प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गर्ने व्यक्ति पक्राउ

२०८०-०२-१०

  • A
  • A-
  • A+
Share

काठमाडौं, अनलाइनबाट नाबालिकालाई शोषण र दुर्व्यवहार गरेको अभियोगमा कास्की पोखरा महानगरपालिका-१९ पुरनचौर बस्ने २१ वर्षीय मनीष भुजेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । 

भुजेलले सामाजिक सञ्जाल ईस्न्याप च्याट एवम् भाइबरमार्फत पीडित नाबालिकासँग कुराकानीकै क्रममा विभिन्न प्रलोभन देखाई, फकाई-फुल्याई अश्लील कुराकानी तथा भिडियो च्याट गरी सो कार्यको स्क्रिन रेकड गरेको, पीडितले त्यस्ता अवाञ्छित हर्कत गर्न नमानेपछि धम्कीपूर्ण म्यासेज पठाउनुका साथै पीडितकी आमालाई समेत विभिन्न अनर्गल कुराकानीहरू गरी म्यासेज पठाई पीडित नाबालिकालाई अनावश्यक मानसिक तनाव, दु:ख, हैरानी र बेइज्जत गर्नुका साथै चरित्रहत्या गरेको खुल्न आएपछि नेपाल प्रहरी प्रधान कार्यालय साइबर व्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय कास्कीको सहयोगमा उनलाई कास्की पोखराबाट पक्राउ गरेको हो । 

उनी उपर जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ । 




सम्बन्धित समाचार
अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गर्ने गिरोहका थप २ जना पक्राउ
२०८०-०८-१८

काठमाडौं, सामाजिक सञ्जालको प्रयोग गरी अनलाइनमार्फत यौन व्यवसाय सञ्चालन गरेको अभियोगमा थप २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका लाजिम्पाट बस्ने काभ्रेपलाञ्चोक भुमलु घर भएका २७ वर्षीय सुरेश कुमार श्रेष्ठ र काठमाडौं महानगरपालिका-१४ घर भई कलंकी बस्ने २७ वर्षीय सुरज खड्का रहेका छन् । उनीहरूलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।  यसअघि आइतबार सोही अभियोगमा काठमाडौंका विभिन्न स्थानबाट ५ जनालाई प्रहरीले पक्राउ गरी कानुनी कारवाही प्रकृया अगाडि बढाएको थियो । 

अनलाईनमार्फत ठगी गरेको अभियोगमा एक जना पक्राउ
२०८०-०८-११

काठमाडौं, अनलाइनमार्फत १ लाख ३५ हजार रूपैयाँ ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-३ ईमाडोल बस्ने सप्तरी कञ्चनरूप नगरपालिका-९ घर भएकी २७ वर्षीया सुजता चौधरीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  चौधरीले आफू टर्किको नागरिक हो भनि फेसबुकमार्फत साथी बनाएकालाई कुरियरबाट मोबाइल, घडि, जुत्ता, सुनका गहना, मेकअप लगायतका सामानहरू पठाएको र उक्त सामान काठमाडौं एयरपोर्टमा आइपुगेकोले सामानको कस्टम, डेलीभरी र इन्सुरेन्स वापतको रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरुको नामको बैंक खातामा रकम जम्मा गर्न लगाई ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।   उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर ललितपुर पठाइएको छ । 

अनलाईनमार्फत ठगी गरेको अभियोगमा नौ जना पक्राउ
२०८०-०८-०७

कैलाली, अनलाईनमार्फत ठगी गरेको अभियोगमा धनगढी उपमहानरपालिका-५ तारानगरबाट ५ जना नेपाली नागरिक र ४ जना भारतीय नागरिक गरी जम्मा ९ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा डोटी सिखर नगरपालिका-१० बस्ने २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुर्नवास नगरपालिका-६ बस्ने २९ वर्षीय मिन बहादुर सुनार, बेलडाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनार, सोही ठाउँ बस्ने २८ वर्षीय कमल सुनार, २२ वर्षीय जयराम सुनार, भारत दिल्ली पालङ्गा बस्ने ३२ वर्षीय अमित कुमार, भारत उत्तमनगर दिल्ली बस्ने २६ वर्षीय कुनाल शर्मा, भारत करोलबाग दिल्ली बस्ने २४ वर्षीय निखिल कुमार र भारत दिल्ली बस्ने १९ वर्षीय प्रियंसु टापु रहेका छन् ।  धनगढी उपमहानरपालिका-५ तारानगरस्थित शिवदत्त पाण्डेयको घरमा सुनार समेतले अबैध रुपमा आईटी सेक्टर सञ्चालन गरी विभिन्न बहानामा मनी लाउण्डरिङ, दुर्घटना बिमा लगायत विषयमा प्रलोभनमा पारी विशेष गरी पोल्याण्ड लगायतका नागरिकहरुलाई अनलाईन ठगी गर्ने गरेको भन्ने सूचनाको आधारमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र जिल्ला प्रहरी कार्यालय कैलालीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २९ लाख ३२ हजार ३ सय भारतीय रूपैयाँ, ल्यापटप ११ थान, मोबाइल १० थान, वाईफाई राउटर १, हेडफोन १२ थान र किबोर्ड १ थानसहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हुण्डी तथा अनलाईन गेम्बलिङ संचालन गर्ने श्रेष्ठ पक्राउ
२०८०-०८-०७

काठमाडौंहुण्डी, अनलाईन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको अभियोगमा काठमाडौं महानगरपालिका-२८ बागबजार बस्ने ४८ वर्षीय रूपेश श्रेष्ठ बुधबार दिउँसो पक्राउ परेका छन् । काठमाडौंका विभिन्न स्थानमा केही व्यक्तिहरुले आपराधिक समूह बनाई नेपाल राष्ट्र बैंकबाट अनुमति नलिइ अवैध रूपमा हुण्डी कारोबार गरेको भन्ने सूचनाको आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न श्रेष्ठलाई पक्राउ गरेको हो । श्रेष्ठले नेपाल राष्ट्र बैंकसँग इजाजतपत्र नलिई विद्युतिय माध्यम क्यासएप जस्ता मोबाइल एप्स प्रयोग गरी हुण्डी, अनलाइन गेम्बलिङ, क्रिप्टो तथा अवैध रूपमा विदेशी विनिमय कारोबार गरेको खुल्न आएको छ । साथै उनको घरबाट ८९ लाख ६९ हजार नेपाली रूपैयाँ, अमेरिकी डलर ७ हजार २६, ल्यापटप ३ थान, सिपियु ६ थान, टेलर मेसिन १ थान, सिसिटिभि एनभिआर १ थान, मोबाइल ८ थान, राहदानी २ थान, नागरिकता १ थान र विभिन्न मिति तथा व्यक्तिको नाममा काटिएका बैंक चेक ६४ थान बरामद भएको   छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । 

सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गर्ने महतो पक्राउ
२०८०-०७-२३

काठमाडौं, सामाजिक सञ्जालको दुरुपयोग गरी चरित्र हत्या गरेको अभियोगमा सिरहा लहान नगरपालिका-२४ घर भई हाल काठमाडौं बस्ने ३६ वर्षीय मनोज मानव भन्ने मनोज कुमार महतोलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । टिकटक र फेसबुकमार्फत पीडित महिलाको तस्बिर तथा श्रव्यदृश्य सामग्री दुरुपयोग गरी चरित्रहत्या गर्ने उद्देश्यले क्याप्सन समेत लेखी सामाजिक सञ्जालमा प्रकाशन तथा प्रसारण गरेको भन्ने उजुरीको आधारमा साईबर ब्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले अनुसन्धान तथा प्राविधिक विश्लेषण गर्ने क्रममा उक्त कार्यमा महतोको संलग्नता खुल्न आएपछि उनलाई काठमाडौंबाट पक्राउ गरेको हो । उनीउपर विद्युतीय कारोबार ऐन, २०६३ बमोजिमको कसूरमा काठमाडौं जिल्ला अदालतबाट ७ दिन म्याद थप अनुमति लिई प्रहरीबाट  आवश्यक अनुसन्धान भइरहेको छ ।

क्यानडा पठाई दिने भनी अनलाईन मार्फत ठगी गर्ने दुई जना पक्राउ
२०८०-०५-१९

काठमाडौं, सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ । उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।