प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ को सुरक्षा व्यवस्थापन तयारी पूरा : केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक ढकाल

२०८१-०१-१३

  • A
  • A-
  • A+
Share

काठमाडौं, नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचन २०८१ सुरक्षित, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सुरक्षा व्यवस्थापन तयारी पूरा भएको बताउनुभएको छ । 

प्रतिनिधिसभा इलाम क्षेत्र नम्बर २ र बझाङ प्रदेशसभा १ मा हुन गइरहेको उप-निर्वाचनमा सुरक्षा तयारी सम्बन्धी जानकारी दिन नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित पत्रकार भेटघाट कार्यक्रममा प्रहरी नायव महानिरीक्षक ढकालले उक्त कुरा बताउनुभएको हो । 

प्रहरी नायव महानिरीक्षक ढकालले नेपाल प्रहरीले मतदानस्थलदेखि मतगणनास्थलसम्म भरपर्दो एवम् मजबुद सुरक्षा व्यवस्था मिलाउने, उपलब्ध श्रोत साधन, जनशक्तिको अधिकतम परिचालन र थप श्रोत, साधन, जनशक्तिको व्यवस्था गर्ने, निर्वाचन पूर्व, निर्वाचन अवधि र निर्वाचन पश्चात गरी तीन चरणको सुरक्षा योजना बनाइ लागू गरिएको जानकारी दिनुभयो । शान्तिपूर्ण र भयरहित वातावरणमा निर्वाचनमा भाग लिने अवसर प्रदान गर्ने र निर्वाचन कार्यमा खटिने सम्पूर्ण कर्मचारीहरूको सुरक्षा प्रदान गर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “स्थानीयस्तरदेखि केन्द्रसम्म निरन्तर समन्वय, अनुगमन र सुपरिवेक्षण गरी समग्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य उप-निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र विश्वसनीय रूपमा सम्पन्न गर्न सक्रिय पहल गरिने छ ।”

प्रहरी नायव महानिरीक्षक ढकालले मतपेटिकाको सुरक्षित संकलन तथा भण्डारण गर्ने र सुरक्षित र स्वतन्त्र रूपले मतगणना सम्पन्न गराउने लगायतका सुरक्षाका समग्र काममा नेपाल प्रहरीले चुस्त रूपमा सुरक्षा व्यवस्थापन गरेको बताउनुभयो । उप-निर्वाचनमा हुन सक्ने सम्भावित खतराहरूबारे उल्लेख गर्दै निर्वाचनपूर्व सुरक्षा व्यवस्था, निर्वाचन अवधिको सुरक्षा र निर्वाचन पश्चात सुरक्षा व्यवस्था मिलाइएको उहाँले बताउनुभयो । सम्भावित प्रतिरोध कार्य नियन्त्रण गर्न अवलम्वन गर्ने रणनीति, मतदान केन्द्रमा बल प्रयोग गर्नुपर्ने विशेष परिस्थिति र सुरक्षा कारवाही सम्बन्धमा सबै निकायहरूसँगको सहयोगमा स्थितिलाई सकेसम्म सम्झाइ बुझाई वातावरण सामान्य बनाउने प्रयत्न गरिने उहाँले प्रष्ट पार्नुभयो ।

प्रहरी नायव महानिरीक्षक ढकालले निर्वाचन व्यवस्थापन कार्यका लागि इलाम २ मा ७९ मतदानस्थल र १४९ केन्द्रमा गरी १ हजार ३ सय ६३ जना र बझाङमा ७४ मतदानस्थल र ९३ केन्द्रमा गरी १ हजार २४ जना प्रहरी जनशक्ति परिचालन गरिने उक्त अवसरमा बताउनुभयो । मतदानस्थललाई सामान्य, संवेदनशील र अतिसंवेदनशील गरी तीन भागमा वर्गीकरण गरी सुरक्षा व्यवस्थापन मिलाइएको उहाँले जानकारी दिनुभयो । मतदान केन्द्रमा हिंसात्मक, ध्वंसात्मक  र अवान्छित गतिविधि भई सुरक्षा निकायले बल प्रयोग गर्नुपर्ने स्थिति आइपरेमा प्रचलित कानुन बमोजिम सुरक्षा कारवाही गरिने उहाँले बताउनुभयो । 

कार्यक्रममा संचारकर्मीहरूले राखेका विविध जिज्ञासा निरूपण गर्दै प्रहरी नायव महानिरीक्षक ढकालले सुरक्षा व्यवस्थापनलाई थप मजबुत बनाउन अन्य सुरक्षा निकायसँग समन्वय गरी काम गरिने बताउनुभयो । प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालयसमेतका युनिटलाई उप-निर्वाचन क्षेत्रमा परिचालन गरी थप जनशक्ति सहितको व्यवस्था गरेर शान्तिपूर्ण रूपमा मतदान कार्य सम्पन्न गराउन कुनै कसर बाँकी नराखिने उहाँले चर्चा गर्नुभयो । 


सम्बन्धित समाचार
प्रहरी महानिरीक्षकबाट अमेरिका र वेस्ट इन्डिज जान लागेका खेलाडीलाई शुभकामना सहित विदाइ
२०८१-०१-२१

काठमाडौं, वैशाख नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गतेदेखि असार १५ गतेसम्म हुन गइरहेको आइसिसि मेन्स टि २० क्रिकेट वर्ल्ड कप प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन जान लागेका ६ जना खेलाडीहरूलाई शुभकामना सहित विदाइ गर्नुभएको छ । नेपाली राष्ट्रिय क्रिकेट टोलीमा छनौट हुन सफल भई त्यसतर्फ जान लागेका खेलाडीहरू दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, कुशल भुर्तेल, ललित राजवंशी, करण केसी र सागर ढकाललाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले विदाइ गर्नुभएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अन्तर्राष्ट्रिय स्तरमा हुने महत्वपूर्ण खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट खेल प्रदर्शनका साथै प्राप्त गरेको सफलताको कारणले समग्र नेपाल प्रहरी संगठनको गौरव बढेको उल्लेख गर्नुभयो । भावनात्मक रूपमा खेलकुद जगतलाई उच्च बनाउन संगठन सकारात्मक रहेको उहाँले   बताउनुभयो । यी खेलाडीहरू हाम्रा हुन् भनेर चिन्न पाउँदा समग्र संगठनलाई गर्व महसुस भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय टिमलाई बिजय दिलाउँदै कीर्तिमान कायम गर्नका निमित्त लगनशील भई उच्च मनोबलका साथ खेल्न खेलाडीहरूलाई आग्रह गर्नुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो ।

कर्णाली प्रदेशमा प्रभावकारी बन्दै यात्रु मैत्री अभियान
२०८१-०१-२१

काठमाडौं, सार्वजनिक सवारी साधनमा यात्रा गर्ने यात्रुलाई यात्राको समयमा हुने समस्याहरू समाधान गर्ने उद्देश्यले कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘यात्रु मैत्री अभियान’ प्रभावकारी हुँदै गएको छ । २०७९ माघ १८ गते शुभारम्भ गरिएको अभियानलाई 'सुरक्षित कर्णाली विशेष अभियान, २०८०' अन्तर्गत राखेर काम गर्दा थप प्रभावकारी बन्दै गएको हो । यसले सार्वजनिक सवारी साधनमा यात्रा गर्दा आइपर्ने समस्या र अप्ठेरा समाधान गरी यात्रुलाई सेवा दिन सकिने तथ्य पुष्टि गरेको छ ।सवारी आवागमनलाई सहज र सुरक्षित बनाई दुर्घटना न्यूनीकरण गर्न थप प्रहरी परिचालन गरी अभियान संचालन गरिएको छ । अभियान शुरू भएदेखि २०८० चैत महिनासम्मको अवधिमा कर्णाली प्रदेशमा यात्रु मैत्री अभियान अन्तर्गत जम्मा ८ लाख १६ हजार ८ सय ४१ वटा सवारी साधन जाँच गरिएको छ । ती सवारीमा यात्रा गर्ने २९ लाख ९ हजार ९ सय ९४ जना नागरिक लाभान्वित भएका छन् । सार्वजनिक सवारी साधनमा यात्रुलाई सुरक्षित र मर्यादित रूपमा यात्रा गराउने वातावरण सिर्जना गर्न अभियान केन्द्रित रहेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “यात्रुलाई सुरक्षित र सहज तरिकाले गन्तव्य तय गराउने अवस्था सिर्जना गर्नका निमित्त अभियान संचालन गरिएको हो । यसले बिना झन्झट र नठगिइकन यात्रा गर्न पाइएको पृष्ठपोषण यात्रुहरूबाट आइरहेको छ । अभियानको उचित अनुगमन र मूल्याङ्कन गर्दै यसलाई अझ प्रभावकारी बनाउन केन्द्रबाट समेत निर्देशन एवम् उचित व्यवस्थापन गरिएको छ । यसले गर्दा समस्या परेमा, दुर्व्यवहार भएमा तत्काल प्रहरीले यात्रुलाई सहयोग पुर्‍याउँदछ ।” धेरै सवारी साधन आवतजावत गर्ने ठाउँ र सडकमा सक्रिय रूपमा प्रहरी परिचालन गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “हामीले हरेक इलाकामा नजिकको प्रहरी कार्यालय र ट्राफिक प्रहरीको फोन नम्बर, हटलाइन नम्बर दिएका छौं । कुनै समस्या भए खबर गर्न अनुरोध गरेका छौं । गस्ती बढाएका छौं । खबर प्राप्त हुनासाथ तत्काल प्रहरी खटिएर गई आवश्यक कारवाही गर्ने गरिएको छ । सवारीसँग सम्बन्धित सरोकारवाला निकाय, सवारी धनी तथा सवारी चालक एवम् सहचालकसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।” सडक सुरक्षाको लागि स्थानीय तह र सरोकारवाला निकायहरूसँग समन्वय गरी पर्याप्त मात्रामा रोड ईन्जिनियरिङ र रोड फर्निचर समेतको व्यवस्थापन गर्न योजनावद्ध ढंगले काम गरिरहेको प्रहरी वरिष्ठ उपरीक्षक ओलीको भनाइ छ । अभियान नागरिकमैत्री छ । प्रविधिको प्रयोगलाई विशेष जोड दिइएको छ । जसले तथ्यगत सूचना संकलन गर्न तत्काल उचित निर्णय गर्न सघाउँछ । सुरक्षित यात्राका लागि समस्या भए समाधानका लागि ट्राफिक प्रहरीले विभिन्न चेक प्वाइन्टमा यात्रुको अवस्था बारे जानकारी लिने गरेको छ । अभियान सफल पार्न, प्रहरीले आफ्नो सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन विभिन्न रणनीति तय गरी काम गरिरहेको छ । यसका लागि भौतिक पूर्वाधार र साधन स्रोत सुधार एवम् थप गर्न पहल गरिएको प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालको भनाइ छ । 

इन्डोनेसियन नेशनल प्रहरीको टोलीद्वारा प्रहरी कार्यालयहरूको अवलोकन
२०८१-०१-२०

 काठमाडौं,इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्तीसहितको ६ सदस्यीय टोलीले बिहीबार राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको अवलोकन भ्रमण गरेको छ ।   भम्रणको क्रममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका निमित्त कार्यकारी निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र आइजीपी कृष्ण मुर्ती बिच शिष्टाचार भेटघाट भएको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोलीले प्रतिष्ठानस्थित क्राइम सिन ट्रेनिङ ल्यावको समेत अवलोकन गरेको थियो ।  सो अवसरमा प्रतिष्ठानमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दिप शम्शेर राणाले उक्त प्रतिष्ठानको परिचय, नेपाल प्रहरीमा नयाँ भर्ना नीति एवम् प्रकृया, तालिम पाठ्यक्रम विकास र प्रकृया, तालिम सम्बन्धी गतिविधि, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदान लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।यसैगरी आइजीपी कृष्ण मुर्तीसहितको टोलीले नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपनको भ्रमणको क्रममा युज अफ फोर्स एण्ड होस्टेज रेस्क्यू सम्बन्धी डेमो प्रदर्शनको अवलोकन गरेको छ । उक्त अवसरमा कार्यदलमा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक समुन्नत अधिकारीले कार्यदलको सांगठनिक परिचय, काम, कर्तव्य, तालिम गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो । 

हराएका २४ वटा दुईपाङग्रे सवारी साधन सम्बन्धित धनीलाई हस्तान्तरण
२०८१-०१-२०

काठमाडौं, विभिन्न मितिमा हराएका २४ वटा दुईपाङग्रे सवारी साधन खोजी गरी ट्राफिक प्रहरीले बिहीबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा आयोजित एक कार्यक्रमका बिच सोही कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक जीवन कुमार श्रेष्ठले १९ वटा मोटरसाइकल र ५ वटा स्कुटर सम्बन्धित धनीलाई हस्तान्तरण गर्नुभएको हो । उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्राप्‍त निवेदनका आधारमा खोजी गर्ने क्रममा केही वास्तविक नम्बर प्लेटमा र केही नक्कली नम्बर प्लेट राखेको अवस्थामा पेप्सीकोला, कपन, गौशाला, बौद्ध, माछापोखरी, सितापाइला, स्वयम्भू, जावलाखेल, इमाडोल र थलि लगायतका विभिन्न स्थानबाट हराएका सवारी साधन ट्राफिक प्रहरीले फेला पारेको थियो । चालु आर्थिक वर्षको हालसम्म ट्राफिक प्रहरीले आज बुझाइएका २४ वटा सहित ३ सय ३५ वटा सवारी साधन सम्बन्धित धनीलाई जिम्मा लगाइसकेको छ । अवैध रूपमा नेपाल भित्रिएका १७ वटा सवारी साधनलाई भने भन्सार कार्यालयमा बुझाइएको प्रहरी वरिष्ठ उपरीक्षक श्रेष्ठले सोही कार्यक्रममा जानकारी दिनुभयो । चालु आर्थिक वर्षको हालसम्म चोरीका २४ वटा दुईपाङ्ग्रे सवारी साधन सहित संलग्न २९ जनालाई पनि कारवाहीका लागि विभिन्न प्रहरी परिसर तथा प्रहरी वृत्तमा पठाइएको छ । सवारी साधन चोरी तथा हराउनबाट जोगाउन आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्वील लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत सुरक्षा साइरनहरू जडान गरी सवारी साधन चोरी तथा हराउनबाट रोक्न विभिन्न उपायहरू अवलम्वन गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाईन नम्बर १०० मा फोन गर्न र नजिकको प्रहरी कार्यालयमा निवेदन दिन सकिने छ ।  

प्रभावकारी बन्दै लागूऔषध विरूद्ध लालटिन अभियान
२०८१-०१-१८

काठमाडौं, जुम्लाका १८ वर्षीय किशोरलाई स्कुल जान पटक्कै मन लाग्ने थिएन । साथीहरूसँग बरालिएर लागूऔषध सेवन गरी घर फर्किँदा उनलाई हिनता बोध हुन थालेको थियो । परिवारका अगाडि निराश देखिन्थे । बोल्न र घुलमिल हुन मन पराउँदैनथे । पढाई पनि बिग्रदै गएको थियो । उनको यो अवस्था देखेर घर परिवार चिन्तित भए । उनीहरूको आग्रहमा किशोर लालटिन समूहको सम्पर्कमा आए । अहिले उनी खुसी छन् । घर र स्कुलमा रमाउन थालेका छन् । पढाई पनि राम्रो हुँदै गईरहेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले शुरू गरेको ‘कर्णालीमा लागूऔषध विरूद्ध लालटिन अभियान’ अन्तर्गत गठित लालटिन समन्वय डेस्कको सम्पर्कमा आएपछि ती किशोर लागूऔषध दुर्व्यसनबाट मुक्त भएका हुन् । अहिले उनी जस्ता धेरै युवाहरू अभियान अन्तर्गत संचालित कार्यक्रमहरूको प्रभावले दुर्व्यसन मुक्त भएका छन् । सो क्षेत्रमा लागूऔषधको अवैध कारोवार पनि घटेको छ ।  कर्णाली प्रदेश प्रहरी कार्यालयले सुरक्षित कर्णाली विशेष अभियान,२०८० अन्तर्गत लालटिन अभियान संचालन गरिरहेको छ । लागू पदार्थ उत्पादन, ओसार पसार, बिक्री वितरण र सेवन विरूद्ध प्रहरी परिचालन गरी कानूनी दायरामा ल्याउने लगायतका उद्देश्यले २०८० असोज २५ गतेदेखि अभियान संचालन गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “तत्कालिन अवस्थामा म आफै प्रदेश प्रहरी कार्यालय कर्णालीको प्रमुख थिएँ । लागूऔषध दुर्व्यसनमा फसेका युवाहरू जोगाउन र लागूऔषधको अवैध कारोवार नियन्त्रण गर्न अभियान संचालन गरिएको हो । अभियान कर्णालीका १० जिल्लामा एकैपटक शुरू गरिएको थियो । प्रहरीको सक्रियताले सबै जिल्लाका गाउँ गाउँसम्म अभियान पुग्न सफल भएको छ । अहिले १ वर्ष पछि आएर समीक्षा गर्दा लागूऔषध कारोवार र प्रयोग घट्दो अवस्थामा रहेको पाइएको छ । यस अभियानलाई अझै प्रभावकारी बनाउँदै लैजानु आवश्यक छ ।”  अभियान अन्तर्गत विभिन्न लालटिन समूह गठन गरी काम भइरहेको छ । शुरूदेखि हालसम्म ७ महिनाको अवधिमा जम्मा १ हजार २०० वटा लालटिन समूह गठन भएका छन् । तीमध्ये जिल्ला लालटिन समन्वय डेस्क ९ वटा, नगरपालिका स्तरीय लालटिन समूह २२ वटा, गाउँपालिका स्तरीय लालटिन समूह ४३ वटा, वडा स्तरीय लालटिन समूह ५४१ वटा, गाउँ/टोल लालटिन समूह २५६ वटा, कलेज लालटिन समूह १४ वटा र विद्यालय लालटिन समूह ३१५ वटा रहेका छन् ।  लागूऔषध दुर्व्यसनले प्रभाव पारेका क्षेत्र, समुदाय वा वर्ग पहिचान गरी अभियान संचालन गर्ने गरिएको छ । बढि प्रभाव परेका क्षेत्र र वर्ग लक्षित नियन्त्रणका उपायहरू अवलम्बन गरी सक्रिय रूपमा काम गर्ने गरिएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक बीर बहादुर ओली भन्नुहुन्छ, “अभियान अन्तर्गत जिल्लादेखि पालिका, वडा, वस्तीस्तर हुँदै स्कुल कलेजसम्म लालटिन समूह गठन गरी काम गरिएको छ । समुदायसँग मिलेर उनीहरूकै सुझाव कार्यान्वयन गर्दै काम गर्दा अभियान सफल हुँदै गएको छ ।”  चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा कर्णाली प्रदेशमा १ सय २९ जना लागूऔषध कारोवारी पक्राउ परेका छन् । सो अवधिमा ८२ वटा मुद्दा दर्ता भएका छन् । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा २ सय १५ जना पक्राउ परेका थिए । उक्त आर्थिक वर्षमा ११४ मुद्दा दर्ता भएका थिए । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा १ सय ७२ जना मानिस पक्राउ परेका थिए भने ९५ मुद्दा दर्ता भएका थिए । अभियान अन्तर्गत चालु आर्थिक वर्षमा २५ रोपनी जग्गामा लगाएको गाँजा खेती र ६ सय १८ रोपनी जग्गामा लगाएको अफिम खेती फडानी गरिएको छ । यसैगरी आर्थिक वर्ष २०७९/०८० मा ५ सय ३७ रोपनी जग्गामा लगाएको गाँजा खेती र ४ सय ७१ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो । यसैगरी आर्थिक वर्ष २०७८/०७९ मा ५ सय ८ रोपनी जग्गामा लगाएको गाँजा खेती र ५९ रोपनी जग्गामा लगाएको अफिम खेती नष्ट गरिएको थियो । अभियान अन्तर्गत विभिन्न लक्षित वर्गहरूको लागि निरन्तर रूपमा प्रभावकारी तवरले लागूऔषध विरूद्धको सचेतना अभिवृद्धि कार्यक्रमहरू संचालन गरिएको छ । यसबाट समाजमा विकरल रोगको रूपमा फैलिएको लागूऔषध दुर्व्यसनी रोक्न अभियान सफल भएको छ । शान्ति सुरक्षा र सुरक्षित कर्णाली कार्यक्रम गाउँ गाउँसम्म पुगेको छ । प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल भन्नुहुन्छ, “आम नागरिकहरूलाई सचेत बनाई सक्रिय सहभागिता गराउने अभियानको लक्ष्यले सार्थकता पाएको छ । लागूऔषध दुर्व्यसन र कारोवारको कारण सुक्ष्म रूपमा अध्ययन गरी त्यसको समाधन गर्न सहज भएको छ । यसबाट लागूऔषध सेवन, कारोवारबाट हुने अपराधलाई निरूत्साहित पार्न सहज भएको छ । यसले समाज र नागरिकहरूमा सुरक्षाको अनुभूति बढाएको महसुस भएको छ । ”

इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख नेपाल भ्रमणमा
२०८१-०१-१८

काठमाडौं, इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आउनुभएको छ ।६ सदस्यीय टोलीको नेतृत्व गरी आउनुभएका आइजीपी कृष्ण मुर्ती समेतको टोलीलाई प्रहरी नायव महानिरीक्षक जनक भट्टराई लगायतका  प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।भ्रमणको क्रममा आइजीपी कृष्ण मुर्ती सहितको टोली नेपाल प्रहरी प्रधान कार्यालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।विशेषत उहाँहरू नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।