अवैध लागूऔषध सहित पक्राउ
२०७८-०६-२१
- A
- A-
- A+
काठमाडौं, २१ असोज
कैलाली, धनगढी उपमहानगरपालिका-१३ राजपुरबाट ९ ग्राम २ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र ४४ ग्राम ७ सय ७० मिलिग्राम अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ सहित सोही ठाउँ डेरा गरी बस्ने डडेलधुरा घर भएकी ३४ वर्षीया आशा बिष्टलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनको डेरामा लागूऔषध लुकाई राखेको भन्ने सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।
रुपन्देही, बुटवल उपमहानगरपालिका-११ देवीनगरबाट १७ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने खैरो धुलो पदार्थ, नगद २९ हजार ५ सय रुपैयाँ र लु.२१ प ७४० नम्बरको मोटरसाइकल सहित सोही ठाउँ बस्ने ३७ वर्षीय लछुमन बिकलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी(पूर्व), कावासोती नगरपालिका-१६ चालिस किलो जंगलस्थित सडकबाट नियन्त्रित लागूऔषध नोर्फिन ३१ एम्पुल, फेनारागन ३१ एम्पुल र डाईजेपाम ३१ एम्पुल सहित कास्की पोखरा महानगरपालिका-३२ बस्ने २५ वर्षीय डोल बहादुर थापालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । लु.२ ख २८९ नम्बरको बसलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।