प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
असार २०८२
मितेरी सहकारी संस्थाका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका व्यक्ति कम्बोडियाबाट पक्राउ
२०८२-०३-०५

काठमाडौं, मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको रकम ठगी गरी फरार रहेका प्रतिवादी बर्दिया बाँसगढी नगरपालिका-७ घर भएका ४२ वर्षीय ज्योती बहादुर भण्डारी पक्राउ परेका छन् । एनसिबि PHNOM-PENH कम्बोडियाको समन्वयमा कम्बोडियामा पक्राउ परेका उनलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने/गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ । मितेरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका बचतकर्ताहरू र सञ्चालकहरूको समेत गरी करिब १४ करोड रूपैयाँ भन्दा बढी रकम ठगी गरेको अनुसन्धानरत मुद्दामा फरार प्रतिवादी ज्योती गुरूङ मार्फत सहकारीको करोडौँ रकम ठगीमा संलग्न रही ज्योती बहादुर फरार रहेका थिए ।  प्रारम्भिक अनुसन्धानको क्रममा मितेरी सहकारीका महाप्रबन्धक ज्योती गुरूङले सहकारीबाट अपचलन गरेको करोडौँ रकम थाईल्याण्डमा बसोबास गर्ने ज्योती बहादुर भण्डारीले चलाएको र निजले फिर्ता गराईदिने भनि ह्वाट्स एप मार्फत सहकारीका पदाधिकारीहरू र ज्योती बहादुर बीच सम्पर्क गराएको, ज्योती बहादुरले सहकारी संस्थाका सचिव कृष्ण बहादुर रानाको ग्लोबल आईएमई बैंक, ईन्द्रचोक शाखामा ३३ करोड ११ लाख रूपैयाँ पार्सल गरी पठाएको छु भनि टोकनको फोटो पठाएको, विदेशबाट आएको पार्सल रकम लिनको लागि कमिसन तिर्नु पर्छ भनि सहकारी संस्थाका पदाधिकारीहरूसँग सम्पर्क गरी ३ करोड ४४ लाख ७४ हजार ३ सय २० रूपैयाँ ठगी गरेको खुल्न आएको छ । ज्योती बहादुर भण्डारीको नाममा जारी भएको २ वटा राहदानीमा २ वटा फरक फरक नागरिकता उल्लेख भएको, ज्योती बहादुरले अन्य व्यक्तिहरूको राहदानी तथा नागरिकताको विवरण परिवर्तन गरी काल्पनिक व्यक्तिहरूको विवरण राखी सोही कीर्ते गरेको नागरिकता तथा राहदानीलाई स्क्याम गर्न दुरूपयोग गरेको समेत अनुसन्धानबाट खुल्न आएको छ । इन्टरपोल महासचिवालयबाट २०८१ कात्तिक १३ गते ज्योती विरूद्ध रेड नोटिस जारी भएको थियो । यस सम्बन्धमा केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट थप आवश्यक अनुसन्धान भइरहेको छ । 

अवैध लागूऔषध सहित चार जना पक्राउ
२०८२-०३-०५

 काठमाडौं महानगरपालिका-१५ अजिमा हल नजिकै डेरा गरी बस्ने धनुषा जनकपुर घर भएकी २० वर्षीया मनिषा ठाकुरलाई नियन्त्रित लागूऔषध ट्रामाडोल २१ हजार ५ सय ट्याब्लेट, फेनारगन २ सय ६० एम्पुल, डाईजेपाम २ सय ६० एम्पुल, नोर्फिन २ सय ६० एम्पुल र नगद २ लाख २५ हजार ८ सय रूपैयाँ सहित बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।   तनहुँ, शुक्लागण्डकी नगरपालिका-६ अर्चलेबाट अवैध लागूऔषध गाँजा २ किलो ६ सय १० ग्राम र नगद १५ हजार ५ सय रूपैयाँ सहित २ जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-७ बस्ने २० वर्षीय विपिन नेपाली र सोही नगरपालिका -६ बस्ने २० वर्षीय पदम नेपाली रहेका छन् । इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले थर्पुबाट खैरेनीटारतर्फ आउँदै गरेको ग.२३ प ४५११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । चितवन, राप्ती नगरपालिका-९ अमृतपानीबाट अवैध लागूऔषध गाँजा ५ किलो १ सय ग्राम सहित खैरहनी नगरपालिका-१३ सिम्रनी बस्ने ५६ वर्षीय उपेन्द्र महतोलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले सिद्धिबाट अमृतपानीतर्फ आउँदै गरेको बा.१५ प ३६४१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा चालक उपेन्द्रलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

इटाली र अजरबैजान पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०५

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी इटाली र अजरबैजान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-७ बस्ने दाङ घोराही उपमहानगरपालिका-१६ घर भएका १९ वर्षीय दर्शन खड्का र तारकेश्वर नगरपालिका-३ बस्ने गोरखा धार्चे गाउँपालिका-५ घर भएका ३७ वर्षीय सरेश गुरूङ रहेका छन् ।  पक्राउ मध्ये दर्शनले इटाली पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ६ लाख रूपैयाँ र सरेशले अजरबैजान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दर्शनलाई काठमाडौं महानगरपालिका-७ बाट बुधबार र सरेशलाई काठमाडौं महानगरपालिका-२६ बाट मंगलबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

हत्या गरेको अभियोगमा पक्राउ
२०८२-०३-०५

सर्लाही, गोडैता नगरपालिका-६ बगदह बस्ने ६८ वर्षीया राम दुलारी रायको हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने २७ वर्षीय  राम अधिन रायलाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।   राम अधिनले गोरेटो बाटोको विषयलाई लिई राम दुलारी र उनकी बुहारीलाई मंगलबार बेलुकी कुटपिट गर्दा उनीहरू मध्ये गम्भीर घाइते भएकी राम दुलारीको जिल्ला सरकारी अस्पताल सिन्धुलीमा थप उपचारको क्रममा बुधबार दिउँसो मृत्यु भएको थियो । साथै कुटपिटबाट घाइते भएकी राम दुलारीकी बुहारीको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०५

जुम्ला, चन्दननाथ नगरपालिका-७ मिचाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ सय ७० मिलिग्राम सहित सोही ठाउँ बस्ने २३ वर्षीय ईश्वरी बमलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कैलाली, टिकापुर नगरपालिका-१ स्थित शेरचन होटलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ ग्राम ६ सय ५० मिलिग्राम सहित ४ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लम्कीचुहा नगरपालिका-६ गुलरा बस्ने २४ वर्षीय सुरेश रावल, २० वर्षीय प्रमोद धामी, २३ वर्षीय तुषार कटुवाल र जानकी गाउँपालिका-९ बस्ने २५ वर्षीय अनिष रावल रहेका छन् । इलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको प्रहरीले उक्त होटलको कोठा नम्बर ११० तलासी गर्दा उक्त लागूऔषध फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । यसैगरी कैलाली, टिकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६ ग्राम ७ सय ३० मिलिग्राम सहित लम्कीचुहा नगरपालिका-१ सिबिर बस्ने २५ वर्षीय हरिराम चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कालाकुण्डा र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  भक्तपुर, भक्तपुर नगरपालिका-१ सल्लाघारीबाट अवैध लागूऔषध पोलेन करिब ५ किलो ४ सय ग्राम सहित ३ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धादिङ गल्छी गाउँपालिका-५ घर भएका २३ वर्षीय सुरविर तामाङ, काठमाडौं नैकाप बस्ने धादिङ घर भएका २० वर्षीय सुमन तामाङ र काठमाडौं चन्द्रागिरी बस्ने २६ वर्षीय कमल तामाङ रहेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै कमलले प्रयोग गरेको मोटरसाइकल १ थान प्रहरीले बरामद गरेको छ । मकवानपुर, हेटौंडा उपमहानगरपालिका-४ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्राम सहित २ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४२ वर्षीय अनुप कुमार रुम्बा र सोही उपमहानगरपालिका-८ बस्ने ३३ वर्षीय मणी लामा रहेका छन् । उक्त स्थानमा खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । रूपन्देही, बुटवल उपमहानगरपालिका-२ फुलावरीबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ३ ग्राम सहित बुटवल उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय किशोर थापालाई बुधबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र प्रहरी बिट जितगढिकिल्लाबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्यामा संलग्न तीन जना पक्राउ
२०८२-०३-०४

बारा, कलैया उपमहानगरपलिका-१४ बघवन बस्ने ५० वर्षीय नन्दु राउत कुर्मीको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा ३ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कलैया उपमहानगरपालिका-१४ बघवन टोल बस्ने ४० वर्षीय उमेश जैसवालकी श्रीमती ३८ वर्षीया रन्जु जैसवाल तथा उनकै छोराहरू २० वर्षीय सुमित जैसवाल र १८ वर्षीय किशोर रहेका छन् । पुरानो रिसइवीको कारण उमेश समेत ६ जना व्यक्तिहरूले गत जेठ २९ गते साँझ कुटपिट गर्दा गम्भीर घाइते भएका नन्दु राउतको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीले घटनामा संलग्न सोही ठाउँ बस्ने २८ वर्षीय दिगम्बर साह कलवारलाई सोही दिन पक्राउ गरेको थियो । साथै घटनामा संलग्न रही फरार रहेका रन्जुलाई कलैया उपमहानगरपालिका-५ बाट तथा सुमित र १८ वर्षीय किशोरलाई पर्सा वीरगंज महानगरपालिका-१ शान्ति टोलबाट पक्राउ गरेको हो । उनीहरू उपर ज्यान सम्बन्धी कसूर मुद्दामा जिल्ला अदालत बाराबाट म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १२ जना पक्राउ
२०८२-०३-०४

कञ्चनपुर, भीमदत्त नगरपालिका-११ गड्डाचौकीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्राम सहित सोही नगरपालिका-६ बस्ने २६ वर्षीय राजेश गुरूङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यसैगरी कञ्चनपुर, बेलौरी नगरपालिका-७ खैरानाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ९ सय १० मिलिग्राम सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पुनर्वास नगरपालिका-१ पुरैना बस्ने ३८ वर्षीय कञ्चनजंग चौधरी र २२ वर्षीय अर्जुन राना रहेका छन् । इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  बारा, जीतपुरसिमरा उपमहानगरपालिका-८ बाट अवैध लागूऔषध गाँजा करिब २२ किलोग्राम सहित सोही उपमहानगरपालिका-८ लोसण्डा बस्ने ४५ वर्षीय रामपुकार सहनीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बारा र इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।  सुनसरी, भोक्राहा नरसिंह गाउँपालिका-६ ढलान रोडबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २३ ग्राम ३ सय ६० मिलिग्राम सहित धनकुटा छथर जोरपाटी गाउँपालिका-१ बस्ने २९ वर्षीय दिलिप गजमेर (विश्वकर्मा) लाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यसैगरी सुनसरी, कोशी गाउँपालिका-८ तीनकुनेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम ५ मिलिग्राम सहित सप्तरी महादेवा गाउँपालिका-२ बस्ने २२ वर्षीय मुकेश कुमार मण्डललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भाण्टाबारी र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र.१-०२-०५६ प ८०७४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त पदार्थ फेला पारी चालक मुकेशलाई पक्राउ गरेको हो । साथै प्रहरीले सोही मोटरसाइकलमा सवार १ जनालाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यसैगरी सुनसरी, कोशी गाउँपालिका-१ भन्सारटोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७ सय मिलिग्राम सहित धनकुटा पाख्रिवास नगरपालिका-९ बस्ने २७ वर्षीय रोशन तिम्सिनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेका छ । इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरवाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।   कास्की, पोखरा महानगरपालिका-८ प्रतिभा मार्गबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल १ हजार ५० ट्याब्लेट र मोबाइल ५ थान सहित ४ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २५ वर्षीय राजेश बहादुर पौडेल, पोखरा महानगरपालिका-८ प्रतिभामार्ग बस्ने चितवन घर भएकी २३ वर्षीया रोज कुँवर, सोही महानगरपालिका-७ पुरानो एयरपोर्ट बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-५ घर भएका २८ वर्षीय मनोज रेग्मी र पोखरा महानगरपालिका-१७ घारिकुलो बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २८ वर्षीय राज बहादुर पौडेल रहेका छन् । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको ग.१७ प ७२३३ नम्बर र ग.१४ प ३३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यसैगरी कास्की, पोखरा महानगरपालिका-५ मालेपाटनबाट नियन्त्रित लागूऔषध टापेन्टाडोल ५० ट्याब्लेट र मोबाइल १ थान सहित सोही महानगरपालिका-१८ लामागाउँ बस्ने स्याङ्जा पुतलीबजार नगरपालिका-२ घर भएका २६ वर्षीय सुजिव शाक्यलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की र लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनले प्रयोग गरेको ग.७ प ८५५७ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

युके र लिथुआनिया पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
२०८२-०३-०४

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी युके र लिथुआनिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-३२ बस्ने धनुषा जनकपुरधाम उपमहानगरपालिका-४ घर भएकी २६ वर्षीया सुजनी कुमारी साह, काठमाडौं महानगरपालिका-३ बस्ने सुनसरी धरान उपमहानगरपालिका-३ घर भएका ३४ वर्षीय दिपक कुमार उदास र भक्तपुर चाँगुनारायण नगरपालिका-१ बस्ने २३ वर्षीया रेशिका हमाल न्यौपाने रहेका छन् ।   पक्राउ मध्ये सुजनी कुमारीले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट १७ लाख ४ हजार रूपैयाँ, दिपक कुमारले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ३४ हजार रूपैयाँ र रेशिकाले लिथुआनिया पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ६ लाख ८ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुजनी कुमारी र रेशिकालाई काठमाडौं महानगरपालिका-३२ बाट तथा दिपक कुमारलाई काठमाडौं महानगरपालिका-१२ बाट पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको    छ । 

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ
२०८२-०३-०४

काठमाडौं, बैंकिङ कसूर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-१४ घर भएका ६१ वर्षीय श्याम कुमार कार्की र काठमाडौं महानगरपालिका-१६ बस्ने नुवाकोट विदुर नगरपालिका-७ घर भएका ३४ वर्षीया अस्मिता तामाङ रहेका छन् ।  काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत काठमाडौंबाट २०८१ चैत १ गते उक्त मुद्दामा पक्राउ अनुमति प्राप्त भई फरार रहेका श्याम कुमारलाई काठमाडौं महानगरपालिका-१४ खसीबजारबाट पक्राउ गरेको हो । साथै सोही मुद्दामा जिल्ला अदालत काठमाडौंबाट गत वैशाख ३१ गते पक्राउ अनुमति प्राप्त भई फरार रहेकी अस्मितालाई काठमाडौं महानगरपालिका-१६ बाट प्रहरीले पक्राउ गरेको हो ।  पक्राउ मध्ये श्याम कुमारलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र अस्मितालाई  प्रहरी वृत्त महाराजगंज पठाइएको छ । 

सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गर्ने व्यक्ति पक्राउ
२०८२-०३-०३

काठमाडौं, सामाजिक सञ्जालमा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री प्रकाशन गरेको अभियोगमा बाग्लुङ निसिखोला गाउँपालिका-४ घर भएका ३६ वर्षीय ड्राइभर रेशम भन्ने रेशम राज पौडेललाई सोमबार प्रहरीले पक्राउ गरेको छ । युट्युब लगायतका डिजिटल प्लेटफर्महरूमा नियमित रूपमा व्यक्तिहरू तथा संस्थालाई लक्षित गरी तथ्यहीन र आधारहीन विषयमा सामाग्रीहरू प्रसारण गरी नकारात्मक धारणा फैलाएको तथा सार्वजनिक नैतिकता तथा शिष्टाचार विरूद्धका सामाग्री बारम्बार प्रकाशन समेत गर्ने गरेको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले केन्द्रीय अनुसन्धान ब्यूरोको सहयोगमा उक्त कार्यमा संलग्न उनलाई नेपालगंज रूपैडियाबाट पक्राउ गरेको हो । उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित सात जना पक्राउ
२०८२-०३-०३

धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटार चोकबाट अवैध लागूऔषध गाँजा २ किलोग्राम सहित सहिदभूमि गाउँपालिका-२ बस्ने १९ वर्षीय बबिन लिम्बुलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले धनकुटाबाट धरानतर्फ जाँदै गरेको को.१ ज ३३२३ नम्बरको बोलेरोमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । नवलपरासी पूर्व, बिनयी त्रिवेणी गाउँपालिका-७ बाट नियन्त्रित लागूऔषध प्रोक्सिको स्पास ४ सय ५७ क्याप्सुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नवलपरासी पश्चिम बर्दघाट नगरपालिका-४ बस्ने २३ वर्षीय केशव दर्जी र ३७ वर्षीय प्रकाश दमाई रहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको ग.२ प ३२६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । पर्सा, वीरगंज महानगरपालिका-१० रजतजयन्ती चोकबाट अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो २० ग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पटेर्वा सुगौली गाउँपालिका-६ बस्ने ३५ वर्षीय रामेश्वर राउत र ४० वर्षीय विनोद गिरी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय वीरगंज र वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरीले बसपार्कबाट रक्सौलतर्फ जाँदै गरेको ना.४० प ६४६९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरको हो । साथै प्रहरीले ना.४६ प २५४० नम्बरको मोटरसाइकलमा सवार २ जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

करिब २ हजार १ सय किलोग्राम गाँजा सहित दुई जना पक्राउ
२०८२-०३-०३

सुनसरी, इटहरी उपमहानगरपालिका-२० स्थित तरहरा जंगल नजिकैबाट अवैध लागूऔषध गाँजा करिब २ हजार १ सय किलोग्राम सहित २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनकुटा सहिदभुमि गाउँपालिका-६ बस्ने ३२ वर्षीय राजेन्द्र राई र ३३ वर्षीय सुनिल राई रहेका छन् । इलाका प्रहरी कार्यालय इटहरी सुनसरीबाट खटिएको प्रहरीले धरानबाट इटहरीतर्फ आउँदै गरेको ना.५ ख ६११६ नम्बरको नम्बर प्लेट राखिएको मिनि ट्रकलाई जाँच गर्ने क्रममा ७० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक राजेन्द्र र ट्रकमा सवार सुनिललाई पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २४ जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, दक्षिणकाली नगरपालिका-५ फर्पिङबाट नियन्त्रित लागूऔषध फेनारगन ९ सय ६० एम्पुल, नोर्फिन ५ सय एम्पुल, डाईजेपाम ९ सय ८३ एम्पुल र बुप्रेनोर्फिन ४ सय ८७ एम्पुल सहित २ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रौतहट गरूडा नगरपालिका-९ रघुनाथपुर बस्ने २९ वर्षीय राज किशोर सहनी र गौर नगरपालिका-४ टिकुलिया बस्ने २८ वर्षीय सुखारिस सहनी रहेका छन् । इलाका प्रहरी कार्यालय फर्पिङबाट खटिएको प्रहरीले हेटौंडाबाट काठमाडौंतर्फ आउँदै गरेको ना.१ ज ५४३७ नम्बरको सुमोमा सवार उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।  यसैगरी काठमाडौं महानगरपालिका-२६ पवित्रनगरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ६ सय मिलिग्राम, नगद १ लाख ८० हजार ५ सय रूपैयाँ र मोबाइल ६ थान सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-५ घर भएका २७ वर्षीय रामहरी थापा, पर्वत पैयूं गाउँपालिका-६ घर भएका ३६ वर्षीय दिनेश आचार्य र काठमाडौं तार्केश्वर नगरपालिका-१० मनमैजु बस्ने झापा बाह्रदशी नगपालिका-२ घर भएका २६ वर्षीय सचिन लम्साल रहेका छन् । प्रहरी प्रभाग गोंगबुबाट खटिएको प्रहरीले रामहरीको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी तीनै जनालाई पक्राउ गरेको हो । चितवन, भरतपुर महानगरपालिका-३ बासुमार्गबाट नियन्त्रित लागूऔषध डाईजेपाम १८ एम्पुल, बुप्रेनोर्फिन १८ एम्पुल, प्रोमेथाजाईन हाइड्रोक्लोराइड ११ एम्पल, अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ५ सय मिलिग्राम र नगद १ लाख ४२ हजार ५ सय १५ रूपैयाँ सहित सोही महानगरपालिका-१ बस्ने गोरखा घर भएका ३३ वर्षीय गणेश गुरूङ समेत ५ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । धनकुटा, साँगुरीगढी गाउँपालिका-६ भेडेटारचोकबाट अवैध लागूऔषध गाँजा करिब ९ किलो ९ सय ग्राम सहित पाख्रिवास नगरपालिका-८ मुगा बस्ने ४१ वर्षीय नारायण प्रसाद राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले ताप्लेजुङबाट धरानतर्फ जाँदै गरेको प्र.१-०२-००१ ख ८६३८ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगरपालिका-३ त्रिनगर व्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १ सय २० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका-५ बस्ने १९ वर्षीय दिपेन्द्र डगौरा र २४ वर्षीय अंजित डगौरा रहेका छन् । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो पदार्थ ४ ग्राम १ सय १० मिलिग्राम सहित सुनसरी इटहरी उपमहानगरपालिका-२ बस्ने ३० वर्षीय पंकज खत्रीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कर्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुनाहबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ९८ ट्याब्लेट सहित कालिकोट महावै गाउँपालिका-६ पिलि बस्ने २१ वर्षीय हिक्मत शाहीलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय जमुनाहबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । सिराहा, मिर्चैया नगरपालिका-५ बाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित ३ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने २० वर्षीय राहुल कुमार साह, २१ वर्षीय दिलिप कुमार साह र सोही नगरपालिका-६ बस्ने २३ वर्षीय बिशाल गिरी रहेका छन् । इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  मकवानपुर, हेटौंडा उपमहानगरपालिका-८ ओमनगर बस्ने बिकाश देउलालाई नियन्त्रित लागूऔषध डाईजेपाम १६ एम्पुल, नोर्फिन १४ एम्पुल, फेनारगन १८ एम्पुल र नाईट्राजेपाम २ सय ७० ट्याब्लेट सहित सोमबार साँझ प्रहरीले पक्राउ गरेको   छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको   हो ।  बर्दिया, बढैयाताल गाउँपालिका-१ शान्तिपुरबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ८० मिलिग्राम सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके खजुरा गाउँपालिका-१ बेलडाँडा बस्ने २८ वर्षीय तुक प्रसाद थापा र ३१ वर्षीय प्रकाश थापामगर रहेका छन् । इलाका प्रहरी कार्यालय मैनापोखर र प्रहरी चौकी जमुनीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । झापा, बिर्तामोड नगरपालिका-४ पुरानो भद्रपुरबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १३ ग्राम ३ सय ६० मिलिग्राम सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा दमक नगरपालिका-१ बस्ने ३२ वर्षीय बिजय कर्माकार र सोही ठाउँ बस्ने ३५ वर्षीय सन्तोष मिस्त्री रहेका छन् । इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को. ३५ प ९०६९ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।  दाङ, घोराही उपमहानगरपालिका-११ झुम्केटारी बस्ने २७ वर्षीय याम बहादुर बस्नेतलाई नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ६६ ट्याब्लेट सहित सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङ र अस्थायी प्रहरी पोष्ट शिवपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०३

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी बोसनिया र मलेशिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका-१६ बस्ने लमजुङ दोर्दी गाउँपालिका-५ घर भएका २६ वर्षीय दिपेन्द्र गुरूङ र काठमाडौं महानगरपालिका-१५ बस्ने सर्लाही बरहथवा नगरपालिका-१ घर भएका ३४ वर्षीया रूपी माया रहेका छन् ।  पक्राउ मध्ये दिपेन्द्रले बोसनिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ७ लाख रूपैयाँ र रूपीले मलेशिया पठाइदिन्छु भन्दै ६ जना पीडितहरूबाट ५ लाख ५७ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दिपेन्द्रलाई काठमाडौं महानगरपालिका-१६ बाट आइतबार र रूपीलाई काठमाडौं महानगरपालिका-१५ बाट सोमबार पक्राउ गरेको हो ।  उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ
२०८२-०३-०२

झापा, दमक नगरपालिका-७ सयपत्री टोलबाट नियन्त्रित लागूऔषध भोमिन ३ सय १० ट्याब्लेट र ट्रामाडोल ३ सय १० ट्याब्लेट सहित सोही नगरपालिका-७ हाटखोला बस्ने १९ वर्षीय पुष्कर मगरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।  यसैगरी झापा, बिर्तामोड नगरपालिका-४ नयाँबारी टोल बस्ने २२ वर्षीय निजाम मियालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ४ सय ४० मिलिग्राम सहित आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी बिर्ताबजारबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।  रूपन्देही, ओमसतिया गाउँपालिका-२ पडसरी डेरा गरी बस्ने सिद्धार्थनगर नगरपालिका-३ घर भएका २६ वर्षीय जावेद खानलाई नियन्त्रित लागूऔषध डाईजेपाम ३८ एम्पुल, नुर्फिन ३८ एम्पुल र मेटाजिन ३८ एम्पुल सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय भैरहवा र जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो ।  सिन्धुली, कमलामाई नगरपालिका-६ धुराशिरानस्थित पसल गरी बस्ने फिक्कल गाउँपालिका-३ घर भएकी ४० वर्षीया देवमाया तामाङ समेत ३ जनालाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित आइतबार राति प्रहरीले पक्राउ गरेको छ । तामाङले लागूऔषधको कारोबार गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीबाट खटिएको प्रहरीले पसल तलासी गर्ने क्रममा पसल पछाडी शौचालय नजिकै झारमा लुकाई राखेको उक्त पदार्थ र डिजिटल तराजु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।  मोरङ, विराटनगर महानगरपालिका-१५ एक नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ २ ग्राम १० मिलिग्राम सहित २ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा उर्लाबारी नगरपालिका-४ बस्ने ३० वर्षीय राकेश लिम्बु र २२ वर्षीय दिपेश खनाल रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । भक्तपुर, मध्यपुर थिमी नगरपालिका-६ स्थित नगरपालिका चोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ६ सय ४३ ट्याब्लेट सहित काठमाडौं दक्षिणकाली नगरपालिका-१६ फर्पिङ घर भई भक्तपुर पुरानोठिमी बस्ने २६ वर्षीय अनिस तामाङ समेत ४ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको   हो । बाँके, नेपालगंज उपमहानगरपालिका-१ प्रगतीनगर टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय ६ ग्राम ८ सय १० मिलिग्राम, मोबाइल १ थान र डिजिटल तराजु १ थान सहित सोही ठाउँ बस्ने २९ वर्षीय चुनकुन पासीलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज र अस्थायी प्रहरी पोष्ट बसपार्क नेपालगंजबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गर्ने युवती पक्राउ
२०८२-०३-०२

काठमाडौं, सामाजिक सञ्जालमा तथ्यहीन भ्रामक विषयवस्तु प्रस्तुत गरेको अभियोगमा भक्तपुर बस्ने खोटाङ हलेसी तुवाचुङ नगरपालिका-६ घर भएकी ३१ वर्षीया रमा बस्नेतलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।  टिकटकमा नियमित तथा नियोजितरूपमा जातिय एवम् साम्प्रदायिक भावनामा खलल पुर्‍याउनुका साथै प्रतिष्ठित व्यक्ति तथा संस्थालाई लक्षित गरी तथ्य र आधारहीन विषयलाई उठान गरी भ्रामक विषयवस्तु प्रसारण गरी, व्यक्ति, संस्था र सम्प्रदाय प्रति नकारात्मक धारणा फैलाई चरित्र हत्या भएको घटनाको अनुसन्धानको क्रममा साइबर ब्यूरोबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनलाई भक्तपुरबाट पक्राउ गरेको हो ।  उनी उपर विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा जिल्ला अदालत काठमाडौंबाट ३ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

क्यानडा र युके पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ
२०८२-०३-०२

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी क्यानडा र युके पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका-११ बस्ने कपिलवस्तु शिवराज नगरपालिका-५ घर भएकी ३५ वर्षीया दीपा शर्मा र झापा भद्रपुर नगरपालिका-४ घर भएका २७ वर्षीय व्रिजेश सुवेदी रहेका छन् ।  पक्राउ मध्ये दीपाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट २३ लाख ५० हजार रूपैयाँ र व्रिजेशले युके पठाइदिन्छु भन्दै १ जना पीडितबाट २ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले दीपालाई बुढानिलकण्ठ नगरपालिका-११ बाट शनिबार र व्रिजेशलाई काठमाडौं महानगरपालिका-१२ बाट आइतबार पक्राउ गरेको हो ।  पक्राउ मध्ये दीपालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं र व्रिजेशलाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ । 

विभिन्न हातहतियार र अवैध लागूऔषध सहित पक्राउ
२०८२-०३-०१

मकवानपुर, राक्सिराङ गाउँपालिका-१ ढुंगेन बस्ने ५० वर्षीय राजु स्याङ्तानलाई विभिन्न हातहतियार र अवैध लागूऔषध सहित शनिबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाबाट खटिएको प्रहरीले राजुको घर तलासी गर्दा इटालीयन पेस्तोल १ थान, सोही पेस्तोलको खाली म्याग्जिन २ थान, सोही पेस्तोलको गोली १३ राउण्ड, घरेलु पेस्तोल १ थान, सोही पेस्तोलमा लाग्ने गोली १२ राउण्ड, अवैध लागूऔषध गाँजा २२ किलो ८ सय ग्राम र अफिम जस्तो देखिने पदार्थ १ किलो ३ सय १० ग्राम सहित फेला पारी पक्राउ गरेको हो । साथै प्रहरीले सोही ठाउँस्थित चन्द्रलाल मोक्तानको बारीमा आँपको रूखको फेदमा प्लाष्टिकमा बेरी राखिएको घरेलु पेस्तोल १ थान, सोही पेस्तोलको गोली ५ राउण्ड र अवैध लागूऔषध अफिम जस्तो देखिने पदार्थ १ किलो ४ सय ८० ग्राम फेला पारी बरामद गरेको छ । साथै प्रहरीले राजुलाई नियन्त्रणमा लिई ल्याउने क्रममा स्थानीय बासिन्दाहरूले अवरोध गरेको हुँदा अवरोध गर्ने कार्यमा संलग्न सोही गाउँपालिका-१ ठुलोभाबर बस्ने ४२ वर्षीय विर बहादुर लामालाई समेत नियन्त्रणमा लिएको छ ।यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १६ जना पक्राउ
२०८२-०३-०१

काठमाडौं, काठमाडौं महानगरपालिका-१६ बाइसधाराबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३ सय ७० ट्याब्लेट सहित सोही ठाउँ बस्ने २३ वर्षीय सुशान्त पुतुवारलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । कैलाली, धनगढी उपमहानगपालिका-३ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय २० मिलिग्राम सहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गौरीगंगा नगरपालिका-४ बस्ने २६ वर्षीय विजय नेपाली र धनगढी उपमहानगरपालिका-२ बस्ने ३२ वर्षीय अभिशेक हमाल रहेका छन् । अस्थायी प्रहरी पोष्ट चटकपुर र प्रहरी चौकी  कैलालीगाउँबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।यसैगरी कैलाली, जानकी गाउँपालिका-७ मोतीनगर चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्राम सहित २ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा जोशीपुर गाउँपालिका-१ बस्ने २३ वर्षीय शिव बहादुर चौधरी र जानकी गाउँपालिका-७ बस्ने ३३ वर्षीय देसराम चौधरी रहेका छन् । इलाका प्रहरी कार्यालय  टीकापुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  कञ्चनपुर, भिमदत्त नगरपालिका-३ तिलाचौर केदार टोल बस्ने ६० वर्षीय राम सिंह साउदलाई अवैध लागूऔषध चरेश जस्तो देखिने पदार्थ २ किलो १ सय ५५ ग्राम सहित शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको छ ।  चितवन, भरतपुर महानगरपालिका-४ धर्मचोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ३ ग्राम ३ सय ३० मिलिग्राम सहित ६ जनालाई शनिबार दिउँसो प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने माडी नगरपालिका खर्कट्टा घर भएका २४ वर्षीय सागर सुनार, भरतपुर महानगरपालिका-३ आनन्द मार्ग बस्ने २२ वर्षीय अजय रौनियार शाह, ३३ वर्षीय अस्फाकउल्लाह शाह, सोही महानगरपालिका-४ बस्ने ४० वर्षीया अनितादेबी साह, २५ वर्षीया निसादेबी साह र १८ वर्षीया किशोरी रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।  कपिलवस्तु, कपिलवस्तु नगरपालिका-३ अदालत रोडस्थित खाजा पसलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ७३ मिलिग्राम र नियन्त्रित लागूऔषध स्पास्मो ९९ ट्याब्लेट सहित २ जनालाई शनिबार बेलुकी प्रहरी पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-४ बस्ने २९ वर्षीय सन्तोष प्रसाद कहार र सोही नगरपालिका-३ बस्ने २९ वर्षीय राजेश यादव रहेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । थप अनुसन्धानको क्रममा उक्त लागूऔषध भारत उत्तर प्रदेश सोहरतगढ ग्राम रमजान घर भएका २२ वर्षीय हस्मत अलि अन्सारीबाट खरिद गरेको भन्ने खुल्ल आएपश्‍चात प्रहरीले उनलाई समेत पक्राउ गरेको छ ।मोरङ, विराटनगर महानगरपालिका-१६ दरैया चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ करिब ५ ग्राम ५ सय मिलिग्राम सहित बुढीगंगा गाउँपालिका-७ बस्ने २५ वर्षीय राज कुमार लिम्बुलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

हत्या गरेको अभियोगमा दुई जना पक्राउ
२०८२-०३-०१

कञ्चनपुर, आफ्नै श्रीमती ४८ वर्षीया जुना देवी सुनारको हत्या गरेको अभियोगमा शुक्लाफाँटा नगरपालिका-१० मुक्तिटोल बस्ने ५० वर्षीय कालु सुनारलाई गए राति प्रहरीले पक्राउ गरेको छ । घरायसी झै-झगडा हुँदा कालुले जुना देवीको घाँटी च्याप्दा गम्भीर घाइते भएकी उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा शनिबार राति मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलालीको समन्वयमा धनगढी उपमहानगरपालिका-२ ट्राफिक चोकबाट फेला पारी उनलाई पक्राउ गरेको हो ।अर्घाखाँची, आफ्नै श्रीमान ३८ वर्षीय रामु कुमालको हत्या गरेको अभियोगमा छत्रदेव गाउँपालिका-३ शिख्र बस्ने २७ वर्षीया मेखमाया कुमाललाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ । घरायसी विषयमा झै-झगडा हुँदा मेखमायाले धारिलो हतियार प्रहार गर्दा रामुको गए राति घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय अर्घाखाँची र प्रहरी चौकी बल्कोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ
२०८२-०३-०१

भक्तपुर, सुर्यविनायक नगरपालिका-१ सिरूटार बस्ने ६२ वर्षीय राम प्रसाद राउतको घरमा जुवातास खेलिरहेको अवस्थामा राम प्रसाद समेत १२ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १० हजार ७ सय ८० रूपैयाँ र तास ६ बुक सहित पक्राउ गरेको हो ।  काभ्रे, पनौती नगरपालिका-५ ढलमले डेरा गरी बस्ने ४७ वर्षीय संजिब कुमार श्रेष्ठको कोठामा जुवातास खेलिरहेको अवस्थामा संजिब कुमार समेत ५ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ५ सय ३० रूपैयाँ र तास ३ बुक सहित पक्राउ गरेको हो ।  यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

अधिक लोड >>
कम देखाउनुहोस् <<