातहरू बनाइदिने गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । 

 उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार
सालकको खपटा ओसारपसार मुद्दाका फरार व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, संरक्षित वन्यजन्तु सालकको खपटा (आखेटोपहार) ओसारपसार मुद्दाका फरार प्रतिवादी सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-५ घर भई काठमाडौँ गोकर्णेश्वर नगरपालिका-४ बस्ने टासी भन्ने ४४ वर्षीय टसी तामाङलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखाको २०७० मंसिर १७ गतेको फैसलाले ५ वर्ष कैद सजाय र ६२ हजार १ सय ७५ रूपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले काठमाडौं गोकर्णेश्वर नगरपालिका-४ नाम्गेल बसपार्कबाट पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीको लागि गौरीशंकर संरक्षण क्षेत्र, सम्पर्क कार्यालय दोलखामा बुझाइएको छ ।

माल्टा पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
२०८१-०३-०९

काठमाडौं, वैदेशिक रोजगारमा माल्टा पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा कञ्चनपुर बेरौली नगरपालिका-१० घर भई काठमाडौं कीर्तिपुर नगरपालिका-५ बस्ने ३२ वर्षीय केशव राज जोशीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा माल्टा पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट रकम लिई सम्पर्क विहीन भएका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं बबरमहलबाट पक्राउ गरेको हो । उनले पीडितहरुलाई माल्टा लैजाने भनी वर्किङ भिषा देखाई विश्वास दिलाई पीडितहरू कतार पुग्दा त्यहाँको अध्यागमनले नक्कली भिषा भनी जेल समेत पठाई डिपोट गरी नेपाल फर्काएको पनि अनुसन्धानको क्रममा खुल्न आएको छ । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं बुझाइएको छ ।