प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
समाचार : प्र.म.नि. कार्यक्रम
आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने : प्रहरी महानिरीक्षक थापा
२०८२-०१-१७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।हालै सरूवा तथा काज भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापाले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति विद्यमान सुरक्षा चुनौतिहरूको अध्ययन विश्लेषण गरी आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी प्रहरी कर्मचारीहरूको मनोबल बढाई प्रभावकारी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापाले सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने बताउँदै महिला, बालबालिका, ज्येष्ठ नागरिक, सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्ग पीडित हुने मुद्दाहरूलाई प्राथमिकतामा राखि समाजमा चुनौतिको रूपमा देखा परेका साइबर क्राइम, बैंकिङ कसुर, आत्महत्या, लागूऔषध लगायतका अपराधहरूको नियन्त्रणमा विशेष कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने उल्लेख गर्नुभयो । सीमा क्षेत्रमा हुने अपराध र राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितका साथै काठमाडौं उपत्यका बाहिर कार्यरत प्रहरी उपरीक्षकहरूको समेत भर्चुअल उपस्थिति रहेको थियो ।  

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८२-०१-१७

काठमाडौं, हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.१३ का तालिमरत नेपाली सेनाका ३५ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ । सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याब र प्रहरी सङ्ग्रहालय समेतको अवलोकन गर्नुभयो । अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो ।  अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरूको निरूपण गर्दै प्रहरी महानिरीक्षक थापाले दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवम् आगामी दिनमा समेत अझ प्रभावकारी रूपमा एक आपसमा सहयोग र समन्वय हुने चर्चा गर्नुभयो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले अवलोकन भ्रमणमा सहभागी अधिकृतहरूलाई स्वागत गर्दै भम्रण कार्यक्रम सम्बन्धी जानकारी गराउनुभएको थियो । साथै सोही अवसरमा प्रहरी नायव महानिरीक्षक आचार्यले नेपाल प्रहरीको परिचय, विकासक्रम, काम, कर्तव्य र वर्तमान अवस्था, नेपाली सेना र नेपाल प्रहरी बिचको समन्वय र सहकार्यको क्षेत्र लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त कार्यक्रममा तालिमरत अधिकृतहरूको तर्फबाट महासेनानी विष्णु थापाले धन्यवाद सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । 

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८२-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक थापाले सांगठनिक हित र संस्थागत विकासका निमित्त संगठनका प्राथमिकताहरू पहिचान गरी नेपाल प्रहरी कार्ययोजना तयार गरिएको उल्लेख गर्दै कार्ययोजनामा भएका क्रियाकलापहरूलाई गुणस्तरीय रूपमा सम्पादन गर्नुपर्ने बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक थापाले अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउनका साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन तथा क्षमता अभिवृद्धि गर्ने र प्रशासनिक काम कारबाही चुस्त र प्रभावकारी बनाउन कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको समीक्षाद्धारा आ-आफ्ना सुधारका क्षेत्रहरू पहिचान गरि आगामी दिनमा अझ उपलब्धीमूलक हुने विश्‍वास व्यक्त गर्नुभयो । कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही यसका अतिरिक्त प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति विकासका निम्ति अन्य नविनतम्, सृजनशील र रचनात्मक कार्यहरू गर्ने तर्फ अग्रसर हुन सबै प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान ब्यूरो, नेपाल प्रहरी अस्पताल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयहरूको समग्र कार्ययोजना तथा कार्यसम्पादन सम्झौता प्रगति समिक्षा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८२-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नागरिक केन्द्रीत सेवा प्रवाहलाई प्राथमिकतामा राखी प्रहरी कर्मचारीहरूले आफूलाई प्राप्त जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नुपर्ने बताउनुभएको छ ।हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी नायव उपरीक्षकहरू र प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले हाल समाजमा देखा परेका चुनौतिहरूलाई अवसरको रूपमा लिई उच्च व्यावसायिकता प्रदर्शन गर्नुपर्नेमा जोड दिँदै व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले लागूऔषध, साइबर अपराध, सीमा क्षेत्रमा हुने अपराध लगायतका आपराधिक गतिविधि नियन्त्रणमा विशेष चनाखो भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै तस्करी नियन्त्रणमा समेत प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवारीको क्षेत्रहरूमा सुरक्षा व्यवस्थापन एवम् विपद् व्यवस्थापनको निम्ति सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा जोड दिँदै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । 

६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८२-०१-१०

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८२ वैशाख ९ गतेको निर्णयले प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति हुनुभएका ६१ जना मध्ये ६० जना प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै वृद्धि भएको पदीय दायित्व र मर्यादालाई आत्मसाथ गरी संगठनको श्रीवृद्धिका लागि उच्च मनोबल एवम् सामुहिक भावनाका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी निरीक्षक सुदिप थापाले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि संगठनले अंगिकार गरेको उद्देश्य र लक्ष्य प्राप्तिका लागि प्राप्त जिम्मेवारी मन, वचन र कर्मले निष्ठापूर्वक वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघबीच समझदारीपत्रमा हस्ताक्षर
२०८२-०१-०९

काठमाडौं, नेपाल प्रहरी अस्पताल महाराजगंज र नेपाल नेत्रज्योति संघबीच आँखा उपचार सेवा प्रवाह, क्षमता अभिवृद्धि र जनशक्ति आदानप्रदानलाई सहज तथा प्रभावकारी बनाउन आपसी सहकार्य सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित कार्यक्रममा नेपाल प्रहरी अस्पतालको तर्फबाट अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्यौजु र नेपाल नेत्रज्योति संघको तर्फबाट संघका महासचिव भरतबहादुर चन्दले उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक डा. ह्यौजु र संघका महासचिव चन्दले उक्त समझदारीपत्र आदानप्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम गराउन अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई यस समझदारीले थप हौसला मिल्ने उल्लेख गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र नेपाल नेत्रज्योति संघबीच थप सेवा विस्तारका लागि समन्वय तथा सहकार्य हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल नेत्रज्योति संघका महासचिव भरतबहादुर चन्दले जनताको सेवामा खटिने प्रहरीसँग सहकार्य गर्न पाउँदा गौरवान्वित महसुस भएको चर्चा गर्दै आगामी दिनमा समेत सेवा विस्तारको लागि संघ सदैव तयार रहेको बताउनुभयो ।उक्त सम्झौता अनुसार नेपाल प्रहरी अस्पताल र नेपाल नेत्रज्योति संघको सहकार्य र समन्वय मार्फत आँखा तथा कान उपचार सेवालाई सहज तथा प्रभावकारी बनाउने, गुणस्तरीय आँखा उपचार सेवा प्रवाह सुधार गर्न ‍जनशक्ति र विशेषज्ञताको आदानप्रदान तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरू संचालन गर्ने, आँखा स्वास्थ्यका सम्बन्धमा जनचेतना अभिवृद्धि गर्ने, नेपाल नेत्रज्योति संघले नेपाल प्रहरी अस्तालबाट रिफर/सिफारिस भई आएका बहालवाला प्रहरी कर्मचारीहरूलाई आँखा सम्बन्धी सबै उपचार/शल्याक्रियाहरूमा शतप्रतिशत छुट प्रदान गरिने उल्लेख गरिएको छ । यस सम्झौता २०८२ वैशाख ९ गतेदेखि कार्यान्वयन भई ३ वर्ष अवधिको लागि लागू हुनेछ ।उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत नेपाल नेत्रज्योति संघका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराप्रति श्रद्धाञ्जली अर्पण
२०८१-१२-३०

काठमाडौं, ७८ वर्षको उमेरमा चैत ३० गते दिवंगत हुनुभएका अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई पशुपति आर्यघाटमा दिवंगत आत्माको चिर शान्तिको कामना सहित नेपाल प्रहरीद्वारा अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण समारोहको आयोजना गरियो । श्रद्धाञ्जली समारोहमा गृहमन्त्री रमेश लेखक, प्रतिनिधि सभाका उपसभामुख इन्दिरा राना, प्रहरी महानिरीक्षक दिपक थापा, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू तथा नेपाली सेनाका उपरथी समेतले स्व. शम्शेरको पार्थिव शरीरमा फूलमाला चढाई अन्तिम भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभयो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रदीप शम्शेर जबराको पार्थिव शरीरलाई आज प्रहरी वृत्त गौशालाको प्राङ्गणमा राखी दिवंगत आत्माको चिर शान्तिको कामना सहित श्रद्धान्जली अर्पण गरी तत् पश्चात पशुपति आर्यघाट सम्म शवयात्रा गरिएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी अधिकृतहरू, सिनियर प्रहरी अधिकृतहरू, अवकाश प्राप्त प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, प्रहरी हवल्दार तथा जवानहरू, नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारीहरू एवम् स्व. शम्शेरका आफन्तजनले समेत उहाँको पार्थिव शरीरमा फुलमाला चढाई हार्दिक श्रद्धाञ्जली अर्पण गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक स्व. प्रदीप शम्शेर जबराले २०२७ पुस १४ गते प्रहरी निरीक्षक पदमा प्रहरी सेवामा प्रवेश गरी २०५७ कात्तिक १५ गतेदेखि २०५९ पुस १४ गतेसम्म प्रहरी महानिरीक्षकको जिम्मेवारीमा रही अनुकरणीय प्रहरी अधिकृतको रूपमा संगठनमा उच्च व्यवसायिक छवि निर्माण गर्नुभएको थियो ।  

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८१-१२-३०

काठमाडौं, नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा कर्जा सम्बन्धी २०७८ असार १५ गते भएको समझदारीमा उल्लेखित व्यवस्थामा सेवा सुविधा थप सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रम बीच प्रहरी महानिरीक्षक दिपक थापा र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो ।   कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक दिपक थापाले सम्झौताको लागि वाणिज्य बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले सुरक्षित र समुन्नत समाज निर्माण गर्ने पवित्र लक्ष्यका साथ अहोरात्र खटिने प्रहरी कर्मचारीहरूलाई आफ्नो जिम्मेवारी बहन गर्न थप उत्प्रेरणा र हौसला मिल्नुका साथै अवकाश प्राप्त, अमर र अशक्त प्रहरी कर्मचारी तथा आश्रित परिवारजनले सरल र सुलभ कर्जा लगायतका सुविधा प्राप्त गर्ने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमा समेत नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देबेन्द्र रमण खनालले नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकले विभिन्न चरणमा सहकार्य गर्दै आएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल राष्ट्र बैंकले तोकेको आधारभुत ब्याजदरमा राष्ट्रिय वाणिज्य बैंकले पेशाकर्मी सरल कर्जमा १.७५ प्रतिशत, घर कर्जामा १ प्रतिशत, गाडी कर्जामा २ प्रतिशत, शैक्षिक कर्जामा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । बहालवाला प्रहरी कर्मचारी तथा अवकाश, अमर/शहिद र अशक्त प्रहरी कर्मचारी (पेन्सन खाता) राष्ट्रिय वाणिज्य बैंकको नियम अनुसार २० (बीस) वर्षसम्मको रू ५०,००,००० (पचास लाख) सम्म घर कर्जा तथा नयाँ सवारी साधन खरिद ७ वर्षको लागि गाडी कर्जा उपलब्ध हुनेछ । प्रहरी कर्मचारीहरूलाई वार्षिक दुर्घटना भई मृत्यु वा पूर्ण अपाङ्ग भएमा रू ५,००,००० (पाँच लाख) को बिमा हुनेछ । नियमअनुसार विदामा रहेका बाहेक अन्य खातावाला कर्मचारीहरू दुर्घटनाबाट घाइते भई उपचार गर्नुपर्ने अवस्थामा दोहोरो बिमा दाबी नहुने गरी बिमा प्राधिकरणबाट जारी भएको निर्देशिका बमोजिम अस्पतालको बसाई तथा खर्चको क्षतिपूर्ति लगायत सुविधा बिमा बापत उपलब्ध गराउने गरी नाम उल्लेख गरी बिमा गराउनु पर्नेछ । उक्त बिमाको लागि प्रतिव्यक्ति रू १०० (एक सय) शुल्क लिई बिमा गर्न सकिने छ । यसैगरी सेवा निवृत्त भएका पूर्व प्रहरी कर्मचारीहरूलाई तीन पाङ्ग्रे अटो रिक्सा खरिद तथा सञ्चालनका लागि बैंकको पेन्सनर कर्जा कार्यविधि बमोजिम कर्जा स्व: पूँजी अनुपात ८० प्रतिशत बैंक कर्जा र २० प्रतिशत स्वयमले व्यहोर्ने गरी कर्जा सुविधा प्राप्त हुने र सो कर्जा रकम सीमा कायम गर्दा ६ वर्षको पेन्सन रकम बराबर वा अटो रिक्साको परल मूल्यमा नबढ्ने गरी अधिकतम रू ५,००,००० (पाँच लाख मात्र)  मध्ये जुन कम हुन्छ सोहीको आधारमा कर्जा सीमा प्रदान गरिने छ । साथै कर्जा ५ वर्षको वा बढिमा ६० किस्तामा भुक्तानी हुने गरी अवधि कायम हुनेछ । नेपाल प्रहरी कल्याणकारी शाखाको सिफारिसमा प्रहरी परिवार, अमर/शहिद तथा अशक्त प्रहरी परिवार संलग्न रहने लघुउद्यम स्थापना, कृषि तथा पशुपालन, साना तथा मझौला व्यवसाय स्थापना तथा सञ्चालन गर्न बैंकको विद्यमान कर्जा कार्यविधिको अधिनमा रही व्यवसायको वित्तीय आवश्यकता अनुसार कर्जा उपलब्ध हुने र सो कर्जाको बैंकको आधार दरमा १ प्रतिशत प्रिमियम ब्याजदर कायम हुनेछ । साथै घर कर्जा, एसएमइ तथा कृषी कर्जाको लागि कर्जा सुरक्षा बापत घर/जग्गा अचल सम्पत्ति धितो रोक्का हुने तथा नेपाल प्रहरी संगठनमा सेवा गरी निवृत्तिभरण (अवकाश) प्राप्त गरेका पूर्व प्रहरी कर्मचारीहरूको पेन्सन बचत खाता राष्ट्रिय वाणिज्य बैंकमा खोली भुक्तानी लिएको हुनुपर्ने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारी २०८२ वैशाख १ गते बाट लागु हुनेछ ।    उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायत राष्ट्रिय वाणिज्य बैंकका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव सम्पन्न
२०८१-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा बुधबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४१औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा आउने सर्वसाधारण नागरिकको सेवा गर्ने हेतुले अस्पताल परिसरमा नवनिर्मित ‘नेपाल प्रहरी अस्पताल स-शुल्क फार्मेसी’को उद्‍घाटन गर्नुका साथै उक्त फार्मेसीको अवलोकन समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८१’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुलाई इकोकार्डियोग्राफी मेसिन हस्तान्तरण गर्नुका साथै लुम्बिनी प्रदेश प्रहरी अस्पतालका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक दीपा नुच्छे प्रधानलाई आईसियु भेन्टिलेटर एण्ड प्यासेन्ट मोनिटर मेसिन हस्तान्तरण गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापाले अस्पतालको नवनिर्मित फार्मेसीको लागि लजेस्टिक सहायता गर्नुहुने Key Concept Nepal प्रा.लि काठमाडौंका कार्यकारी अध्यक्ष राजेन्द्र कुमार श्रेष्ठलाई कदरपत्र प्रदान गर्नुभयो । यसैगरी वर्षभरिको  कार्यसम्पदान र सेवा प्रवाहको आधारमा उत्कृष्ट विभाग अन्तर्गत मनोचिकित्सा विभागका प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई पुरस्कार तथा प्रशंसापत्र समेत उहाँले प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालको क्रमिक विकास, विस्तार एवम् अस्पताललाई हालको स्तरसम्म पुर्‍याउन सम्पूर्ण अग्रजहरूले निर्वाह गर्नुभएको भूमिका तथा योगदानको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारजनले प्राप्त गर्ने सेवा सुविधा र गुणस्तरको आधारमा प्रहरी कर्मचारीको मनोबल, उत्प्रेरणा र हौसलामा समेत अभिवृद्धि भई कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई अस्पतालले सेवा प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको मानवीय व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र समग्र संगठनलाई केन्द्रबिन्दुमा राखि स्वास्थ्य सेवालाई प्रभावकारी, गुणस्तरीय एवम् सेवाग्राहीमैत्री बनाउँदै नेपाल प्रहरी अस्पताललाई “Center For Health Excellence” को रूपमा विकास गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीहरूलाई आव्हान गर्नुभयो । अस्पतालले विद्यमान सेवाहरूलाई अझ प्रभावकारी र व्यवस्थित गर्न तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती रूपा थापाले हिटिङ गिजर र फिजियोथेरापी ट्रेड मिल अस्पतालका फिजियोथेरापी विभाग प्रमुख प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. कुशल रानाभाटलाई हस्तान्तरण  गर्नुभयो । साथै संघकी अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरूलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरी आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सन्जय विक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, अवकाश प्राप्त वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृतहरू, भिजिटिङ कन्सल्टेन्टहरू लगायत आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो ।

सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न लागेकी प्रहरी सहायक निरीक्षकलाई शुभकामना तथा ब्यानर हस्तान्तरण
२०८१-१२-२५

काठमाडौं, सर्वोच्च शिखर सगरमाथा आरोहण गर्न आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएकी नेपाल प्रहरी प्रधान कार्यालय साइबर ब्यूरोमा कार्यरत प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई शुभकामना सहित ब्यानर हस्तान्तरण गरिएको   छ । प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रम बीच प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पालाई लैंगिक हिंसा विरूद्धको नारा सहितको ब्यानर हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापाले आरोहणमा जान लागेकी प्रहरी सहायक निरीक्षक शेर्पालाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय, संघसंस्था तथा ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक रञ्जु सिग्देलले लैंगिक हिंसा सम्बन्धी अभियान र आरोहण कार्यक्रम सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, प्रहरी नायव महानिरीक्षकहरू, ग्लेसियर हिमालय ट्रेक एण्ड एक्स्पिडिसन प्रालिका प्रबन्ध निर्देशक एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी महानिरीक्षक दिपक थापाबाट मौलो पूजा सम्पन्न
२०८१-१२-२३

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले चैते दशैंका अवसरमा शनिबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापाले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक थापाले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक दिपक थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ । 

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८१-१२-१७

काठमाडौं, नेपाल प्रहरीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक दिपक थापाले आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले प्रशिक्षण प्रदायक इकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको बताउनुभयो । साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुनुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा आगामी आर्थिक वर्ष २०८२/०८३ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, प्रहरी जवान तथा प्रहरी हवल्दारहरूको तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

उच्च मनोबलका साथ प्रहरी परिचालन गर्नुपर्ने - प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले शान्ति सुव्यवस्था कायम राख्नु र जीउ धनको सुरक्षा गर्नु नेपाल प्रहरीको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै जस्तो सुकै विषम परिस्थितमा पनि उच्च मनोबलका साथ उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा शनिबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापाले आ-आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक थापाले सीमित स्रोतसाधनको अधिकतम् प्रयोग गरी धैर्यताका साथ थप संवेदनशील भएर प्रहरी कर्मचारीहरूले आफ्नो काम कारवाही गर्नुपर्ने उल्लेख गर्दै आम नागरिकको समस्यालाई समयमै सम्बोधन गर्ने गरी प्रहरी परिचालित हुनुपर्नेमा जोड दिनुभयो । अवैध हातहतियार ओसार पसार, विष्फोटक पदार्थ ओसार पसार, तस्करी एवम् गुण्डागर्दी लगायतका अराजक गतिविधि नियन्त्रणमा प्रहरी निर्मम ढंगले अगाडी बढ्नुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू एवम् जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
२०८१-१२-१२

नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित दशौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक दिपक थापाको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापाले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार तथा प्रशिक्षक एवम् तालिम सफल पार्न उल्लेखनीय योगदान पुर्‍याउनु हुने महानुभावहरूलाई प्रशंसा पत्र प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापाले सम्बोधनको क्रममा नेपाल प्रहरीमा संचालन हुने तालिमहरूमध्ये सबैभन्दा कठिन मानिने यस तालिम पुरा गर्नु आफैमा एउटा ठूलो उपलब्धि भएको चर्चा गर्दै तालिमले प्रहरी कारवाहीको सिलसिलामा आइपर्ने सम्भावित चुनौतिपूर्ण गतिविधिहरूमा आवश्यक पर्ने विशेष रणनीति, ज्ञान, सीप तथा कलाहरूको सापेक्ष प्रयोग गरी कार्यसम्पादन गर्न सक्ने योग्य जनशक्ति तयार गरेको बताउनुभयो । शारीरिक र मानसिक तन्दरूस्तीका साथै व्यक्तिगत इच्छाशक्ति, निष्ठा, स्वविवेक र साहसको पनि धेरै आवश्यक पर्ने यस तालिमबाट आर्जन गरेको प्रहरी कार्यका ज्ञान र सीपले कार्यक्षेत्रमा व्यावसायिक सफलता मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।    राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर ज.ब.रा.ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक गणेश बहादुर बरालले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १५ जना र प्रहरी जवान ८४ जना गरी जम्मा १ सय ५ जना प्रशिक्षार्थीहरू सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरूले बाधापार डेमोन्स्ट्रेशन, हतियार खोलजोड डेमोन्स्ट्रेशन, स्याण्ड मोडल ब्रिफिङ, होस्टेज रेस्क्यू अप्रेशन डेमोन्स्ट्रेशन, इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ डेमोन्स्ट्रेशन, खाली हात लडाई डेमोन्स्ट्रेशन, एक्सप्लोसिभ अर्डिनान्स डिस्पोजल डेमोन्स्ट्रेशन समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

दुई जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१२-०८

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ चैत ७ गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका २ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू रबिन कार्की र ज्ञानेन्द्र बहादुर बस्नेत रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापाले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने चर्चा गर्दै आगामी दिनमा सांगठनिक हित र विकासलाई केन्द्रमा राखी थप हौसला र लगनशीलताका साथ कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक रबिन कार्कीले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि प्राप्त जिमेवारीलाई नयाँ जोश र उर्जाका साथ वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनुपर्ने- प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी नागरिकले आस्था र विश्‍वास राखेको मुलुकको महत्वपूर्ण संगठन भएको चर्चा गर्दै  निजी स्वार्थ तथा व्यक्तिगत लाभ त्यागेर सामूहिक भावना र एकताका साथ राष्ट्र र नागरिक सेवामा समर्पित हुनु जरूरी रहेको बताउनुभएको  छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक थापाले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । नेपाल प्रहरी देशमा सुशासन, समृद्धि र दिगो विकासका दृष्टिकोणबाट अत्यन्त अपरिहार्य एवं निर्विकल्प संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘नेपाल प्रहरीको कुनै अर्को विकल्प हुनै सक्दैन । यसको विकल्प सुदृढ एवं जनउत्तरदायी नेपाल प्रहरी नै हो । यसका लागि नेतृत्व तह मात्र होइन, हर जवान सम्म यो भावनाले युक्त हुनु पर्दछ । तव मात्र राष्ट्र र नागरिकले परिकल्पना गरेको प्रहरी संगठनको स्वरूप हुनेछ ।’ सबै प्रहरी कर्मचारीहरू संगठनको संस्थागत सुधार र श्रीवृद्धिमा केन्द्रीत हुनुपर्ने बताउँदै सामुहिक भावना, भातृत्व र आपसी एकताले मात्र संगठनको सुदृढीकरण र उन्नतीको लक्ष्य हासिल गर्न सकिने विचार व्यक्त गर्नुभयो ।   देशव्यापी सञ्जाल संरचना भएको नेपाल प्रहरी फौजदारी न्याय प्रणालीको महत्वपूर्ण अङ्ग, नागरिकको शान्ति सुरक्षाको पहरेदार, न्यायको धरोहर, विपद एवम् सुख दु:खमा राज्यको पहिलो प्रतिनिधि, न्यून साधनश्रोतमा पनि उच्च प्रतिफल दिन सक्ने संगठन भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापाले राष्ट्र र आम नागरिकमा नेपाल प्रहरी प्रतिको विश्वास र भरोसामा आँच आउने काम कोहीकसैबाट हुने छैन भन्ने कुरामा पूर्ण विश्‍वस्त रहेको बताउनुभयो । विभिन्न सामाजिक सञ्जालका माध्यमहरूमा केही व्यक्ति तथा समूहहरूले विभिन्न जातजाती, वर्ग, धर्म र संस्कृतिका विरूद्ध गलत सूचना प्रवाह गर्ने, दुष्प्रचार तथा मानहानी गर्ने प्रवृत्ति बढ्दो रहेको र त्यसबाट उत्पन्न हुन सक्ने सामाजिक विचलन र कानूनी जटिलतालाई सम्बोधन गरी कार्यसम्पदान गर्नुपर्ने र चुनौतिको रूपमा रहेको साइबर अपराध, लागूऔषध ओसार-पसार, मानव तस्करी, आर्थिक अपराध लगायतका अपराधहरूको अनुसन्धानका लागि थप क्रियाशील हुनु पर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापाले व्यावसायिक कार्यसम्पादन एवम् उच्च नैतिक आचरणमा आधारित मुल्याङ्कन र सोही आधारमा वृत्ति विकास तथा अवसरको प्राथमिकता आफ्नो नीति रहेको चर्चा गर्दै प्रहरी नियमावलीमा भएको पुरस्कार र सजायको व्यवस्थालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गरिने तथा भ्रष्टाचार, अनियमितता र गैर व्यावसायिक आचरण एवम् व्यवहार विरूद्ध शून्य सहनशीलताको नीतिलाई कठोरतापूर्वक कार्यान्वयन गरिने बताउनुभयो । सबै प्रहरी कर्मचारीहरूले अपनत्व महशुस गर्न सक्ने, सरूवा बढुवा वृत्ति विकासका अवसर संगठन भित्रै खोज्ने र उपलब्ध हुने उल्लेख गर्दै उहाँले योग्यतामा आधारित स्वचालित प्रणाली बनाई प्रहरी कर्मचारीहरूका लागि समान अवसर सुनिश्चित गर्ने, दुर्गम/जोखिमयुक्त ठाउँमा कार्यरत प्रहरी कर्मचारीलाई विशेष सुविधा वा प्राथमिकता प्रदान गर्दै प्रहरी कर्मचारीहरूको सरुवा, बढुवा एवम् वृत्ति विकासमा पारदर्शिता तथा अनुमानयोग्य प्रणालीलाई सुदृढ एवं स्वचालित बनाइने बताउनुभयो । प्रहरी कल्याण कोषको व्यवस्थापन एवम् सञ्चालनलाई सुदृढ बनाइ प्रहरी कल्याण कोषका योजना तथा कार्यक्रमलाई आवश्यकता एवम् औचित्यका आधारमा प्रहरी कर्मचारीको हक, हित र कल्याण अभिवृद्धि हुने गरी प्रहरी कल्याण कोषको पारदर्शी, औचित्यपूर्ण एवम् न्यायोचित परिचालन तथा व्यवस्थापन गरिने समेत उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने पिसिसि बैठकको निर्णय
२०८१-१२-०५

काठमाडौं, प्रहरी महानिरीक्षक दिपक थापाको उपस्थितिमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पोलिसि कोओर्डिनेशन कमिटि (पिसिसि) बैठकमा प्रहरी कल्याण कोष संचालन कार्यविधि संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको छ । नेपाल प्रहरी कल्याण कोषबाट सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई प्रदान गर्ने सेवा सुविधामा वृद्दि गर्ने तथा प्रदान गरिने ऋण रकममा ब्याजदर घटाउने सन्दर्भमा आवश्यक अध्ययन गर्नुका साथै प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को समयानुकुल संशोधन तथा परिमार्जन गर्नको लागि सिफारिस समिति गठन गर्न निर्देशन दिइएको छ ।बैठकमा प्राप्त भएको राय सुझाव समेतलाई समावेश गरी प्रहरी कर्मचारीहरूको मनोवल उच्च बनाउँदै हक हित र कल्याण अभिवृद्धि हुने गरी नेपाल प्रहरी कल्याण कोषद्वारा संचालित विशेष कल्याणकारी कोष अन्तर्गत सहुलियत कर्जा कार्यक्रमलाई समय सापेक्ष वृद्धि गर्दै लैजानका लागि कर्जा प्राप्त गर्न सेवा अवधि कम्तिमा ७ वर्ष हुनुपर्ने व्यवस्थालाई ५ वर्ष, सहुलियत कर्जा ४ लाख रूपैयाँलाई वृद्धि गरि ५ लाख रूपैयाँ र किस्ता अवधि ५ वर्षलाई ७ वर्ष कायम गरी सो अनुसारको मासिक किस्ता रकम र किस्ता संख्या निर्धारण गरी प्रहरी कल्याण कोष संचालन कार्यविधि, २०८० को संशोधन गर्ने व्यवस्था मिलाउन नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखालाई निर्देशन दिने निर्णय गरिएको हो । 

प्रहरी महानिरीक्षक दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित
२०८१-१२-०५

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका दिपक थापा दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा मंगलबार आयोजित विशेष समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले प्रहरी महानिरीक्षक दिपक थापालाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुख जस्तो गरिमामय पद प्राप्त गर्नुभएकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा कार्यकाल पूर्ण सफलताको कामना गर्दै प्राप्त पदको गरिमा र नेपाल प्रहरीको श्रीवृद्धि गराउँदै मुलुकमा शान्ति, सुरक्षा, सुव्यवस्था, सुशासन र अमन चयन कायम गरी सुखी नेपाली र सम्वृद्ध नेपालको लक्ष्य प्राप्तीमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । तीन दशक लामो व्यावसायिक जीवनमा प्रहरी महानिरीक्षक थापाले प्रदर्शन गर्नुभएको कर्तव्यपरायणता, व्यासवसायिक दक्षता, कार्यकुशलताको उच्च मुल्याङ्कन गर्दै नेपाल सरकारले विश्वास गरेर थप जिम्मेवारी प्रदान गरेकोमा यसलाई निष्ठापूर्वक, इमानदारीताका साथ पुरा गर्नु हुनेछ भन्ने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहसचिव दुवाडीले शान्ति सुरक्षा र सुव्यवस्था भन्ने विषय देखिने विषय मात्र नभई अनुभूति गर्ने विषय भएको चर्चा गर्दै आम नागरिकले अनुभूति गर्ने किसिमको शान्ति, सुरक्षा, सुव्यवस्था र अमन चयन मुलुकमा कायम गर्नु सबैको कर्तव्य भएको र आम नागरिकले सरकारप्रति गरेका अपेक्षाहरू पुरा गर्न सरकार सदैव क्रियाशील रहेको बताउनुभयो । समाजमा नयाँ-नयाँ अपराधका क्रियाकलापहरू बढिरहेको उल्लेख गर्दै लागूऔषध, साइबर अपराध, आत्महत्या, सवारी दुर्घटना लगायतका विभिन्न सामाजिक अपराधहरू गम्भीर सुरक्षा चुनौतिको रूपमा देखा परेको हुँदा त्यस्ता चुनौतिहरूलाई कुशलतापूर्वक न्यूनीकरण गरेर मुलुकको शान्ति सुव्यवस्था कायम गर्न प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरीका सकल दर्जाको साख वृद्धि गर्दै निष्ठा, इमानदारीता, कर्तव्यपरायणता एवम् जवाफदेहीता पूर्वक जिम्मेवार भई कार्यसम्पादन गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।  गृहसचिव दुवाडीले प्रहरी महानिरीक्षक थापाको कार्यकालमा अपराधका क्रियाकलापहरू उल्लेख्य रूपमा नियन्त्रण, अपराध अनुसन्धान तथा अभियोजनमा निष्पक्षता र व्यावसायिकता, सीमा क्षेत्रमा हुने गरेको तस्करी नियन्त्रण, दबाब र प्रभाव मुक्त प्रहरी प्रशासन, संविधान प्रदत्त हक अधिकार तथा मानव अधिकारको पूर्ण प्रत्याभूति, कानूनको पूर्ण पालान तथा पीडितमैत्री वातावरणको सिर्जना गरी उच्च स्तरको कार्यसम्पादन गर्दै नागरिकको मनमुटु र ढुकढुकीको रूपमा नेपाल प्रहरी बस्न सफल हुनेछ भन्ने अपेक्षा र विश्वास लिएको बताउनुभयो । साथै नागरिकले अफ्ठ्यारो परेर नेपाल प्रहरी सम्झदा तत्काल सहायता, आड र भरोसा दिन सक्ने किसिमको चुस्त, दुरूस्त, सशक्त र जिम्मेवार नेपाल प्रहरी बनोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापाले मुलुक प्रति निर्वाह गरेको निष्ठापूर्ण सेवा, कार्यक्षमता र व्यावसायिकताको कदर गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावना नराखी निष्पक्षताका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  नेपालको संविधानको मर्म अनुरूप संघीय स्वरुपमार्फत कानून कार्यान्वयन, विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रूपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रूपमा संस्थागत गर्ने मेरो लक्ष्यबाट म किंचित पनि डगमगिने छैन ।’ अपराधको रोकथाम र अनुसन्धान, कुनै पनि बहाना र बिकल्प बिना शान्ति सुरक्षाको उपलब्धता, अन्य सुरक्षा निकायसँगको निरन्तर समन्वय र सहकार्य मार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी राज्यको प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशीलतामा गुनासो आउने अवसर नदिने समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीलाई आफ्नो दायित्व निर्वाह गर्न आम नागरिक, संचारकर्मी, विभिन्न पेशाकर्मीहरू, समाजसेवी, सरोकारवाला निकायहरू तथा नेपाल सरकारका सबै अंगहरूबाट सुझाव, सहयोग र सहकार्यको अपेक्षा लिएको उहाँले बताउनुभयो । नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक थापाले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूलाई सामूहिक प्रयासका साथ निस्तेज गरिने दृढता व्यक्त गर्नुभयो । कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् संचारकर्मीहरूको उपस्थिति रहेको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक थापाले मंगलबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू तथा जवानहरूले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक थापाले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।प्रहरी महानिरीक्षक दिपक थापाको सङ्क्षिप्त जीवनी :  प्रहरी महानिरीक्षक दिपक थापा नेपाल प्रहरीको ३१औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ चैत ४ गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको   हो ।भक्तपुर जिल्लाको सूर्यविनायक नगरपालिका वडा नम्बर ८ सिपाडोलमा पिता रामशरण थापा र माता साबित्री थापाको कोखबाट वि.सं. २०२८ मंसिर ८ गते जन्मनु भएका प्रहरी महानिरीक्षक दिपक थापाका श्रीमती रूपा थापा, २ छोरी र १ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक थापाले वि.सं. २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक थापा २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७२ साउन ८ गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायव महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक थापाले इन्टरनेश्‍नल ट्रेनिङ कोर्ष अन बिग डाटा पोलिसिङ अफ चाइना एसियन एण्ड द नेवरिङ कन्ट्रिज, प्रोग्राम अन काउण्टरिङ ट्रान्सनेश्‍नल अर्गनाईज्ड क्राइम, गभर्नेन्स एण्ड एन्टिकरप्सन ट्रेनिङ, एड्भान्स्ड कोर्ष अन मेनेजमेन्ट एण्ड डेभलपमेन्ट, बेसिक सेक्युरिटी ईन द फिल्ड-२,ओरियन्टेसन प्रोग्राम अन एन्टि मोनि लाउण्डरिङ टु नेपाल पुलिस अफिसियल्स, अपराध अनुसन्धान, व्यवस्थापन र विकास लगायत विभिन्न २५ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । प्रहरी महानिरीक्षक थापा सुप्रवल जनसेवा श्री, प्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दुर्गम सेवा पदक, दैवीप्रकोप पीडितोद्दार पदक, प्रहरी सेवा पदक, परदेश सेवा पदक लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ ।  अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक थापाले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा काठमाडौं, मकवानपुर, रूपन्देही, मोरङ, सुनसरी, खोटाङ, रौतहट, काभ्रेपलाञ्चोक, कञ्चनपुर र डोटी जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि जिल्ला प्रहरी कार्यालय चितवनको कमाण्ड गर्नुका साथै अख्तियार दुरूपयोग अनुसन्धान आयोग मध्य पश्चिमाञ्चल क्षेत्रीय कार्यालय सुर्खेत, नेपाल प्रहरी प्रधान कार्यालय सुरक्षा सेवा निर्देशनालय तथा नेपाल प्रहरी प्रधान कार्यालय बजेट शाखामा आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले महानगरीय अपराध महाशाखा हनुमानढोका काठमाडौं, २ नम्बर प्रदेश प्रहरी कार्यालय, शान्ति सुरक्षा महाशाखा, जनकपुर, नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग आर्थिक प्रशासन महाशाखा एवम् तालिम महाशाखामा जिम्मेवारी निर्वाह गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षकमा बागमती प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, आर्थिक प्रशासन तथा प्रबन्ध निर्देशनालयको अनुभव गर्नुभएका थापा २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । प्रहरी अतिरिक्त महानिरीक्षकमा उहाँले नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र केन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पटाको कमाण्ड समेत गर्नुभएको   थियो । 

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-१२-०४

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा प्रहरी नायव महानिरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी संगठनको सक्रिय भूमिकाबाट बिदाइ हुँदै सामाजिक जीवनमा प्रवेश गर्न लागेको यस क्षणमा बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापा प्रति हार्दिक आभार प्रकट गर्नुभयो । बिदाइ समारोह संगठनको संस्कृति र परम्पराको निरन्तरता मात्र नभई हामी बीचको आपसी आत्मीयता, भातृत्वभाव र एकता अभिवृद्धि गराउने अवसरको रूपमा लिएको उल्लेख गर्दै व्यावसायिक रूपमा बिदाइ भएता पनि संगठनको हित र श्रीवृद्धिको लागि सदैव समर्पित रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनियुक्त महानिरीक्षकलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दैनवनियुक्त प्रहरी महानिरीक्षक अत्यन्तै व्यावसायिक, दूरदर्शी, निष्ठावान र क्षमतावान् व्यक्तित्व रहेको चर्चा गर्नुका साथै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनको श्रीवृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई सबै प्रहरी कर्मचारीहरूबाट रचनात्मक सहयोग हुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापालाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक दिपक थापाले विभिन्न आरोह अवरोहरू पार गरी सफलतापूर्वक आफ्नो सेवा अवधि सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई हार्दिक बधाई दिँदै सेवा निवृत्त जीवन सुखद रहोस् भन्ने शुभकामना समेत व्यक्त गर्नुभयो । सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरूले संगठनको श्रीवृद्धिका लागि पुर्‍याएको योगदानले नेपाल प्रहरीको गरीमा अभिवृद्धिमा महत्वपूर्ण टेवा पुगेको चर्चा गर्दै सेवा निवृत्त पछि पनि व्यावहारिक सल्लाह, सुझाव, परामर्श र पृष्ठपोषण प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । संगठनमा विगतमा भएका असल अभ्यासहरूलाई नेपाल प्रहरीको आगामी राणनीति तथा कार्ययोजनाहरूमा समेटी निरन्तर अगाडि बढाउने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती रूपा थापाले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू टेक प्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराई तथा प्रहरी नायव महानिरीक्षकहरू ध्रुवराज राउत, भोला बहादुर रावल र गणेश चन्द रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत तथा जवानहरूले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई शुभकामना सहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता सम्पन्न
२०८१-१२-०२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा मुलपानी क्रिकेट मैदानमा संचालित प्रथम आईजिपि कप क्रिकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने मधेश प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले सहभागी टिमका व्यवस्थापकहरूलाई मायाको चिनो समेत प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक र मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको महत्व अझ बढि हुने चर्चा गर्दै यस प्रतियोगिताले नेपाल प्रहरीको क्रिकेट खेलको स्तरलाई सुदृढ तुल्याउनुका साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्धनमा समेत योगदान पुर्‍याएको बताउनुभयो । खेलाडीहरूबाट समूहमा प्रदर्शन भएको मेहनत, अनुशासन, खेलकौशल र सामूहिक भावना नेपाल प्रहरीभित्र रहेको भातृत्व भाव र स्व:अनुशासनको प्रतिबिम्ब भएको चर्चा गर्दै प्रतियोगिताको बिजेता एवम् उपबिजेता तथा अन्य विधामा उत्कृष्ठ हुने सबैलाई बधाई दिनुका साथै आगामी प्रतिस्पर्धामा समेत सफलताको कामना उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको खेलकुदका विभिन्न विधामा प्राप्त गरेको ख्याती र नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रतियोगितामा सहभागिता जनाई हासिल गरेका सफलता सराहनीय रहेको चर्चा गर्दै राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानको कारण नेपाल प्रहरी संगठन र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा आवद्ध खेलाडीहरूले आगामी दिनहरूमा समेत आफ्नो उत्कृष्ट प्रदर्शन मार्फत संगठन र राष्ट्रका श्रीवृद्धिका अवसरहरू सिर्जना गरिरहनु हुनेछ भन्ने विश्वास व्यक्त गर्दै खेलकुदको क्षेत्रमा अझ धेरै सफलता मिलोस् भन्ने शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलका लागि संगठन सदैव सकारात्मक रहेको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले निर्णायकहरू, प्रायोजकहरू तथा सहभागी टिमलाई प्रशंसापत्र एवम् मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई, प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले उत्कृष्ट बलरलाई, प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले उत्कृष्ट ब्याट्सम्यानलाई र प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो ।   कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्मरपालले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आज भएको फाइनल खेलमा मधेश प्रदेश प्रहरी कार्यालयको टिमले लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमलाई १४ रनले पराजित गरेको थियो । फाइनल खेलमा पहिलो ब्याटिङ गरेको मधेश प्रदेश प्रहरी कार्यालयको टिमले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ६७ रन बनाएको थियो भने जवाफी ब्याटिङ गरेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयको टिमले २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ५३ रन मात्र बनाउन सकेको थियो ।  प्रतियोगितामा प्रथम हुने टिमले १ लाख रूपैयाँ र द्वितीय हुने टिमले ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १५ हजार रूपैयाँ र उत्कृष्ट बलर, उत्कृष्ट ब्याट्सम्यान तथा उत्कृष्ट प्रशिक्षकले जनही १० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक युवराज सेन ओली, उत्कृष्ट बलर सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी जवान पशुपति प्रकाश मल्ल तथा मधेश प्रदेश प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिक्रम शाह उत्कृष्ट प्रशिक्षक, प्रहरी जवान दिपेश राय उत्कृष्ट ब्याट्सम्यान र प्रहरी जवान मुनाल यादव फाइनल खेलका म्यान अफ दि म्याच घोषित भएका थिए ।   फागुन २७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल क्रिकेट संघका पदाधिकारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित प्रशिक्षण कार्यक्रम सम्पन्न
२०८१-११-२८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा INTERPOL Project SOTERIA परियोजना अन्तर्गत संचालित  Open-source Intelligence Investigation (OSINT) सम्बन्धी प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणमा सहभागीहरूलाई प्रमाणपत्र समेत प्रदान गर्नुभयो ।  समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले यौन शोषण र दुर्व्यवहार गम्भीर चुनौतीको रूपमा देखिएको उल्लेख गर्दै यस प्रशिक्षणले यौन अपराधहरूको अनुसन्धान र न्यूनीकरणमा सहयोग पुग्नुका साथै प्रशिक्षणबाट सिकेका सीपहरूले त्यस्ता अपराधहरूलाई अझ प्रभावकारी रूपमा सम्बोधन गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । विशेष गरी Aid Sector हरूमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने उद्देश्यका साथ इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गत कानून कार्यान्वयन गर्ने निकायका अधिकृतहरूलाई उक्त प्रशिक्षण प्रदान गरिएको हो । फागुन २६ गतेदेखि संचालित उक्त प्रशिक्षण कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट २२ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो भने प्रशिक्षकको रूपमा INTERPOL Project SOTERIA बाट ३ जना पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता सुरू
२०८१-११-२७

काठमाडौं, नेपाल प्रहरी खेलकुद समिति महाराजगंजको आयोजनामा प्रथम आईजिपि कप पुरूष क्रिकेट प्रतियोगिता २०८१ मुलपानी क्रिकेट मैदानमा सुरू भएको छ । नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले मुलपानी क्रिकेट मैदानमा मंगलबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीको कार्य प्रकृति खेलकुद भन्दा फरक किसिमको रहेको चर्चा गर्दै नेपाली खेलकुदको इतिहासमा विभिन्न खेलका स्तरीय खेलाडी उत्पादनमा नेपाल प्रहरीको उच्च योगदान रहँदै आएको बताउनुभयो । सीमित स्रोत साधनका बीच यस्ता प्रतियोगिता संचालन गर्न चुनौतीपूर्ण रहेको बताउँदै प्रतियोगिता त्रुटीरहित ढंगबाट संचालन गर्न प्रतियोगिता संचालन तथा व्यवस्थापनमा खटिने सबैजना दत्तचित्त भएर लागि पर्न उहाँले निर्देशन दिनुभयो ।   कार्यक्रममा प्रहरी नायव उपरीक्षक चक्र बहादुर डम्बर पालले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी ८ टिमको सहभागिता रहेको   छ ।

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रौतहटमा नवनिर्मित भवनहरू उद्‌घाटन
२०८१-११-२६

रौतहट, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रौतहट परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष, सिनियर प्रहरी आवास, भान्साघर लगायतका भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिएको विश्वास व्यक्त गर्दै सुविधा सम्पन्न भौतिक संरचना निर्माणले प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुनुका साथै प्रहरीबाट प्रवाह हुने सेवाको गुणस्तर थप प्रभावकारी हुने बताउनुभयो । कानुन विपरीत गतिविधि नियन्त्रण गरी समाजमा शान्ति, सुव्यवस्था कायम गर्न प्रहरीको एकल प्रयासले मात्र नभई स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा मात्र सम्भव हुने उल्लेख गर्दै स्थानीय नागरिकहरूबाट जिल्लाको शान्ति सुरक्षा अमन चयन कायम गर्नमा नेपाल प्रहरीलाई पूर्णरूपमा साथ एवम् सहयोग हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गौर नगरपालिकाका प्रमुख शम्भु साह र रौतहट जिल्लाका प्रमुख जिल्ला अधिकारी बिनोद कुमार खड्काले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक लालमणि आचार्यले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख प्रहरी उपरीक्षक दिलिप घिमिरेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा प्रहरी उपरीक्षक ई. इश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १७ करोड ६४ लाख २७ हजार ६ सय २८ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाबाट नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन
२०८१-११-२३

काठमाडौं, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूबाट शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयको निरीक्षण तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडालाई नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हार्दिक स्वागत गर्नुभयो ।  भ्रमणका क्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा तथा समितिका सदस्यहरूले नेपाल प्रहरी प्रधान कार्यालय तथा कार्यालयस्थित संग्रहालय र डाटा सेन्टरको निरीक्षण गर्नुका साथै सो सम्बन्धी गतिविधिबारे जानकारी समेत लिनुभयो ।  निरीक्षण तथा अवलोकन भ्रमण पश्चात आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले शान्ति सुव्यवस्था कायम गर्न नेपाल प्रहरीले निर्वाह गर्दै आइरहेको भूमिका अत्यन्तै सराहनीय रहेको चर्चा गर्दै आगामी दिनमा पनि प्रहरीको सेवा प्रवाहको स्तरलाई गुणस्तरीय बनाउँदै लैजान राज्य व्यवस्था तथा सुशासन समितिले गर्नुपर्ने सहयोगको लागि सदैव तयार रहेको बताउनुभयो । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति खतिवडाले प्रहरी विधेयक संशोधनको लागि सबै सरोकारवाला पक्षसँग समन्वय गरी यसलाई अझ जनतामैत्री एवम् प्रहरीमैत्री बनाउनका लागि वृहत रूपमा छलफल गरेर अगाडि बढाउने प्रतिवद्धता व्यक्त गर्नुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट सदैव सकारात्मक सहयोग र समन्वय हुने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै नेपालको संविधान, प्रहरी ऐन, नियम, अन्य प्रचलित कानुन र मानव अधिकारको अन्तर्राष्ट्रिय मापदण्ड समेतले निर्दिष्ट गरेको आफ्नो काम कारवाही र उत्तरदायित्वप्रति निष्ठावान रही कार्यसम्पादन गर्दै आएको बताउनुभयो । आगामी दिनमा उत्पन्न हुन सक्ने चुनौतीहरूको सामना गर्न र नागरिकलाई शान्ति सुरक्षा तथा अमनचयनको प्रत्याभूति दिलाउन नेपाल प्रहरी व्यावसायिक रूपमा सक्षम र प्रतिवद्ध रहेको उहाँले   बताउनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले विश्वमै चुनौतीका रूपमा देखा परेका अपराधका नयाँ प्रवृत्तिको पहिचान गर्दै त्यसलाई निस्तेज गर्न नेपाल प्रहरीले आफ्नो क्षमता विस्तारका साथै अन्तर्राष्ट्रिय प्रहरी निकायको समन्वयलाई समेत प्राथमिकतामा राखी कार्य गर्दै आएको उल्लेख गर्नुभयो । साथै नवीनतम् चुनौतीको रूपमा देखा परेका संगठित अपराध, लागूऔषध, साइबर अपराध एवम् विद्युतीय अपराध, अवैध हातहतियार ओसार पसार र आर्थिक अपराधलाई निर्ममतापूर्वक कानूनी दायरामा ल्याउन नेपाल प्रहरी कटिवद्ध रहेको उहाँले बताउनुभयो । नेपाल प्रहरीको संस्थागत विकास, यसमा आवद्ध प्रहरी कर्मचारीहरूको व्यावसायिक मनोबल वृद्धि र समग्र संगठनको वृहत्तर हितका लागि राज्य व्यवस्था तथा सुशासन समितिबाट अभिभावकीय भूमिका निर्वाह हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक दिनेश कुमार आचार्यले नेपाल प्रहरीको परिचय, संगठनको संरचना, मानवश्रोत तथा स्रोत साधन व्यवस्थापन, अपराध अनुसन्धान तथ्याङ्क तथा विश्लेषण, प्रहरी कार्य, शान्ति सुरक्षा तथा ट्राफिक व्यवस्थापन, प्रहरी कार्यमा प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय समन्वय र सहायता, नीति तथा योजना कार्यान्वयनको अवस्था, उपलब्धी, चुनौती, भावी योजना र अपेक्षा तथा समसामयिक विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राज्य व्यवस्था तथा सुशासन समितिका पदाधिकारीहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

१५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-११-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका १५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ फागुन २१ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा १ जना, नेपाल सरकार गृह मन्त्रलाय (सचिवस्तर) को २०८१ फागुन २० गतेको निर्णयअनुसार प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा १३ जना गरी जम्मा १५ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराई, प्राविधिक प्रहरी नायव उपरीक्षक डा. बिदुर प्रसाद आचार्य तथा प्राविधिक प्रहरी निरीक्षकहरू चन्द्रकला शर्मा सुवेदी, सगुन लोहला, उमेश कुमार चौधरी, राजकुमार श्रेष्ठ, बुद्धिमान दोङ (तामाङ), श्याम बहादुर बलायर, हरि बहादुर थापा, अशोक कुमार गुप्ता, नारायण कुमार योगी, काजीमान लामा, कुबेर न्यौपाने, लोकेन्द्र सिंह धामी र सन्तोष थापा मगर रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नति व्यक्तिगत एवम् व्यावसायिक जीवनको महत्वपूर्ण पक्ष भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई संगठनको लक्ष्य र हित अनुरूप वहन गरी उत्कृष्ट कार्यसम्पदान गर्न उहाँले निर्दशन दिनुभयो । संगठनको लक्ष्य र उद्देश्य प्राप्तिका लागि प्राविधिक सेवा समूहको महत्वपूर्ण भूमिका हुने बताउँदै प्रविधिको प्रयोग गर्दै व्यवस्थित, प्रभावकारी एवम् गुणस्तरीय सेवा प्रवाहलाई प्राथमिकतामा राख्दै कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड   दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक जनक भट्टराईले प्राप्त जिम्मेवारीलाई संगठनको उद्देश्य अनुरूप दत्तचित्त, लगनशील एवम् अनुशासित भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UN Police Commissioner बीच शिष्टाचार भेटघाट
२०८१-११-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahkar तथा Selection and Recruitment Section Chief Ata Yenigun बीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरूबीच आपसी सहयोग, सूचना आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । सो अवसरमा युएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।   कार्यक्रममा United Nations Headquarters New York, Director Of UN Police Division (UN Police Commissioner) Faisal Shahakar तथा Selection and Recruitment Section Chief Ata Yenigun ले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । युएन प्रतिनिधि मण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आउनु भएको हो । उहाँहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभएको थियो ।भ्रमणको क्रममा युएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ । विशेषत उहाँहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रीत हुनुहुनेछ ।

ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०८१-११-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल पुलिस क्लबमा आइतबार संयुक्त ब्याण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।   सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी उपरीक्षक भुला राज खनाल समेतको टोली र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमधुर धुन प्रस्तुत गरिएको थियो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवर र ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Esther Hayes बीच कृतज्ञताको चिनो आदानप्रदान भएको थियो ।  वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगीत विद्यालय ब्याण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगीत विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै ब्याण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, ब्याण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता सम्पन्न
२०८१-११-१७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शनिबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल सामाखुसीमा संचालित प्रथम प्रहरी महानिरीक्षक विद्यालय स्तरीय राष्ट्रिय तेक्वान्डो प्रतियोगिता-२०८१ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विभिन्न विधामा विजयी हुने खेलाडीहरूलाई पदक, प्रमाणपत्र र ट्रफि प्रदान गर्नुभयो । साथै उहाँले रेफ्री, जुरी लगायत विभिन्न भुमिकामा प्राविधिक सहयोग गर्नुहुने महानुभावहरूलाई मायाको चिनो प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा विजयी खेलाडीलाई बधाई दिँदै उपविजेता तथा सहभागी सम्पूर्ण खेलाडीहरूबाट प्रदर्शित खेल कौशलको कदर गर्नुका साथै खेलाडीहरूको उज्वल भबिष्यको कामना समेत गर्नुभयो । खेलकुदले विद्यार्थीहरूमा रहेको प्रतिभाहरूलाई प्रस्तुत गरी समग्र व्यक्तित्व विकासमा पढाईका साथसाथै अतिरिक्त क्रियाकलापहरू समेत महत्वपूर्ण रहेको उल्लेख गर्दै उहाँले प्रतियोगितामा खेलाडीहरूले देखाएका सक्रिय सहभागीता, प्रयास र लगनशीलताको उच्च प्रशंसा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले कुनै पनि खेललाई हारजितको रूपमा मात्र हेर्नु भन्दा यसलाई सिकाई र अनुभवको माध्यमका रूपमा हेरी स्व:मुल्याङ्कन गर्दै आगामी दिनका लागि आफूलाई तयारी गर्ने मौकाको रूपमा समेत हेर्नुपर्ने बताउनुभयो । खेलले अनुशासन, समयको सही सदुपयोग तथा व्यवस्थापन, तीव्र निर्णय क्षमता, आइपर्ने चुनौतिलाई कसरी सामना गर्न सकिन्छ भन्ने शिक्षा प्रदान गर्ने हुँदा त्यसलाई आफ्नो व्यक्तिगत जिवनशैलीको रूपमा समेत लागु गर्नेतर्फ चिन्तनशील हुन सम्पूर्ण खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले आजको युग विज्ञान र प्रविधिको युग भएको चर्चा गर्दै शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक र व्यावसायिक बनाउँदै विद्यार्थीहरूको बौद्धिक एवम् व्यावसायिक विकासमा विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्नेमा जोड दिनुभयो । विद्यार्थीहरूको चौतर्फी विकासको लागि विद्यालय, अभिभावक वर्ग र समाजको समेत जिम्मेवारी हुने हुँदा यो विषय सबैको प्राथमिकता हुनुपर्ने र यसका लागि हरतरहको भूमिकामा नेपाल प्रहरीको साथ र सहयोग रहने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा विशिष्ट अतिथि नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले प्रतियोगितालाई सफल बनाउनको लागि सहयोग पुर्‍याउनुहुने विभिन्न संघसंस्था तथा व्यक्तिहरूलाई सम्मानपत्र प्रदान गर्नुभयो । सो अवसरमा विद्यालयका संरक्षक एवम् काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले संयुक्त रूपमा एनपिएस तेक्वान्दो डोजाङका पदाधिकारीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी नायव महानिरीक्षक ध्रुवराज राउतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल सामाखुसीका प्राचार्य रामप्रसाद भुसालले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल सामाखुसी, नेपाल पुलिस स्कुल काभ्रे, नेपाल पुलिस स्कुल धरान, सशस्त्र प्रहरी स्कुल कीर्तिपुर लगायत ४७ वटा विद्यालय/डोजाङका करिब ६ सय जना तेक्वान्डो खेलाडीहरूको सहभागीता रहेको थियो । 

नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न
२०८१-११-१२

काभ्रेपलाञ्चोक, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगाको ४१औं स्थापना दिवस तथा वार्षिक खेलकुद दिवस सम्पन्न भएको छ ।उक्त अवसरमा संघकी अध्यक्ष कुँवरले विद्यालयको मुखपत्र ‘दीपिका २०८१’ को विमोचन गर्नुका साथै विद्यालयको स्थापना दिवसमा आयोजित विविध अतिरिक्त क्रियाकलापका विजेताहरू, उत्कृष्ट शिक्षकहरू तथा उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई नगद, शिल्ड, मेडल, पुरस्कार तथा प्रशंसापत्र वितरण गर्नुभयो । साथै उहाँले विद्यार्थीहरूबाट प्रदर्शित विभिन्न क्रियाकलापहरूको अवलोकन समेत गर्नुभयो ।  कार्यक्रममा संघकी अध्यक्ष कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले समाजका महत्वपूर्ण क्षेत्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत यस विद्यालयबाट दिक्षित विद्यार्थीहरूले प्राप्त गरेका उपलब्धिहरूले यस विद्यालयको उत्कृष्टतालाई प्रमाणित गरेको बताउनुभयो ।  संघकी अध्यक्ष कुँवरले किताबी कोरा ज्ञानमा मात्रै सीमित नभएर अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक क्रियाकलापहरूलाई नियमित रूपमा संचालन गरी विद्यार्थीहरूको चौतर्फी विकासमा जोड दिँदै जीवन उपयोगी बनाउँदै लैजानुका साथै विद्यार्थीहरूको प्रतिभा उजागर हुने वातावरण निर्माणलाई पनि प्राथमिकता दिन सकेमा विद्यार्थीहरूको सर्वाङ्गीण विकास हुने र त्यसले राज्यलाई पनि उपलब्धिमूलक परिणाम प्राप्त हुने चर्चा गर्नुभयो ।  कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोककी प्रमुख देवका ढकालले विद्यालयमा स्थापित विभिन्न अक्षयकोषको उद्देश्य अनुरूप विभिन्न विधामा विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गर्नुभयो ।  नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले मार्चपास, जुडो, कराते, तेक्वान्दो, जिम्न्यास्टिक, ट्रयाक एण्ड फिल्ड ईभेन्ट्स तथा विभिन्न साँस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका    थिए ।  उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू एवम् अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्पको उद्‌घाटन
२०८१-११-१२

बाँके, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नवनिर्मित प्रहरी कल्याण कोष पेट्रोल पम्प कोहलपुरको सोमबार एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित पेट्रोल पम्प तथा भवनको निरीक्षण गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समाजमा शान्ति सुरक्षाको साथै समाजका विभिन्न क्षेत्रमा सहकार्य गर्दै आमनागरिकमा सेवा पुर्‍याउँदै आएको चर्चा गर्दै आज उद्‌घाटन भएको प्रहरी पेट्रोल पम्प नेपाल प्रहरीको मात्र नभई सबैको साझा सम्पत्ति भएको हुँदा यसले नेपाल प्रहरी तथा आमनागरिकका सवारी साधन समेतलाई सरल र सहज रूपमा इन्धन आपूर्ती गराउनुका साथै विशेष परस्थितिमा समेत इन्धनको आवश्यक्ता पूर्ती गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो ।    प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी शान्ति सुरक्षाको सन्दर्भमा आमजनता केन्द्रीत सेवा प्रदान गर्ने राज्यको विश्वासिलो र भरोसायोग्य संगठनको रूपमा रहेको बताउँदै आम नागरिकमा निष्पक्ष सेवा प्रवाह र प्रदेशको समग्र शान्ति सुव्यवस्था कायम राख्न समुदायसँग सहकार्य गरी योजनाबद्ध ढंगबाट प्रभावकारी प्रहरी परिचालन गर्न निर्देशन दिनुभयो । कार्यक्रममा नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त बिष्ट एवम् बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्कीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्कीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  साथै उक्त अवसरमा प्रहरी नायव उपरीक्षक ई. रोशन सारू मगरले निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको कुल ६ करोड ६४ लाख २७ हजार ७ सय ३६ रूपैयाँको लागतमा उक्त पेट्रोल पम्प तथा पूर्वाधारहरूको निर्माण कार्य सम्पन्न भएको हो ।  कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित सरकारी कार्यालयका प्रमुखहरू, स्थानीय तहका जनप्रतिनिधिहरू, विभिन्न संघसंस्थाका प्रमुख एवम् पदाधिकारीहरू, सञ्चारकर्मीहरू, स्थानीय बुद्धिजीवीहरू लगायत प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-११-०४

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ फागुन २ गतेको निर्णयअनुसार प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति हुनुभएका ७५ जनामध्ये ७२ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै सोही निर्णयबाट पदोन्नति हुनुभएका २ जना प्रहरी नायव उपरीक्षकहरू हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ भने १ जना प्रहरी नायव उपरीक्षक हाल तालिमको सिलसिलमा विदेशमा रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत लाभ र स्वार्थ भन्दा माथि उठेर एकजुट भई प्राप्त जिम्मेवारीलाई निष्ठापूर्वक ढंगबाट उच्च समर्पण भावका साथ कार्यसम्पादनमा खरो उत्रन उहाँले निर्देशन दिनुभयो । प्रहरी सेवामा सबै नागरिकको सहज पहुँचको वातावरण निर्माण गरी प्रहरी सेवालाई थप विश्वसनीय बनाउन कानुन सम्मत तवरले कार्यसम्पदान गरी आम नागरिकको नजरमा प्रहरी प्रतिको सम्मान र विश्वास बढाउन थप कटिबद्ध हुनुपर्ने उहाँले बताउनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक सुरेन्द्र प्रसाद जोशीले संगठनको छवि उच्च राख्दै प्राप्त जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८१-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा मंगलबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक झिल्के थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यावसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक गोपाल चन्द्र भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८१’ को लोकार्पण तथा प्रतिष्ठान गित सार्वजनिकीकरण समेत गर्नुभयो । साथै उहाँले रस्साकस्सी खेल तथा महिला प्रहरी कर्मचारीहरूको दौड प्रतियोगिताका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो ।   समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले विधिको शासन, नागरिकको स्वतन्त्रता, मानवअधिकार र लोकतान्त्रिक मूल्य मान्यतालाई समाजमा प्रवर्द्धन गरी समुन्नत र सुरक्षित समाजको निर्माण गर्न सक्ने योग्य जनशक्ति उत्पादनमा समर्पित प्रतिष्ठानको योगदान सर्‍हानीय रहेको बताउनुभयो । संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने हुँदा समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्ति उत्पादन प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा केवल एक पेशा मात्रै नभई एउटा जीवनशैली भएको चर्चा गर्दै संगठनमा नवप्रवेशी सदस्यहरुलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अव्वल उदाहरण हुनुपर्ने बताउनुभयो । प्रशिक्षण केन्द्रहरूबाट प्रदान गरिने प्रहरी तालिमलाई प्रहरीको नजरबाट मात्र नभई नागरिक तथा सामाजिक दृष्टिकोणबाट हेरिनुपर्ने उल्लेख गर्दै सीपमूलक, समयसापेक्ष र व्यावहारिक प्रशिक्षण प्रदान गर्नेतर्फ प्रतिष्ठन केन्द्रीत रहनुपर्ने उहाँले बताउनुभयो ।  उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  समारोहमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन, पिजिडिपिएस कार्यक्रमका सल्लाहकार, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली फ्रान्स प्रस्थान
२०८१-१०-२८

काठमाडौं, इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने २०औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा नेतृत्वको टोली आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा Scenario of Crime Against Child विषय लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका १९६ सदस्य राष्ट्रहरूका एनसिबि प्रमुखहरु, इन्टरपोल महासचिव तथा पदाधिकारीहरू बिच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा Capacity development/building का विषयहरूमा Asia and the south Pacific Regional Round Table Meeting गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२५ फेब्रुअरी ११ देखि १३ (तद्अनुसार २०८१ माघ २९ देखि फागुन १ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक कोमल शाह समेत सहभागी हुनु हुनेछ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित छात्रावास भवनको उद्‌घाटन
२०८१-१०-२५

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित छात्रावास भवनको शुक्रबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माणमा विशेष योगदान पुर्‍याउनुहुने महानुभावहरूलाई प्रंशसापत्र प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको पहिलो विद्यालयको रूपमा स्थापित यस विद्यालयले नेपाल प्रहरी तथा सर्वसाधारणका सन्ततिका लागि गुणस्तरीय शिक्षा प्रदान गरी शैक्षिक क्षेत्रको साथै विद्यार्थीहरूको चौतर्फी विकासमा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले विद्यालयले सुधारका लागि अंगिकार गर्ने रचनात्मक पहलहरू, विद्यालयलाई थप स्रोत तथा साधनहरूबाट सुसम्पन्न गराउने प्रयासहरू एवम् विद्यालयको क्षमता र सुविधा विस्तारसँगै समयानुकूल स्तरवृद्धि गर्ने सन्दर्भमा नेपाल प्रहरी प्रधान कार्यालय सदैव चिन्तनशील रहँदै आएको उल्लेख गर्नुभयो । नवनिर्मित भवनले अध्ययनरत छात्राहरूको रहनसहन तथा बसाईमा सहजता प्रदान गर्ने र व्यवस्थापकीय दृष्टिकोणबाट समेत स्कुलको शैक्षिक गतिविध अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा प्रदान गरी सवल र सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो उत्रन विद्यालय व्यवस्थापन पक्षलाई उहाँले आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यले आफ्नो शुभकामना मन्तव्य तथा स्कूलका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोतबाट कूल ६ करोड २५ लाख ८० हजार ३ सय ५४ रूपैयाँ ५८ पैसाको लागतमा उक्त भवन निर्माण सम्पन्न भएको हो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका उपप्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, शिक्षक तथा विद्यार्थीहरू, सञ्चारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१०-२०

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ २० गतेको निर्णयअनुसार प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका ३७ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू कुलदिप चन्द, सुमित खड्का, ठाकुर प्रसाद पोखरेल, मनोहर प्रसाद भट्ट, दिपक गिरी, नबिन कृष्ण भण्डारी, तिलक भारती, केशब कुमार थेबे, सुर्य बहादुर खड्का, दिपक श्रेष्ठ, प्रेम बहादुर शाही, टेक बहादुर कार्की क्षेत्री, फणिन्द्र प्रसाई, शरत कुमार थापा क्षेत्री, युवराज खड्का, राजन चापागांई, किशोर कुमार श्रेष्ठ, मुकुन्द प्रसाद रिजाल, पवन कुमार भट्टराई, रविन्द्र नाथ पौडेल, दान बहादुर थापा, सुदिप राज पाठक, निशान थापा, कबित कटुवाल, रामेश्वर पौडेल, रूकेश तण्डुकार, दधिराम न्यौपाने, नबिन कार्की, श्याम कुमार सारुमगर, नरेन्द्र कुँवर, नारायण प्रसाद अधिकारी, भेषराज रिजाल, निर्मल बुढाथोकी, नवराज मल्ल, डिल्ली नारायण पाण्डेय, लालध्वज सुवेदी र रूगम बहादुर कुँवर रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दा माथि उठेर सांगठानिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर अपराध रोकथाम, नियन्त्रण तथा अनुसन्धान, प्रभावकारी प्रहरी परिचालन एवम् जनमुखी सेवा प्रवाहको माध्यमबाट संगठनको साख वृद्धिमा प्रतिवद्ध भएर कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक कुलदिप चन्दले संगठनको वृहत्तर हितलाई केन्द्रमा राखि मन, वचन र कर्मले निष्ठापूर्वक प्राप्त जिम्मेवारीलाई वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।  

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक समीक्षा सम्पन्न
२०८१-१०-१५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको अर्ध वार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘ हिरासत व्यवस्थापन मार्गदर्शन’ पुस्तकको विमोचन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप  तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना तथ्याङ्कमा मात्र सीमित नभई परिणाममुखी बनाउनेतर्फ संवेदनशील हुनुपर्ने उल्लेख गर्दै समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन, हिरासत व्यवस्थापन लगायतका कार्यमा अझ बढि क्रियाशील हुनुपर्ने बताउनुभयो । पेन्डिङ मुद्दा फछर्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी संगठनको वृहत्तर हितका लागि थप सिर्जनशील हुन समेत उहाँले प्रहरी कर्मचारीहरूलाई आग्रह गर्नुभयो ।   समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रमुख एवम् प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषयहरू समेटिएका थिए । यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति विवरण, प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, प्रदेश प्रहरी गण तथा विशेष सुरक्षा गणका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।    

प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील र उत्प्रेरित हुनुपर्छ : प्रहरी महानिरीक्षक कुँवर
२०८१-१०-१४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू थप सिर्जनशील र उत्प्रेरित हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा तथा पदस्थापन भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरू र प्रहरी उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ भन्दा सांगठनिक स्वार्थलाई केन्द्रबिन्दुमा राखेर संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सामूहिक प्रयासमा केन्द्रीत हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक बुद्धिराज गुरूङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंह, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुबेर कडायत र प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र केसीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

२८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१०-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका २८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ माघ ९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा २५ जना, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा १ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा २८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू रमेश थापा, अजय केसी, अनुपम शम्शेर ज.ब.रा, बीर बहादुर बुढामगर, नवराज अधिकारी, कृष्ण प्रसाद कोईराला, होबिन्द्र बोगटी, कृष्ण प्रसाद पंगेनी, गोबिन्द अधिकारी, बिनोद सिलवाल, श्याम कुमार महतो, बेद बिष्ट, शिब कुमार श्रेष्ठ, प्रकाश मल्ल, शान्तिराज कोईराला, जनार्दन जिसी, रन्जु सिग्देल, सन्तोष खड्का, सन्तोष कुमार भट्टराई, राजेन्द्र प्रसाद धमला, सन्तोष सिंह राठौर, संजय सिंह थापा, बिमलराज कंडेल, महेन्द्र खड्का र प्रभु प्रसाद ढकाल रहनुभएको छ । यसैगरी प्राविधिक प्रहरी उपरीक्षक राजन सुवेदी तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू बुद्वमाया लामा र विकास श्रेष्ठ रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नभयो । पदोन्नतिसँगै पदीय दायित्व र जिम्मेवारी समेतको बढोत्तरी भएको चर्चा गर्दै पदोन्नतिसँगै प्राप्त थप जिम्मेवारीलाई उत्कृष्ट ढंगले सम्पादन गर्दै नागरिकको सेवा र संगठनको वृहत्तर हितमा थप कटिवद्ध र जिम्मेवार भई कार्यसम्पादन गर्न उहाँले निर्देशन दिनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले सकारात्मक सोच र उर्जाका साथ नागरिकको सेवा र संगठनको हितमा कर्तव्यनिष्ठ भई आ-आफनो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

६ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-१०-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ६ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ माघ ३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा २ जना र प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा ४ जना गरी जम्मा ६ जना प्राविधिक प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी उपरीक्षकहरू प्रभा पौडेल र भुलाराज खनाल तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरू डा. सुष्मा केसी, डा. पुजा खड्का, डा. दिपक भिन्दवार र डा. अनुज श्रेष्ठ रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नभयो । पदोन्नति प्रत्येक प्रहरी कर्मचारीको व्यक्तिगत र व्यावसायिक जीवनको महत्वपूर्ण पक्षको रूपमा रहेको उल्लेख गर्दै आगामी दिनमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूबाट सम्पादन हुने कार्यको गुणस्तरमा समेत बढोत्तरी हुने अपेक्षा लिएको बताउनुभयो । साथै पदोन्नति सँगसँगै वृद्धि भएका जिम्मेवारीमा संगठनको लक्ष्य र उद्देश्य प्राप्तिको लागि उच्च स्तरको कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक प्रभा पौडेलले संगठन प्रति निष्ठावान् रही आ-आफ्नो जिम्मेवारी वहन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

आठ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०९-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति हुनुभएका ८ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस २६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा ५ जना र नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ पुस २८ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना गरी जम्मा ८ जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय कुवेर कडायत र रबिन्द्र केसी, प्रहरी नायव महानिरीक्षकहरू ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरूण पौडेल र गोबिन्द थपलिया तथा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक लालबाबु गिरी रहनुभएको छ ।   दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पदोन्नतिलाई व्यक्तिगत सुविधा र खुशी भन्दा माथि राख्दै पदिय जिम्मेवारी र जवाफदेहीता थप भएको महसुस गरेर कार्यसम्पादनमा अझ निखर र तल्लीन रहन निर्देशन दिनुभयो । संगठनको विकास र सुदृढिकरणको लागि सबैको प्रयास आवश्यक रहेको उल्लेख गर्दै पेशागत निष्ठा, व्यावसायिकता, इमानदारीता र धैर्यतालाई केन्द्रमा राखी कर्तव्य निर्वाहमा तल्लीन रहन समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायतले संगठनको छवि उच्च गर्ने र यसको बृहत्तर हितको लागि सदैव क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०९-१६

 काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यावसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारीताको उच्च प्रशंसा गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरू किरण बज्राचार्य, भिम प्रसाद ढकाल, केदार ढकाल र भरत बहादुर बोहरा तथा प्रहरी नायव महानिरीक्षकहरू विकास राज खनाल र डा.देउती गुरूङले आ-आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य पुस १६ गते, विसं २०५२ भदौ १९ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल मंसिर २८ गते, विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक केदार ढकाल मंसिर २२ गते र प्रहरी अतिरिक्त महानिरीक्षक भरत बहादुर बोहरा पुस १४ गते सेवानिवृत्त हुनु भएको हो । साथै विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक विकास राज खनाल वैशाख ७ गते र विसं २०५१ पुस १५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक डा.देउती गुरूङ पुस १५ गते सेवानिवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०८१-०९-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रतियोगितामा बिजयी हुने गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाण-पत्र, रनिङ शिल्ड र नगद पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले म्याच रेफ्री, प्रायोजकहरू, सहभागी टिमहरू र अफिसियलहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस्ता प्रतियोगिताले खेलकुदको विकासको साथै नयाँ प्रतिभावान् खेलाडीहरूको पहिचान गर्ने अवसरको रूपमा रहेको चर्चा गर्दै यस्ता प्रतियोगिताले समग्र नेपाल प्रहरीको फुटबल खेलको स्तरलाई सुदृढ तुल्याउन ठूलो योगदान पुर्‍याएको बताउनुभयो । आगामी दिनमा नेपाल प्रहरीको फुटबल टिमलाई अझ बढि क्षमतावान्, कुशल, दक्ष र सफल बनाउने तर्फ यथोचित पहल गर्नका लागि नेपाल प्रहरी खेलकुद समितिका पदाधिकारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताहरूमा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण नेपाल प्रहरी संगठन मात्र नभई समग्रमा राष्ट्रकै गरिमामा बढोत्तरी हुनुका साथै प्रहरी र नागरिकबीचको सम्बन्ध समेत सुदृढ भएको उल्लेख गर्नुभयो । प्रहरी संगठनमा अनुशासन, नेतृत्व क्षमता, सहयोगी र सामूहिक भावना, मेहनत र लगनशिलता अनिवार्य शर्तको रूपमा रहेको बताउँदै खेलकुदले सिकाउने यस्ता महत्वपूर्ण गुण र आचारणहरू आत्मसाथ गरी संगठनको बृहत्तर हित र संस्थागत विकासमा योगदान दिन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी तथा फेयर प्ले टिमलाई पुरस्कार प्रदान गर्नुभयो । यसैगरी प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रतियोगिताका उत्कृष्ट फरवार्ड तथा उत्कृष्ट प्रशिक्षकलाई, प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले प्रतियोगिताका उत्कृष्ट मिडफिल्डर तथा उत्कृष्ट डिफेण्डरलाई एवम् प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले र प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजुले द्वितीय हुने टिमका खेलाडी तथा अफिसियलहरूलाई पदक, प्रमाणपत्र, चेक र ट्रफि प्रदान गर्नुभयो । साथै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले प्रतियोगिताका सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट गोलकिपरलाई पुरस्कार एवम् अखिल नेपाल फुटबल संघका महासचिव किरण राईले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्दै संगठन र राष्ट्रको शिर उच्च बनाउन सफल खेलकुदको विकासका लागि नेपाल प्रहरीले पुर्‍याउँदै आएको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । आज भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराको टिमले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको टिमलाई २-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा प्रथम हुने टिमले ३ लाख रूपैयाँ र द्वितीय हुने टिमले १ लाख ५० हजार रूपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । यसैगरी प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी र फेयर प्ले टिमले १५/१५ हजार रूपैयाँ तथा सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट फरवार्ड र उत्कृष्ट प्रशिक्षकले जनही १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका छन् ।प्रतियोगितामा गण्डकी प्रदेश प्रहरी कार्यालयका विवेक गुरूङ सर्वोत्कृष्ट खेलाडी, केशर बराम सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट फरवार्ड, जिवन सिंह ठकुरी उत्कृष्ट गोलकिपर, सन्तोष सुवेदी उत्कृष्ट प्रशिक्षक, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका मनोज बस्नेत उत्कृष्ट मिडफिल्डर तथा धन बहादुर आले उत्कृष्ट डिफेण्डर घोषित भएका थिए भने फेयर प्ले टिमतर्फ कोशी प्रदेश प्रहरी कार्यालयको टिम उत्कृष्ट घोषित भएको थियो ।   पुस ७ गतेबाट शुरू भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका गरी जम्मा १० वटा टिमको सहभागिता रहेको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

सात जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०९-०७

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा २ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ पुस ५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा ५ जना गरी पदोन्नति हुनुभएका जम्मा ७ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरत बहादुर बोहरा तथा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा. राम प्रसाद शर्मा, डा. नविन लागेजु, डा. समृद्धि कार्की, डा. अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहनुभएको छ ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्हद्वारा सुशोभन हुनुभएका प्रहरी अधिकृतहरूले प्रदर्शन गरेको व्यावसायिकता, इमानदारीता र लगनशीलतालाई कायम राख्दै प्राप्त सफलतालाई व्यक्तिगत उपलब्धिसँग मात्र जोडेर नहेरी सांगठनिक विकास र सुदृढिकरणमा समेत महत्वपूर्ण योगदान दिने अवसरका रूपमा मनन गरी पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी आगामी दिनहरूमा अझ बढी सक्रिय हुनुपर्ने उहाँले बताउनुभयो ।   समारोहमा पदोन्नति हुनुभएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक दुर्गा सिंहले नेपाल प्रहरीको साख वृद्धिलाई प्राथमिकतामा राखी नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा अझ बढी जवाफदेहीताका साथ कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता शुरू
२०८१-०९-०७

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिको आयोजनामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा ४२औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता, २०८१ आइतबारबाट शुरू भएको छ ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले रेफ्रीलाई फुटबल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले नेपाल प्रहरीको खेलकुद क्षेत्रलाई गतिशील एवम् सशक्त बनाउन विभिन्न आन्तरिक प्रतियोगिताहरू संचालन गर्दै आइरहेको उल्लेख गर्दै आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको बताउनुभयो । साथै प्रतियोगितामा सहभागी टिमहरूलाई खेल अनुशासन कायम राखि आफ्नो कौशल प्रदर्शन गर्न समेत उहाँले आग्रह गर्नुभयो । कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य एवम् प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।पुस १६ गतेसम्म संचालन हुने उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयका टिमको सहभागिता रहेको छ । 

लैंगिक हिंसा न्यूनीकरण सम्बोधनको लागि बहुआयमिक सहकार्य आवश्यक- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०८-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बहुआयमिक रूप र बहुपक्षीय असर बोकेको लैंगिक हिंसाको सम्बोधन पनि बहुआयमिक सहकार्य र समन्वयबाट मात्रै सम्भव हुने विचार व्यक्त गर्नुभएको छ । साथै यसका लागि रणनीतिक योजना तर्जुमा, सफल अनुसन्धान, पीडित सहायताका लागि समाज एवम् सबै सरोकारवाला निकायबाट प्राप्त निर्देशन, राय सुझाव, सल्लाह तथा सहयोग प्रति उहाँले कृतज्ञता व्यक्त गर्नुभयो । हामी सबैको प्रतिबद्धता: लैंगिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नारा र लैंगिक विभेदमा शून्य सहनशीलता, सुरक्षित समाजका लागि ऐक्यबद्धता भन्ने नेपाल प्रहरीको नारा सहित नेपाल प्रहरी प्रधान कार्यालयमा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा मंगलबार आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयबाट जारी भएको ‘नेपाल प्रहरी लैंगिक नीति २०८१’ को सार्वजनिकिकरण गर्नुभयो । साथै उहाँले लैंगिक हिंसा न्यूनीकरणमा नेपाल प्रहरीबाट भएका प्रयासहरू बारे तयार पारिएको वृत्तचित्र समेत शुभारम्भ गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानको प्रमुख जिम्मेवारी बोकेको नेपाल प्रहरी संगठनले आफ्नो स्थापनाकाल देखिनै लैंगिक हिंसाजन्य घटना नियन्त्रण तथा न्यूनीकरणलाई उच्च प्राथमिकतामा राखेर संवेदनशीलताका साथ सम्बोधन गर्दै आइरहेको बताउनुभयो । लैंगिक हिंसाबाट पीडित र प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुन:स्थापनका साथै लैंगिक हिंसा न्यूनीकरण गर्ने लक्ष्यका साथ नेपाल प्रहरी प्रधान कार्यालयदेखि इलाका स्तर सम्मका कार्यालयहरूमा महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र स्थापना भई सेवा प्रवाह समेत हुँदै आएको उहाँले उल्लेख गर्नुभयो ।   प्रहरी महानिरीक्षक कुँवरले प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थप चुनौती थपेको उल्लेख गर्दै यस्ता किसिमका चुनौतीहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्नका लागि नेपाल प्रहरीका प्रयासहरू केन्द्रीत रहेको बताउनुभयो । लैंगिक हिंसाको न्यूनीकरणको क्षेत्रमा नेपाल प्रहरीसँग समन्वय गर्दै आइरहेका विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय निकाय, संघसंस्थाहरू र सरोकारवाला संस्थाहरूको भूमिकाको उच्च प्रशंसा गर्दै आगामी दिनहरूमा अझ प्रभावकारी समन्वय, सहकार्य र सहयोगमा निरन्तरताको अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसा विरूद्ध हुने जुनसुकै अपराधहरूमा शून्य सहनशीलताको नीति अवलम्बन गरी अनुसन्धान लगायतका सम्पूर्ण प्रकृयाहरू पूरा गर्ने उद्देश्यले आज जारी भएको लैंगिक नीति समयसापेक्ष, परिष्कृत र परिमार्जित स्वरूपमा रहेको जानकारी दिनुभयो । यस नीतिबाट नेपाल प्रहरीका सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई महिला बालबालिका तथा जेष्ठ नागरिक विरूद्ध हुने कुनै पनि प्रकारका हिंसा, विभेदप्रति अत्यन्तै संवेदनशील भई कार्यसम्पादन गर्न र सेवा प्रवाहमा उच्च मनोबलका साथ परिचालित हुन प्रेरित गर्ने विश्वास लिएको उहाँले बताउनुभयो । साथै आगामी दिनमा लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडितको सेवामा कटिवद्ध रहन उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन समेत दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेन्द्र जिसिले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव सम्झना शर्मा, गृहमन्त्रालयका उपसचिव सुरेश राज जोशी, राष्ट्रिय महिला आयोगका उपसचिव सीता अधिकारी, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव अन्जु ढुंगाना र स्वास्थ्य सेवा विभाग, नर्सिङ सामाजिक सुरक्षा महाशाखाका वरिष्ठ कम्युनिटि नर्सिङ प्रशासन अधिकृत कविता अर्यालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव उपरीक्षक रूपा थापाले लैंगिक हिंसाको वर्तमान अवस्था सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

पाँच जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०८-२१

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर २१ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका ५ जना प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरूमा डा. केदार खड्गी, डा. छन्द बहादुर बुढाथोकी, डा. पवन कुमार राय, डा. सुवर्ण कुँवर र श्याम कुमार मण्डल रहनुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको सेवा, कार्यदक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदीय दायित्व र मर्यादा बढ्दै जाने हुँदा पदको मर्यादा र गरिमाको बढोत्तरी हुने गरी सांगठनिक विकास र सुदृढिकरणको क्षेत्रमा उत्कृष्ट जिम्मेवारी निर्वाह हुने अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा रहेका विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै नेपाल प्रहरीले प्रदान गर्ने प्राविधिक सेवालाई थप व्यावसायिक, परिष्कृत, सुदृढ र प्रभावकारी बनाउन पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्नुपर्नेमा जोड दिनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र समुन्नतीको लागि केन्द्रित गरेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप प्रेरित हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. केदार खड्गीले प्राप्त जिम्मेवारीलाई उत्कृष्ट ढंगले निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरबाट वडा प्रहरी कार्यालय वैदामको नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०८-२०

कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा प्रहरी कार्यालय वैदाम कास्की परिसरमा नवनिर्मित कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पोखरा नेपालकै प्रमुख पर्यटकीय स्थल भएको उल्लेख गर्दै विद्यमान सुरक्षा चुनौतीको सामना गर्न एवम् कानूनको कार्यान्वयनमा नेपाल प्रहरीले नागिरकसँग सहकार्य गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी केन्द्रीत हुनुपर्ने बताउँदै शून्य शहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे र अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष बिष्णु बहादुर केसीले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्याम बाबु ओलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड  ६० लाख ३३ हजार २० रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय मनाङमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०८-१९

मनाङ, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मनाङ परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन गर्नुका साथै कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सबैको सद्भाव र सहयोगले निर्माण सम्पन्न भौतिक पूर्वाधारहरूको प्रयोग गरी नेपाल प्रहरीले जनतालाई अहोरात्र सुरक्षाको प्रत्याभुति दिलाउन कटिवद्ध रहेको बताउनुभयो । ग्रामीण भेग र शहरी भेगमा विभेद नगरी सुरक्षा प्रदान गर्न आवश्यक पूर्वाधार विकासका लागि नेपाल प्रहरीले पहल गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो ।गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मनाङ जिल्लाका प्रमुख जिल्ला अधिकारी मातृका आचार्य, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले र जिल्ला समन्वय समितिका प्रमुख चिन घले ले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय मनाङका प्रहरी नायव उपरीक्षक नरेश कुमार सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. ध्रुव अधिकारीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १२ करोड १०  लाख ५४ हजार ३ सय ३१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी शुरू
२०८१-०८-१८

काभ्रेपलाञ्चोक, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने ३०औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०८१ मंगलबारबाट शुरू भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले रेफ्रीलाई बल हस्तान्तरण गरी उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक राईले शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक गतिविधिमा  विद्यार्थीहरूलाई सहभागी गराउनु आजको बद्लिदो युगमा अतिनै आवश्यक भएको चर्चा गर्दै खेलकुदले विद्यार्थीहरूलाई शारीरिक स्वास्थ्यता मात्र प्रदान नगरी वैयक्तिक सृजनशीलता मार्फत उनीहरूको ब्यक्तिगत सीप विकासमा समेत टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । विद्यालयले आफ्नो शैक्षिक तथा अन्य गतिविधिरूलाई चौतर्फी ढंगबाट अगाडि बढाइरहेको उल्लेख गर्दै आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्नका लागि विद्यालय परिवारलाई शुभकामना समेत दिनुभयो ।  सोही विद्यालयका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य, अखिल नेपाल फुटबल संघका उप महासचिव बद्री भट्टराईले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक मिन बहादुर कुँवर क्षेत्रीले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरूले मार्च पास गरेका थिए । प्रतियोगिता अन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपाल पुलिस स्कुल साँगा (रातो) टिमले काठमाडौं युनिभर्सिटी हाईस्कुल धुलिखेललाई ३ का विरूद्ध ० गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका रातो र निलो टिम, नेपाल पुलिस स्कुल धरान, चितवन, दाङ र सामाखुसी, सैनिक आवासीय माध्यामिक विद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६  टिमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न संघसंस्थाका प्रमुखहरू, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरू लगायतको उपस्थिति रहेको थियो ।

आठ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०८-१७

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर १७ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा ध्रुबराज राउत, भोला बहादुर रावल, गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, हिमालय कुमार श्रेष्ठ र डम्बर बहादुर बिक रहनुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । नेपाल प्रहरी संगठनमा आवद्ध रही आफ्नो जिम्मेवारी र भूमिका निर्वाहमा प्रदर्शित कर्तव्यनिष्ठता, कार्यकुशलता, पेशागत दक्षता एवम् इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै आगामी दिनमा समेत उत्कृष्ट ढंगबाट कार्यसम्पादन हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका र कार्यसम्पादनमा उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा गरेको छ, यसमा खरो रूपमा उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।” संगठनलाई समायानुकूल सुदृढीकरण र गतिशीलता प्रदान गर्नका लागि नेतृत्व तहका प्रहरी अधिकृतहरू सदैव चिन्तनशील रहँदै विभिन्न श्रृजनशील प्रयासबाट संगठनको समयसापेक्ष विकास र श्रीवृद्धिमा लाग्नुपर्ने चर्चा गर्दै व्यक्तिगत स्वार्थ भन्दा माथि उठेर गरिएको सत्प्रयासले मात्र सांगठनिक सुदृढीकरण र संगठनको प्राथमिकता, निर्धारित लक्ष्य र उद्देश्य हासिल हुने हुँदा त्यसका लागि सम्पूर्ण नीतिगत तहमा रहेका प्रहरी अधिकृतहरू कटिवद्ध रहन उहाँले निर्देशन समेत दिनुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक ध्रबराज राउतले प्राप्त जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा समर्पित भएर कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

तीन जना प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०८-१२

काठमाडौं, नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्राविधिक प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्राविधक प्रहरी नायव महानिरीक्षकहरूमा डा. दामोदर पौडेल, डा. मनोज कुमार यादव र डा. संजिता दाहाल (घिमिरे) रहनुभएको छ ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान, जिम्मेवारी निर्वाहमा प्रदर्शित पेशागत दक्षता एवम् कार्यकुशलता र इमानदारीताको मूल्याङ्कनको आधारमा पदोन्नति भएको चर्चा गर्दै पदोन्नतिसँगै पदिय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी आगामी दिनमा समेत उत्कृष्ट जिम्मेवारी निर्वाह हुने गरी सक्रिय भूमिकाको अपेक्षा रहेको उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै सपोर्ट समूहले संगठनलाई गतिशीलता प्रदान गर्नुका साथै प्रहरीको काम कारवाही तथा सेवा प्रवाहलाई समेत प्रभावकारी बनाएको उल्लेख  गर्नुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हित र विकासमा केन्द्रित रहेर अझ थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिवद्धता मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. दामोदर पौडेलले प्राप्त जिम्मेवारीलाई वहन गर्दै उत्कृष्ट कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक समीक्षा सम्पन्न
२०८१-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौताको पहिलो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका कार्यमा अझ बढि क्रियाशील भई कार्य गर्नुपर्ने बताउँदै पेन्डिङ मुद्दा फछर्यौट एवम् विभिन्न मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी फैसला कार्यान्वयनतर्फ थप सक्रियाता अपनाई कार्य गर्नुपर्ने एवम् तस्करी नियन्त्रणमा समेत विशेष ध्यान दिई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । प्रहरी संगठनको वृहत्तर हितका लागि नविनतम र रचनात्मक कार्य गर्न सबै प्रहरी कर्मचारीहरू अग्रसर हुन समेत उहाँले अनुरोध गर्नुभयो ।  समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू एवम् प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई मोबाइल फोन हस्तान्तण
२०८१-०८-०९

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयलाई ५१ थान मोबाइल फोन हस्तान्तरण गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले उक्त मोबाइल फोन हस्तान्तरण गर्नुभएको हो ।  हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आज हस्तान्तरण भएका स्रोत साधनहरू डिजिटल चलानको कार्यान्वयनमा अत्यन्तै उपयोगी हुने विश्वास लिएको बताउनुभयो । यस्ता सहकार्य र समन्वयले प्रविधिमैत्री ट्राफिक व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।  कार्यक्रममा ई-सेवाका प्रमुख कार्यकारी अधिकृत जगदिश खड्काले हस्तान्तरण गरिएका मोबाइलबाट नेपाल प्रहरीले आत्मसाथ गरेको नयाँ प्रविधिलाई सहयोग पुग्ने बताउनुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, ई-सेवाका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
२०८१-०७-३०

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई ४ सय ८ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको आयोजनामा होटल गुडविल कनिबहाल ललितपुरमा शुक्रबार आयोजित कार्यक्रम बीच बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनमा सहयोग पुग्ने बताउनुभयो । नागरिकको गुनासोलाई सम्बोधन गरी आगामी दिनमा ट्राफिक प्रहरीको काम कारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो । बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश सभा सदस्य मधु सुदन पौडेल, बागमती प्रदेश सभा सदस्य एवम् पूर्व मन्त्री रामेश्वर श्रेष्ठ र यातायात व्यवस्था विभागका महानिर्देशक राजिव पोखरेल समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका सचिव बलराम निरौलाले स्वागत मन्तव्य तथा मन्त्रालयका भावी योजना बारे जानकारी दिनुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सीमित स्रोत साधनको अधिकतम सदुपयोग गर्दै प्रभावकारी ट्राफिक व्यवस्थापन गर्दै आइरहेको नेपाल प्रहरीलाई आज हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । प्रहरीको एकल प्रयासले मात्र ट्राफिक व्यवस्थापन सम्भव नहुने भएकोले सरोकारवाला निकायको सहयोग र समन्वयले ट्राफिक व्यवस्थापनलाई समयानुकूल आधुनिक र प्रविधिमैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाह गर्न सहजीकरण हुने उहाँले उल्लेख गर्नुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले बताउनुभयो । कार्यक्रममा बागमती प्रदेश सभाका सदस्य एवम् पूर्व मन्त्रीहरू, बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयका पदाधिकारीहरू, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०७-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो ।  संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलालाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राम दत्त जोशी र किरण राणा तथा प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले आफ्नो सेवा अवधिमा गरेका विभिन्न कार्यहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक राम दत्त जोशी कात्तिक १७ गते तथा प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा कात्तिक १५ गते र विसं २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोला कात्तिक १० गते सेवानिवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

इन्टरपोलको ९२औं महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
२०८१-०७-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्यको ग्लास्गोमा सम्पन्न इन्टरपोलको ९२औं महासभामा सहभागी भई आइतबार स्वदेश फर्किनु भएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा कात्तिक १९ देखि २२ गतेसम्म संचालित उक्त महासभामा सहभागी भई प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता हुनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरसँगै उक्त महासभामा सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत स्वदेश फिर्ता हुनु भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो । महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँगको द्विपक्षीय भेटघाटका क्रममा समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल भएको थियो ।महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको विद्यान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, Annual financial report and financial statements 2023, Programme of activities and draft budget for 2025 and indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुन:निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल भई महत्वपूर्ण प्रस्तावहरू पारित समेत भएको थियो ।  महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत भएको थियो । उक्त निर्वाचनमा इन्टरपोलको १९६ सदस्य राष्ट्रहरूको प्रतिनिधिहरू सहभागी भई नेपालले समेत आवश्यक मतदान गरेको थियो । यस महासभाबाट इन्टरपोलको नयाँ महासचिवको रूपमा मित्रराष्ट्र ब्राजिलका Valdecy Urquiza मनोनयन हुनुभएको भनि घोषणा समेत भएको थियो । महासभाले इन्टरपोलको ९३औं महासभा सन् २०२५ मा मित्रराष्ट्र मोरक्कोको माराकेचमा, ९४औं महासभा सन् २०२६ मा मित्रराष्ट्र हङकङ, चीनमा र ९५औं महासभा सन् २०२७ मा मित्रराष्ट्र कतारको दोहामा आयोजना गर्ने निर्णय गरेको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेतृत्वको प्रतिनिधि मण्डल उक्त महासभामा सहभागी हुन कात्तिक १८ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर संयुक्त अधिराज्य बेलायत प्रस्थान
२०८१-०७-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९२औं महासभामा सहभागी हुन आइतबार बिहान संयुक्त अधिराज्य बेलायततर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोल महासचिवालयको आयोजनामा संयुक्त अधिराज्य बेलायतको ग्लास्गोमा कात्तिक १९ देखि २२ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर बेलायततर्फ प्रस्थान गर्नुभएको हो ।National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन सशस्त्र प्रहरी नायव महानिरीक्षक अन्जनी कुमार पोखरेल र इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक कोमल शाह समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक बिदाइ गर्नुभयो ।इन्टरपोलका सबै १९६ सदस्य राष्ट्रहरूका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण नीतिगत विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि मतदानहरूमा भाग लिनेछ । उक्त महासभामा इन्टरपोल र विश्व स्वास्थ्य संगठन (WHO) बीचको सहयोग सम्झौता, आतंकवाद रणनीति र परिचालन, इन्टरपोलको विश्लेषणात्मक क्षमताहरूलाई सुदृढ गर्न एकीकृत रणनीति, बाल यौन दुर्व्यवहार सामग्री प्रकाशित गर्ने वेबसाइटहरूको सूची (IWOL) तथा निजी संस्थाहरू बीचको सहकार्य, digital evidence मा कानूनी पहुँच, इन्टरपोलको संविधान संशोधनको लागि विभिन्न देशहरूबाट पेश गरिएका प्रतिवेदनहरू, annual financial report and financial statements 2023, programme of activities and draft budget for 2025, indications for 2026 and 2027, इन्टरपोलको भवन विस्तार तथा पुनर्निर्माण कार्यक्रम जस्ता विषयहरूमा छलफल तथा महासभामा कार्यकारी समितिको रिक्त पदहरूमा निर्वाचन समेत हुने कार्यक्रम रहेको छ । साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सहभागि हुने प्रतिनिधी मण्डलद्वारा मित्रराष्ट्रहरू चीन, दक्षिण कोरिया, अमेरिका, कतार र यूएईका प्रतिनिधीहरूसँग समसामयिक विषय तथा अन्तर्राष्ट्रिय प्रहरी समन्वयमा थप प्रभावकारी बनाउने लगायतका विषयहरूमा छलफल तथा द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०७-१३

काठमाडौं,  नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ कात्तिक १३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सुन्दर प्रसाद ह्योजु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । राष्ट्र, जनता र संगठन प्रति पुर्‍याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागि परि नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वास योग्य संस्थाको रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतको रूपमा आफ्नो जिम्मेवारीमा खरो रूपमा उत्रिनुहुन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सरूवा, बढुवा लगायत नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम संगत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्ग निर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा संगठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले संगठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न
२०८१-०७-१२

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित आईजिपि रनिङ कप पुरूष भलिबल प्रतियोगिता २०८१ सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा सोमबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टिम गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका खेलाडी तथा अफिसियलहरूलाई रनिङ कप, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले सर्वोत्कृष्ट खेलाडीलाई नगद पुरस्कार, प्रतियोगितामा सहभागी भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरू एवम् प्रतियोगिता संचालनमा सहयोग पुर्‍याउने महानुभावहरूलाई प्रशंसापत्र तथा मायाको चिनो समेत प्रदान गर्नुभयो । कार्यक्रमको सुरूमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई ३-१ को सेटले पराजित गरी गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा निकाय जस्तो शारीरिक तथा मानसिक रूपमा तन्दुरूस्त रहनुपर्ने क्षेत्रमा खेलकुदको ठूलो महत्व हुने चर्चा गर्दै विगत देखि नै निरन्तर रूपमा आयोजना हुँदै आएको यस प्रतियोगिताले नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढ तुल्याउनुको साथै खेलाडीहरूको पहिचान तथा खेलको विकास र प्रवर्द्धनमा समेत ठूलो योगदान पुर्‍याएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले खेलकुदका विभिन्न विद्यामा प्राप्त गरेको ख्याती तथा नेपाल प्रहरीका खेलाडीहरूले राष्ट्रको प्रतिनिधित्व गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका विभिन्न प्रतियोगिताहरूमा सहभागीता जनाई हासिल गरेको सफलता प्रशंसनीय रहेको बताउनुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आवद्ध खेलाडीहरूको सहभागीता र योगदानका कारण खेलकुद, नेपाल प्रहरी संगठन र नागरिक बिचको सम्बन्ध सुदृढ भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रको श्रीवृद्धिका अवसरहरू श्रृजना भइरहने  अपेक्षा रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरीमा खेलकुदको विकास, प्रवर्द्धन र खेलाडीहरूको मनोबलको लागि संगठन सदैव सकारात्मक रहेको समेत उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतियोगितामा द्वितीय हुने लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टिमका खेलाडी तथा अफिसियलहरूलाई ट्रफि, मेडल, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।कार्यक्रममा राष्ट्रिय भलिबल टिमका मुख्य प्रशिक्षक जगदिश भट्टले प्रतियोगिताका उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकलाई पुरस्कार प्रदान गर्नुभयो ।प्रतिष्ठानका कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा खेलकुद कार्यक्रम व्यवस्थापन उप-समितिका संयोजक प्रहरी वरिष्ठ उपरीक्षक ओम प्रसाद अधिकारीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई क्रमश: नगद १ लाख १ हजार रूपैयाँ र ५१ हजार रुपैयाँ एवम् ट्रफि, मेडल, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रूपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रूपैयाँ प्रदान गरिएको थियो । कात्तिक ७ गतेदेखि शुरू भएको उक्त प्रतियोगितामा १० टिमको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवन उद्‌घाटन
२०८१-०७-०८

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी शिक्षालय भरतपुरको नवनिर्मित प्रशासनिक भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण तथा कार्यलय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी जनशक्तिलाई अपराध नियन्त्रण, अनुसन्धान र शान्ति सुव्यवस्था कायम राख्न सक्षम बनाउने थलो तालिम केन्द्र भएको चर्चा गर्दै तालिम केन्द्र प्रहरीको एउटा एकाई मात्र नभई कानूनको निष्पक्ष कार्यान्वयनको लागि निर्भिक, निष्पक्ष, कर्मठ, इमानदार र व्यावसायिक प्रहरी जनशक्तिको उत्पादन गर्ने पवित्र स्थल भएको बताउनुभयो । प्रशिक्षणस्थलमा उपलव्ध भौतिक पूर्वाधारहरूले प्रशिक्षण गतिविधिलाई प्रत्यक्ष असर पार्ने हुनाले यो भवनको उद्‌घाटन सँगै प्रशिक्षणमा संलग्न प्रशिक्षक र प्रशिक्षार्थीहरू लाभान्वित भई तालिमको स्तर र प्रभावकारितामा गुणात्मक वृद्धि आउने अपेक्षा लिएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले परम्परागत प्रशिक्षण प्रणालीलाई निरन्तरता दिई आधुनिकतासँग भित्रिएका नयाँ प्रसंग र परिवेशलाई सम्बोधन गर्दै आधुनिक प्रशिक्षण प्रणालीलाई आत्मसाथ गर्नु आजको आवश्यकता रहेको उल्लेख गर्दै समयानुकूल पाठ्यक्रमको निर्माण र तदनुरूप प्रशिक्षण प्रणालीको विकाशमा केन्द्रित हुन जरूरी रहेको बताउनुभयो । हाम्रो परिवेश, अपराधको प्रवृत्ति र प्रविधिको विकासको अपरिहार्यतालाई मध्यनजर गर्दै यस शिक्षालयले आफ्नो प्रशिक्षण पद्दतिलाई समयानुकूल परिवर्तन सँगसँगै भविष्यमा आउन सक्ने चुनौतिलाई दृष्टिगत गरी चुनौतिको सामना गर्न सक्ने प्रहरी जनशक्तिको निर्माण गर्न सक्षम बनाउने तालिम कार्यक्रमको विकास गर्न प्रशिक्षक वर्गलाई उहाँले निर्देशन दिनुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा, भौतिक पूर्वाधार शाखाका प्रहरी नायव उपरीक्षक ई. शम्भु प्रसाद कोईरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।नेपाल सरकारको नियमित बजेटबाट कुल ५ करोड १५ लाख ५२ हजार ३ सय ३३ रूपैयाँ १५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा भरतपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेल,  प्रहरी नायव महानिरीक्षकहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय तहका प्रतिनिधिहरू, जिल्लास्थित विभिन्न संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरी परिवार संघका पदाधिकारीहरू, समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरबाट नेपाल पुलिस स्कुल चितवनको नवनिर्मित छात्रावास भवन उद्‌घाटन
२०८१-०७-०८

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनको नवनिर्मित छात्रावास भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनको निरीक्षण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्कुलले स्थापनाको छोटो समयमा शैक्षिक क्षेत्रको विकास र विस्तारमा महत्वपूर्ण योगदान गरेको चर्चा गर्दै यस नवनिर्मित भवनले स्कुलको शैक्षिक गतिविधि अझ प्रभावकारी र व्यवस्थित हुने अपेक्षा लिएको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी स्कुलप्रतिको अभिभावकको विश्वासलाई कायमै राखी आगामी दिनहरूमा संख्यात्मक तथा गुणात्मक आकार वृद्धिमा केन्द्रित रहन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र विद्यालय परिवारलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरू र सर्वसाधारणहरूका सन्ततिलाई उत्कृष्ट शिक्षा प्रदान गरी सक्षम नागरिक बनाउने जिम्मेवारीमा खरो रूपमा उत्रन विद्यालय व्यवस्थापन पक्षलाई समेत उहाँले निर्देशन दिनुभयो । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक कृष्णहरि शर्माले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवास चन्द्र आचार्य, साविक राष्ट्रिय आधारभूत विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष धर्मनाथ न्यौपाने र अभिभावकको तर्फबाट हरिशचन्द्र दाहालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल पुलिस स्कुल शान्तिपुर चितवनका प्राचार्य मुकुन्द कुमार गिरीले शैक्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न नृत्यु प्रस्तुत गरेका थिए । प्रहरी कल्याण कोषको ऋण सहयोगमा विद्यालयको आन्तरिक स्रोतबाट कुल ७ करोड ६५ लाख ८५ हजार ७ सय रूपैयाँ ९५ पैंसाको लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी, प्रहरी नायव महानिरीक्षहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी संगठनको छवि उच्च राख्दै नागरिकको सेवामा तल्लीन हुनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०७-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको छविलाई उच्च राख्दै व्यावसायिक एवम् निष्ठावान भई नागरिकको सेवामा सबै प्रहरी कर्मचारीहरू तल्लीन हुन निर्देशन दिनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले आफ्नो क्षेत्रमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै आपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी आवश्यक सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुन निर्देशन दिनुभयो । आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माणका साथै सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने बताउँदै विस्फोटक पदार्थ ओसारपसार नियन्त्रण लगायत अन्य आपराधिक क्रियाकलाप न्यूनिकरणमा समेत क्रियाशील हुन निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थलाई त्यागेर आफ्नो कर्तव्यमा आधारित भई उत्कृष्ट रूपमा कार्य गर्नुपर्ने चर्चा गर्दै हिरासत व्यवस्थापनमा समेत थप संवेदनशील भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता सुरू
२०८१-०७-०७

काठमाडौं, आई.जि.पि. रनिङ्ग कप पुरूष भलिबल प्रतियोगिता २०८१ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा सुरु भएको छ ।नेपाल प्रहरी खेलकूद समितिका सदस्य सचिव तथा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले प्रतिष्ठानमा बुधबार आयोजित एक कार्यक्रमका बीच उक्त प्रतियोगिताको उद्‍घाटन गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक गिरीले शान्ति सुरक्षा अमन चयन कायम राख्ने, अपराध नियन्त्रण र अनुसन्धान गर्ने जस्तो गहन जिम्मेवारी बोकेको नेपाल प्रहरीले खेलकुद क्षेत्रलाई समेत उच्च प्राथमिकतामा राखेको बताउनुभयो । राष्ट्रिय खेलकुद क्षेत्रको उल्लेख्य हिस्सा ओगटेको नेपाल प्रहरीको खेलकुद इतिहास गर्व गर्न लायक रहेको बताउँदै नेपाल प्रहरीका खेलाडीले प्राप्त गरेको सफलताले राष्ट्र र संगठनको शिर उच्च बनाएको उहाँले उल्लेख गर्नुभयो । आगामी दिनमा खेलकुद प्रतियोगिताहरूलाई अझै प्रभावकारी बनाउन तथा नयाँ प्रतियोगिताहरू संचालन सहितको योजना तयार गर्ने प्रयास भइरहेको समेत उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले प्रतियोगिता सम्बन्धी संक्षिप्त जानकारी दिनुभएको थियो । प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र ७ वटै प्रदेश प्रहरी कार्यालयका गरी १० टिमको सहभागिता रहेको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट प्रहरी निरीक्षक आधारभूत तालिम उद्‍घाटन
२०८१-०७-०५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा संचालित ‘Post Graduate Diploma In Police Sciences (PGDPS)’ कार्यक्रम समावेश भएको प्रहरी निरीक्षक आधारभूत तालिम १-१८३औं समूह (PGDPS १४औं ब्याच) को सोही प्रतिष्ठानमा सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।  उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेश र परिवर्तनलाई आत्मसाथ गर्दै नेपाल प्रहरी संगठनको आधुनिकीकरण एवम् सुदृढिकरणका लागि सांगठनिक आवश्यकतालाई सम्बोधन गर्न सक्षम नेतृत्व तयार गर्न तथा राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत प्रतिस्पर्धा गर्न सक्ने योग्य र सक्षम जनशक्ति उत्पादन र विकास गर्नको लागि यो कोर्स सहयोगशिद्ध हुने उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी राज्यको एक मात्र दुरदराजसम्म फैलिएको आम नागरिकको सेवामा चौबिसै घण्टा परिचालित हुने, असाह्य, पीडित र अन्यायमा परेका हरेक नागरिकको आड र भरोसाको केन्द्र रहेको चर्चा गर्दै यस्तो संगठनमा आवद्ध भएर प्राप्त हुने कर्म र धर्मको समिश्रणको सौभाग्य धेरै कमलाई मात्र प्राप्त हुने भएकोले देश र नागरिकको सेवामा समर्पित नेपाल प्रहरी जस्तो ऐतिहासिक एवम् गरिमामय संगठनमा प्रशिक्षार्थिहरूलाई स्वगत समेत गर्नुभयो ।  भविष्यको मार्गचित्र आधारभूत तालिमका दौरानमा नै तयार हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘नेपाल प्रहरीको अधिकृत हुनुमा जति गर्व जोडिएको छ, यो सँगै जोडिएर आउने चुनौतिहरूको दायरा पनि त्यतिकै बृहत्तर छन् । प्रहरी सेवा केवल जागिर मात्र नभई एउट जीवनशैली पनि हो । यो सेवामा हामीलाई हरदम उच्च व्यावसायिकता, पवित्र निष्ठा, अदम्य साहस र अविचलित समर्पण भावको आवश्यकता रहन्छ । एक सक्षम नागरिकबाट एक कुशल प्रहरी अधिकृतका रूपमा रूपान्तरण हुन आवश्यक पर्ने सैदान्तिक र व्यवहारिक ज्ञान आर्जन पश्चात मात्र सम्भव हुने हुँदा हरेक प्रहरी अधिकृतहरूलाई आधारभूत तालिमको विशेष महत्व हुने गर्दछ ।’ कार्यक्षेत्रमा अप्रत्याशित परिस्थितहरूको विच हर क्षण कार्यकुशलता, क्षमता र दक्षताको प्रदर्शन गर्दै आफ्नो कार्य क्षेत्रमा आई पर्ने विभिन्न चुनौतिहरूको सामना गर्दै एक कुशल कमाण्डरको भूमिका निर्वाह गर्न तालिममा सिकेका सीप ज्ञान र कौशलले कर्तव्यपथमा निरन्तर निर्देशित गर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले बद्लिदो परिवेशमा प्रहरीको चुनौति, जिम्मेवारी, अवसर र दायित्व फराकिलो बन्दै गएको उल्लेख गर्दै संगठित अपराधको वृद्धि एवम् प्रगतिशिल विज्ञान र प्रविधिले उब्जाएका नविनतम् चुनौतिहरूको सामना गर्न अन्तर्राष्ट्रिय जगतमै विगतको दशकमा पुलिसिङमा धेरै परिवर्तन एवम् विकास भएको र सोही अनुरूप विगत र वर्तमानलाई मात्र नभई भविष्यमा समेत सक्षम र दक्ष ठहरिने गरी प्रशिक्षण कार्यक्रमहरू संचालन हुन आवश्यक रहेको बताउनुभयो । कठिन परिश्रम र अथक लगावबाट मात्र सफलता प्राप्त हुने भन्ने कुरा प्रशिक्षणले सिकाउँदै लैजाने चर्चा गर्दै उहाँले प्रशिक्षण अवधिभर उच्च अनुशासन, कडा मेहनत, लगनशिलता र व्यावसायिक निष्ठाका साथ हरेक प्रशिक्षण क्रियाकलापहरूमा सहभागी भई सफलतापूर्वक तालिम सम्पन्न गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी निस्वार्थ रूपमा सेवा प्रदान गर्ने संगठन भएको चर्चा गर्दै व्यवहार एवम् आफ्नो चरित्रलाई अझै राम्रो बनाउँदै आफ्नो कमि कमजोरीलाई आफैले औल्याउँदै सुधार गर्न प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।  सोही प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक रामेश्वर पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै तालिम सम्बन्धी जानकारी दिनुभएको थियो । उक्त तालिममा खुल्ला प्रतिस्पर्धाबाट उत्तीर्ण विभागीयतर्फका प्रहरी निरीक्षक ६५ जना र खुल्लातर्फबाट नवनियुक्त प्रहरी निरीक्षक ३० जना गरी कूल ९५ जना प्रशिक्षार्थी प्रहरी निरीक्षकहरूको सहभागिता रहेको छ । PGDPS सम्बन्धि वृत्तचित्र समेत प्रदर्शन गरिएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका सहायक डीन, PGDPS कार्यक्रमका सल्लाहकार, प्रहरी नायब महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन
२०८१-०६-३०

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रम बिच केन्द्रीय प्रहरी परिचालन कक्षको उद्‍घाटन गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय प्रहरी परिचालन कक्षलाई समय सापेक्ष थप सुधार गरी कार्य सम्पादनमा सहजता ल्याउन विभिन्न डेस्कको स्थापना सँगै नयाँ संरचनामा संचालन गर्ने गरी ६९औं प्रहरी दिवसको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त परिचालन कक्षको उद्‍घाटन गर्नुभएको हो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी, सूचना प्रविधि निर्देशनालयका प्रहरी नायव महानिरीक्षक अरूण कुमार भण्डारी, प्रबन्ध निर्देशनालयका प्रहरी नायव महानिरीक्षक केदार ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट सम्मानपत्र, कदरपत्र तथा पुरस्कार वितरण
२०८१-०६-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ६९औं प्रहरी दिवस २०८१ का अवसरमा मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरु, प्रहरीलाई सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई सम्मानपत्र, कदरपत्र तथा पुरस्कार प्रदान गर्नुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले अवकाश पश्चात आफ्नो अनुभव सहितको रचनात्मक सुझावद्वारा समाजमा शान्ति सुरक्षा कायम राख्न पूर्व प्रहरी तथा सचेत नागरिकको भूमिकामा क्रियाशील रहनुभएका अवकाश प्राप्त प्रहरी उपरीक्षक चिन्त बहादुर बस्नेतलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले यस वर्षको नेपाल प्रहरी कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ मा प्रदेश प्रहरी कार्यालयहरूमध्ये उत्कृष्ट व्यवस्थापक विधातर्फ सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव महानिरीक्षक रविन्द्र केसी र उत्कृष्ट सिर्जनशील कार्यतर्फ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अन्तर प्रदेश कार्यदक्षता मूल्याङ्कन (पुलिस व्याटन) २०८१ अन्तर्गत आ-आफ्नो विधामा उत्कृष्ट कार्य गर्ने नेपाल प्रहरी प्रदेश कार्यालय पोखराका प्रहरी वरिष्ठ उपरीक्षक ध्रुव राज राउत, प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका प्रहरी वरिष्ठ उपरीक्षक अवि नारायण काफ्ले, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक अपिल राज बोहरा, काठमाडौं उपत्यका विशेष सुरक्षा गणका प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, प्रदेश प्रहरी गण पोखराका प्रहरी उपरीक्षक अनन्त राम शर्मा, जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक नरेन्द्र चन्द, इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी नायव उपरीक्षक धर्म राज भण्डारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक शोभा पाण्डे, नेपाल प्रहरी विद्यालय सुर्खेतका प्रहरी निरीक्षक चक्र बहादुर डम्बर पाल, इलाका प्रहरी कार्यालय बेलौरी कञ्चनपुरका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी, प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक नबिन चुदाली, प्रहरी चौकी सत्ती कैलालीका प्रहरी वरिष्ठ नायव निरीक्षक टेक बहादुर चन्द, नेपाल प्रहरी विशेष सुरक्षा गण कञ्चनपुरका प्रहरी नायव निरीक्षक जोख बहादुर बिक, प्रहरी चौकी चैनपुर चितवनका प्रहरी सहायक निरीक्षक गोबिन्द बहादुर महतो, प्रदेश प्रहरी गण हेटौंडाका प्रहरी हवल्दार पारेश्वर भण्डारी र प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका प्रहरी जवान ध्रुवनाथ चौवेलाई प्रशंसापत्र एवम् पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट अनुसन्धानकर्ताको विभिन्न विधातर्फ प्रहरी उपरीक्षक संजय सिंह थापा, प्रहरी नायव उपरीक्षक इश्वर थापा, प्रहरी वरिष्ठ नायव निरीक्षक ऋषिकेश सुवेदी, प्रहरी नायव निरीक्षक जीवन कुमार कार्की र प्रहरी नायव निरीक्षक सुवाष यादवलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापनतर्फ प्रहरी नायव उपरीक्षक यम कुमार श्रेष्ठ, उच्च व्यावसायिक आचरणतर्फ प्रहरी नायव उपरीक्षक पुरूषोत्तम खड्का, उत्कृष्ट ट्राफिक प्रहरीतर्फ प्रहरी निरीक्षक जितेश दाहाल, उत्कृष्ट सामुदायिक प्रहरीतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक विजय महतलाई प्रशंसापत्र प्रदान गर्नुभयो । यसैगरी उहाँले महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रतर्फ उत्कृष्ट कार्य गर्ने प्रहरी नायव निरीक्षक संगिता रसैली, प्रहरी सहायक निरीक्षक पविता थापा, प्रहरी सहायक निरीक्षक सजिना चौगुठी, प्रहरी जवान जानकी अधिकारी र प्रहरी जवान दुरा कार्कीलाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट विपद व्यवस्थापनको कार्य गर्ने प्रहरी निरीक्षक शत्रुधन कुमार महतो, प्रहरी हवल्दार दिपक सिंह, प्रहरी सहायक हवल्दार सुमन रायमाझी, प्रहरी जवान दिपक भण्डारी, प्रहरी जवान मिलन लामिछाने, उत्कृष्ट आन्तरिक प्रशिक्षकतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षक सुमन थापा, उत्कृष्ट बाह्य प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक युवराज बस्नेत र प्रहरी जवान बिमला चौधरी, सपोर्ट समूह प्राविधिकतर्फका प्रहरी वरिष्ठ नायव निरीक्षक राज कुमार श्रेष्ठ, प्रहरी वरिष्ठ नायव निरीक्षक सन्तोष लामा, प्रहरी नायव निरीक्षक महादेव भट्ट, प्रहरी हवल्दार डोलराज ढकाल, उत्कृष्ट खेलाडी प्रशिक्षकतर्फ प्रहरी सहायक निरीक्षक रूपेश कुमार बिष्टलाई सम्मानपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । साथै नेपाल प्रहरी स्मारक गुठिका ७ जना आजीवन सदस्यहरूलाई उहाँले कदरपत्र प्रदान गर्नुभयो ।    यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी सम्बन्धी उत्कृष्ट लेख रचनातर्फ साहित्यकार गंगा कर्माचार्य पौडेल र प्रहरी वरिष्ठ नायव निरीक्षक सरस्वस्ती बुढाथोकीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले नेपाल प्रहरी विद्यालयका उत्कृष्ट शिक्षकतर्फ नेपाल प्रहरी विद्यालय साँगा काभ्रेका शिक्षक हरिहर तिमिल्सिना, ६९औं प्रहरी दिवस २०८१ का अवसरमा सर्वोत्कृष्ट प्रहरी नारा ‘साइबर सुरक्षाबारे फैलाउँदै सचेतना सन्देश, जुटौं निर्माण गर्न सुन्दर सामाजिक परिवेश’ र अपराध नियन्त्रण सम्बन्धी नारा ‘अपराध रोक्ने संकल्प, प्रमाणमुखी अनुसन्धान, स्वच्छ समाज निर्माण, नेपाल प्रहरीको अनुष्ठान’ परिकल्पना गर्नुहुने काठमाडौं टोखाका घन बहादुर थापा, उत्कृष्ट प्रहरी नारातर्फ काठमाडौं गुहेश्वरीका रबिन दोङ, भक्तपुर सूर्यबिनायकका इश्वर केसी, शुसिला थापा र नेपाल प्रहरीतर्फ प्रहरी निरीक्षक किरण सापकोटालाई कदरपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो । यसैगरी उहाँले ६९औं प्रहरी दिवस २०८१ को अवसरमा आयोजित वृत्तचित्र प्रतियोगितामा विजयी हुने ललितपुर टिकाथलीका गणेश देवकोटा, काठमाडौं कागेश्वरी मनोहरा नगरपालिकाका मनोरम केसी, काठमाडौं बौद्धका रविन तामाङ, उत्कृष्ट लेखरचना निबन्धतर्फ विजयी हुने निष्ट मावि बनेपा काभ्रेकी चन्द्रिका थापा मगर, पाँचखाल भ्याली स्कूल काभ्रेकी क्रिती लामिछाने, युरेका आवासिय मावि धरानका ईशान क्षेत्रीलाई प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गर्नुभयो ।   यसैगरी प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीलाई शान्ति सुरक्षा र अपराध अनुसन्धानमा सहयोग पुर्‍याउने काठमाडौं नरेफाँटका सार्किमान बल, पदम कुमार रेग्मी, सुनसरीका प्रदिप कुमार सन्थलीया, रोयल कन्स्ट्रक्सन धनगढी कैलालीका प्रकाश बहादुर सेटी, इम्प्रेसन एण्ड क्रिएटिभ डिजाईन ज्वागल ललितपुरका विवेक श्रेष्ठ, राजु ढुङ्गेल, कलाकारतर्फ झापाका दिवाकर घिमिरे, सुनसरीकी सुनिशा बजगाँईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने संखुवासभाका बिमला लिम्बु, लमजुङका रामजी चिलुवाल, रूकुम पूर्वका दिनेश किशोर पुन, बिनसरा पुन, मणिभक्त पुन, मिन बहादुर घर्ति र रूपन्देहीका शैलेन्द्र कुमार चौधरीलाई कदरपत्र प्रदान गर्नुभयो । साथै नेपाल प्रहरीलाई नि:शुल्क जग्गा प्रदान गर्नुहुने अन्य ४६ जनालाई सम्बन्धित प्रदेश प्रहरी कार्यालयहरूबाट कदरपत्र प्रदान गरिने छ ।  पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई निःस्वार्थ सहयोग पुर्‍याउनु भई सम्मानित हुनु भएका महानुभावहरू, पुरस्कार विजेता विद्यार्थीहरू, प्रहरी दिवसका अवसरमा आयोजित विविध विधामा पुरस्कृत हुनुभएका एवं सर्वोत्कृष्ट कार्य सम्पादन गरी पुरस्कृत हुनुभएका प्रहरी कर्मचारीहरूमा हार्दिक बधाई ज्ञापन गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनप्रति आम नागरिकको विश्वास प्रहरी संगठनको लागि ऊर्जा र शक्तिको स्रोत भएको चर्चा गर्दै जनविश्वास अनुरूप कार्यसम्पादन गर्न अझ बढी सक्षम, जवाफदेही र व्यावसायिक हुनुपर्ने बताउनुभयो । पदीय जिम्मेवारी निर्वाहका क्रममा उच्च व्यावसायिकता प्रदर्शन गरी उत्कृष्ट कार्य सम्पादन गर्नुभएका प्रहरी अधिकृत तथा जवानहरूले देखाउनुभएको जिम्मेवारीबोध, व्यावसायिक निष्ठा र कुशलताबाट अन्य प्रहरी कर्मचारीहरूलाई समेत प्रेरणा मिल्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८१-०६-२५

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा शुक्रबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतिकका रूपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।    

प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिमको दीक्षान्त समारोह सम्पन्न
२०८१-०६-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा मंगलबार आयोजित समारोह बीच सोही प्रतिष्ठानमा संचालित प्रहरी अधिकृत (प्राविधिक) आधारभूत तालिम ३२औं समूहको दीक्षान्त समारोह सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सर्वप्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. अरूण जोशी, सर्वद्वितीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. संजिब खड्का, सर्वतृतीय प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. बिनिता बस्नेत, अध्ययन प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. मृगेन्द्र कुमार सिंह यादव, कवाज एवम् शारीरिक व्यायाम प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विजय सुनार, चाँदमारी प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी निरीक्षक डा. विशाल थापा र प्रहरी कारबाही तथा युक्ति प्रथम प्रशिक्षार्थी प्राविधिक प्रहरी नायव निरीक्षक आर्किटेक्ट बरूण सहनीलाई पुरस्कार एवम् प्रमाणपत्र प्रदान गर्नुभयो । साथै उहाँले तालिम सम्बन्धी गतिबिधि समेटिएको पुस्तक ‘संकल्प’ को विमोचन समेत गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा अमन चयन कायम गर्ने तथा अपराध रोकथाम एवम् अनुसन्धान गर्न नेपाल प्रहरी राज्यको एक मात्र निकायको रूपमा रहेको चर्चा गर्दै विपद् व्यवस्थापन लगायत अन्य संवेदनशील र जटिलपूर्ण अवस्थामा समेत अग्रपंक्तिमा रहेर आम नागरिकमा सेवा प्रवाह गर्ने महत्वपूर्ण सुरक्षा निकायमा आवद्ध भई निर्दिशष्ट जिम्मेवारी वहन गर्न पाउनु आफैमा गौरवको विषय भएको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको संस्थागत विकास, सुदृढिकरण र सेवा प्रवाहामा जनपद सेवा समूह जतिनै प्राविधिक समूहको पनि ठूलो योगदान रहेको बताउँदै सपोर्ट युनिटहरूको योगदानले नै अपराध अनुसन्धान तथा नियन्त्रण, शान्ति सुरक्षा अमन चयन कायम गर्ने, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायत विभिन्न सेवा प्रवाहमा अतुलनिय सहयोग पुगेको बताउनुभयो । प्रहरी सेवा अन्य सेवा भन्दा ज्यादै पृथिक र विशिष्ट रहेको चर्चा गर्दै उहाँले यस सेवामा सदैव व्यावसायिक, निष्ठा, इमानदारिता अथक प्रयास, साहस र समर्पण भावको आवश्यकता रहने र यीनै गुणहरूले नै जस्तो सुकै कठिन परिस्थितिमा पनि आफूलाई समर्पित हुन हौसला प्रदान गर्ने बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणको समापन सँगै राष्ट्र र नागरिकको सेवामा प्रतिवद्ध भएर लागिपर्ने नयाँ यात्राको शुरूवात भएको उल्लेख गर्दै तालिमको दौरान प्राप्त भएको आन्तरिक र बाह्य प्रशिक्षणले प्रशिक्षार्थीहरूलाई सबल र सक्षम जनशक्तिको रूपमा परिणत गराउँदै आगामी दिनमा कार्यक्षेत्रमा देखापर्ने नविनतम् चुनौतिहरूको पहिचान र निस्तेज गर्नमा समेत सहयोग शिद्ध हुने अपेक्षा लिएको बताउनुभयो । तालिमबाट आर्जन गरेको ज्ञान, सीप र कौशललाई सम्पूर्ण अधिकृतहरूले आगामी दिनमा उर्जाशिल भई रचनात्मक ढंगले राष्ट्र र नागरिकको सेवामा समर्पित भई उत्कृष्ट कार्यसम्पादन गर्न समेत उहाँले निर्देशन दिनुभयो ।   उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै उहाँले शब्दोच्चारणद्वारा प्रशिक्षार्थीहरूलाई सपथ ग्रहण समेत गराउनु भएको थियो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाइले स्वागत मन्तव्य तथा तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै गत जेठ २९ गतेबाट संचालित ९५ दिन कार्यावधिको उक्त तालिममा प्राविधिक प्रहरी निरीक्षक २७ जना, प्राविधिक प्रहरी नायव निरीक्षक ११ जना र प्राविधिक प्रहरी सहायक निरीक्षक १ जना गरी कुल ३९ जना प्रशिक्षार्थीहरूले सफतलापूर्वक तालिम सम्पन्न गरेको जानकारी दिनुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै प्रशिक्षार्थीहरूका अभिभावकहरू तथा अन्य आमन्त्रित महानुभावहरूको उपस्थिति रहेको थियो । 

डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई स्मार्ट फोन हस्तान्तरण
२०८१-०६-१८

काठमाडौं, डिजिटल सवारी चालक अनुमती पत्रको नियमनको लागि ट्राफिक प्रहरीलाई १ सय ४ थान स्मार्ट फोन हस्तान्तरण गरिएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा शुक्रबार आयोजित कार्यक्रम बीच भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेम भक्त महर्जनले संयुक्त रूपमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई उक्त स्मार्ट फोन हस्तान्तरण गर्नुभएको हो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले हस्तान्तरण गरिएका स्मार्ट फोनबाट प्रभावकारी यातायात व्यवस्थापनका लागि मन्त्रालय र नेपाल प्रहरी बीच नीतिगत मात्र नभएर प्रत्यक्ष सहकार्यको शुभारम्भ भएको उल्लेख गर्नुभयो । आगामी दिनमा ट्राफिक प्रहरीको कामकारवाहीलाई थप प्रभावकारी बनाउँदै लैजान आवश्यक समन्वय गर्दै जाने उहाँले बताउनुभयो ।  कार्यक्रममा बागमती प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जन र बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डे समेतले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीलाई समयानुकूल आधुनिक र प्रविधि मैत्री बनाउँदै पारदर्शी, परिष्कृत र परिमार्जित सेवा प्रवाहमा सहजीकरण र सरलीकृत होस भन्ने उद्देश्यका साथ ट्राफिक प्रहरी कार्यालयलाई हस्तान्तरण भएका स्रोत साधनहरू अत्यन्तै उपयोगी सिद्ध हुने विश्वास लिएको बताउनुभयो । समग्रमा ट्राफिक प्रहरी कर्मचारीहरूको समेत क्षमता विकास तथा सेवा प्रवाहको प्रभावकारितामा वृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा लिएको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका जनसम्पर्क सल्लाहकार तथा सूचना प्रविधि विज्ञ, उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख, लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलको बिदाइ
२०८१-०६-१४

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै निमित्त प्रहरी महानिरीक्षक राईले सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेलले संगठनबाट सुम्पिएको जिम्मेवारी इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै उहाँले अवकाश पछिको व्यावसायिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत व्यक्त गर्नुभयो ।सो अवसरमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले सेवानिवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक यज्ञ विनोद पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुनु भएका प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५२ कात्तिक २७ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी नायव महानिरीक्षक पोखरेल असोज १४ गतेबाट सेवा निवृत्त हुनु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

सेवाग्राहीको समस्यालाई सम्बोधन गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०९

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी कार्यालयमा आउने सेवाग्राहीको समस्यालाई तत्काल सम्बोधन गर्दै उत्कृष्ट ढंगले आ-आफ्नो जिम्मेवारी वहन गर्न निर्देशन दिनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । नागरिकको भरोसा जित्ने गरी कार्य गर्नुपर्ने बताउँदै निष्ठावान, इमानदार एवम् सिर्जनशील भई काम गर्न उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी र नेपाल प्रहरी केन्द्रीय प्रहरी सह-प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राई
२०८१-०६-०८

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाई कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक सुरक्षा संवेदनशीलताका विषयमा मंगलबार ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक राईले आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै त्यस्ता गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी प्रभावकारी प्रहरी परिचालन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको समयमा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित चेतनामूलक कार्यक्रमहरू संचालन गर्न एवम् आ-आफ्नो क्षेत्रमा तस्करी नियन्त्रणको लागि थप सक्रिय भई कार्य गर्न उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण एवम् प्रभावकारी सुरक्षा व्यवस्थाको लागि गर्नुपर्ने कार्य लगायत समसामयिक विषयमा निर्देशन दिनुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर ग्रीस प्रस्थान
२०८१-०६-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर सोमबार मित्रराष्ट्र ग्रीस प्रस्थान गर्नुभएको छ । मित्रराष्ट्र ग्रीसको एथेन्समा U.S Drug Enforcement Administration को आयोजनामा असोज ८ गतेदेखि १० गतेसम्म सञ्चालन हुने ३८औं International Drug Enforcement Conference मा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो । कन्फरेन्समा प्रहरी वरिष्ठ उपरीक्षक दिनेश कुमार आचार्य समेत सहभागी हुनु हुनेछ ।  उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ । 

भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०५-३१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आसन्न चाडपर्वहरूको समयमा कुनै पनि आपराधिक क्रियाकलापका घटनाहरू हुन नदिन प्रभावकारी सुरक्षा व्यवस्था मिलाउनु पर्ने उल्लेख गर्दै अपराधिक गतिविधिको सूचना संकलन तथा विश्लेषण गरी भरपर्दो सुरक्षा रणनीति एवम् प्रभावकारी प्रहरी परिचालनमा कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरू, प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी विशेष सुरक्षा गण तथा प्रदेश प्रहरी गणहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो जिम्मेवार क्षेत्रहरूमा सुरक्षा व्यवस्थापनको निम्ति आवश्यक सुरक्षा योजना निर्माण, जनशक्तिको तयारी, श्रोत साधन, असबाबहरूको तयारी, अन्य सुरक्षा निकायहरूसँग समन्वय र सहकार्य गरी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । विशेष गरी चाडपर्वको अवसरमा सवारी दुर्घटना जस्तो दुःखदायी घटना हुन नदिन ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणको लागि सरोकारवाला सबै पक्षहरूसँग समन्वय र सहकार्य गरी चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरण कार्ययोजना निर्माण गरी अनिवार्य रूपमा कार्यान्वयन गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले तस्करहरूसँग साठगाँठ कुनै हालतमा स्वीकार्य र क्षम्य नहुने उल्लेख गर्दै चोरी, निकासी पैठारी नियन्त्रणमा प्रहरीको भूमिका निष्पक्ष र प्रभावकारी हुनुपर्ने बताउनुभयो । सीमा क्षेत्रबाट हुने राजस्व चुहावट नियन्त्रण गर्न थप सक्रिय भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । सिमान्तकृत, अल्पसंख्यक, पिछडिएका वर्गलाई प्राथमिकतामा राखेर नागरिक सुनुवाइ तथा गुनासो सम्बोधनमा विशेष जोड दिनुपर्ने उल्लेख गर्दै सेवा प्रवाहमा प्रहरी कर्मचारीहरू सहनशील भई आचरण, बोली, व्यवहार शिष्ट र सभ्य हुनुपर्ने उहाँले बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी समेतले समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीको बिदाइ
२०८१-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवालीले संगठनबाट सुम्पिएको जिम्मेवारी उच्च व्यावसायिकता, संगठनप्रतिको निष्ठा, लगनशीलता र इमानदारीताका साथ सम्पन्न गरेको उल्लेख गर्नुभयो । अपराध न्यूनीकरण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, नीति निर्माण, सांगठनिक सुदृढीकरणका साथै संगठनको रणनीतिक कार्ययोजना कार्यान्वयनमा गर्नुभएको अतुलनीय योगदानको उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवा निवृत्त जीवन पश्चात पनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो ।सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक ज्ञवाली भदौ २६ गतेबाट सेवा निवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षकबाट नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ
२०८१-०५-२३

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मित्रराष्ट्र माल्दिभ्समा भदौ ३० गतेदेखि असोज ५ गतेसम्म हुन गइरहेको काभा वुमन्स भलिबल क्लब च्याम्पियनसिपमा सहभागी हुने नेपाल प्रहरीको महिला भलिबल टोलीलाई शुभकामना सहित विदाइ गर्नुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रमबीच प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको महिला भलिबल टोलीलाई विदाइ गर्नुभएको हो । उक्त टोलीमा १२ जना खेलाडी र ४ जना अफिसियल रहेका छन् ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले खेलकुद नेपाल प्रहरीको ऐतिहासिक र अभिन्न अंगको रूपमा जोडिएको चर्चा गर्दै देशको खेलकुद विकासमा नेपाल प्रहरीले पुर्‍याएको योगदान उल्लखनीय रहेको बताउनुभयो । नेपाल प्रहरीका महिला खेलाडीहरूले विभिन्न कालखण्डमा हासिल गरेका उपलब्धीहरूले नेपाल प्रहरीमा सशक्त र क्षमतावान् महिला खेलाडीहरू रहँदै आएका छन् भन्ने कुरालाई समेत पुष्टी गरेको र अन्तर्राष्ट्रिय स्तरमा हुने यस्ता प्रतियोगिताले महिला खेलाडीहरूको क्षमतालाई पुष्टी गर्न थप अवसर प्रदान गर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले महिला भलिबल टोलीले नेपाल प्रहरीको मात्र नभई देशकै प्रतिनिधित्व गरेको हुँदा उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी देश र संगठनको गरिमा बढाउन सम्पूर्ण खेलाडी तथा प्रशिक्षकहरूलाई शुभकामना समेत दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-२३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इमानदारीता, पारदर्शीता, व्यावसायिक निष्ठा र सकारात्मक मनोवृत्तिका साथ संगठनको नीति एवम् प्राथमिकतालाई केन्द्रबिन्दुमा राखेर नागरिकले भरोसा गर्न सक्ने वातावरण बनाएर उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक शुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यावसायिकता झल्काउने गरी नागरिकको आँखामा अब्बल प्रहरीको छाप बनाउनुका साथै उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकाल र कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर
२०८१-०५-२१

 काठमाडौं, नेपाल प्रहरीमा स्नातकोत्तर तह Masters in Police Sciences (MPS) संचालन सम्बन्धमा सहकार्य गर्न राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित कार्यक्रमबीच उक्त समझदारीपत्रमा हस्ताक्षर गर्नुका साथै समझदारीपत्र आदान प्रदान समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सिनियर प्रहरी अधिकृतहरूको वृत्तिविकास र नेतृत्व विकास कोर्षको रूपमा रहने यस एमपिएस कार्यक्रम तथा यसमा समाहित विषयहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा देखा परेका नवीनतम् परिवेश अनुरूप कार्यसम्पादन गर्न सक्ने व्यावसायिक र सक्षम जनशक्तिको विकास हुने अपेक्षा लिएको उल्लेख   गर्नुभयो । रिसर्च, अनुसन्धान, रणनीति र योजना तर्जुमा गर्न सक्ने दक्ष जनशक्ति विकास भई नेपाल प्रहरीको आधुनिकीकरण तथा सांगठनिक सुदृढिकरणका क्षेत्रमा अपेक्षित लक्ष्य प्राप्त हुनेमा विश्वस्त रहेको उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको नेतृत्व तहमा पुग्ने क्षमता भएका प्रहरी अधिकृतहरूको क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै हाल नेपाल प्रहरीमा विद्यमान् बढुवा प्रणालीलाई समेत पारदर्शी र अनुमानयोग्य बनाउन सहयोगी हुने बताउनुभयो । यस समझदारीले नेपाल प्रहरी र त्रिभुवन विश्वविद्यालयबीचको सम्बन्धलाई थप प्रगाढ बनाउनुका साथै दुवै निकायले शान्ति, सुरक्षा एवम् सुशासनको क्षेत्रमा निर्वाहित उत्तरदायित्वको दायरा अझ फराकिलो बनाएको विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सो अवसरमा त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डीन प्रा.डा. डिल्लीराज शर्माले समझदारीले प्रहरी अधिकृतहरूको क्षमता विकासमा उल्लेखनीय योगदान पुग्ने चर्चा गर्नुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षक डा.मनोज कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको   थियो । समझदारीपत्रमा अक्षयकोष, एमपिएस कार्यक्रम संचालन, शैक्षिक क्यालेण्डर, विभिन्न शुल्कहरू, विद्यार्थीहरूको विवरण, कोर्षको प्रभाव अध्ययन, शाखा स्थापना एवम् विविध कार्य, निरीक्षण र निर्देशन, परीक्षा व्यवस्थापन, परीक्षा केन्द्र, त्रिभुवन विश्वविद्यालय पुस्तकालय तथा सुविधा प्रयोग लगायतका प्रावधानहरू उल्लेख गरिएको छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, त्रिभुवन विश्वविद्यालयका सहायक डीनहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत त्रिभुवन विश्वविद्यालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

अपराध विरूद्ध सबै एकजुट भएर आगडि बढ्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०५-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विश्वमा हाल संगठित र संक्रमणकालीन अपराध चुनौतिको रूपमा देखा परिरहेको बताउँदै त्यस्ता अपराध विरूद्ध सबै एकजुट भएर अगाडि बढ्नुपर्ने विचार व्यक्त गर्नुभएको छ । दोस्रो अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवस, २०२४ को अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आइतबार आयोजित ‘वाकाथोन’ कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विभिन्न देशमा हुने संगठित अपराधहरू एक पक्षीय प्रयासले मात्र नियन्त्रण गर्न नसकिने उल्लेख गर्दै यसको लागि सबै राष्ट्रहरूबीच आपसी सहयोग, सूचनाको आदान प्रदान एवम् समन्वय हुनुपर्ने बताउनुभयो । यस कार्यक्रम विश्वव्यापी शान्ति, सुरक्षा र न्यायको लागि हाम्रो एकता र प्रतिवद्धताको प्रतिक समेत रहेको उहाँले बताउनुभयो । उक्त वाकाथोनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र UNOPS का सिनियर प्रोजेक्ट म्यानेजर Stephen Anthony Otter ले बेलुनमा बाँधिएको "International day of Police cooperation, 2024 " लेखिएको ब्यानर संयुक्त रूपमा उडाएर शुभारम्भ गर्नुभएको थियो ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सञ्चारकर्मीहरू, अन्य विशिष्ट आमन्त्रित महानुभावहरू लगायत प्रहरी अधिकृतहरूको सहभागितामा नेपाल प्रहरी प्रधान कार्यालयबाट सुरू भएको पदयात्रा दरबारमार्ग, केशरमहल, नारायणहिटी हुँदै पुन: नेपाल प्रहरी प्रधान कार्यालयमा पुगेर समापन समारोहमा परिणत भएको थियो । इन्टरपोल स्थापना दिवसको अवसरमा सेप्टेम्बर ७ लाई अन्तर्राष्ट्रिय प्रहरी समन्वय दिवसको रूपमा मनाउने घोषणा गरिए अनुरूप यस वर्ष पनि विभिन्न कार्यक्रमहरू आयोजना गरि मनाउने सन्दर्भमा उक्त वाकाथोन आयोजना गरिएको हो ।  

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय रूपन्देहीमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८१-०५-१२

रूपन्देही, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुखको निवास, ब्यारेक, हिरासत तथा भान्साघर लगायतका भवनहरूको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन   गर्नुभएको छ । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको अवलोकन, अमर प्रहरी स्मारकमा पुष्प गुच्छा अर्पण तथा कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नागरिकको सुरक्षाका लागि मुलुकका विभिन्न स्थानहरूमा विद्यमान चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्युटीमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई आवश्यक सुरक्षा मापदण्ड सहितको सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्नु संगठनको उच्च प्राथमिकता रहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरी काम कारवाहीलाई थप व्यवसायिक बनाउने विश्वास व्यक्त गर्नुभयो । प्रहरीलाई आफ्नो बोली व्यवहारमा शिष्टता ल्याउन, आफ्नो काम कारबाही इमान्दार र पारदर्शी भई कार्यसम्पादन गर्न निर्देशन दिँदै उहाँले भन्नुभयो, ‘नेपाल प्रहरी संगठन आम नेपाली नागरिकहरूको आशा र भरोसाको केन्द्र हो । यो संगठनको पवित्र उद्देश्य निस्वार्थ राष्ट्र र नागरिक सेवा हो । यस पवित्र मन्दिरमा बसि छद्‍म भेषमा कोही कसैलाई अपवित्र काम, आचरण र व्यवहार गर्ने छुट छैन । त्यस्ता गलत प्रवृत्तिहरूले आफूले गरेको गलत कार्यको नतिजा तत्कालै भोगेका छन् र भोग्ने छन् । सहि र गलतको मूल्यांकन नागरिक समाजले गरेको छ र संगठनले पनि अवस्य गर्नेछ ।’ प्रहरी महानिरीक्षक कुँवरले नवनिर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति भएको चर्चा गर्दै प्रहरी र जनताबीचको समन्वय र सहकार्यले अपराध रोकथाम तथा अनुसन्धान थप प्रभावकारी हुने बताउनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक कुवेर कडायतले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खाँ र रूपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रहरी उपरीक्षक रंजित सिंह राठौरले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. रोशन सारूमगरले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १४ करोड ९६  लाख ९४ हजार ५ सय ९१ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो ।उद्‍घाटन समारोहमा जिल्लाका विभिन्न पालिकाका प्रमुखहरू, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधिहरू, विभिन्न     संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलाद्‌मी, संचारकर्मी एवम् स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।    

नेपाल प्रहरी कार्ययोजना-२०८० र कार्यसम्पादन सम्झौता २०८०/०८१ को वार्षिक समीक्षा तथा आ.व. २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम सम्पन्न
२०८१-०५-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना-२०८० र आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको वार्षिक समीक्षा कार्यक्रम बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवर र विभागीय प्रमुखहरू तथा प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा हस्ताक्षर समेत भएको छ । आर्थिक वर्ष २०८१/०८२ को कार्यसम्पादन सम्झौतामा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र प्रशासन विभाग प्रमुख, अपराध अनुसन्धान विभाग प्रमुख, प्रदेश समन्वय विभाग प्रमुख, कार्य विभाग प्रमुख, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक, केन्द्रीय अनुसन्धान ब्यूरो प्रमुख, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, नेपाल प्रहरी अस्पतालका निमित्त मेडिकल डाइरेक्टरबीच हस्ताक्षर भएको हो । साथै प्रहरी महानिरीक्षक कुँवर र लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख र सुदूरपश्‍चिम प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर प्रहरी महानिरीक्षक र विभागीय प्रमुखहरू तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय र प्रदेश प्रहरी कार्यालयबीच भएको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता कार्यान्वयन र कार्य विवरणको विश्लेषण गर्दा कार्य प्रगतिको अवस्था सन्तोषजनक रहेको तथा आज सम्पन्न भएको कार्यसम्झौताको लक्ष्य प्राप्ति गर्न शुरू समयदेखि नै सबैजना कटिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । मुलुकभर शान्ति सुव्यवस्था कायम राख्न, अपराध रोकथाम तथा नियन्त्रण गर्न विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवम् व्यावसायिक सुदृढिकरणको माध्यमबाट प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास र रूपान्तरण गर्न तथा उद्देश्य हासिल गर्न हाम्रो कार्य योजनामा रहेका सम्पूर्ण लक्ष्य प्राप्ति अत्यन्त जरूरी रहेको विचार उहाँले व्यक्त गर्नुभयो । हाम्रा लक्ष्य प्राप्तिका दौरानमा केही कठिनाईहरू उत्पन्न भएमा प्रहरी नेतृत्वबीच वृहत छलफल र विश्लेषण गरी समस्याको समाधान निकाल्न सदैव तत्पर रहनुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिबद्ध, नतिजामूखी, उत्तरदायी र जफावदेही बनाउँदै तोकिएको कार्य समयसीमाभित्र सम्पन्न गरी समग्र प्रहरीको कामकारबाहीको स्तर वृद्धि गर्न यस कार्यसम्पादन सम्झौता करार एक महत्वपूर्ण साधन हुनेमा विश्वस्त छु ।’ कार्यसम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नभई यसका अतिरिक्त संगठनका वृहत्तर हित र प्रहरी कर्मचारीहरूको वृत्तिविकासको निमित्त अन्य नवीनतम र रचनात्मक कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  वार्षिक समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू, कार्यसम्पादन सम्झौता अन्तर्गत कार्यान्वयनमा रहेका क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले भर्चुअल माध्यमबाट आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण, गुनासो व्यवस्थापन, अनुगमन तथा सुपरीवेक्षण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनमा देखिएका समस्याहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

साहित्य, कला र संस्कृतिको प्रवर्द्धन र संरक्षणमा प्रहरी सर्जक तथा कलाकारहरूको भूमिका प्रशंसनीय छ - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०५-०५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीको इतिहास, परम्परा, साहित्य, कला र संस्कृतिको प्रवर्द्धन, संरक्षण र जगेर्ना गर्ने कार्यमा नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त प्रहरी स्रष्टा एवम् कलाकारहरूले निर्वाह गरेको भूमिका ज्यादै प्रशंसनीय रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित प्रहरी सर्जक तथा कलाकार भेटघाट कार्यक्रमलाई प्रमुख अतिथिको आसनबाट सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा अपराध नियन्त्रण, अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्ने कार्यको साथै साहित्य, कला, खेलकुद र सामाजिक सेवा जस्ता क्षेत्रमा विभिन्न भूमिकामा रहेर नेपाल प्रहरीले अतुलनीय योगदान गर्दै आइरहेको चर्चा गर्नुभयो । विगतमा नेपाल प्रहरीको सदस्यको हैसियतले अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले पुर्‍याउनु भएको योगदानको स्मरण गर्दै अवकाश प्राप्त जीवनमा साहित्य लेखन, कला र संस्कृतिको माध्यमबाट समाजलाई सकारात्मक दिशातर्फ निर्देशित गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले भेटघाट कार्यक्रमले बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूबीचको सहकार्य, समन्वय र एकता थप मजबुत हुने धारणा व्यक्त गर्नुभयो । अपराध रोकथाम, विपद् उद्दार, शान्ति सुरक्षा कायम राख्ने कार्यमा नेपाल प्रहरीको शाख र प्रतिष्ठालाई जीवन्त राख्न बहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीहरूले जसरी उल्लेख्नीय भूमिका निर्वाह गरिरहनु भएको छ त्यसरी नै आगामी दिनमा समेत साहित्य र कलाको माध्यमबाट नेपाल प्रहरीको प्रतिष्ठामा थप श्रीवृद्धि गर्नुहुनेछ भन्ने विश्वास लिएको उहाँले बताउनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यक्रममा सहभागी भएका प्रहरी सेवाबाट अवकाश प्राप्त सर्जक तथा कलाकारहरूलाई सम्मान समेत गर्नुभयो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले पूर्वजहरूले गरेका राम्रा कामलाई अझ राम्रो गर्दै जाने, नसके त्यसलाई मर्न नदिने प्रण गरिएको बताउनुभयो । यस्ता कामलाई निरन्तरता दिन, रचना सिर्जना संरक्षण गर्न र कल्याणकारी कार्य गर्नेबारे विचार विमर्श भइरहेको उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा धन्यवाद व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले नेपाल प्रहरीका सर्जक र कलाकारहरूको सिर्जनाबाट जनसम्पर्क स्थापित गर्न र प्रहरी कार्यमा सहयोग पुर्‍याउन सहजता ल्याएको चर्चा गर्नुभयो । साहित्य, कला र संगीतमार्फत प्रहरीका सर्जक तथा कलाकारहरूले प्रहरी संगठन, समाज र राष्ट्रलाई विशेष योगदान दिइरहेको उहाँले उल्लेख गर्नुभयो ।   अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठुले राईले आजको भेटघाट विशिष्ट भेटघाट भएको उल्लेख गर्दै संस्थागत रूपमा कार्यक्रम आयोजना गरेकोमा प्रहरी संगठनप्रति विशेष आभार व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले आगामी दिनमा समेत निरन्तरता पाउने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू लगायत नेपाल प्रहरीका बहालवाला तथा पूर्व प्रहरी सर्जकहरू एवम् नेपाल पूर्व प्रहरी कलाकार संघका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच प्रहरी सेवा र सिर्जनाबारे छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।   

नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि सक्षम - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०४-२६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी कानून कार्यान्वयनमा मात्रै नभई बौद्धिक क्षेत्रमा पनि त्यतिकै सक्षम रहेको बताउनुभएको छ । नेपाल पुलिस क्लब भृकुटीमण्डपमा शनिबार प्रहरी उपरीक्षक नवीन किशोर प्रधानद्वारा लिखित ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र ‘लेखान्त’ नाटक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले साहित्य लेखन आफैमा एउटा कठिन परिश्रम भएको एवम् ज्ञान र क्षमताको साथै धैर्यताको पनि निकै आवश्यकता रहेको चर्चा गर्दै आम जनमानसमा रहेको प्रहरी प्रतिको लाठी र बन्दुक मात्र बोक्ने भन्ने परम्परागत बुझाइलाई चिर्न यस कृति प्रशंसनीय रहेको बताउनुभयो । अहिलेको विद्यमान परिवेशमा प्रहरीको कार्यक्षेत्र शान्ति सुरक्षा अमनचयन कायम गर्ने, अपराध न्यूनीकरण र अनुसन्धान गर्ने तथा विविध प्रहरी कार्यद्वारा सुरक्षाको प्रत्याभूति प्रदान गर्नुका साथै प्रहरीमा बहुआयमिक प्रतिभा समेत हुन्छ भन्ने तथ्य आजको नाटक तथा कथासङ्ग्रहको लोकार्पणले प्रष्फुटित गरेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले वंश परम्परा सम्बन्धी मोह, सामाजिक रूपान्तरण, नयाँ र पुरानो पुस्ताबीचको मानसिक मतभेद जस्ता सामाजिक विषयवस्तु समेटिएको लेखान्त नाटक तथा हालको सामाजिक एवम् राजनीतिक वस्तुस्थितिमा आधारित ‘सादृश्य विम्ब’ सामाजका विविध पक्षहरूलाई उजागर गर्दै नयाँ दृष्टिकोण प्रदान गर्ने र पाठकहरूको मन मस्तिष्कमा दीर्घकालीन प्रभाव पार्ने साहित्यिक सिर्जनका रूपमा रहने अपेक्षा लिएको बताउनुभयो । साथै उहाँले प्रहरी उपरीक्षक नवीन किशोर प्रधानलाई बधाई दिँदै आगामी दिनमा अझ नवीन र सिर्जनशील रहँदै साहित्यिक क्षेत्रमा थप अग्रसर भई ख्याती प्राप्त गर्न सफल हुन शुभकामना समेत व्यक्त गर्नुभयो ।उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रूपमा उक्त कथासङ्ग्रह र नाटक लोकार्पण गर्नुभएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले कृति प्रकाशनमा संलग्न महानुभावहरूलाई कदरपत्र समेत प्रदान गर्नुभयो ।उक्त अवसरमा प्राज्ञ डा. मधुसूदन गिरीले ‘सादृश्य विम्ब’ कथासङ्ग्रह र डा. भक्त राईले ‘लेखान्त’ नाटक कृतिको समीक्षा गर्दै कृतिमा समेटिएका विषयवस्तु एवम् लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । डा. छायादत्त न्यौपाने ‘बगर’ ले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा कृति सर्जक प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले कृति सम्बन्धी आफ्नो धारणा सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । अक्षरधाम प्रकाशनका प्रबन्धक निर्देशक देवराज सिंखडाको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू,  साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०४-२४

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ साउन २२ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशी दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । साथै नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षक ई. दिपेश जोशीलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । आफ्नो जिम्मेवारी निर्वाह गर्ने क्रममा प्रदर्शन गरेको दक्षता, कुशलता, इमानदारिता र राष्ट्र, जनता एवम् संगठनप्रति पुर्‍याएको योगदानको उच्च मूल्याङ्कनको आधारमा पदोन्नति भएको उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सांगठनिक सुदृढिकरण र संगठनको बृहत्तर हितको लागि पदोन्न्ति भएका प्रहरी अधिकृतहरूले अझ बढी क्रियाशील र समर्पित भएर विशिष्टिकृत ढंगबाट कार्यसम्पादन गर्ने विश्वास लिएको उल्लेख गर्दै व्यक्तिगत स्वार्थ भन्दा पनि सांगठनिक हितको लागि सबैको सामूहिक प्रयास आवश्यक रहेको बताउनुभयो । नेपाल प्रहरीको कार्यसम्पादनको स्तरलाई नविनतम प्रविधिको प्रयोगसँगै समायानुकूल परिमार्जन गर्दै लैजानुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी सेवा प्रतिको अपेक्षा एवम् गुनासो बढिरहेको र त्यसका लागि उच्च मनोबल भएको प्रहरी आवश्यक रहेको हुँदा यस तर्फ हामी सबैले मनन गरी अगाडि बढ्न जरूरी रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘हामीले चाहेको खण्डमा हामी प्रतिको समाजको दृष्टिकोण, समाजमा परिवर्तन र सुधार ल्याउन सम्भव भएकोले यो कार्यको शुरूवात आफैबाट हुन जरूरी छ । तसर्थ यो वर्दीको इज्जत बढाउनेतर्फ हरदम केन्द्रीत हुनुहोस् । यो नै हामी सबैको हितमा हुन्छ । परम्परागत सोँचाइ र शैलीलाई त्यागेर आ-आफ्नो स्थानबाट व्यावसायिक इमानदार, निष्ठावान् र कर्तव्यनिष्ठ प्रहरीको छवि बनाउने गरी दृढतापूर्वक काम गर्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।’  समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक रामदत्त जोशीले संगठनको नीतिलाई अंगिकार गर्दै कार्यसम्पादन गर्ने बताउनुभयो । पदोन्नतिसँगै थपिएको जिम्मेवारीमा जवाफदेहिता, पारदर्शिताका साथ आफ्नो भूमिका निर्वाह गर्ने एवम् संगठनको श्रीवृद्धिमा सदैव कटिवद्ध रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई काम गर्नुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८१-०४-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले सेवा प्रवाहको गुणस्तरलाई अभिवृद्धि गर्दै पीडित लक्षित भई सीमान्तकृत वर्गसम्म उत्कृष्ट सेवा पुर्‍याउन कटिवद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायत प्रहरी गतिविधि र कामकाज सम्बन्धमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले मनसुनजन्य तथा अन्य प्राकृतिक प्रकोपका घटनाको उद्दार कार्यमा प्रभावकारी ढंगले प्रहरी खटिरहेको चर्चा गर्दै आगामी दिनमा प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई तयारी अवस्थामा रहन निर्देशन दिनुभयो । सडक दुर्घटना न्यूनीकरण तथा जनचेतना फैलाउन विभिन्न सरोकारवाला निकाय, स्थानीय तह तथा नागरिक समाजसँग समन्वय गरेर प्रभावकारी ढंगले परिचालन हुन र मातहतलाई परिचालन गराउन सक्रियता बढाउनुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोग नियन्त्रण, सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, राजस्व चुहावट नियन्त्रण, बैंकिङ कसुर लगायतका आर्थिक अपराधहरूको नियन्त्रण गर्न उपलव्ध साधनस्रोतको अधिकतम प्रयोग गरी सकारात्मक नतिजा आउने गरी काम गर्नुपर्नेमा जोड दिनुभयो । अपराध अनुसन्धानको क्रममा घटनाको गहनता बुझेर प्रविधिको उच्चतम प्रयोग गर्नुपर्ने र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमाथि हुने अपराधमा विशेष संवेदनशील भई कार्य गर्नुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरू आफू रूपान्तरण भई सकारात्मक उत्प्रेरणा तथा थप व्यावसायिक क्षमतामा वृद्धि गरी नागरिकमैत्री सेवा प्रवाहमा एकतावद्ध भई खटिनुपर्ने बताउनुभयो ।  कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, ७ वटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, प्रदेश तालिम केन्द्रहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू, जिल्ला प्रहरी परिसरहरू, जिल्ला प्रहरी कार्यालयहरू, विभिन्न गणका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

एनसिबि काठमाडौं र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर
२०८१-०४-१०

काठमाडौं, Direct Access to the Interpol Information System सम्बन्धमा सहकार्य गर्न National Central Bureau Kathmandu र राहदानी विभागबीच समझदारी-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो । साथै उहाँहरूले समझदारी-पत्र आदान प्रदान समेत गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले इन्टरपोलमा रहेका विभिन्न डाटावेशहरू मध्ये SLTD (Stolen and Lost Travel Document) Database हाल नेपालले पनि प्रयोग गर्दै आएको र उक्त डाटावेशलाई व्यवस्थित गर्न इन्टरपोलद्वारा WISDM (INTERPOL Web Services For Data Management) प्रविधि इन्टरपोलका सदस्य राष्ट्रहरूलाई आवश्यकता अनुसार प्रदान गरेको चर्चा गर्नुभयो । साथै WISDM लाई प्रयोग गर्ने सम्भावनाको यकिन गर्न पाइलट फेज संचालन गर्दा राहदानी विभागको सिस्टममा एकिकृत गर्न सकिने भनि राहदानी विभागद्वारा भएको सुझाव अनुरूप नै यो समझदारी भएको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले लामो समयदेखि हराएका, चोरी भएका तथा रद्ध गरिएका राहदानीहरूको नेपालमा मात्र नभएर वैदेशिक भूमिमा समेत आपराधिक तथा अवैधानिक प्रयोगमा नियन्त्रण तथा जानकारी प्राप्त हुने, डाटावेशमा अपडेट गर्दा त्रुटि हुने सम्भावनाको अन्त्य हुने, लामो र झन्झटिलो प्रकृया यस पश्चात सहज र छिटो हुनुका साथै नेपाल प्रहरी इन्टरपोल शाखा, अध्यागमन विभाग र राहदानी विभागबीचमा समेत समन्वय हुने विश्वास व्यक्त गर्नुभयो । समारोहमा राहदानी विभागका महानिर्देशक तीर्थ राज अर्यालले  समझदारीको महत्व र औचित्यताको बारेमा आफ्नो विचार सहितको मन्तव्य व्यक्त गर्दै राहदानीको दुरूपयोगबाट हुने अपराध नियन्त्रण गर्न यस समझदारीले सहयोग पुर्‍याउने उल्लेख गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग भएको सहकार्यलाई थप व्यवस्थित बनाउँदै लैजाने उहाँले बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू तथा राहदानी विभागका पदाधिकारीहरूको उपस्थिति रहेको थियो ।   

सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक आशा सिंहको बिदाइ
२०८१-०४-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम बिच बिदाइ गर्नुभएको छ ।बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले नेपाल प्रहरी अस्पतालको संस्थागत विकास एवम् सुदृढिकरणका लागि संगठनबाट सुम्पिएका हरेक जिम्मेवारी उत्कृष्ट रूपमा निर्वाह गरेको चर्चा गर्नुभयो । सरोकारवाला निकायको समन्वयमा शैक्षिक तथा स्वास्थ्य सेवाको विस्तार लगायत नीतिगत निर्णयबाट सांगठनिक सुधारको क्षेत्रमा उपलब्धीमूलक कार्य भएको समेत उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि संगठनको हितको लागि सदैव रचनात्मक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवानिवृत्त हुन लाग्नु भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०५२ माघ १८ गते प्राविधिक प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक सिंह उमेर हदको कारण साउन १० गतेबाट सेवानिवृत्त हुन लाग्नु भएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

आन्तरिक तथा बाह्‍य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम सम्पन्न
२०८१-०३-२८

कास्की, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार कास्कीमा आयोजित कार्यक्रममा ‘आन्तरिक तथा बाह्‍य प्रशिक्षक अभिमुखीकरण एवम् भ्रमण कार्यक्रम' सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि कुटि रिसोर्ट एण्ड स्पा पोखरामा उक्त कार्यक्रम सञ्चालन भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षण अवधिमा अवलम्बन गरिदै आएको व्यवहारिक पक्ष र मनोवृत्तिलाई सुधार गरी प्रशिक्षणको पद्धति र महत्वलाई गहनरूपमा बुझ्न सकियो भने मात्र प्रशिक्षण रचनात्मक र उपलब्धीमूलक हुन सक्ने कुरालाई मनन गरी एक अर्काको असल अभ्यासहरूलाई निरन्तरता दिनुपर्ने उल्लेख गर्नुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक भिम प्रसाद ढकालले प्रशिक्षणमा एकरूपता कायम गर्न नेपाल प्रहरीको तालिम संचालन कार्यादेश २०७९ को अध्ययन गरी कार्यान्वयन गर्न र प्रशिक्षणलाई प्रभावकारी ढंगबाट संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक राजन अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रतिष्ठानका उप-निर्देशक प्रहरी उपरीक्षक मित्र बन्धु शर्माले प्रस्तुतीकरण गर्नुभएको थियो । सो अवसरमा प्रशिक्षण प्रदायक संस्थाका कार्यालय प्रमुखहरूले आ-आफ्नो तर्फबाट राय सुझाव व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी शिक्षालय भरतपुरका निर्देशक, नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूका प्रधानाचार्य/प्राचार्य/समादेशक, नेपाल प्रहरी प्रधान कार्यालय वृत्ति विकास महाशाखा तालिम शाखाका प्रतिनिधि लगायत विभिन्न प्रशिक्षण प्रदायक संस्थाका प्रशिक्षकहरू समेतको उपस्थिति रहेको थियो ।

आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न
२०८१-०३-२६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन प्रतिवेदन र सोको कार्ययोजना, २०८१ प्रस्तुतीकरण तथा सार्वजनिकीकरण कार्यक्रम सम्पन्न भएको छ ।    सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विश्वव्यापी रूपमा बढ्दो अवस्थामा रहेको आत्महत्या नेपालमा पनि जटिल सामाजिक समस्याको रूपमा देखा परेको उल्लेख गर्दै यसले व्यक्ति तथा परिवारलाई मात्र नभई समग्र समाज तथा देशलाई नै विविध दृष्टिकोणबाट असर पार्ने गरेको बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले तथ्याङ्क विश्लेषणको आधारमा आत्महत्या न्यूनीकरणको लागि समयमा प्रभावकारी कदम चाल्न नसकिएको खण्डमा स्थिति अझ भयावह हुने तथ्यलाई मनन गरी देशव्यापी रूपमा शोध अध्ययन गरी कार्ययोजना समेत तयार भएको बताउनुभयो । आत्महत्या न्यूनीकरणका क्षेत्रमा भावी रणनीति तर्जुमा तथा कार्यदिशा तय गर्न प्रतिवेदन महत्वपूर्ण दस्तावेज हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले आत्महत्या न्यूनीकरण तथा रोकथाम नेपाल प्रहरीको एकल प्रयासले मात्र सम्भव नहुने उल्लेख गर्दै यसका लागि सरोकारवाला निकायहरूको संयुक्त सहकार्यमा साझा संयन्त्र बनाएर आगाडि बढ्न जरूरी रहेको बताउनुभयो । आत्महत्या न्यूनीकरणका लागि आवश्यकता अनुसारको रणनीति अवलम्बन गर्न सरोकारवालाहरूसँग समन्वय र सहकार्य गरी प्रभावकारी ढंगबाट कार्ययोजना कार्यान्वयन गर्न सबै प्रहरी कार्यालयहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शोध अध्ययन प्रतिवेदन तथा कार्ययोजना सार्वजनिकीकरण गर्नुका साथै शोध अध्ययन कार्यमा खटिने विषय विज्ञ तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र प्रदान गर्नुभयो ।    नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक राजेशनाथ बास्तोलाले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।कार्यक्रममा गृह मन्त्रालयका सहसचिव झक्क प्रसाद आचार्य, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहसचिव डा. कृष्ण प्रसाद पौडेल, राष्ट्रिय योजना आयोगका सहसचिव यमलाल भूसाल र मानसिक अस्पताल लगनखेलका निर्देशक एवम् प्रमुख कनसल्टेन्ट साइक्याट्रिष्ट  डा. अनन्त प्रसाद अधिकारीले प्रतिवेदन र कार्ययोजना सम्बन्धी आ-आफ्नो दृष्टिकोण सहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी अस्पताल महाराजगंजका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. आशिष दत्तले शोध अध्ययन प्रतिवेदन र कार्ययोजना प्रस्तुतीकरण गर्नुभएको थियो । नेपाल प्रहरीको चालु आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट कार्यान्वयन कार्ययोजना र नेपाल प्रहरी कार्ययोजना २०८० मा समावेश रहेको आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी शोध अध्ययन गर्न नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयद्वारा देशव्यापी विस्तृत अध्ययन सम्पन्न गरी अध्ययन प्रतिवेदन तयार गरिएको थियो । प्रतिवेदनको आधारमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागसँगको सहकार्यमा आत्महत्या न्यूनीकरण तथा व्यवस्थापन सम्बन्धी कार्ययोजना २०८१ समेत तर्जुमा गरिएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति समेत रहेको थियो । 

सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको बिदाइ
२०८१-०३-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले सुम्पिएका हरेक जिम्मेवारी सफलतापूर्वक सम्पन्न गरी सेवानिवृत्त हुनु भएका वरिष्ठ प्रहरी अधिकृतहरूको व्यवसायिकता, संगठन प्रतिको निष्ठा, बहुआयामिक प्रतिभा, लगनशीलता, नैतिकता र इमानदारिताको उच्च प्रशंसा गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनमा सक्रिय सदस्यको रूपमा रहँदा योग्य, अनुशासित, अनुभवि र निष्ठावान् सदस्यको रूपमा आफूलाई परिचित गराउँदै सेवा अवधि सफलतापूर्वक निर्वाह गर्नुभएकोमा बधाई समेत दिनुभयो । संगठनले सुम्पिएका हरेक पदीय दायित्व सफलतापूर्वक निर्वाह गरी हासिल गरेको अनुभव तथा विज्ञता संगठनको हितका लागि सदैव आवश्यक हुने भएकोले आगामी दिनमा समेत सेवानिवृत्त अधिकृतहरूको उपलब्धीमूलक सत्प्रयासको अपेक्षा रहेको उहाँले उल्लेख गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेललाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशी र प्रहरी नायव महानिरीक्षक पोष राज पोखरेलले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक जोशी र प्रहरी नायव महानिरीक्षक पोखरेल वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट Traffic Police Mirror विमोचन
२०८१-०३-२०

काठमाडौं, ट्राफिक प्रहरीले पहिलो पटक प्रकाशन गरेको ‘Traffic Police Mirror 2024’ विमोचन भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित एक कार्यक्रम बीच उक्त मिररको विमोचन गर्नुभएको हो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मिरर प्रकाशन गर्न सहकार्य गर्ने भाटभटेनी सुपरमार्केट, नाडा, बिवाईडि मोटर्स, राष्ट्रिय वाणिज्य बैंक, ग्लोबल आईएमई बैंक, स्याकर ट्रेडिङ, सिप्रदि ट्रेडिङ लगायतका संघ-संस्थाहरूलाई प्रशंसापत्र प्रदान  गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले ट्राफिक पुलिसको इतिहास र विकासक्रमका साथै सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा गरिएका प्रयासहरूलाई समेटेर तयार पारिएको उक्त मिररको प्रथम संस्करणको प्रकाशन कार्य प्रशंसनीय रहेको बताउनुभयो ‌।     सो अवसरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पूर्व आयुक्त अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक केशव बरालले विगतमा ट्राफिक प्रहरीले गरेका कामहरू देखाउने ऐनाको रूपमा मिरर प्रकाशन भएको र मिररले ट्राफिक व्यवस्थापनको विगत र वर्तमानलाई स्पष्ट पार्नेमा विश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले धन्यवाद मन्तव्य व्यक्त गर्दै पहिलो पटक लिखित दस्तावेजको रूपमा प्रकाशन भएको मिररले २००७ सालदेखि हालसम्म ट्राफिक प्रहरीले गर्दै आएका कार्यहरूलाई समेटेको बताउनुभयो । कार्यक्रममा यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव प्रसाद रिजालले ट्राफिक पुलिस मिररले विगतलाई स्मरण गर्न महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्दै ट्राफिक पुलिसको इतिहास देखि वर्तमान गतिविधि मिररमा प्रष्ट पारिएको उल्लेख गर्नुभयो । उहाँले ट्राफिक प्रहरीको ऐतिहासिक विकासक्रम, ज्ञान, सिप तथा ट्राफिक प्रहरीका क्रियाकलापलाई लोप हुन नदिन मिरर प्रकाशन गरिएको बताउनुभयो ।  कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्याल, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, यातायात व्यवस्थापनसँग सरोकार राख्ने सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरू, यातायात व्यवसायीहरूका साथै विभिन्न संघ-सस्थाका प्रतिनिधिहरू र संचारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । 

UNCOPS मा सहभागी भई नेपाली प्रतिनिधि मण्डल स्वदेश फिर्ता
२०८१-०३-१८

काठमाडौं, गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन भएको चौथो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी भई मंगलबार स्वदेश फर्कनुभएका छन् ।गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल र प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की समेत त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक स्वागत गर्नुभयो ।विमानस्थलमा कुराकानी गर्दै गृह सचिव एक नारायण अर्यालले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले शान्ति स्थापनामा पुर्‍याएको योगदानको उच्च प्रशंसा भएको उल्लेख गर्दै भ्रमणमा नेपाली सुरक्षाकर्मीहरूको संख्या, सुविधा, तालिम र शान्ति स्थापना कार्यमा नेपाली सुरक्षाकर्मीहरूले भोग्नुपरेको समस्याको बारेमा छलफल भएको बताउनुभयो । समग्रमा भम्रण सफल रहेको उहाँले बताउनुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संयुक्त राष्ट्रसंघमा नेपाली सुरक्षाकर्मीहरूको संख्या घटिरहेको सन्दर्भमा महिला, सम्बन्धित विषयका विशेषज्ञ र महत्वपूर्ण पदमा नेपालीहरूलाई सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । उक्त समिटमा Novel approaches to peace operations and potential domains of conflict, Preventing conflict and violence and sustaining peace, Strengthening peace operations and peace enforcement लगायतका एजेण्डामा छलफल भएको थियो । सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल समेत गर्नुभएको थियो ।  गृह सचिव एक नारायण अर्याल नेतृत्वको नेपाली प्रतिनिधि मण्डल उक्त समिटमा सहभागी हुन असार १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । 

पूर्ण सक्रियताकासाथ नागरिकमैत्री सेवामा केन्द्रीत भई जिम्मेवारी बहन गर्नुपर्ने - निमित्त प्रहरी महानिरीक्षक दिपक थापा
२०८१-०३-१२

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले प्रहरी कर्मचारीहरूले उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ नागरिक केन्द्रीत भई आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा बुधबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा निमित्त प्रहरी महानिरीक्षक थापाले उक्त कुरा बताउनुभएको हो ।निमित्त प्रहरी महानिरीक्षक थापाले प्राकृतिक प्रकोपबाट हुन सक्ने क्षति न्यूनीकरण गर्न तयारी अवस्थामा रहन सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्दशन दिनुभयो । विपद्को समयमा पहिलो घेरामा रही काम गर्नुपर्ने प्रहरीले उपलब्ध स्रोत साधनको भरपुर प्रयोग गरी आफू सुरक्षित भई उद्दार कार्यमा खटिनुपर्ने उहाँले बताउनुभयो ।     निमित्त प्रहरी महानिरीक्षक थापाले लागूऔषधको बढ्दो ओसारपसार र प्रयोगलाई नियन्त्रण गर्न प्रहरी कर्मचारी कटिबद्ध भई लाग्नुपर्नेमा जोड दिँदै कारोबारमा सम्बद्ध जोकोहीलाई कानूनको दायरामा ल्याउन कानून सम्मत कडा रूपमा प्रस्तुत हुनुपर्ने र सीमा नाकामा थप कडाईका साथ निगरानी तथा गस्ती बढाउनुपर्ने बताउनुभयो । उहाँले राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिको लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन निर्देशन दिनुभयो । प्रहरी प्रधान कार्यालयबाट भएका नीति निर्देशनहरू कार्यान्वयन गर्नुपर्ने र प्रहरी संगठनको कार्यसम्पादन स्तर बढाउन प्रहरीको आचरण व्यवहारमा परिवर्तन ल्याउनुपर्ने, अपराध अनुसन्धानलाई थप प्रभावकारी बनाउनुपर्ने तथा प्रहरीको आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा सकारात्मक उर्जाका साथ लागी पर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

नेपाली प्रतिनिधि मण्डल UNCOPS का लागि अमेरिका प्रस्थान
२०८१-०३-१०

काठमाडौं, गृह सचिव एक नारायण अर्याल नेतृत्वको ५ सदस्यीय नेपाली प्रतिनिधि मण्डल संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय अमेरिकाको न्यूयोर्कमा असार १२ देखि १३ गतेसम्म संचालन हुने चौथो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गरेको छ ।गृह सचिव अर्यालसँग उक्त समिटमा सहभागी हुन प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी नायव महानिरीक्षक दान बहादुर कार्की र सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । गृह सचिव अर्यालको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, गृह मन्त्रालयका पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो । उक्त समिटमा Novel approaches to peace operations and potential domains of conflict, Preventing conflict and violence and sustaining peace, Strengthening peace operations and peace enforcement लगायतका एजेण्डामा छलफल हुने कार्यक्रम रहेको छ ।सो अवसरमा गृह सचिव अर्याल समेतको प्रतिनिधि मण्डलले संयुक्त राष्ट्र संघका उपमहासचिवहरू, प्रहरी सल्लाहकार तथा संयुक्त राष्ट्र संघका उच्च पदस्थ अधिकृतहरू एवम् टर्की, फ्रान्स, युके, क्यानडा, युएसए, साउथ कोरिया, नाइजेरिया, घाना लगायतका देशका प्रतिनिधिहरूसँग दुई पक्षीय, बहुपक्षीय भेटघाट गरी संयुक्त राष्ट्र संघमा नेपाल प्रहरीको सहभागिता एवम् साझा सुरक्षाको विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

टिआरसी विधेयक सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
२०८१-०३-०७

काठमाडौं, बेपत्ता पारिएका व्यक्तिको छानवीन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ संशोधन गर्न बनेको विधेयक (टिआरसी विधेयक) सम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानवअधिकार समितिका सदस्य, पूर्व कानून न्याय तथा संसदीय मामिला मन्त्री एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधान, अवकाश प्राप्त प्रहरी महानिरीक्षक रविन्द्र प्रताप शाह, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाल प्रहरी पूर्व संगठन प्रमुख मञ्चका संयोजक एवम् अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहरा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, प्रहरी अतिरिक्त महानिरीक्षकहरू तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागतिमा उक्त कार्यक्रम सम्पन्न भएको हो । उक्त अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले टिआरसी विधेयकमा समेटिनुपर्ने विषयहरूको लागि बैठक अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्नुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले संगठनको दुरूगामी हितको लागि छलफल फलदायी रहेको बताउनुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद मन्तव्य व्यक्त गर्दै बैठकमा भएको छलफल तथा अन्तरक्रियाबाट आएका राय सुझावहरूलाई समेटी विधेयक सम्बन्धमा आगामी कार्यक्रम एवम् रणनीति तय गरिने बताउनुभयो ।कार्यक्रममा सुरक्षा तथा न्याय अध्ययन केन्द्रको तर्फबाट अवकाश प्राप्त प्रहरी महानिरीक्षक प्रकाश अर्यालले उक्त अध्ययन केन्द्रको काम कर्तव्य सम्बन्धि प्रस्तुतीकरण गर्नुभएको थियो भने अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक ठूले राईले कार्यक्रमको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक आमोद चन्द्र गुरूङले विभिन्न देशमा लागू भएको टिआरसी सम्बन्धि आफ्नो अनुभवसहितको प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा प्रहरी उपरीक्षक नवीन किशोर प्रधानले उक्त विधेयक सम्बन्धमा नेपाल प्रहरीको तर्फबाट राय सुझाव दिन तथा अन्य आवश्यक कार्य गर्नका लागि प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको संयोजकत्वमा गठित समितिको तर्फबाट प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा ध्यान शिविर सम्पन्न
२०८१-०३-०१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल विपश्यना केन्द्र बुढानिलकण्ठमा संचालित १० दिवसीय विपश्यना ध्यान शिविर शनिबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरको उक्त केन्द्रको अवलोकन समेत गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षकहरूलाई प्रहरी आधारभूत तालिम पश्‍चात आध्यात्मिक चिन्तन मनन गर्ने अवसर प्रदान गराई उपलब्ध सेवा सुविधाहरू समेत उपभोग गर्ने वातावरण बनाई दिएकोमा नेपाल विपश्यना केन्द्र एवम् प्रहरी प्रतिष्ठानलाई धन्यवाद दिँदै नेपाल प्रहरीका भविष्यका कर्णधारका रूपमा रहेका प्रहरी निरीक्षकहरूलाई जागिरे जीवनमा मात्र नभई व्यक्तिगत जीवनमा समेत प्रत्यक्ष रूपमा लाभान्वित पुग्ने बताउनुभयो । साथै ध्यान शिविरमा सहभागी प्रहरी निरीक्षकहरू आगामी दिनका लागि पुनर्जाग्रित हुन सफल भएको विश्‍वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवनशैली अत्यन्त द्रुत, व्यस्त र चुनौतिपूर्ण रहेको उल्लेख गर्दै विभिन्न कठिनाईहरूको सामना गर्नु अगाडि आत्म चिन्तन, आत्म अनुभूति र तनावमुक्त हुन पाउनु एउटा अमूल्य अवसर रहेको  बताउनुभयो । जीवनमा आई पर्ने विभिन्न बिध्न बाधा, कठिनाइ, चुनौतिले धेरै उदास नहुने र प्राप्त हुने हर्ष उल्लासले वास्तविकता नबिर्सने ज्ञान र सीप प्राप्त गर्न समेत यो शिविरले मद्दत पुर्‍याएको उहाँले बताउनुभयो । शिविरमा सहभागी भएका प्रहरी निरीक्षकहरूले सधै विवेकशील र व्यावसायिक ढंगले आफ्नो कर्तव्य पालान गर्ने र नेपाल प्रहरीको उज्जवल भविष्यको रूपमा आफूलाई साबित समेत गर्ने विश्‍वास लिएको उहाँले बताउनुभयो । अवकाश प्राप्त प्रहरी महानिरीक्षक कुवेर सिंह रानाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल विपश्यना केन्द्रका क्षेत्रीय आचार्य डा.रूप ज्योतीले ध्यान शिविरको महत्वबारे आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समन्वयमा जेठ २२ गतेदेखि संचालित उक्त शिविरमा हालै दीक्षित प्रहरी निरीक्षक आधारभूत तालिम १-१८२ औं समूहका १ सय ४६ जना प्रहरी निरीक्षकहरूको सहभागिता रहेको थियो । विपश्यना ध्यान शिविर समापन कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल विपश्यना केन्द्रका पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

१० जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०२-३१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका १० जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ २९ गतेको निर्णयअनुसार प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा ४ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ २९ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा ४ जना र नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ३० गतेको निर्णयले प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा २ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी वरिष्ठ उपरीक्षकहरू श्याम कृष्ण अधिकारी, रबिन्द्र रेग्मी, भिम बहादुर दाहाल र नान्तीराज गुरूङ, प्रहरी उपरीक्षकहरूमा प्रदिप बहादुर क्षेत्री, नारायण रंजितकार, अनन्त राम शर्मा र एक नारायण कोईराला तथा प्राविधिक प्रहरी नायव उपरीक्षकहरूमा उमेश प्रसाद साह र ई. मुकेश तिवारी रहनुभएको छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिले सुविधाको मात्र नभई प्रहरी अधिकृतहरूको विश्‍वास र जिम्मेवारी बढेको चर्चा गर्दै थपिएको दर्ज्यानी चिन्हको मर्यादा रहने गरी सांगठनिक हितमा कार्य गर्न निर्देशन दिनुभयो । संगठनलाई केन्द्रमा राखेर संगठनको वृहत्तर हितका लागि आग्रह पूर्वाग्रह भन्दा माथि उठेर गरिएको सम्पूर्ण प्रहरी कर्मचारीहरूको साझा प्रतिवद्धता सामूहिक साथ र सहयोगबाट नै सांगठनिक सुदृढिकरण र लक्ष्य प्राप्त हुने कुरामा विश्‍वस्त रहेको उहाँले उल्लेख गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक श्याम कृष्ण अधिकारीले पदोन्नतिसँग प्राप्त जिम्मेवारी एवम् उत्तरदायित्वलाई उच्च व्यावसायिकता, नैतिकता र निष्ठापूर्वक सेवा भावकासाथ पूरा गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति स्थापना सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर
२०८१-०२-२५

काठमाडौं, नेपाल प्रहरी र नेपाल बैंक लिमिटेडबीच ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित  कार्यक्रमबीच नेपाल बैंकको तर्फबाट बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभयो । साथै सहायक प्रमुख कार्यकारी अधिकृत अधिकारीले अक्षय कोष स्थापनाका लागि ३० लाख रूपैयाँको चेक प्रहरी वरिष्ठ उपरीक्षक ढकाललाई हस्तान्तरण गर्नुका साथै उहाँहरूले सम्झौता-पत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने सम्झौताको लागि नेपाल बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले सम्झौता दुई निकायको सम्बन्धमा कोसेढुंगाको रूपमा स्थापित हुने विश्वास व्यक्त गर्दै छात्रवृत्तिले नेपाल पुलिस स्कूलहरूमा अध्ययनरत बालबालिकालाई सवल र सक्षम बनाई देशको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउने बताउनुभयो । यसबाट अहोरात्र खटिने प्रहरी कर्मचारीलाई आफ्नो जिम्मेवारी निर्वाह गर्न थप हौसला प्रदान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलक राज पाण्डेयले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताउनुभयो । साथै उहाँले आगामी दिनमा समेत थप सहकार्य र समन्वय हुने विश्वास व्यक्त गर्नुभयो ।   सम्झौताअनुसार छात्रवृत्ति प्रदान गर्नको लागि नेपाल बैंकले ३० लाख रूपैयाँ उपलब्ध गराई प्रहरी कल्याण कोषको नाममा ‘नेपाल बैंक लिमिटेड शैक्षिक छात्रवृत्ति अक्षय कोष’ स्थापना हुनेछ । खाता संचालन तथा व्यवस्थापन कल्याण महाशाखाले गर्नेछ । अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानीबाट छात्रवृत्ति रकम निर्धारण गरी नेपाल पुलिसका ९ वटा स्कुलहरूमा कक्षा ४ देखि १० सम्ममा अध्ययनरत विदा वा व्यक्तिगत कामको सिलसिलामा मृत्यु भएका प्रहरी कर्मचारीका सन्ततिलाई विपन्नताको आधारमा र यस बमोजिमका सन्ततिहरू नभएमा अमर/शहिद/अशक्त प्रहरी कर्मचारीका सन्ततिलाई, सो पनि नभएमा बहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीका सन्ततिलाई उत्प्रेरणा स्वरूप प्रति स्कूल १ जनाको दरले छात्रवृत्ति उपलव्ध गराइने लगायतका विषय सम्झौतापत्रमा उल्लेख गरिएको छ । सम्झौता शैक्षिक सत्र २०८१ देखि लागू हुने छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, नेपाल बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

राष्ट्रिय बाणिज्य बैंकद्वारा नेपाल प्रहरी अस्पताललाई एम्बुलेन्स र शव वाहन हस्तान्तरण
२०८१-०२-२४

काठमाडौं, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडले नेपाल प्रहरी अस्पताललाई २ वटा एम्बुलेन्स र २ वटा शव वाहन प्रदान गरेको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले उक्त एम्बुलेन्स र शव वाहनको चावी हस्तान्तरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले राष्ट्रिय वाणिज्य बैंकप्रति आभार व्यक्त गर्दै नागरिक सेवामा समर्पित नेपाल प्रहरीलाई यस सहयोगले थप सहजता पुग्ने विश्‍वास व्यक्त गर्नुभयो । घटना र दुर्घटनामा तत्काल उद्दार गरी अस्पतालसम्म पुर्‍याउन सवारी साधन निकै उपयोगी हुने उहाँले बताउनुभयो । प्राप्त सवारी साधनबाट अस्पतालको गुणस्तर र प्रभावकारितामा वृद्धि भई समग्र प्रहरी कर्मचारी, आश्रित परिवार र सर्वसाधारण समेत लाभान्वित हुने उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले एउटा निकायले दिने सहयोगबाट अर्को निकायले दिने सेवामा सहयोग पुग्नुको साथै सामूहिक भावनाको विकास हुने विचार व्यक्त गर्नुभयो । नेपाल प्रहरीमा स्रोत र साधनको कमि ठूलो चुनौतीको रूपमा रहेको बताउँदै आगामी दिनमा समेत यस्ता किसिमको समन्वय र सहकार्य रहने विश्‍वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत देवेन्द्र रमन खनालले विगतमा बैंक र नेपाल प्रहरीबीच भएका समन्वय, सहकार्य तथा सम्झौताको चर्चा गर्दै आगामी दिनमा समेत सहयोग र आपसी समन्वय निरन्तर रहिरहने  विचार व्यक्त गर्नुभयो । कार्यक्रमले बैंक र नेपाल प्रहरीबीचको सम्बन्ध थप सुमधुर र बलियो हुने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय बाणिज्य बैंक लिमिटेडका उप कार्यकारी अधिकृत तथा पदाधिकारीहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

प्राप्त जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गर्न प्रहरी कर्मचारीहरू सिर्जनशील हुनुपर्छ : प्रहरी महानिरीक्षक
२०८१-०२-१८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यले सुम्पिएको जिम्मेवारी उत्कृष्ट रूपमा पूरा गरी राष्ट्र र नागरिकलाई सकारात्मक योगदान दिन प्रहरी कर्मचारीहरू थप सिर्जनशील हुनुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आ-आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले संगठनको कार्ययोजना एवम् लक्ष्यलाई प्राथमिकतामा राखेर संगठनको नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्दै सांगठनिक लक्ष्य हासिल गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू सक्रिय भई खरो रूपमा उत्रन निर्देशन  दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले संगठनलाई विशिष्ट योगदान दिन व्यावसायिकता र निष्ठापूर्वक कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, ‘संगठन बलियो भए हामी बलियो हुन्छौं । संगठनलाई थप बलियो र सुदृढ बनाउन चेन अफ कमाण्डभित्र रहेर सक्रिय र सामूहिक प्रयासमा केन्द्रीत हुनु आवश्यक छ ।’ विगतमा भएका कमी कमजोरीलाई विश्‍लेषण गरी आवश्यक योजना, नीति बनाई आ-आफ्नो कार्यक्षेत्रमा शान्ति सुव्यवस्था कायम एवम् अपराध अनुसन्धान तथा नियन्त्रण गर्नका निम्ति स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वयकारी भूमिका निर्वाह गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले संगठनको नीति र आवश्यकता अनुरूप नै सरूवा भएको उल्लेख गर्दै नयाँ जिम्मेवारीलाई नविन ढंगले सम्पादन गरी आफूलाई रोल मोडलको रूपमा प्रस्तुत हुन उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । आफू मातहतका प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाई निष्ठावान, इमानदार एवम् थप सक्रिय भई जनपक्षीय काम गर्न उहाँले आग्रह समेत गर्नुभयो ।  यसअघि नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका वरिष्ठ प्रहरी अधिकृतहरूलाई वर्तमान परिवेश, गर्नुपर्ने काम एवम् निर्वाह गर्नुपर्ने भूमिकाको साथै समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

महिला प्रहरीको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणा श्रोत : प्रहरी महानिरीक्षक कुँवर
२०८१-०२-१६

काठमाडौं, १६ जेठप्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीमा कार्यरत महिला प्रहरीहरूले प्रदर्शन गरेको साहस, दृढता र समर्पण सबैको लागि प्रेरणाको श्रोत बन्न पुगेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित ‘नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Women Police Gallery को उद्‌घाटन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरू एवम् आमन्त्रित महानुभावहरूले उक्त ग्यालरीको अवलोकन समेत गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका महिला सदस्यहरू समाजमा अन्याय र जोखिममा परेका महिलाहरूका लागि आशा र प्रेरणाको स्तम्भको रूपमा उपस्थित हुनु खुसी र गर्वको विषय रहेको बताउनुभयो । समाजका अप्ठ्यारा र बाधालाई परास्त पार्दै काममा तल्लीन महिला प्रहरीहरूले समग्र महिलाहरूलाई साहसी, व्यावसायिक र निस्वार्थ सेवामा लाग्न प्रेरित गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । अपराध अनुसन्धान, शान्ति सुव्यवस्था, नागरिक सहायता मात्र होइन खेलकुद, संयुक्त राष्ट्र संघ शान्ति मिसन, अन्तर्राष्ट्रिय सम्मेलन तथा समारोहमा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्र र प्रहरी संगठनको शीर उच्च पार्न महिला प्रहरी कर्मचारीहरू सफल रहेको उहाँले चर्चा गर्नुभयो ।कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले महिला प्रहरीको नेतृत्व विकासमा उठेका सुझावहरूलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा महिला प्रहरीको सहभागिताले शान्ति सुरक्षामा योगदान पुगेको उहाँले बताउनुभयो । कार्यक्रममा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय, राष्ट्रिय मानवअधिकार आयोग, राष्ट्रिय महिला आयोगका सहसचिवहरूका साथै विभिन्न संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरूले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिकाका विषयमा आ-आफ्नो विचार व्यक्त गर्नुभएको थियो । प्रहरी निरीक्षक मनिषा बुढाथोकीले नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको अन्तरक्रिया कार्यक्रमका सहभागीहरूबीच नेपाल प्रहरीमा महिला प्रहरीको भूमिका र नेतृत्व विकास सम्बन्धी खुल्ला छलफल तथा अन्तरक्रिया  समेत भएको थियो ।नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा आयोजित अन्तरक्रियामा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, पूर्व प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको सहभागिता रहेको थियो । 

Oxygen Concentrator हस्तान्तरण
२०८१-०२-१६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा हिन्दु स्वयम्‌सेवक संघ नेपाल तथा सेवा इन्टरनेशनल नेपालद्वारा लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंज र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीलाई २७ थान Oxygen Concentrator हस्तान्तरण गरिएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा हिन्दु स्वयम्‌सेवक संघ नेपालका राष्ट्रिय संघचालक तथा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमिल्सिना र सेवा इन्टरनेशनल नेपालका अध्यक्ष अवकाश प्राप्त उपरथी महेश बिक्रम कार्कीले लुम्बिनी प्रदेश प्रहरी अस्पताल नेपालगंजका प्रहरी उपरीक्षक डा. अच्युत विक्रम हमाललाई १४ थान र कोशी प्रदेश प्रहरी अस्पताल सुनसरीका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहलाई १३ थान Oxygen Concentrator हस्तान्तरण गर्नुभएको हो ।  हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले स्वास्थ्य सेवा जटिल र महंगो भएको सन्दर्भमा यस्ता चुनौतीलाई सामना गर्न आज प्रदान भएका स्वास्थ्य सामग्रीहरू स्वास्थ्य सेवा प्रवाहका लागि महत्वपूर्ण रहेको बताउनुभयो । मानव धर्मलाई सर्वोपरी ठानी उपलब्ध गराइएका सामग्रीहरूले चरणबद्ध क्षमता विकास, विस्तार र आधुनिकीकरणका लागि योगदान गर्ने विचार उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक कल्याण कुमार तिमिल्सिनाले सामाजिक क्षेत्रमा काम गर्दै आएको हिन्दु संघले मानव सेवाभाव अनूरूप स्वास्थ्य सामग्री प्रदान गरेको बताउनुभयो । साथै अवकाश प्राप्त उपरथी महेश बिक्रम कार्कीले मानव सेवामा सेवा इन्टरनेशनलले गर्दै आएका कामको चर्चा गर्दै आज प्रदान गरिएका सामग्रीबाट प्रहरी अस्पताल लाभान्वित हुने विचार व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायतका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

चार जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०२-१४

काठमाडौं, नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ जेठ १३ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति भएका ४ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कृष्ण हरि शर्मा पोखरेल, दान बहादुर कार्की, डा. मनोज कुमार केसी र राजन अधिकारी रहनुभएको छ ।साथै नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाहलाई समेत प्रहरी महानिरीक्षक कुँवरले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले राष्ट्र, जनता र संगठनप्रति गरेको योगदान, कार्यक्षमता लगायतका बढुवाका सम्पूर्ण संभाव्य आधारहरूको मूल्याङ्कन गरी पदोन्नति गरिएको बताउनुभयो । पदोन्नतिसँगै जवाफदेहिता, जिम्मेवारी र निर्वाह गर्नुपर्ने भूमिकाको दायरा अझ फराकिलो भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “राज्य र संगठनले तपाईहरूबाट यसको प्रतिफलमा देश र नागरिक सेवामा रचनात्मक भूमिका, उच्च व्यावसायिकता एवम् निष्ठाको अपेक्षा राखेको छ, जसमा खरो उत्रिनु हुने छ भनि विश्वास लिएको छु ।” प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको गौरव र गरिमालाई नयाँ आयाम र उचाईमा पुर्‍याउन पदीय हैसियतले निर्वाह गरेको भूमिका सदैव मूल्याङ्कन हुने भएकोले सकारात्मक उर्जा, मेहेनत लगन र ईमान्दारिताका साथ सांगठानिक विकासमा जुट्न र विशिष्टकृत ढंगबाट कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीबाट सम्पादित काम, प्रदर्शित व्यावसायिकता र निर्वाह गरेको भूमिकाप्रति समाज र नगारिकले चासो र महत्वकोसाथ हेर्ने गरेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “प्रहरी संगठनलाई जनमुखी, पारदर्शी र निर्विकल्प अंगको रूपमा स्थापित गराउन हामी सबैको साझा चिन्तन, क्रियाशीलता र पदीय दायित्व अनुरूपको जिम्मेवारी वहन पनि त्यतिकै आवश्यक रहेको छ ।” प्रहरी महानिरीक्षक कुँवरले संगठनको वृहत्तर हितको कुरा गर्दा पद वा व्यक्ति गौण हुने र संगठनले दिएको जिम्मेवारी प्रमुख हुन आउने चर्चा गर्दै इमान्दारीपूर्वक संगठनको हितमा समर्पित रहनु लक्ष्य प्राप्तिको आधार हो भन्ने कुरामा जोड दिनुभयो । संगठनका कुनै सदस्यहरूबाट प्रदर्शित गैरव्यावसायिकताका कारण सिंगो नेपाल प्रहरी संगठन लज्जित हुनुपर्ने अवस्था देखा परेमा कुनै हालतमा सहनयोग्य नहुने विचार उहाँले व्यक्त गर्नुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट प्रतिबद्धता मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कृष्ण हरि शर्मा पोखरेलले राज्य र संगठनले दिएको जिम्मेवारीलाई व्यावसायिक निष्ठाकासाथ राष्ट्र र नागरिकको सेवामा गम्भीर भएर पूरा गर्ने बताउनुभयो । प्रचलित ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको उद्देश्य प्राप्ति र श्रीवृद्धिमा समर्पित भई त्रुटीरहित तरिकाले काम गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो । दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नौ जना प्राविधिक प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०२-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले हालै पदोन्नति भएका ९ जना प्राविधिक प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी महानिरीक्षक कुँवरले उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।नेपाल सरकार उपप्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८१ जेठ ६ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी उपरीक्षकबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक पदमा १ जना तथा नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८१ जेठ ६ गतेको निर्णयअनुसार  प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा ९ जना गरी जम्मा १० जना प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राई तथा प्राविधिक प्रहरी निरीक्षकहरू सरीता केसी, सोनिम महत्तो, शैलेन्द्र कुमार सिंह, गणेश कुमार पाण्डेय, बलदेव बडु, तिर्थ बहादुर थोकर, राजन बहादुर बुढाथोकी र हिमाल खड्का रहनुभएको छ । पदोन्नति भएकामध्ये प्राविधिक प्रहरी निरीक्षक श्री भगवान प्रसाद कुशवाह वैदेशिक तालिमका लागि हाल कोरियामा हुनुहुन्छ । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई सांगठनिक हितमा थप हौसला र लगनशीलताका साथ सेवा गर्नका निम्ति प्रहरी अधिकृतहरू थप उत्प्रेरित हुने विश्‍वास व्यक्त  गर्नुभयो । नेपाल प्रहरीमा विभिन्न प्राविधिक समूहले पुर्‍याएको सेवाको प्रशंसा गर्दै प्रविधिको प्रयोगले अपराधमा बढ्दो सूचनाको दुरूपयोग जस्ता चुनौतिको सामना गर्न नेपाल प्रहरीलाई सहज भएको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले शान्ति सुरक्षा एवम् प्रमाणमुखी अपराध अनुसन्धान र नागरिकमैत्री प्रहरी सेवामा प्राविधिक सेवाको महत्वबारे चर्चा गर्दै प्रहरी सेवालाई थप प्रविधिमैत्री बनाउँदै समयसापेक्ष सुदृढ गर्दै लैजानुपर्ने आवश्यकता रहेको उल्लेख गर्नुभयो । प्राविधिक सेवालाई थप प्रभावकारी बनाउन पदोन्नतिसँगै बढेको थप जिम्मेवारी र दायित्वलाई प्रहरी अधिकृतहरूले सोही अनुरूप बहन गरी कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । समारोहमा पदोन्नति भएका प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ज्ञानेन्द्र कुमार राईले उपलब्ध स्रोत साधनको उपयोग गरी आ-आफ्नो जिम्मेवारीप्रति पूर्ण जवाफदेहीताका साथ ठोस् प्रतिफल दिने गरी कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

‘महिला, शान्ति र सुरक्षा’ विषयक कार्यशाला सम्पन्न
२०८१-०२-०३

काठमाडौं, नेपाल प्रहरीको समन्वय र सहकार्य तथा International Police Peacekeeping Operations Support Programs (IPPOS) र United Nations Institute for Training and Research (UNITAR) को आयोजनामा संचालित महिला, शान्ति र सुरक्षा (Women, peace and Security-WPS) विषयक कार्यशाला सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित कार्यक्रमबीच उक्त कार्यशाला  सम्पन्न भएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले कार्यशालामा सहभागीहरूलाई प्रमाणपत्र प्रदान गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले संयुक्त राष्ट्र संघ शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता बारे चर्चा गर्दै आगामी दिनमा शान्ति स्थापना क्षेत्रहरूमा क्षमता अभिवृद्धिको लागि थप सहयोग, समन्वय र सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । कार्यशालामा प्रभावकारी शान्ति स्थापनामा महिलाको समान सहभागिताको लागि आवश्यक मूल्याङ्कन र अन्तरविश्‍लेषणमा समेत छलफल एवम् अन्तरक्रिया भएको उहाँले उल्लेख गर्नुभयो । United States Department of State, International Narcotics and law Enforcement Affairs, Regional Chief Marcy Brown ले कार्यशालाको उद्देश्य र महत्वबारे आफ्नो धारणा व्यक्त गर्नुभएको उक्त कार्यक्रममा UNITAR का Masa Dikanovic ले कार्यशाला सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । वैशाख ३१ गतेदेखि संचालित उक्त कार्यशालामा नेपाल प्रहरीबाट ७ जना, सशस्त्र प्रहरी बल नेपालबाट २ जनाको साथै अष्ट्रेलिया, बंगालादेश, भुटान, ब्राजिल, बुर्किना फासो, चीन, फिजी, गाम्बिया, जर्मनी, इन्डोनेशिया, नेदरल्याण्ड, नाइजर, रूवान्डा, सेनेगल, सामोआ, तान्जेनिया, युएई लगायतका विभिन्न राष्ट्रका प्रहरी अधिकृतहरूको साथै UN Women, UN Light Coordination Mechanism (LCM) का प्रतिनिधि समेत गरी जम्मा ३१ जनाको सहभागिता रहेको थियो । 

चार जना वरिष्ठ प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-३०

काठमाडौं, हालै पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय उमेश राज जोशी र भिम प्रसाद ढकाल तथा प्राविधिक प्रहरी नायव महानिरीक्षकद्वय डा. देउती गुरूङ र ई. नबिन्द अर्याल दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । नेपाल सरकार मन्त्रिपरिषद्को २०८१ वैशाख २७ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा जोशी र ढकाल तथा नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८१ वैशाख २३ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायव महानिरीक्षक पदमा गुरूङ र अर्याल गरी ४ जना वरिष्ठ  प्रहरी अधिकृतहरू पदोन्नति हुनुभएको थियो । दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै जिम्मेवारी वोध गरी संगठनको हितमा रणनीतिक रूपमा विशेष भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । आगामी दिनमा कुशल नेतृत्व प्रदान गर्न आग्रह गर्दै परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित संगठनको छवि र शिर उच्च पार्न भूमिका निर्वाह गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले नीति निर्माण र मानवश्रोत व्यवस्थापनतर्फ नेतृत्व वर्ग संवेदनशील भई काम गर्नुपर्ने उल्लेख गर्दै दायित्व निर्वाह गर्ने क्रममा आइपर्ने समस्या र चुनौतीहरू निस्तेज पार्न परिस्थितिको आँकलन गरी स्पष्ट धारणासहित तहगत जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुपर्ने बताउनुभयो । राष्ट्र, संगठन र नागरिकलाई दिएको योगदानको कदर गर्दै पदोन्नति गरिएको चर्चा गर्दै उहाँले पदोन्नति पश्‍चात अपराध अनुसन्धान तथा नियन्त्रण समेतमा प्राविधिक क्षेत्रबाट अझ रचनात्मक योगदान पुग्ने विश्‍वास उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उमेश राज जोशीले पदोन्नतिसँगै थपिएको जिम्मेवारी भरोसा, विश्‍वास र थप कर्तव्य वोधका साथ पूरा गर्ने बताउनुभयो । पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रमाणमुखी एवम् वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राखी रणनीतिक रूपमा आ-आफ्नो भूमिका निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरूको उपस्थिति रहेको थियो ।

नागरिकलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्नुपर्ने: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८१-०१-३०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नागरिकलाई केन्द्रबिन्दुमा राखेर सकारात्मक, निस्वार्थ र पूर्ण निष्ठाका साथ आफ्नो ज्ञान र कौशल प्रयोग गरी उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले विभागीय रूपमा पाएको नीति निर्देशन तथा नेपाल प्रहरी कार्ययोजना २०८० अनुसार सांगठनिक उदेश्य एवम् लक्ष्य प्राप्त गर्नका लगि परिणाममुखी समन्वयका साथ सामुहिक प्रयास सहित इमानदार, उर्जाशील एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफैलाई उत्प्रेरित गर्दै काम गर्न निर्देशन दिनुभयो । विभिन्न किसिमका गतिविधिलाई ध्यानमा राखी सांगठनिक सुद्धिकरण र सुदृढिकरणलाई केन्द्रबिन्दुमा राखेर प्रहरीको व्यवसायिकता झल्काउने र आफ्नो पहिचान राम्रो राख्ने गरी सकारात्मक सोचका साथ कार्यसम्पदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको विधि र मापदण्डलाई कार्यान्वयन गर्ने, सोही अनुसार कार्यसम्पादन गर्ने र सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गरी न्याय दिलाउन ध्यान दिनुपर्ने बताउनुभयो । संगठनलाई आँच आउने, विधि उल्लघंन गर्ने र संगठनको नीति विपरीत काम गर्ने जो कोही प्रहरी कर्मचारीलाई कारबाहीको दायरामा ल्याइने उहाँले बताउनुभयो ।यसअघि नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, प्रशासन विभागका प्रहरी नायव महानिरीक्षक केदार ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मारक उद्यान र द लाइब्रेरी क्याफे उद्‍घाटन
२०८१-०१-२८

उदयपुर, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय उदयपुर परिसरमा नव-निर्मित शैलेश्‍वर शिव पाञ्चायन मन्दिर, अमर प्रहरी स्मृति उद्यान र द लाइब्रेरी क्याफेको शुक्रबार उद्‌घाटन गर्नुभएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उत्कृष्ट प्रहरी कर्मचारी र प्रहरीलाई सहयोग गर्नु हुने महानुभावहरूलाई प्रशंसापत्रद्वारा तथा ८० वर्षभन्दा बढि उमेर भएका पूर्व प्रहरी कर्मचारीहरूलाई दोसल्ला ओढाई सम्मान गर्नुभयो । साथै उहाँले शैलेश्‍वर शिव पाञ्चायन मन्दिरमा पुजा अर्चना समेत गर्नुभयो । उद्‌घाटन पश्‍चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित मन्दिरले प्रहरी कर्मचारीहरूलाई आध्यात्मिक शान्ति मिल्नुका साथै आफ्नो कार्य सम्पादनमा पेशागत दायित्व निर्वाह गर्न, सतमार्ग र सदविवेक प्रयोग गर्न अन्तस्करण भावनाको बृद्धि हुने बताउनुभयो । धार्मिक आस्था एवं विश्‍वासले मानिसलाई सकारात्मक उर्जा प्रदान गर्ने, हौसला मिल्ने र गलत क्रियाकलाप गर्नबाट रोक्नुका साथै कार्य बोझबाट हुने तनाव कम गर्न समेत सहयोग पुग्ने विश्‍वास उहाँले ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले रचनात्मक सोचले निर्माण गरिएको क्याफेले प्रहरी र नागरिक बिचको सम्बन्धलाई नजिक बनाउन सेतुको भुमिका निर्वाह गर्नुका साथै प्रहरी कर्मचारीहरूमा पठन पाठनको विकास हुने विचार व्यक्त गर्नुभयो । बौद्धिक जगतका व्यक्तित्वहरूसँग शान्ति सुरक्षा सम्बन्धी समसामयिक विषयवस्तुमा बौद्धिक मन्थन एवं चिन्तन गर्ने थलोको रूपमा लाइब्रेरी क्याफे प्रभावकारी हुने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुबेर खापुङले मन्दिर निर्माण भएबाट प्रहरी कर्मचारीहरूमा सकारात्मक उर्जाको प्रवाह भई कार्य क्षमतामा वृद्धि हुने चर्चा गर्दै नयाँ परिकल्पना स्वरूप रहेको लाइब्रेरी क्याफेबाट ज्ञानगुनका साथै नयाँ ऐन, नीति, नियम, कानूनको बारेमा जानकार रहन अवसर मिल्ने बताउनुभयो । कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका त्रियुगा नगरपालिकाका प्रमुख बसन्त कुमार बस्नेतले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा उदयपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे, त्रियुगा जनता बहुमुखी क्याम्पसका प्रमुख डा. कैलाश कुमार राई, त्रियुगा नगरपालिकाका उप-प्रमुख महेश्‍वरी राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, जिल्ला न्यायाधीश हरिश्चन्द्र इङनाम, विभिन्न स्थानिय पालिकाहरूका प्रमुख, जन-प्रतिनिधिहरू, जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू, स्थानीय भद्र भलादमी, नागरिक समाजका प्रतिनिधिहरू, पुर्व प्रहरी कर्मचारीहरू, संचारकर्मीहरू, विभिन्न सरकारी तथा गैह्र-सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।   उक्त कार्यक्रम पश्‍चात प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र जिल्लास्थित अमर प्रहरी परिवार तथा पुर्व प्रहरी कर्मचारीहरू बिच समसामयिक विषयमा अन्तर्क्रिया तथा छलफल समेत भएको थियो ।

नेपाल प्रहरी कार्ययोजना तथा कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक समीक्षा सम्पन्न
२०८१-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यसम्पादन सम्झौताको तेस्रो त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागबाट प्रकाशित ‘अपराध अनुसन्धान दिग्दर्शन’ पुस्तकको विमोचन समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको आन्तरिक सुदृढिकरणलाई प्रमुख आधार विन्दु मान्दै तयार गरिएको नेपाल प्रहरी कार्ययोजनामा आधारित रहेर चालु आर्थिक वर्षमा गरिएको कार्यसम्पादन सम्झौता कार्यान्वयनको हालसम्मको अवस्था सन्तोषजनक रहेको बताउनुभयो । वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी सम्पूर्ण क्रियाकलापको कार्यान्वयनमा थप  तीव्रता दिन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा मात्र सीमित नराखी तत्काल कार्यान्वयनमा लैजानु पर्नेमा जोडदिँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘वार्षिक लक्ष्य अनुसार मातहत कार्यालयहरूले कार्यसम्पादन गरेको छ वा छैन अथवा प्रगति हासिल गरेको छ/छैन सो सम्बन्धमा उपत्यका तथा प्रदेश प्रहरी कार्यालयहरूले नियमित अनुगमन, मूल्याङ्कन तथा मार्गनिर्देशनलाई निरन्तरता दिनुपर्छ । कार्यसम्पादन सम्झौता र वार्षिक कार्ययोजना दस्तावेजको रूपमा मात्र सीमित नहोस् भन्नेतर्फ हामी उत्तिकै संवेदनशील हुनुपर्ने देखिएको छ ।’ कार्ययोजना तय गर्दा होस् वा कार्यसम्पादन करार गर्दा आम नागरिकलाई प्रदान गरिने सेवा प्रवाह, सांगठनिक सुदृढिकरण र आन्तरिक शुद्धिकरणलाई केन्द्रविन्दुमा राखेर गरिएको हुनाले वार्षिक लक्ष्य प्राप्ति र सम्पूर्ण विषयको तादम्यता मिलेको हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरूको आचरण व्यवहारमा आउने सुधारसँगै आम नागरिकमा प्रहरी प्रति प्रकट गरिने रूष्टता तथा गुनासोमा स्वत: कमी आउने तथ्यलाई समेत ध्यानमा राखी कार्यसम्पादन गर्न प्रदेश तथा जिल्ला तहका कमाण्डरहरूलाई निर्देशन समेत दिनुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिहरूले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, नागरिक केन्द्रित प्रहरी सेवा प्रवाहमा सुदृढिकरण लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख बिच शिष्टाचार भेटघाट
२०८१-०१-२०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र इन्डोनेसियन नेशनल प्रहरीका हेड अफ इन्टरनेशनल रिलेसन्स् डिभिजन प्रमुख आइजीपी कृष्ण मुर्ती बिच बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उहाँहरू बिच आपसी सहयोग, सूचनाको आदान प्रदान तथा समन्वय लगायतका विषयमा छलफल समेत भएको थियो । यसअघि आइजीपी कृष्ण मुर्ती समेत ६ सदस्यीय टोलीको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवम् अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो ।सो अवसरमा आइजीपी कृष्ण मुर्तीले इन्डोनेसियन नेशनल प्रहरीको काम, कर्तव्य बारेमा विस्तृत रूपमा जानकारी दिँदै सूचना आदान प्रदान, अन्तरदेशीय अपराध, साइबर अपराध, संयुक्त राष्ट्र संघीय मिसनमा सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताउनुभयो । सो क्रममा इन्डोनेसियन नेशनल प्रहरीका वरिष्ठ उपरीक्षक लियो एण्डी गुनावानले संयुक्त राष्ट्र संघीय मिसनमा इन्डोनेसियन नेशनल प्रहरीको सहभागिताबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । आइजीपी कृष्ण मुर्ती समेतको टोली ५ दिने भ्रमणका सिलसिलामा मंगलबार नेपाल आएको थियो । कृष्ण मुर्ती सहितको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम रहेको छ ।

हेड अफ एनसिबी कन्फरेन्समा सहभागी भई प्रहरी महानिरीक्षक स्वदेश फिर्ता
२०८१-०१-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसिबी कन्फरेन्स’मा नेपालको तर्फबाट सहभागी भई बुधबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक कुँवरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यका विषयहरूमा छलफल भएको थियो । साथै सदस्य राष्ट्रहरूबीच Expanding access to I-24/7, Sharing more criminal data, Intercepting criminal proceeds, Protecting children र Enhancing data protection लगायतका एजेन्डामा छलफल तथा सहमति भएको थियो ।National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरले आपराधिक घटनाको सूचना आदान प्रदान, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building एवम् पारस्परिक सहयोग आदान प्रदानका विषयहरूमा मित्रराष्ट्रहरू भारत, चीन र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय छलफल समेत गर्नुभएको थियो । प्रहरी महानिरीक्षक कुँवर कन्फरेन्समा सहभागी हुन वैशाख १० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेतको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवर हेड अफ एनसिबी कन्फरेन्समा सहभागी हुन फ्रान्स प्रस्थान
२०८१-०१-१०

काठमाडौं,   National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकाल लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।हेड अफ एनसिबी कन्फरेन्समा मुख्य रूपमा INTERPOL NCB’S: A united front against the threat of transnational organized crime लगायत अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९६ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू, इन्टरपोल महासचिव तथा पदाधिकारी बिच समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुनेछ । साथै सहभागिताको क्रममा समसामयिक घटना, अपराध अनुसन्धानको विषय तथा सम्बद्ध प्रहरी कर्मचारीको Capacity building का विषयहरूमा छलफलको लागि मित्रराष्ट्रहरू भारत, चीन, जापान र मलेसियाका प्रतिनिधिहरूसँग द्विपक्षीय बैठक गर्ने कार्यक्रम समेत रहेको छ ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२४ अप्रिल २३ देखि २५ (तद्अनुसार २०८१ वैशाख ११ देखि १३ गते) सम्म फ्रान्सको लियोनमा सम्पन्न हुनेछ । कन्फरेन्समा प्रहरी उपरीक्षक रबिन्द्र बहादुर सिंह समेत सहभागी हुनु हुनेछ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वयको विदाइ
२०८१-०१-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ ।  बिदाइ समारोहमा शुभकामना मन्तव्य व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले उच्च तहमा पुगी आफूलाई तोकेको जिम्मेवारी उत्कृष्ट हिसाबले पूरा गर्नुभएको कार्य सह्रानीय रहेको बताउनुभयो । आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले तपाईहरूको व्यावसायिक जीवनमा धेरै सकारात्मक कुराहरू रहेकोले आगामी दिनमा संगठनको हितका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विदाइ भई जान लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप ‌भण्डारी र सेवानिवृत्त हुन लाग्नु भएका प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले आफ्नो सेवा अवधिमा गरेका विभिन्न क्षणहरू स्मरण गर्दै अनुभव सहितको आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा समेत संगठनलाई सक्दो रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो ।  विसं २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएका प्रहरी अतिरिक्त महानिरीक्षक सन्दीप भण्डारी वैशाख ५ गते सेवानिवृत्त हुनुभएको छ भने प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरी वैशाख ७ गते सेवानिवृत्त हुन लाग्नु भएको हो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकासमा जान लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको   थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०८१-०१-०४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा मंगलबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रूपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरू समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रूपमा मौलो पूजा गर्दै आएको छ ।

१९ जना प्रहरी नायव उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८१-०१-०२

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २८ गतेको निर्णयले प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा पदमा पदोन्नति भएका १९ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव उपरीक्षकहरूमा निर्मल पनेरू, ऋषिराम घर्तिमगर, दिपक मल्ल, धन बहादुर बोहोरा, जनार्दन घिमिरे, आयुश प्रसाद जोशी, लक्ष्मण ओली, शैलेश्वरी बोहरा, नविन पौडेल, योगेन्द्र तिमिल्सिना (उपाध्याय), पुरूषोत्तम कार्की, हिरेन्द्र बहादुर रोकाय, गुणराज बुढाथोकी, राम प्रसाद तिमल्सिना, भिषणबाबु राई, रूक बहादुर खड्का, रण बहादुर चन्द, राजन लामा र कमल कुमार खड्का रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूबाट सम्पादित हुने कामकारवाही थप रचनात्मक र निष्ठापूर्ण भूमिकाको अपेक्षा गरिएको बताउनुभयो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर निरन्तर संगठनको प्रतिष्ठालाई उच्च बनाउन जिम्मेवार रहि खरो रूपमा उत्रिन उहाँले निर्देशन दिनुभयो । नेपाल प्रहरीमा प्रचालनमा रहेका कार्यशैली, अभ्यास, पद्धति, विधि, प्रक्रिया र प्रणालीलाई वैज्ञानिक, पारदर्शी, न्यायोचित र विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता महसुस गरी चिन्तनशील भएर गृहकार्य अघि बढाइएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सांगठनिक सुदृढिकरण र तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र पद्धतिमा डोर्‍याउन सबैको रचनात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहन्छ ।”  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक निर्मल पनेरूले आपसी समझदारी,  इमानदारी र जिम्मेवारी बोधका साथ स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव सम्पन्न
२०८०-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा मंगलबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ४०औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । उहाँले अस्पतालमा नवनिर्मित इमर्जेन्सी भवन र मोडुलड अप्रेसन थिएटरको उद्‍घाटन गर्नुका साथै अवलोकन तथा बिरामीसँग भेटघाट समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरू समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०८०’ र नेपाल मेडिकल जर्नलको लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहलाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले अस्पतालका भिजिटिङ कन्सल्टेन्ट प्रध्यापक डा. सानु मैया दली, अस्पताललाई स्थापना कालदेखि सेवा सहयोग गर्नुहुने पूर्व प्रहरी नायव उपरीक्षक श्री बहादुर थापा र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई कदरपत्र प्रदान गर्नुभयो । यसै गरी एन.पि.एल. समाज कल्याण संस्था ललितपुरलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत स्त्री तथा प्रसुती विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार तथा प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो । प्रहरी कर्मचारी तथा तिनका परिवारमा प्रदान गरिने स्वास्थ्य सेवाको आधारमा प्रहरीको कर्मचारीको मनोबल, उत्प्रेरणा, हौसलाका साथै स्वास्थ्यमा समेत अभिवृद्धि भई तिनीहरूबाट सम्पादित कार्यसम्पादनमा सकारात्मक नतिजा आउने हुँदा यसतर्फ विशेष सजगता र मानवीय संवेदना अपनाई सेवा गर्नुपर्ने बताउँदै शारीरिक तथा मानसिक रूपले सक्रिय रहनुपर्ने प्रहरी कर्मचारीहरूको स्वास्थ्य अवस्था र प्रहरीबाट सम्पादित कार्यसम्पादन एवम् प्रभावकारी सेवा प्रवाह एक अर्कासँग अन्तरसम्बन्धित विषयवस्तु भएको हुँदा संगठनले यसलाई उच्च प्राथमिकतामा राखेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पतालमा सेवा लिन आउने बिरामी प्रतिको व्यवहार र सहानुभूतिपूर्ण उपचारको ठूलो अर्थ रहने हुँदा व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो पेशा एवम् सेवाप्रति संवेदनशील हुन र आन्तरिक प्रतिस्पर्धा तथा अन्य सांगठिनक मूल्य मान्यतामा क्षय हुने क्रियाकलापमा नरूमल्लिईकन समग्र संगठनको शिरलाई केन्द्रबिन्दुमा राखेर कार्यसम्पादन गर्न अस्पतालका सम्पूर्ण चिकित्सकवर्ग तथा प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । अस्पतालले विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र प्रभावकारी तथा अस्पतालको दीर्घकालिन विकासका लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पताललको विकास र विस्तारमा सँधै सहयोगी र सकारात्मक रहँदै यसका लागि संगठनले खेल्नुपर्ने भूमिका तथा सहयोगप्रति सदैव चिन्तनशील तथा प्रतिबद्ध रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघका अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ह्‍विल चियर १० थान अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले ‘हेल्दी वेवी सो कन्टेस्ट’ कार्यक्रममा छनौट भएका ३ जना शिशुहरूलाई पुरस्कार प्रदान गर्नुभयो । साथै संघका अध्यक्ष तथा पदाधिकारीहरूले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवालाई विस्तार गरि आम सर्वसाधारण नागरिकहरूलाई समेत सर्वसुलभ रूपमा गुणस्तरीय सेवा दिइरहेको उल्लेख गर्नुभयो । अस्पतालबाट प्रदान गरिने सेवालाई अझ गुणस्तरीय बनाउन अस्पताल प्रशासन सदैव प्रयासरत रहेको उहाँले बताउनुभयो ।  नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.सुन्दर प्रसाद हैंजुले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

संगठनको नीति अनुसारको काम फिल्डमा हुनुपर्छ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-१२-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नयाँ परिवेश बमोजिम प्रहरी संगठनले लिएको नीति अनुसार प्रहरी अधिकृतहरूले फिल्डमा काम गर्नुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षक तथा प्रहरी नायव उपरीक्षकहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा पेशागत र व्यवसायिक सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको स्वार्थलाई माथि राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा नतिजा आउने गरी जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभयो । नयाँ कार्यक्षेत्रमा खटिएपछि त्यहाँको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप सरोकारवाला निकायहरूसँग समन्वय तथा सहकार्य गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, गुण्डागर्दी, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कडाईका साथ कानूनी दायरामा ल्याउन मातहत प्रहरी कर्मचारी तथा कार्यालयहरूलाई समेत क्रियाशील बनाउन सक्रिय हुनुपर्नेमा जोड दिनुभयो ।  यस अघि नेपाल प्रहरी प्रधान कार्यालय मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य र अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

१३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-१२-२३

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० चैत २१ गतेको निर्णयले एक तह पदोन्नति भएका प्रशासनतर्फका ८ जना र प्राविधिकतर्फका ५ जना गरी जम्मा १३ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादब ढकाल, सन्तोष तामाङ्ग, श्याम बाबु ओलिया, निरन्जन दत्त भट्ट, राजन लिम्बु, बिनोद घिमिरे र प्राविधिकतर्फका कमला लामा रहनुभएको छ । यसै गरी प्रावधिकतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका लक्ष्मी थापा, नितिन लाखे, चेत नारायण ज्ञवाली र सोम प्रसाद पंगेनी रहनुभएको छ ।  समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले आर्थिक लोभ, मोह तथा व्यक्तिगत महत्वकांक्षा र स्वार्थ भन्दामाथि उठेर सांगठनिक मूल्य र मान्यतालाई प्राथमिकतामा राखेर व्यावसायिक प्रहरी अधिकृतको रूपमा थप जिम्मेवार भई खरो रूपमा उत्रने विश्वास लिइएको बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई आ-आफ्नो क्षेत्र अन्तर्गत संगठनको सुदृढिकरणका लागि रचनात्मक क्रियाशिलतातर्फ अग्रसर रहन उहाँले निर्देशन दिनुभयो । सरूवा, बढुवा लगायतका पद्धति र प्रक्रिया वैज्ञानिक, पारदर्शी तथा न्यायोचित हुनुपर्छ र सोही अनुरूप नेतृत्व तह सदैव चिन्तित भएर अगाडि बढिरहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “त्यसमा सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट साझा प्रतिबद्धता, सामुहिक साथ र सहयोगको अपेक्षा लिएको छु ।” आफ्नो पद, जिम्मेवारी र संगठनप्रति जवाफदेही रहँदै संगठनको सुदृढिकरणमा सदैव दत्तचित भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक ढकेन्द्र खतिवडाले मस्तिष्कमा समझदारी, हृदयमा इमानदारी र काँधमा जिम्मेवारी बोध गरी स्वच्छ तथा व्यवसायिक प्रहरीको रूपमा कार्यसम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी राष्ट्र हितमा काम गर्न सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-१२-१९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले राष्ट्र र संगठनको हितको लागि इमानदार र निष्ठावान रहँदै उपलब्ध संयन्त्रको अधिकतम उपयोग गरी पूर्ण सक्रियताका साथ आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु लगायतका विषयमा सोमबार प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले विगतको तुलनामा राजस्व संकलन लक्ष्यभन्दा माथि रहेको उल्लेख गर्दै अबका दिनमा समेत फरार प्रतिवादी पक्राउ गर्न, राजस्व चुहावट रोक्न, तस्करी नियन्त्रण गर्न र राजस्व संकलन वृद्धिका लागि प्रभावकारी र परिणाममुखी ढंगबाट परिचालन हुन आवश्यक रहेको बताउनुभयो । संगठनको कार्यसम्पादन गुणस्तर बढाउन र लक्ष्य प्राप्त गर्न विशुद्ध रूपमा निष्ठापूर्वक काम गर्न उहाँले निर्देशन दिनुभयो ।    प्रहरी महानिरीक्षक कुँवरले संगठनको प्राथमिकताबारे सबैलाई जानकारी भएको चर्चा गर्दै सोही अनुरूप आन्तरिक शुद्धिकरण, स्थायित्व र सुशासनका सन्दर्भमा आफू रूपान्तरण हुने र सकारात्मक उत्प्रेरणाका साथ नागरिकमैत्री सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । प्रत्येक प्रहरी कार्यालयहरूको काम र गतिविधिको संगठनले समीक्षा गरिरहेको उल्लेख गर्दै प्रहरी कर्मचारीहरूले आफ्नो संयन्त्र राष्ट्र हितमा प्रयोग गर्दै माटोको पहिचान गरी संगठन र राष्ट्रको लक्ष्य हासिल गर्न राष्ट्र सेवकको रूपमा सहजीकरण गर्नुपर्ने उहाँले बताउनुभयो ।  कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयहरू र जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको   थियो ।

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८०-१२-१६

काठमाडौं, आर्थिक वर्ष २०८०/०८१ को वार्षिक तालिम क्यालेण्डरको वार्षिक समीक्षा तथा आर्थिक वर्ष २०८१/०८२ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी सम्पन्न भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच गोष्ठी समापन गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले गोष्ठीमा भएका छलफल एवम् आवश्यकता पहिचानका आधारमा तयार भएको तालिम क्यालेन्डर अनुरूप संचालित तालिम तथा प्रस्तावित तालिम क्यालेण्डर नेपाल प्रहरीको तालिमलाई सहज, सरल र प्रभावकारी बनाउन मार्ग चित्रको रूपमा रहने विश्वास व्यक्त गर्नुभयो ।  प्रशिक्षण प्रदायक ईकाइहरूले अघिल्लो तालिम क्यालेण्डर बमोजिम संचालित तालिमहरूका असल पक्षहरूको निरन्तरता तथा देखिएका समस्या एवम् सुधारका लागि आवश्यक पक्षहरू समेतको समीक्षा गर्दै आगामी दिनहरूमा तालिम संचालन गर्दा दूरदृष्टि पुग्नुपर्ने विषयका सम्बन्धमा गोष्ठी फलदायी रहने अपेक्षा रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले राज्यद्वारा प्रदत्त जिम्मेवारी प्रभावकारी ढंगबाट निर्वाह गर्नका लागि सक्षम एवम् व्यावसायिक प्रहरी जनशक्ति अपरिहार्य रहेको चर्चा गर्दै सो जनशक्ति उत्पादन गर्न आवश्यकतामा आधारित वैज्ञानिक र समय सापेक्ष प्रशिक्षण प्रणालीको भूमिका अत्यन्त महत्वपूर्ण रहने उल्लेख गर्नुभयो । प्रशिक्षणमा अन्य निकायहरूको असल अभ्यासहरूको अवलम्वन सँगै सेवा विशिष्टिकरणको आधारमा तालिम पाठ्यक्रमको निर्माण र सोही अनुरूपको तालिम गतिविधि संचालन तथा निरन्तरता आवश्यक पर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले बदलिँदो सामाजिक परिवेश, प्रविधिको द्रूत विकास सँगसँगै देखा परेका साइबर क्राइम, क्रिप्टोकरेन्सी, आर्थिक तथा वित्तिय अपराध, भूमि प्रशासन सम्बन्धी अनुसन्धानका क्षेत्रलाई समेत सम्बोधन हुने तालिमका कार्यक्रम आगामी तालिम क्यालेण्डर निर्माणका क्रममा समावेश हुने विश्वास लिएको बताउनुभयो । परम्परागत पद्धतिको प्रशिक्षण एवम् पाठ्यक्रमले मात्र दक्ष जनशक्ति निर्माण गर्न नसकिने हुँदा प्रशिक्षणका विविध आयाममा समयानुकूल परिवर्तन र परिमार्जनलाई आत्मसात् गर्दै राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय स्तरका प्रशिक्षण विधिहरूको साथसाथै भर्चुअल तालिम तथा अभिमूखिकरण कार्यक्रमहरूको अवलम्बन समेत तालिम क्यालेण्डरको प्राथमिकतामा रहनु पर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले संगठनलाई आवश्यक पर्ने दक्ष जनशक्तिको उत्पादन तथा विकास गर्ने कार्यमा नेपाल प्रहरीका मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूको महत्वपूर्ण भूमिका रहँदै आएको बताउनुभयो । नेपाल प्रहरीमा संचालन हुने तालिमहरूलाई अझ वैज्ञानिक, व्यवस्थित र उद्देश्य मुलक बनाउने लक्ष्यसहित आयोजना गरिएको गोष्ठीमा प्राप्त महत्वपूर्ण र विश्‍लेषणात्मक राय, सुझाव र सल्लाहहरूले तालिम क्यालेण्डर तर्जुमा र संचालन कार्यमा अतुलनीय योगदान पुगेको विचार उहाँले व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका सहनिर्देशक प्रहरी वरिष्ठ उपरीक्षक दीप शम्शेर राणाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरू समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । गोष्ठीमा आगामी आर्थिक वर्ष २०८१/०८२ को तालिम क्यालेण्डर निर्माण सम्बन्धमा तालिम आवश्यकता पहिचान, हालसम्म तालिम प्राप्त जनशक्ति र तालिम प्राप्त गर्न बाँकी जनशक्ति विवरण, प्रशिक्षण निकायले आफ्नो प्रशिक्षण ईकाइको विशिष्टता तथा विज्ञता अनुसारको तालिम प्रस्ताव, ठूलो संख्यामा रहेका प्रहरी जवान तथा प्रहरी हवल्दारहरू तालिम तथा वृत्ति विकासको अवसर समेतलाई ध्यान दिनुपर्ने लगायतका विषयहरूमा छलफल भएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो । गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो । 

आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै उत्कृष्ट ढंगले जिम्मेवारी वहन गर्नुपर्ने: प्रहरी महानिरीक्षक कुँवर
२०८०-१२-१२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले संगठनले लिएको नीति अनुरूप आन्तरिक शुद्धिकरणलाई आत्मसात् गर्दै प्रहरी अधिकृतहरूले तोकिएको जिम्मेवारी उत्कृष्ट ढंगले पूरा गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ । हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी नायव उपरीक्षकहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले आफ्नो जिम्मेवारी पूरा गर्न थप सक्रिय हुनुपर्ने बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ भन्दा पनि नागरिकलाई केन्द्रमा राखेर नागरिकको विश्‍वास जित्ने गरी कार्य सम्पादन गर्नुपर्नेमा जोड दिँदै आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ प्राप्त जिम्मेवारी पूरा गर्नुपर्ने बताउनुभयो । आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्‍लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले राजश्‍व चुहावट नियन्त्रण तथा तस्करी नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गर्न निर्देशन दिँदै लागूऔषध नियन्त्रण तथा रोकथाम, फरार अपराधी पक्राउ, जघन्य अपराधको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । विपद्का घटना सम्बन्धित निकायसँग समन्वय गरी कार्य सम्पादन गर्नुपर्ने तथा भिड नियन्त्रणमा बल प्रयोगको सिद्धान्तलाई आत्मसात् गरी उचित प्रहरी परिचालन तथा व्यवस्थापन गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । हिरासत व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने, आफ्नो बोली वचनमा सुधार गर्दै नागरिकमैत्री व्यवहार गर्नुपर्ने, संगठनप्रति निष्ठावान हुनुपर्ने, प्रचलित कानूनलाई ध्यानमा राखेर मातहत प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउँदै परिणाममुखी काम गर्न निर्देशन दिनुभयो ।  यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
२०८०-१२-०९

नवलपरासी पश्चिम, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी पश्चिममा संचालित नवौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा शुक्रबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले सम्बोधनको क्रममा नेपाल प्रहरीकै अत्यन्त कठिन, मानसिक र शारीरिक दुवै पक्षबाट चुनौतिपूर्ण रहेको यस तालिम सफलता पूर्वक सम्पन्न गर्नुहुने सम्पूर्ण प्रशिक्षार्थीहरूलाई बधाई दिनुभयो । नेपाल प्रहरीले सामना गर्नुपर्ने विविध चुनौतिहरू र समस्याहरू मध्ये विशेष तवरको युक्ति तथा कलाको आवश्यकता पर्ने कार्यक्षेत्रको पहिचान गरी आवश्यक पर्ने दक्ष जनशक्ति दिक्षित गर्न यस महाविद्यालयले प्रशिक्षणमा पुर्‍याएको उल्लेखनीय योगदानको सराहना उहाँले गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले विविध युक्तिकला, हातहतियार र विष्फोटक पदार्थ ह्याण्डलिङ जस्ता पक्षहरूमा मात्र पोख्त नभई विशेष परिस्थितिहरू एवम् शारीरिक तथा मानसिक थकानले प्रस्तुत गर्ने चुनौतिहरूको समेत सामना गर्न योग्य विशेष क्षमताले सुसज्जित यस तालिम प्राप्त गर्ने प्रहरी कर्मचारीहरू विशेष हुने चर्चा गर्नुभयो । तालिमको अवधिमा प्राप्त गरेका सीप र कौशल प्रहरीको व्यावसायिक जीवनमा मात्रै नभई व्यक्तिगत जीवनका अन्य कैयौँ पक्षमा समेत उपयोगी र लाभदायक हुने उहाँले उल्लेख गर्नुभयो ।  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक भोला बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक हरि प्रसाद पौडेलले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ६ जना, प्रहरी सहायक निरीक्षक १८ जना र प्रहरी जवान ९० जना गरी जम्मा १ सय १४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा सुनवल नगरपालिकाका प्रमुख, रामग्राम नगरपालिकका प्रमुख, लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, स्थानीय जन प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको   थियो ।

प्रहरी महानिरीक्षक कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्मारक गुठीको वार्षिक साधारण सभा सम्पन्न
२०८०-१२-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा नेपाल प्रहरी स्मारक गुठीको ११औं वार्षिक साधारण सभा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले मानवीय सभ्यता र विकास सँगसँगै प्रादुर्भाव भएको प्रहरी हरेक विकट र विषम् परिस्थितिमा सुम्पिएको उत्तरदायित्व र कर्तव्य निर्वाहमा सदैव समर्पित रहेको बताउनुभयो । कैयौं सदस्यको निस्वार्थ बलिदान विषमपूर्ण घडिमा पनि अविचलित र दृढ रहन सक्ने इच्छा शक्तिको आधारशिलामा उभिएर नै नेपाल प्रहरीले आन्तरिक सुरक्षाको मेरूदण्डको रूपमा स्थापित हुन सफल रहेको उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले अमर अशक्त प्रहरी तथा आश्रित परिवारलाई सदैव साथ सहयोग होस् भन्ने भावनाले नै नेपाल प्रहरीको स्मारक गुठीको स्थापना भएको चर्चा गर्नुहुँदै गुठीले नेपाल प्रहरीका अमर अशक्त तथा आश्रित प्रहरी परिवारसँग एकआपसमा बाध्न सक्ने भूमिका निर्वाह गरेको, कर्तव्य पालनाको शिलशिलामा वीर र अमर प्रहरीले पुर्‍याएको योगदान सदा स्मरणीय भइरहेको उल्लेख गर्नुभयो । अक्षयकोष लक्षित वर्गप्रतिको सेवाप्रवाहमा थप कल्याणकारी योजना एवम् सिर्जनशील कार्यक्रम ल्याउनुपर्ने बताउनुहुँदै लक्षित वर्गप्रति सेवा महसुसु हुने गरी अक्षयकोषको परिचालन हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक विकाश तामाङले नेपाल प्रहरी स्मारक गुठीको संशोधित विधानको प्रस्तुतीकरण गर्नुभएको थियो । उक्त वार्षिक साधारण सभामा आगामी दिनमा अमर प्रहरीका परिवारलाई लक्षित गरी संचालन गर्न उपयुक्त हुने कल्याणकारी कार्यक्रम सम्बन्धि सुझाव संकलन, गुठीको संशोधित विधानको अनुमोदन तथा आर्थिक वर्ष २०७९/८० को खर्च विवरणको प्रस्तुति तथा अनुमोदन गरिएको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू एवम् प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।   

लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक गीति वृत्तचित्र विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-११-१४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा लागूऔषध रोकथाम तथा नियन्त्रण सम्बन्धी जनचेतनामूलक ‘गीति वृत्तचित्र’ विमोचन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लागूऔषध नियन्त्रण ब्यूरो र टोखा नगरपालिकाको संयुक्त आयोजनामा टोखा नगरपालिका-३ स्थित तुरचामा सोमबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गीति वृत्तचित्र विमोचन गर्नुका साथै वृत्तचित्र निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरूलाई सम्मान तथा कदरपत्र प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले लागूऔषध प्रयोगकर्तालाई लागू पदार्थप्रति वितृष्णा उत्पन्न गराउने तथा यसको नकारात्मक असरबारे सचेतना जगाउँदै स्वस्थ्य समाजको परिकल्पनाको उद्देश्यसहितको सन्देशमूलक गीति वृत्तचित्र निर्माण कार्य सराहनीय रहेको बताउनुभयो । व्यक्ति, परिवार, समाज मात्र नभई समग्र राष्ट्रको लागि नै गम्भीर चुनौतिको रूपमा रहेको लागूऔषध दुर्व्यसन नियन्त्रण र निराकरणमा समयमै एकजुट हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले लागूऔषधको प्रयोगले उत्पादनशील र श्रृजनशील युवा जनशक्ति गुमाउनुको साथै आपराधिक गतिविधि समेत वृद्धि हुने हुँदा लागूऔषध नियन्त्रण र रोकथामको लागि कानून कार्यान्वयन गर्ने निकायका साथै अभिभावक वर्ग, स्थानीय समाज र सरोकारवाला समेतको संयुक्त सहकार्य अपरिहार्य रहेको बताउनुभयो । उहाँले अगाडि भन्नुभयो, “प्रत्येक घरघरमा प्रहरी पुग्न नसक्ने हुँदा लागूऔषधको दुर्व्यसनबाट कुनै पनि व्यक्तिलाई बच्न, बचाउन अभिभावक र परिवारनै प्रथम संरक्षक एवम् सचेतकको भूमिकामा रहनुपर्ने हुन्छ ।” लागूऔषध रोकथाम तथा नियन्त्रणको क्षेत्रमा सहकार्य र साझेदारीसहितको सहभागिता प्रवर्द्धनमा नेपाल प्रहरी समाजसँग हातेमालो गर्दै अघि बढ्ने उल्लेख गर्दै यस कार्यमा सबै सरोकारवाला निकायहरूको समेत निरन्तर साथ र सहयोगको अपेक्षा रहेको उहाँले बताउनुभयो ।   कार्यक्रमका सभाध्यक्ष टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले धन्यवाद तथा समापन मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लागूऔषध नियन्त्रण ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द थपलियाले लागूऔषध दुर्व्यसन तथा रोकथामका उपायहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । साथै टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शेर बहादुर बिसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । उक्त गीति वृत्तचित्रमाथि अन्तरक्रिया समेत भएको कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, स्थानीय जनप्रतिनिधिहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, सामुदायिक विद्यालयका प्रधानाध्यापकहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, विद्यार्थीहरू, संचारकर्मी लगायतको सहभागिता रहेको थियो । 

बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरीको संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न
२०८०-११-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार संयुक्त बैण्ड कन्सर्ट कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी संगीत विद्यालयका म्युजिसियन र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का म्युजिसियनबाट संयुक्त रूपमा उक्त कन्सर्ट सम्पन्न भएको हो ।  सो अवसरमा नेपाल प्रहरी संगीत विद्यालयका तर्फबाट प्रहरी नायव उपरीक्षक भुला राज खनाल समेतको टोली र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का तर्फबाट क्याप्टेन Esther Hayes समेतको टोलीद्वारा विभिन्न सुमुधर धुन प्रस्तुत गरिएको थियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले Defence Attache, Colonel, Paul Smith र बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌को तर्फबाट क्याप्टेन Esther Hayes लाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । सोही अवसरमा Defence Attache, Colonel, Paul Smith  र क्याप्टेन Esther Hayes ले प्रहरी महानिरीक्षक कुँवरलाई समेत कृतज्ञताको चिनो प्रदान गर्नुभयो । वि.सं.२००९ सालमा शुरु भएको नेपाल प्रहरी संगित विद्यालय बैण्डद्वारा विभिन्न राष्ट्रिय दिवस, खेलकुद, संगठनका विभिन्न कार्यक्रम एवं विभिन्न स्थलहरूमा समयसमयमा सहभागिता र कन्सर्टको आयोजना गर्ने गरेको छ । बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌ र नेपाल प्रहरी संगित विद्यालयको सम्बन्ध सन् २००४ सालदेखि नै रहँदै आएको छ । संयुक्त रूपमा यी दुवै बैण्डहरूद्वारा समन्वय र सहकार्यमा संयुक्त तालिम र कन्सर्टहरू हुने गरेका छन् ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी श्रीमती सङ्घकी अध्यक्ष तथा पदाधिकारीहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, बैण्ड अफ द ब्रिगेड अफ गोर्खाज्‌का प्रतिनिधिहरू लगायत अन्य प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी उत्कृष्ट कार्यसम्पादन गर्नुपर्ने: प्रहरी महानिरीक्षक कुँवर
२०८०-११-०३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरीप्रति नागरिकको विश्वास अभिवृद्धि हुने गरी आ-आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी कर्चमारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरूलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधनको क्रममा उत्कृष्ट कार्य सफलताको शुभकामना दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको कार्ययोजना २०८० एवम् कार्य सम्पादन सम्झौता अनुरूप सांगठनिक लक्ष्य प्राप्तिको लागि सुम्पिएको जिम्मेवारी पूरा गर्न आ-आफ्नो कार्यक्षेत्रमा सामुहिक भावनाका साथ गुणत्मक काम गर्नुपर्ने बताउनुभयो । संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउन तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै उहाँले व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई जनपक्षिय काम गर्न निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख गर्दै शान्ति सुव्यवस्था कायम गर्न स्थानीय तह, नागरिक एवम् अन्य सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । मिटरव्याजी, लागूऔषध तथा अन्य तस्करी नियन्त्रणको साथै विभिन्न आपराधिक क्रियाकलापमा संलग्नलाई कानूनी दायरामा ल्याउन तथा त्यस्ता गतिविधि विरूद्ध सचेतना अभिवृद्धि गर्न मातहत कार्यालयहरूलाई समेत क्रियाशील बनाउन थप सक्रिय हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई र प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मीरा चौधरीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०८०-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६८औं वार्षिकोत्सव कार्यक्रम सोही प्रतिष्ठानमा सोमबार आयोजित विशेष समारोहबिच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीको प्रशिक्षण लगायत अन्य विभिन्न क्षेत्रमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक इन्द्र प्रसाद तिवारीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रशिक्षण गतिविधिलाई व्यवस्थित एवम् प्रभावकारी रूपमा संचालन गरी दक्ष एवम् व्यवसायिक जनशक्ति उत्पादन गर्नमा उल्लेखनिय योगदान पुर्‍याउने गण्डकी प्रदेश प्रहरी तालिम केन्द्र पोखरा कास्कीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अरूण पौडेललाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने केल्मी नेपालका प्रबन्ध निर्देशक उत्तम न्यौपानेलाई प्रशंसापत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार समेत प्रदान गर्नुभयो । उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०८०’ को लोकार्पण समेत गर्नुभयो ।  समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले संगठनले अख्तियार गरेका नीतिको सफल कार्यान्वयन तथा संगठनले निर्दिष्ट गरेको लक्ष्य प्राप्त गर्न व्यावसायिक तवरले प्रशिक्षित जनशक्तिद्वारा स्वतस्फूर्त रूपमा प्रदर्शित हुने निःस्वार्थ सेवा भाव र कर्तव्य बोधद्वारा प्रेरित कामकारबाहीबाट मात्र सम्भव हुने बताउनुभयो । समग्र संगठनको श्रीवृद्धि गर्न, समय, समाज र संगठनको आवश्यकता अनुसारको जनशक्तिको उत्पादन प्रहरी प्रशिक्षण र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख ध्येय हुनुपर्ने उहाँले बताउनुभयो ।  प्रहरी सेवा संवेदनशील र चुनौतीपूर्ण पेशाको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “यस सेवालाई सामान्य पेशा वा जीविकोपार्जनको एउटा माध्यमको रूपमा मात्र ग्रहण गर्ने कर्मचारीलाई व्यावसायिक सफलता प्राप्त गर्न कठिन हुन्छ भन्ने प्रारम्भिक ज्ञान हरेक प्रहरीले तालिमका दौरान नै बुझेको हुनुपर्दछ । प्रहरी सेवा केवल एक पेशा मात्रै हैन यो एउटा जीवनशैली हो र संगठनमा नवप्रवेशी सदस्यहरुलाई त्यो जीवनशैलीमा ढाल्ने प्रारम्भिक मार्ग प्रहरी प्रशिक्षण नै भएकोले यहाँका हरेक कर्मचारी सर्वोत्कृष्टताको अव्वल उदाहरण हुनुपर्छ ।” प्रतिष्ठानले प्रशिक्षणका हरेक आयामहरूमा आफूलाई अब्बल साबित गर्न समाजमा देखा परेका नविनतम चुनौतीहरूलाई श्रृजनशिल ढंगबाट सम्बोधन गर्न सक्ने प्रहरी कर्मचारी निर्माणमा अहम् भूमिका निर्वाह गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधार तथा प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै प्रतिष्ठानको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा रस्साकस्सी खेलको फाइनल प्रदर्शन तथा संगीत विद्यालयबाट सांगीतिक प्रस्तुति गरिएको थियो । समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, पूर्व प्रहरी महानिरीक्षक, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रतिष्ठानका पूर्व समादेशकहरू, नेपाली सेनाका सहायक रथी, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरू, आमन्त्रित अतिथिहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
२०८०-१०-२४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्यसम्पादन सम्झौता आ.व. २०८०/०८१ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समग्रमा कार्यसम्पादन सम्झौता गरिएका कार्यालयहरूबाट सन्तोषजनक कार्य सम्पादन भएतापनि वार्षिक लक्ष्य हासिल गर्न आगामी महिनाहरूमा बाँकी क्रियाकलापको कार्यान्वयनमा कार्यालयहरूबाट कार्य सम्पादनमा थप तीव्रता दिन आवश्यक रहेको उल्लेख गर्नुभयो । समयसापेक्ष सांगठनिक विकास, प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढिकरण र समग्रमा संगठनको शुद्धिकरण नै कार्ययोजनाको प्रमुख उद्देश्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले कार्ययोजना अन्तर्गत तर्जुमा गरिएका योजना प्रतिवेदनहरूलाई प्रतिवेदनमा नै सीमित नराखी तत्काल कार्यान्वयनमा लैजान जिम्मेवार सम्पूर्ण विभाग तथा कार्यालयहरूले जोड दिनुपर्ने बताउनुभयो । कार्यप्रगतिको विषयमा आफ्ना धारणा र सुझावहरू प्रस्तुत गर्दै उहाँले सम्पूर्ण जिम्मेवार विभाग तथा कार्यालयहरूबाट तयार भएका योजना प्रतिवेदन, निर्देशिका तथा मापदण्डहरूले अपेक्षित उद्देश्य हासिल तथा लक्ष्य प्राप्त हुने गरी तर्जुमा गरिएको छ/छैन भन्ने सम्बन्धमा सुनिश्चित हुन जरूरी रहेको बताउनुभयो ।  समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरूले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको साउनदेखि पुस महिनासम्मको कार्य प्रगति, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान विवरण, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, ट्राफिक व्यवस्थापन सुधार लगायतका विषयमा आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक कुँवरद्वारा दर्ज्यानी चिन्ह सुशोभन तथा म्युजिक भिडियो र पुस्तक विमोचन
२०८०-१०-१७

 काठमाडौं, नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको माघ १६ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति हुनुभएका रमेश कुमार बस्नेत दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो । सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले “प्रहरी साथमा छ” बोलको अपराध न्यूनीकरण सम्बन्धी जनचेतनामूलक म्युजिक भिडियोको विमोचन गर्नुभयो । उक्त म्युजिक भिडियोको परिकल्पना प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले गर्नुभएको हो भने रचनाकार दिल शिरिष र प्रकाश सपूत रहनुभएको छ । प्रकाश सपूत र सुदिप सागरको संगीत तथा प्रकाश सपूत र सुनिता दुलालको गायन रहेको उक्त म्युजिक भिडियोको निर्देशन आरन प्रोडक्सनबाट सुनिल बिकले गर्नुभएको छ ।   साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित “नेपाल प्रहरीले अनुसन्धान गरेका चर्चित घटनाहरूको सङ्ग्रह-भाग १” पुस्तकको विमोचन समेत गर्नुभयो । उक्त पुस्तकमा रहेका घटनाहरूको संकलन तथा लेखन प्रहरी नायव उपरीक्षकहरू रबिन्द्र नाथ पौडेल, बेद प्रकाश जोशी, पंच कुमार बाखु र प्रहरी निरीक्षक राजु अधिकारीले गर्नुभएको छ । साथै प्रहरी महानिरीक्षक कुँवरले पुस्तक लेखनमा संलग्न प्रहरी अधिकृतहरूलाई सोही अवसरमा सम्मान समेत गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू एवं प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ अस्पतालको गुणस्तर अभिवृद्धिमा लाग्नुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-१०-११

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यावसायिक निष्ठा एवम् सामुहिक भावनाका साथ उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा बिहीबार आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ सेवाग्राहीलाई भावनात्मक रूपमा महसुस हुने गरी सेवा प्रवाह गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले सीमित स्रोत साधनको समुचित प्रयोग गरेर व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई केन्द्रबिन्दुमा राखेर अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताउनुभयो ।  कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । अस्पताललाई स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नबिनतम् प्रविधि र पद्धतिलाई अंगिकार गरी स्वास्थ्य वातावरण तथा बिरामीमैत्री सेवा प्रदान गर्न नेपाल प्रहरी अस्पतालमा कार्यरत कर्मचारीहरू सबैमा सकारात्मक सोँचका साथ काम गर्ने वातावरण बनाउन सदैव प्रयासरत रहेको उहाँले उल्लेख गर्नुभयो ।उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरबाट इन्टरपोलद्वारा संचालित दुई वटा प्रशिक्षण कार्यक्रम उद्‍घाटन
२०८०-१०-०२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोल महासचिवालयद्वारा संचालित INTERPOL Project SOTERIA परियोजना अन्तर्गतका दुई वटा प्रशिक्षणको संयुक्त रूपमा उद्‍घाटन गर्नुभएको छ । दातृ निकायमा संलग्न व्यक्तिहरूबाट हुन सक्ने यौनजन्य दुर्व्यवहारको रोकथाम गर्ने प्रयोजनार्थ उक्त परियोजना अन्तर्गतको SOTERIA Operational Training for Border Management Officials विषयक र INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षण कार्यक्रमको प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार आयोजित एक कार्यक्रमबिच उद्‍घाटन गर्नुभएको हो । उद्‍घाटन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रशिक्षणले इन्टरपोल उपकरण र प्रणालीहरूलाई प्रभावकारी रूपमा प्रयोग गर्नका लागि सहभागीहरूलाई सीप, ज्ञान प्रदान गर्ने तथा अन्तर्राष्ट्रिय प्रहरी सहयोग र विभिन्न अपराध परिदृश्यहरूमा इन्टरपोल उपकरणहरूको जागरूकता बढाउने बिषयलाई सम्बोधन गर्ने उल्लेख गर्नुभयो । सीमा व्यवस्थापन अधिकारीहरूको लागि संचालित प्रशिक्षणले आपराधिक गतिविधिहरूलाई प्रभावकारी रूपमा पहिचान गर्न र सीमा व्यवस्थापन क्षमतालाई बलियो बनाएर अन्तर्राष्ट्रिय अपराधहरू विरुद्ध लड्ने प्रतिबद्धतालाई अझ जोड दिने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले विश्वले यौन उत्पीडन र दुर्व्यवहारसँग सम्बन्धित कठिनाइहरूको सामना गरिरहेको अवस्थामा विपन्न र कमजोर व्यक्तिहरूको हित, मर्यादा र सम्मानको रक्षा गर्न परियोजनाले खेलेको भूमिका प्रशंसनीय रहेको चर्चा गर्नुभयो । प्रशिक्षणबाट प्राप्त ज्ञान सिप सहभागीहरुको कार्य क्षेत्रमा लाभदायक हुने र अधिक सुरक्षित विश्वव्यापी समुदाय निर्माण गर्न सहयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।उक्त अवसरमा INTERPOL Project Soteria का Criminal Intelligence Officer, Frazer Waldron ले स्वागत मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा दुवै प्रशिक्षणहरूका प्रशिक्षकको रुपमा INTERPOL Project Soteria अन्तर्गतबाट ५ जना Officials हरुको उपस्थिति थियो । उक्त प्रशिक्षणमध्ये त्रिभुवन विमानस्थल कार्यालय गौचरमा संचालन हुने SOTERIA Operational Training for Border Management Officials विषयक प्रशिक्षणमा नेपाल प्रहरीका १३ जना अधिकृतहरु र अध्यागमन विभागका ७ जना अधिकृतहरु गरी जम्मा २० जना र नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा संचालन हुने INTERPOL Policing Capabilities Programme (IPCP) विषयक प्रशिक्षणमा नेपाल प्रहरीका अधिकृतहरु २० जना अधिकृतहरुको सहभागिता रहको छ । प्रशिक्षण माघ २ देखि ५ गतेसम्म संचालन हुने छ । 

नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि बढ्न सके समाज परिवर्तन सहज हुने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-०९-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गर्नुभएको छ ।‘म बद्लिन्छु अनि मेरो देश बद्लिन्छ’ भन्ने नाराका साथ काठमाडौं फोहोर सङ्कलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त विचार व्यक्त गर्नुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले यस अभियानले स्वभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै  समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्वपूर्ण काम गर्ने विश्वास व्यक्त गर्नुभयो । अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसेकेको कारणले सबै किसिमको समस्या आउने गरेकोले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल र नेपाल टेलिकमका प्रवन्धक हरि ढकालले शुभकामनसहित आ-आफनो मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको उक्त दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मुल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो । उक्त दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।दौड अभियानमा नेपाल प्रहरीका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत विभिन्न महानुभावहरूको सहभागिता रहेको थियो । 

नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍बीच समझदारी-पत्रमा हस्ताक्षर
२०८०-०९-२३

काठमाडौं, Road Accident Information Management System (RAIMS) सफ्टवेयर संचालन तथा ट्राफिक व्यवस्थापन सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरणमा सहकार्य गर्न नेपाल प्रहरी र राष्ट्रिय सडक सुरक्षा परिषद्‍ बिच समझदारी-पत्रमा हस्ताक्षर भएको   छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव ज्ञानेन्द्र कुमार झा ले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोह बिच सोमबार उक्त समझदारी-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सडक दुर्घटनाबाट हुने धनजनको क्षति एवम् ट्राफिक व्यवस्थापन गम्भीर विषय भएको चर्चा गर्नुभयो । यस सम्झौताले दुर्घटना न्यूनिकरणका साथै धनजनको क्षतिमा समेत कमी ल्याउन सहयोग पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनमा सडक सुरक्षा एवम् यातायात व्यवस्थापनसँग सम्बन्धित सबै सरोकारवाला निकायहरूको साथ सहयोग र समन्वय आवश्यक रहनेमा उहाँले जोड दिनुभयो ।  समारोहमा सडक सुरक्षा व्यवस्थापन विज्ञ डा. पार्थ पराजुलीले RAIMS सफ्टवेयर संचालन तथा ट्राफिक सम्बन्धी सुरक्षा उपकरणहरू हस्तान्तरण सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । यातायात पूर्वाधारहरूको व्यवस्थापन गरी सुरक्षा बढाउन, सीमापार व्यापारलाई सहज बनाउन र रणनीतिक सडक नेटवर्कको व्यवस्थापन क्षमताहरूलाई सुदृढ पार्ने सम्झौताको उद्देश्य रहेको छ । साथै, ती उद्देश्यहरू हासिल गर्न स्थानीय विज्ञहरूसँगको सहकार्यमा अन्तर्राष्ट्रिय परामर्शदाता समेत खटाइएको छ । नेपाल प्रहरीले चालेका मादक पदार्थ सेवन अनुगमन, लेन अनुशासन, सवारी भार क्षमता अनुगमन जस्ता कदमहरूले सडक दुर्घटनामा कमी ल्याउन सफल भएतापनि दीगो व्यवस्थापन र भरपर्दो सडक सुरक्षा अविलम्ब लागू गर्ने उद्देश्यका साथ मन्त्रालय, विश्व बैंक, राष्ट्रिय सडक सुरक्षा परिषद् र नेपाल प्रहरी बिचको सहकार्यमा पुन: RAIMS लागू गरिन लागेको कार्यक्रममा जानकारी गराइयो । समारोहमा विश्व बैंकका वरिष्ठ यातायात विज्ञ कृष्णन् श्रीनिभाशन, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, राष्ट्रिय सडक सुरक्षा परिषद्का पदाधिकारीहरू, सडक विभागका पदाधिकारीहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक कुँवरबाट जिल्ला प्रहरी कार्यालय पाल्पामा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०९-२२

पाल्पा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय पाल्पा परिसरमा नवनिर्मित निवास, ब्यारेक, हिरासत कक्ष तथा भान्साघर लगायतका भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले स्रोत साधन र संरचनाहरूको अभावमा समेत कुनै सम्झौता नगरी नेपाल प्रहरीले आफ्ना जिम्मेवारी पूरा गर्दै आइरहेको उल्लेख गर्दै नव-निर्मित संरचनाहरूले प्रहरीलाई थप हौसला उर्जा र मनोवलका साथ व्यवसायिक तवरले स्तरीय सेवा प्रवाह गर्न मद्दत मिल्ने विश्वास व्यक्त गर्नुभयो । संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धिदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगबाट संगठनलाई संस्थागत रूपमा मजबुत, दक्ष र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले प्रहरी दक्ष, सक्षम र व्यावसायिक हुनु भनेको राज्य र आमनागरिकहरू लाभान्वित हुनु हो र यसले समस्त देश र दीगो विकासको लागि महत्वपूर्ण भूमिका निर्वाह हुने निश्चित रहेको उल्लेख गर्नुभयो । सुरक्षाको अभावमा शान्ति र शान्तिको रिक्ततामा समृद्धि प्राप्तिको यात्रा पक्कै पनि सहज नहुने चर्चा गर्दै उहाँले भन्नुभयो, “सुरक्षा निकाय उपर हुने लगानी अन्तत: राष्ट्रको समृद्धिको यात्रातर्फको एक कोशेढुंगा हो भनेर सबैले बुझ्न जरूरी छ ।”लुम्बिनी प्रदेश प्रहरी कार्यालयका दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेशराज जोशीले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले र रामपुर नगरपालिकाका प्रमुख रमण वहादुर थापा लगायतले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक हेरम्ब शर्माले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.रोशन सारूले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ६ करोड ९५  लाख ५५ हजार ४ सय ३९ रूपैयाँ ३१ पैंसाको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । उद्‍घाटन समारोहमा जिल्लाका १० वटै पालिकाका प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा तल्लीन : प्रहरी महानिरीक्षक कुँवर
२०८०-०९-१४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले राज्यको कानुन कार्यान्वयन गर्ने, भौतिकदेखि बौद्धिक सम्पत्ति संरक्षणको जिम्मेवारी पाएको नेपाल प्रहरी सुरक्षाको अलावा साहित्य, कला तथा संस्कृति संरक्षण तथा सम्बर्धनमा क्षेत्रमा समेत तल्लीन रहँदै आएको बताउनुभएको छ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा शनिबार प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीद्वारा लिखित ‘सम्बन्धको दोबाटो’ नामक कथासङ्ग्रह लोकार्पण समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवा र साहित्य रचना फरक विधा जस्तो लागेता पनि कला, साहित्य र सिर्जना हरेक कार्य प्रकृतिसँग अन्तरसम्बन्धीत रहने चर्चा गर्दै नागरिक सेवामा खटिँदा देखे भोगेका विषयलाई समाजको दर्पणको रूपमा सर्जकले लिपिबद्ध गरी भरपूर सुगन्ध पस्केको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका अग्रज सदस्यहरूले साहित्य रचना र सिर्जनाका माध्यमबाट नेपाली साहित्य क्षेत्रमा गर्विलो छाप छोडेको स्मरण गर्दै संगठनका सदस्यबाट सिर्जित कथासङग्रह लोकार्पण गर्न पाउँदा गौरवान्वित महसुस भएको बताउनुभयो ।   उक्त अवसरमा समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै विशिष्ट अतिथिहरूले संयुक्त रुपमा उक्त कथासङ्ग्रह लोकार्पण गर्नुभएको थियो ।उक्त अवसरमा डा.धुर्ब चन्द्र गौतम र हरि अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्दै कथाकार केसी आफ्नो पेशाको साथै साहित्यकर्ममा समेत इमानदार, निष्ठावान र सफल रहेको चर्चा गर्नुभयो । साथै राजकुमार बानियाँ र ज्ञानु अधिकारीले पुस्तकको समीक्षा गर्दै पुस्तकमा समेटिएका कथाका विषयवस्तु एवं लेखकको लेखन कौशलताका बारेमा चर्चा गर्नुभएको थियो । उक्त कथासङ्ग्रहको प्रकाशक संस्था शिखा बुक्सका प्रमुख पुष्पराज पौडेलको सभाध्यक्षतामा सम्पन्न उक्त समारोहमा कथासङ्ग्रहका सर्जक प्रहरी नायव महानिरीक्षक रविन्द्र केसीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू,  साहित्यकारहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा आसरा सुधार केन्द्र फुलबारीको उद्‍घाटन
२०८०-०९-११

कैलाली, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धनगढी उपमहानगरपालिका-१४ ‘डि’ गाउँ फुलबारीस्थित आसरा सुधार केन्द्र फुलबारीको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक कुवँरले उक्त केन्द्रको निरीक्षण गर्नुका साथै केन्द्रको परिसरमा वृक्षारोपण समेत गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक कुँवरले उक्त केन्द्रको स्थापनाका लागि सहयोग पुर्‍याउनु हुने विभिन्न महानुभावहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका अन्य सुधार केन्द्र जस्तै यस शाखाले पनि आफ्नो विशिष्ट र प्रभावकारी पहिचान बनाउँदै सामाजिक सेवामार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन थप मद्दत पुर्‍याउने  बताउनुभयो । लागूऔषध दुर्व्यवसनीले व्यक्ति, परिवारसँगै समुदायलाई नै असर गर्ने उल्लेख गर्दै लागूऔषधको प्रयोगमा संलग्न व्यक्तिलाई रचनात्मक दिशातर्फ अग्रसर गराउन समाजका सबै तहतप्का र वर्गको साथ र सहयोग आवश्यक रहेको उहाँले   बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले लागूपदार्थ प्रति वितृष्णा उत्पन्न गराउन लागूऔषध प्रयोगकर्ताको मनोबल र आत्मबल अभिवृद्धि गर्न जरूरी रहेको चर्चा गर्दै लागूऔषधको नकारात्मक असरबारे सचेतनामूलक कार्यक्रमहरू सञ्चालन गरी समाजलाई दुर्व्यसनबाट मुक्त गराउने नेपाल प्रहरीको अभियानलाई सफल बनाउन आम नागरिकको निरन्तर सहयोग मिल्ने अपेक्षा व्यक्त    गर्नुभयो । समसामयिक आवश्यकता, नयाँ सोच र दृष्टिकोणसहित अझ परिस्कृत, कल्याणकारी सेवामार्फत सुरक्षित र शान्त समाज निर्माणमा नेपाल प्रहरी सदैव अग्रसर रहने उहाँले प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।  कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले लागूऔषध नियन्त्रणमा प्रहरीले उल्लेखनीय भूमिका खेलेको उल्लेख गर्दै लागूऔषध नियन्त्रणका लागि आवश्यक साथ र सहयोगका लागि उपमहानगरपालिका सदैव तत्पर रहेको बताउनुभयो ।  सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा सोही कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक प्रज्वल महर्जनले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।   कार्यक्रममा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारी, कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र र नाष्ट कलेजका एमडी शिवहरी शर्मा मुडभरीले शुभकामनासहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवर, नेपाल प्रहरी श्रीमती संघ सुदूरपश्चिम प्रदेशका पदाधिकारीहरु, विभिन्न राजनैतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरु, विभिन्न स्कुलका शिक्षक तथा विद्यार्थीहरू, संचारकर्मी लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय डोटीमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०९-१०

डोटी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटी परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको मंगलबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले समाजमा देखा पर्ने नविनतम चुनौती र त्यसले समग्र समाजको शान्ति सुरक्षामा पार्ने असरका साथै विपदका घटनाबाट उत्पन्न हुन सक्ने प्रतिकुल परिस्थिति र परिणामको अध्ययन, विश्लेषण गरी उपयुक्त सुरक्षा योजना तयार गरी प्रहरी जनशक्ति हरदम तयारी अवस्थामा रहनु पर्ने बताउनुभयो । समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत स्थानीय निकायहरूसँगको सहकार्यमा जन अपेक्षा अनुरूपको प्रहरी सेवा प्रदान गरी समाजमा अशान्ति र अराजगता फैलाउने तथा अपराधिक क्रियाकलापमा संलग्न व्यक्ति वा समूह विरुद्ध सशक्त रूपमा प्रस्तुत भई उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याल र दिपायल सिलगढी नगरपालिकाका प्रमुख बाजी सिंह खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी उपरीक्षक बिष्णुहरी कोईरालाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल १० करोड ८ लाख ६३ हजार ४ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा डोटी जिल्लाका जिल्ला न्यायाधीश, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, अमर प्रहरी परिवारका सदस्यहरू, पूर्व प्रहरी संगठनका पदाधिकारीहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय डोटीमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय बाजुरामा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०९-०९

बाजुरा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरा परिसरमा नवनिर्मित कार्यालय, निवास, ब्यारेक, हिरासत कक्ष तथा मेश भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नयाँ भवनबाट सम्पादन हुने प्रहरी कार्य पनि थप उर्जामय, नविन सोच र उच्चस्तरको हुनुपर्ने चर्चा गर्दै नागरिकको सुरक्षामा अझ बढी मेहनत र व्यवसायिकताको साथ प्रस्तुत हुनुपर्ने बताउनुभयो । नागरिकमैत्री, सेवामुखी भावका साथ सम्पूर्ण स्थानीयवासीहरूले भय र त्रासरहित वातावरणमा आ-आफ्नो दैनिक क्रियाकलाप, उद्योग, व्यापार, रोजगार तथा व्यवसाय गर्न पाउने वातावरण निर्माणमा अहोरात्र कटिबद्ध रहन उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले समाजमा अशान्ति र अराजकता फैलाउने उच्श्रृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरीतका गैरकानूनी र अनैतिक कार्य गर्ने विरूद्ध खरो रूपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी शून्य सहनशिलताका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । नागरिकसँगको उचित समन्वय र सहकार्यमा कानून विपरीतका गतिविधि नियन्त्रण गरी समाजमा प्रभावकारी शान्ति सुरक्षा व्यवस्था कायम गर्न सकिने उल्लेख गर्दै स्थानीय जनसमुदायलाई प्रहरीसँग निरन्तर समन्वय, सहकार्यको लागि उहाँले आग्रह समेत गर्नुभयो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भरत बहादुर बोहराले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बाजुरा जिल्लाका प्रमुख जिल्ला अधिकारी भिम कान्त पौडेल र बडिमालिका नगरपालिकाका प्रमुख अम्मर खड्काले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायव उपरीक्षक कबिन्द्र सिंह बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रहरी नायव उपरीक्षक सुमन दाहालले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ८ करोड ७६ लाख ६७ हजार ६ सय ६४ रूपैयाँ लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय बाजुरामा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय मुगुमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०९-०८

मुगु, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगु परिसरमा नवनिर्मित कार्यालय, ब्यारेक, कार्यालय प्रमुख /सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरूको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमको अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सुविधा सम्पन्न कार्यालय भवन, व्यवस्थित तथा गुणस्तरीय ब्यारेक, मेश लगायत दैनिक आवश्यक पर्ने भौतिक संरचना प्रहरी कर्मचारीहरूको मनोबलका साथै प्रहरीबाट प्रवाह हुने सेवासँग प्रत्यक्ष रुपमा जोडिएको उल्लेख गर्दै हालै निर्माण भएको नयाँ र सुविधा प्राप्त भवनहरूले प्रहरी कर्मचारीहरूमा थप जिम्मेवारी निर्वाह गर्न उर्जा र हौसला मिल्ने बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुवँरले प्रभावकारी अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, मानव अधिकारको संरक्षण लगायत विपद् उद्दार कार्यमा प्रहरी सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आम नागरिकको भरोसा योग्य र विश्वसनीय संगठनको रूपमा स्थापित हुने सफल भएको बताउनुभयो । संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई सुदृढ र सक्षम बनाउन नेपाल प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको उहाँले बताउनुभयो ।    कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा मुगु जिल्लाका प्रमुख जिल्ला अधिकारी टोपेन्द्र बहादुर केसी र छायाँनाथ नगरपालिका प्रमुख विष्णु कुमार भामले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक बीरेन्द्र थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी निरीक्षक ई. नितिन लाखेले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल २ करोड ५८ लाख २० हजार ४ सय ४६ रूपैयाँ १९ पैसा लागतमा कार्यालय भवन र ७ करोड ५६ लाख ६३ हजार २ सय २६ रूपैयाँ ३ पैसा लागतमा ब्यारेक, कार्यालय प्रमुख /सिनियर प्रहरी अधिकृत निवास, हिरासत कक्ष र भान्साघर भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अदालत मुगुका न्यायाधीश दिल कुमार बर्देवा, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, अवकाश प्राप्त प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय मुगुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो ।

२९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
२०८०-०९-०६

काभ्रे, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २९औं अन्तर माध्यामिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०८० सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई उजार गर्नुको साथै रचनात्मक तथा सिर्जनात्मक क्षमता अभिवृद्धि गर्न प्रभावकारी भूमिका निर्वाह गर्ने बताउनुभयो । नेपाल प्रहरीका स्कूलहरूले खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमार्फत प्रतिभाको पहिचान गर्दै त्यसलाई फलाउने र फुलाउने वातावरणलाई प्राथमिकता दिँदै आएको उहाँले उल्लेख गर्नुभयो । विज्ञान र प्रविधिको आजको युगमा शैक्षिक गतिविधिलाई समयसापेक्ष, व्यवहारिक बनाउन सकेमा उपलब्धिमूलक परिणाम दिन सक्ने भएकोले विद्यार्थीहरूको बौद्धिक एवं व्यक्तित्व विकासमा सहयोग पुग्ने शैक्षिक वातावरण निर्माणतर्फ विद्यालय परिवार सदैव क्रियाशील रहनुपर्ने बताउनुभयो । विद्यार्थीहरूको शैक्षिक गुणस्तरलाई उच्च राख्दै अभिभावकको चाहना र राष्ट्रको आवश्यक पूरा गर्न दत्तचित भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्ति रत्न शाक्यले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । साथै काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभयो ।  आज भएको फाइनल खेलमा सैनिक आवासीय महाविद्यालय भक्तपुरले ल्याबोरेटोरी स्कुल कीर्तिपुरलाई टाइबेकरमा  ३-० गोल अन्तरले पराजित गरेको छ । निर्धारित समयको खेल २-२ को बराबरीमा सकिएको थियो । प्रतियोगितामा सैनिक आवासीय महाविद्यालय भक्तपुर टीम प्रथम, ल्याबोरेटोरी स्कुल कीर्तिपुर टीम द्वितीय र नेपाल पुलिस स्कुल साँगा ‘ए’ टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टीमले ५० हजार, द्वितीय हुने टीमले ४० हजार र तृतीय हुने टीमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।प्रहरी नायव महानिरीक्षक केदार ढकालले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका प्राचार्य मोहन पौडेलले स्वागत मन्तव्य तथा प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साथै नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरूद्वारा नृत्य तथा नेपाल प्रहरी संगीत विद्यालयद्वारा ब्यान्ड डिस्प्ले गरिएको थियो ।   मंसिर २० गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ‘ए’ र ‘बि’ टीम, नेपाल पुलिस स्कुल धरान र सामाखुसी, सैनिक आवासीय महाविद्यालय, सशस्त्र प्रहरी विद्यालय लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १६ विद्यालयका १७  टीमको सहभागिता रहेको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

चिकित्सा शिक्षा र अनुसन्धानको क्षेत्रमा थप सहकार्य गर्न नेपाल प्रहरी अस्पताल र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर
२०८०-०९-०२

काभ्रे, चिकित्सा र सम्बन्धित विषयहरूमा शिक्षा, अनुसन्धान र प्रशिक्षणलाई अगाडि बढाउन थप सहकार्य वृद्धि गर्ने उद्देश्य अनुरूप नेपाल प्रहरी अस्पताल महाराजगंज र काठमाडौं विश्वविद्यालयबीच सम्झौता-पत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले काठमाडौं विश्वविद्यालय धुलिखेलमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले विगतमा काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनसँग भएको सम्झौता स्मरण गर्दै आजको सम्झौताले काठमाडौं विश्वविद्यालयसँगको सहकार्यलाई थप प्रगाढ बनाएको चर्चा गर्नुभयो । दुवै पक्षबीच एक आपसमा रहेको ज्ञान र अनुभवका साथसाथै विज्ञताको आदानप्रदान र शैक्षिक कार्यक्रमहरूमा परस्पर सहयोग अभिवृद्धिका लागि मार्ग प्रशस्त गरेको र दुवै निकायको क्षमतामा थप वृद्धि हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीको क्षमता अभिवृद्धि तथा कार्य सम्पादन प्रणालीलाई थप सबल बनाउन काठमाडौं विश्वविद्यालयबाट विगतदेखि प्राप्त भएको सहयोग र सहकार्यप्रति आभार प्रकट गर्दै प्रहरी महानिरीक्षक कुँवरले आगामी दिनमा सहकार्यका थप क्षेत्रको पहिचान र परस्पर सहयोगको लागि नेपाल प्रहरी तयार रहेको बताउनुभयो । सम्झौता कार्यान्वयन गर्न आवश्यक संयन्त्रसहितको काम अगाडि बढाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशनसमेत दिनुभयो । समारोहमा काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल प्रहरीसँगको सम्झौतामार्फत मेडिकल एजुकेशनमा हातेमालो गर्दै विश्वविद्यालयले थप गुणस्तरीय स्वास्थ्य शिक्षा प्रदान गर्न सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले बताउनुभयो । सम्झौतापत्रमा दुवै पक्षले संयुक्त अनुसन्धान परियोजनाहरू सञ्चालन गर्ने, एकअर्काको शैक्षिक कार्यक्रमहरूमा सक्रिय रूपमा सहभागी हुने, ज्ञान र विशेषज्ञताको आदानप्रदानलाई प्रवर्द्धन गर्न सहयोगी वातावरणलाई बढावा दिने, चिकित्सा एवं स्वास्थ्यको वर्तमान र भविष्यका आवश्यकताहरूलाई सम्बोधन गर्न शैक्षिक कार्यक्रमहरूको विकास र कार्यान्वयनका सम्भावनाहरू अन्वेषण गर्ने उल्लेख गरिएको छ । विद्यार्थी, शैक्षिक र प्राविधिक कर्मचारीहरूको सीप र ज्ञान अभिवृद्धि गर्ने उद्देश्यले आ-आफ्ना संकायहरूका लागि संयुक्त प्रशिक्षण कार्यक्रमहरू आयोजना गर्ने, अनुसन्धान निष्कर्षहरू, प्रकाशनहरू र शैक्षिक सामग्रीहरूसहित शैक्षिक जानकारी दिने, अनुसन्धान र शिक्षाको गुणस्तर बढाउन प्रयोगशाला सुविधाहरू, उपकरण र विधिहरूमा मात्र सीमित नभएर प्राविधिक विशेषज्ञताको साझेदारीलाई दुवै पक्षले सक्रिय रूपमा प्रवर्द्धन गर्ने समेत सम्झौतामा उल्लेख गरिएको छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्ष अवधिको लागि लागू हुनेछ ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेसका डिन प्रा.डा. मनोज हुमागाई लगायत अन्य प्राध्यापकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको         थियो ।

प्रहरी महानिरीक्षक कुँवर स्वदेश फिर्ता
२०८०-०८-२१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर अष्ट्रियाको भियनामा सम्पन्न इन्टरपोलको ९१औं महासभामा सहभागी भई बिहीबार स्वदेश फर्किनु भएको छ ।अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल) महासचिवालयको आयोजनामा मंसिर १२ देखि १५ गतेसम्म संचालित उक्त महासभामा प्रहरी महानिरीक्षक कुँवरसँगै सहभागी भई इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. सहितको टोलीसमेत स्वदेश फिर्ता भएको छ ।  उक्त टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गर्नुभयो ।महासभामा National Central Bureau (NCB) नेपालका प्रमुखसमेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल भएको थियो । साथै इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा भारत, चीन र यूएईका प्रतिनिधि लगायतका विभिन्न मित्रराष्ट्रहरूसँग फरार प्रतिवादीहरू र क्षमता अभिवृद्धि लगायतका विविध विषयमा छलफल तथा द्विपक्षीय बैठक समेत भएको थियो ।महासभामा सहभागी १९५ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरूबीच Strengthening global frameworks for a safer world, Report on the Financial Year 2022, Connecting Police-100 years and beyond: Emerging Trends, Operational Impact and Preparedness for the future, Programme of activity and draft budget for 2024 and indications for 2025 and 2026 र Developing and retaining talent and diversity into the next generation लगायतका विविध विषयमा छलफल भई महत्वपूर्ण प्रस्तावहरु पारित समेत भएको थियो ।  महासभाबाट इन्टरपोलको १९६औं सदस्य राष्ट्रको रुपमा The Republic of Palau लाई निर्वाचनको माध्यमबाट मान्यता प्रदान गरिएको छ । महासभाले इन्टरपोलको ९२औं महासभा सन् २०२४ मा संयुक्त राज्य बेलायतको ग्लास्गोमा र ९३औं महासभा सन् २०२५ मा मोरक्कोको माराकेमा आयोजना गर्ने निर्णय गरेको छ ।इन्टरपोल स्थापनाको १०० वर्षको अवसरमा नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीलाई इन्टरपोलबाट विशेष आमन्त्रण भई उक्त महासभामा INTERPOL President Major General Dr. Ahmad Naser Al-Raisi बाट प्रमाणपत्र र INTERPOL General Secretary Jürgen Stock बाट Special coin सहित सम्मान गरिएको  थियो । यस प्रकृतिका उत्कृष्ट एवं सिर्जनशील लगायतका कार्यक्रमहरू आयोजना गरी इन्टरपोल वार्षिकोत्सवलाई भव्यताका साथ मनाएर अन्तर्राष्ट्रिय प्रहरी समन्वयलाई नयाँ शिखरमा पुर्‍याएकोमा नेपालको तर्फबाट महासभामा सहभागी हुनुभएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर तथा प्रतिनिधि समेतलाई INTERPOL President र General Secretary समेतले धन्यवाद स्वरुप मायाको चिनोको साथै Special coin प्रदान गर्नुभएको थियो ।साथै महासभाको दौरानमा इन्टरपोलद्वारा आयोजित INTERPOL 100 Global Video Contest for Young Police Leaders प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्दै नेपाल प्रहरीद्वारा निर्माण गरिएको “Let’s Save the Planet - INTERPOL 100” विषयक सूचनामूलक छोटो भिडियो सर्वोत्कृष्ट घोषित भई सम्मान स्वरूप प्रमाणपत्र प्राप्त भएको थियो ।

प्रहरी महानिरीक्षक अष्ट्रिया प्रस्थान
२०८०-०८-१०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोलको ९१औं महासभामा सहभागी हुन आइतबार बिहान अष्ट्रियातर्फ प्रस्थान गर्नुभएको छ ।  इन्टरपोल महासचिवालयको आयोजनामा अष्ट्रियाको भियनामा मंसिर १२ देखि १५ गतेसम्म संचालन हुने उक्त महासभामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवर त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक कुँवरसँग महासभामा सहभागी हुन इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. र प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । इन्टरपोलको १००औँ वार्षिकोत्सव मनाउने क्रममा सगरमाथाको सफल आरोहण गरी नेपालको राष्ट्रिय झण्डा, इन्टरपोलको झण्डा र नेपाल प्रहरीको झण्डा फहराउन सफल प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपाली इन्टरपोलको विशेष आह्वानमा महासभामा सहभागी हुनुभएको हो ।उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।इन्टरपोलका सबै १९५ सदस्य राष्ट्रहरुका प्रतिनिधिहरू सहभागी हुने उक्त महासभामा इन्टरपोलका महत्वपूर्ण विषयहरूमा मतदानद्वारा निर्णय गरिने प्रावधान अनुसार नेपालले पनि उक्त मतदानहरूमा भाग लिनेछ । साथै, प्रहरी महानिरीक्षक कुँवर नेतृत्वको प्रतिनिधि मण्डल तथा इन्टरपोलका President र General Secretary बिच शिष्टाचार भेटघाट तथा छलफल हुने कार्यक्रम समेत रहेको छ । यसैगरी  इन्टरपोलको Global Outreach and Regional Support (GORS) का प्रतिनिधिहरू तथा मित्रराष्ट्रहरू भारत, चीन र यूएईका प्रतिनिधिहरूसँग समेत विविध विषयहरूमा छलफल तथा  द्विपक्षीय बैठक हुने कार्यक्रम रहेको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राख्नुपर्ने - प्रहरी महानिरीक्षक कुँवर
२०८०-०८-०८

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले लैंगिक हिंसाजन्य कसूर सम्बोधनलाई शून्य सहनशीलताका साथ उच्च प्राथमिकतामा राखी पीडित तथा हिंसा प्रभावितको सेवामा कटिबद्ध रहनुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित ‘लैंगिक हिंसाको वर्तमान अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक एक दिवसीय गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले ‘प्रहरी कर्मचारी संलग्न लैंगिक हिंसा विरूद्ध शून्य सहनशीलता र यसको प्रभावकारी कारवाही सम्बन्धी कार्य-आदेश, २०८०’ मा हस्ताक्षर गरी शुभारम्भ गर्नुभयो ।  सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले लैंगिक हिंसाबाट पीडित तथा प्रभावित महिला, बालबालिका तथा जेष्ठ नागरिकहरूमा न्यायको पहुँचको सुनिश्चितता, पीडितको उद्दार, पुनर्स्थापनाका साथै लैंगिक हिंसा न्यूनिकरण गर्ने लक्ष्यका साथ  ईलाकास्तरसम्म महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रहरू स्थापना भई सेवा प्रवाह हुँदै आइरहेको बताउनुभयो । प्रविधिको विकास र आधुनिक समाजमा देखा परेका लैंगिक हिंसाका स्वरूप तथा प्रवृत्तिमा भइरहेको परिवर्तनले थपेका चुनौतिहरूलाई प्रविधिमैत्री तवरबाट समाधान गरी पीडितलाई न्याय प्रदान गर्न प्रयासहरू केन्द्रित भएको उहाँले बताउनुभयो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले धन्यवाद मन्तव्य गर्नुभएको उक्त गोष्ठीमा नेपाल प्रहरी प्रधान कार्यालय महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले स्वागत मन्तव्य तथा गोष्ठी सम्बन्धी जानकारी दिनुभएको थियो । प्रहरी उपरीक्षक रन्जु सिग्देलले लैंगिक हिंसाको वर्तमान अवस्था: तथ्य, चुनौति र आगामी कार्यदिशा सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा गृह मन्त्रालयका उपसचिव राम बहादुर शाही, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव ममता बास्तोला, राष्ट्रिय मानव अधिकार आयोगका उपसचिव नितु गर्तौला, राष्ट्रिय महिला आयोगका उपसचिव सिता अधिकारी र स्वास्थ्य सेवा विभागका उपसचिव शर्मिला पौडेलले आ-आफ्नो धारणा व्यक्त गर्दै लैंगिक हिंसा न्यूनिकरणमा सबै सरोकारवाला पक्षहरूको आपसी समन्वय र सहकार्य हुनुपर्ने बताउनुभयो ।  आज शुभारम्भ भएको कार्यादेशले प्रहरी कर्मचारी संलग्न भएका लैंगिक हिंसाको अनुसन्धान प्रभावकारी गर्न आवश्यक समय सिमा सहितको कार्यान्वयन विधि र समग्र लैंगिक हिंसाको रिपोर्टिङको निश्चित आधारहरू व्यवस्था गरी निरन्तर फलोअप गरी प्रभावकारी कारवाही गर्न प्रत्यक्ष नियमन गर्ने संयन्त्र स्थापना हुने उक्त अवसरमा जानकारी दिईयो ।  गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख एवम् प्रतिनिधिहरू, संचारकर्मी लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा निर्देशनालयद्वारा लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको पूर्व सन्ध्यामा उक्त गोष्ठीको आयोजना गरिएको हो । अन्तर्राष्ट्रिय नारा ‘UNITE Invest to Prevent Violence against Women and girls’ र ‘लैंगिक हिंसा अन्त्यको सुनिश्चितता : महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नाराका साथ मंसिर ९ गतेदेखि मंसिर २४ गतेसम्म उक्त अभियान देशव्यापी रूपमा मनाउन लागिएको छ । 

नेपाल प्रहरी कार्ययोजना तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक समीक्षा सम्पन्न
२०८०-०८-०८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा नेपाल प्रहरी कार्ययोजना, २०८० तथा कार्य सम्पादन सम्झौताको प्रथम त्रैमासिक कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा सम्पन्न भएको छ । कार्यक्रममा गत साउनदेखि असोजसम्म ३ महिनाको प्रगति समीक्षा गरियो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले समयसापेक्ष सांगठनिक विकासका साथै प्रहरी सेवा प्रवाहमा प्रभावकारिता ल्याउन आन्तरिक शुद्धिकरण र सुदृढिकरण गर्ने उद्देश्य अनुरूप गरिएको कार्ययोजना सम्झौताको प्रभावकारी कार्यान्वयनमा सम्पूर्ण प्रहरी कार्यालयहरू प्रतिवद्ध हुनुपर्ने बताउनुभयो । समग्र कार्यालयहरूको काम सन्तोषजनक भएपनि प्रहरी सेवा प्रवाहलाई अझै गुणस्तरीय बनाउँदै आम नागरिकले सहज सेवा पाउने गरी काम गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले पेशागत मर्यादालाई ध्यानमा राखेर आर्थिक पारदर्शिता र निष्ठा कायम गर्दै कार्यसम्पादन गर्न प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । कार्यसम्झौता कार्यान्वयनमा देखिएका चुनौतीको सामना गर्दै सम्झौताको प्रभावकारी कार्यान्वयनका लागि नेपाल प्रहरी प्रधान कार्यालयले आवश्यक सहयोग प्रदान गर्ने उहाँले उल्लेख गर्नुभयो । समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गतका ५ वटै विभाग एवम् अन्वेषण योजना तथा विकास निर्देशनालय, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, केन्द्रीय अनुसन्धान व्यूरो, नेपाल प्रहरी अस्पतालका प्रतिनिधिले आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा कार्यसम्पादन सम्झौता अन्तर्गत पूर्ण सम्पन्न क्रियाकलापहरू र संक्षिप्त कार्य प्रगति विवरण लगायतका विषय समेटिएका थिए ।यसैगरी काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले समेत आ-आफ्नो प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरणमा प्रभावकारी अपराध अनुसन्धान विवरण, शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार लगायत कार्यसम्पादन सम्झौताको प्रभावकारी कार्यान्वयनको लागि चालिने कदम र प्रयासहरूबारे सम्पन्न भएका कार्यहरू लगायतका विषयहरू समेटिएका थिए । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरी प्रदेश कार्यालय, प्रदेश प्रहरी तालिम केन्द्र, प्रदेश प्रहरी गण, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय र जिल्ला प्रहरी कार्यालयहरूका प्रमुखहरू तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

विवेकको प्रयोग गर्दै धैर्य र संयमित भएर प्रभावकारी सुरक्षा व्यवस्थापन गर्नुपर्ने- प्रहरी महानिरीक्षक
२०८०-०८-०६

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्यसम्पादनको सिलसिलामा आउन सक्ने सुरक्षा चुनौतिको सामना गर्न प्रहरी कर्मचारीहरूले आफ्नो विवेकको उचित प्रयोगका साथै धैर्य र संयमित भएर सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।नेपाल सरकार गृहमन्त्रीस्तरको मंसिर ५ गतेको निर्णयले प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका ५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक कुँवरबाट प्रहरी वरिष्ठ उपरीक्षकहरू बसन्त रजौरे, रबि कुमार पौडेल, नबिनराज राई, बीर बहादुर ओली र चन्द्रदेब राई दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक कुँवरले सुरक्षा चुनौतिको सामना गर्न तयार पारिएको सुरक्षा योजना तथा नीतिको प्रभावकारी रूपमा कार्यान्वयन गर्दै वर्तमान अवस्थामा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन प्रचलित कानून बमोजिम बल प्रयोगको सिद्धान्तलाई अवलम्वन गर्दै उच्च मनोबलका साथ काम गर्न सुरक्षा व्यवस्थापनमा खटिने प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । आवश्यकता अनुसार अन्य सुरक्षा निकायसँग आपसी समन्वय र सहकार्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सम्बोधनकै क्रममा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई उकृष्टताका साथ निर्वाह गर्न निर्देशन दिनुभयो । संगठनप्रति बफादार, इमानदार र निष्ठावान भएर काम गर्ने हरेक प्रहरी कर्मचारीहरूलाई संगठनले उचित तवरले मूल्याङकन गरेको चर्चा गर्दै संगठनको नीति अनुरूप सम्पूर्ण प्रहरी कर्मचारीहरूको समस्या र गुनासो सम्बोधन गर्दै व्यवस्थापन गर्न संगठन क्रियाशील रहेको बताउनुभयो । आफूमा रहेको पेशागत ज्ञान, सीप र कौशललाई पूर्णरूपमा प्रयोग गरी आ-आफनो जिम्मेवारी उत्कृष्ट र व्यवासायिक ढंगबाट सम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक बसन्त रजौरेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई राष्ट्र, समाज र नागरिकको हितमा समर्पित भई अझ उत्कृष्ट ढंगबाट कर्तव्य निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।   समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा टिका तथा प्रसाद प्रदान
२०८०-०७-०८

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले वडा दसैं २०८० को अवसरमा बुधबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक कुँवरले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि दिउँसो १ बजे देखि ४ बजेसम्मको समय तोकिएको थियो ।  टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।  टिका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०८०-०७-०६

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बडा दसैंका अवसरमा सोमबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खा थारूलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ ।    

United Nations Certified Instructors Development Course on Job-Specific Training सम्पन्न
२०८०-०७-०२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यतामा बिहीबार आयोजित समारोहबीच राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातीर्थमा संचालित United Nations Certified Instructors Development Course on Job-Specific Training(JST) सम्पन्न भएको छ ।  सोही प्रतिष्ठानमा आयोजित उक्त समारोहमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र स्वीडेनका Standing Police Capacity का प्रमुख Ann Marie Orler ले तालिममा सहभागी प्रशिक्षार्थीहरूलाई संयुक्त रूपमा प्रमाणपत्र र मायाको चिनो प्रदान गर्नुभयो । साथै प्रहरी महानिरीक्षक कुँवरले उक्त तालिमका प्रशिक्षकहरु तथा तालिममा सहयोग पुर्‍याउनुहुने महानुभावहरूलाई प्रशंसापत्र, मायाको चिनो र हालै प्रकाशित ‘पुलिस मिरर’ प्रदान गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले यस तालिममार्फत प्रहरी कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुगेको विश्वास व्यक्त गर्नुहुँदै आगामी दिनमा संयुक्त राष्ट्र संघीय मिसनको क्षमता अभिवृद्धिमा समेत योगदान पुग्ने बताउनुभयो । यस्ता तालिमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रहरी अधिकृतहरूलाई थप व्यावसायिक, प्रभावशाली र क्षमतावान् बनाउँदै उत्कृष्ट प्रहरी सेवा प्रवाहमा सक्षम बनाउने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा स्वीडेनका SPC Chief Ann Marie Orler र International Narcotics and law Enforcement Affairs (INL) का प्रतिनिधि Glen Cranage ले तालिमको महत्वबारे चर्चा गर्दै आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । Standing Police Capacity का प्रशिक्षण सल्लाहकार एवम् तालिम निर्देशक अमोद गुरूङले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको उक्त कार्यक्रममा भारतका ASP Irmeen Shah ले तालिममा सहभागीको तर्फबाट तालिमको अनुभवसहितको मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको संयुक्त आयोजना तथा International Police Peacekeeping Operations Support Program (IPPOS) को सहयोगमा संचालित उक्त तालिममा नेपाल प्रहरीबाट प्रहरी नायव उपरीक्षकहरू मिम बहादुर लामा, मन्जिल मुकारूङ तथा पुरूषोत्तम खड्का र प्रहरी निरीक्षक शैलेश्वरी बोहोराको सहभागिता रहेको थियो । असोज १६ गतेदेखि संचालित १६ दिन कार्य अवधिको उक्त तालिममा फ्रान्सबाट १ जना, भारतबाट १ जना, बंगलादेशबाट १ जना, भुटानबाट २ जना, मंगोलियाबाट २ जना, श्रीलंकाबाट २ जना, IPPOS बाट १ जना र नेपाल प्रहरीबाट ४ जना तथा सशस्त्र प्रहरी बल नेपालबाट ४ जना गरी जम्मा १८ जना प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । नेपाल प्रहरीको तर्फबाट प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारी प्रशिक्षकको रूपमा र प्रहरी उपरीक्षक गौतम कुमार केसी तालिम संयोजकको रूपमा सहभागिता जनाउनुभएको थियो । प्राविधिक क्षेत्रहरूमा योग्य प्रशिक्षकहरू पहिचान गर्न, प्रशिक्षण प्रदान र सल्लाह दिने सीपहरूमा क्षमता अभिवृद्धि गर्न र वर्तमान परिस्थितिमा नयाँ विकसित काम विशिष्ट सामग्रीहरूसँग परिचित गराउन र नयाँ कार्यक्रमहरूमा उचित कार्य गर्न सहयोग पुर्‍याउने तालिमको मुख्य उद्देश्य रहेको उक्त अवसरमा जानकारी दिइयो । समारोहमा नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरू, गृह मन्त्रालय र  परराष्ट्र मन्त्रालयका सहसचिवहरूको साथै विभिन्न देशका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो । 

चाडपर्व विशेष सुरक्षा योजना बनाई सुरक्षा व्यवस्थापन थप प्रभावकारी बनाउनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०७-०१

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नजिकिँदै गरेको चाडपर्वको समयमा हुन सक्ने आपराधिक क्रियाकलाप नियन्त्रण तथा नागरिकको गुनासो व्यवस्थापनका लागि चाडपर्व विशेष सुरक्षा योजना बनाई सफल एवं प्रभावकारी कार्यान्वयन गर्दै सुरक्षा व्यवस्थापनलाई थप मजबुद बनाउनुपर्ने बताउनुभएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख, प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू र जिल्ला प्रहरी परिसर प्रमुख तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा समसामयिक विषयवस्तु तथा चाडपर्व सुरक्षा लगायतका विषयमा निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक कुँवरले प्रत्येक प्रहरी कार्यालयले चाडपर्व लक्षित बनाइएका सुरक्षा योजना कार्यान्वयन गर्दै छिटोछरितो नागरिकमैत्री बनाउँदै सेवा प्रवाह गर्नुपर्ने उल्लेख गर्नुभयो । कालोबजारी, मूल्यवृद्धि, जुवातास, चोरी, कृतिम अभाव सिर्जना गर्ने, अवाञ्छित गतिविधि, सीमावर्ती क्षेत्रमा हुने तस्करी लगायतका गैरकानुनी क्रियाकलापमा हुने बढोत्तरीलाई ध्यानमा राखेर यसको नियन्त्रण तथा कारवाहीमा नियमसंगत आक्रामक भई कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । बजार अनुगमन लगायतका विषयमा स्थानीय तह एवं सरोकारवाला निकायसँग सहकार्य तथा समन्वय गरी प्रभावकारी रूपमा दैनिक उपभोग्य वस्तुको आपूर्ती व्यवस्थापन मिलाउनुपर्ने उहाँले उल्लेख गर्नुभयो । नागरिकमैत्री सेवाका लागि समाजसँग समधुर सम्बन्ध बनाउँदै आवश्यक परेको बेला तत्काल परिचालित हुने गरी संयन्त्रलाई प्रविधियुक्त र चुस्तदुरूस्त बनाउँदै चलायमान बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।चाडपर्वको समयमा हुने सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि प्रभावकारी सुरक्षा व्यवस्था, सवारी सम्बन्धि निर्देशिका सही रूपमा पालना तथा कार्यान्वयन, अनुगमन, विगतका दुर्घटनाग्रस्त ईलाकाहरूमा अझै बढि ध्यान दिँदै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । संगठनको आन्तरिक सुदृढिकरण तथा शुद्धिकरणको नीतिलाई मूर्तरूप दिन प्रहरी कर्मचारीहरूको व्यवहार, आचरण तथा कार्यप्रवाहलाई थप सुधार गर्दै लैजानुपर्ने, कामप्रति जवाफदेही र संवेदनशील हुन निर्देशन दिनुहुँदै कानुनको दायरा भन्दा बाहिर जाने प्रहरी कर्मचारीहरूलाई कारवाही तथा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न हरेक प्रहरी कार्यालयका प्रमुखहरूले तत्काल आवश्यक पहल गर्नुपर्ने बताउनुभयो । सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न
२०८०-०६-२७

काठमाडौं, ६८औं प्रहरी दिवस २०८० को अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी दिवस रनिङ कप पुरुष भलिबल प्रतियोगिता २०८० सम्पन्न भएको छ । प्रतियोगिता समापनका अवसरमा शनिबार सोही प्रतिष्ठानमा आयोजित कार्यक्रममा नेपाल प्रहरी खेलकूद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रथम हुने टीम लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङलाई रनिङ कप र नगद पुरस्कार, पदक र प्रमाणपत्र, प्रतियोगितामा सहभागि भएका टिमहरूलाई मायाको चिनो, निर्णायकहरूलाई प्रशंसापत्र तथा मायाको चिनो, सर्वोत्कृष्ट खलाडीलाई नगद पुरस्कार प्रदान गर्नुभयो । कार्यक्रमको सुरुमा प्रहरी महानिरीक्षक कुँवरले रेफ्रीलाई भलिबल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभएको उक्त प्रतियोगिताको आजै भएको फाइनल खेलमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरालाई ३-२ ले पराजित गरी लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ टीम प्रथम भएको थियो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले विजेता टिमलाई बधाई दिँदै यस प्रतियोगिताले समग्र नेपाल प्रहरीको भलिबल खेलको स्तरलाई सुदृढिकरण गर्न योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रियता र देशप्रेमको भावनालाई उजार गर्ने विधाको रूपमा रहेको खेलकुदको विकास र प्रवर्धनका लागि सबै एकवद्धता हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरी संगठनमा आबद्ध खेलाडीहरूको सहभागिता र योगदानका कारण खलेकुद, नेपाल प्रहरी र नागरिकबिचको सम्बन्ध सुदृढ गर्न उत्तम माध्यम भएको चर्चा गर्दै आगामी दिनमा समेत नेपाल प्रहरीका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी संगठन र राष्ट्रलाई गौरवान्वित बनाउने अपेक्षा रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक एवं नेपाल प्रहरी खेलकूद समितिका सदस्य-सचिव प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले फाइनल खेलका म्यान अफ दि म्याचलाई पुरस्कार तथा द्वितीय हुने टिमका खेलाडीहरुलाई पदक, प्रमाणपत्र, ट्रफि र नगद पुरस्कार प्रदान गर्नुभयो । उहाँले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै खेलकुदलाई अझै सुदृढ गर्न नेपाल प्रहरीले विभिन्न प्रतियोगिता गर्दै आएको बताउनुभयो । कार्यक्रममा नेपाल भलिबल संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द तथा महासचिव रोशन श्रेष्ठले  प्रतियोगिता वेष्ट ब्लकर, वेष्ट स्पाइकर र वेष्ट डिफेन्डरलाई र राष्ट्रिय खेलकुद परिषदका बोर्ड सदस्य प्रकाश कुसारीले प्रतियोगिताका वेष्ट सर्भर र वेष्ट सेटरलाई पुरस्कार वितरण गर्नुभएको थियो ।सो प्रतियोगितामा प्रथम र द्वितीय हुने टीमलाई क्रमश नगद ५० हजार ५ सय ५५ रुपैयाँ र ३५ हजार ५ सय ५५ रुपैयाँ एवम् शील्ड, पदक, प्रमाणपत्र तथा सर्वोत्कृष्ट हुने खेलाडीलाई १० हजार ५ सय ५५ रुपैयाँ र विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई जनही ७ हजार ५ सय ५५ रुपैयाँ प्रदान गरिएको थियो । सो अवसरमा खेलकूद कार्यक्रम व्यवस्थापन उपसमितिका संयोजक प्रहरी नायव महानिरीक्षक रबिन्द्र केसीले प्रतियोगिता सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । असोज २१ गतेदेखि शुरु भएको उक्त प्रतियोगितामा १० टीमको सहभागिता रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायतबाट स्वदेश फिर्ता
२०८०-०६-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली मित्रराष्ट्र संयुक्त अधिराज्य बेलायतमा सञ्चालन भएको ‘Integrated Programme For Strengthening Security And Justice (Phase 2)’ कार्यक्रममा सहभागी भई शनिबार स्वदेश फर्किएको छ ।प्रहरी महानिरीक्षक कुँवरसहितको ४ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । कार्यक्रम अवधिमा प्रहरी महानिरीक्षक कुँवर र नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरुले मेट्रोपोलिटन पुलिस न्यू स्कटलैण्ड यार्डका डेपुटी एसिस्टेन्ट कमिस्नर वार्ड, FCDO Office का स्टफेन ओटर, UNOPS कन्सल्टेन्ट सिसीलिया डन्सटर,  नेशनल क्राइम एजेन्सी (एनसिए) का Will Wilson, कलेज अफ पुलिसीङका फाइनान्स एण्ड कमर्सियल प्रमुख Dominic Finigan तथा Head of International Engagement Veera Kaur Chaudhary, क्यामब्रिजसायर पुलिसका प्रमुख Nick Dean एवं क्यामब्रिजसायर पुलिस VAWG टीम लगायत HMICFRS का सदस्य Wendy Williams समेतसँग भेटघाट र छलफल गर्नुभएको थियो । भेटघाटका अवसरमा आपसी समन्वय, हित तथा सहयोग आदान प्रदान गर्ने विषयमा छलफल समेत भएको थियो । साथै ग्रीनविच पुलिस बरो कमाण्ड पुलिस स्टेसनको समेत अवलोकन र अध्ययन भ्रमण गर्नुभएको थियो । बेलायत भ्रमणको क्रममा नेपाली राजदुताबास लण्डनका राजदुत ज्ञानचन्द्र आचार्य र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको टोलीबीच नेपाली राजदुतावास लण्डनमा भेटवार्ता भएको थियो । भेटघाटका क्रममा नेपाली राजदुतावासमा कार्यरत कर्मचारी, नेपाल प्रहरीबाट बेलायतमा अध्ययनरत प्रहरी कर्मचारी, बेलायतमा रहेका पूर्व प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति थियो ।UNOPS सँग सुरूवात गरिएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतिहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिका विरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो । यसअघि तत्कालीन प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालको कार्यकालमा Phase 1 कार्यक्रम भएको थियो । बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म संचालन भएको उक्त कार्यक्रममा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल असोज २० गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।

निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा तीन सदस्यीय टोली अमेरिका प्रस्थान
२०८०-०६-२३

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ३ सदस्यीय टोली मंगलबार मित्रराष्ट्र संयुक्त राज्य अमेरिका प्रस्थान गरेको छ ।  अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा असोज २७ देखि ३० गतेसम्म संचालन हुने ‘International Association of Chief of Police Conference ’ विषयक कार्यक्रममा नेपाल प्रहरीको तर्फबाट सहभागी हुन उक्त टोली त्यसतर्फ प्रस्थान गरेको हो ।  उक्त टोलीमा निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईका साथै प्रहरी नायव महानिरीक्षकद्वय दुर्गा सिंह र केदार ढकाल सम्मिलित रहनुभएको छ । उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।United States Department of Justice International Criminal Investigative Training Assistance Program द्वारा आयोजित उक्त कार्यक्रममा इन्टरपोल र अन्तर्राष्ट्रिय पुलिस सम्बन्धका भावी योजना, समुदाय प्रहरी साझेदारी अवधारणा अनुरूप मानव बेचबिखनका पीडितको सशक्तिकरण र विश्वास अभिवृद्धि गर्ने तथा Artificial Intelligence and policing लगायत विविध विषयमा छलफल हुने कार्यक्रम रहेको छ । निमित्त प्रहरी महानिरीक्षक टेक प्रसाद राईको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा चार सदस्यीय टोली बेलायत प्रस्थान
२०८०-०६-२०

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ४ सदस्यीय टोली शनिबार संयुक्त अधिराज्य बेलायत प्रस्थान गरेको छ ।  बेलायत सरकारको निमन्त्रणामा असोज २२ गतेदेखि २६ गतेसम्म आयोजना हुने ‘Integrated Programme For Strengthening Security And Justice (Phase 2)’ विषयक कार्यक्रममा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका साथै प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसी, प्रहरी वरिष्ठ उपरीक्षकद्वय दान बहादुर कार्की र शेखर खनाल सम्मिलित रहनुभएको छ ।उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।UNOPS सँग सुरूवात गरिएको योजना अन्तर्गत नेपाल प्रहरी र बेलायत प्रहरीका उच्च अधिकारीहरूसँग सुरक्षा, अनुसन्धान र न्याय विषयमा भेटघाट तथा अनुभव आदान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा विकसित अपराधका चुनौतिहरूबारे अनुभव आदान प्रदान गर्नुका साथै त्यस्ता चुनौतिहरूको सामना गर्न उपयुक्त कानून, सीप, स्रोतसाधनको माध्यमद्वारा प्रयास गर्ने, सामुदायिक प्रहरी सेवा, यौनिक एवम् लैंगिक हिंसाका साथै बालबालिका विरूद्ध हुने अपराधको खतरालाई सम्बोधन गर्ने विषयमा छलफल हुनेछ । साथै सो अवधिमा बेलायत प्रहरी, प्रहरी ईकाइ आदिमा भेटघाट तथा अवलोकनको कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरी विशेष बढुवा
२०८०-०६-१८

काठमाडौं, मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेटतर्फ विश्व रेकर्ड कायम गर्न सफल भएका नेपाल पुलिस क्लव क्रिकेट टीमका कप्तान दिपेन्द्र सिंह ऐरीलाई प्रहरी सहायक हवल्दार पदमा पदोन्नति गरिएको छ ।   नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले पदोन्नति भएका दिपेन्द्र सिंह ऐरीलाई नेपाल प्रहरीको तर्फबाट अन्तर्राष्ट्रिय खेलमा सहभागी भई उत्कृष्ट खेल प्रदर्शन गरी विश्व कीर्तिमान कायम गर्न समेत सफल भएकोमा बधाई दिँदै सिंगो मुलुक तथा नेपाल प्रहरी संगठनको गरिमा उच्च पार्न निर्वाह गरेको अतुलनीय भूमिका र पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै एक तह बढुवा दिने निर्णय भएको उल्लेख गर्नुभयो ।  प्रहरी सहायक हवल्दार ऐरीलाई बढुवा गर्ने सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा बसेको नीति निर्माण समिति (पिसिसि) बैठकको निर्णयमा भनिएको छ, “१९औं एशियन गेम्समा विश्व कीर्तिमान रचि देश र संगठनको प्रतिष्ठा र गौरव अभिवृद्धि गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्‍याएको हुँदा नेपाल किक्रेट टिमका सदस्य प्रहरी जवान दिपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा प्रदान गरी प्रहरी सहायक हवल्दार पदमा बढुवा गर्ने निर्णय गरिएको छ ।”   दिपेन्द्र सिंह ऐरीले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै मित्रराष्ट्र चीनमा सञ्चालन भइरहेको १९औं एशियन गेम्समा टी-२० क्रिकेट प्रतियोगितामा असोज १० गते भएको मंगोलिया विरुद्धको खेलमा आफूले सामना गरेको पहिलो ६ बलमा ६ छक्का प्रहार गर्दै ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान कायम गर्न सफल भएका थिए ।  

प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०६-०९

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको दुरूपयोग गरी हुने आपराधिक क्रियाकलापलाई नियन्त्रण तथा अनुसन्धान गर्न नयाँ नयाँ प्रविधि भित्र्याउनुको साथै प्रहरी कर्मचारीहरूको दक्षता अभिवृद्धि गरी प्रविधिमा अब्बल बनाउनुपर्ने बताउनुभएको छ ।कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले गुनासो व्यवस्थापनको लागि क्यूआर कोडको प्रयोग सार्वजनिक गर्न सोही कार्यालयमा मंगलबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । कार्यक्रममा उहाँले कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग सम्बन्धि कार्यविधि, २०८० र उक्त क्यूआर कोड सार्वजनिक गर्नुभयो । उजुरी पेटिकाको डिजिटल संस्करणको रूपमा प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोड प्रयोगमा ल्याएको हो । आम सेवाग्राहीहरूको हितलाई मध्यनजर गरी प्रहरीले प्रदान गर्ने सेवामा कुनै गुनासो, पिरमर्का वा कैफियत भएमा सिधै क्यूआर कोड मार्फत सम्बन्धित जिल्लाका जिल्ला प्रहरी प्रमुख समक्ष सेवाग्राहीले आफ्नो भनाई राख्न वा उजुरी गर्न सक्नेछन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले संचालनमा ल्याएको क्यूआर कोडको प्रयोग प्रभावकारी भएकोले कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले यसलाई थप परिमार्जन गरी कोशी प्रदेश अन्तर्गत रहेका सम्पूर्ण प्रहरी कार्यालयले प्रयोग गर्ने गरी कार्यान्वयनमा ल्याएको हो । उक्त क्यूआर कोड कोशी प्रदेश प्रहरी तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूमा आजैदेखि कार्यान्वयनमा ल्याएको र ईलाका प्रहरी कार्यालय तथा चौकी स्तरसम्म एक महिनाभित्र सर्वसाधारणको सहजै पहुँच हुने उपयुक्त स्थानमा राखी कार्यान्वयनमा ल्याईने उक्त कार्यालयले जनाएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले क्यूआर कोडको प्रभावकारिता र कार्यान्वयनको लागि अनुगमन गर्न प्रहरी अधिकृत सहित प्राविधिक टोली खटाएको छ । साथै कोशी प्रदेश प्रहरीको क्यूआर कोडको प्रयोग गर्न आम सेवाग्राहीहरूलाई उक्त कार्यालयले अनुरोध समेत गरेको छ । उक्त क्यूआर कोड हाल कोशी प्रदेश प्रहरी कार्यालय र मातहत कोशी प्रहरी प्रदेश तालिम केन्द्र बिराटनगर, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय ईटहरी, विशेष सुरक्षा गण दुहवी, कोशी प्रदेश सशस्त्र प्रहरी गण बिराटनगर र १४ वटै जिल्ला प्रहरी कार्यालयहरूका गेट लगायतका सार्वसाधारणको सहज पहुँच हुने सार्वजनिक ठाउँमा उपलब्ध गराइएको छ ।  साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मंगलबार छुट्टाछुट्टै कार्यक्रमबीच कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ र जिल्ला प्रहरी कार्यालय सुनसरीको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुका साथै उक्त कार्यालय तथा मातहत कार्यालयहरूमा कार्यरत प्रहरी कर्मचारीहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन समेत दिनुभयो । 

आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव विविध कार्यक्रमकासाथ सम्पन्न
२०८०-०६-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २७औं वार्षिकोत्सव सोही केन्द्रको कार्यालय रानीबारीमा आइतबार आयोजित एक समारोहबीच विविध कार्यक्रमकासाथ सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र उक्त केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रका पूर्व अध्यक्षद्वय श्रीमती ज्ञानु ज्ञवाली र श्रीमती कुशुम लता सिंह तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी उपाध्यक्ष श्रीमती रूपा थापालाई सम्मानपत्र तथा प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज, केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०८०’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले सामाजिक सेवा मार्फत नेपाल प्रहरीको पहिचानलाई अझै प्रगाढ बनाउन मद्दत पुर्‍याएको उल्लेख गर्दै राष्ट्र र नागरिक सुरक्षामा अहोरात्र समर्पित नेपाल प्रहरीका समस्त सदस्यहरूलाई केन्द्रको सामाजिक सेवाले गौरवान्वित बनाएको बताउनुभयो । लागूऔषध विरूद्धको लडाइँमा आसरा सुधार केन्द्रले समाजमा पुर्‍याएको योगदान, कुलतमा फसेका व्यक्तिहरूलाई पुन:जीवन प्राप्तिको यात्रामा मद्दत गर्ने प्रतिवद्धताको साथै सामाजिक रूपान्तरणको लागि खेलेको भूमिका सराहनीय रहेको उल्लेख गर्नुभयो । लागूऔषधको कारोबार तथा लागूऔषधमा संलग्न व्यक्तिहरूको संख्या बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै नेपाल प्रहरीले यसको नियन्त्रणका लागि देशव्यापी रूपमा ‘लागूऔषध रोकथाम तथा नियन्त्रण कार्ययोजना’ कार्यान्वयनमा ल्याएको उहाँले जानकारी गराउनुभयो ।  समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष कुँवरले जान अन्जान, परिवेश र परिवन्दले लागूऔषधको दलदलमा फसेका लागूऔषध प्रयोगकर्ताहरुलाई कानुनी दण्डबाट दण्डित गरिनु भन्दा पनि सुधारात्मक तथा उपचारात्मक पद्दतिबाट सुधार गरी घर, परिवार तथा समाजसँगको पुनर्मिलनमा फर्काइनु पर्दछ भन्ने लक्ष्य राखी स्थापना भएको आसरा सुधार केन्द्रले सोही अनुरूप काम गर्दै आएको उल्लेख गर्नुभयो ।   केन्द्रकी सचिव श्रीमती सीता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरुले गीत, नृत्य प्रस्तुत तथा कविता वाचन र संगीत प्रशिक्षकबाट वाँसुरीको धुन प्रस्तुत गरिएको थियो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, नेपाल प्रहरी श्रीमती संघ तथा केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

देश र नागरिकको सेवा गर्ने अवसरलाई पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०६-०५

 चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धीरता, ईमान्दारिता, संगठनप्रतिको निष्ठा र तालिममा सिकेका पाठहरू अवलम्बन गर्दै देश र नागरिकको सेवा गर्ने अवसरलाई प्रहरी अधिकृतहरूले पूर्ण व्यावसायिकताका साथ निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी शिक्षालय भरतपुरमा शुक्रबार आयोजित प्रहरी सहायक निरीक्षक आधारभूत तालिम २-१७८औं समूहको दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरीको जीवन तनाव, दबाब र चुनौतीहरूको समिश्रण रहेको र सशक्त मानसिकताले सबै चुनौतिलाई परास्त गरेर आफ्नो कर्तव्य पालना गर्न सबल र सफल बनाउने चर्चा गर्दै आफ्नो कर्तव्यलाई अर्जुन दृष्टि सम्झेर तल्लीन भएमा व्यावसायिक जीवनका अड्चन र बाधाहरूलाई सहजै परास्त गर्न सफल हुने विचार व्यक्त गर्नुभयो । प्रहरीको कार्यक्षेत्रमा मानव अधिकार, लैंगिक संवेदनशीलता, जोखिममा रहेका वर्गहरुको संरक्षण तथा विधिको शासन जस्ता विषयहरूलाई सदैव शिरोधार्य गर्नुपर्ने र यी विषयहरूको पालनाले नै दीक्षित हुने प्रहरी अधिकृतहरूको व्यावसायिकता समेत झल्काउने उहाँले बताउनुभयो । प्रहरीको नीलो वर्दीमा राज्यको कानुनी अधिकार गाँसिएको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘दीक्षित हुन लागेका सबै प्रहरी सहायक निरीक्षकहरूलाई एउटा मन्त्र सधैँ मनन् गर्न निर्देशित गर्न चाहन्छु । राज्यले प्रदान गरेको अधिकारलाई शक्तिको रूपमा हैन, यसलाई सदैव राज्यले सुम्पिएको जिम्मेवारीको रूपमा ग्रहण गर्नुहोस् । कानूनले तपाईका कार्यहरूलाई निर्देशित गर्दछ भने विवेकले तपाईका निर्णयहरूलाई निर्देशित गर्दछ । संगठनप्रति वफादार सिपाहीको ब्रम्हले कहिल्यै पनि कसैप्रति अन्याय हुन वा गलत निर्णय लिन दिनेछैन भन्ने विश्वास लिएको छु ।’   कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो । तालिम संयोजक प्रहरी  नायव उपरीक्षक सूर्य बहादुर थापाले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७९ भदौ २० गतेदेखि संचालित उक्त तालिममा ५५ जना महिला सहित कुल ४ सय २६ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।   उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, जिल्ला अदालत चितवनका न्यायाधीश वासुदेव न्यौपाने, चितवन जिल्लाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापा, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण राणा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, भरतपुर महानगरपालिकाका कार्यकारी प्रशासकीय प्रमुख, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका कार्यालय प्रमुखहरू, सञ्चारकर्मीहरू तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा सात सदस्यीय टोली गणतन्त्र कोरियाबाट स्वदेश फिर्ता
२०८०-०६-०३

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरियामा सञ्चालन भएको ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी भई बुधबार स्वदेश फर्किएको छ । प्रहरी महानिरीक्षक कुँवरसहितको ७ सदस्यीय टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । कार्यशालाको दौरानमा प्रहरी महानिरीक्षक कुँवरले साइबर अपराधको नियन्त्रण तथा अनुसन्धानमा नेपाल प्रहरीको नीति तथा हाल गर्दै आएका कामबारे जानकारी गराउनुभएको थियो । सो क्रममा उहाँले कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर र कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखसँग छुट्टाछुटै भेटघाट गर्नुभएको  थियो । भेटघाटको क्रममा उहाँहरूबीच साइबर अपराध नियन्त्रणमा आपसी सहयोग र समन्वयका साथै नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल भएको थियो ।उक्त कार्यशालामा साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण समेत भएको थियो । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण भएको थियो ।कार्यशालामा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्यालले साइबर अपराध सुरक्षा सन्बन्धमा प्रस्तुतीकरण गर्नुभएको थियो ।Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि असोज ३ गतेसम्म सञ्चालन भएको उक्त कार्यशालामा सहभागी हुन प्रहरी महानिरीक्षक कुँवरको नेतृत्वमा प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री गत भदौ २५ गते त्यसतर्फ प्रस्थान गर्नुभएको थियो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा सात सदस्यीय टोली मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान
२०८०-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको नेतृत्वमा नेपाल प्रहरीका वरिष्ठ प्रहरी अधिकृतहरूको ७ सदस्यीय टोली सोमबार मित्रराष्ट्र गणतन्त्र कोरिया प्रस्थान गरेको छ ।  Sungkyunkwan University PMC (KOICA) को आयोजनामा भदौ २५ गतेदेखि आगामी असोज ३ गतेसम्म गणतन्त्र कोरियामा सञ्चालन हुने ‘Strategic Leadership Course on Cyber Crime Countermeasures’ विषयक कार्यशालामा सहभागी हुन उहाँहरू त्यसतर्फ प्रस्थान गर्नुभएको हो । उक्त टोलीमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको साथै प्रहरी अतिरिक्त महानिरीक्षकद्वय टेक प्रसाद राई र मीरा चौधरी, प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्रहरी नायव महानिरीक्षक विकाश राज खनाल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक नविन्द अर्याल र प्रहरी वरिष्ठ उपरीक्षक भुपेन्द्र बहादुर खत्री सम्मिलित रहनुभएको छ ।उहाँहरूलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।उक्त कार्यशालामा नेपालमा साइबर सुरक्षाका लागि रणनीतिक नीति निर्माण एवम् क्षमता अभिवृद्धिका लागि ज्ञान र अनुभवको आदान प्रदान तथा छलफल हुनेछ । साथै साइबर अपराध विरूद्ध कानूनी ढाँचा, नीति निर्माण र पीडित सुरक्षाका लागि तुलनात्मक अनुसन्धान विधिबारे कोरियाली विशेषज्ञहरूसँग अन्तरक्रिया एवं कोरिया प्रहरी व्यवस्थापन र सञ्चालन प्रणाली, ग्याङ्वोन प्रान्तीय प्रहरीको ट्राफिक नियन्त्रण प्रणाली, चुन्चोन इन्टरग्रेटेड कन्ट्रोल सेन्टर, कोरियन नेशनल पुलिस हेरिटेज म्युजिएम, राष्ट्रिय वैज्ञानिक अनुसन्धान इन्स्टिच्यूट आदिको अवलोकन भ्रमण लगायतका कार्यक्रम रहेका छन् । सो अवसरमा प्रहरी महानिरीक्षक कुँवर र कोरियन राष्ट्रिय प्रहरीका पुलिस कमिस्नर, ग्याङ्वोन प्रान्तका प्रादेशिक पुलिस कमिस्नर, कोरियन राष्ट्रिय प्रहरी विश्वविद्यालयका प्रमुखबीच भेटघाट तथा आपसी सहयोग र समन्वयका विषयमा छलफल हुने कार्यक्रम रहेको छ । भ्रमणको क्रममा कोरियाको Hallym University र Sungkyunkwan University को समेत अध्ययन भ्रमण गर्नुहुने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशनबीच सम्झौता-पत्रमा हस्ताक्षर
२०८०-०५-२४

काठमाडौं, नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन धुलिखेलबीच नेपाल प्रहरीद्वारा विभिन्न स्थानमा संचालित ९ वटा विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता-पत्रमा हस्ताक्षर भएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाले नेपाल पुलिस स्कुल साँगामा आयोजित एक समारोहबीच आइतबार उक्त सम्झौता-पत्रमा हस्ताक्षर गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीद्वारा संचालित विद्यालयहरूको शैक्षिक गुणस्तर तथा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने सम्बन्धी भएको सम्झौताका लागि काठमाडौं विश्वविद्यालयलाई धन्यवाद दिनुहुँदै नेपाल प्रहरीका कर्मचारीका सन्ततीहरूलाई प्रभावकारी र गुणस्तरीय शिक्षा प्रदान गर्ने अभिप्रायले स्थापना भएको पुलिस स्कुलले अहिले सर्वसाधारणका सन्ततीहरूलाई समेत समेटी अध्ययन अध्यापन गराउँदै आएको बताउनुभयो । सम्पूर्ण विकासको स्रोत नै गुणस्तरीय शिक्षा भएको उल्लेख गर्दै सम्झौता अनुसार नेपाल पुलिस स्कुलका शिक्षकहरूलाई प्रदान गरिने समयानुकूल ज्ञान र सीपले नेपाल पुलिस स्कुलको शिक्षण पद्दति र विद्यालय सुधारको दिशामा अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक कुँवरले शैक्षिक स्तरलाई माथि उठाउन परिवर्तित आधुनिक शिक्षा प्रणाली र सिद्धान्तहरूलाई अंगिकार गर्दै शिक्षण सिकाईको क्रियाकलापलाई काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेशन र नेपाल पुलिस स्कुलहरूबिचको सहकार्यले शैक्षिक गुणस्तरमा सुधार आउने विचार व्यक्त गर्नुभयो ।समारोहमा काठमाडौ विश्वविद्यालयका प्रा.डा. भोला थापाले नेपाल प्रहरी र काठमाडौं विश्वविद्यालयको सहकार्यले नेपाल पुलिस स्कुलको शैक्षिक गुणस्तर अभिवृद्धि हुने बताउनुभयो । साथै आगामी दिनमा पनि नेपाल प्रहरीसँग सहकार्यको क्षेत्रलाई अगाडि बढाउँदै लैजाने उहाँले उल्लेख गर्नुभयो ।समारोहमा नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक रेवती ढकालले सम्झौताको महत्व र उद्देश्यका बारेमा प्रकाश पार्नुभएको थियो । उक्त सम्झौता अनुसार काठमाडौं विश्वविद्यालयले नेपाल प्रहरीद्वारा सञ्चालित ९ वटा विद्यालयलाई सुदृढ पार्न सहकार्य गर्ने र ९ वटै विद्यालयका शिक्षक तथा अन्य जनशक्तिको क्षमता विकासमा सहयोग गर्ने छ । सम्झौता हस्ताक्षर भएको दिनदेखि ५ वर्षका लागि लागू हुनेछ । साथै सबै प्रहरी स्कुलहरूको समग्र शैक्षिक स्तर सुधार गर्ने विषयमा दुवै पक्षबीच सहकार्य हुनेछ ।उक्त कार्यक्रममा नेपाल पुलिस स्कुल साँगा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, काठमाडौं विश्वविद्यालय स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बाल चन्द्र लुइटेल एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई कार्यसम्पादन गर्नुपर्ने: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०४-३१

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले आफ्नो जिम्मेवारीमा खरो रूपमा प्रस्तुत भई उत्कृष्ट कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा कार्यालय प्रमुखको रूपमा खटि जान लागेका प्रहरी निरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनलाई सुधार गर्न, थप सुदृढ एवम् बलियो बनाउने तथा श्रीवृद्धि गर्नका लगि सबैको साथ सहयोग आवश्यक रहेको चर्चा गर्दै व्यावसायिक स्वार्थलाई आत्मसाथ गरी निष्ठावान, इमानदार एवम् सिर्जनशील भई कार्यसम्पादनको गुणस्तर राम्रो बनाउन आफ्नो अनुभवलाई प्रयोग गर्दै सकारात्मक सोचका साथ अगाडि बढ्न निर्देशन दिनुभयो ।  कानूनको कार्यान्वयन गर्ने प्रमुख जिम्मेवारी नेपाल प्रहरीको रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले हरेक पल पलमा नागिरकको साथमा रहेर सहकार्य गर्नुपर्ने एवम् नागरिकको समस्यामा सहजीकरण गर्नेतर्फ प्रहरी अधिकृतहरू केन्द्रीत हुनुपर्ने बताउनुभयो । आर्थिक अनियमिततामा शून्य सहनशीलतालाई आत्मसाथ गरी सिमान्तकृत एवम् पीडितवर्गहरूको सारथी भई उनीहरूको समस्या एवम् गुनासोलाई सम्बोधन गर्न समेत उहाँले बताउनुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले संगठनको आन्तरिक सुदृढीकरण एवम् प्रहरी कर्मचारीहरूको मनोबल अभिवृद्धि गर्न सरूवाको मापदण्ड आएको चर्चा गर्दै यसलाई अक्षरस पालना गर्नुपर्ने सबैको दायित्व रहेको उल्लेख गर्नुभयो । कानूनले दिएको अधिकारको पूर्ण प्रयोग तथा नेपाल प्रहरीको कार्ययोजना अनुरूप जनमैत्री सेवा प्रवाह, आन्तरिक सुदृढीकरण, राजश्व अभिवृद्धि, चोरीपैठारी लगायत अन्य अपराधिक गतिविधिमा थप क्रियाशील भई जिम्मेवारी वहन गर्नुपर्ने उहाँले बताउनुभयो । भिड नियन्त्रणमा थप संवेदनशील भई बल प्रयोगको सिद्धान्तलाई अवलम्बन गरी कार्य गर्नेतर्फ उहाँले जोड दिनुभयो ।   यसअघि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक विकास राज खनालले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।

सडक सुरक्षा सुनिश्चित गर्न सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक – प्रहरी महानिरीक्षक कुँवर
२०८०-०४-२२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबीच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित Traffic Awareness Video Screening and Stakeholders Interaction on Road Safety Policing विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीले विश्व स्वास्थ्य संगठन र UNDP का प्रतिनिधिहरूसँग सडक सुरक्षाका लागि एक अर्काको विशेषज्ञता र स्रोतहरू आदान प्रदान गरिने चर्चा गर्दै प्रत्येक नागरिकले सुरक्षित रूपमा यात्रा गर्न सक्ने गरी सबै सरोकारवाला निकायहरूको प्रयास एकताबद्ध गरी सडक सुरक्षालाई प्राथमिकतामा राखेर अगाडि बढ्नुपर्ने बताउनुभयो । सडक सुरक्षा सुनिश्चित गर्न धेरै चुनौति रहेको उल्लेख गर्दै ट्राफिक सचेतना र सडक सुरक्षासँग सम्बन्धित भिडियो मार्फत नागरिकलाई सडक सुरक्षाका विभिन्न पक्षहरूबारे शिक्षा दिन महत्वपूर्ण  योगदान पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव रघुराम विष्टले सडक प्रयोगकर्ताहरूले ट्राफिक नियमको पालना गरेमा सडक दुर्घटनाबाट हुने क्षतिमा कमी आउने चर्चा गर्दै सडक सुरक्षासँग सम्बन्धित विविध विषयहरूमा मन्त्रालयबाट आवश्यक साथ, सहयोग र समन्वय सदैव रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा.गोम्पे दोर्जेले सडक सुरक्षाका लागि नेपाल प्रहरी लगायत सबै सरोकारवाला निकायहरूसँग समन्वय गर्दै अगाडि बढ्ने बताउनुभयो ।  प्रहरी वरिष्ठ उपरीक्षक तारा देवी थापाले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै अन्तरक्रिया सम्बन्धि संक्षिप्त जानकारी दिनु भएको उक्त कार्यक्रममा सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा नेपाल प्रहरीको पहल तथा विश्व स्वास्थ्य संगठनद्वारा निर्मित ट्राफिक सम्बन्धि जनचेतनामूलक दुई भिडियो प्रस्तुत गरिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, विश्व स्वास्थ्य संगठनका प्रतिनिधि लगायत अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । 

प्रहरी महानिरीक्षकबाट प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०४-१७

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०८० साउन १६ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएका ८८ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी निरीक्षकबाट प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका १६ जना, प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्राविधिक प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ८ जना र प्रशासनतर्फ प्रहरी वरिष्ठ नायव निरीक्षकबाट प्रहरी निरीक्षक पदमा पदोन्नति भएका ६४ जना गरी कुल ८८ जना प्रहरी अधिकृतहरू रहनुभएको छ । सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिसँगै काँधमा थपिएको जिम्मेवारीलाई पदीय मर्यादा रहने गरी संगठनको श्रीवृद्धिलाई अर्जुनदृष्टि बनाएर काम गर्न निर्देशन दिनुभयो । राम्रो काम गर्ने प्रहरी कर्मचारीप्रति संगठन सदैव उदार रही योगदानको कदर गर्दै आएको उल्लेख गर्दै संगठनको प्रतिष्ठामा आँच आउने गरी गैरव्यावसायिक आचरण र क्रियाकलापमा संलग्न हुने छुट कसैलाई नभएको उहाँले बताउनुभयो ।  सगंठनले इमानदार, क्षमतावान र व्यावसायिक प्रहरी कर्मचारीलाई सदैव उच्च मूल्याङ्कन गर्दै आएको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “संगठनको लागि कर्मचारीहरूले केही गरे मात्र संगठन बलियो हुन्छ र संगठनले सबैको हकहितको लागि थप कुराहरू गर्ने सामर्थ्य राख्न सक्छ ।” संगठनको नीति तथा निर्देशन अनुसार आफ्नो ज्ञान, बुद्धि र विवेकको सही प्रयोग गरी संगठन सुदृढिकरणका लागि आ-आफ्नोतर्फबाट आत्मसमीक्षा गर्दै अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।     उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव उपरीक्षक डा. रमा बिष्टले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई प्रहरी कार्यमा कुशलतापूर्वक उच्च अनुशासनमा रही स्तरीय प्रहरी सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो । 

राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०८०-०४-१६

काठमाडौं, राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीको प्रमुख आतिथ्यता नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुहरूमा अन्तरक्रिया कार्यक्रम मंगलबार सम्पन्न भएको छ । कार्यक्रमलाई सम्वोधन गर्दै राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले अन्तरक्रियामा आएका सुझावहरूबाट सम्रग सुरक्षा प्रणालीलाई अझ सशक्त बनाउन, सुरक्षा सम्बन्धी रणनीति निर्माण गर्न एवम् राष्ट्रिय सुरक्षाको दृष्टिकोणबाट आन्तरिक एवम् बाह्य सुरक्षाका विषयहरूमा आवश्यक निर्णय लिन विशेष सहयोग पुग्ने विचार व्यक्त गर्नुभयो । अपराधको प्रवृत्ति फरक ढंगबाट परिमार्जित भइरहेको वर्तमान अवस्थामा त्यस्ता अपराधको सामना गर्न सोही अनुरूप सुरक्षा निकायहरूलाई तयार गर्नुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो । प्रहरीको क्षमता अभिवृद्धिका साथै संगठनलाई प्रविधियुक्त बनाउँदै थप सुदृढिकरण गर्दै जानुपर्ने उल्लेख गर्दै उहाँले सबै सरोकारवाला निकायबीच एकीकृत सूचना स्थापना गरी सुरक्षासँग सम्बन्धित विषयमा आवश्यक समन्वय गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउन सकिने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा गृहसचिव दिनेश भट्टराईले अन्तरक्रियामा उठेका विषयवस्तुहरूमा आफ्नो धारणा व्यक्त गर्दै  नेपाल प्रहरीले सीमित साधन स्रोत एवम् जनशक्तिको वावजूद अपराध अनुसन्धान तथा शान्ति सुरक्षा कायम गर्न निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो । गृहसचिव भट्टराईले आउँदा दिनमा प्रहरी संगठनलाई अझै दक्ष, साधनस्रोत सम्पन्न, सुदृढ एवम् प्रविधियुक्त बनाउँदै लैजानेतर्फ गृह मन्त्रालय निरन्तर क्रियाशील रहेको उल्लेख गर्नुभयो । सबै सुरक्षा निकायबीच एकीकृत सूचनाको आदान प्रदान एवम् समन्वय भएमा राष्ट्रिय सुरक्षा प्रणालीमा थप प्रभावकारिता आउने विचार उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय सुरक्षाको परम्परागत दृष्टिकोण अनुसार राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा नै राष्ट्रको महत्वपूर्ण आधार स्तम्भ रहेको बताउनुभयो । राष्ट्रिय सुरक्षाको सवालमा नेपालमा कानून कार्यान्वयन गर्ने प्रमुख सुरक्षा निकायको रूपमा नेपाल प्रहरीको पनि सशक्त भूमिका र योगदान रहेको चर्चा गर्दै उहाँले प्राथमिक र स्थायी दूरगामी राष्ट्रिय हितको पहिचान र सो प्राप्तिका लागि राष्ट्रिय सुरक्षामा क्रियाशील विविध पक्षहरूबीच साझा सोच र समझदारीको निर्माण अत्यावश्यक रहेको बताउनुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरीले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै राष्ट्रिय सुरक्षा सम्बन्धमा नेपाल प्रहरीको भूमिका, चुनौतिहरू, प्रहरी सांगठनिक संरचना, मानवस्रोत, स्रोत साधन व्यवस्थापन, अपेक्षा लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाली सेनाका उपरथी, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 

कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक कार्यशाला गोष्ठी सम्पन्न
२०८०-०४-१५

काठमाडौं, महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलको प्रमुख आतिथ्यता एवम् प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको अध्यक्षतामा नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कसूरको अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयक एक दिवसीय कार्यशाला गोष्ठी सोमबार सम्पन्न भएको छ ।   गोष्ठी उद्‍घाटन पश्चात महान्यायाधिवक्ता डा.दिनमणी पोखरेल र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा प्रकाशित ‘CID Magazine’ संयुक्त रूपमा विमोचन गर्नुभयो ।गोष्ठी समापन कार्यक्रममा महान्यायाधिवक्ता डा.दिनमणी पोखरेलले गोष्ठीमा भएको छलफलका विषयबस्तुहरू गम्भीर रहेको उल्लेख गर्दै अनुसन्धान र अभियोजनकर्ताबीच एक आपसमा अझ बढी सहयोग र समन्वय भईराखेमा अनुसन्धान र अभियोजनमा राम्रो परिणाम आउने बताउनुभयो । न्याय प्रणालीमा अनुसन्धान र अभियोजनलाई त्रुटिरहित र प्रभावकारी बनाउनका लागि दुवै निकाय एकजुट र क्रियाशील भएर कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले धन्यवाद ज्ञापन तथा समापन मन्तव्य व्यक्त गर्दै फौजदारी न्याय प्रणालीको महत्वपूर्ण स्तम्भको रूपमा रहेको अभियोजनकर्ता सरकारी वकिलको कार्यालय र अनुसन्धानकर्ता नेपाल प्रहरी बीचको व्यावसायिक र समन्वयात्मक सम्बन्धले न्याय प्रणालीलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउँदै लैजाने चर्चा गर्नुभयो । अपराध अनुसन्धान नेपाल प्रहरीको मुख्य जिम्मेवारी रहेको उल्लेख गर्दै यसको सुदृढिकरणसँगै नेपाल प्रहरीको पनि सुदृढिकरण जोडिएको हुनाले यसको संरक्षण र सम्बर्धनमा सबै प्रहरी कर्मचारी गम्भीर रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले महान्यायाधिवक्ताको कार्यालयका राय सुझावहरू नेपाल प्रहरीले मार्गनिर्देशनको रूपमा ग्रहण गरी अपराध अनुसन्धानको क्षमता अभिवृद्धि र वैज्ञानिक प्रणालीको विकासमा तल्लीन रहेको उल्लेख गर्दै सूचना प्रविधिका आधुनिक माध्यमहरूको प्रयोग, स्पष्ट लक्ष्य र रणनीति सहितको योजनाबद्ध तरिकाले कसूरको अनुसन्धान गर्न  नेपाल प्रहरी अग्रसर रहेको बताउनुभयो । जनशक्ति र स्रोतसाधनको सीमितता तथा विविध कानूनी जटिलता जस्ता चुनौतिको बहानामा जिम्मेवारीबाट पन्छिन नमिल्ने र ती चुनौतिलाई समाधान गर्ने कानूनी प्रणाली बमोजिम अपराध अनुसन्धानको जिम्मेवारी पूरा गर्नै पर्नेमा उहाँले जोड दिनुभयो ।  सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै गोष्ठीको उद्देश्यबारे जानकारी दिनुभएको थियो ।गोष्ठीको दौरानमा नायव महान्यायाधिवक्ता गोपाल प्रसाद रिजालले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू, अधिवक्ता सुवास आचार्यले प्रतिरक्षा वकीलको दृष्टिकोणबाट हाल भइरहेको कसूरको अनुसन्धानमा गरिनुपर्ने सुधारका पक्षहरु र सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुले कसूर अनुसन्धानमा देखिएका समस्या र सुधारका उपायहरू विषयमा प्रदेशगत प्रस्तुतीकरण गर्नुभएको थियो । साथै खुल्ला छलफलमा उठेका विविध विषयका जिज्ञासाहरुको सम्बन्धित अधिकारीहरुबाट निरूपण गरिएको थियो । नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागद्वारा आयोजित उक्त गोष्ठीमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालय कानून महाशाखाका सहसचिव, सहन्यायाधिवक्तहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, कानून व्यवसायी अधिवक्ताहरू, उप-न्यायाधिवक्ता लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको सहभागिता रहेको थियो । 

प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्नुपर्छ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०४-१५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रविधिको विकाससँगै अपराध लगायतका विभिन्न गतिविधिहरूमा परिवर्तन आएकोले प्रत्येक प्रहरी कर्मचारीहरूले आफ्नो व्यवहार र कार्यशैलीलाई समय अनुसार परिवर्तन गर्दै अगाडि बढ्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित आर्थिक वर्ष २०८०/०८१ को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राई, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवाली, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्य तथा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिपक थापा, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारी, कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक मिरा चौधरी, प्रदेश समन्यव विभागका प्रहरी अतिरिक्त महानिरीक्षक सुदिप गिरी  र ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले कार्य सम्पादन सम्झौतामा सिर्जनशील तथा प्रवर्धनात्मक कार्यक्रमहरू समावेश गरिएको हुँदा सम्पूर्ण प्रहरी कार्यालयहरूले आफ्नो कार्यशैलीमा सिर्जनशिलता देखाउँदै कार्यसम्पदान सम्झौताको उद्देश्य प्राप्तिका लागि दत्तचित भएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल सरकारले रूपान्तरणको नीतिलाई आत्मसात् गर्दै अगाडि बढेको अवस्थामा यो अवसरलाई सदुपयोग गर्दै प्रत्येक प्रहरी कर्मचारीहरुले सकारात्मक भई प्रहरी कार्यमा सुशासन कायम गर्ने, आन्तरिक शुद्धिकरण गर्ने, नागरिकमैत्री बन्ने र पूर्णव्यावसायिक बन्दै निष्ठामा रहेर प्रहरीको छवि सुधार्ने काम गर्न उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले स्वागत मन्तव्य व्यक्त गर्दै दुई आर्थिक वर्षको लागि तयार पारिएको नेपाल प्रहरी कार्ययोजना-२०८० स्वीकृत भएपश्चात वार्षिक कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रम तय गरिएको जानकारी दिनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

सुरक्षाकर्मीहरूले आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी छ - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०४-०५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सुरक्षा जस्तो संवेदनशील सेवामा काम गर्नुपर्ने भएकोले प्रहरीले कानून, समाज र परिवर्तनका नियमलाई बुझ्नुपर्छ र त्यसका लागि आफ्नो अध्ययन र बुझाइको धारणालाई बृहत बनाउन जरूरी रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीद्वारा लिखित ‘Enhancing Policing in Nepal, Human Security Informed Approach, Concept & Implications’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।   प्रहरी महानिरीक्षक कुँवरले प्रहरी सेवामा रहँदा रहँदै बौद्धिक तथा प्राज्ञिक क्षेत्रमा समेत योगदानको लागि समय निकाल्न सफल प्रहरी वरिष्ठ उपरीक्षक डा. केसीको समर्पण र लगाव अनुकरणीय रहेको उल्लेख गर्नुभयो । जनमानसको परम्परागत बुझाइमा प्रहरी भनेको फिल्डमा ढाल, डन्डा, लठ्ठी र बन्दुक बोकेर खटिने भएपनि यस पुस्तकले आम नागरिकमा व्याप्त रहेको सो धारणा चिर्न केही हदसम्म सफल हुने र नेपाल प्रहरी फिल्ड ड्यूटीमा मात्रै हैन बौद्धिक क्षेत्रमा पनि सक्षम छ भन्ने दृष्टान्त यस पुस्तक विमोचन समारोहको सन्देश भएको उहाँले उल्लेख गर्नुभयो । साथै यस पुस्तक नेपाल प्रहरी लगायत देश-विदेशका अन्य सुरक्षा निकायको लागि पनि महत्वपूर्ण दस्तावेजको रूपमा रहने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of center for Peace and Conflict studies, Cambodia का डा.एम्मा लेस्लीले उक्त पुस्तक विमोचन गर्नुभएको थियो ।नेपाली सेनाका अवकाश प्राप्त रथी बालानन्द शर्मा र President of center for Peace and Conflict studies, Cambodia का डा. एम्मा लेस्लीले पुस्तक सम्बन्धी आ-आफ्नो धारणासहितको मन्तव्य व्यक्त गर्दै पुस्तक सुरक्षा निकायमा कार्यरतका साथै अनुसन्धानमा संलग्नलाई विशेष उपयोगी हुने बताउनुभयो । समारोहमा स्वागत मन्तव्य व्यक्त गर्दै पुस्तकका लेखक प्रहरी वरिष्ठ उपरीक्षक डा. मनोज कुमार केसीले पुस्तकको विषयबस्तु, रिसर्चका लागि अपनाइएका उपायहरू लगायतका विषयमा संक्षिप्त प्रस्तुतीकरण गर्नुभएको थियो । समारोहमा सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू, काठमाडौं विश्वविद्यालयका प्राध्यापक, नेपाली सेनाका उपरथीहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका प्रहरी अतिरिक्त महानिरीक्षकहरू, अवकाश प्राप्त प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृहमन्त्रालयका सहसचिव, अवकाश प्राप्त एवम् वहालवाला वरिष्ठ प्रहरी अधिकृतहरू, विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा सञ्चारकर्मीहरूसँग साक्षात्कार
२०८०-०३-२२

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको छ । नेपाल प्रहरीको आगामी २ वर्षका लागि ‘नेपाल प्रहरी कार्ययोजना-२०८०’, चालु आर्थिक वर्षको गत ३ महिनाका मुख्य उपलब्धीहरू लगायत विविध विषयमा अन्तरक्रिया सहितको भेटघाट कार्यक्रममा उहाँले विभिन्न संचारमाध्यमका सञ्चारकर्मीहरूसँग साक्षात्कार गर्नुभएको हो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले गृहमन्त्रालयबाट प्राप्त निर्देशन अनुरूप संगठनको सुदृढिकरणका लागि उपयुक्त वातावरण सिर्जना गरी अगाडि बढ्ने चर्चा गर्नुभयो । साथै उहाँले सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको निरूपण गर्दै प्रहरी संगठनलाई थप सुदृढ बनाउँदै छवि सुधार गर्नका लागि सञ्चारकर्मीसँग समेत समन्वय र सहकार्य गर्दै जाने बताउनुभयो । संगठनका चुनौतिहरूको सामना गर्न प्रहरी संगठन गम्भीरतापूर्वक योजना बनाई कार्यान्वयन गर्दै जाने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवर, वरिष्ठ प्रहरी अधिकृतहरू र उपस्थित सञ्चारकर्मीहरूबीच उक्त कार्ययोजना कार्यान्वयनका साथै अन्य समसामयिक विषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।  उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले चालु आर्थिक वर्षको त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क प्रस्तुत गर्दै राष्ट्रिय स्तरमा चर्चित उल्लेख्य अपराध अनुसन्धान, अवैध हातहतियार बरामद, नष्ट तथा मानिस पक्राउ, सवारी दुर्घटना, विपद् व्यवस्थापन, नेपाल प्रहरीबाट भएका नयाँ कार्यहरू, अन्तर्राष्ट्रिय प्रहरी समन्वय लगायतका विषयमा जानकारी दिनुभयो । उक्त विषयहरूमा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासाहरूको उहाँले निरूपण  समेत गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी नायव महानिरीक्षक बिष्णु कुमार केसीले नेपाल प्रहरी कार्ययोजना-२०८० को संक्षिप्त प्रस्तुतीकरण गर्दै कार्ययोजनाको परिचय, उद्देश्य, मुख्य लक्ष्यहरू, कार्य योजना क्रियाकलापहरूको समष्टिगत विश्‍लेषणात्मक प्रगति विवरण र कार्ययोजनाको बेन्चमार्क गतिविधिहरूका बारेमा जानकारी दिनुभयो । साथै उहाँले नेपाल प्रहरी कार्ययोजना-२०७९ को प्रगति समीक्षा समेत गर्नुभयो ।   प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने कार्ययोजनाको उद्देश्य रहेको छ । कार्ययोजनामा १३ वटा मुख्य लक्ष्य, ४० वटा लक्ष्य अनुरूपको कार्यगत उद्देश्य र १ सय ८३ वटा क्रियाकलाप सङ्ख्या रहेका छन् । नेपाल प्रहरीको आन्तरिक सुदृढिकरण योजनातर्फ ५ वटा र नागरिक केन्द्रित प्रहरी सेवातर्फ ४ वटा गरी प्राथमिकताको आधारमा जम्मा ९ वटा वेन्चमार्क गतिविधि निर्धारण गरिएको छ । प्रहरी कर्मचारीको संघीय संरचना अनुरुप समायोजन गर्ने लगायतका १३ वटा मुख्य लक्ष्यहरू रहेको उक्त कार्ययोजनामा नेपाल सरकारको न्यूनतम साझा कार्यक्रमहरू, आ.व. २०८०/८१ को स्वीकृत नीति कार्यक्रम, गृह प्रशासन सुधार योजना २०७८, गृह मन्त्रालयको वर्तमान प्राथमिकताका क्षेत्रहरू, नेपाल प्रहरीको रणनीतिक योजना, नेपाल प्रहरीद्वारा कार्यान्वयन गरिएका विगतका कार्ययोजनाहरूको अध्ययनको साथै नेपाल प्रहरीको प्राथमिकतागत क्षेत्रहरूको पहिचान, वर्तमान समस्या तथा चुनौतीहरू दृष्टिगत गर्दै कार्ययोजनाका गतिविधिहरू निर्धारण गरिएका छन् । नेपाल प्रहरीले गर्दै आईरहेको कार्यलाई योजनावद्ध एवं व्यवस्थित ढङ्गले सम्पादन गर्न आगामी दुई आर्थिक वर्षका लागि तयार गरिएको नेपाल प्रहरी कार्ययोजना-२०८० आगामी साउन १ गतेबाट विधिवत रूपमा कार्यान्वयनको चरणमा जानेछ । छलफल तथा प्रस्तुतीकरण कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण कार्यक्रम सम्पन्न
२०८०-०३-२२

काठमाडौं, प्रचलित कानुनको अधिनमा रही मुलुकभर सुदृढ शान्ति-सुव्यवस्था कायम राख्ने, अपराध रोकथाम तथा नियन्त्रण गर्ने विशिष्टिकृत तथा वैज्ञानिक अपराध अनुसन्धान क्षमता अभिवृद्धि एवं प्रहरी सेवा प्रवाहको गुणस्तरमा व्यवसायिक सुदृढिकरण गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने सन्दर्भमा तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिक गरिएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित नेपाल प्रहरीको कार्ययोजना-२०८० सार्वजनिकिकरण कार्यक्रमबीच उक्त कार्ययोजना सार्वजनिक गर्नुभएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले कार्ययोजनाको प्रमुख उद्देश्य भन्नु नै प्रहरी सेवा प्रवाहको गुणस्तर वृद्धि गरी समग्र प्रहरी संगठनको दीर्घकालीन विकास तथा रूपान्तरण गर्ने भएकोले सम्पूर्ण प्रहरी कर्मचारीहरूले स्वामित्व लिई उच्च मनोबलका साथ कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । कार्ययोजनाले समयानुकूल सांगठनिक विकासमा महत्वपूर्ण टेवा पुग्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले अहोरात्र जनताको जीउधनको सुरक्षामा खटिनु पर्ने जिम्मेवारी बहन गर्न उच्च मनोवलयुक्त प्रहरी कर्मचारीहरूबाट मात्र सम्भव भएकोले आन्तरिक शुद्धिकरण, वैज्ञानिक र विशिष्टिकृत अपराध अनुसन्धान प्रणाली, प्रहरी कर्मचारीका आधारभूत आवश्यकताहरूको परिपूर्ति, वृत्ति विकास र कल्याणकारी योजनाहरू यस कार्ययोजनाको मुख्य लक्ष्यमा परेको उल्लेख गर्नुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले नेपाल प्रहरी कार्ययोजना-२०८०, नेपाल प्रहरी कार्ययोजना-२०७९ को समीक्षा, कार्यान्वयन प्रकृया एवम् कार्ययोजना बेन्चमार्क गतिविधिहरू सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधि, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही प्रहरी सेवा हो : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०३-१७

गोरखा, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको प्राथमिकता आन्तरिक शुद्धिकरण, उत्तरदायी र जवाफदेही  प्रहरी सेवा भएकोले प्रहरी कर्मचारीहरुले यसलाई मध्यनजर गरी नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न सदैव कटिवद्ध रही काम गर्नुपर्ने बताउनुभएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखाको आइतबार निरीक्षण भ्रमण तथा अनुगमनको सिलसिलामा उक्त कार्यालय तथा मातहतमा  कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुवँरले उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक कुँवरले मनसुनको समय रहेकोले स्थानीय पालिकाहरुसँगको समन्वयमा स्रोत साधनहरुको व्यवस्थापन सहित प्रहरी कर्मचारीहरुले विपद् व्यवस्थापनमा सक्रिय रही उद्धारका लागि तयारी अवस्थामा रहनुपर्ने बताउनुभयो । समाजमा हुने छुवाछूत, महिला तथा घरेलु हिंसा लगायतका घटना घटेमा तीव्र अनुसन्धान पहल गर्नुका साथै अन्य मुद्दाका फैसला कार्यान्वयन र फरार अपराधीहरूको पक्राउ, पेन्डिङ् मुद्दाहरूको फर्छ्यौटप्रति कार्यालय प्रमुखहरु थप क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले संगठनका नीति, निर्देशिका र प्राथमिकतालाई अर्जुनदृष्टि बनाएर व्यावसायिक निष्ठाका साथ मन, वचन र कर्मले कार्यरत रहँदै सेवाग्राहीहरुलाई नागरिकमैत्री व्यवहारका साथ उत्कृष्ट सेवा दिनुपर्नेमा जोड दिनुभयो । कानुनको निष्पक्ष कार्यान्वयन गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरीले मिठो बोली, वचन र व्यवहारका साथ सेवा गर्ने व्यावसायिक धर्म निर्वाह गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धानमा सबुत प्रमाणको खोजी गर्नुपर्ने, लिखितममा मेहनत गर्ने, पीडितहरू सँगको भेटघाट, उनीहरूको सुरक्षा र घटनाको फलोअप नियमित गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयका प्रमुख तथा अन्य प्रहरी अधिकृत तथा जवानहरू समेतको उपस्थिति रहेको थियो ।

आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिबद्ध भई नागरिक सेवामा लाग्नुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०३-१६

चितवन, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतिलाई सामना गर्न आफ्नो जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरूपमा नागरिक सेवामा लाग्नुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू लगायत सम्पूर्ण प्रशिक्षकहरूलाई शनिबार निर्देशन दिँदै प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी कर्मचारीहरूमा निहित सिप र अनुभव तथा जिम्मेवारीलाई गुणस्तरिय रूपमा सम्पादन गर्दा नै संगठनको श्रीबृद्धि हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘व्यावसायिक स्वार्थका लागि निष्ठा, दृढता र सकारात्मक सोचका साथ अगाडि बढ्नु पर्ने आजको आवश्यकता र नागरिक चाहना पनि हो ।’ नेपाल प्रहरीका प्रशिक्षण प्रदायक संस्थाहरुले नव आगन्तुकहरुलाई असल र व्यावसायिक संस्कार र दृष्टिकोण प्रदान गर्नका लागि हरेक कमाण्डर सबै भन्दा पहिले आफै नमूनाको रूपमा प्रस्तुत हुनुपर्नेमा उहाँले जोड दिनुभयो । आन्तरिक शुद्धिकरणमा शून्य सहनशिलताको नीतिलाई अंगिकार गर्दै जनमुखी र व्यवसायिक दक्षता हासिल गर्नेतर्फ सबै प्रहरी कर्मचारीहरू अग्रसर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक दुर्गा सिंहले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक निशान थापाले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शिक्षालय परिसरमा वृक्षरोपण समेत गर्नुभएको थियो ।  यसैगरी प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शनिबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भम्रण गर्नुका साथै जिल्ला प्रहरी कार्यालय चितवनमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् मातहत ईकाइ प्रमुखहरूलाई समसामहिक बिषयमा आवश्यक निर्देशन दिनुभयो । 

संयुक्त राष्ट्रसंघका उपमहासचिव र प्रहरी महानिरीक्षकबीच शिष्टाचार भेट
२०८०-०३-१३

काठमाडौं, संयुक्त राष्ट्रसंघका Under-Secretary General for Peace Operations, Mr. Jean Pierre Lacroix र प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेट भएको छ ।   भेटका अवसरमा उपमहासचिव Lacroix ले संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटिएका नेपाल प्रहरीका कर्मचारीहरूको योगदानको उच्च प्रशंसा गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले मानव अधिकारको संरक्षण एवम् प्रवर्द्धन गर्दै संयुक्त राष्ट्रसंघको विधानप्रति सदैव प्रतिवद्ध रहँदै शान्ति स्थापनार्थ नेपाल प्रहरी परिचालित भई योगदान दिँदै आएको बताउनुभयो ।  भेटका अवसरमा उहाँहरूबीच संयुक्त राष्ट्रसंघको अनुरोधमा विभिन्न मिसनमा शान्ति स्थापनार्थ परिचालित हुने नेपाल प्रहरीको सहभागिता बढाउने, राष्ट्रसंघमा नेपाल प्रहरीको योगदान र आपसी हित लगायतका बिषयमा छलफल भएको थियो ।   कार्यक्रममा संयुक्त राष्ट्र संघका नेपालस्थित आवसीय प्रतिनिधि Hanaa Singer-Hamdy, नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङ, केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायत अन्य वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नक्सालस्थित राष्ट्रिय वाणिज्य बैंकको एक्सटेन्सन काउन्टर उद्‍घाटन
२०८०-०३-१२

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय नक्साल परिसरस्थित राष्ट्रिय वाणिज्य बैंक लिमिटेड एक्सटेन्सन काउन्टरको मंगलबार एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारी समेत लिनुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिना धितोमा कर्जा, दुर्घटना बिमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न मद्दत गरेको बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकको सबै भन्दा ठूलो ग्राहक समूहमा नेपाल प्रहरी सूचिकृत हुनु खुशीको विषय भएको चर्चा गर्दै उहाँले देशभरका कुल ९५ हजार भन्दा बढी नेपाल प्रहरीका बहालवाला तथा अवकाश प्राप्त सदस्यहरूले बैंकको सञ्जालमा आवद्ध भई सबै जिल्लाहरूबाट सेवा प्राप्त गरिरहेको बताउनुभयो । बैंकसँगको समझदारीले नेपाल प्रहरीका सकल दर्जाको वित्तिय साक्षरता प्रवर्द्धन गर्न एवम् वचतलाई प्रोत्साहन गर्न उल्लेख्य सहयोग प्राप्त भएको उहाँले चर्चा गर्नुभयो ।   कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी र बैंकबीच विभिन्न क्षेत्रमा समझदारी हुँदै आएको उल्लेख गर्दै आगामी दिनमा समेत दुवै पक्षबीच आवश्यक समन्वय र समझदारीलाई निरन्तरता दिइने बताउनुभयो । दुवै पक्षबीचको सम्बन्धलाई सुदृढ गरी अझ गतिशिलताका साथ अगाडि बढ्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   राष्ट्रिय वाणिज्य बैंकका उप कार्यकारी अधिकृत पवन रेग्मीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, राष्ट्रिय वाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृतहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृत एवम् बैंकका अन्य पदाधिकारीहरूको उपस्थिति रहेको थियो । 

पेशागत स्वार्थलाई आत्मसात गरी अस्पतालको गुणस्तर अभिवृद्धिमा ऐक्यबद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०३-०७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी अस्पतालको छवि, साख, विश्वास एवम् अस्पतालले प्रवाह गर्ने सेवाको गुणस्तर अभिवृद्धि गर्न अस्पतालमा कार्यरत प्रहरी अधिकृतहरूले व्यक्तिगत स्वार्थ भन्दा पनि पेशागत स्वार्थलाई आत्मसात गरी ऐक्यबद्ध भई उत्कृष्ट कार्य सम्पादन गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी अस्पताल महाराजगञ्जको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक कुँवरले अस्पतालमा आउने सेवाग्राहीको आशा र समस्याहरूलाई सम्बोधन गर्दै अझ शिष्ट बोली वचन एवम् व्यवहार तथा सकारात्मक सोँचका साथ जिम्मेवारी वहन गर्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । अस्पतालले प्रदान गर्ने गुणस्तरीय सेवा प्रवाह एवम् सेवाग्राहीको गुनासो व्यवस्थापनमा अस्पताल प्रशासनले अझै प्रवाभकारी भूमिका निर्वाह गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले सीमित साधन स्रोत एवम् विज्ञ जनशक्तिका वावजुद पनि अस्पतालले प्रवाह गरेको सेवा प्रशंसनीय रहेको उल्लेख गर्दै अस्पतालको लक्ष्य हासिलको लागि अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूले आफ्नो जिम्मेवारीलाई गम्भीरतापूर्वक वहन गरी सम्पादन गर्नुपर्ने बताउनुभयो । अस्पतालका कमी कमजोरी सुधार र चुनौतिको सामना गर्न सामूहिक भावनाका साथ जिम्मेवारी वहन गर्न निर्देशन दिँदै उहाँले मानवीय सेवा प्रवाह गर्ने अस्पतालको छवि सदैव उच्च बनाउनुपर्ने विचार व्यक्त गर्नुभयो । निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालस्थित अक्सिजन प्लान्ट, इमरजेन्सी विभाग, जेष्ठ प्रहरी अतिथि गृह, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, नेपाल प्रहरी अस्पताल स्कुल अफ हेल्थ साइन्सेज, मेडिसिन ओपिडि, मेस, डायलायसिस, विभिन्न वार्डहरूलगायत विभिन्न यूनिटहरूको अवलोकन गर्नुका साथै त्यस सम्बन्धी गतिविधिबारे जानकारी लिनुभयो । साथै उहाँले अस्पतालमा कार्यरत प्रहरी कर्मचारीहरू एवम् उपचाररत विरामीहरूसँग अन्तरक्रिया समेत गर्नुभएको थियो । कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै अस्पतालको विकास र सेवा विस्तारको लागि संगठन प्रमुखबाट प्राप्त महत्वपूर्ण निर्देशनलाई पालना गर्दै काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सेवा प्रवाहमा सुधार गर्न समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै विशिष्टिकृत सेवा थप गर्दै लैजाने लक्ष्य रहेको उहाँले उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०२-३१

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर) को २०८० जेठ २९ गतेको निर्णयले प्राविधिक तथा प्रशासनतर्फ पदोन्नति भएकामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ४ जना र प्रशासनतर्फ प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका ४६ जना गरी कुल ५० जनामध्ये ४५ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको हो । पदोन्नति भएका ५ जना प्रहरी नायव उपरीक्षकहरु हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूले पदोन्नतिबाट प्राप्त हुने उत्साह र उर्जासँगै आगामी दिनमा थप परिपक्वताका साथ जिम्मेवारी बहन गर्ने विश्वास लिएको बताउनुभयो । पदोन्नतिलाई अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसरको रूपमा लिई पदोन्नतिको औचित्य पुष्टि हुने गरी काम गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिलाई क्रमश: परिस्कृत बनाउँदै लैजाने नीति अनुरूप निश्चित मापदण्ड र प्रणालीको आधारमा  पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा व्यक्तिगत स्वार्थ र महत्वकांक्षा भन्दा माथि उठेर संगठनको हितका लागि एक्यवद्ध भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्‍याउन सबै प्रहरी कर्मचारीहरू इमानदार हुनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “धैर्य र निष्ठालाई कायमै राख्न सकेमा उचित समयमा उचित मूल्याङ्कन हुन्छ ।” उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी उपरीक्षक डा. अर्जुन प्रसाद डुम्रेले पदोन्नतिबाट प्राप्त भएको जिम्मेवारीलाई अझ उत्कृष्ट ढंगबाट निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा इन्टरपोललाई झण्डा हस्तान्तरण
२०८०-०२-२४

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले इन्टरपोलका President Ahmed Naser Al-Raisi र महासचिव Jurgen Stock लाई प्रहरी वरिष्ठ नायब निरीक्षक पुरूषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा फहराएको इन्टरपोलको झण्डा हस्तान्तरण गर्नुभएको छ ।इन्टरपोल महासचिवालयको आयोजनामा इन्टरपोल सदस्य राष्ट्रहरूका प्रमुखहरूबीच बुधबारदेखि सिंगापुरमा सुरू भएको १८औं हेड अफ नेशनल सेन्ट्रल व्यूरो (एनसिबी)  कन्फ्रेन्सका अवसरमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक कुँवरले उक्त झण्डा हस्तान्तरण गर्नुभएको हो ।इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट आरोहणमा सहभागी प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल हुनुभएको थियो । आगामी शुक्रबार सम्पन्न हुने उक्त कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरुका एनसिबी प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच समन्वय तथा सहकार्यको विषयहरूमा छलफल हुने र इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू समेत आदानप्रदान हुने कार्यक्रम रहेको छ । एनसिबी काठमाडौंका प्रमुख प्रहरी महानिरीक्षक कुँवर उक्त कन्फ्रेन्समा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको थियो । कन्फ्रेन्समा एनसिबी काठमाडौंका शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेतको सहभागिता रहेको छ । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर हेड अफ एनसिबी कन्फ्रेन्समा सहभागी हुन सिंगापुर प्रस्थान
२०८०-०२-२२

काठमाडौं, National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा सिंगापुरमा संचालन हुने ‘हेड अफ एनसिबी कन्फ्रेन्स’मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो । सन् १९२३ मा स्थापना भएको इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा इन्टरपोलको १००औं सदस्य नेपालको तर्फबाट २०८० जेठ २ गते मंगलबार बिहान १०:१५ बजे नेपाल प्रहरीका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डा सहित नेपाल प्रहरी र इन्टरपोलको झण्डा फहराउन सफल भएकोमा इन्टरपोलको उक्त झण्डा प्रहरी महानिरीक्षक कुँवरबाट कन्फ्रेन्सको दौरानमा इन्टरपोलका President Ahmed Naser Al-Raisi लाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । हेड अफ एनसिबी कन्फ्रेन्समा अन्तर्राष्ट्रिय स्तरमा हुने अपराधहरूको नियन्त्रण सम्बन्धमा इन्टरपोलका सम्पूर्ण १९५ सदस्य राष्ट्रहरूका NCB प्रमुखहरू तथा इन्टरपोल महासचिवबीच एकैसाथ समन्वय एवम् सहकार्यको विषयहरूमा छलफल हुने गर्छ । कन्फ्रेन्समा इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूले आ-आफ्ना देशका प्राथमिकताहरू, उत्कृष्ट अभ्यासहरू आदान प्रदान गर्नेछन् ।  इन्टरपोलका सदस्य राष्ट्रहरूका प्रमुखहरूको हरेक वर्ष हुने Head of NCB Conference यस वर्ष सन् २०२३ जुन ७ देखि ९ (तद्अनुसार २०८० जेठ २४ देखि २६ गते) सम्म सिंगापुरमा सम्पन्न हुनेछ । कन्फ्रेन्समा NCB Kathmandu का शाखा प्रमुख प्रहरी उपरीक्षक अनुपम शमशेर ज.ब.रा. समेत सहभागी हुनु हुनेछ ।  प्रहरी महानिरीक्षक कुँवरको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्ने : प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०२-१६

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी कर्मचारीहरूले आफ्नो आचरण, व्यवहार, इच्छाशक्ति तथा कामप्रतिको उत्प्रेरणामा सुधार गर्दै नागरिकमैत्री सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर कार्य सम्पादन गरी सेवाको गुणस्तर अभिवृद्धि गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ ।    प्रहरी महानिरीक्षक कुँवरले ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू एवम् सबै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुलाई मंगलबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै उक्त कुरा बताउनुभएको हो ।   नेपाल सरकार र प्रहरी संगठनको नीतिका साथै संगठनको आन्तरिक सुदृढिकरणलाई प्रमुख एजेण्डा मानेर अगाडि बढ्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘त्यसका लागि विशुद्ध रूपमा व्यावसायिक निष्ठाका साथ कार्य सम्पादन गर्ने, संगठनप्रति बफादार रहने, व्यक्तिगत स्वार्थ भन्दा संगठनको स्वार्थलाई प्राथमिकतामा राख्ने र त्यो अनुसारको काम कारवाही बोल्ने भन्दा पनि व्यवहारमा लागू गरी त्यसको रिजल्ट आउने गरी कार्य सम्पादन हुनुपर्छ ।’   प्रहरी महानिरीक्षक कुँवरले सीमावर्ती अपराध नियन्त्रण, तस्करी नियन्त्रण, अवैध चोरी पैठारी नियन्त्रण तथा राजश्व संकलनमा थप क्रियाशील भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रत्येक कार्यालय प्रमुखहरूले आ-आफ्नो मातहत कार्यालयहरुको सुपरीवेक्षण तथा अनुगमन गर्न समेत निर्देशन दिनुभयो । नागरिकप्रति अपनत्व भाव राखी नागरिकस्तरबाट आएका सूचनालाई प्रोएक्टिभ रूपमा प्रयोग गर्नुपर्ने उल्लेख गर्दै उहाँले संगठनको छवि र साखमा वृद्धि गर्न विभिन्न किसिमको सिर्जनात्मक क्रियाकलाप संचालन गरी संगठनको लक्ष्य प्राप्तिका लागि सबै एकढिक्का भएर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक कुबेर कडायत लगायतका प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख एवम् प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

२१ जना प्रहरी उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०२-०८

काठमाडौं,  नेपाल सरकार गृह मन्त्रालय (सचिवस्तर)को २०८० जेठ ५ गतेको निर्णयले प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका २२ जनामध्ये २१ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूको पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्यक्षमतालाई अझ सशक्त र फराकिलो बनाई संगठनले चाहेको र नागरिकले खोजेको स्तरको सेवा प्रदान गर्न कटिवद्ध हुनुपर्ने बताउनुभयो । नेपाल प्रहरी संगठनमा प्रचलनमा रहेका कार्यशैली, अभ्यासहरू, पद्धति, प्रणाली र प्रक्रियालाई विश्वसनीय बनाउन समयानुकूल सुधार र परिवर्तनको आवश्यकता रहेकोले परिवर्तनको संवाहकको रुपमा काम गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले चुनौतीकाबीच पनि अवसर खोज्नुपर्ने हाम्रो सेवामा, संगठनलाई तोकिएको लक्ष्य प्राप्ति सामूहिक प्रयासबाट मात्र सम्भव हुने भएकोले संगठनलाई प्रणाली र प्रद्धतिमा डोर्‍याउन सबैको सकारात्मक सल्लाह, सुझाव र सहाकार्यको भूमिका रहने बताउनुभयो । विद्यमान प्रणालीहरुलाई समयानुकूल सुधार गर्दै लैजान सबैले आफ्नो अन्तरहृदयदेखि संगठनप्रति बफादार रही उच्च समर्पण भावका साथ अनुशासित भई कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी उपरीक्षक गौतम कुमार केसीले संगठनलाई थप उचाई दिन एवं राष्ट्रको हित, समाज र नागरिक सुरक्षाको खातिर जस्तो सुकै प्रतिकूलतालाई चिर्दै हरदम प्रयासरत रही संगठनप्रतिको विश्वासलाई जिवन्त बनाइराख्न प्रतिबद्ध रहेको बताउनुभयो ।  दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रहरी उपरीक्षकहरू गौतम कुमार केसी, अपिल राज बोहरा, नवराज कार्की, गोबिन्द पुरी, रबिन्द्र बहादुर सिंह, चित्र बहादुर गुरूङ, राम प्रसाद घर्तिमगर, बासुदेव पाठक, रुपेश खड्का, मिलन केसी, भावेष रिमाल, सन्तोष आचार्य, नारायण प्रसाद चिमरीया, कुमोध ढुंगेल, श्याम बहादुर खत्री, शालिग्राम शर्मा, हरिहर नाथ योगी, श्याम कुमार राई, गोबिन्दराज काफ्ले, नरेन्द्र चन्द र राजन भुजेल रहनुभएको छ । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी उपरीक्षक बसुन्धरा खड्का हाल तालिमको सिलसिलमा विदेशमा रहनुभएको छ । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

२० जना प्रहरी वरिष्ठ उपरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०१-२५

काठमाडौं,  नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २१ जनामध्ये २० जना प्रहरी अधिकृतहरू दर्ज्यानीद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानीद्वारा सुशोभन गर्नुभएको हो । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेबी थापा र प्रज्वल महर्जन तथा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहनुभएको छ । साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त हाल संयुक्त राष्ट्र संघीय मिसनमा कार्यरत रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई फरक ढङ्ग र शैलीले काम गरी प्रहरी संगठनको प्रतिष्ठा बढाउने काममा समर्पित हुने अपेक्षा रहेको बताउनुभयो । संगठनको विधि र प्रकृया अनुसार पदोन्नति भएको उल्लेख गर्दै उहाँले संगठनप्रति बफादार, इमानदार र निष्ठावान बन्दै संगठन सुधार गर्ने सुनौलो अवसरलाई आत्मसाथ गरी भावनात्मक रूपमा एकवद्धता भएर अगाडि बढ्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले संगठन बनाउने हकमा आन्तरिक शुद्धिकरणको साथै अझै उत्कृष्ट काम गर्न सबै एकजुट हुन आव्हान गर्दै नागरिकमैत्री व्यवहार प्रस्तुत गर्न आग्रहसमेत गर्नुभयो । नेपाल सरकारको प्राथमिकतालाई ध्यान दिँदै अझै सचेत र संवेदनशील भएर शान्ति सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् नागरिक सेवामा समर्पित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीले प्राप्त अवसर, उर्जा, हौसला र जिम्मेवारीलाई अझै परिष्कृत, परिमार्जित एवम् उत्कृष्ट तवरले कार्य सम्पदान गर्दै संगठनको श्रीवृद्धिमा मन, वचन र कर्मले समर्पित हुने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०८०-०१-२२

अर्घाखाँची, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै नागरिकमैत्री प्रहरी सेवालाई पहिलो प्राथमिकतामा राखेर सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।  जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको शुक्रबार निरीक्षण भ्रमण तथा उक्त कार्यालय एवम् मातहत कार्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले उक्त कुरा बताउनुभएको हो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक कुँवरले समाजमा शान्ति सुरक्षा कायम गर्न एवम् अपराध अनुसन्धान तथा नियन्त्रणको लागि सरोकारवाला निकायहरूसँग आवश्यक समन्वय र सहकार्य गर्दै प्रभावकारी कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीको काम कर्तव्य, जिम्मेवारी, अधिकार एवम् प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने आचरण तथा व्यवहारमा सुधार ल्याई संगठनको हित र विकासलाई सदैव प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी काम कारवाहीमा मानव अधिकारको संरक्षण तथा सम्वर्द्धन गर्दै उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले अनुचित लाभमा शून्य सहनशिलता नीतिलाई अबलम्बन गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । साथै उहाँले हिरासत व्यवस्थापनमा थप संवेदनशील भई कार्य गर्न समेत आग्रह गर्नुभयो ।   कार्यक्रममा जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा सो कार्यालय मातहत इकाईमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । साथै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला समन्वय समितिका प्रमुख, सन्धिखर्क नगरपालिकाका प्रमुख, अर्घाखाँची जिल्लाका प्रमुख जिल्ला अधिकारी, पूर्व उपसभामुख पुष्पा भुसाल, जिल्लास्थित राजनीतिक दलका प्रमुखहरु, नेपाल पत्रकार महासंघका अध्यक्ष तथा जिल्लामा क्रियाशील संचारकर्मीहरु, उद्योग वाणिज्य संघका अध्यक्ष, चेम्बर अफ कमर्शका अध्यक्ष र स्थानीय बुद्धिजिवी लगायतहरुसँग जिल्लाको शान्ति सुरक्षा तथा समसामयिक विषयमा शुक्रबार छलफल तथा अन्तरक्रिया समेत गर्नुभयो ।   

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट जिल्ला प्रहरी कार्यालय गुल्मीमा नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०१-२१

गुल्मी, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी परिसरमा नवनिर्मित कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, प्रहरी ब्यारेक, भान्सा घर तथा हिरासत कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले समुदाय-प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सहकार्य गर्ने रेसुङगा नगरपालिकालाई कदरपत्र तथा भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने विभिन्न महानुभावहरुलाई प्रशंसा-पत्र प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यलाई नेपाल सरकारले तिव्रता दिएको उल्लेख गर्दै प्रहरीका काम कारवाहीलाई सहजीकरण गरी कार्य सम्पदानको गुणस्तरलाई वृद्धि गर्न नवनिर्मित भवनहरू सहयोगी हुने बताउनुभयो ।  अपराध अनुसन्धानको सुयोग्य साधन बनाउने अभिप्रायले स्थापित नेपाल प्रहरीले अपराध अनुसन्धान तथा नियन्त्रणलाई पहिलो प्राथमिकतामा राख्दै सबै सरोकारवाला निकायहरूसँग समन्वय गरी एकतावद्ध भएर आफ्नो भूमिका निर्वाह गरिरहेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले भवन अभाव भएको अवस्थामा नवनिर्मित भवनले काम गर्न सहज हुने र प्रहरी कर्मचारीहरूको मनोबलमा थप वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो ।  गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी सागर मणी पाठक र रेसुङ्गा नगरपालिका उप-प्रमुख अमृता देवी कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी उपरीक्षक नविन किशोर प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको थियो । जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक डिल्ली नारायण पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेटबाट कुल ६ करोड ६८ लाख २६ हजार ३ सय ५६ रूपैयाँको लागतमा उक्त भवनहरू निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा जिल्ला अदालत गुल्मीका न्यायाधीश वसन्त राज पौडेल, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, पूर्व प्रहरी कर्मचारीहरू, अमर प्रहरीका परिवारहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो । उद्‍घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मी तथा मातहत इकाईहरुमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूलाई आवश्यक निर्देशन समेत दिनुभयो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट ईलाका प्रहरी कार्यालय बुटवलको नवनिर्मित भवनहरू उद्‍घाटन
२०८०-०१-२१

रूपन्देही, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले ईलाका प्रहरी कार्यालय बुटवल रूपन्देही परिसरमा नवनिर्मित कार्यालय भवन, कार्यालय प्रमुख निवास, प्रहरी ब्यारेक, भान्सा घर तथा नागरिक सहायता कक्ष भवनहरूको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले भवन निर्माण कार्यमा संलग्न निर्माण व्यवसायीहरूलाई कदरपत्र तथा भवन निर्माणमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनलाई आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो । आधुनिक भवनहरूसँगै  प्रहरीको सेवाप्रतिको इमान्दारिता, जिम्मेवारी बोध, प्रहरी आचरण र व्यवहारले प्रहरीप्रतिको जनविश्वास अभिवृद्धि गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । भवनहरू सबैको साझा सम्पत्ति रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले नव-निर्मित भवनहरूप्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्द्धन गर्दै दीर्घकालसम्म जर्गेनाका लागि सहयोग गर्न सवैसँग आग्रह गर्नुभयो ।  बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डे र रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।  जिल्ला प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी उपरीक्षक भरत बहादुर बिकले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई. धुर्व अधिकारीले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रहरी ब्यारेक भवन र कार्यालय प्रमुख निवास भवन नेपाल सरकारको नियमित बजेटबाट कुल ३ करोड १९ लाख १३ हजार ३ सय ३६ रूपैयाँ ३२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो भने प्रहरी कार्यालय भवन, भान्सा घर र नागरिक सहायता कक्ष प्रदेश सरकारको नियमित बजेटबाट कुल २ करोड ४१ लाख २० हजार ४ सय ६२ रूपैयाँ २१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।   कार्यक्रममा तिलोत्तमा, देवदह तथा सैनामैना नगरपालिकाका नगर प्रमुखहरू, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जिल्लास्थित राजनैतिक दलका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय जनप्रतिनिधिहरू, विभिन्न संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरू, स्थानीय समाजसेवी, भद्रभलादमी, संचारकर्मी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीका क्रिकेट खेलाडीहरू सम्मानित
२०८०-०१-२०

काठमाडौं, राष्ट्रिय क्रिकेट टिमको प्रतिनिधित्व गरी हालै सम्पन्न “एसीसी प्रिमियर कप-२०२३” लगायत विभिन्न अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताहरूमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल नेपाल प्रहरीका ६ जना क्रिकेट खेलाडीहरूलाई सम्मान गरिएको छ । नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रमबीच उहाँहरूलाई प्रशंसापत्र तथा नगद पुरस्कारद्वारा सम्मान गर्नुभएको हो । सम्मानित हुने खेलाडीहरूमा प्रहरी कर्मचारीहरू नेपाल पुलिस क्रिकेट टिमका क्याप्टेन दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, मोहमद आरिफ शेख, ललित राजवंशी एवम् नेपाल प्रहरीमा आवद्ध करण केसी र गुल्सन झा रहेका छन् ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठन र राष्ट्रको प्रतिनिधित्व गर्दै सहभागी भई हालै सम्पन्न भएको एसीसी प्रिमियर कप-२०२३ मा उत्कृष्ट प्रदर्शन गरी विजयी हासिल गरेकोमा बधाई दिनुभयो । राष्ट्र एवम् संगठनको छवि अझ उच्च गर्नमा आगामी दिनमा हुने प्रतियोगितामा उत्कृष्ट प्रदर्शनको लागि उहाँले शुभकामना समेत दिनुभयो । एसीसी प्रिमियर कप-२०२३ मा नेपाल प्रहरीका खेलाडीहरूको उत्कृष्ट प्रदर्शन तथा राष्ट्रिय सम्मान अभिवृद्धिमा गरेको योगदानको नेपाल सरकारले पनि उच्च मूल्याङ्कन गरेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरीका खेलाडीहरूको मनोबल उच्च गराउन, क्षमता अभिवृद्धि गर्न र वृत्तिविकासका लागि संगठन सदैव क्रियाशील रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सम्मानित खेलाडीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्दै कुशल भुर्तेलले नेपाल प्रहरी संगठनको प्रतिनिधित्व गरी सफलता प्राप्त गरेकोमा धेरै गौरव महसुस गरेको बताउनुभयो । साथै आउँदा दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।  

नेपाली सेनाका तालिमरत अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको अवलोकन भ्रमण
२०८०-०१-२०

काठमाडौं, नेपाली सैनिक वार कलेज नगरकोटमा हायर कमाण्ड तथा म्यानेजमेन्ट कोर्स सि.सं.११ का तालिमरत ३३ जना महासेनानीहरू लगायत जम्मा ३६ जना अधिकृतहरूबाट नेपाल प्रहरी प्रधान कार्यालयको बुधबार अवलोकन भ्रमण सम्पन्न भएको छ ।सो क्रममा उहाँहरूले नेपाल प्रहरी प्रधान कार्यालयस्थित पोलिग्राफ शाखा, डाटा सेन्टर र डिजिटल फरेन्सिक ल्याबसमेतको अवलोकन गर्नुभयो । साथै उहाँहरूले आजै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको समेत अवलोकन भ्रमण गर्नुभएको थियो ।  अवलोकन पश्चात आयोजित अन्तरक्रिया कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाली सेनासँग नेपाल प्रहरीको आत्मीय  सम्बन्ध रहेको उल्लेख गर्दै विभिन्न कालखण्डमा नेपाल प्रहरीले नेपाली सेनासँग सहकार्य गर्दै आएको स्मरण गर्नुभयो । अन्तरक्रियाको क्रममा तालिमरत अधिकृतहरूले नेपाल प्रहरी सम्बन्धी विविध विषयमा राखेका जिज्ञासाहरुको निरुपण गर्दै प्रहरी महानिरीक्षक कुँवरले विभिन्न जनचेतनामूलक कार्यक्रम लगायत नागरिकले गरेका अपेक्षा अनुसार काम गर्ने दुवै संगठन बिच सूचनाको आदान प्रदान, आपसी सहयोग र समन्वय भइरहेको एवं आउँदा दिनमा समेत अझ प्रभावकारी रुपमा एक आपसमा सहयोग हुने चर्चा गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र नेपाली सेनाका सहायक रथी डा.रञ्जित थापाले कृतज्ञताको चिनो आदान प्रदान गर्नुभयो । 

नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्यसम्पादन सम्झौताको कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
२०८०-०१-१५

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको उपस्थितिमा नेपाल प्रहरीको कार्ययोजना, २०७९ र चालु आ.व. २०७९/०८० को वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति समीक्षा कार्यक्रम शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय सम्पन्न भएको छ । कार्यक्रमलाई निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापको प्रभावकारिता मापन गर्दै कामको गुणस्तर बढाउँदै लैजानुपर्ने बताउनुभयो । समग्रमा प्रहरीप्रतिको दृष्टिकोण नागरिक र सामाजमा सकारात्मक बनाउन, नागरिकको विश्वास जगाउन र त्यो विश्वासलाई थप अभिवृद्धि गर्न प्रहरीले सीमान्तकृत वर्ग र निम्नस्तरका नागरिकप्रति अझ आत्मीय हुँदै नागरिक सेवामा समर्पित हुनुपर्ने विचार व्यक्त गर्नुभयो । नेपाल सरकार र प्रहरी संगठनको लक्ष्य प्राप्तिको लागि सबै प्रहरी कर्मचारीहरूले आफ्नो काम, कर्तव्य र जिम्मेवारीप्रति जवाफदेही भएर उत्कृष्ट तवरले कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले अपराध अनुसन्धान तथा नियन्त्रणको साथै अभियुक्तलाई कानुनी दायरामा ल्याउन अझ सक्रिय भई कार्यसम्पादन गर्नुपर्ने उल्लेख गर्दै आफूलाई दिइएको जिम्मेवारी एवं लक्ष्य प्राप्तिको लागि एक्यवद्ध भई कार्य गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्न कमाण्डरहरूले आफूलाई रोलमोडलको रूपमा प्रस्तुत गर्दै जानुपर्ने उहाँले उल्लेख गर्नुभयो । शान्ति सुरक्षामा आउने समस्या र चुनौतीहरूको सामना गर्न सबै प्रहरी कार्यालयहरूले आवश्यक रणनीति तथा कार्ययोजना बनाई अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै जान उहाँले निर्देशन दिनुभयो ।     समीक्षा कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न विभागका प्रमुख तथा प्रतिनिधि, नेपाल प्रहरी अस्पतालका प्रतिनिधि, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधि, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, केन्द्रीय अनुसन्धान व्यूरो तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिहरुले नेपाल प्रहरीको कार्ययोजना र वार्षिक कार्य सम्पादन सम्झौताको २०७९ साल चैत महिनासम्मको कार्य प्रगति, विद्यमान शान्ति सुरक्षाको अवस्था, अपराध अनुसन्धान तथा नियन्त्रण, नागरिक सेवा लगायत आ-आफ्नो कार्यालय तथा मातहत कार्यालयबाट भएका प्रहरी कारबाही लगायतका अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधि, नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयहरूका प्रमुखहरू, तीन वटै परिसर एवम् जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी- लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०८०-०१-११

काठमाडौं, नेपाल प्रहरी र लक्ष्मी बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो ।  उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट प्रहरी नायव महानिरीक्षक केदार ढकाल र लक्ष्मी बैंकको तर्फबाट बैंकका प्रमुख रिटेल फाईनान्स सर्भिस दिपेश अमात्यले हस्ताक्षर गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि लक्ष्मी बैंकलाई धन्यवाद दिँदै यस सम्झौताले प्रहरी कर्मचारीहरूको मनोबल उच्च गर्ने, कार्यसम्पादनमा सकारात्मक सुधार ल्याउनुका साथै प्रहरी प्रवाह गर्ने सेवामा गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । आगामी दिनमासमेत नेपाल प्रहरी र लक्ष्मी बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजय विक्रम शाहले नेपाल प्रहरीले देश तथा समाजको शान्ति सुरक्षामा गरेको योगदानको प्रशंसा गर्दै बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा समेत सहयोग गर्दै आएको बताउनुभयो । यस सम्झौताले प्रहरीका सन्ततीहरुलाई गुणस्तरीय शिक्षा हासिल गर्न सहयोग हुने अपेक्षा व्यक्त गर्दै उहाँले आगामी दिनमा नेपाल प्रहरीसँग आवश्यक सहकार्य र समन्वय गर्दै जाने बताउनुभयो ।  सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकिएको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, पूर्व एवम् अवकाश प्राप्त, अमर/शहीद एवम् अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका प्रहरी कर्माचारीका सन्ततीहरूमध्ये उत्कृष्ट अंक प्राप्त गर्ने कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि लक्ष्मी बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-लक्ष्मी बैंक छात्रवृत्ति अक्षयकोष’ को स्थापना वापत एकमुष्ठ नभई प्रत्येक वर्ष ५ लाख रूपैयाँका दरले कोषमा जम्मा २५ लाख रूपैयाँ उपलब्ध गराउनेछ र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षयकोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत लक्ष्मी बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०८०-०१-०८

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा आ.व. २०७९/०८० को वार्षिक तालिम क्यालेण्डरको अर्धवार्षिक समीक्षा तथा चालु आ.व. २०८०/८१ को वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी गोष्ठी शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समापन भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले तालिम केन्द्रले प्रदान गर्ने तालिमहरू कार्यक्षेत्रमा प्रभावकारी रूपमा लागू हुने गरी प्रहरी कर्मचारीहरुलाई प्रशिक्षण गर्नुपर्ने बताउनुभयो । संख्यात्मक भन्दा पनि गुणात्मक तालिम प्रदान गर्नेतर्फ सबै तालिम केन्द्रहरू अग्रसर हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक कुँवरले प्रहरी कर्मचारीहरुले तालिममा प्राप्त गरेका ज्ञान, सिप, गौशललाई अक्षरस व्यवहारमा लागू गर्दै मनोवृत्तिगत परिवर्तन गर्नुपर्ने आजको आवश्यकता रहेको बताउदै प्रशिक्षणमा योग्य भएका प्रशिक्षकहरूमार्फत संगठनमा गुणस्तरीय जनशक्ति उत्पादन गर्न सकिने, संगठनमा सकारात्मक छवि कायम हुने तथा प्रभावकारी प्रहरी सेवा प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । तालिम केन्द्रहरूले क्षमता विकास गर्ने गरी गुणस्तरीय प्रशिक्षण प्रदान गर्नुपर्नेमा जोड दिँदै सबै तालिम प्रदायक संस्थाहरूले एकरुपता कायम गर्दै नेपाल प्रहरी तालिम संचालन कार्यदिशालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।प्रहरी महानिरीक्षक कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीहरू सामूहिक रूपमा काम गर्दै सरकार र प्रहरी संगठनले लिएको लक्ष्य प्राप्तिका लागि अझ अबल र समयसापेक्षरूपमा परिवर्तित भई कार्यसम्पदान गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण तालिम प्रदायक निकायहरूको अनुगमन तथा सुपरीवेक्षण गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान सदैव अभिभावकीय रूपमा परिचालन हुँदै तालिम केन्द्रहरूलाई रिसर्च सेन्टरका रुपमासमेत विकास गर्न सहयोग गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा धन्यवाद ज्ञापन गर्दै राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईले प्रहरी महानिरीक्षकज्यूबाट तालिमका बारेमा प्राप्त निर्देशनहरूलाई गम्भीरता पूर्वक लिएर कार्यान्वयन गर्ने बताउनुभयो । तालिमलाई वृत्ति विकासको रुपमा मात्र नलिई यसलाई राष्ट्र र संगठनको आवश्यकताको रूपमा लिएर राष्ट्र र संगठनको लक्ष्य प्राप्तितर्फ अग्रसर हुनुपर्ने उहाँले बताउनुभयो ।  संगठनको आवश्यकता अनुसार तालिम क्यालेण्डर तयार पारिएको उहाँले उल्लेख गर्नुभयो । विभिन्न तालिम दिने निकायहरूसँग सहकार्य र समन्वय गर्दै समयसापेक्ष तालिम पाठयक्रमहरूलाई थप व्यवस्थित र परिवर्तन गर्दै लैजाने प्रहरी अतिरिक्त महानिरीक्षक राईले जानकारी दिनुभयो ।  प्रतिष्ठानका सह-निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका प्रहरी उपरीक्षक बसन्त रजौरेले गोष्ठीको सार सङ्क्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात गोष्ठीमा सहभागी वरिष्ठ प्रहरी अधिकृतहरु समेतले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, नेपाल प्रहरी शिक्षालय भरतपुर लगायत देशभरका अन्य तालिम प्रदायक संस्थाका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा मुख्य प्रशिक्षण प्रदायक कार्यालयहरूसँग घनीभूत छलफल भएको थियो ।  गोष्ठी समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो । 

१३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०८०-०१-०७

काठमाडौं, नेपाल सरकार उपप्रधानमन्त्री एवं गृहमन्त्रीस्तरको २०८० वैशाख ६ गतेको निर्णयअनुसार प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १३ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा कुबेर कडायत, केदार ढकाल, बिष्णु कुमार केसी, भरत बहादुर बोहरा, रबिन्द्र केसी, राजेशनाथ बास्तोला, चन्द्र कुबेर खापुङ, जनक भट्टराई, लालमणी आचार्य, सुरेन्द्र प्रसाद मैनाली, अर्जुन चन्द ठकुरी, यज्ञ बिनोद पोखरेल र बिकाश राज खनाल रहनुभएको छ ।  समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिनुभयो । नेपाल सरकार गृहमन्त्रालय लगायत नेतृत्व तह प्रहरी संगठनलाई सुधार, सुदृढिकरण र सवलिकरण गर्नमा प्रतिवद्ध रहेकोले सम्पूर्ण प्रहरी अधिकृत तथा जवानहरू एकजुट भएर प्रहरीको काम कारवाहीलाई अझ बढी प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । पदोन्नति भएका प्रहरी अधिकृतहरूले आफूले प्राप्त गरेको प्रदीय जिम्मेवारीलाई अझ फरक ढङ्ले सम्पादन गरी मनोवृत्तिगत परिवर्तन गर्दै रूपान्तरण हुन उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले व्यक्तिगत स्वार्थ त्यागेर अगाडि बढेमा काम गर्नका लागि मनोबल, उत्प्रेरणा र इच्छाशक्ति प्राप्त हुने चर्चा गर्दै प्रहरीको कार्यसम्पादन तथा प्रहरीले प्रवाह गर्ने सेवामा स्तरोन्नति हुने उल्लेख गर्नुभयो । नागरिकको मर्का र समस्यालाई सहजीकरण गर्दै तल्लो तह र सिमान्तकृत वर्गको सेवक भएर कसैको दबाब र प्रभावमा नपरी काम गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । कुनै पनि आपराधिक क्रियाकलापमा प्रहरी कर्मचारीहरू संलग्न भएको पाइएमा त्यस्तो प्रवृत्ति क्षम्य नहुने र संलग्नलाई कठोर र निर्मम भएर कारवाही गरिने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले तस्करी, सीमा अपराध र राजश्व चुहावट रोक्न अझ बढी सक्रिय र आक्रामक भएर काम गर्नुपर्ने बताउनुभयो । नेपाल सरकार गृहमन्त्रालयको नीति र नागरिकको चाहना अनुसार प्रहरीको काम कारवाहीलाई अझ बढी चलायमान बनाउँदै संगठनलाई थप मजबुद बनाउन कटिवद्ध हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।  समारोहमा पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक कुबेर कडायतले पदोन्नतिको अवसर प्रदान गर्नुहुने सम्पूर्णप्रति आभार व्यक्त गर्दै ऐन, कानुन, नियम, नियमावली, निर्देशन तथा आफ्नो क्षमता र विवेकले भ्याएसम्म संगठनको श्रीवृद्धिमा समर्पित भई काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

इन्टरपोलको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गर्ने नेपाल प्रहरीको कर्मचारीलाई झण्डा हस्तान्तरण
२०७९-१२-३०

काठमाडौं, अन्तर्राष्ट्रिय प्रहरी संगठन इन्टरपोल स्थापनाको शताब्दी वर्षको अवसरमा सर्वोच्च शिखर सगरमाथा आरोहण गरी राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा र इन्टरपोलको झण्डा फहराउन आरोहणदलका सदस्यसहित त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएका नेपाल प्रहरी पहरा गण सामाखुशीमा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपालीलाई शुभकामानसहित झण्डा हस्तान्तरण गरिएको छ ।  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रमबीच प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीलाई राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा, इन्टरपोलको झण्डा एवम् आरोहणमा प्रयोग हुने सामग्रीहरू हस्तान्तरण गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले आरोहणमा जान लागेका प्रहरी वरिष्ठ नायव निरीक्षक नेपालीसहितका सदस्यलाई यात्राको सहज, सुखद एवम् सफलताको शुभकामना व्यक्त गर्नुभयो । साथै आरोहणमा साथ सहयोग एवम् सहजीकरण गर्ने विभिन्न सरकारी निकाय तथा इलाइट हिमालयन एडभेन्चरलाई उहाँले कृतज्ञता व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले यस आरोहण मार्फत इन्टरपोलको सदस्य राष्ट्रहरूको शान्ति सुरक्षा, अपराध अनुसन्धान एवम् नियन्त्रणमा भएको प्रतिवद्धताप्रति नेपाल प्रहरीको पनि पूर्णरूपमा ऐक्यबद्धता रहेको सन्देश तथा पर्यटकहरूको सुरक्षाको अनुभूति हुने सन्देश समेत प्रवाह हुने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रमुख प्रहरी उपरीक्षक अनुपम शम्शेर जबराले आरोहण सम्बन्धी सङ्क्षिप्त जानकारी दिनुभएको थियो । उक्त आरोहणको लागि प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०७९ फागुन २६ गतेको निर्णयानुसार स्वीकृत भई आए पश्चात माउन्टेनियरिङ तालिम प्राप्त गरी ६ हजार ४७६ मिटर उचाईको मिरा पिक लगायत अन्य हिमालहरू सफलतापूर्वक आरोहणको अनुभव प्राप्त गरेका प्रहरी वरिष्ठ नायव निरीक्षक पुरूषोत्तम नेपाली उक्त आरोहणको लागि छनौट भएको र उक्त आरोहणको लागि इलाइट हिमालयन एडभेन्चरसँग सहकार्य गरिएको प्रहरी उपरीक्षक जबराले जानकारी दिनुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, इलाइट हिमालयन एडभेन्चरका डाइरेक्टर, एभरेष्ट समिटर्स एशोसियसनका महासचिव एवम् वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।    सन् १९२३ मा अष्ट्रियाको भियनामा स्थापना भएको इन्टरपोलले सफलतापूर्वक १००औं वसन्त पूरा गरेको अवसरमा इन्टरपोलको शताब्दी वर्ष मनाउने क्रममा नेपाल प्रहरीले पनि विभिन्न कार्यक्रमहरूको आयोजना गरी मनाउने योजना अन्तर्गत विश्व सम्पदा सूचीमा सूचिकृत सर्वोच्च शिखर सगरमाथामा नेपाल प्रहरीका कर्मचारीले आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय झण्डासहित नेपाल प्रहरी र इन्टरपोलको झण्डाहरू फहराउने कार्यक्रमको योजना रहेको सो अवसरमा जानकारी दिईयो ।  नेपाल प्रहरीले विभिन्न हिमाल आरोहण गरिसकेको र नेपाल प्रहरी संगठनमा हिमाली शाखाको वि.सं. २०४२ सालमा स्थापना भई नेपाल प्रहरी कर्मचारीहरू र नेपाल प्रहरी परिवार संघका पदाधिकारीहरूले समेत विगतमा विभिन्न हिमालहरू सफलतापूर्वक आरोहण गर्नुका साथै प्रहरी कर्मचारीहरूले सगरमाथा सफाई अभियानमा सहभागी भएको, विभिन्न आरोहण दलमा सम्पर्क अधिकृतको रूपमा भूमिका समेत निर्वाह गरिसकेको छ । यस आरोहण मार्फत कुनैपनि आपराधिक क्रियाकलाप हुन नदिने र कानुन कार्यान्वयनमा नेपालको पूर्णरूपमा ऐक्यबद्धता रहेको भन्ने महत्वपूर्ण सन्देश विश्वसामु प्रवाह हुने र यसबाट नेपालको पर्यटन प्रवर्द्धन भई अर्थतन्त्रमा टेवा पुग्नुको साथै प्रहरीको उपस्थितिले विश्वभरका पर्वतारोही पर्यटकहरूमा थप सुरक्षाको अनुभूति हुनेछ ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९औं वार्षिकोत्सव सम्पन्न
२०७९-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोमबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३९औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषबाट अस्पताललाई प्रदान हुने २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो । साथै उहाँले अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७९’ र नेपाल मेडिकल जर्नलकोसमेत लोकार्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले अस्पतालको सेवा प्रवाहमा उल्लेखनीय योगदान दिनुहुने अस्पतालका पूर्व मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. काशीराम कुँवरलाई सम्मानपत्रसहित मायाको चिनो प्रदान गर्नुभयो । साथै उहाँले लुम्बिनी प्रदेश प्रहरी अस्पतालका भिजिटिङ कन्सल्टेन्ट डा. अशिम किद्धाईलाई कदरपत्र, लुम्बिनी प्रदेश प्रहरी अस्पताल र काठमाडौं उपत्यका प्रहरी सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंजलाई प्रशंसापत्र, सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत इमर्जेन्सी विभागलाई शिल्ड तथा प्रशंसापत्र एवम् अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत प्रदान गर्नुभयो । सो अवसरमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताललाई हालको क्षमता र स्तरसम्म पुर्‍याउन अथक मेहनत, परिश्रम र लगनका साथ योगदान दिनुहुने सम्पूर्ण अग्रजहरूको भूमिकाको प्रशंसा गर्नुभयो । अस्पताल सार्वजनिक चासोको क्षेत्र भएको र अस्पतालले प्रदान गर्ने सेवामा सबै तहका प्रहरी कर्मचारी र सर्वसाधारणका लागि समान अवसर र पहुँच हुनुपर्ने उल्लेख गर्दै उहाँले अस्पतालबाट प्रवाह हुने सेवा प्रहरी कर्मचारीको मनोबलसँगसमेत गाँसिने भएकोले उत्कृष्ट व्यवहार र भावनाका साथ सेवा प्रवाह गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारूहरूलाई निर्देशन दिनुभयो । अस्पतालमा आउने सेवाग्राहीको पृष्ठपोषणको आधारमा सेवा प्रवाह गर्न सकेमा अस्पतालप्रतिको छवि अझै राम्रो हुनेतर्फ उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी अस्पताल नितान्त सेवा प्रवाह गर्ने संस्था भएकोले व्यक्तिगत स्वार्थ भन्दा पनि संगठनको छवि उच्च गर्न र संगठनको लक्ष्य प्राप्त गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू क्रियाशील हुनुपर्ने बताउनुभयो । अस्पतालले प्रवाह गर्ने सेवालाई अझै उत्कृष्ट एवम् पारदर्शी रूपमा अगाडि बढाउँदै सेवाग्राहीले अनुभूति गर्ने गरी सेवा प्रदान गर्नसमेत अस्पताल प्रशासनलाई उहाँले निर्देशन दिनुभयो । कमि कमजोरीप्रति निर्मम रूपमा लागेर सेवा प्रवाहलाई नै प्रमुख दायित्व मानेर अगाडि बढेमा सेवाको गुणस्तरीय र अस्पतालप्रतिको छवि सुधार्न सकिने विचार व्यक्त गर्दै प्रहरी महानिरीक्षक कुँवरले अस्पतालले प्रवाह गर्ने सेवा सुविधा समग्र सेवाग्राही र प्रहरी कार्यसम्पादनको मनोबलसँग जोडिने हुनाले सेवा प्रवाहमा संवेदनशील भई लाग्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले Cervical and Lumber Traction with Traction Bed अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै स्थापनाकालदेखि हालसम्म अस्पतालको विकास, विस्तार र श्रीवृद्धिका लागि आ-आफ्नो क्षेत्रबाट योगदान पुर्‍याउनुहुने सम्पूर्ण अग्रज प्रहरी नेतृत्व वर्ग, अस्पतालका पूर्व प्रहरी कर्मचारीहरू तथा सम्बद्ध महानुभावहरूप्रति नेपाल प्रहरी अस्पताल परिवारको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । अस्पतालबाट संचलान हुने शैक्षिक कार्यक्रममा प्रहरी कर्मचारीका सन्ततीलाई विशेष व्यवस्था गरिने हुनाले प्रहरी कर्मचारीहरूलाई सेवाप्रति उत्प्रेरित गराउन प्रभावकारी हुने चर्चा गर्दै प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आउँदो समयमा क्रमिक रूपमा अन्य विभिन्न प्राविधिक शैक्षिक कार्यक्रमहरू समेत संचालन हुने बताउनुभयो । सीमित जनशक्ति र साधन स्रोतका साथ संचालनमा रहेका प्रदेश अस्पताललाई आवश्यक स्रोत साधन उपलब्ध गराई स्वास्थ्य उपचार सेवालाई विकेन्द्रीकृत बनाउन सकिएमा अस्पतालबाट प्राप्त हुने स्वास्थ्य उपचार सेवा थप गुणस्तरीय र प्रभावकारी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा पूर्व प्रहरी कर्मचारी परिषद नेपालका अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश श्रेष्ठ र नेपाल पूर्व प्रहरी संगठनका अध्यक्ष पूर्व प्रहरी वरिष्ठ उपरीक्षक बसन्त राज कुँवरले शुभकामनासहित आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभयो । नेपाल प्रहरी अस्पतालका डेप्युटी मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत तथा नर्सिङ कलेजमा अध्ययनरत विद्यार्थीहरूले स्वागत गान प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, अस्पतालका पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, पूर्व वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।  

चार जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-१२-२६

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत २४ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका ४ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षकहरू सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी र टेक बहादुर तामाङलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक कुँवरले पदोन्नतिको अवसरका लागि नेपाल सरकारप्रति आभार व्यक्त गर्दै पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई बधाई दिनुभयो । पदोन्नति गरी राज्यले अझ रचनात्मक र निष्ठापूर्वक कर्मक्षेत्रमा खटिने अवसर दिएकोले प्रहरी अधिकृतहरूले पदोन्नतिलाई गम्भीर जिम्मेवारी बोध गर्ने अवसरको रूपमा लिने विश्वास उहाँले व्यक्त गर्नुभयो । प्रहरी संगठनको श्रीवृद्धिका लागि आपसी एकता र भातृत्वभावका साथ अझ व्यावसायिक, निष्ठा र कर्तव्य वोध गरी कर्तव्य निर्वाह गर्न जरूरी रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, “सरकारको लक्ष्य प्राप्तिका लागि नेपाल प्रहरीले निर्वाह गर्नुपर्ने जिम्मेवारीहरू मनग्यै छन् । तिनलाई केन्द्रविन्दुमा राखी नेपाल प्रहरीका दैनन्दिन कार्यहरू उच्च मनोबलका साथ सम्पन्न गर्न निर्देशन दिन चाहन्छु ।” प्रहरी महानिरीक्षक कुँवरले आगामी दिन अझ चुनौतीपूर्ण हुनसक्ने उल्लेख गर्दै उपल्ला विभागले बनाउने योजना, तयारी र नीतिले यस्ता चुनौतीको सामना गर्न सक्षम हुने बताउनुभयो । साथै सम्भावित अराजकता लगायतका गतिविधिको आँकलन गरी त्यसलाई निस्तेज गर्नमा केन्द्रित रहन उहाँले प्रहरी अधिकृतहरूलाई निर्देशनसमेत दिनुभयो । सवल नेतृत्वबाट कार्यशैलीमा नवीनता आउने र सेवा प्रवाहमा गुणस्तरीयता अभिवृद्धि भई मातहत कर्मचारीको उत्प्रेरणामा बढोत्तरी आउने अपेक्षा गरिएको चर्चा गर्दै उहाँले आफ्नो काँधमा आएको जिम्मेवारीलाई उच्च व्यावसायिक निष्ठाका साथ पूरा गर्न निर्देशन दिनुभयो ।  समारोहमा पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक सन्दिप भण्डारीले पदोन्नतिसँगै राष्ट्रसेवा र कर्तव्यवोधको थप उर्जा प्राप्त भएको तथा संगठनको श्रीवृद्धि र छवि उच्च गराउन सदैव प्रतिवद्ध रहने विचार व्यक्त गर्नुभयो । संगठनप्रति सदैव इमान्दार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी प्रचलित कानुनबमोजिम विधिको शासन कायम गर्न गराउन सदैव कृत संकल्पित रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  दर्ज्यानी चिन्ह सुशोभन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-१२-२२

काठमाडौं, नेपाल प्रहरी र सनराइज बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी- सनराइज बैंक छात्रवृत्ति’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर र सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र सनराइज बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक रबिन कुमार नेपालले हस्ताक्षर गर्नुभएको थियो । कार्यक्रममा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सम्झौताको लागि सनराइज बैंकलाई धन्यवाद दिँदै सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीसँग जोडिएर सहकार्य गर्ने, प्रहरी काम कारवाही लगायत अन्य कल्याणकारी कार्यक्रमहरूमा सहजिकरण र सबलिकरण गर्ने प्रयासमा सनराइज बैंकले गरेको समन्वय प्रशंसनीय रहेको बताउनुभयो । प्रहरी महानिरीक्षक कुँवरले सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो ।  उक्त अवसरमा सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले नेपाल प्रहरीले आमनागरिकलाई सुरक्षित जिवनयापन र सुरक्षाको प्रत्याभूती दिन गरेको योगदान र भूमिका प्रशंसनीय रहेको बताउनुभयो । यस सम्झौताले नेपाल प्रहरीका विभिन्न स्कुलमा अध्ययनरत प्रहरी कर्मचारीका सन्ततिहरूलाई थप हौसला र प्रेरणा मिल्नुका साथै नेपाल प्रहरी र सनराइज बैंकबीचको सम्बन्धमा अझै प्रगाढ हुँदै जाने उहाँले विश्वास व्यक्त गर्नुभयो । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुल सामाखुशी काठमाडौं, धरान सुनसरी, गरूडा रौतहट, शान्तिपुर चितवन, बेलचौतारा तनहुँ, घोराही दाङ, वीरेन्द्रनगर सुर्खेत र धनगढी कैलाली समेत गरी ८ वटा नेपाल पुलिस स्कुलहरूका कक्षा ४ देखि १२ सम्म अध्ययनरत १५ जना विद्यार्थीहरूलाई जम्मा ९ वर्ष सम्मको अध्ययनको लागि छात्रवृत्ति रकम प्रदान गरिने छ । यस छात्रवृत्ति कार्यक्रमबाट अमर/शहीद एवम् अशक्त प्रहरी कर्मचारीका सन्ततिहरू र वहालवाला एवम् पूर्व प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका सन्ततिहरूमध्ये जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति रकम उपलब्ध गराइनेछ । शैक्षिक सत्र २०८० देखि नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका प्रहरी कर्मचारीहरूको जेहेन्दार छात्र-छात्राहरूलाई वार्षिक शुल्क, परीक्षा शुल्क र स्टेशनरी खर्च समेत गरी एकमुष्ठ छात्रवृत्ति रकम प्रदान गरिने छ । नेपाल पुलिस स्कुलहरूको शैक्षिक शुल्कहरू वृद्धि भएमा निर्धारित शुल्कको अधिकतम् १५ % सम्मको वृद्धि रकम सनराइज बैंकबाट छात्रवृत्ति रकम प्रदान गरिने छ ।  उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत सनराइज बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा प्रशिक्षक प्रशिक्षण तथा कार्यशाला सम्पन्न
२०७९-१२-२१

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित पूर्व मिसन परीक्षा संचालन प्रशिक्षक प्रशिक्षण तथा कार्यशालाको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको प्रमुख आतिथ्यमा सोही प्रतिष्ठानमा मंगलबार आयोजित कार्यक्रमवीच सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक कुँवरले तालिममा सहभागी प्रशिक्षार्थीहरू एवम् प्रशिक्षकहरूलाई प्रमाणपत्र प्रदान गर्नुहुँदै यस तालिममा प्रशिक्षकको अनुभव, विशेषज्ञता एवम् योगदानले सहभागी प्रशिक्षार्थीहरूको साथै प्रहरी संगठनको समेत क्षमता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुगेको चर्चा गर्नुभयो । संयुक्त राष्ट्र संघको अनुरोधमा विभिन्न देशमा शान्ति स्थापनार्थ खटि जाने प्रहरी कर्मचारीहरूको लागि लिईने पूर्व मिसन परीक्षा संचालनमा यस तालिम महत्वपूर्ण हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले युएन मिसनमा नेपाल प्रहरीको सहभागीतालाई वृद्धि गर्न र यसका लागि आवश्यक पूर्व तयारीको लागि समेत यस्तो तालिमहरू फलदायी हुने बताउनुभयो । साथै आगामी दिनमा समेत नेपाल प्रहरी र नर्वे प्रहरीवीच एकआपसमा सहकार्य र समन्वय भइरहने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा Norwegian Police University College का Superintendent of Police Ann Kristin ले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।प्रहरी वरिष्ठ उपरीक्षक कृष्ण हरी शर्माले प्रशिक्षार्थीहरूकोतर्फबाट मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय युएन शाखाका प्रहरी उपरीक्षक विश्व अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाल प्रहरी र नर्वे प्रहरीको सहकार्यमा गत चैत १५ गतेबाट संचालित उक्त तालिममा प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रहरी उपरीक्षक ७ जना, प्रहरी नायव उपरीक्षक ९ जना, प्रहरी निरीक्षक १० जना र सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी नायव उपरीक्षक २ जना गरी कुल ३० जनाको सहभागिता रहेको थियो । 

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरबाट मौलो पूजा सम्पन्न
२०७९-१२-१५

काठमाडौं, प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले चैते दशैंका अवसरमा बुधबार नेपाल प्रहरी सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो ।नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक कुँवरले बली पूजा गर्नुका साथै निशानमा पञ्जा छाप समेत लगाउनु भएको थियो । साथै प्रहरी महानिरीक्षक कुँवरले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी हवल्दार जितेन्द्र खाँ थारुलाई नगद पुरस्कार प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका  हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-१२-१२

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्त बहादुर कुँवर दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा आइतबार आयोजित विशेष समारोहबीच गृहसचिव विनोद प्रकाश सिंहले प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई दर्ज्यानी चिन्हबाट सुशोभन गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव सिंहले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक कुँवरलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै उहाँको कार्यकालमा नेपाल प्रहरीमा गुणात्मक सुधार हुने, प्रहरी संगठन उच्च मनोबलका साथ काम गर्नसक्ने र नेपाल सरकारले प्रहरी संगठनमाथि थप गर्व गर्नसक्ने अवसर प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो । कानूनी राज्यको मूल अवधारणालाई अंगिकार गर्दै प्रभावकारी अपराध नियन्त्रण तथा अनुसन्धान गर्ने विषयहरू, मानवअधिकारको संरक्षण एवम् प्रवर्द्धन लगायत समाजमा शान्ति सुरक्षा व्यवस्थापनमा प्रहरी संगठनको उद्देश्यमा सबै सरोकारवाला निकायको सहयोग हुने र प्रहरी महानिरीक्षक कुँवरले सकारात्मक रूपमा नेतृत्व प्रदान गर्नसक्ने विश्वास समेत गृहसचिव सिंहले व्यक्त गर्नुभयो । संगठनको उद्देश्य पूरा गर्न सबै प्रहरी कर्माचारीहरू एक ढिक्का भएर अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी संगठन जनताले विश्वास गर्ने र संरक्षकको रूपमा आशा गर्ने संगठन भएको चर्चा गर्दै गृहसचिव सिंहले प्रहरीले प्रवाह गर्ने सेवालाई अझ बढी सशक्त रूपमा अगाडि बढाउनुपर्ने बताउनुभयो । गृहसचिव सिंहले सीमित स्रोत साधनका वावजूद पनि नेपाल प्रहरीले निर्वाह गरेको जिम्मेवारी प्रशंसनीय रहेको चर्चा गर्दै प्रहरीलाई आवश्यकता अनुसार स्रोत साधन उपलब्धता प्रति मन्त्रालयले आवश्यक समन्वय गर्ने बताउनुभयो । प्रहरीका हरेक सुधारका कार्यहरूलाई पूर्ण रूपमा सहयोग, साथ र समन्वय गर्न गृह मन्त्रालय प्रतिवद्ध रहेको बताउँदै उहाँले प्रहरी संगठनभित्र भएका नराम्रा कुराहरू हटाउन र राम्रा कुरालाई अगाडि बढाउन समेत मन्त्रालयले समन्वय तथा सहजीकरण गर्ने बताउनुभयो । पदस्थापना र सरूवाका मापदण्डको अक्षरस पालना गर्नेतर्फ प्रहरी महानिरीक्षक कुँवरले आवश्यक कदम चाल्नुहुने विश्वास समेत उहाँले व्यक्त गर्नुभयो ।  गृहसचिव सिंहले प्रहरीले सबैभन्दा बढी जनतासँग नजिक भएर प्रभावकारी एवम् उत्तरदायी भई काम गर्नुपर्ने तथा प्रहरी संगठनको समस्या तथा संगठनलाई सुधार गर्नुपर्ने विषयहरू सबैलाई बढी चासोका विषय भएको उल्लेख गर्दै नवनियुक्त प्रहरी महानिरीक्षकबाट संगठनको आन्तरिक सुदृढिकरणको लागि भएका प्रतिबद्धताको कार्यान्वयनप्रति आशावादी रहेको बताउनुभयो ।   उक्त अवसरमा प्रहरी महानिरीक्षक कुँवरले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार तथा गृह मन्त्रालयले सुम्पेको जिम्मेवारी आफ्ना सहकर्मी एवम् मातहतका प्रहरी कर्मचारीहरू प्रति कुनै पनि पूर्वाग्रहको भावनाबाट मुक्त रही निष्पक्षतका साथ निर्वाह गर्ने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  नेपालको संविधानले मार्ग निर्देशित गरेको संघीय स्वरुपमार्फत विधिको शासन र मानवअधिकारको प्रत्याभूति, आर्थिक, सामाजिक रुपान्तरणद्वारा सुशासन, सामाजिक न्याय र सद्‍भावको सुनिश्चितता गर्न नेपाल प्रहरी निष्ठापूर्वक उच्च मनोबलका साथ कर्तव्यनिष्ठ रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘कार्यक्षमताको उचित मुल्याङ्कन, नेतृत्व क्षमता विकास गर्ने अवसरको निष्पक्ष उपलब्धता, तत्काल सजाय र पुरस्कारमार्फत नेकीबेदीको अभिलेखिकरणलाई वृत्ति विकासको एक महत्वपूर्ण पक्षको रुपमा संस्थागत गर्दै प्रहरीको आन्तरिक शुद्धिकरण मेरो भिष्मप्रतिज्ञा हो र यसबाट म किंचित पनि डगमगिने छैन ।’   नागरिकप्रति उत्तरदायी र कानूनको शासनमा आधारित भएर क्रियाशील रहन सकेमा मात्र नेपाल प्रहरीलाई नागगरिकमैत्री र सेवाग्राही संस्थाको रूपमा स्थापित गराउन सकिने हुँदा हाम्रो कार्यप्रति सेवाग्राहीको सन्तुष्टि नै नेपाल प्रहरीको अभिष्ट रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले अपराध, आपराधिक प्रवृत्ति, अनुचित प्रभाव र दवावहरूको सामु कहिल्यै कुनै पनि प्रकारको सम्झौता नगर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । समाजमा शान्ति सुव्यवस्था कायम राख्न नेपाल प्रहरीको एकल प्रायस मात्र पर्याप्त नहुने र यस किसिमको दायित्व निर्वाह गर्न आम नागरिक, सुरक्षासँग सम्बद्ध सरोकारवाला निकायहरुबाट सहयोग र सहकार्यको अपेक्षा रहेको उहाँले बताउनुभयो । नेपाली सेना, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागसँगको निरन्तर समन्वय सहकार्यमार्फत देशको आन्तरिक सुरक्षा थप सुदृढ बनाई नागरिकको मनमा अमन चयन र कानूनी प्रत्याभूति दिलाउन नेपाल प्रहरीको कर्मेच्छा र क्रियाशिलतामा गुनासो आउने अवसर नदिइने उहाँले उल्लेख गर्नुभयो ।  कार्यक्रममा नेपाली सेनाका रथी सिताराम खड्का, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, प्रहरी नायव महानिरीक्षकहरू एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले आइतबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक कुँवर नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुकासाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरको सङ्क्षिप्त जीवनीः प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर नेपाल प्रहरीको ३०औं प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएको छ । नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ चैत १० गतेको निर्णयअनुसार उहाँ नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ तुम्कोटमा पिता भिम बहादुर कुँवर र माता नम कुमारी कुँवरको कोखबाट वि.सं. २०२६ चैत १५ गते जन्मनु भएका प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरका श्रीमती लक्ष्मी पाराजुली कुँवर र २ छोरा हुनुहुन्छ । प्रहरी महानिरीक्षक कुँवरले वि.सं. २०५१ चैत ५ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रारम्भ गर्नुभएको हो । प्रहरी सेवामा साहसी प्रहरी अधिकृतको रूपमा पहिचान बनाउनुभएका प्रहरी महानिरीक्षक कुँवर २०६३ भदौ ८ गते प्रहरी नायव उपरीक्षक, २०७१ फागुन १० गते प्रहरी उपरीक्षक, २०७५ फागुन ६ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७९ असार १७ गते प्रहरी नायब महानिरीक्षक र २०७९ चैत ६ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको थियो । त्रिभुवन विश्वविद्यालयबाट व्यापार प्रशासनमा स्नातकोत्तर शैक्षिक योग्यता हासिल गर्नुभएका प्रहरी महानिरीक्षक कुँवरले अन्तर प्रदेश प्रहरी कार्यदक्षता मुल्याङ्कन २०७३ तर्फ सर्वोत्कृष्ट हुन सफल भई पुलिस व्याटन प्राप्त गर्नुभएको थियो । उहाँ प्रहरी सेवाको क्रममा सुप्रबल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, दैवीप्रकोप पीडितोद्वार पदकलगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँ तोकिएको जिम्मेवारी अनुशासित भएर उत्कृष्ट ढंगले वहन गरी व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा १७ पटक नगद पुरस्कार प्राप्त गर्नुको साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । साथै उहाँले प्रहरी निरीक्षक आधारभूत तालिम, मानव अधिकार प्रशिक्षक प्रशिक्षण तालिम, विशिष्ट व्यक्तिको सुरक्षा तालिम, अपराध अनुसन्धान तालिम, प्रशिक्षक प्रशिक्षण तालिम, ईन्भेस्टिगेटिभ ईन्टरभ्यु ट्रेनिङ कोर्ष, जमीनमुनीको विष्फोटक पदार्थ र अन्य विष्फोटन सामग्रीको सामान्य जानकारी, कोर्ष अन ह्युमेनराइट्स एण्ड ल इन्फोर्समेन्ट, स्थानीय संस्थाहरूको लागि क्षमता निर्माण, अपराधिक अनुसन्धान विधि तालिम, ट्रेनिङ अफ ट्रेनर्स अन प्रिभेन्सन अफ जेण्डर बेस्ड भ्वायलेन्स एण्ड एचआईभि एड्स, प्रजातान्त्रिक प्रहरी र मानवाधिकार तालिम, महिला तथा बालबालिकासम्बन्धी अपराध अनुसन्धान माष्टर प्रशिक्षक प्रशिक्षण तालिम, करप्सन एण्ड फाईनान्सियल ईन्भेष्टिगेसन मेथोडोलोजी ट्रेनिङ वर्कसप फर सिआईएए नेपाल, अपराध व्यवस्थापन कोर्ष, द्वन्द्व व्यवस्थापन तालिम र रेजनल सिनियर मिसन लिडर्स कोर्सलगायत विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको छ । आफू र मातहतमा निष्ठावान भए संगठन बलियो हुन्छ भन्ने मान्यता राख्दै काम गर्ने अब्बल एवम् कुशल नेतृत्त्वदायी भूमिकामा रहने प्रहरी महानिरीक्षक कुँवरले प्रहरी निरीक्षक र प्रहरी नायव उपरीक्षक हुँदा गुल्मी, सुनसरी, सिन्धुली, मोरङ, दाङ, रोल्पा, काठमाडौं, नवलपरासी, गोरखा, डोटी, मनाङ, ललितपुर र धादिङ जिल्लाहरू तथा मातहत युनिटमा खटिएर जिम्मेवारी पूरा गर्नुभएको थियो । प्रहरी उपरीक्षक भएपछि चितवन र नुवाकोट जिल्लाको कमाण्ड गर्नुभएको थियो । प्रहरी वरिष्ठ उपरीक्षक भएपछि उहाँले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । साथै उहाँसँग काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय र प्रहरी युक्ति तालिम महाविद्यालय नवलपरासीमा समेत काम गरेको अनुभव छ । प्रहरी नायव महानिरीक्षकमा मधेश प्रदेश प्रहरी कार्यालयको कमाण्डको साथै नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागको अनुभव गर्नुभएका कुँवर २०७९ चैत ६ मा प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नति हुनुभएको हो । कार्य कुशलताका हिसावले अब्बल प्रहरी अधिकृत प्रहरी महानिरीक्षक कुँवरले हरेक पदमा रहँदा आफ्नो कार्यकुशलता प्रस्तुत गर्दै आउनुभएको छ । असहज परिस्थितिमा पनि सहज तरीकाले काम गर्न सक्ने क्षमता भएका कुँवरले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको कमाण्ड सम्हालेको बखत धरै अभियुक्तहरू पक्राउ गरी कानुनी दायरामा ल्याउन सफल हुनुभएको थियो । साथै समाजमा बढ्दो अपराधलाई नियन्त्रणमा ल्याउन ठूलै चुनौती सामना गरी प्रहरीको पोजिसनलाई मजबुद बनाउन र अपराध अनुसन्धानमा रचनात्मक कार्य गरी उत्कृष्ट कार्य सम्पादन गर्न कुँवरको भूमिका अब्बल रहेको छ । आफू खटिएका हरेक प्रहरी कार्यालयमा काम गर्दा आइपर्ने चुनौतीलाई संयमित भई काम गरी एउटा उत्कृष्ट प्रणालीको विकास गर्ने परिपाटी उहाँले बसाउनु भएको छ । राष्ट्र र राष्ट्रियताको रक्षा खाँतिर अहोरात्र खटिने प्रहरी महानिरीक्षक कुँवर देशमा मात्र होइन संयुक्त राष्ट्र संघीय मिसन सुडान र लाइबेरियामा कार्यरत रहँदा व्यावसायिक क्षमताको उच्च प्रदर्शन गरी काम गर्दै विश्व जगतमा नेपाल प्रहरीको छवि र नेपालको शिर उँचो राख्न आफ्नो भूमिका कुशलतापूर्वक निर्वाह गर्नुभएको थियो । जनशक्ति उत्पादन गर्ने प्रशिक्षण संस्थामा कार्यरत रहँदा उहाँले प्रशिक्षण विधिलाई आधुनिकीकरण गर्न निर्वाह गरेको भूमिका सराहनीय छ ।   

प्रहरी संगठनको आन्तरिक शुद्धिकरण पहिलो र मुल प्राथमिकता- प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवर
२०७९-१२-१२

काठमाडौं,  प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी संगठनको आन्तरिक शुद्धिकरण आफ्नो कार्यकालको पहिलो र मुल प्राथमिकता रहेको बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक कुँवरले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । अहिले संगठनका सामु समस्याका चाङहरू रहेको, संगठनको दुर्बल र सबल पक्षहरूलाई सामूहिक रूपमा पहिचान गरी त्यसका  निदानका उपायहरू अवलम्बन गर्नुको टङकारो आवश्यकता रहेको बताउँदै प्रहरी महानिरीक्षक कुँवरले नेतृत्वको एक प्रयासले मात्र समस्याहरूको हल हुन नसक्ने र यसका लागि सामूहिक प्रयास एवम् सामूहिक प्रतिबद्धता जरूरी रहेको बताउनुभयो । व्यावसायिकता, पारदर्शिता एवम् आर्थिक अनुशासन कायम राख्दै सभ्य तथा शिष्ट तवरबाट नागरिकलाई प्रहरी सेवा प्रदान गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरू संकल्पित हुनुपर्ने उहाँले बताउनुभयो ।  नेपाल प्रहरी नागरिक प्रशासनको सबै भन्दा संवेदनशील संस्था भएको, संगठन सदैव जनमुखी, पारदर्शी र कानूनले निर्देशित गरेको मूल्य मान्यताका आधारमा संचालित हुनुको अर्को विकल्प नभएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले मानवअधिकारको सम्मान, विधिको शासन र नागरिक सर्वोच्चताको अवधारणा अनुरूप नेपालको संविधान, प्रचलित ऐन-कानूनहरु र नेपाल सरकारको नीति निर्देशनबमोजिम परिचालित हुनु नेपाल प्रहरीको मूल दायित्व रहेको बताउनुभयो ।   क्षमता गुमेपछि आत्मविश्वास गुम्छ, आत्मविश्वास गुमाएपछि त्यो संगठनमा आवद्ध व्यक्तिहरूको स्वाभिमान गुम्छ भन्ने कुरा सबैले मनन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘म यो संगठनको स्वाभिमान र साख गुम्न नदिन यहाँहरू सबैसँग आ-आफ्नो क्षेत्रबाट रचनात्मक क्रियाशिलताको अपेक्षा गर्दछु । संगठनको हित प्रति केन्द्रीत यहाँहरूको प्रयास र योजनाका लागि मेरो ढोका सदैव खुला रहने विश्वास दिलाउन चाहन्छु ।’  गैर व्यावसायिक आचरण र व्यवहार कुनै हालतमा सह्य नहुने बताउँदै प्रहरी महानिरीक्षक कुँवरले भन्नुभयो, ‘अपराधीहरूलाई कानूनको दायरामा ल्याउने लगायतका जिम्मेवारी बहनको सिलसिलामा प्रहरी कर्मचारीबाट अकर्मण्यता, लापरवाही र उदासिनता भएमा त्यो कुनै पनि हालतमा क्षम्य हुनेछैन ।’ साथै उहाँले सहकर्मी अधिकृतहरूलाई कुनै पनि पूर्वाग्रह र स्वार्थ बिना एकै साथ मिलेर, एक ढिक्का भएर संगठनको गरिमालाई थप उचाईमा पुर्‍याउन एकमतको सांगठनिक दूरदृष्टि बनाएर हरेक कदमसँगै हिँड्न समेत अनुरोध गर्नुभयो । संगठनमा रहेका मातहत दर्जाका प्रहरी कर्मचारीहरूको भलाईका लागि गर्न सकिने सम्पूर्ण प्रयास गर्ने र जुनसुकै प्रहरी कर्मचारीले बिना हिच्किचाहट र व्यवधानका साथ आफ्नो वास्तविकता संगठन प्रमुख समक्ष राख्न सक्ने मैत्रीपूर्ण व्यवहार र वातावरणको सुनिश्चतता हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।   समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको उपस्थितिको साथै प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरू, शिक्षालयका प्राचार्यहरू, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी विशेष सुरक्षा गणका प्रमुखहरू, प्रदेश प्रहरी गणका प्रमुखहरूको समेत भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।  

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-१२-१०

काठमाडौं, तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरप्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त प्रहरी महानिरीक्षक ज्यादै व्यावसायिक, कर्तव्यनिष्ठ र दूरदर्शी व्यक्तित्व रहेको चर्चा गर्दै आफ्नो कार्यकालमा उहाँले संगठनलाई थप नयाँ उचाई दिने विश्वास व्यक्त गर्नुभयो । संगठनमा देखिएका यावत् बाह्य तथा आन्तरिक चुनौतिहरूलाई चिरेर जानुपर्ने सुझाव दिँदै संगठनको यश वृद्धिका लागि नवनियुक्त प्रहरी महानिरीक्षकलाई रचनात्मक सहयोग गर्न सबै प्रहरी कर्मचारीलाई उहाँले निर्देशन समेत दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार समेत प्रकट गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । संगठनको दिशानिर्देश गर्ने सम्बन्धमा प्रहरी महानिरीक्षक सिंहबाट बिदाइ सम्बोधनको क्रममा व्यक्त गर्नुभएका शब्द र त्यसका भावनाहरूलाई हृदयङ्गम गरी संगठनलाई मन, वचन र कर्मले नेतृत्व प्रदान गर्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो । सामूहिक नेतृत्वको अवधारणा अनुरूप एकढिक्का भई सबैले अपनत्व ग्रहण गर्नसक्ने संगठनको निर्माणलाई पहिलो प्राथमिकतामा राख्ने उहाँले उल्लेख गर्नुभयो ।  प्रणालीगत र पद्दतीगत विकासले संगठनको सुदृढिकरण सुनिश्चित भई बाह्‍य हस्तक्षेप निरुत्साहित हुने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले संगठनमा विगतमा प्रारम्भ भएका असल अभ्यासको निरन्तरता आफ्नो नेतृत्वकालको प्रस्थान विन्दु रहने बताउनुभयो  । प्रहरी संगठनमार्फत आफ्नो सम्पूर्ण उर्जा तथा सिर्जनशीलता देश र नागरिकका लागि समर्पित गरेर बिदाइ हुन लाग्नु भएका वरिष्ठ अधिकृतहरू प्रति नेपाल प्रहरी र तमाम सदस्यहरू सदैव कृतज्ञ रहने बताउँदै नवनियुक्त प्रहरी महानिरीक्षक कुँवरले नेपाल प्रहरी संगठनको हितका सवालमा सेवा निवृत्त वरिष्ठ अधिकृतबाट जिवनपर्यन्त अमूल्य सुझाव एवं मार्गदर्शन प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुमलता सिंहलाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती लक्ष्मी कुँवर पराजुलीले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु सहकुल बहादुर थापा, उत्तम राज सुवेदी र दिवेश लोहनी, प्रहरी नायब महानिरीक्षकहरू नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य र मसाउद आलम खाँ तथा प्रहरी वरिष्ठ उपरीक्षकद्वय उमाशंकर पन्जियार र जनक राज पाण्डे रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलगायत प्रहरी वरिष्ठ अधिकृतहरुलाई शुभकामनासहित हार्दिक बिदाइ गर्नुभएको थियो ।

नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-१२-०६

काठमाडौं,  नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच ‘नेपाल प्रहरी-भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि भक्तविर सिंह तुलाधर फाउण्डेसनलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको कार्यदक्षता र मनोबलमा सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गर्नुभयो । भक्तविर सिंह तुलाधर फाउण्डेसनले सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत नेपाल प्रहरी र भक्तविर सिंह तुलाधर फाउण्डेसनबीच आपसी सहयोग आदान प्रदान हुने उल्लेख गर्नुभयो । उक्त अवसरमा भक्तविर सिंह तुलाधर फाउण्डेसनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो । साथै आगामी दिनमा समेत नेपाल प्रहरीसँगको सहकार्यलाई निरन्तरता दिने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले तोकेको नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ भक्तविर सिंह तुलाधर फाउण्डेसनले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- भक्तविर सिंह तुलाधर फाउण्डेसन छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र भक्तविर सिंह तुलाधर फाउण्डेसनको तर्फबाट फाउण्डेशनका अध्यक्ष राजेशवीर सिंह तुलाधरले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत भक्तविर सिंह तुलाधर फाउण्डेसनका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षयकोष स्थापना सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-२१

काठमाडौं, नेपाल प्रहरी र एभरेष्ट बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदान प्रदानसमेत गर्नुभयो । कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सम्झौताको लागि एभरेष्ट बैंकलाई धन्यवाद दिँदै यसबाट बढी भन्दा बढी प्रहरी कर्मचारीका सन्ततीहरु लाभान्वित हुने विश्वास व्यक्त गर्नुभयो । एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको कारण प्रहरीको कार्य सञ्चालनमा सहजता ल्याउन थप टेवा पुगेको उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले बैंकहरुलाई कानुनबमोजिम पुर्‍याउने सुरक्षा र सहयोग निरन्तर प्रदान गर्दै आएको स्मरण गर्नुभयो । सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने चर्चा गर्दै आगामी दिनमासमेत नेपाल प्रहरी र बैंकबीच आपसी सहयोग आदान प्रदान हुने अपेक्षा उहाँले व्यक्त गर्नुभयो । उक्त अवसरमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको चर्चा गर्दै अहोरात्र नागरिकको जिउधनको सुरक्षामा खटिने नेपाल प्रहरीलाई योगदान गर्न पाउँदा थप सन्तुष्टि प्राप्त भएको बताउनुभयो । सम्झैताबाट बढी भन्दा बढी विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गर्दै उत्पादित जनशक्तिबाट भविष्यमा देश निर्माणका लागि थप सहयोग हुने उहाँले उल्लेख गर्नुभयो । सम्झौता अनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थीलाई वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ एभरेष्ट बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौता अनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिनेसमेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीको तर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र एभरेष्ट बैंकको तर्फबाट बैंकका नायव महाप्रबन्धक केशव राज पौडेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरू लगायत एभरेष्ट बैंक लिमिटेडका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।  

१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७९-११-११

बिराटनगर, १ नम्बर प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उद्‍घाटन पश्चात मुख्यमन्त्री कार्कीले उक्त भवनको निरीक्षणसमेत गर्नुभयो ।  उद्‍घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले भवन निर्माणमा उल्लेख्य योगदान पुर्‍याउने निर्माण कम्पनी तथा १ नम्बर प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी निरीक्षक ढुण्डीराज गिरी र महेश भट्टराईलाई प्रशंसापत्र प्रदान गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले भौतिक पूर्वाधारको अभाव र अपर्याप्तताले प्रहरी सेवाका कार्यहरुमा प्रत्यक्ष असर पर्ने उल्लेख गर्नुभयो । सुविधा सम्पन्न भवन प्राप्त भएसँगै नागरिक सेवामा बिगतका दिनहरु भन्दा प्रभावकारी ढंगले अगाडि बढ्न नवनिर्मित भवनको योगदान रहने उहाँले बताउनुभयो । साथै उहाँले सुरक्षाकर्मी सुरक्षित भएमा मात्र आम नागरिकले सुरक्षाको प्रत्याभूति पाउने हुँदा सुरक्षाकर्मीको सुरक्षामा प्रदेश सरकार सदैव तत्पर रहेको बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्नुभयो । प्रदेश सरकारबाट प्रदेश प्रहरीलाई प्राप्त नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा थप मनोवल उच्च हुनुका साथै प्रदेश प्रहरी कार्यालयबाट आम नागरिकमा प्रदान हुने सेवा समेत समयानुसार स्तरीय हुँदै जाने धारणा उहाँले ब्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको चर्चा गर्दै  कानूनको परिधिमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशनसमेत दिनुभयो ।  कार्यक्रममा स्वागत मन्तब्य व्यक्त गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै थप मनोवल बढ्ने र कार्यक्षेत्रमा अनुकूल वातावरण सिर्जना हुने भएकोले थप जोश र उर्जाका साथ प्रहरी काम कारवाही गर्न प्रेरणा मिलेको बताउनुभयो । उक्त अवसरमा प्रहरी उपरीक्षक अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै १ नम्बर प्रदेश आन्तारिक मामिला तथा कानुन मन्त्रालयबाट वजेट विनियोजित भई कुल १९ करोड १४ लाख १ हजार ६ सय ६३ रुपैयाँको लागतमा जम्मा ७५ वटा कोठा भएको ५ तले कार्यालय भवन निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।  उद्‍घाटन कार्यक्रममा उच्च अदालत बिराटनगरका मुख्य न्यायाधीश सत्य मोहन जोशी थारु, प्रदेश सरकारका मन्त्रीहरु, निमित्त प्रदेश प्रमुख सचिव, स्थानीय जनप्रतिनिधिहरु, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न सरकारी कार्यालय तथा गैह्र सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मीहरु, उद्योगी, व्यवसायीहरुको उपस्थिति रहेको थियो ।  

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट १ नम्बर प्रदेश प्रहरी अस्पतालको उद्‌घाटन
२०७९-११-१०

बिराटनगर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मोरङ बेलबारी नगरपालिका-३ स्थित पुरानो ईलाका प्रहरी कार्यालयको भवनमा संचालित १ नम्बर प्रदेश प्रहरी अस्पतालको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । उद्‍घाटन पश्चात प्रहरी महानिरीक्षक सिंहलगायत अन्य अथितिहरुले अस्पतालको साथै उपलब्ध स्वास्थ्य उपकरणहरुको अवलोकन गर्नुभयो । अस्पताल उद्‍घाटन कार्यक्रमलाई सम्वोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी अस्पतालको सुभारम्भले यस प्रदेशमा रहेका पूर्व प्रहरी कर्मचारी, अमर/अशक्त प्रहरी कर्मचारी तथा बहालवाला प्रहरी कर्मचारीका साथै आश्रित परिवार समेतको स्वास्थ्य सेवामा पहुँच पुग्ने बताउनुभयो । साथै प्रहरी अस्पतालको निर्माण र सेवा सुभारम्भले स्थानीयवासीलेसमेत सेवा पाउने हुँदा सबै किसिमका बिरामीहरुलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन कार्यरत प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो । उक्त अवसरमा नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौंका मेडिकल डाईरेक्टर प्राबिधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले सीमित श्रोत र साधनकाबीच प्रदेश प्रहरी अस्पतालको अवधारणा ल्याई सेवा सुभारम्भ गरिएको बताउँदै अबका दिनमा सेवा संचालनमा हरेक क्षेत्रको सहयोग अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा बेलवारी नगरपालिकाका प्रमुख दिल प्रसाद राईले नगर क्षेत्रमा प्रहरी अस्पतालको निर्माणले नगरवासीहरु उत्साहित रहेको बताउँदै हरेक नागरिकको स्वास्थ्य सेवामा प्रहरी अस्पतालको अहम् भूमिका रहने र अस्पतालको स्तरोन्नति लगायतका क्षेत्रमा सहयोग र समन्वयको लागि नगरपालिका सदैव तत्पर रहेको उल्लेख गर्नुभयो । उक्त कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक श्याम लाल ज्ञवालीले स्वागत मन्तब्य व्यक्त गर्दै अस्पतालबाट प्रभावकारी स्वास्थ्य सेवा प्रदान हुनेमा बिश्वस्त रहेको बताउनुभयो । उक्त अस्पतालका प्रहरी नायव उपरीक्षक डा. सरोज सिंहले अस्पतालको सेवा सम्वन्धि प्रतिवेदन प्रस्तुत गर्दै तत्काल ३ जना बिशेषज्ञ चिकित्सकसहित १० जनाको प्राबिधिक टोलीले ओपिडि तथा ईमरजेन्सी लगायतका सेवा प्रदान गर्ने जानकारी दिनुभयो । उद्‍घाटन कार्यक्रममा जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, प्रदेशस्थित अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधिहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, बिभिन्न सरकारी तथा गैह्रसरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरु, बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पूर्व प्रहरी कर्मचारीहरु, संचारकर्मी तथा  स्थानीयबासी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निरीक्षण तथा अवलोकन
२०७९-११-१०

बिराटनगर, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँ मोरङको बुधबार निरीक्षण भ्रमण गर्नुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-८ गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उहाँले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पुर्वाधारको अवलोकन गर्नुभएको हो । निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले आवश्यक निर्देशन दिनुभयो । उक्त अवसरमा तालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।  यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षण गर्नुभयो । निरीक्षणको क्रममा उहाँले उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिनुभयो । साथै उहाँले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नु केन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचार गर्न परामर्शदाताहरुलाई अनुरोध गर्नुभयो । आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उहाँले निर्देशन समेत दिनुभयो ।

सेवानिवृत्त प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहको बिदाइ
२०७९-११-०५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहलाई शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त  गर्नुभयो । विभिन्न कालखण्डमा सफल महिला कमाण्डरको रूफमा निर्वाह गरेको भूमिकाको स्मरण गर्दै प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुन लाग्नु भएकी प्रहरी अतिरिक्त महानिरीक्षकबाट सेवानिवृत्त जीवन पश्चातपनि रचनात्मक सहयोगको अपेक्षा राखेको र आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहलाई मायाको चिनो प्रदान गर्नुभयो ।  कार्यक्रममा सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंहले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । उहाँले सेवा निवृत्त हुने क्रममा एक पटकको प्रहरी सधै प्रहरी रहने भएकोले वर्दियुक्त जीवनबाट मात्र अवकास हुन लागेको बताउनुभयो । प्रहरी सेवामा रहने क्रममा संगठनका सदस्यबाट प्राप्त सद्भाव प्रति सधै ऋणी रहने बताउँदै उहाँले यो अवस्थासम्म आइपुग्ने क्रममा नेतृत्व विकासमा मार्ग दर्शन गर्नुहुने अग्रज प्रहरीप्रति सम्मान व्यक्त गर्नुहुँदै उहाँले भन्नुभयो, “नेपाल प्रहरीको प्रशासनतर्फको पहिलो महिला प्रहरी अत्तिरिक्त महानिरीक्षक हुने क्रममा तालुक गृह मन्त्रालय र प्रहरी महानिरीक्षकको भूमिकाप्रति आभार एवम् कृतज्ञता व्यक्त गर्न चाहन्छु ।”   सो अवसरमा उहाँले करिब ३० वर्ष लामो सेवाअवधिमा संगठनमा रहने क्रममा सहकर्मी एवम् मातहत प्रहरी कर्मचारीबाट प्राप्त निरन्तर साथ र सहयोगका लागि हार्दिक आभार एवम् कृतज्ञता व्यक्त गर्नुभयो ।  सेवानिवृत्त हुनु भएकी प्रहरी अतिरिक्त महानिरीक्षक सिंह वि.सं. २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षक प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्षीय उमेर हदको कारण फागुन ७ गते अवकास हुन लाग्नु भएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । 

नेपाल प्रहरी र ग्लोबल आईएमई बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-०५

काठमाडौं, नेपाल प्रहरी र ग्लोबल आईएमई बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक कार्यक्रमबीच हस्ताक्षर भएको छ । सो अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गर्नुभयो ।   कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने समझौताको लागि ग्लोबल आईएमई बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल उच्च हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा ग्लोबल आईएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपाल प्रहरीले आम नागरिकलाई सेवा प्रदान गर्न पुर्‍याएको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्न पाएकोमा आत्मसन्तुष्टी प्राप्त भएको बताउनुभयो । समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडासमेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ ग्लोबल आईएमई बैंकले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी- ग्लोबल आईएमई बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या समाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र ग्लोबल आईएमई बैंकको तर्फबाट बैंकका प्रमुख मार्केटिङ अधिकृत दिलिप पोखरेलले हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, ग्लोबल आईएमई बैंक लिमिटेडका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।         

नेपाल प्रहरी र प्रभु बैंकबीच छात्रवृत्ति अक्षय कोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-११-०४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा, प्रहरी कल्याण कोष र प्रभु बैंक लिमिटेडबीच ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना, सञ्चालन तथा व्यवस्थापनमा सहकार्य गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले अक्षय कोष स्थापनाका लागि २५ लाख रुपैयाँको चेक प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुका साथै समझदारीपत्र आदानप्रदानसमेत गरियो ।  समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तल्लो दर्जाका प्रहरी कर्मचारीका सन्ततीलाई छात्रवृत्ति प्रदान गर्ने यस पुण्य कामको लागि प्रभु बैंकलाई धन्यवाद दिँदै सम्झौताले तल्लो दर्जाका प्रहरी कर्मचारीहरूको मनोबल बढ्ने विश्वास व्यक्त गर्नुभयो । सिसिटिभि जडानलगायत विभिन्न कार्यक्रममा नेपाल प्रहरीले प्रभु बैंकसँग सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमासमेत आपसी समन्वय र सहकार्यलाई निरन्तरता दिने बताउनुभयो । साथै पछिल्लो समयमा बढ्दो डिजिटल ठगी नियन्त्रणका लागि नेपाल प्रहरीले बैंकिङ क्षेत्रसँग सहकार्य गर्दै जानेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले नेपालको एउटा व्यवस्थित संगठन नेपाल प्रहरीमा कार्यरत  प्रहरी कर्मचारीका सन्ततीलाई सहयोग गर्ने पाएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा समेत नेपाल प्रहरी र बैंकबीच सहयोग र सहकार्य आदानप्रदान हुने बताउनुभयो ।  नेपाल प्रहरी कार्ययोजना, २०७९ को प्रहरी हवल्दार तथा जवान लक्षित कार्यक्रम अन्तर्गत नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त परिवारका प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारका सन्ततीहरूलाई सबल, सक्षम, योग्य र कर्मठ नागरिक बनाउने उद्देश्यका साथ यो सम्झौता भएको हो ।  समझौताअनुसार नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाले नेपाल पुलिस स्कुलहरूमा अध्ययन गर्ने बहालवाला, अवकाश प्राप्त र अमर/शहीद एवम् अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका सन्ततीहरूलाई कम्तीमा २ जना जेहेन्दार विद्यार्थी छात्रवृत्ति वार्षिक शुल्क, परीक्षा शुल्क, स्टेशनरी र आवासीय सुविधा भएको स्कुलमा आवास र खाना खर्च तथा आवासीय सुविधा नभएको स्कुलमा गाडी भाडा समेत निरन्तर उपलब्ध हुनेछ । छात्रवृत्ति प्रदान गर्नको लागि कम्तीमा २५ लाख रूपैयाँ प्रभु बैंक लिमिटेडले प्रहरी कल्याण कोषको नाममा ‘नेपाल प्रहरी-प्रभु बैंक छात्रवृत्ति अक्षय कोष’ को स्थापना गर्ने र उक्त खाता संचालन तथा व्यवस्थापन प्रहरी कल्याण कोषले गर्नेछ । आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागू हुने यो सम्झौताअनुसार नेपाल पुलिस स्कुलका कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूलाई उपलब्ध हुने र नेपाल पुलिस स्कुलहरूले विद्यार्थीहरूको समयानुकूल शुल्क परिमार्जन भई बृद्धि भएको अवस्थामा छात्रवृत्ति अक्षय कोषबाट प्राप्त हुने ब्याज आम्दानी रकमबाट अपुग भएमा आपसी समन्वय र सहमतीमा समस्या सामाधान गरिने समेत समझदारीपत्रमा उल्लेख गरिएको छ । उक्त समझदारीपत्रमा नेपाल प्रहरीकोतर्फबाट नेपाल प्रहरी प्रधान कार्यालय कल्याण महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकाल र प्रभु बैंक लिमिटेडको तर्फबाट बैंकका मुख्य प्रबन्धक मञ्जय राज पाण्डेले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच बिहीबार हस्ताक्षर गर्नुभएको थियो । उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रभु बैंकका प्रतिनिधिहरू, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रभावकारी प्रहरी परिचालन र अझै बढि सक्रिय भूमिकासहित कार्यसम्पादन गर्नुपर्ने- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-११-०३

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कुनै पनि अपराधका घटना हुन नदिन प्रभावकारीरूपमा प्रहरी परिचालन गर्नुका साथै अझै बढि सक्रिय भई आ-आफ्नो जिम्मेवारी वहन गर्दै कार्यसम्पादन गर्नुपर्ने बताउनुभएको छ ।  प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो ।  आमनागरिकलाई राज्यको उपस्थितिको अनुभूति दिने संस्था भनेको प्रहरी नै भएको बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘हालैका घटनाको समीक्षा गर्दै आगामी दिनमा हुनसक्ने घटनाको पुर्वानुमान गरी तयारी हालतमा रहन र आवश्यकता अनुरूप कानूनसम्मत तरिकाले बल प्रयोग गर्न नहिच्किचाउनु ।’ साथै घटनालाई गम्भिरताका साथ लिएर संलग्नको पहिचान गरी कानूनी दायरामा ल्याउन समेत उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले ट्राफिक चेकजाँचलाई अझ व्यवस्थित गराउनुपर्ने उल्लेख गर्दै आर्थिक पारदर्शीतामा शून्य सहनशीलताको नीतिलाई अबलम्बन गरी सबै प्रहरी कर्मचारीले अत्यन्तै व्यवसायिक भएर जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । फरार अभियुक्त पक्राउलाई अभियानकै रूपमा संचालन गर्नुपर्ने तथा अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर कार्य गर्नुपर्ने समेत उहाँले बताउनुभयो ।  सो अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताउनुभयो । यस आर्थिक वर्षमा फरार अपराधी पक्राउमा उल्लेखनीय प्रगती भएको चर्चा गर्दै उहाँले उपत्यकास्थित प्रहरी वृत्त एवम् प्रभागहरूको सुधारको लागि उपत्यका प्रहरी कार्यालयबाट आवश्यक जनशक्ति परिचालन गरिएको र हालैका घटनामा संलग्नलाई कानूनी दायरमा ल्याइने बताउनुभयो ।  कार्यक्रममा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी एवम् सोही कार्यालय अन्तर्गतका प्रहरी कार्यालयका प्रमुखहरूको उपस्थिति रहेको थियो ।

इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी भई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता
२०७९-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन भएको इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा नेपालको तर्फबाट सहभागी भई आइतबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त सम्मेलनमा एसियाली राष्ट्रका प्रहरी संगठन मजबुत बनाउने र  इन्टरपोललाई थप सक्रिय बनाउने विषयमा छलफल भएको बताउँदै एसियाली देशहरुबाट आतंकवाद निर्मूल पार्ने, मानव बेचबिखन नियन्त्रण तथा पछिल्लो समयमा विश्वव्यापी समस्याको रुपमा देखापरेको साइबर अपराध र साइबर सुरक्षामा एकतावद्ध भएर प्रभावकारी तरिकाले कसरी काम गर्ने सकिन्छ भन्ने विषयमा समेत छलफल भएको बताउनुभयो । कुनै पनि अपराधी अर्को देशमा गएर लुक्न नपाओस् भन्ने विषयमा समेत सम्मेलनमा सदस्य राष्ट्रहरुले जोड दिएको उहाँले जानकारी दिनुभयो ।   इन्टरपोल स्थापना भएको सय वर्ष पूरा भएको अवसरमा सदस्य राष्ट्रले यसलाई विशेष रुपमा मनाउने निर्णय गरिएको र नेपाल सयौं सदस्य राष्ट्र समेत भएकोले सोही अवसरमा नेपाल प्रहरीले आइजिपी रनिङ शील्ड फुटबल प्रतियोगिता आयोजना गरिसकेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा अन्य विविध कार्यक्रम आयोजना गरिने समेत बताउनुभयो ।  हाल इन्टरपोलको प्रतिनिधित्व गर्दै नेपाल प्रहरीका दुई जना अधिकृतहरु सिंगापुर र लियोनमा कार्यरत रहेकोले यो नेपाल प्रहरीकै लागि गौरवको विषय भएको बताउँदै महानिरीक्षक सिंहले नेपाल प्रहरी इन्टरपोलको सदस्य भएकै कारण गल्फ लगायत विभिन्न देशमा लुकेर रहेका अभियुक्तहरुलाई इन्टरपोलको सहायताबाट पक्राउ गरेर ल्याउन सफल भएको समेत सो अवसरमा स्मरण गर्नुभयो ।    सम्मेलनको दौरानमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले इन्टरपोलका अध्यक्ष मेजर जनरल अहमद नासिर अल-रइसी र महासचिव जर्गन स्कटलगायत इन्टरपोलका पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको थियो । भेटघाटको क्रममा नेपालले इन्टरपोलको सदस्य राष्ट्रको रुपमा देखाएको सक्रियताको प्रशंसा भएको र नेपाल प्रहरीका अधिकृतहरुको क्षमता अभिबृद्धिको लागि विभिन्न तालिममा सहभागी गराउने विषयमा छलफल भएको बताउनुभयो । साथै सम्मेलनको क्रममा अपराध नियन्त्रणलाई प्रभावकारी बनाउन भारत, चीन र दक्षिण कोरियालगायतका मुलुकका प्रहरी प्रमुखसँग छुट्टाछुट्टै भेटवार्ता एवम् औपचारिक र अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो ।नेशनल सेन्ट्रल ब्यूरो (एनसिबि) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जबरा समेत उक्त सम्मेलनमा सहभागी हुनुभएको थियो ।  त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल भएको थियो । यस अघि इन्टरपोलको २३औँ एसियाली सम्मेलन सन् २०१७ मा काठमाडौंमा सम्पन्न भएको थियो । 

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७९-१०-२९

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६७औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अनवरत रुपमा उक्त प्रतिष्ठान र नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी नायव निरीक्षक तेज बहादुर थापालाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । यसैगरी उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने प्राध्यापक रत्नराज निरौला, सडक विभागका महानिर्देशक अर्जुन जंग थापा, काठमाडौं महानगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष प्रेम थापा, कोरियन तक्वान्दो प्रशिक्षक कोन यियोङ डल र पूर्व प्रहरी नायव निरीक्षक प्रदिप थापालाई कदरपत्र समेत प्रदान गर्नुभयो । साथै उहाँले प्रतिष्ठानलाई सहयोग गर्ने व्यक्तित्वहरूलाई सम्मानपत्र प्रदान गर्नुका साथै रस्साकस्सी खेलका विजेतालाई पुरस्कार प्रदान गर्नुभयो ।  सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७९’ को लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले अपराध नियन्त्रण तथा अनुसन्धान  र शान्ति सुरक्षा कायम राख्ने दायित्व निर्वाह गर्न मुलुक र नागरिकप्रति जवाफदेही, समर्पित र व्यवसायिक बन्ने उन्नत मावन संशाधनको उत्पादन र विकासमा प्रतिष्ठानको योगदान सराहनीय रहेको उल्लेख गर्नुभयो । वैज्ञानिक, व्यवस्थित र प्रविधियुक्त प्रशिक्षणको दिशामा प्रतिष्ठानलाई समयसापेक्ष ढंगले परिस्कृत गर्दै लैजानुपर्ने आवश्यकता अनुरुप आवश्यक सहयोग गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । प्रहरी निरीक्षक आधारभूत तालिममा समावेश भएको ‘पिजिडिपिएस’ कार्यक्रममा त्रिभुवन विश्वविद्यालयले पुर्‍याएको योगदानप्रति आभार प्रकट गर्दै उहाँले अब छिट्टै ‘मास्टर ईन पुलिस साइन्स’ कार्यक्रम संचालन गर्ने सम्बन्धमा छलफल गरी सार्थक निष्कर्ष आउने विश्वास व्यक्त गर्नुभयो । प्रशिक्षण कार्यक्रमलाई व्यवस्थित र सफल तवरले संचालन गर्न प्रतिष्ठान परिवारको अथक मेहनत प्रशंसनीय रहेको उल्लेख गर्दै समय अनुकूल प्रशिक्षार्थीहरुको बहुआयामिक विकास केन्द्रित प्रशिक्षण गतिविधि संचालनमा दत्तचित्त भएर लाग्न उहाँले निर्देशन समेत दिनुभयो ।   उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरीले सम्पादन गर्नुपर्ने जटिल एवं वहुआयामिक जिम्मेवारी बहन गर्नसक्ने योग्य, सक्षम, व्यावसायिक र प्रतिबद्ध अधिकृत उत्पादन गर्न मुख्य ध्येयका साथ गतिशील रहँदै आएको बताउनुभयो । साथै उहाँले प्रतिष्ठानले सीमित स्रोत साधनका बावजुद प्रशिक्षणको गुणस्तरमा सुधार तथा एकरूपता ल्याउन प्रशिक्षण पूर्वाधारको विकास, प्रशिक्षण मापदण्डको विकास, प्रशिक्षण पाठ्य सामग्री निर्माण र समयानुकूल परिमार्जन, प्रशिक्षण विकास योजना, प्रशिक्षणमा प्रविधिको प्रयोग जस्ता क्षेत्रमा प्रतिष्ठानले सक्रियता बढाउँदै आएको बताउनुभयो । सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले स्वागत मन्तव्य व्यक्त गर्नुका साथै वार्षिकोत्सव सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा संगीत विद्यालयबाट ब्यान्ड डिस्प्ले, लाइभ म्युजिक विथ डान्स तथा सांगीतिक धुन समेत प्रस्तुत भएको थियो । समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय सशस्त्र प्रहरी वल प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक सशस्त्र प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

४०औं आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता सम्पन्न
२०७९-१०-२९

काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आइतबार आयोजित एक कार्यक्रमबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालन भएको ४०औं आइजिपि रनिङ शील्ड फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।   कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो । आज भएको फाइनल खेलमा १ नम्बर प्रदेश प्रहरीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजलाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा १ नम्बर प्रदेश प्रहरी टीम विजेता र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीम उपविजेता भएको छ । प्रतियोगितामा प्रथम हुने टिमले १ लाख १ हजार रुपैयाँ र  द्वितीय हुने टिमले ५१ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् । प्रतियोगितामा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान टीमका प्रहरी जवान विवेक पाण्डे सर्वोत्कृष्ट खेलाडी, १ नम्बर प्रदेश प्रहरी कार्यालय टिमका प्रहरी जवान सन्देश बि.क. सर्वाधिक गोलकर्ता र गण्डकी प्रदेश प्रहरी कार्यालय टीमले फेयर प्ले अवार्ड प्राप्त गरी १०/१० हजार रूपैयाँ पुरस्कार प्राप्त गरेका थिए । माघ २० गतेबाट संचालन भएको उक्त प्रतियोगितामा नेपाल प्रहरी प्रधान कार्यालय नक्साल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीको साथै सातवटै प्रदेश प्रहरी कार्यालयको टीम गरी जम्मा १० टीमको सहभागिता रहेको थियो ।   कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, स्थानीय तहका जनप्रतिनिधिहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो ।     

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन संयुक्त अरब इमिरेट्स प्रस्थान
२०७९-१०-२३

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त अरब इमिरेट्सको अबुधाबीमा २०७९ माघ २४ देखि २६ गतेसम्म संचालन हुने इन्टरपोलको २४औं एसियाली क्षेत्रीय सम्मेलनमा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाका प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापा, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाइ गर्नुभयो ।त्रिदिवसीय उक्त सम्मेलनमा एसियाली मुलुकका प्रहरी प्रमुखहरू, इन्टरपोलका प्रतिनिधि मण्डल तथा विभिन्न सरोकारवाला निकायहरुबीच आर्थिक अपराध, मानव बेचबिखन, साइबर अपराध र आतंकवाद जस्ता अन्तरदेशीय अपराधहरुको नियन्त्रणका लागि आवश्यक प्रहरी समन्वय लगायतका विषयहरुमा बृहत छलफल हुने कार्यक्रम रहेको छ ।   प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई निर्देशन
२०७९-१०-२२

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लाग्नु भएका प्रहरी अधिकृतहरूलाई आइतबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिनुभएको छ ।   प्रहरी महानिरीक्षक सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ । उहाँले भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न स्थानीय निकाय तथा अन्य सरोकारवाला निकायसँग समन्वय र सहकार्य गरी तस्करी नियन्त्रणमा अझ बढी आक्रमक भई काम गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखको रूपमा खटिदा आफ्नो मातहतमा रहेका सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गर्दै प्रहरी कर्मचारीहरूको मनोबल उच्च बनाउनु पर्ने बताउनुभयो । फरार अपराधी पक्राउ, गुण्डागर्दी, मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उल्लेख गर्दै विगतमा भएका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले प्रहरी अधिकृतहरूले आफ्नो क्षेत्रमा नागरिकले अनुभूति गर्ने गरी प्रहरीका दैनिक काम कारवाहीहरू थप नागरिकमैत्री बनाउँदै लैजानु पर्ने उल्लेख गर्नुभयो । प्रहरी अधिकृतहरुले आफ्नै क्षेत्रमा हुने विभिन्न अपराधहरूको समयमा नै पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यक योजना बनाई आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । यसअघि नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र कार्य विभागका प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले समेत सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।    

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन उद्‍घाटन
२०७९-१०-१२

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृह भवन बिहीबार नेपाल प्रहरी अस्पताल महाराजगंजमा आयोजित एक समारोहवीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले नवनिर्मित भवनको निरीक्षण गर्नुका साथै भवन परिसरमा वृक्षरोपण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज कार्यक्रममा आवद्ध रही व्यवस्थापन कार्यमा सहयोग पुर्‍याउनुहुने प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारी, प्राविधिक प्रहरी नायव उपरीक्षक निर्माला रायमाझी र प्रहरी नायव निरीक्षक पुलव राज गिरीलाई पुरस्कार प्रदान गर्नुभयो । साथै उहाँले पुस महिनाको उत्कृष्ट प्राविधिक प्रहरी नायव उपरीक्षक डा. अविनाश ध्वज जाशी र प्रहरी सहायक निरीक्षक हरिहर थापा समेतलाई पुरस्कार प्रदान गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले सर्वसाधारण र नेपाल प्रहरीका वाहालवाला तथा अवकाश प्राप्त प्रहरी कर्मचारीका सन्ततीहरूको वृत्ति बिकास गरी विकसित र समृद्ध राष्ट्र निर्माणमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सार्थक हुने विश्वास व्यक्त गर्नुभयो । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषदबाट प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन गर्न सम्बन्धन प्राप्त यस शैक्षिक संस्थालाई समयसापेक्ष स्तरोन्नति गराउँदै चिकित्सा शास्त्र अध्ययन अध्यापन गराउने देशकै नमूना शिक्षण संस्थाको रूपमा विकास गर्दै लैजानु पर्ने उहाँले बताउनुभयो । चिकित्सा शिक्षा क्षेत्रमा विकास भएका नविनतम् प्रविधिहरूको अवलम्बन गर्दै शिक्षण प्रणालीलाई प्रविधिमैत्री, समयसापेक्ष र प्रयोगात्मक बनाउँदै लैजानु पर्ने आवश्यकता रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आगामी शैक्षिक सत्रदेखि अमर र अशक्त प्रहरीका सन्ततीहरूमध्ये जेहेन्दार १ जनालाई पूर्ण छात्रवृत्ति, जुनियर प्रहरी अधिकृत, प्रहरी हवल्दारदेखि प्रहरी जवानसम्म र प्रहरी कार्यालय सहयोगीका सन्ततीहरू १/१ जनालाई ५० प्रतिशत छात्रवृत्ति सुनिश्चित गरिने योजना रहेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी कल्याण कोषको सहयोगमा नवनिर्मित जेष्ठ प्रहरी अतिथि गृहले उहाँहरूको अपेक्षालाई सम्मान र सम्बोधन गर्दै नेपाल प्रहरी अस्पतालबाट दैनिक रूपमा सेवा सुबिधा प्राप्त गर्ने कुल संख्यामध्ये करिब ४० प्रतिशत अवकाश प्राप्त प्रहरी कर्मचारीहरू लाभान्वित हुने गरेको तथ्यले समेत पूर्व प्रहरी कर्मचारीहरूको सेवामा नेपाल प्रहरी अस्पताल प्रतिबद्ध रहेको सन्देश दिएको उल्लेख गर्नुभयो । नेपाल प्रहरीका कर्मचारीहरूमा यस अतिथि गृहले संगठनप्रति सकारात्मक दृष्टिकोण बिकास गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो । विरामी वा सेवाग्राहीको दर्जा हेरेर र पहुँचको आधारमा मात्र सेवा प्रवाह गरियो भने कुनै सार्थकता नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘अस्पतालबाट प्रदान गरिने सेवाहरूमा स्वास्थ्य अवस्थाको आधारमा सम्पूर्ण प्रहरी कर्मचारी र सर्वसाधारणको उत्तिकै सरल र सहज पहुँच हुनुपर्छ ।’ नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम तथा जेष्ठ प्रहरी अतिथि गृहको प्रभावकारी संचालनको लागि आवश्यक कार्यविधि र मापदण्ड तयार गरी यसलाई थप व्यवस्थित र सुविधा सम्पन्न बनाउन अस्पताल प्रशासनलाई उहाँले निर्देशन समेत दिनुभयो । सो अवसरमा नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्दै नेपाल प्रहरी संगठन स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रमहरू संचालन गरी राष्ट्रलाई आवश्यक दक्ष स्वास्थ्यकर्मीको उत्पादन गर्न विगत देखिनै प्रयासरत रहेकोमा यस शैक्षिक सत्रबाट शैक्षिक कार्यक्रम संचालनको लागि सम्बन्धन प्राप्त भई प्रमाणपत्र तह नर्सिङ कार्यक्रम संचालन भएको बताउनुभयो । देशमा शान्ति सुरक्षा कायम राख्न अहोरात्र खटिएका प्रहरी कर्मचारी तथा आफ्नो जीवनको उर्जावान समय प्रहरी सेवामा दिई अवकाश हुनु भएका पूर्व प्रहरी कर्मचारीहरू र तिनका आश्रित परिवारहरूको स्वास्थ्य उपचारलाई गुणस्तरीय बनाउन नेपाल प्रहरी अस्पताल प्रतिवद्ध रहेको उहाँले उल्लेख गर्नुभयो । प्राविधिक प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले स्कूल अफ हेल्थ साइन्सेज शैक्षिक कार्यक्रम सम्बन्धी प्रतिवेदन र प्राविधिक प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले जेष्ठ प्रहरी अतिथि गृह भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल प्रहरी कल्याण कोषको आन्तरिक श्रोतबाट निर्मित जेष्ठ अतिथि गृह भवन कुल २ करोड ८३ लाख ९२ हजार १ सय ८० रूपैयाँ ३८ पैसामा निर्माण कार्य सम्पन्न भएको हो । उक्त ३ तले नवनिर्मित भवनको कुल क्षेत्रफल ६ हजार ९ सय ७३ दशमलव ५५ वर्ग फिट रहेको छ । नवनिर्मित भवनको भुइँ तलामा मेश, इन्टरटेनमेन्ट हल, शौचालय तथा कार्यालय कक्ष रहेको   छ । पहिलो र दोस्रो तलामा २ वटा क्याबिन, ३ वटा कमन कोठा र ट्वाइलेट/बाथरूम ब्लकको व्यवस्था गरिएको छ । नवनिर्मित भवनमा १८ जनासम्म बस्ने क्षमता रहेको छ । उद्‍घाटन समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषदका प्रतिनिधिहरू, पूर्व प्रहरी संगठन तथा परिषदका अध्यक्षहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ उपरीक्षकहरू, नेपाल प्रहरी अस्पताल स्कूल अफ हेल्थ साइसेन्ज कार्यकारीणी समितिका पदाधिकारीहरू, प्राध्यापक तथा शिक्षकहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन
२०७९-१०-०२

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हालै सरुवा भई जान लागेका प्रहरी नायव महानिरीक्षकहरू र प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा आवश्यक निर्देशन सम्बोधन गर्नुभएको छ ।उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर जघन्य अपराध, फरार अपराधी पक्राउलगायत पुराना टुङ्गोमा पुग्न नसकेका अपराधको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी काम गर्न निर्देशन दिनुभयो । आर्थिक रूपमा पारदर्शीताको नीतिलाई अवलम्बन गर्दै तस्करी नियन्त्रणमा विशेष भूमिका निर्वाह गर्न समेत उहाँले आग्रह गर्नुभयो ।कार्यक्षेत्रमा गरेको कामको मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले आफूले गरेको कामको मूल्याङ्कन सापेक्ष रूपमा देखिने गरी तथ्याङ्‍कमा हुनुपर्ने र त्यही नै आफ्नो कामको जावफदेहीता रहने हुँदा सोहीअनुरूप कार्यसम्पादन गर्न प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । योग्यताको आधारमा जिम्मेवारी दिइएको बताउँदै उहाँले प्रहरी अधिकृतहरूले उत्कृष्ट रूपमा आफ्नो जिम्मेवारी पूरा गर्ने अपेक्षा राखिएको उल्लेख गर्नुभयो ।नेपाल सरकारले अंगिकार गरेको समृद्धि सहितको सुशासन एजेण्डालाई नेपाल प्रहरीले पनि प्राथमिकतामा राखेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रदेश सरकार एवम् स्थानीय तहसँग आवश्यक समन्वय र सहकार्य गरी आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । प्रहरीको आचरण एवम् व्यवहारलाई थप सुदृढ गर्दै लैजानुपर्ने र आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक सिंहले तालिम केन्द्रहरू पहिलेको भन्दा परिस्कृत भएको, पूर्वाधारहरू बिकास भएको र आगामी दिनमा स्मार्ट मोडलको रूपमा जाने चर्चा गर्दै तालिम केन्द्रका प्रमुखको रूपमा खटिने प्रहरी अधिकृतहरूले प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउन आवश्यक कार्ययोजना बनाई अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । मानवअधिकारसम्बन्धी ज्ञानलगायत भिड नियन्त्रणमा प्रशिक्षार्थीहरूलाई थप दक्ष बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी शिक्षालय भरतपुरको अनुगमन तथा निरीक्षण
२०७९-०९-२३

चितवन, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर चितवनको शुक्रबार अनुगमन तथा निरीक्षण भ्रमण गर्नुभएको छ । सो क्रममा उहाँले प्रशिक्षार्थीहरूको ब्यारेक, कक्षाकोठा, जिमहल, योगाहल, एमआई रूम, लाइब्रेरी लगायत शिक्षालय परिसरमा रहेका अन्य स्थानहरूको निरीक्षण गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले शिक्षालयमा कार्यरत प्रहरी कर्मचारीहरू र विभिन्न समूहमा प्रशिक्षणरत प्रशिक्षार्थीहरूलाई निर्देशन समेत दिनुभयो । निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले सबै प्रहरी कर्मचारीको मातृसंस्था तालिम केन्द्र भएकोले अनुशासन, प्रशिक्षण शैली, स्रोतको समूचित उपयोग गरी नमूना हुन जरुरी रहेको चर्चा गर्दै भोलिको प्रहरी कस्तो बन्ने भन्ने आजको प्रशिक्षण वातावरणले तय गर्ने भएकोले शिक्षालयको भौतिक पूर्वाधार, प्रशिक्षार्थीप्रतिको व्यवहार, शिक्षालयमा उपलब्ध सेवाहरूको पारदर्शिता, प्रशिक्षार्थीहरूको स्वास्थ्यको हेरचाह, प्रशिक्षार्थीहरूको विविधताको सम्मान गर्दै प्रशिक्षण गतिविधि सञ्चालन गर्न निर्देशन दिनुभयो । प्रशिक्षण संस्थाहरू खोज अध्ययन गर्ने संस्था भएकोले शिक्षालयका निर्देशक लगायत समग्र टिमलाई तालिमलाई थप प्रभावकारी र समय-सापेक्ष कसरी बनाउन सकिन्छ भन्ने कुरामा जोड दिन उहाँले आग्रह गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले तालिम सञ्चालन पद्दतिलाई व्यवस्थित र संस्थागत बनाउन आवश्यक भौतिक पूर्वाधार, प्रशिक्षण सामग्री, प्रशिक्षकको गुणस्तर, पाठ्यक्रमको विकास लगायतका प्रहरीको तालिमसँग सम्बन्धित महत्वपूर्ण विषयलाई सम्बोधन गरी लागू भएको ‘नेपाल प्रहरीको तालिम सञ्चालन कार्यादेश, २०७९’ मा आधारित रही प्रशिक्षण गतिविधिहरूलाई व्यवस्थित र व्यावसायिक तवरले सञ्चालन गर्न निर्देशन दिनुभयो । नेपाल प्रहरीमा विगत केही समयदेखि रोकिएको एफपियु मिसनलाई पुनः निरन्तरता दिन संगठनले आवश्यक तयारी गरिरहेको उहाँले जानकारी गराउनुभयो । सो अवसरमा नेपाल प्रहरी शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले धन्यवाद ज्ञापन गर्दै सीमित स्रोत साधनका बिच पनि उत्कृष्ट प्रशिक्षण गतिविधि सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गर्दै आइरहेको, छोटो समयमा ४ वटा आधारभूत तालिम उत्कृष्ट ढंगले दीक्षान्त गराएको, भौतिक पूर्वाधारको विकास, आन्तरिक सुद्धिकरण र सुदृढिकरणमा जोड दिई कार्य सञ्चालन गरिरहेको उल्लेख गर्नुभयो । साथै उहाँले शिक्षालयले अवलम्बन गरेका असल अभ्यासहरूको बारेमा अवगत गराउनुभएको थियो भने शिक्षालयका उप-निर्देशक प्रहरी उपरीक्षक प्रकाश मल्लले शिक्षालयको विविध पक्ष समेटिएको प्रस्तुतीकरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्य, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रमुख, जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुखलगायत अन्य सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०९-२०

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरू अपराध अनुसन्धानमा अझ बढी केन्द्रित र गम्भीर भएर घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान गरी पीडितलाई छिटो भन्दा छिटो न्याय दिने र पीडकलाई कानुनी दायरामा ल्याउनुपर्ने बताउनुभएको छ । प्रहरी महानिरीक्षक सिंहले सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा ७७ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्देशन दिँदै पेन्डिङमा रहेका मुद्दाहरूलाई अझ बढी प्राथमिकतामा राखेर चाँडो भन्दा चाँडो समाधान गर्नेतर्फ प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले आन्तरिक सुदृढिकरण र आन्तरिक सुधारमा विशेष ध्यान दिँदै आफ्नो मातहतमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई उत्प्रेरित गर्दै उच्च मनोबलका साथ काम गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताउनुभयो । आफ्नो क्षेत्रमा हुन सक्ने सम्भाव्य अपराधहरूको विश्लेषण गरी त्यस्ता अपराधविरूद्ध थप निर्मम तथा विशेष चनाखो भई काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले उपलब्ध जनशक्तिको उच्चतम् प्रयोग गर्दै शान्ति सुरक्षा अमनचयनलाई थप मजबुद बनाउन आवश्यकताअनुसार समन्वय र सहकार्य गरेर काम गर्नुपर्नेमा जोड दिनुभयो । तस्करी तथा सीमा अपराध, प्राकृतिक दोहन नियन्त्रण तथा फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा अझ बढी केन्द्रित र अत्यन्त प्रभावकारी रुपमा काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने तथा मिटर व्याजीविरुद्ध अझ बढी आक्रामक भएर काम गर्नुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले अहिलेको अवस्थामा नेपाल प्रहरीका लागि राम्रो काम गर्ने वातावरण भएको उल्लेख गर्दै सम्पूर्ण प्रहरी कर्मचारीहरूले नयाँ जोश, उमङ्ग, स्वतन्त्र र अझ बढी सशक्त भएर काम गर्न निर्देशन दिनुभयो । तस्करी, आपराधिक क्रियाकलाप वा संगठनलाई आँच आउने कार्यमा कुनै पनि प्रहरी कर्मचारी संलग्न भएमा त्यस्तो कार्य क्षम्य नहुने र संलग्नलाई कठोर कारवाही गरिने उहाँले बताउनुभयो । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयमा आवश्यक निर्देशन दिनुपर्नेमा समेत उहाँले जोड दिनुभयो । सवारी दुर्घटना न्यूनीकरणका लागि लागू गरिएका रिफ्रेसमेन्ट सेन्टर, टाइम कार्ड लगायतका कार्यक्रमहरूलाई लागू गर्नका लागि अझ बढी सक्रिय हुन उहाँले निर्देशन दिनुभयो । उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी, अन्य प्रहरी अधिकृतहरूको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

काठमाडौं उपत्यका प्रहरी तथा प्रदेश प्रहरी प्रमुखहरुसँगको प्रदेशस्तरीय शान्ति सु-व्यवस्था सम्बन्धी अर्ध वार्षिक समीक्षा बैठक सम्पन्न
२०७९-०९-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश प्रहरी कार्यालय एवं मातहत कार्यालयका प्रमुखहरुबीच प्रदेशस्तरीय शान्ति सु-व्यवस्था सम्बन्धी अर्ध-वार्षिक समीक्षा बैठक सोमबार सम्पन्न भएको छ ।    नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल रूपमा भिडियो कन्फ्रेन्समार्फत् सम्पन्न उक्त बैठकलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जस्तोसुकै अवस्थामा पनि थप व्यावसायिक एवं कर्तव्यनिष्ठ भएर कार्यसम्पादन गर्न कार्यालयका प्रमुखहरूलाई निर्देशन दिनुभयो । सार्वजनिक सुरक्षा अमन चयन कायम गर्न र संगठको उद्देश्य प्राप्तिका लागि विषम परिस्थितिमा समेत संयमित भई कार्य गर्ने व्यावसायिक र बहादुर प्रहरी कर्मचारीको संगठनमा सधैँ खाँचो रहने हुनाले सोही अनुसार काम गर्न प्रहरी अधिकृतहरूलाई उहाँले आग्रह गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीमा व्यावसायिकता ल्याउन उनीहरूको मनोबल सदैव उच्च रहनुपर्ने भएकाले आफू मातहत कर्मचारीको अवस्था, समस्या, गुनासोको उचित सम्बोधन गर्न प्रहरी कार्यालयका प्रमुखहरूको दायित्व रहने उल्लेख गर्नुभयो । स्थानीय तहको साथै प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सफल रूपमा सम्पन्न गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूको योगदान सराहनीय रहेको उल्लेख गर्दै अब त्यस्तै किसिमले राजस्व चुहावट, जघन्य अपराध, तस्करी, महिला हिंसा लगायतका अपराध निश्तेज गर्न सम्पूर्ण प्रहरी कर्मचारी दत्तचित भई लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरीले औचित्य पूष्टी हुने गरी कर्तव्य पालनाको क्रममा निष्ठापूर्वक गरेका काम-कारवाहीप्रति संगठनको सदैव साथ र सहयोग रहने उहाँले बताउनुभयो । बैठकको आरम्भमा काठमाडौं उपत्यका प्रहरी कार्यालय तथा सात वटै प्रदेश एवं मातहत कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो कार्यालयबाट भएका काम कारबाही तथा सम्बन्धित क्षेत्रको भौगोलिक अवस्था, अपराध एवं अनुसन्धानको अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । प्रस्तुतीकरणको क्रममा उहाँहरूले सुरक्षा चुनौती, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनसँग सम्बन्धित विषय एवं भोग्नु परेका चुनौती र पृष्ठपोषण, समन्वय र सहकार्यको अवस्था, प्रहरी कार्यालयलाई स्मार्ट र क्षमतावान बनाउन अंगिकार गरिएका नविनतम कार्यहरू लगायतका विषयमा समेत विस्तृत जानकारी गराउनुभएको थियो ।  बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो । 

२८औं अन्तर माध्यामिक बिद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता सम्पन्न
२०७९-०९-०८

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच नेपाल पुलिस स्कुल साँगामा संचालित २८औं अन्तर माध्यामिक विद्यालय आईजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता २०७९ सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडी, विभिन्न विधामा उत्कृष्ट खेलाडी तथा टीमलाई ट्रफी, नगद पुरस्कार तथा प्रमाणपत्र एवं म्याच रेफ्री र अफिसियलहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले बिजयी खेलाडीहरूलाई बधाई दिँदै विद्यालयको स्तरोन्नति तथा विकासका लागि विद्यालयहरूले शैक्षिक तथा अन्य गतिविधिहरूलाई समयानुकुल, परिष्कृत र परिमार्जित गर्दै प्रभावकारी रूपमा अगाडि बढ्नुपर्ने बताउनुभयो । शारीरिक तथा मानसिक बिकासको लागि खेलकुद जीवनमा अपरिहार्य रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले  खेलकुदले एक-अर्कामा समन्वय राखी समूहमा कार्य गर्ने सीप समेत विकास गर्ने विचार व्यक्त गर्नुभयो । पछिल्लो समय खेलकुद प्रतिको आकर्षण बढ्दै गएको र विभिन्न खेलका खेलाडीहरूले उल्लेखनीय कीर्तिमान बनाउन सफल भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा सहभागि खेलाडीहरूले पनि भविष्यमा आफ्नो क्षमता अभिवृद्धि गरी देशको छवि उच्च राख्न सफल हुने विश्वास व्यक्त गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले  नेपाल पुलिस स्कुलमा अध्ययन गर्ने नेपाल प्रहरी तथा आम नागरिकका सन्ततिहरूको उज्वल भविष्य निर्माणको लागि विद्यालयमा कार्यरत शिक्षक, प्रहरी तथा अन्य कर्मचारीहरूलाई संवेदनशील र दत्तचित भएर काम गर्नुपर्ने बताउनुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रतियोगिताका रनरअप टिमलाई मेडल र प्रमाणपत्र वितरण गर्नुभयो । प्रहरी अतिरिक्त महानिरीक्षक थापाले धन्यवाद ज्ञापन गर्दै यस्ता प्रतियोगिताले खेलाडीको पहिचान गर्न, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा आफ्नो कुशलता प्रदर्शन गर्ने सक्ने क्षमतावान खेलाडिको विकास गर्न सहयोगी भूमिका खेल्दै आएको बताउनुभयो । उक्त अवसरमा काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले सेकेण्ड रनरअप टीमलाई मेडल तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो ।  आज भएको फाइनल खेलमा नेपाल पुलिस स्कुल धरानले लिटिल एन्जल्स स्कुल ललितपुरलाई ट्राइबेकरमा ५-४ गोल अन्तरले पराजित गरेको थियो । प्रतियोगितामा नेपाल पुलिस स्कुल धरान टीम प्रथम, लिटिल एन्जल्स स्कुल टीम द्वितिय र ल्याबरोटरी स्कुल टीम तृतीय भएका छन् । प्रतियोगितामा प्रथम हुने टिमले ५० हजार, द्वितीय हुने टिमले ४० हजार र तृतीय हुने टिमले ३० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।नेपाल पुलिस स्कुल साँगाका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले प्रतियोगिता सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा उक्त विद्यालयका विद्यार्थीहरुले नृत्य प्रस्तुत गरेका थिए । मंसिर २१ गतेदेखि सुरु भएको उक्त प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६  टीमको सहभागिता रहेको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, अभिभावक, स्थानीय वासिन्दा, सञ्चारकर्मी, विभिन्न संघसंस्थाको प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।   

तस्करी नियन्त्रण तथा अपराधको सफल अनुसन्धानमा केन्द्रित हुनुपर्ने: प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०९-०६

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले तस्करी तथा सीमा अपराध नियन्त्रण, फरार अपराधी पक्राउ एवम् जघन्य अपराधको सफल अनुसन्धानमा केन्द्रित रहेर काम गर्न प्रहरी अधिकृतहरू थप सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  हालै काज सरूवा भई आफ्नो कार्यक्षेत्रमा जान लागेका प्रहरी उपरीक्षक र प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार प्रहरी प्रधान कार्यालयमा निर्देशन सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । हालै सम्पन्न आम निर्वाचनलाई  निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउने जिम्मेवारी सफलतापूर्वक पूरा गरेपश्चात अब प्रहरीको नियमित काममा केन्द्रित रहन प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले आफ्नो कार्यक्षेत्रमा कति संख्यामा अपराधी पक्राउ परे, जघन्य अपराधको अनुसन्धान कति उपलब्धि भयो, तस्करी नियन्त्रणमा के-कस्ता प्रयास भए, आफू मातहतलाई कति न्याय गरियो र तिनको मनोबाल उच्च राख्न के-कस्ता काम भए; यसको जवाफ प्रहरी प्रधान कार्यालयले खोज्ने बताउनुभयो । नागरिकबाट आउने महत्वपूर्ण सूचनाहरू प्रहरी कार्यालयबाट उचित सम्बोधन गर्नुपर्ने उहाँले बताउनुभयो । कार्यालय प्रमुख अनुसार काममा फरक आउने गरेकोतर्फ इङ्गित गर्दै उहाँले पूर्ण व्यावसायिकता, स्वस्थ्य प्रतिस्पर्धा, आर्थिक पारदर्शिता अवलम्बन गर्दै अब्बल कार्यसम्पादन गरी यस अवसरलाई सदुपयोग गर्न निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको संरक्षण गर्दै आफ्नो क्षेत्रमा हुने विभिन्न अपराधहरूको पहिचान गरी त्यसको नियन्त्रणका लागि आवश्यकता अनुसार अन्य निकायसँग समन्वय र सहकार्य गर्दै आगाडि बढ्न उपस्थित प्रहरी अधिकृतहरूलाई निर्देशन दिनुभयो । कार्यालय प्रमुखहरूले आफ्नो मातहतमा खटिने सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई समसामायिक विषयहरुमा निर्देशन दिनुपर्नेमा जोड दिँदै उहाँले गलत काम गर्नेलाई कारवाही तथा असल प्रहरीलाई पुरस्कृत गरिने बताउनुभयो ।  यसअघि नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राई र नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी नायव महानिरीक्षक उमेश राज जोशीले समेत काज सरूवा भई जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक विषयमा निर्देशन दिनुभएको थियो ।    

भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी संगठन कटिवद्ध : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०८-२८

सिन्धुली, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आवास तथा भौतिक पूर्वाधारमा आत्मनिर्भर बनाई प्रहरी संगठनलाई संस्थागत रुपमा सवल र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सधै कटिवद्ध र प्रयासरत् रहेको बताउनुभएको छ । बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीको परिसरमा नवनिर्मित क्वाटर गार्ड, आन्तरिक प्रशिक्षणालय, प्रशिक्षार्थी ब्यारेक र भान्साघर भवनहरुको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन पश्चात सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नव-निर्मित भवनहरूबाट प्राप्त हुने सेवा-सुविधाका कारण प्रशिक्षण वातावरण थप ऊर्जामय हुने विश्‍वास व्यक्त गर्दै यसले प्रशिक्षक र तालिमरत् प्रशिक्षार्थीको तालिम प्रतिको सकारात्मक भावना र उच्च मनोवलको सुनिश्‍चितताको साथै प्रशिक्षण प्रभावकारितामा उल्लेख्य वृद्धि हुने विचार व्यक्त गर्नुभयो । नव-निर्मित भवनहरु प्रति अपनत्वको भाव राखेर दीर्घकालसम्म उचित संरक्षण र संवर्द्धनमा सहयोग गर्नुहुन उपस्थित सबैलाई उहाँले अनुरोध गर्नुभयो । व्यावसायिक प्रहरी उत्पादन गर्ने दृष्टिले प्रशिक्षण वातावरण महत्वपूर्ण र संवेदनशील विषय रहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “अनुशासन, प्रशिक्षण शैली, स्रोतको समुचित प्रयोग आदिका दृष्टिले तालिम केन्द्र नमूना हुन जरुरी छ ।”    प्रहरी महानिरीक्षक सिंहले तालिमलाई कसरी प्रभावकारी र समय-सापेक्ष बनाउन सकिन्छ भन्नेमा समादेशकको टिम केन्द्रित हुनु पर्ने उल्लेख गर्दै तालिम केन्द्रको मापन तालिमको गुणस्तर र त्यसबाट उत्पादित प्रहरी जनशक्तिले कार्यक्षेत्रमा गर्ने प्रदर्शन एवं नागरिकले गर्ने न्यायानुभूतिका आधारमा हुने बताउनुभयो । समयानुकूल र गुणस्तरीय प्रशिक्षण प्रणालीलाई अवलम्बन गरी सकारात्मक परिणाममा केन्द्रित रहन समादेशक र तालिम केन्द्र टिमलाई उहाँले निर्देशन दिनुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने प्राविधिक तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र प्रदान गर्नुभयो । साथै, उहाँले तालिम केन्द्र परिसरमा वृक्षारोपण समेत गर्नुभएको थियो ।  बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बाज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा दुधौली नगरपालिकाका प्रमुख दिनेश अधिकारीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  बागमती प्रदेश प्रहरी तालिम केन्द्र, दुधौलीका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक मोहन प्रसाद पोखरेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालय, भौतिक पूर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईश्वर थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल ३५ करोड १३ लाख ३३ हजार ४ सय ७० रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।  उद्‍घाटन कार्यक्रममा नेपाली सेना श्री ९ नम्बर बाहिनी अड्डा, माझीटार व्यारेक, सिन्धुलीका प्रमुख सहायक रथी शक्ति जंग बस्नेत, मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मसाउद आलम खाँ, जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी अधिकृतहरू, जिल्लास्थित विभिन्न कार्यालयका प्रमुखहरू, समाजसेवी, संचारकर्मी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको  थियो ।

एकीकृत भन्सार जाँच केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाउन छलफल कार्यक्रमको आयोजना
२०७९-०८-२७

  पर्सा, नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको  छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागितामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको थियो । सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारवाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।   

नवौं राष्ट्रिय खेलकुद २०७९ मा पदक विजेता खेलाडी तथा अफिसियललाई सम्मान तथा पुरस्कार वितरण
२०७९-०८-२५

    काठमाडौं, नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले “नवौं राष्ट्रिय खेलकुद २०७९” मा पदक विजेता नेपाल प्रहरीमा आवद्ध खेलाडी, नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल खेलाडीहरू तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रतियोगिताका विभिन्न विधामा स्वर्ण, रजत र कास्य पदक विजेता खेलाडीहरु तथा अफिसियलहरुलाई सम्मान तथा नगद पुरस्कार वितरण गर्नुभएको हो ।  समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका प्रतियोगितामा नेपाल प्रहरीको तर्फबाट सहभागिता जनाई उत्कृष्ट नतिजा हाँसिल गरेकै कारण नेपाल प्रहरी संगठनको गरिमा उँचो हुँदै आएको चर्चा गर्नुभयो ।  नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै प्रतियोगितामा खेलाडीहरूले गरेको कडा परिश्रम, मेहनत, लगनशीलता र खेलकुदप्रतिको समर्पण भावको उच्च प्रशंसा गर्दै उहाँले खेलाडीहरूले सफलता पछाडिको संघर्ष, त्याग, तपस्या र साधना कायम राख्दै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । आफूभित्रको सम्भावनालाई निखार्दै अझ सशक्त र उत्कृष्ट खेलाडीको रूपमा विकास गरी व्यक्तिगत उपलब्धीका साथै संगठनको श्रीवृद्धि, वृहत्तर हित र संस्थागत बिकासमा योगदान दिन खेलाडीहरूलाई उहाँले आग्रह गर्नुभयो । प्रहरी पेशा अन्तर्गतका जिम्मेवारीहरू बहुआयामिक रहने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले संगठन र राज्यले सुम्पिएको जस्तोसुकै जिम्मेवारी दृढता र कर्तव्यपरायणताका साथ निर्वाह गर्न तत्पर हुनु सवै प्रहरी कर्मचारीको प्राथमिक दायित्व रहेको  बताउनुभयो । हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न पदक विजेता खेलाडीहरू समेतको उच्च योगदान रहेको उहाँले बताउनुभयो ।  प्रभावकारी प्रशिक्षण र व्यवस्थापनद्वारा खेलाडीहरूको क्षमता अभिवृद्धि र मनोबल उच्च गर्न नेपाल प्रहरी खेलकुद समिति पनि उत्तिकै सक्रिय र क्रियाशील हुन आवश्यक रहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले उत्कृष्ट खेलाडीलाई संगठनमा आवद्ध गराई महत्वपूर्ण मञ्च उपलब्ध गराउने नेपाल प्रहरीको नीति रहेको तथा उत्कृष्ट खेलाडीको आवद्धताले आगामी दिनमा नेपाल प्रहरीको प्रदर्शन अझ सुदृढ हुने अपेक्षा व्यक्त गर्नुभयो ।  समारोहमा नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव एवं राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले स्वागत मन्तव्य व्यक्त गर्दै नेपाल प्रहरीले विभिन्न खेलकुद गतिविधिमा सहभागी हुँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू उत्पादन गरी राष्ट्रको खेलकुद विकासमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको बताउनुभयो । साथै उहाँले प्रतियोगितामा नेपाल प्रहरीको सहभागिता सम्बन्धी संक्षिप्त जानकारी दिँदै २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका विभिन्‍न जिल्लामा संचालित उक्त प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट सहभागी खेलाडीहरुले ६१ स्वर्ण, ६१ रजत र ७२ कास्य गरी कुल १ सय ९४ पदक प्राप्त गर्दै तेस्रो स्थान हासिल गर्न सफल भएको उल्लेख गर्नुभयो । विजेता खेलाडीहरुलाई सम्मान स्वरुप नेपाल प्रहरी खेलकुद समितिबाट सिंगल ईभेन्ट स्वर्ण पदक विजेतालाई १० हजार रुपैयाँ, रजत पदक विजेतालाई ७ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ५ हजार रुपैयाँ एवम् सामूहिक ईभेन्टतर्फ स्वर्ण पदक विजेतालाई ७ हजार रुपैयाँ, रजत पदक विजेतालाई ५ हजार रुपैयाँ र कास्य पदक विजेतालाई ३ हजार रूपैयाँ प्रदान गरिएको छ । यसैगरी विभिन्न खेलहरूमा राष्ट्रिय कीर्तिमान राख्न सफल ८ जना खेलाडीहरुलाई जनही थप नगद ५ हजार रुपैयाँ प्रदान गरिएको छ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नेपाल प्रहरीकोतर्फबाट २९ खेलमा ४ सय ९५ जना खेलाडीहरू सहभागी भएका थिए । जसमध्ये १९८ जना महिला र २९७ जना पुरुष खेलाडी थिए भने ९२ जना अफिसियल गरी कूल ५ सय ८७ जना खेलाडी तथा अफिसियलहरूको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रहरी सहायक निरीक्षक तारादेवी पुन, प्रहरी सहायक हवल्दारद्वय बिकास थापा र मुई लामा तथा प्रहरी जवानहरू जुनुमाया छन्त्याल, बिद्या राई, बिशाल सिंह बिष्ट, सन्देश गुरूङ र चन्द्रकला लाम्गादेले नयाँ राष्ट्रिय कीर्तिमान कायम गर्न सफल भएका थिए ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी वरिष्ठ अधिकृतहरु, नेपाल प्रहरीमा आवद्ध खेलाडीहरु लगायत अन्य प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

नवनियुक्त प्रहरी निरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-०८-२१

काठमाडौं, खुला प्रतियोगिताद्वारा जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक पदमा नवनियुक्त भएकामध्ये विभागीयतर्फका १ सय ११ जना प्रहरी निरीक्षकहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । २०७८ मंसिर १० गते प्रकाशित विज्ञापन अनुसार खुला प्रतियोगिताको २०७९ मंसिर ८ गते प्रकाशित अन्तिम नतिजामा विभागीयतर्फ १ सय ११ र  खुलातर्फ ३५ जना गरी कुल १ सय ४६ जना प्रहरी निरीक्षकहरु उत्तीर्ण हुनुभएको छ । जसमा १७ जना महिला हुनुहुन्छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७९ मंसिर १२ गतेको निर्णयले मंसिर १५ गतेदेखि लागू हुने गरी उहाँहरु प्रहरी निरीक्षक पदमा नियुक्त हुनुभएको हो । दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन सम्बोधन गर्ने क्रममा प्रहरी महानिरीक्षक सिंहले नवनियुक्त भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै आगामी दिनमा अझ बढी व्यावसायिकता प्रदर्शन गर्दै प्राप्त जिम्मेवारीलाई वहन गर्न निर्देशन दिनुभयो । नवनियुक्त अधिकृतहरूबाट संगठनको श्रीवृद्धिका लागि अझ बढी उर्जा प्राप्त हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न भएको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ मा सम्पूर्ण कर्मचारीहरूले उच्च व्यावसायिकता प्रदर्शन गरी निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त प्रहरी कर्मचारीहरूलाई विशेष धन्यवाद व्यक्त गर्नुभयो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु तथा प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । 

२८औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी २०७९ उद्‍घाटन
२०७९-०८-२१

काभ्रेपलाञ्चोक, नेपाल पुलिस स्कुल साँगा काभ्रेपलाञ्चोकको आयोजनामा सोही विद्यालयमा संचालन हुने २८औं अन्तर माध्यामिक विद्यालय आइजीपी फुटबल रनिङ ट्रफी प्रतियोगिता २०७९ को प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले बुधबार रेफ्रीलाई बल हस्तान्तरण गरी उद्‍घाटन गर्नुभयो । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक थापाले खेलकुदले मानिसको शारीरिक र मानसिक विकासमा टेवा पुर्‍याउने चर्चा गर्दै विद्यार्थीलाई गतिशिल र सिर्जनात्मक बनाउन शिक्षा सँगसँगै अतिरिक्त क्रियाकलाप र सह-शिक्षात्मक गतिविधिमा समेत सहभागिता गराउनुपर्ने बताउनुभयो । विद्यार्थीहरूले खेलकुदका साथै आफ्नो अध्ययनलाई पनि मेहनतका साथ निरन्तर अघि बढाउँदै लैजानु पर्ने उल्लेख गर्दै  प्रहरी अतिरिक्त महानिरीक्षक थापाले विद्यालयले आफ्नो शैक्षिक तथा अन्य गतिविधिलाई आगामी दिनमा अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढाउने विश्वास व्यक्त गर्नुभयो ।  प्रतियोगिताका सबै खेलहरू अनुशासित, रोमान्चक, प्रतिस्पर्धात्मक र मर्यादित रूपमा संचालन हुने विश्वास व्यक्त गर्दै उहाँले सहभागी विद्यालयका सबै टीमलाई शुभकामना समेत दिनुभयो ।  सोही विद्यालयका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य गर्नुभएको उक्त कार्यक्रममा स्कुलका विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक फणिन्द्र प्रसाईले धन्यबाद ज्ञापन गर्नुभएको थियो । उद्‍घाटन कार्यक्रममा नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुले नृत्य प्रस्तुत गर्नुकासाथै प्रतियोगितामा सहभागी विद्यालयका विद्यार्थीहरुले मार्च पास गरेका थिए ।  प्रतियोगिता अन्तर्गत आज भएको उद्‍घाटन खेलमा नेपाल पुलिस स्कुल साँगाका ए टीमले बेलोर ईन्टरनेश्नल स्कुल बनेपालाई ५ का विरूद्ध शून्य गोल अन्तरले पराजित गरेको छ । प्रतियोगितामा नेपाल पुलिस स्कुल साँगाका ए र बि टीम, नेपाल पुलिस स्कुल धरान, सैनिक आवासीय मावि लगायत काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेका गरी जम्मा १५ विद्यालयका १६  टीमको सहभागिता रहेको छ ।  कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय निकायका प्रतिनिधिहरु, विभिन्न संघसंस्थाका प्रमुखहरु, विभिन्न विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०८-२०

सोलुखुम्बु, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले शान्ति सुरक्षा कायम गर्न, अपराध अनुसन्धान तथा नियन्त्रणको साथै जनअपेक्षा अनुरूप प्रहरी सेवा प्रवाह गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूले व्यावसायिक, लगनशील र निडर भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुको मंगलबार निरीक्षण भ्रमण तथा मातहत प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उक्त कुरा बताउनुभएको हो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी ऐन तथा नियमावलीमा भएका व्यवस्थालाई अक्षरस: पालना गरी प्रहरी आचरण र व्यवहारमा सुधार ल्याई व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखी कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । सामाजिक सञ्जालको सही सदुपयोग गरी प्रयोग गर्न तथा जनचेतनाको कमीबाट हुने घटनाहरुलाई नियन्त्रण गर्न विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गर्न समेत उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले सर्वोच्च शिखर सगरमाथाले परिचित पर्यटकीय जिल्ला सोलुखुम्बुमा भ्रमणको लागि आउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकहरुको आवागमनलाई सहज र सुरक्षाको प्रत्याभूति दिलाई निर्धक्क यात्रा गर्ने वातावरण बनाउनेतर्फ प्रहरी कर्मचारीहरू थप सक्रिय हुनुपर्ने बताउनुभयो ।   आपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरु नियन्त्रण गर्न, प्रकोपमा उद्दार कार्य गर्न तथा सार्वजनिक सम्पत्तिको संरक्षण गर्न स्थानीय तह तथा अन्य सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले आम सेवाग्राहीसँग समान व्यवहार गरी प्रहरी संगठनको गरिमा बढाउने कार्यमा सदैव लागि पर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।  कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरी लगायत प्रहरी अधिकृतहरू समेतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गा परिसरमा नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०८-१९

ओखलढुङ्गा, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाको परिसरमा नवनिर्मित कार्यालय, कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास भवन, हिरासत कक्ष, व्यारेक तथा भान्साघरको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरू तथा प्रहरी कर्मचारीहरूलाई कदरपत्र र प्रशंसापत्र प्रदान गर्नुभयो ।  कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रहरी बस्ने आवास गृह, प्रहरी प्रशासन लगायत प्रहरी कार्य सम्पादन गर्न आवश्यक पर्ने भौतिक संरचना र प्रहरीले उपभोग गर्ने सेवा सुविधाहरुको उपलब्धता प्रत्यक्ष रुपमा प्रहरीको मनोवलसँग जोडिएको उल्लेख गर्दै नवनिर्मित आधुनिक र सुविधा सम्पन्न भवनहरूले प्रहरी कर्मचारीहरुमा जिम्मेवारी निर्वाह गर्न थप ऊर्जा र हौसला थपिने विश्वास व्यक्त गर्नुभयो ।  अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले समाजमा अशान्ति र अराजकता फैलाउने उच्छृंखल तथा आपराधिक समूह, सामाजिक हित विपरितका गैरकानुनी र अनैतिक कार्य गर्ने व्यक्ति वा समूहहरू विरूद्ध खरो रुपमा प्रस्तुत भई कुनै किसिमको दवाव र प्रभावमा नपरी कानूनी कारवाही गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  स्थानीय नागरिकहरूसँगको उचित समन्वय र सहकार्यमा कानून विपरितका गतिविधि नियन्त्रण तथा व्यवस्थापन गरी समाजमा प्रभावकारी शान्ति, सुरक्षा र व्यवस्था कायम गर्न सकिने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले मानव अधिकारको उच्च सम्मान गर्दै जन अपेक्षा अनुरूप प्रहरी कर्मचारीहरूले व्यावसायिक प्रहरी सेवा प्रवाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।   प्रहरी महानिरीक्षक सिंहले नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह गर्दै प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्नेदेखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध र प्रयासरत रहेको बताउनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले विभिन्न सरोकारवाला निकाय तथा पदाधिकारीहरुसँगको समन्वय र सहकार्यमा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको निर्वाचन २०७९ शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन सफल भएको चर्चा गर्दै निर्वाचन सम्पन्न गराउन खटिएका समस्त सुरक्षा निकायका कर्मचारीहरू, निर्वाचन कर्मचारीहरु र सम्बन्धित निकायका पदाधिकारीप्रति विशेष धन्यवाद व्यक्त गर्दै उहाँहरूको महत्वपूर्ण भूमिकाको उच्च प्रशंसा समेत गर्नुभयो ।   १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा ओखलढुङ्गा जिल्लाका प्रमुख जिल्ला अधिकारी दिल कुमार तामाङ र सिद्धिचरण नगरपालिकाका प्रमुख तेजेन्द्र खनालले आ-आफ्नो शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।  १ नम्बर प्रदेश प्रहरी भौतिक पुर्वाधार शाखाका प्रमुख प्राविधिक प्रहरी उपरीक्षक ईन्जिनियर अनिल रानाले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल १० करोड १० लाख ४४ हजार ९१ रूपैयाँ ८१ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रमुख प्रहरी नायव उपरीक्षक शुकदेव खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  उक्त कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र पूर्व प्रहरी कर्मचारीहरूबीच अन्तरक्रिया सम्पन्न
२०७९-०८-१८

बाँके, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बाँकेका पूर्व प्रहरी कर्मचारीहरूसँग शुक्रबार आयोजित एक कार्यक्रमबीच अन्तरक्रिया गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारीका सन्ततीहरूलाई स्कुल भर्ना तथा प्रहरीको भर्ना छनोटमा प्राथमिकता दिने र पूर्व प्रहरी कर्मचारीहरूको हकहितको लागि संगठनबाट सक्दो सहयोग हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । पूर्व प्रहरी संगठन जिल्ला कार्य समिति बाँकेका अध्यक्ष पूर्व प्रहरी निरीक्षक गंगाबहादुर अधिकारीको अध्यक्षतामा सम्पन्न उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित पूर्व प्रहरी कर्मचारीहरूले आ-आफ्ना जिज्ञासा राख्नुभएको थियो । उक्त अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट प्रहरी तालिम केन्द्र तथा प्रहरी अस्पताल निरीक्षण तथा निर्देशन
२०७९-०८-१७

बाँके, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज) र लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको शुक्रबार निरीक्षण भ्रमण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनुभएको छ । कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र निरीक्षण पश्चात प्रहरी कर्मचारीहरूलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षणको क्रममा प्रशिक्षकहरूले आफूलाई रोल मोडलको रूपमा प्रस्तुत गर्नुपर्ने बताउनुभयो । प्रशिक्षार्थीहरूले पाउनुपर्ने सेवा सुविधामा कुनै कमी गर्न नहुने चर्चा गर्दै उहाँले तालिम केन्द्रले प्रहरी कर्मचारीको दक्षता अभिवृद्धि गर्नेतर्फ विशेष ध्यान दिएर तालिम प्रदान गर्नुपर्ने उल्लेख गर्नुभयो । यसैगरी प्रहरी महानिरीक्षक सिंहले लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजको निरीक्षण तथा अवलोकन भ्रमण गर्नुभएको छ । सो अवसरमा उहाँले अस्पतालको ल्याव परीक्षणलाई स्तरोन्नति गर्दै अझ उत्कृष्ट सेवा प्रदान गर्न अस्पतालमा कार्यरत प्रहरी कर्मचारीलाई निर्देशन दिनुभयो । बिरामी वार्डलाई व्यस्थित गर्नुपर्ने र नयाँ निर्माण हुन लागेको अस्पताल भवन छिटो भन्दा छिटो शीलान्यास गरी निर्माण कार्य अगाडि बढाउनु पर्नेमा उहाँले जोड दिनुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले मंसिर १ गते जुम्ला सदरमुकामदेखि तिला गाउँपालिकास्थित मतदान केन्द्रमा मतपेटिकाको खाली बाकस बोकी जाँदै गर्दा सवारी दुर्घटनामा परी घाइते भई हाल उक्त अस्पतालमा उपचाररत जिल्ला प्रहरी कार्यालय जुम्लामा कार्यरत प्रहरी सहायक हवल्दार सुरज चन्दको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुको साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना समेत गर्नुभयो । निरीक्षण भ्रमण कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्याय, कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव महानिरीक्षक पोषराज पोखरेल, कर्णाली प्रदेश प्रहरी तालिम केन्द्र सुर्खेत (हाल नेपालगंज)का प्रमुख, लुम्बिनी प्रादेशिक प्रहरी अस्पताल नेपालगंजका प्रमुख लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र अमेरिकी राजदूतबीच शिष्टाचार भेटघाट
२०७९-०८-१६

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपालका लागि मित्रराष्ट्र संयुक्त राज्य अमेरिकाका महामहिम राजदूत डिन रिचार्ड थम्पसनबीच नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार शिष्टाचार भेटघाट भएको छ ।  उक्त अवसरमा अमेरिकी राजदूत थम्पसनले हालै नेपालमा सम्पन्न आम निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरीले निर्वाह गरेको विशेष भूमिकाको प्रशंसा गर्नुभयो । नेपाल प्रहरीमा दक्ष जनशक्ति उत्पादन गर्न तालिमको व्यवस्थाको साथै प्रविधिको विकास, साईबर अपराध नियन्त्रण एवम् महिला तथा बालबालिकाको क्षेत्रमा अमेरिकी सरकारले सहयोग गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । नेपाल प्रहरीले सार्वजनिक शान्ति कायम राख्न अपनाएको नीतिले अमेरिकी नागरिकले नेपालमा आफूलाई सुरक्षित ठानेको उल्लेख गर्दै राजदूत थम्पसनले यसका लागि नेपाल प्रहरीलाई धन्यवाद दिनुभयो ।  भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक सिंहले अमेरिकी सरकारले नेपाल प्रहरीलाई गर्दै आएको सहयोगका लागि धन्यवाद व्यक्त गर्नुभयो । आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने र आपसी सम्बन्ध सुमधुर हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  भेटघाटका अवसरमा प्रहरी महानिरीक्षक सिंह र महामहिम राजदूत थम्पसनबीच दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल समेत भएको थियो ।

निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी कर्मचारीहरू कटिवद्ध हुनुपर्ने : प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०७-३०

काठमाडौ, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले मंसिर ४ गते सम्पन्न हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरूले आफ्नो व्यावसायिकतालाई अक्षुण्ण राख्दै निर्वाचन शान्तिपूर्ण, निष्पक्ष एवं सुरक्षित तवरबाट भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न कटिवद्ध हुनुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअलरुपमा भिडियो कन्फ्रेन्समार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई निर्वाचन लक्षित निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षा चुनौतीहरूलाई औंल्याई त्यसको निराकरण गर्ने उपायहरू अबलम्बन गर्दै अझ बढी सक्रिय भई निर्वाचन अनुकूल वातावरण बनाउने गरी काम गर्नुपर्ने बताउनुभयो । सम्पूर्ण नेपाल प्रहरीका कर्मचारीहरूले व्यावसायिकतालाई बोलीमा मात्र नभई व्यवहारमा समेत सतप्रतिशत लागू गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । निर्वाचन नेपाल प्रहरीको परीक्षाको घडीको रूपमा रहेको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई अब्बल साबित गर्ने गरी काम गर्न कार्यालय प्रमुखहरूले आफ्ना मातहतमा खटिने प्रहरी कर्मचारीहरूलाई उच्च मनोबलका साथ काम गर्ने वातावरण बनाउन र आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्न उहाँले निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी सम्पूर्ण नेपाली नागरिकको भरोसाको केन्द्र भएकोले निर्वाचनको समयमा तटस्थ भई आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिनुभयो । निर्वाचनको मौन अवधिमा निर्वाचन विथोल्ने क्रियाकलाप अझ बढी हुन सक्ने भएको उल्लेख गर्दै यस्ता चुनौतीको सामना गर्न प्रहरी कर्मचारीहरू उच्च सतर्कता र अझ बढी संवेदनशील भएर निर्वाचन सुरक्षामा केन्द्रित हुनुपर्ने उल्लेख गर्नुभयो । हरेक काम औचित्य पूष्टी हुने गरी हुनुपर्ने र कर्तव्यनिष्ठाको क्रममा गरिएका काम-कारवाहीप्रति संगठनको सदैव साथ रहने उहाँले बताउनुभयो । सहयोगीका रुपमा रहेका म्यादी प्रहरीको उच्च प्रयोग गर्दै निर्वाचन सुरक्षा व्यवस्थालाई चुस्त बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अति संवेदनशील क्षेत्रहरूमा आवश्यक सुरक्षा योजना, रणनीति तय गरी काम गर्न निर्देशन दिनुभयो । यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले निर्वाचन महापर्व भएकोले निष्पक्ष र विवेकसम्मत रूपमा मतदान गर्ने वातावरण सुनिश्चित गर्न निर्देशन दिनुभएको थियो । उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको बिदाइ
२०७९-०७-२४

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी सेवाबाट हालै सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच बिदाइ गर्नुभएको छ । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले आफ्नो अविछिन्न लामो सेवाद्वारा नागिरक र संगठनलाई गर्नुभएको योगदानको प्रशंसा गर्नुको साथै अवकाश पछिको व्यवासयिक एवम् सुखमय पारिवारिक जीवनको शुभकामना व्यक्त गर्नुभयो । सेवानिवृत्त भएका प्रहरी अतिरिक्त महानिरीक्षकबाट आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि आवश्यक सल्लाह, सुझाव एवम् सहकार्य निरन्तर प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसीलाई मायाको चिनो प्रदान गर्नुभयो । कार्यक्रममा सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसीले आफ्नो सेवा अवधिमा गरेका अनुभव समेटी आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । सेवा अवधिभर संगठनले सुम्पिएको जिम्मेवारीमा केन्द्रीत भई काम गरेको उल्लेख गर्दै आगामी दिनमा संगठनको श्रीवृद्धिका लागि रचनात्मक सहयोग गर्न आफूहरू तयार रहेको बताउनुभयो । सेवानिवृत्त हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षकद्वय रबिन्द्र बहादुर धानुक र अरूण कुमार बिसी वि.सं. २०४९ चैत्र ११ गते प्रहरी निरीक्षक पदमा नियुक्त भई प्रहरी सेवामा प्रवेश गर्नुभएको थियो । दुवै प्रहरी अतिरिक्त महानिरीक्षकहरू प्रहरी नियमावली २०७१ बमोजिम ५६ वर्ष उमेर हदको कारण अवकास हुनुभएको हो ।कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू एवम् वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।   

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्वाचन सुरक्षा सम्बन्धी भर्चुअल माध्यमबाट निर्देशन
२०७९-०७-२१

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रदेश प्रहरी प्रमुख, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय प्रमुख, प्रदेश तालिम केन्द्रका समादेशकहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख, जिल्ला प्रहरी प्रमुख र गण प्रमुखहरूलाई सोमबार नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यमद्वारा निर्वाचन लक्षित निर्देशन सम्बोधन गर्नुभएको छ । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हालसम्म निर्वाचन सुरक्षा सम्बन्धी भएको तयारी र निर्वाचन अनुकूल वातावरण बनाउने गरी भएका प्रयास सकारात्मक भएको उल्लेख गर्दै निर्वाचन सम्बन्धी केन्द्रको रणनीति, केन्द्रबाट भएको परिपत्र र निर्देशनलाई बुथ कमाण्डर तहसम्म पुर्‍याई निर्वाचन सुरक्षामा कुनै द्विविधा हुन नदिन निर्देशन दिनुभयो । उहाँले निर्वाचन राष्ट्रिय राजनीतिको दृष्टिले महापर्व भएको उल्लेख गर्दै आगामी निर्वाचनमा आउनसक्ने चुनौतीलाई सामना गर्न तयार रहन निर्देशन   दिनुभयो । तीन करोड नेपालीको विश्वास र सहभागिता रहेको निर्वाचनमा केही उच्छृंखल तत्वले विथोल्न खोज्छन् भने त्यसलाई उचित र प्रभावकारी कारवाही गरी निस्तेज पार्न समेत प्रहरी महानिरीक्षक सिंहले निर्देशन दिनुभयो । निर्वाचन सुरक्षाका क्रममा कमाण्डरको व्यावसायिकता बुथमा खटिने प्रहरी कर्मचारीले गर्ने कार्यबाट झल्कने र त्यही नै कमाण्डरको मूल्यांकनको कडी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षाका क्रममा असल नियतबाट भएका काम-कारवाही प्रति संगठनको सदैव साथ रहने विश्वास दिलाउनु भएको छ । ६ महिना अघि स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीले प्रदर्शन गरेको व्यावसायिकतालाई अक्षुण्ण राखी त्यसबाट प्राप्त आत्मविश्वास एवं नागरिकबाट प्राप्त जनविश्वासको जगमा अझ व्यावसायिक भएर निर्वाचन शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गरी राष्ट्रले सुम्पेको जिम्मेवारी पूरा गर्न प्रहरी महानिरीक्षक सिंहले निर्वाचनमा खटिने प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । यसअघि कार्य तथा अपराध अनुसन्धान विभागका प्रमुख एवं केन्द्रीय निर्वाचन सेलका संयोजक प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनीले म्यादी प्रहरीको सहयोग लिई निर्वाचनलाई शान्तिपूर्ण बनाउन कुनै कसर बाँकी नराख्न निर्देशन  दिनुभयो । उहाँले स्रोत-साधनको समुचित प्रयोग गरी निष्पक्ष तवरले निर्वाचन सम्पन्न गर्न समेत निर्देशन दिनुभयो । उक्त अवसरमा वरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

एकीकृत भन्सार जाँच केन्द्रलाई थप सशक्त र प्रभावकारी बनाउन छलफल कार्यक्रमको आयोजना
२०७९-०७-०९

पर्सा, नेपाल र भारतबीच सीमा नाकामा रहेका एकीकृत भन्सार जाँच केन्द्र (Integrated Check Post) हरूलाई थप सशक्त एवम् प्रभावकारी बनाउन पर्सा स्थित एकीकृत भन्सार जाँच केन्द्रको सभाहलमा मंगलबार अन्तर निकाय छलफल कार्यक्रम सम्पन्न भएको  छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र वीरगंज भन्सार कार्यालय, पर्साका प्रमुख भन्सार प्रशासक नवराज ढुंगाना लगायत नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल तथा भन्सार कार्यालय एवम् एकीकृत भन्सार जाँच केन्द्रका अधिकृतहरूको सहभागितामा उक्त छलफल कार्यक्रम सम्पन्न भएको हो ।  कार्यक्रममा नेपाल भारतबीच भन्सार नाकाबाट भित्रिएका सामानहरूको चेकजाँचमा कडाई गरी राजश्व संकलनलाई बढोत्तरी गर्न प्रभावकारी अन्तरनिकाय समन्वय र सहकार्य सुनिश्‍चित गर्ने, राजश्व संकलनमा आउनसक्ने समस्याहरू पहिचान गरी निराकरणका उपायहरू पहिल्याउने, भन्सार छली नियन्त्रणमा कडाई गर्ने सम्बन्धमा वृह्‍त छलफल भएको थियो । सीमा क्षेत्रमा बनाइएका गोदामहरूलाई नियमित रूपमा चेकजाँच गर्ने, आकस्मिक निरीक्षण गर्ने र अनधिकृत एवम् गैरकानुनी रूपमा नेपाल भित्र्याइएका सामानहरूलाई कानुन बमोजिम कारवाही गरी राजश्व संकलनलाई परिणाममुखी बनाउने लगायतका विषयहरूमा समेत छलफल भएको थियो ।       

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह इन्टरपोलको ९०औं महासभामा सहभागी हुन भारत प्रस्थान
२०७९-०६-३१

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह भारतको नयाँ दिल्लीमा २०७९ कात्तिक १ गतेदेखि ४ गतेसम्म (तदनुसार १८-२१ अक्टोबर २०२२)सम्म संचालन हुने इन्टरपोलको ९०औं महासभामा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) काठमाडौं नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा प्रहरी नायव महानिरीक्षक उमेश राज जोशी र प्रहरी उपरीक्षक अनुपम शमशेर जवरा समेत ५ सदस्यीय टोली त्यसतर्फ प्रस्थान गरेको छ ।    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षकज्यूहरू सहकुल बहादुर थापा, उत्तमराज सुवेदी, दिवेश लोहनी र रबिन्द्र बहादुर धानुक, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो । १९५ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने र विभिन्न सदस्य राष्ट्रहरूबीच अन्तर्राष्ट्रिय प्रहरी समन्वय, प्रतिआतङ्कवाद, आर्थिक अपराध, संगठित अपराध जस्ता विषयहरुका संकल्प प्रस्तावमाथि छलफल हुने कार्यक्रम रहेको छ ।  प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निर्देशन सम्बोधन
२०७९-०६-२८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय र सो मातहतका कार्यालय प्रमुखहरूलाई काठमाडौं उपत्यका प्रहरी कार्यालयको सभाहलमा शुक्रबार बिहान निर्देशन दिनुभएको छ । साथै उहाँले साथै काठमाडौं उपत्यका प्रहरी कार्यालयको परिचालन कक्ष र CCTV मनिटरिङ कक्षको अवलोकन समेत गर्नुभएको छ ।  निर्देशन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा विभिन्न असन्तुष्ट पक्षले सुरक्षा चुनौती बढाउन सक्ने भएकाले आ-आफ्नो ईलाकाको सुरक्षा चुनौतीलाई विश्लेषण गर्दै आवश्यक कार्ययोजना बनाई सुरक्षा व्यवस्था मजवुत बनाउनुपर्ने बताउनुभयो । निर्वाचनको सुरक्षा संवेदनशिल विषय भएकोले आपराधिक घटना रोकथाम तथा न्यूनीकरणका लागि सुरक्षा योजना अनुसार सर्च अपरेशन बढाई गुण्डागर्दी, घरेलु हतियारको प्रयोग, डान्सबार तथा क्लवहरू लगाएतमा हुन सक्ने ग्याङफाइटहरूलाई पूर्णरूपमा नियन्त्रण गर्न उहाँले निर्देशन दिनुभयो । काठमाडौं उपत्यकाको प्रहरी देशकै रोल मोडेलको रुपमा रहेकाले प्रहरीको आचरण तथा व्यवहारमा उत्कृष्ट ढंगले प्रदर्शन गरी सवै सेवाग्राहीलाई समान व्यवहार गर्न पनि उहाँले निर्देशन दिनुभयो । गुण्डा गर्दी लगायतका विभिन्न आपराधिक गतिविधिहरू प्रति प्रहरीले कठोर भई सबैलाई कानूनी दायरामा ल्याउनु पर्ने बताउँदै संगठन र विभागिय नीति बमोजिम कानून सम्वत ढङ्गबाट सम्पादित प्रहरी कारवाहीको जिम्मेवारी आफूले लिने भन्दै निर्धक्क भएर उच्च मनोवलका साथ कार्य गर्न समेत उहाँले निर्देशन दिनुभयो । साथै उहाँले प्रहरी कर्मचारीहरूलाई आर्थिक प्रलोभनमा परी गर्न सक्ने नाजायज कार्य क्षम्य नहुने र कठोर कारवाही गरिने बताउनुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक रबिन्द्र बहादुर धानुकले समसामयिक विषयमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले उपत्यकाका कार्यालय प्रमुखहरूलाई दिनुभएको निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिवद्दता व्यक्त गर्नुभयो । निर्वाचनलाई सफल बनाउन उपत्यका निर्वाचन सेल र जिल्ला निर्वाचन सेलले कार्य गरीरहेको जानकारी दिनुका साथै आर्थिक पारदर्शिता, महिला हिंसा, यौनजन्य हिंसामा शुन्य सहनसिलता (zero Tolerance) मा प्रहरी कारवाहीलाई अगाडी बढाउन र कमी कमजोरीलाई सुधार गर्दै बोली, वचन र व्यवहारमा शिष्टता र नम्रता अपनाई कानून कार्यान्वयन गर्न प्रहरी महानिरीक्षकबाट समय समयमा भएका निर्देशन पालना गरिरहेको र मातहत समेतमा आवश्यक निर्देशन दिइने गरेको उहाँले बताउनुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रहरी वरिष्ठ उपरिक्षक तथा सिनियर प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा टिका तथा प्रसाद प्रदान
२०७९-०६-२०

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले वडा दसैं २०७९ को अवसरमा बिहीबार बिहान सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टिका लगाइदिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित महानुभावहरूलाई प्रहरी महानिरीक्षक सिंहले टिका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामना समेत गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती कुसुम लता सिंहले टीका ग्रहणका लागि उपस्थित महानुभावहरूलाई जमरा र प्रसाद प्रदान गर्नुभएको थियो । ईच्छुक प्रहरी कर्मचारीहरूलाई टिका लगाउनको लागि बिहान ९ बजे देखी ११ बजेसम्मको समय तोकिएको थियो ।  टिका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरीक्त महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिती रहेको थियो ।  टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामना समेत आदानप्रदान गरिएको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट बडा दसैं मौलो पूजा सम्पन्न
२०७९-०६-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बडा दसैंका अवसरमा मंगलबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प पूजा गर्नुभयो । नेपाल प्रहरीले परम्परागत रूपमा गर्दै आएको उक्त पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक सिंहले बली पूजा गर्नुको साथै निसानमा पञ्जा छापसमेत लगाउनुभयो । साथै प्रहरी महानिरीक्षक सिंहले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।   सो अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह, प्रहरी अतिरिक्त महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू लगायत प्रहरी अधिकृतहरूले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । उक्त अवसरमा पुजारीबाट टीका तथा प्रसाद ग्रहण समेत गरिएको थियो । नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरेपश्चात हरेक वर्ष बडा दसैं र चैते दसैंमा निरन्तररूपमा मौलो पूजा गर्दै आएको छ । साथै देशभरका विभिन्न प्रहरी कार्यालयहरूमा रहेका मौलोमा मौलो पूजा गर्ने परम्परा रही आएअनुरूप आजै सम्पूर्ण प्रहरी इकाईहरूमासमेत विधिवत रूपमा मौलो पूजा सम्पन्न गरिएको छ । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित भौतिक संरचना उद्‍घाटन
२०७९-०६-०९

चितवन, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल शान्तिपुर चितवनमा नवनिर्मित महिला छात्राबास तथा भान्साघर र सोधपुछ कक्षको आइतबार आयोजित एक समारोहबीच उदघाटन गर्नुभयो । उद्‌घाटन पश्चात उहाँले नवनिर्मित भौतिक संरचनाहरूको निरीक्षण समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले विद्यालयको समग्र विकासमा योगदान पुर्‍याउने विद्यालयका पूर्व समादेशक प्रहरी निरीक्षक धर्म बहादुर अधिकारी, अक्षयकोष स्थापना गर्ने पूर्व प्रहरी नायव उपरीक्षक कमल भण्डारी, शिक्षक अनिता देवकोटा लगायत  प्रहरी सहायक निरीक्षक दिनेश थापा, प्रहरी हवल्दार अमिन बस्नेत, प्रहरी सहायक हवल्दार प्रकाश घिमिरे समेतलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।उद्‍घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले हाल कक्षा ८ सम्म मात्र अध्यापन भइरहेको यस विद्यालयलाई समयानुकुल स्तर वृद्धि गर्ने सन्दर्भमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । आजको प्रतिस्पर्धात्मक विश्व जगतमा गुणस्तरीय र प्रविधिजन्य शिक्षा अत्यन्त आवश्यक रहेको हुँदा वैज्ञानिक र व्यवहारिक शिक्षा प्रणालीलाई जोड दिनुपर्नेमा उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले विद्यार्थीहरुमा असल व्यक्तित्व र सकारात्मक मानसिकताको विकास गरी राष्ट्र निर्माणमा उनीहरुको भूमिका र समाजप्रतिको दायित्वबोध गराई शिक्षित, सभ्य र क्षमतावान नागरिकमा रुपान्तरण गर्नेतर्फ विद्यालय सदैव गम्‍भीर हुनुपर्नेमा जोड दिनुभयो ।  निर्माण सम्पन्न भएका भौतिक संरचनाले विद्यालयको शिक्षण प्रणाली लगायत अध्ययन र अध्यापन कार्यलाई थप सहज र प्रभावकारी बनाई शिक्षाको गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने उहाँले उल्लेख गर्नुभयो ।विद्यालयका संरक्षक एवं बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल प्रहरी प्रदेश कार्यालय काभ्रेपलाञ्‍चोकका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक लालमणी आचार्यले प्रहरी महानिरीक्षक सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नुभएको थियो ।विद्यालयका प्राचार्य प्रधुन्न पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा भरतपुर महानगरपालिका वडानम्बर १४ का वडाअध्यक्षले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने प्रहरी उपरीक्षक ई. ईश्वर थापाले भवन निर्माणसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । नेपाल सरकारको नियमित बजेट ३ करोड ६८ लाख ३१ हजार ८ सय ५९ रुपयाँ ८८ पैसाको लागतमा महिला छात्रावास तथा भान्साघर र २१ लाख ५७ हजार २ सय ६८ रुपैयाँ ७१ पैसाको लागतमा सोधपुछ कक्षको निर्माण कार्य सम्पन्न भएको हो। विद्यालयका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरु, जनप्रतिनिधिहरु, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, शिक्षक, विद्यार्थी, अभिभावकहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण तथा निर्देशन
२०७९-०६-०९

चितवन, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आइतबार जिल्ला प्रहरी कार्यालय चितवनको निरीक्षण भ्रमण गर्नुको साथै मातहत समेतमा कार्यरत ईकाई प्रमुखहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनको सभाहलमा आयोजित कार्यक्रममा आवश्यक निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले शान्ति सुरक्षा कायम राख्न, मानवअधिकारमा सम्वेदनशील रहन, आर्थिक पारदर्शिता कायम राख्न र आसन्न निर्वाचनमा परिचालनका लागि आवश्यक तयारी गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । सो अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले धन्यवाद ज्ञापन गर्नुको साथै बागमती प्रदेश प्रहरी कार्यालय तथा मातहतले ३ महिनामा सम्पादन गरेका कृयाकलाप प्रस्तुत गर्नुभयो । कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षकहरु, जिल्ला प्रहरी कार्यालय चितवन तथा मकवानपुर, राजमार्ग सुरक्षा तथा ट्राफिक प्रमुखहरु समेतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम समापन
२०७९-०६-०९

चितवन, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी शिक्षालय भरतपुरमा आइतबार आयोजित एक कार्यक्रमबीच सोही शिक्षालयमा संचालित २-१७७औं समूहको प्रहरी सहायक निरीक्षक आधारभूत तालिम  सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले तालिममा सहभागी उत्कृष्ट प्रशिक्षार्थीहरुलाई पुरस्कार, प्रमाणपत्र तथा उत्कृष्ट प्रशिक्षकहरुलाई नगद पुरस्कार वितरण गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीले कठिन र चुनौतीपूर्ण घडीमा राष्ट्रले सुम्पिएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्दै आएको बताउनुभयो । जिम्मेवारी निर्वाहका क्रममा विषम् परिस्थितिमा पनि धैर्यवान रही नेपाल प्रहरीले आफूलाई उत्कृष्ट सावित गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “गौरवमय इतिहास बोकेको संगठनका सदस्य हुनु पाउनु आफैंमा सम्मानको विषय हो । तसर्थ नव-प्रवेशी प्रहरी अधिकृतहरूलाई प्रहरी सेवालाई केवल पेशाको रुपमा मात्र नलिई राष्ट्र र नागरिक सेवामा आफ्नो विशिष्ट पहिचान बनाउन निर्देशन गर्दछु ।”  प्रहरी महानिरीक्षक सिंहले हिंसाजन्य एवम् अमानवीय व्यवहारलाई समाजमा कुनै स्थान दिन नहुने र कुरीतिजन्य आचरण तथा व्यवहारले समाजको सुन्दरतालाई कुरूप पार्ने उल्लेख गर्दै आम नागरिकलाई न्याय र आत्मसम्मानको अनुभूति गराई नेपाल प्रहरी नागरिक आस्था र भरोसाको केन्द्रको रुपमा स्थापित हुने गरी काम गर्ने समेत आग्रह गर्नुभयो । कुनै पनि प्रकारका अवाञ्छित गतिविधि, गैरकानुनी क्रियाकलापलाई निर्ममतापूर्वक नियन्त्रण र निस्तेज गरी कानुनी राज्यको प्रवर्द्धन गर्न दृढ संकल्पित रही आफ्नो कर्तव्यको दौरानमा त्यसको पूर्ण कार्यान्वयन गर्न उहाँले प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीको वृत्ति विकासलाई मध्यनजर गरी संगठनले विभिन्न विश्वविद्यालय र तालिम संस्थाहरूसँग सहकार्यको थालनी गरेकोले आगामी दिनमा प्रविधिको प्रयोग, भौतिक पूर्वाधारको उल्लेख विकास, स्रोतसाथन र उचित तालिमको अवसरले प्रहरीको व्यावसायिकतामा थप निखार थपिने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा शिक्षालयका निर्देशक प्रहरी नायव महानिरीक्षक सन्दिप भण्डारीले शब्द उच्चारणबाट प्रशिक्षार्थीहरुलाई शपथ ग्रहण गराउनुका साथै धन्यवाद ज्ञापन समेत व्यक्त गर्नुभएको थियो । तालिम संयोजक प्रहरी उपरीक्षक प्रकाश मल्लले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै २०७८ असोज १३ गतेदेखि संचालित उक्त तालिममा ३८ जना महिला सहित कुल ५ सय १ जना प्रशिक्षार्थीहरु दीक्षित भएको जानकारी दिनुभयो । कार्यक्रममा दीक्षित प्रहरी सहायक निरीक्षकहरूलाई आ-आफ्ना अभिभावकहरूले दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको थियो ।   उक्त समारोहमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, जिल्ला अदालत चितवनका न्यायाधीस रितेन्द्र थापा, राष्ट्रिय भूमि आयोग चितवन जिल्ला समितिका अध्यक्ष बद्री तिमिल्सिना, नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष कुसुम लता सिंह, बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक किरण बज्राचार्य, अवकाश प्राप्त प्रहरी नायब महानिरीक्षक ज्ञानेन्द्र विक्रम महत, विभिन्न सरकारी तथा गैह्र साकारी कार्यालयका कार्यालय प्रमुख  तथा अन्य आमन्त्रित महानुभावहरुको समेत उपस्थिति रहेको थियो ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम सम्पन्न
२०७९-०६-०७

काठमाडौं,  नेपाल प्रहरी खेलकुद समितिका अध्यक्ष तथा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को रनिङ ट्रफि प्रदर्शन कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयको प्राङ्गणमा शुक्रबार सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त ट्रफि प्रदर्शन गर्दै प्रतियोगितामा सहभागी हुन लागेका खेलाडीहरूलाई ट्रफि प्रदर्शनीले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी विजय हाँसिल गर्न प्रेरणा मिल्ने आशा व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुद असोज २८ गतेदेखि औपचारिक रूपमा शुरु हुने भएतापनि हालै सम्पन्न भएको पुरूष क्रिकेटमा नेपाल प्रहरीको क्रिकेट टिमले स्वर्ण पदक जितेर उत्कृष्ट सुरूवात गरिसकेको उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रतियोगितामा हुने खेलहरूमा नेपाल प्रहरीमा आबद्ध खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गरी नेपाल प्रहरीको गरिमा उच्च राख्न शुभेच्छा व्यक्त गर्नुको साथै खेलमा सहभागी हुने अन्य १० टिमलाई समेत सफलताको लागि शुभकामना व्यक्त गर्नुभयो । राष्ट्रिय खेलकुदलाई सफल बनाउनु हामी सबैको दायित्व भएकोले नेपाल प्रहरीबाट पूर्ण सहयोग रहने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।   कार्यक्रममा नेपाल ओलम्पियन संघका अध्यक्ष तथा रनिङ ट्रफी टुर कार्यदलका संयोजक दिपक बिष्टले ट्रफि टुरमा नेपाल प्रहरीले पुर्‍याएको सहयोगप्रति कृतज्ञता व्यक्त गर्दै हालसम्म ३ वटा प्रदेश, नेपाली सेना र नेपाल प्रहरीमा ट्रफि प्रदर्शनी गरिएको जानकारी गराउनुभयो । नेपाल प्रहरीसँगको समन्वयमा खेलकुद सम्बन्धी कार्यहरू गर्दै आएको स्मरण गर्दै खेलकुदको माध्यमबाट नेपाल प्रहरीले राष्ट्रका लागि पुर्‍याएको योगदानको प्रशंसा गर्नुभयो ।  राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा २०७९ असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने मूल नाराका साथ गण्डकी प्रदेशमा सञ्चालन हुने नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता २०७९ को अवसरमा उक्त प्रदर्शनी कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, रनिङ ट्रफि टुर कार्यदलका सदस्यहरू दिपक श्रेष्ठ, अरूणा शाही र मिरा राई तथा नेपाल प्रहरीको प्रतिनिधित्व गरी राष्ट्रिय खेलकुदमा सहभागी हुन लागेका खेलाडीहरू, वरिष्ठ प्रहरी अधिकृहरू लगायतको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७९-०६-०१

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा आसरा सुधार केन्द्र रानीबारीको २६औं वार्षिकोत्सव कार्यक्रम सोही केन्द्रको कार्यालय रानीबारीमा शनिबार आयोजित एक समारोहबीच सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक सिंह एवम् उक्त केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रको नेतृत्वदायी भूमिकामा महत्वपूर्ण योगदान पुर्‍याई केन्द्रलाई हालको अवस्थासम्म ल्याउन विशेष योगदान पुर्‍याउनुहुने केन्द्रकी पूर्व अध्यक्ष श्रीमती सिर्जना थापालाई सम्मानपत्र प्रदान तथा केन्द्रको कार्यकारिणी समितितर्फ केन्द्रकी सदस्य श्रीमती जुनु श्रेष्ठ र श्रीमती कुसुम अधिकारीलाई प्रशंसापत्र प्रदान गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले केन्द्रको सुरक्षा व्यवस्थापनमा सहयोग गर्ने काठमाडौं उपत्यका सशस्त्र प्रहरी गण नम्बर २ महाराजगञ्ज र केन्द्रले आयोजना गर्ने विविध साँगीतिक कार्यक्रममा सहयोग गर्ने नेपाल प्रहरी संगीत विद्यालय महाराजगञ्जलाई प्रशंसापत्र प्रदान गर्नुभयो । उहाँले केन्द्रको आन्तरिक सुरक्षा एवं व्यवस्थापनमा योगदान पुर्‍याउने प्रहरी कर्मचारीहरुलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्नुको साथै केन्द्रको वार्षिक प्रकाशन ‘आसरा दर्पण २०७९’ को विमोचन समेत गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले लागूऔषध दुर्व्यसनीको उपचार र पुनर्स्थापना तथा लागूऔषधविरूद्ध सचेतनामार्फत् सामाजिक सुधार र सामाजिक सेवामा नेपाल प्रहरी श्रीमती संघद्वारा संचालित यस केन्द्रले स्थापनाकाल देखिनै निर्वाह गरेको भूमिका सराहनीय रहेको बताउनुभयो । २०५४ सालमा स्थापना भई १०१ जना महिला सहित ५ हजार ६९८ जना लागूऔषध सेवनकर्तालाई परामर्श र उपचारद्वारा असल नागरिकमा रुपान्तरण गरी नयाँ जीवन दिन यस केन्द्रले तय गरेको सफल यात्राको निम्ति उहाँले समस्त केन्द्र परिवारलाई बधाई दिनुभयो ।  साथै उहाँले लागूऔषध दुरूपयोग एक गम्भीर सामाजिक समस्या रहेको र यसैको कारण समाजमा आपराधिक गतिविधि वृद्धि भई व्यक्ति, परिवार, समाज, राष्ट्र र अन्तर्राष्ट्रिय समुदायमा समेत प्रतिकूल असर पारिरहेको चर्चा गर्दै कुलतमा फसेका युवा शक्तिलाई राष्ट्र निर्माणको बाटोमा ल्याउनु सबैको सामाजिक दायित्व रहेको बताउनुभयो । प्रहरीले लागूऔषध दुर्व्यसन र प्रयोगबाट सिर्जित परिणाम र घटनाक्रमको व्यवस्थापनका लागि लागूऔषध सम्बन्धी जनचेतना जगाउने हेतूले समुदाय-प्रहरी साझेदारी अन्तर्गत विशिष्टिकृत पाठ्यक्रम विकास गरी सक्रियताका साथ विद्यालय र समुदायमा सचेतना कार्यक्रम गरिरहेको समेत उहाँले उल्लेख गर्नुभयो । समारोहमा केन्द्रकी अध्यक्ष श्रीमती कुशुम लता सिंहले केन्द्रका परामर्शदाताहरूलाई प्रशंसापत्र र नगद पुरस्कारको साथै आन्तरिक खेलकुद प्रतियोगितामा विजयी हुने केन्द्रमा उपचाररत सदस्यहरूलाई पुरस्कार प्रदान गर्नुभयो । उक्त अवसरमा धन्यवाद ज्ञापन गर्दै केन्द्रकी अध्यक्ष सिंहले हरेक दृष्टिकोणबाट चुनौतिपूर्ण बन्दै गएको लागूऔषध दुर्व्यसनीको समस्या समाधान गर्न लागूऔषध प्रयोगकर्ताहरूको उपचार, परामर्श सेवा एवं पुनर्स्थापना कार्यमा केन्द्र दत्तचित्त भई लागेको उल्लेख गर्नुभयो ।   केन्द्रकी सचिव श्रीमती सिता ज्ञवालीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो समारोहमा केन्द्रमा उपचाररत सदस्यहरु र नेपाल प्रहरी संगीत विद्यालयका प्रहरी सहायक निरीक्षक राम बहादुर भुजेलले साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंह, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, केन्द्रका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु समेतको उपस्थिति रहेको थियो ।

UNCOPS समिटमा सहभागी भई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह स्वदेश फिर्ता
२०७९-०५-२५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा आयोजित तीन दिवसीय तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS)  मा नेपालको तर्फबाट सहभागी भई शनिबार स्वदेश फर्कनुभएको छ । प्रहरी महानिरीक्षक सिंहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले हार्दिक स्वागत गर्नुभयो । विमानस्थलमा कुराकानी गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त समिटमा संयुक्त राष्ट्र संघीय शान्ति मिशनहरुमा प्रहरीको भूमिकालाई अझ सशक्त बनाउन संयुक्त राष्ट्र संघका महासचिवद्वारा जारी गरिएको साझा एजेण्डा र A4P (Action for Peacekeeping)/ A4P+ को कार्यान्वयन गर्ने सन्दर्भमा विशेष छलफल भएको बताउनुभयो । नेपालको तर्फबाट अन्तर्राष्ट्रिय शान्ति, सुरक्षा र विकासका निमित्त स्पष्ट प्रतिबद्धता व्यक्त गरिएको उहाँले चर्चा गर्नुभयो । साथै उहाँले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाटवार्ताका क्रममा यूएन मिसनमा नेपाल प्रहरीको सहभागिता र योगदानका सम्बन्धमा नेपाल प्रहरीको योगदानको अत्यन्त प्रशंसा गरिएको उल्लेख गर्नुभयो । साथै समिटको क्रममा भएका औपचारिक एवम् अनौपचारिक छलफल समेत निकै फलदायी भएको उहाँले उल्लेख गर्नुभयो । समिटको दौरानमा नेपालको तर्फबाट प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले संयुक्त राष्ट्र संघ अन्तर्गत Department of Peace Operations का पदाधिकारीहरुसँग भेटघाट गर्नुभएको थियो । साथै Department of Operational Support का Under Secretary General Atul Khare, Office of Rule of Law and Security Institution का Assistant Secretary General Alexandre Zouev, Police Adviser Luis Carrilho, Integrated Training Section का Mark Padersen, Selection and Recruitment Section का Ata Yenigun लगायतका व्यक्तित्वहरुसँग द्विपक्षीय भेटवार्ता समेत भएको थियो । समिटमा छलफलको क्रममा महिला सहभागिता बृद्धि गर्ने, Nepal FPU को Pre-deployment Visit (PDV) र Assessment and Advisory Visit (AAV) को लागि UN को टोली October 2022 मा नेपाल आउने, नेतृत्व तहको लागि प्रोत्साहन गर्ने तथा प्राथमिकता दिने, नेपालको सहभागितालाई थप व्यापक बनाउन तालिम प्रशिक्षकको लागि अतिरिक्त कोटा उपलब्ध गराउने तथा प्रशिक्षण कार्यमा खटाउने र नेपालमा UN Peacekeeping सम्बन्धी अन्तर्राष्ट्रिय तालिमहरु संचालन गर्ने लगायतका उपलब्धीहरू हासिल भएको छ । Pre-deployment Visit (PDV) पश्चात नेपालकोतर्फबाट एक एफपियू टोली आगामी जनवरीमा मालीको किडालमा परिचालन हुनेछ ।  भदौ १५ गते सुरु भई १७ गते सम्पन्न भएको उक्त समिटमा कूल १ सय ८१ देशका प्रहरी प्रमुखहरूको सहभागिता रहेको थियो ।  उक्त समिटमा नेपालको तर्फबाट संयुक्त राष्ट्र संघीय स्थाई नियोगका सैनिक सल्लाहकार महासेनानी जगदीश खड्का समेत ५ सदस्यीय टोली सहभागी भएको थियो ।

प्रहरी महानिरिक्षक धिरज प्रताप सिंह United Nations Chiefs of Police Summit मा सहभागी हुन न्यूयोर्क प्रस्थान
२०७९-०५-१३

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा भदौ १५ देखि १७ गते (३१ अगस्ट देखि २ सेप्टेम्बर, २०२२) सम्म संचालन हुने तेस्रो United Nations Chiefs of Police Summit (UNCOPS) मा सहभागी हुन सोमबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहसँग उक्त समिटमा सहभागी हुन सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल, प्रहरी उपरीक्षक सविन प्रधान र सशस्त्र प्रहरी निरीक्षक केदार प्रसाद सापकोटा समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंहको नेतृत्वमा रहेको टोलीलाई प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शुभकामना सहित विदाई गर्नुभयो ।उक्त समिटमा निम्न उल्लेखित विषयहरूमा छलफल हुने कार्यक्रम रहेको छ : Operationalize the United Nations Police Division’s role as a system wide service provider and focal point for United Nations policing and other law enforcement matters.  Reinforce ongoing efforts to enhance the performance of United Nations Police by strengthening capacities, including the launch of voluntary compact on Advancing Gender Parity within the United Nations Police. Integrate United Nations Policing Priorities in International Peace and Security processes, discussions and Fora. सो अवसरमा प्रहरी महानिरीक्षक सिंहले अन्य देशका प्रहरी प्रमुखहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटघाट गरी साझा सुरक्षाका विषयमा समेत छलफल गर्ने कार्यक्रम रहेको छ । प्रहरी महानिरीक्षक सिंहको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले नेपाल प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।   

उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ सम्पन्न
२०७९-०५-०८

काठमाडौं, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीद्वारा संयुक्त रूपमा आयोजित उपत्यका स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ बुधबार सम्पन्न भएको छ ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले अपराध अनुसन्धानमा भएका समस्याहरू विश्लषण गरी सफल अपराध अनुसन्धानका लागि आवश्यक रणनीति तय गर्नु गोष्ठीको मुख्य उद्देश्य रहेको बताउनुभयो । विभिन्न जिल्लामा भएका सफल अनुसन्धानका घटना एक आपसमा आदान प्रदान हुने र त्यस्ता सफल अनुसन्धानका पद्धतिहरूलाई अन्य जिल्लामा समेत लागु गर्ने उपस्थित प्रहरी कर्मचारीहरूलाई आग्रह समेत उहाँले गर्नुभयो ।  शान्ति सुरक्षा स्थापना तथा अपराध अनुसन्धान एवं नियन्त्रणमा अझ बढी सवेदनशील र निडर भएर कार्य सम्पादन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्न हरेक प्रहरी कर्मचारीहरूले सबै सरोकारवाला निकायसँग आवश्यक समन्वय र सहकार्य गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । संगठनको श्रीवृद्धि एवं संगठनको लक्ष्य तथा उद्देश्य हासिलका लागि सबै प्रहरी कर्मचारीहरू इमान्दारीताका साथ कार्यसम्पदान गर्नुपर्ने बताउँदै आउँदै गरेको प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित तवरमा सम्पन्न गर्न आवश्यक सुरक्षा योजनाहरू अवलम्बन गर्नुपर्ने उहाँले बताउनुभयो ।   काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र धानुकले धन्यवाद ज्ञापन व्यक्त गर्नुभएको उक्त कार्यक्रममा केन्द्रीय अनुसन्धान व्यूरोका प्रहरी अतिरीक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धान सम्बन्धि बिषयमा प्रशिक्षण प्रदान गर्नुभएको थियो ।  नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग, साइबर ब्यूरो, काठमाडौं उपत्यका प्रहरी कार्यालय,  जिल्ला प्रहरी कार्यालयहरू काभ्रेपलाञ्चोक, रामेछाप, सिन्धुपाल्चोक र दोलखा, जिल्ला प्रहरी परिसरहरू काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख तथा प्रतिनिधिहरूले अपराध अनुसन्धान क्षेत्रको विद्यमान अवस्था, साइबर अपराधको समस्या, फैसला कार्यान्वयनको अवस्थामा, हिरासत व्यवस्थापनको अवस्थामा, समस्या र समाधानका उपायहरू, अपराधको नयाँ ट्रेन्डहरुको अवस्था, भौतिक सबुत संकलनका समस्या र समाधानका उपायहरू, पेण्डिङ केशहरूको अवस्था लगायतका विषयमा  प्रस्तुतीकरण गर्नुका साथै उक्त विषयहरूमा अन्तरक्रिया एवं छलफल समेत भएको थियो ।   उपत्यका साथै यसअघि अपराध अनुसन्धा समिक्षा गोष्ठी सातवटै प्रदेशमा समेत सम्पन्न भएको छ । अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास गर्ने उद्देश्यले उक्त गोष्ठीको आयोजना गरिएको थियो । 

चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
२०७९-०५-०६

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालय र नेपाल विद्युत प्राधिकरणबीच विद्युतीय सवारी चार्जिङ स्टेशन निर्माण तथा सञ्चालन सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच सोमबार उक्त सम्झादारीपत्रमा हस्ताक्षर गर्नुभएको हो ।समारोहमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले चार्जिङ स्टेशन निर्माण र संचालन सम्बन्धी भएको सम्झौताका लागि नेपाल विद्युत प्राधिकरणलाई धन्यवाद दिनु हुँदै आगामी दिनमा प्रहरी जनशक्ति बढी भएका प्रहरी कार्यालयहरूमा चार्जिङ स्टेशन विस्तार गर्न समेत आग्रह गर्नुभयो । विद्युत चोरी, विद्युतीय पोल चोरी लगायतका विषयमा विद्युत प्राधिकरणसँग यसभन्दा अगाडि पनि सहकार्य गर्दै आएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले राजमार्ग र पहाडी जिल्लामा स्थापना भएका चार्जिङ स्टेशनहरुको सुरक्षाका लागि नेपाल प्रहरी सदैव तयार रहेको बताउनुभयो ।समारोहमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणले राजमार्गको हरेक ६० किलोमिटरमा एउटा चार्जिङ स्टेशन स्थापना गर्ने लक्ष्य रहेकोमा यसमा नेपाल प्रहरीको भूमिका सबै भन्दा बढी प्रभावकारी रहने भएकोले यस सम्झौताले आगामी दिनमा नेपाल प्रहरीसँग प्रभावकारी रुपमा सम्बन्ध स्थापना हुने कुरामा विश्वास व्यक्त गर्नुभयो । चार्जिङ स्टेशन स्थापना गर्ने कार्यमा सुरक्षा चुनौती र स्थानको समस्यालाई समाधान गर्न नेपाल प्रहरीसँगको सहकार्य अत्यन्तै महत्वपूर्ण हुने उहाँले बताउनुभयो ।  कार्वन उत्सर्जनबाट वायुमण्डल, पर्यावरण र जीवजन्तुमा पर्न गएको नकारात्मक असरले विश्वलाई नै चिन्तित बनाइरहेको अवस्थामा कार्वन फुटप्रिन्टलाई कम गर्न विद्युतीय सवारी साधनहरूको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा रहेका विद्युतीय सवारी साधनहरूलाई सहज रूपमा चार्जिङ सुविधा उपलब्ध गराउन यो सम्झौता भएको हो । नेपाल विद्युत प्राधिकरणका सहायक प्रबन्धक सागर मणि ज्ञवालीले चार्जिङ स्टेशनको स्थापनाको महत्व र उद्देश्यको बारेमा प्रकाश पार्नुभएको उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नेपाल विद्युत प्राधिकरणका निमित्त उप-कार्यकारी निर्देशक एवं सहायक प्रबन्धक, प्रहरी नायव महानिरीक्षकहरू एवं वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०५-०४

काठमाडौं, नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित भिडियो कन्फ्रेन्स मार्फत् पूर्व प्रहरी कर्मचारीसँग अन्तरक्रिया गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले पूर्व तथा वहालवाला प्रहरी कर्मचारीहरूवीच आपसी भाइचारा र भातृत्वलाई अक्षुण राखी सौहार्द र सुमधुर सम्बन्ध कायम गर्न प्रहरी संगठन सदैव कटिवद्ध रहेको बताउनुभएको छ । प्रहरी महानिरीक्षक सिंहले पूर्व प्रहरी कर्मचारी तथा अग्रज प्रहरीहरुले आफ्नो जीवनकालको अत्यन्त उर्जाशील समय संगठनको विकास र श्रीवृद्धिमा खर्चिएर पुर्‍याउनु भएको योगदानको उच्च सम्मान गर्दै उहाँहरूप्रति संगठन सदैव अनुग्रहित रहेको बताउनुभयो । प्रहरीको संस्थागत विकास एवम् सेवा प्रवाहमा पूर्व प्रहरी कर्मचारीबाट सल्लाह, सुझाव एवम् रचनात्मक सहयोग सदैव प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी कर्मचारी तथा वहालवाला प्रहरी कर्मचारीहरूको आत्मसम्मान, सन्ततीहरूको शिक्षा र स्वास्थ्य क्षेत्र लगायतका कल्याणकारी कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाइएको चर्चा गर्नुभयो । पूर्व प्रहरी महानिरीक्षक ध्रुव बहादुर प्रधानले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा नेपाल पूर्व प्रहरी संगठनका कार्यवाहक अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रूप सागर मोक्तान र नेपाल पूर्व प्रहरी कर्मचारी परिषद्का अध्यक्ष पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक रमेश कुमार श्रेष्ठले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै पूर्व प्रहरी वरिष्ठ उपरीक्षक गुप्त बहादुर श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै अन्तरक्रियाको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । पूर्व प्रहरी नायव उपरीक्षक शिवजी श्रेष्ठले भर्चुअल रूपमा संचालन गर्नु भएको उक्त कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै पूर्व प्रहरी महानिरीक्षकहरू, पूर्व प्रहरी अतिरिक्त महानिरीक्षकहरू, पूर्व  वरिष्ठ प्रहरी अधिकृतहरुको भर्चुअल उपस्थिति रहेको थियो ।

१ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ सम्पन्न
२०७९-०५-०२

मोरङ, १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरद्वारा संयुक्त रूपमा आयोजित १ नम्बर प्रदेशस्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ विराटनगरमा बिहिबार सम्पन्न भएको छ ।  गोष्ठीमा १ नम्बर प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले आपराधिक प्रवृत्तिमा परिवर्तन हुँदै गइरहेको वर्तमान परिवेशमा अनुसन्धान अधिकृतको क्षमता विकास एवं प्रविधिमूलक अनुसन्धानका निमित्त स्रोत साधनको व्यवस्थापनका लागि प्रदेश मन्त्रालयले आवश्यक गृहकार्य गरिरहेको बताउँदै अपराध अनुसन्धानको क्षेत्रमा प्रदेश सरकारले जुनसुकै प्रकारको सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो । गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रविधिको प्रयोगमार्फत् हुने अपराधहरू बढिरहेकोले यसको रोकथाम तथा नियन्त्रणमा प्रहरी स्वयम् प्रविधिमैत्री हुनुको विकल्प नरहेको बताउनुभयो । अपराध अनुसन्धानका मूख्य खम्बा अनुसन्धान, अभियोजन र न्याय निरुपणबीच आपसमा समन्वय र सहकार्य भएमा मात्र पीडितले न्याय र वास्तविक पिडकले सजाय पाउने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराध अनुसन्धानको क्षेत्रमा काम गर्ने प्रहरी कर्मचारीहरूले अझ बढी संवेदनशील भई पारदर्शी रुपमा काम गर्नुपर्नेमा जोड दिनुभयो । गोष्ठीमा १ नम्बर प्रदेश आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव काली प्रसाद पराजुलीले अपराध अनुसन्धानमा प्रहरीले गरेका कार्यहरू प्रशंसायोग्य रहेको बताउँदै अपराध अनुसन्धान र नियन्त्रणमा सम्बद्ध सबै निकायहरू उत्तिकै जिम्मेवार हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले अपराध अनुसन्धानमा देखिएका समस्याबारे जानकारी लिने र त्यस्ता समस्या समाधानमा गोष्ठीले पुलको रूपमा काम गर्ने उल्लेख गर्नुभयो ।  गोष्ठीमा उच्च अदालत बिराटनगरका सह-न्यायाधिवक्ता कोषहरि निरौलाले अपराधको प्रवृत्तिमा भइरहेको परिवर्तनले प्रहरीलाई थप चुनौति थपिएकोले प्रहरीले आफूलाई सोही अनुसार तयारी अवस्थामा राख्नुपर्ने बताउनुभयो ।  प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पार्नुभएको उक्त गोष्ठीमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुदिप गिरीले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उच्च अदालत बिराटनगरका रजिष्ट्रार जितेन्द्र थपलिया र मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले गोष्ठीमा आ-आफ्नो मन्तव्य राख्नुभएको थियो । अपराध अनुसन्धानमा बढेका चुनौतिहरू समाधानका लागि नयाँ-नयाँ प्रविधिको प्रयोग गर्ने, १ नम्बर प्रदेशभित्रका अपराध अनुसन्धान गर्ने ईकाइहरूको वर्तमान अवस्था, विद्यमान जनशक्ति तथा स्रोत र साधनहरूबीचको अधिकतम परिचालन एवं अन्तर कार्यालय समन्वयको विकास गर्ने उद्देश्यले प्रदेशस्तरीय अपराध अनुसन्धान गोष्ठीको आयोजना गरिएको थियो । गोष्ठीमा जिल्लास्थित विभिन्न सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरू, संचारकर्मी र प्रहरी कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियो ।  

प्रहरी तालिम केन्द्रहरूले व्यावसायिक जनशक्ति उत्पादनमा जोड दिनुपर्ने- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०५-०१

धनुषा, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको तालिम प्रदायक संस्थाहरूले कुशल एवं व्यावसायिक प्रहरी जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताउनुभएको छ ।  मधेश प्रदेश तालिम केन्द्र जनकपुर (हाल राजविराज)को बुधबार निरीक्षण पश्चात कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।  प्रशिक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षण संस्थाको साथै प्रशिक्षक वर्ग एवं प्रशिक्षार्थीहरूले आ-आफ्नो जिम्मेवारी, कर्तव्य र दायित्व अनुसार योगदान दिएमा मात्र प्रशिक्षण कार्यलाई उपयोगी बनाउन सकिने, तालिममा सिकेका ज्ञान, सीप र कौशललाई प्रहरी कर्मचारीहरूले अनुशासित भएर स्वच्छ आचरण र उच्च व्यावसायिकता प्रदर्शन गर्दै काम गर्नुपर्नेमा जोड दिनुभयो । साथै उहाँले प्रशिक्षण पश्चातको कार्यक्षेत्रमा व्यावसायिक तवरले देश र नागरिकको सेवामा लाग्न निर्देशन समेत  दिनुभयो ।  उक्त अवसरमा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ लगायत तालिम केन्द्र र जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो ।  

प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९ सम्पन्न
२०७९-०४-३१

धनुषा, मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरत प्रसाद साहको प्रमुख आतिथ्यमा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग एवं मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामद्वारा संयुक्त रूपमा आयोजित प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०७९  धनुषाको जनकपुरधाममा मंगलबार सम्पन्न भएको छ ।  गोष्ठीमा मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री साहले अपराधको नयाँ शैली आएको अवस्थामा सुरक्षा निकायले पनि नयाँ प्रविधियुक्त अनुसन्धान पद्धतिलाई अबलम्बन गरी अगाडि बढ्नुपर्ने बताउनुभयो । बढ्दो साइबर क्राइम तथा सिमा क्षेत्रमा हुने लागूऔषधको कारोबारलाई पूर्णरूपमा निरुत्साहित पार्न अझै सक्रिय हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।  गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आसन्न निर्वाचनमा नेपाल सरकारले दिएको जिम्मेवारीलाई निष्पक्ष भयरहित तवरमा नागरिकको मतअधिकारको प्रयोग गर्न दिने वातावरण बनाउनु नै समस्त प्रहरी कर्मचारीहरूको एकमात्र उद्देश्य रहेको बताउनुभयो । अपराधीलाई कानून बमोजिम सजाय दिलाउन र पीडितलाई न्याय दिलाउनको लागि फौजदारी न्याय प्रणालीका तीन वटा पिलर अनुसन्धान, अभियोजन र न्याय निरूपण बिच अत्यन्तै राम्रो समन्वय र समझदारी हुन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो । साथै उहाँले प्रविधिको विकाससँगै बढदै गएका आर्थिक अपराध, साइबर अपराध, बैंकिङ कसूर लगायतका अपराधहरूको न्यूनीकरणका लागि केन्द्रमा मात्र नभई यस्ता मुद्दाको निरूपणका लागि प्रदेशस्तरमा समेत अदालत तोकिनु पर्नेमा जोड दिनुभयो ।  गोष्ठीमा मधेश प्रदेशका मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा ले प्रमाणमुखी अनुसन्धानको पद्धतिलाई अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै अपराध अनुसन्धानमा आधुनिक प्रविधिको प्रयोगलाई पनि उच्च प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । साथै नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले सामाजिक विकृति, प्रविधिको विकाससँगै यसको दुरुपयोग बढ्दै गएकोले यसको नियन्त्रणको लागि अपराध अनुसन्धान प्रविधिमैत्री हुनुपर्ने चर्चा गर्नुभयो । गोष्ठीमा प्रहरी नायव महानिरीक्षक भिम प्रसाद ढकालले स्वागत मन्तव्य एवं कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो भने मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामका प्रमुख प्रहरी नायव महानिरीक्षक मसऊद आलम खाँ ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो । उक्त अवसरमा मधेश प्रदेश गृह तथा सञ्चार मन्त्रालयका प्रदेश सचिव राम कुमार महतो र उच्च सरकारी वकिल कार्यालयका उप-न्यायाधिवक्ता विवेक कुमार बरालले आ-आफ्नो मन्तव्य व्यक्त गर्नुभएको थियो ।  मधेश प्रदेश अन्तर्गतका ८ वटा जिल्लाका जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले अपराध अनुसन्धानको समग्र बस्तुस्थिति र अनुसन्धानमा गरिएका नवीन प्रयोगहरुको विषयमा प्रस्तुतीकरण गर्नुभएको उक्त गोष्ठीमा अपराधको अवस्था, सुधारका उपायहरु, आपसी सहकार्य सम्बन्धमा साझा धारणा पहिल्याउने, संहिता कार्यान्वयनमा देखिएका समस्याहरु, साधन स्रोतको अवस्था लगायतका बिषयबस्तुहरूमा विस्तृत छलफल गरिएको थियो ।  उक्त अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, धनुषा जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारी, नागरिक समाज र स्थानीय संचारकर्मी लगायत जिल्लास्थित अन्य सुरक्षा निकायका प्रमुखहरुको समेत उपस्थिति रहेको थियो ।              उक्त समीक्षा गोष्ठी पश्चात प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु आर्याल लगायत दुवै संगठनका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालबीच शान्ति सुरक्षामा समन्वय, सहकार्य र सहयोग सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम समेत आजै सम्पन्न भएको छ ।    

प्रहरीको मुख्य कार्य प्रभावकारी रूपमा पुलिसिङ गर्नु हो - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०४-२६

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रचलित कानूनको अधिनमा रही नेपाल सरकार र प्रहरी संगठनको नीति र उद्देश्य अनुरूप प्रभावकारी रूपमा पुलिसिङ गर्नु नेपाल प्रहरीको मुख्य कार्य रहेको बताउनुभएको छ ।  आफ्नो कार्यकालको एकसय दिन पुगेको अवसरमा बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल एवम् अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरूद्वारा राखिएका जिज्ञासा निरूपण गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा, कार्यसम्पादन मूल्याङ्कन लगायतका हरेक काम संगठनको प्रणाली अनुरूप पारदर्शी रूपमा भएको बताउँदै सांगठनिक सुधारको लागि ८ वटा लक्ष्य सहित कार्ययोजना २०७९ लागू समेत गरिएको उल्लेख गर्नुभयो । मिटरब्याजी, तस्करी, वित्तिय अपराध, सिमावर्ती अपराध, जघन्य अपराध, विद्युतीय अपराध, जबरजस्ती करणी लगायतका अपराध रोकथाम तथा नियन्त्रणमा प्रहरीले अझ सक्रिय भई कार्य सम्पादन गर्ने उहाँले चर्चा गर्नुभयो । प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उहाँले बताउनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले आफ्नो कामको सिलसिलामा प्रहरी कर्मचारीहरू कुनै पनि किसिमको दबाबमा नपरी व्यावसायिकता प्रदर्शन गर्ने बताउनुभयो । कानून भन्दा कोही पनि माथि नभएको भन्दै प्रहरी कर्मचारीहरू प्रहरी आचरण तथा व्यावसायिकता भन्दा बाहिर गएमा कारवाही गरिने उहाँले उल्लेख गर्नुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै निर्वाचन शान्तिपूर्ण, भयरहित एवम् विश्वसनीय वातावरणमा सम्पन्न भएको चर्चा गर्नुभयो । साथै उहाँले आउँदो प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई समेत शान्तिपूर्ण तवरले सम्पन्न गर्नको लागि प्रारम्भिक चरणका कार्यहरू समेत थालनी भइसकेको बताउनुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।  कार्यक्रमको शुरूमा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायव महानिरीक्षक टेक प्रसाद राईले गत आर्थिक वर्ष २०७७/०७८ र चालु आर्थिक वर्ष २०७८/०७९ को त्रैमासिक तुलनात्मक अपराध तथ्याङ्क, नेपाल प्रहरी कार्ययोजना २०७९ एवम् प्रहरी महानिरीक्षकको १०० कार्य दिनमा गरिएका नीतिगत कार्य तथा सुधारका कार्यक्रम, अपराध अनुसन्धान, प्रविधिको प्रयोग, प्रहरी कार्य, विपद् उद्दार, समन्वय र सहयोग, मानवस्रोत विकास, प्रहरी प्रशासन, भौतिक पूर्वाधार, नेपाल प्रहरी अस्पताल तथा संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा प्रहरीको सहभागिता सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।   उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृतहरूको साथै विभिन्न सञ्चारमाध्यमका सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण- प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०४-२५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले संगठनका लक्ष्यहरू निर्धारण गरेर जिम्मेवारीप्रति प्रतिवद्ध, नतिजाप्रति उत्तरदायी र जवाफदेही बनाउँदै तोकिएको कार्य समय सिमामा सम्पन्न गरी समग्र प्रहरी काम कारवाहीको स्तरवृद्धि गर्न कार्यसम्पादन करार सम्झौता महत्वपूर्ण साधन हुने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित आर्थिक वर्ष २०७९/०८० को वार्षिक कार्यसम्पादन सम्झौता हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो ।कार्यक्रममा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र नेपाल प्रहरी अस्पतालका मेडिकल डाईरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंह, काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुक, केन्द्रीय अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी तथा नेपाल प्रहरी प्रधान कार्यालय अन्तर्गत प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बिसी, अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी र मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक पूजा सिंहबीच कार्यसम्पादन सम्झौतामा प्रत्यक्ष हस्ताक्षर भएको थियो भने राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्य एवम् ७ वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूबीच भर्चुअल माध्यमबाट हस्ताक्षर भएको   थियो । सार्वजनिक पदाधिकारीको कार्यसम्पादन करार निर्देशिका, २०७९ बमोजिम नेपाल सरकार गृह मन्त्रालयका गृह सचिव टेकनारायण पाण्डे र प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबीच मंगलबार कार्यसम्पादन सम्झौतामा हस्ताक्षर कार्य सम्पन्न भएको सन्दर्भमा उहाँहरूबीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको हो । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीको समग्र कार्य सम्पादनको गुणस्तर अभिवृद्धि र विकास गर्ने अभिप्रायका साथ ब्लु प्रिन्टको रूपमा नेपाल प्रहरी कार्य योजना २०७९ जारी गरिएको उल्लेख गर्नुभयो । कार्य योजनामा उल्लेखित ८ वटा लक्ष्य प्राप्तिका लागि सम्बन्धित कार्यालय प्रमुखहरूलाई आफ्नो मातहतलाई समेत परिचालन, उत्प्रेरित गर्न एवम् नियमित, अनुगमन र सुपरिवेक्षण गर्न समेत उपस्थित प्रहरी अधिकृतहरूलाई उहाँले निर्देशन दिनुभयो । कार्यसम्पादन करार बमोजिम प्राप्त उपलब्धिहरूको मापनको आधारमा सांगठनिक सफलताको मूल्याङ्कन हुने र यसको कार्यान्वयनको अवस्था र स्तरलाई सम्बन्धित प्रहरी ईकाई र कार्यालय प्रमुखहरूको वार्षिक कार्यसम्पादन मुल्याङ्कनको आधारको रूपमा समेत लिइने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले कार्य सम्पादन सम्झौतामा उल्लेख गरिएका कार्यहरूमा मात्र सीमित नरही प्रहरी संगठनको वृहत्तर हित र कर्मचारीहरूको वृत्ति बिकासका निमित्त अन्य नविनतम् र रचनात्मक कार्यहरू गर्नेतर्फ समेत अग्रसर हुनु पर्नेमा जोड दिनुभयो । अपराधको रोकथाम, नियन्त्रण तथा अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापन लगायतका प्रहरी कार्यलाई थप प्रभावकारी र व्यवस्थित बनाउन साथै प्रहरी कर्मचारीहरूको व्यवस्थापन र क्षमता अभिबृद्धि गर्ने र प्रशासनिक काम कारवाहीलाई चुस्त र प्रभावकारी बनाउन कार्य सम्पादन करार उपलब्धीमूलक हुने विश्वास उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति एवम् राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान तथा सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो ।   

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल पुलिस स्कुल साँगामा नवनिर्मित भवनहरूको उद्‌घाटन
२०७९-०४-२३

काभ्रेपलाञ्चोक, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल पुलिस स्कुल साँगाको परिसरमा नवनिर्मित एकेडेमिक ब्लक, मेस भवन र  २ वटा पुरुष छात्रावास भवनको सोमबार आयोजित समारोहबीच उद्‍घाटन गर्नुभयो । उद्‍घाटन पश्चात उहाँले नवनिर्मित भवनहरुको निरीक्षण गर्नुको साथै नवनिर्मित एकेडेमिक ब्लक परिसरमा वृक्षारोपण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले उक्त स्कुलमा लामो समयसम्म आवद्ध रही योगदान पुर्‍याए बापत कदर गर्दै शिक्षक उद्वव कार्कीलाई डिबी लामा टिचर्स अवार्ड २०७८ र नगद सहित सम्मान गर्नुभयो । यसैगरी उहाँले २५ वर्षभन्दा लामो अवधिसम्म विद्यालयमा योगदान गर्ने शिक्षक तथा कर्मचारीहरु सुरेन्द्र वाग्ले, कृष्ण बहादुर बिष्ट, श्याम सुन्दर सापकोटा, कृष्ण राज अर्याल, शम्भु प्रसाद निरला, हरिहर तिमिल्सिना, राज कुमार नेपाल, निर बहादुर थापा र राज कुमार पोखरेल तथा हाल कार्यरत शिक्षकहरू हरि भक्त कार्की, सन्जोक अधिकारी, रबिना श्रेष्ठ, शिव हरि थापालाई कदरपत्र प्रदान गर्नुभयो । साथै उहाँले तुल्सीभक्त कन्सट्रक्सन प्रालि, तारा निर्माण सेवा र ब्राइट कन्सट्रक्सन प्रालि एवं प्रहरी विद्यालयमा कार्यरत ५ जना प्रहरी कर्मचारीहरूलाई समेत कदरपत्र प्रदान गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले गुणस्तर र प्रभावकारी शिक्षा प्रवर्द्धनमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै नवनिर्मित भवनहरूबाट विद्यार्थीहरूको शैक्षिक वातावरण, बसोबास र मेश सुविधाहरूमा उल्लेखनीय अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । शिक्षा प्रणालीलाई थप समयसापेक्ष, परिस्कृत र प्रयोगात्मक बनाउँदै अभिभावकको चाहना र राष्ट्रको आवश्यकता पूरा गर्न दक्ष एवं सुयोग्य जनशक्ति उत्पादनमा नेपाल पुलिस स्कूल एक अनुकरणीय र सफल विद्यालयको रूपमा स्थापित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । साथै उहाँले नेपाल प्रहरी अपराध अनुसन्धान तथा नियन्त्रण र शान्ति सुरक्षा व्यवस्थापनका अतिरिक्त सामाजिक, कल्याणकारी र सेवामूखी कार्यहरूमा समेत सक्रिय रहँदै आएको चर्चा गर्नुभयो । स्कुलको विकासका लागि आवश्यक पर्ने भौतिक संरचना लगायत विविध पक्षको स्तरोन्नति गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै नेपाल पुलिस स्कुललाई नेपालकै उत्कृष्ट स्कुलको रुपमा स्थापित गर्न क्रियाशील रहेको धारणा उहाँले व्यक्त गर्नुभयो । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष प्रहरी अतिरिक्त महानिरीक्षक अरुण कुमार विसीले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई विद्यालय व्यवस्थापन समितिको तर्फबाट मायाको चिनो प्रदान गर्नुभयो । सोही स्कूलका निमित्त प्राचार्य सुरेन्द्र वाग्लेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा विद्यालयका समादेशक प्रहरी नायव उपरीक्षक दधिराम न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभएको थियो । साथै नेपाल प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी निरीक्षक ई. शम्भू प्रसाद कोइरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।  उक्त भवनहरु नेपाल पुलिस स्कुल साँगाको आन्तरिक स्रोत, नेपाल प्रहरी कल्याण कोषको ऋण सहयोग तथा नेपाल सरकारको तर्फबाट राष्ट्रिय पुन: निर्माण प्राधिकरण कोषको सहयोग गरी कूल २१ करोड ३४ लाख ३२ हजार ७ सय ४६ रुपैयाँको लागतमा निर्माण सम्पन्न भएको हो । कूल ६३,८६३/७२ वर्गफिट क्षेत्रफलमा निर्माण गरिएका उक्त भवनहरु २०७६ मंसिर १८ गते सुरु भई विभिन्न चरणमा सम्पन्न भएका हुन् । नेपाल पुलिस स्कुल साँगाका विद्यार्थीहरुद्वारा विविध साँस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको उक्त समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, बनेपा नगरपालिकाका प्रमुख, काभ्रे जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी नायव महानिरीक्षकहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरु, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु, स्थानीय तहका प्रतिनिधिहरु, शिक्षक तथा विद्यार्थीहरु, सञ्चारकर्मी, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

INTERPOL Project LEADER Policing Capabilities Table Top Exercise कार्यक्रम समापन
२०७९-०४-२०

काठमाडौं, काठमाडौंस्थित र्‍याडिसन होटलमा संचालित INTERPOL Project LEADER Policing Capabilities Table top Exercise बिषयक कार्यक्रमको समापन प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहको प्रमुख आतिथ्यमा शुक्रबार सम्पन्न भएको छ । Norwegian Ministry of Foreign Affairs को सहकार्यमा संचालित ३ वर्षे Project LEADER सम्बन्धी कार्यक्रममा नेपाल प्रहरीले विभिन्न समयमा Virtually तथा In-person रुपमा सहभागिता जनाउदै आईरहेकोमा हाल नेपालमा प्रत्यक्ष रूपमा सम्पन्न उक्त कार्यक्रममा INTERPOL Policing Capabilities, Digital Forensics, Use of Digital Forensics tools जस्ता विधामा प्रशिक्षण प्रदान गरिएको थियो । सो कार्यक्रमबाट प्रदान गरिएका विषयवस्तुलाई आगामी दिनमा सहभागीहरुले आ-आफ्नो कार्य क्षेत्रमा प्रयोग गरी Digital Evidence Handling, Information Sharing तथा अनुसन्धानको विधामा महत्वपूर्ण भूमिका निर्वाह गर्दै सुरक्षित समाजको लागि प्रहरीहरुको सहकार्यमा थप मद्दत हुने अपेक्षा गरिएको छ । Norwegian सरकार, INTERPOL Project LEADER र नेपाल प्रहरीको सह-आयोजनामा एसिया तथा दक्षिणपूर्वी एसियाका नेपालसहित बंगलादेश, भुटान, ब्रुनाई, कम्बोडिया, माल्दिभ्स, मंगोलिया, श्रीलंका र भियतनामबाट Digital Forensics, National Centre Bureau, Investigations विधामा काम गर्ने २७ जना प्रहरी अधिकृतहरु सहित INTERPOL को Project LEADER का विशेषज्ञहरुको उपस्थितिमा साउन १६ गतेबाट उक्त कार्यक्रम संचालन भएको   थियो ।   

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ६३ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन
२०७९-०४-१९

काठमाडौं, नेपाल सरकार सचिवस्तरको विभिन्न मितिको निर्णयले प्रशासन तथा प्राविधिकतर्फका विभिन्न पदमा पदोन्नति भएका ५७ जना तथा खुल्ला प्रतियोगिताद्वारा नवनियुक्त प्राविधिक प्रहरी निरीक्षक ६ जना गरी कूल ६३ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्रशासनतर्फका प्रहरी नायव उपरीक्षक ३३ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक ९ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक २१ जना रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा उत्कृष्ट काम गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल उद्देश्यमा केन्द्रीत भई संगठनको श्रीवृद्धिमा व्यावसायिक निष्ठाका साथ अनुशासित एवं मर्यादित ढङ्गले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव उपरीक्षक होम बहादुर थापाले प्रविधिको विकाससँगै अपराधमा देखिएका फरक शैलीले आगामी दिनहरू अझ चुनौतीपूर्ण हुने बताउँदै व्यावसायिक निष्ठा, ईमानदारीता, अनुशासित र कर्तव्य निष्ठ भई त्यस्ता जटिल परिस्थितीको सामना गरी संगठनको गरिमा उच्च राख्न कटिबद्ध भई लाग्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरमा नवनिर्मित भवनहरूको उद्‍घाटन
२०७९-०४-१८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, मेश र क्वाटर गार्ड भवनको बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभएको छ । साथै उहाँले नवनिर्मित भवनहरूको निरीक्षण समेत गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अहोरात्र नागरिकको सेवामा खटिने प्रहरी कर्मचारीहरूको लागि आवास भवन आधारभूत आवश्यकता रहेको चर्चा गर्दै आधुनिक, सुन्दर र सुविधा सम्पन्न भवनहरूले उक्त गणमा कार्यरत प्रहरी कर्मचारीहरूमा जिम्मेवारी निर्वाह गर्न थप उर्जा र हौसला दिएको विश्वास व्यक्त गर्नुभयो । नवनिर्मित भवनहरू सबैको साझा सम्पत्ति भएको उल्लेख गर्दै यी भवनहरू प्रति अपनत्वको भाव राखेर उचित संरक्षण, संवर्धन गर्दै दिर्घकालसम्म सुरक्षित राख्न उपस्थित प्रहरी कर्मचारीहरूलाई उहाँले आग्रह समेत गर्नुभयो ।  अपराध अनुसन्धान, शान्ति सुरक्षा व्यवस्थापन लगायत विपद् उद्दार कार्यमा नेपाल प्रहरीले सदैव अग्रपंक्तिमा रहेर कार्य सम्पादन गर्दै आइरहेको बताउँदै प्रहरी महानिरीक्षक सिंहले अविरल वर्षा, डुबान, बाढी, पहिरो लगायत विपद्का जोखिमयुक्त क्षेत्रहरूको पहिचान गरेर आवश्यक स्रोत साधन सहित पूर्व तयारी गरी तत्काल परिचालित हुन सक्ने अवस्थामा रहन सोही गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो ।  मानव अधिकारको उच्च सम्मानका साथ बल प्रयोगको सिद्धान्तलाई पूर्ण पालना गरी भीड नियन्त्रण तथा व्यवस्थापनमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण अझ व्यावसायिक बन्दै जाने विश्वास व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कतिपय अवस्थामा संयमता र धैर्यता गुमाएर गरिएको निर्णयले ठूलो मानवीय क्षति हुन गई प्रहरी आलोचित बन्नु परेको दृष्टान्तहरू हामी माझ प्रशस्तै छन् । त्यसकारण परिस्थिती अनुसार आवेग र उत्तेजनालाई नियन्त्रण गरी विवेकपूर्ण निर्णयबाट गरिने कानूनसम्मत प्रहरी कारवाही तर्कसंगत हुने हुँदा हामी सबैले यी विषयहरूतर्फ ध्यान दिन जरूरी छ ।’   प्रहरी महानिरीक्षक सिंहले व्यक्तिगत लाभ भन्दा संगठनको हित र विकासलाई प्राथमिकतामा राखेर आफूलाई प्राप्त जिम्मेवारी ईमान्दार, कर्तव्यनिष्ठ, अनुशासित र उत्तरदायी भएर निर्वाह गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनुभयो । प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने देखि वैज्ञानिक र प्राविधिक उपकरणहरूको प्राप्ति र प्रयोगद्वारा प्रहरी संगठनलाई संस्थागत रूपमा मजबुत र सक्षम बनाउन प्रहरी प्रधान कार्यालय सदैव कटिवद्ध रहेको तथा भौतिक पूर्वाधार र संरचनाहरू निर्माण गरी प्रहरी सेवालाई थप चुस्त र प्रभावकारी बनाउने विषयलाई समेत प्रहरी प्रधान कार्यालयले प्राथमिकतामा राखेको उहाँले बताउनुभयो ।   उक्त अवसरमा काठमाडौं उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक रबिन्द्र बहादुर धानुकले धन्यवाद ज्ञापन गर्दै नवनिर्मित भवनहरूले गणमा कार्यरत प्रहरी कर्मचारीहरूलाई थप हौसला प्राप्त हुनुको साथै कार्यसम्पादनमा अझ बढी उत्कृष्टता आउने विश्वास व्यक्त गर्नुभयो ।  कार्यक्रममा काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजालले समसामयिक परिस्थिति अनुसार कार्यसम्पादन गर्नका लागि प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्दै जानुपर्ने उल्लेख गर्दै उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधि नियन्त्रणमा काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गणले प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।  काठमाडौं उपत्यका विशेष सुरक्षा प्रहरी गण त्रिपुरेश्वरका प्रमुख प्रहरी उपरीक्षक सानुराम भट्टराईले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ईन्जिनियर रोशन सारूले भवन निर्माण सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै उक्त भवनहरू नेपाल प्रहरीको नियमित बजेटबाट कूल २२ करोड ९० लाख ७१ हजार १ सय ९२ रूपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो ।   उक्त कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरू, विभिन्न राजनैतिक दलका प्रतिनिधि, समाजसेवी तथा प्रहरी कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखा धनगढी कैलालीको उद्‌घाटन
२०७९-०४-१६

कैलाली, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले धनगढी उपमहानगरपालिका-३ स्थित नेपाल प्रहरी स्कुलको हाताभित्र सदूरपश्चिम प्रदेश प्रहरी अस्पताल शाखाको सोमबार आयोजित एक कार्यक्रमबीच समुद्‍घाटन गर्नुभयो । साथै सोही अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी स्कुलको हाताभित्र वृक्षारोपण समेत गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले अस्पताललाई सञ्चालन गर्ने विन्दुसम्म ल्याउने कार्यमा महत्वपूर्ण योगदान दिनुहुने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद ज्ञापन गर्दै अस्पतालले सर्वसाधारणलाई समेत स्वास्थ्य सेवा उपलब्ध गराउँदै नेपाल प्रहरीको जनमूखी कार्यलाई निरन्तरता दिएको उल्लेख गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले अस्पतालले प्रदेश अन्तर्गत विभिन्न जिल्लाहरूमा प्रहरी कर्मचारीहरू स्वास्थ्य उपचारकै लागि उपत्यका नै पुग्नुपर्ने वाध्यात्मक परिस्थितीको अन्त्य गर्दै सरल, सहज र गुणस्तरीय स्वास्थ्य सेवाको उपलब्धता सुनिश्चित गरिदिएको र यसले समग्र प्रहरी काम कारबाहीमा थप चुस्तता र प्रभावकारीता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।   अस्पतालमा आउने सेवाग्राहीप्रति सभ्य बोली, असल व्यवहार र उचित परामर्श गर्नतर्फ अस्पताल परिवारलाई विशेष सजकता अपनाउन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले चिकित्सकीय क्षेत्रका आधुनिक प्रविधि र विकासलाई आत्मसात गर्दै अस्पतालको स्तरोन्नती र विकास संगठनको प्राथमिकतामा रहेको बताउनुभयो ।  नेपाल प्रहरी अस्पताल महाराजगंजका प्रमुख प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा.आशा सिंहले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक मोहन कुमार आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको थियो । उक्त कार्यक्रममा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल, कैलाली जिल्लाका प्रमुख जिल्ला अधिकारी किरण थापा, गेटा मेडिकल कलेजका निर्देशक डा. प्रमोद जोशी लगायतका महानुभावले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरू, जनप्रतिनिधिहरू, संचारकर्मी, समाजसेवी लगायतको उपस्थित रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट ५९ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह सुशोभन
२०७९-०४-११

काठमाडौं, नेपाल सरकार मन्त्रीस्तर र सचिवस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति भएका ५९ जना प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा प्राविधिकतर्फका प्रहरी वरिष्ठ उपरीक्षक २ जना, प्रशासनतर्फका प्रहरी उपरीक्षक ३६ जना, प्राविधिकतर्फका प्रहरी उपरीक्षक १२ जना, प्राविधिकतर्फका प्रहरी नायव उपरीक्षक १ जना र प्राविधिकतर्फका प्रहरी निरीक्षक ८ जना रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सक्षम र सबल जनशक्ति नेपाल प्रहरीमा ल्याउन प्रेरित गर्ने अभिभावकप्रति कृतज्ञता ज्ञापन गर्दै पदोन्नतिसँगै बढेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले आ-आफ्नो क्षेत्रमा उत्कृष्ट काम गरी संगठनले राम्रो व्यक्तिलाई पदोन्नति गरेको रहेछ भन्ने अनुभूति हुनेगरी काम गर्न निर्देशन दिनुभयो । साथै उहाँले आ-आफ्नो योग्यता अनुसारको विशिष्टिकृत विधाहरूमा दत्तचित्त भएर सेवाभावका साथ काम गर्ने विश्वास व्यक्त गर्दै चिकित्सकहरूले अस्पतालमा आउने सम्पूर्ण विरामीलाई आफ्नै घरमा अभिभावक स्वंयले नै हेरचाह र ख्याल गरिरहेको महशुस हुने गरी स्वास्थ्य सेवा र उपचार प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठन आफैमा गतिशील हुने र सरुवा बढुवा लगायतमा सबै कर्मचारीहरूको समान मूल्याङ्कन हुने भएकोले अझै बढी कटिबद्ध एवं अनुशासनमा रही कार्य सम्पादन गर्नुपर्ने बताउनुभयो । संगठन बलियो भएमात्र व्यक्ति बलियो हुने भएकोले सबै प्रहरी कर्मचारीहरूले संगठनको मूल्य मान्यता राख्दै अनुशासित ढङ्गले काम गरी आगामी पुस्तालाई राम्रो सन्देश हस्तान्तरण गर्नुपर्ने उहाँले उल्लेख गर्नुभयो । समारोहमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ए.एम. चन्द्र बहादुर धामीले विज्ञान प्रविधिमा भएको विकासको दुरूपयोगका कारण अपराधको क्षेत्रमा देखापरेका नविनतम चुनौतीको सामना गर्न नेपाल प्रहरीको कार्ययोजना, संगठनको मूल्य मान्यता र नीति नियमको अधिनमा रही इमान्दारिताका साथ थप सक्रिय भई कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट दर्ज्यानी चिन्ह सुशोभन
२०७९-०४-०४

काठमाडौं, नेपाल सरकार मन्त्रीस्तरको विभिन्न मितिको निर्णयले प्राविधिक तथा प्रशासनतर्फका विभिन्न पदमा पदोन्नति हुनुभएका ३७ जना वरिष्ठ प्रहरी अधिकृतहरूलाई प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ । दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनेहरूमा सूचना प्रविधितर्फका प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारी, स्वास्थ्यतर्फका प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरू डा. सुरज राना, डा. दीपा न्हुच्छे प्रधान तथा डा. अमिन कुमार श्रेष्ठ र सवारीतर्फका प्रहरी वरिष्ठ उपरीक्षक ई. दिनेश केसी रहनुभएको छ । साथै प्रशासनतर्फका प्रहरी वरिष्ठ उपरीक्षकहरू गणेश चन्द, सिद्धि बिक्रम शाह, सुशिल सिंह राठौर, उमा प्रसाद चतुरबेदी, दान बहादुर कार्की, डा.मनोज कुमार केसी, राजन अधिकारी, जिबन कुमार श्रेष्ठ, हिमालय कुमार श्रेष्ठ, डम्बर बहादुर बिक, ओम बहादुर राना, ईश्वर कार्की, राजेन्द्र प्रसाद भट्ट, दिनेश कुमार आचार्य, अरुण पौडेल, गोबिन्द थपलिया, माधब प्रसाद श्रेष्ठ, दिल्ली राज बिष्ट, मनोज कुमार यादब, रेवती ढकाल, दिपेन्द्र घर्ति क्षेत्री (जि.सी.), दिपक रेग्मी, दिलिप सिंह देउवा, बिनोद घिमिरे, किसन सिंह थापा, सुदर्शन प्रसाद कोईराला, दिपक कुमार बस्नेत, जयराज सापकोटा, सुरेन्द्र बहादुर गुरुङ्ग, संजिब शर्मा दास, लोकेन्द्र श्रेष्ठ र शारदा प्रसाद चौधरी रहनुभएको छ ।  समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरूलाई बधाई ज्ञापन गर्दै पदोन्नतिसँगै प्रहरी अधिकृतहरूले दत्तचित्त भएर सेवाभावका साथ प्राप्त जिम्मेवारी पूरा गरी संगठनप्रतिको श्रीवृद्धिमा लाग्नुपर्ने बताउनुभयो । प्रहरी संगठनमा अनुशासनको धेरै महत्व हुने चर्चा गर्दै यसप्रति सबै सचेत हुनुपर्नेमा उहाँले जोड दिनुभयो ।प्रहरी महानिरीक्षक सिंहले कामका आधारमा प्रहरी कर्मचारीको मूल्याङ्कन हुने भएकोले संगठनप्रतिको जिम्मेवारी र आफ्नो व्यावसायिक कार्यकौशलतालाई कायम राखी उच्च मनोवलका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । साथै उहाँले पदोन्नति भएका चिकित्सक प्रहरी अधिकृतहरूले विरामीहरूको सेवा र रोगको निदान गर्न थप जिम्मेवार भएर काम गर्न आग्रह गर्नुभयो ।उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. अरूण कुमार भण्डारीले नेपाल प्रहरीमा सूचना प्रविधिको प्रयोग र विकास अब्बल रहेको बताउँदै पूर्ण रूपमा प्रविधियुक्त प्रहरी बनाउनको लागि अझ धेरै कार्य गर्न बाँकी रहेको बताउनुभयो । साथै उहाँले प्रहरी संगठन आफैँमा गतिशील संगठन भएकोले प्रहरी कर्मचारीहरू पेशागत रूपमा निपूर्ण हुनुपर्ने र वृत्तिविकासले थप उर्जाशील भई संगठनले दिएको जिम्मेवारी उच्च मनोवल तथा पूर्ण ईमान्दारिताका साथ वहन गर्दै संगठनको श्रीवृद्धितर्फ क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सम्पन्न
२०७९-०३-२८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र KOICA (Korea International cooperation Agency) नेपालका पदाधिकारीहरूबीच नेपाल प्रहरीको साइबर व्यूरोको क्षमता अभिवृद्धिका लागि साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम नेपाल प्रहरी प्रधान कार्यालयमा मंगलबार सम्पन्न भएको छ ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले वित्तिय अपराध, साइवर बुलिङ लगायतका साइबर अपराधहरु दिन प्रति दिन बढ्दै गएको अवस्थामा यस्ता कार्यक्रमले नेपाल प्रहरीको संस्थागत विकासका साथै साइबर अपराध नियन्त्रणका लागि थप टेवा पुग्ने बताउनुभयो । साथै उहाँले नेपाल प्रहरी यस प्रकारका अपराध नियन्त्रण तथा अनुसन्धानका लागि अति संवेदनशील र गम्भीर रहेको उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले साइबर अपराधविरुद्ध एक्लै लड्न नसकिने उल्लेख गर्दै KOICA को साइबर व्यूरो प्रोजेक्टसँग आपसी समन्वय र सहयोग आदान प्रदान गरी अगाडि बढ्न नेपाल प्रहरी तत्पर रहेको बताउनुभयो । साथै उहाँले परियोजनाहरूले आगामी दशकहरूमा साइबर अपराध अनुसन्धानको लागि बलियो आधार निर्माण गर्ने विश्वास समेत व्यक्त गर्नुभयो । सो अवसरमा KOICA नेपालका डेपुटी कन्ट्री डाइरेक्टर Jong-Sung Choi ले साइबर अपराध नियन्त्रण नेपालको लागि  ठूलो चुनौतीको विषय रहेको उल्लेख गर्दै परियोजना अन्तर्गत आपसी समन्वय गरी काम गर्न आफूहरू तयार रहेको चर्चा गर्नुभयो । साथै उहाँले नेपालमा पनि साइबरको माध्यमबाट वित्तिय अपराध, यौन उत्पीडन र हिंसालगायतका अपराध हुने गरेको पाइएकोले यस्ता अपराध न्यूनीकरणका लागि परियोजनाले जगको रूपमा काम गर्न नेपाल प्रहरीसँग सहकार्य गर्ने बताउनुभयो । KOICA नेपालका प्रोजेक्ट मेनेजर Gibum kim ले साइबर परियोजना सम्बन्धी बिषयमा मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा सोही प्रोजेक्टका साइबर सेक्युरिटी एक्सपर्ट Younsik Jang ले साइबर व्यूरो प्रोजेक्ट सम्बन्धी गरेका कामहरू, साइबर व्यूरोको अवलोकन र विश्लेषणबाट देखिएका समस्या र सुधार गर्नुपर्ने पक्ष लगायतका विषयमा प्रस्तुतीकरण गर्नुभएको थियो । प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु र KOICA नेपालका पदाधिकारीहरूको सहभागिता रहेको उक्त कार्यक्रममा सहभागीहरूबीच साइबर सुरक्षा सम्बन्धी छलफल समेत भएको थियो । 

१७ जना प्रहरी नायव महानिरीक्षकहरु दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-०३-१९

काठमाडौं, नेपाल सरकार (मन्त्रीस्तर)को २०७९ असार १७ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका १७ जना प्रहरी नायव महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहबीच उहाँहरूलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हद्वारा सुशोभित हुने प्रहरी नायव महानिरीक्षकहरूमा बसन्त बहादुर कुँवर, टेक प्रसाद राई, अशोक सिंह, दिपक थापा, श्यामलाल ज्ञवाली, किरण बज्राचार्य, सन्दिप भण्डारी, सुदिप गिरी, मिरा चौधरी, टेक बहादुर तामाङ, उमेश राज जोशी, भिम प्रसाद ढकाल, रामदत्त जोशी, पोषराज पोखरेल, बुद्धिराज गुरुङ, दुर्गा सिंह र किरण राणा रहनुभएको छ । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै भविष्यमा नेपाल प्रहरी संगठनको उच्च तहमा पुग्न सक्षम भएको प्रमाणित गराउने गरी काम गर्दै प्राप्त जिम्मेवारीउपरको कार्यसम्पादनमा खरो रूपमा उत्रनुपर्ने बताउनुभयो । साथै उहाँले पदोन्नति पछिका दिनहरू अझ चुनौतीपूर्ण रहेकोले प्राप्त जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले संगठनका सीमित पदमा मात्र पदोन्नति गर्नुपर्ने वाध्यता भएको चर्चा गर्दै पदोन्नतिमा छुटेका प्रहरी अधिकृतहरूले अझ व्यावसायिकताका साथ दत्तचित्त भएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । गएको स्थानीय तहको निर्वाचनमा प्रहरीको व्यावसायिकताको कारण प्रहरी धन्यवादको पात्र बनेको उल्लेख गर्दै आउँदा दिनहरूमा समेत थप व्यावसायिक र संवेदनशील भई जिम्मेवारी पूरा गर्न दत्तचित्त हुनुपर्ने उहाँले बताउनुभयो ।साथै प्रहरी महानिरीक्षक सिंहले मालदिभ्समा आयोजना भएको एसियन जुनियर एण्ड क्याडेट टेवलटेनिस च्याम्पियनसीप २०२२ मा रजत पदक प्राप्त गर्नुभएकी नेपाल पुलिस क्लबमा आवद्ध टेवलटेनिस खेलाडी शुभश्री श्रेष्ठलाई प्रशंसापत्रद्वारा सम्मान समेत गर्नुभयो ।   उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक बसन्त बहादुर कुँवरले  कर्मको जीवन दिने आमारूपी नेपाल प्रहरी संगठनप्रति सदैव इमानदार, बफादार र पेशागत व्यावसायिक निष्ठा कायम राखी जुनसुकै किसिमको गैर व्यावसायिक आचरण, व्यवहार, हाउभाउ र जीवनशैलीप्रति शून्य सहनशिलता अपनाउँदै सांगठनिक लक्ष्य हाँसिल गर्ने गरी काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतहरू, प्रहरी अधिकृत एवं जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट नेपाल प्रहरी केनाइन कार्यालय र केन्द्रीय विधिविज्ञान प्रयोगशाला निरीक्षण
२०७९-०३-१०

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी केनाइन कार्यालय र नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशाला महाराजगंजको शुक्रबार छुट्टाछुट्टै कार्यक्रमबीच निरीक्षण गर्नुभएको छ ।  केनाइन कार्यालय निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले कार्यालय व्यारेक, मेश, डग क्यानन, प्रयोगशाला र हर्श स्टेबल अवलोकन गर्नुका साथै कार्यालयबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले जटिल अपराधहरुको सफल अनुसन्धानमा केनाइन कार्यालयले दिँदै आएको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । अपराध अनुसन्धानमा मात्र होइन भीआइपी सुरक्षा, विमानस्थल सुरक्षा, विपद्को समयमा हुने उद्दार व्यवस्थापन लगायतमा केनाइन कार्यालयले पुर्‍याएको योगदानको चर्चा गर्दै उहाँले भन्नुभयो, ‘निरीक्षणको उद्देश्य केनाइन कार्यालयको भौतिक पूर्वधारको साथै कर्मचारीको वृत्ति विकास, क्षमता अभिवृद्धिलाई अझ उन्नत बनाउन पहल गर्नु हो ।’ केनाइन कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक डा.देउती गुरुङले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा प्रहरी सेवामा सेवारत विभिन्न विषयका कुकुरहरुबाट प्रहरी कार्यमा हुने सहयोग सम्बन्धी प्रदर्शनी समेत गरिएको थियो । यसैगरी नेपाल प्रहरी केन्द्रीय विधिविज्ञान प्रयोगशालाको निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले विविध विषयका प्रयोगशालाहरु अवलोकन गर्नुका साथै प्रयोगशालाबाट भएका गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो ।  निरीक्षण पश्चात आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक सिंहले अपराधका नयाँ तरिका वृद्धि भइरहेको अहिलेको अवस्थामा सबुद प्रमाणित गर्न प्रयोगशालाको योगदान महत्वपूर्ण हुने बताउनुभयो । प्रयोगशालालाई आधुनीकिकरण गर्न नयाँ प्रविधि र जनशक्ति विकासमा जोड दिइने उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा उक्त प्रयोगशालाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक राकेश कुमार सिंहले प्रयोगशालाको गतिविधि, चुनौती तथा समस्याहरु एवं आगामी योजना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । दुवै कार्यालय निरीक्षणका क्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको निरीक्षण तथा निर्देशन
२०७९-०३-०८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको बुधबार निरीक्षण गर्नुभएको   छ । सो क्रममा उहाँले प्रतिष्ठानस्थित आन्तरिक कक्षा कोठा, प्रशिक्षार्थी ब्यारेक, मेस, पुस्तकालयको साथै प्रहरी निरीक्षक आधारभूत तालिमका प्रशिक्षार्थीहरूको कवाज एवम् प्रतिष्ठान परिसरमा अवस्थित अपराध अनुसन्धान विद्यालयको समेत निरीक्षण गर्नुभयो ।साथै प्रहरी महानिरीक्षक सिंहले सोही अवसरमा प्रतिष्ठान परिसरस्थित बाधापार इलाकामा वृक्षरोपण समेत गर्नुभयो । निरीक्षण पश्चात आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी शिक्षालय भरतपुर, काठमाडौं उपत्यका प्रहरी शिक्षालय महाराजगंज, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रतिनिधिहरूलाई प्रहरी सहायक निरीक्षक र प्रहरी जवान आधारभूत तालिमहरूको प्रशिक्षण म्यानुअल हस्तान्तरण गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा नवप्रवेशीलाई प्रहरी बनाउन र उन्नत तालिमका प्रशिक्षार्थीहरूलाई व्यावसायिक बनाउन प्रशिक्षकको भूमिका अहम हुने तथा यस गहन जिम्मेवारी बोकेका प्रशिक्षकले सदैव उत्प्रेरित भएर प्रशिक्षणमा केन्द्रीत हुनुपर्ने बताउनुभयो । साथै उहाँले प्रतिष्ठान परिसरमा उच्चस्तरको अनुशासन प्रस्तुत गर्न निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले प्रशिक्षार्थीलाई तालिमप्रति उत्प्रेरित गर्न प्रशिक्षण वातावरण, प्रशिक्षार्थीले पाउने सुविधा, प्रशिक्षण सामग्रीको उपलब्धता, प्रशिक्षार्थीप्रतिको व्यवहार लगायतका तत्वहरू हुनुपर्ने उल्लेख गर्दै प्रशिक्षणमैत्री वातावरण बनाउन प्रतिष्ठान केन्द्रीत हुनुपर्नेमा जोड दिनुभयो । नेपाल प्रहरीका तालिम प्रदायक संस्थामध्ये प्रतिष्ठान मेरूदण्ड भएको र प्रतिष्ठानले अवलम्बन गरेका असल अभ्यास अन्य संस्थाको लागि अनुकरणीय हुने भएकोले प्रतिष्ठानको गतिविधि सदैव नमूना हुन जरूरी रहेको उहाँले चर्चा गर्नुभयो ।  उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्दै संगठन प्रमुखबाट प्राप्त निर्देशन कार्यान्वयनका लागि प्रतिष्ठानमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारी प्रतिवद्ध रहेको बताउनुभयो ।  कार्यक्रममा प्रतिष्ठानका प्रहरी नायव उपरीक्षक रबिन्द्र नाथ पौडेलले प्रतिष्ठानको गतिविधि, चुनौती र अपेक्षा सहितको प्रस्तुतीकरण गर्नुभएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिको साथै नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी र ७ वटै प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुखहरूको भर्चुअल उपस्थिति रहेको थियो । 

सङ्गीत विद्यालय नेपाल प्रहरीको अभिन्न अङ्ग - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०३-०८

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरीको अभिन्न अङ्गको रुपमा रहेको सङ्गीत विद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरुले विपद् लगायत अन्य आपतकालीन अवस्थामा समेत काम गरी संगठनलाई थप योगदान दिनुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी सङ्गीत विद्यालय महाराजगंजको बुधबार निरीक्षण पश्चात कार्यरत कर्मचारीहरुलाई निर्देशन सम्बोधनको क्रममा उहाँले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले प्रहरी कर्मचारीहरूको आफू कार्यरत रहेको ठाउँमा उत्कृष्टता दिने मूल दायित्व रहने चर्चा गर्दै अनुशासन, उत्कृष्टता, लगनशीलताले निश्चय पनि सङ्गीत क्षेत्रलाई शिखरमा पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरीसँगै नेपाल प्रहरी वैण्डको प्रख्याति आउनुपर्नेमा जोड दिँदै नेपाल प्रहरीको सङ्गीतलाई अझै गतिशील बनाउन यसको आधुनिकिरण तथा विद्यालयमा कार्यरत प्रहरी कर्मचारीको हित र वृत्ति विकासका लागि प्रहरी संगठन सचेत रहेको बताउनुभयो । उक्त अवसरमा सङ्गीत विद्यालयका प्रहरी नायव उपरीक्षक भुलाराज खनाल समेतको सङ्गीत टोलीले विभिन्न साङ्गीतिक प्रस्तुती दिएको थियो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू लगायत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा प्रहरी अधिकृतहरुलाई निर्देशन
२०७९-०३-०५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कार्य विभाग तथा दुवै विभाग मातहत कार्यालयका प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा आइतबार निर्देशन दिनुभएको छ । प्रहरी महानिरीक्षक सिंहले प्रत्येक विभागका पूर्व योजनाहरुलाई निरन्तरता दिँदै भावी योजनाको प्रभावकारी कार्यान्वयनका लागि आपसी समन्वय गरेर अगाडि बढ्नुपर्ने बताउनुभयो । प्रहरीले सम्पादन गर्ने काम कारवाहीमा देखा परेका समस्या र चुनौतीहरुलाई तत्काल पहिचान गरी सम्बन्धित विभागहरुले त्यसको समाधानतर्फ ध्यान केन्द्रित गर्न उहाँले निर्देशन दिनुभयो । साथै उहाँले विभागले प्रस्तुत गरेका कार्य योजनाहरुलाई सफल बनाउन सम्बन्धित विभाग आफै जिम्मेवार भएर काम गर्नुपर्ने र ती योजनाहरुको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक सहयोग र समन्वयका लागि आफू तयार रहेको उल्लेख गर्नुभयो । उक्त अवसरमा नेपाल प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रहरी उपरीक्षक अनुपम शम्शेर जबरा र अपराध अनुसन्धान विभागका प्रहरी नायव उपरीक्षक अनुपम श्रेष्ठले सम्बन्धित विभाग तथा मातहत कार्यालयहरुको उद्देश्य, काम, कर्तव्य, वर्तमान समस्या र चुनौती, प्रगति विवरण तथा उपलब्धिहरु, भावी योजना, रणनीति लगायत विभिन्न काम कारवाहीको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत दुवै विभागका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

अपराध अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्न थप सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०३-०५

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले घटित अपराधहरूको अनुसन्धान गर्ने सन्दर्भमा हालसम्म टुङ्गोमा पुग्न नसकेका पुराना घटनाहरूको अनुसन्धानलाई उच्च प्राथमिकतामा राखी सबै घटनाको अनुसन्धान सफल बनाउनेतर्फ अनुसन्धानमा संलग्न प्रहरी कर्मचारीहरू सक्रिय हुनुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले सातवटै प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालयहरू, प्रदेश ट्राफिक प्रहरी कार्यालयहरू, जिल्ला प्रहरी कार्यालयहरू, सशस्त्र प्रहरी गणहरू, दंगा नियन्त्रण प्रहरी गण लगायतका कार्यालय प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी, मिटरव्याजी जस्ता गतिविधि नियन्त्रणका लागि प्रहरी निर्ममताका साथ लाग्नुपर्ने चर्चा गर्नुहुँदै आपराधिक क्रियाकलाप एवं गतिविधिहरूमाथि विषेष निगरानी राख्न निर्देशन दिनुभयो । त्यस्ता गतिविधिमा संलग्न विभिन्न आवरणका व्यक्तिहरूसँग प्रहरी कर्मचारीहरूको साँठगाँठ भएको पाइए क्षम्य नहुने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक सिंहले कार्यालय प्रमुखहरूको काममा आफ्नो पहिचान गासिएको हुनाले अवसरलाई सदुपयोग गरी भ्रष्टाचारमा शून्य शहनसिलता कायम र नागरिक हितको लागि विशेष काम गर्दै सम्मान पाउने वातावरण बनाउन आग्रह गर्नुभयो । साथै उहाँले वर्षाको समयमा हुन सक्ने बाढी पहिरो जस्ता विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि तयारी हालतमा बस्ने, स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वयका साथ विशेष सक्रियता देखाउन निर्देशन दिनुभयो । पूर्व प्रहरी कर्मचारीहरूसँग भेटघाट र समन्वय गर्दै व्यावसाहिक रुपले काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असरसम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
२०७९-०३-०३

काठमाडौं, परिवर्तित भूराजनीतिक परिदृश्य तथा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध र राष्ट्रिय सुरक्षामा पर्ने असर सम्बन्धी प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा शुक्रबार सम्पन्न भएको छ ।  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल एवं दुवै सुरक्षा निकायका वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थितिमा सुरक्षा सम्बन्धी अवधारणागत एवं नीतिगत स्पष्टता, व्यावसायिक ज्ञान अभिबृद्धि तथा संस्थागत सहकार्य प्रवर्धन गर्ने गराउने उद्देश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।  अन्तरक्रिया कार्यक्रममा अतिथि वक्ताको रुपमा उपस्थित सुरक्षाविद् गेजा शर्मा वाग्लेले उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले राखेका जिज्ञासाहरू निरूपण गर्दै नेपाल सरकारले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूलाई अन्तर्राष्ट्रिय अभ्यासहरूको अनुशरण गर्दै जानुपर्नेमा जोड दिनुभयो । साथै राष्ट्रको सुरक्षाको लागि तायर गर्ने नीतिहरूमा सबै सुरक्षा निकायको अत्यन्तै महत्वपूर्ण भूमिका हुने विचार उहाँले व्यक्त गर्नुभयो ।  सुरक्षाविद् वाग्लेले भूराजनीतिको अवधारणा र परिभाषा, नेपालको सन्दर्भमा भूराजनीतिको बहस, एसिया र दक्षिण एसियाको भूराजनीतिक तस्बिर, अर्थतन्त्रको प्रक्षेपण, अर्थतन्त्रको दृष्टिले एसिया : तथ्य र तथ्याङ्क, नेपालको भूराजनीतिक दृष्टिले संवेदनशील पक्षहरू, नेपालमा पर्ने भूराजनीतिक असर, निष्कर्ष तथा सुझाव सम्बन्धी प्रस्तुतीकरण समेत गर्नुभएको थियो ।  उक्त अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक मुकुन्द राज आचार्यले सुरक्षाविद् गेजा शर्मा वाग्लेलाई मायाको चिनो प्रदान गर्नुभएको थियो । सोही अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षक आचार्यले धन्यवाद ज्ञापन व्यक्त गर्दै अन्तरक्रिया कार्यक्रमले राष्ट्रको सुरक्षाको लागि तयार गर्ने नीतिहरूमा फलदायी भूमिका निर्वाह गर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरू, सशस्त्र प्रहरी नायव महानिरीक्षकहरू, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट कार्यालय निरीक्षण
२०७९-०३-०३

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयस्थित विभिन्न कार्यालयको शुक्रबार निरीक्षण गर्नुभएको छ । सो क्रममा उहाँले कार्य विभाग र अपराध अनुसन्धान विभाग तथा मातहत निर्देशनालय, महाशाखा, सशस्त्र प्रहरी गण नम्बर १, केन्द्रीय प्रहरी विशेष कार्यदल, डिजिटल फरेन्सिक ल्याब, डाटा सेन्टर लगायतका कार्यालयहरूको निरीक्षण गर्नुभएको हो ।   निरीक्षणको क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रत्येक कार्यालयको गतिविधि एवं दैनिक काम कारबाहीबारे जानकारी लिनुभयो । साथै उहाँले प्रत्येक कार्यालयहरूको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउनका लागि आवश्यक  सुझाव समेत दिनुभएको थियो ।  निरीक्षणका क्रममा प्रहरी महानिरीक्षक सिंहलाई सम्बन्धित विभाग, महाशाखा लगायतमा कार्यरत प्रहरी कर्मचारीहरुले आ-आफ्नो कार्यालयको काम एवं गतिविधिबारे जानकारी गराउनुभएको थियो ।  निरीक्षणका क्रममा नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दिवेश लोहनी लगायत वरिष्ठ प्रहरी अधिकृतको सहभागिता रहेको थियो । 

प्रहरी काम कारवाहीलाई थप प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०३-०२

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले आधुनिक प्रविधि, नविन सिप र दक्षताको प्रयोग गरी मानवश्रोत व्यवस्थापन तथा दैनिक प्रशासनिक कामलाई थप व्यवस्थित, छिटो छरितो र प्रभावकारी बनाउन प्रहरी कर्मचारीहरु अझै सक्रिय भई काम गर्नुपर्ने बताउनुभएको छ ।   नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, प्रशासन विभाग र भौतिक पूर्वाधार तथा सवारी निर्देशनालयको बिहीबार निरीक्षण पश्चात आयोजित कार्यक्रममा उक्त विभाग मातहत प्रहरी अधिकृतहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले आफूले प्राप्त गरेको जिम्मेवारीलाई प्रहरी अधिकृतहरूले निष्पक्ष, पारदर्शी र इमानदार एवम् कार्यालयप्रति पूर्ण जवाफदेही भई आफै सन्तुष्ट हुने गरी काम गर्नुपर्ने बताउनुभयो । साथै उहाँले संवेदनशील विभागीय कामप्रति स्पष्ट नियत राखी गोपनियता कायम गर्दै असल अभ्यासका साथ विधि तथा कानून बमोजिम काम गर्न उपस्थित सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई सचेत गराउनुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरीलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सदुपयोग गरी काम गर्न निर्देशन दिनुभयो । भवन निर्माणमा मितव्ययिता एवम् पारदर्शिता कायम राख्दै गुणस्तरीय भवन निर्माणतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो । उक्त अवसरमा प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक अरूण कुमार बि.सी. र मानवश्रोत विकास विभागका निमित्त प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापाले आ-आफ्नो विभागको गतिविधि एवम् भए गरेका काम कारवाहीबारे प्रस्तुतीकरण गर्नुभएको थियो । 

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा नेपाल प्रहरी अस्पतालको निरीक्षण
२०७९-०२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी अस्पताल महाराजगञ्जको शुक्रबार निरीक्षण गर्नुभएको छ । निरीक्षणको क्रममा उहाँले अस्पतालस्थित अक्सिजन प्लान्ट, पूर्व प्रहरी अधिकृत प्रतिक्षालय, फिजियो थेरापी विभाग, क्लिनिकल प्रयोगशाला, अपरेशन थिएटर, आईसीयू, सीसीयू, विभिन्न वार्डहरू लगायत विभिन्न यूनिटहरूको अवलोकन गर्नुभयो ।  निरीक्षण पश्चात अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी लगायतका प्रहरी कर्मचारीहरूलाई निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक सिंहले हरेक प्रहरी कर्मचारीको शारीरिक तथा मानसिक स्वास्थ्य उसको कार्य सम्पदान गर्ने सामर्थ्य र मनोबलसँग जोडिने भएकोले संगठनात्मक लक्ष्य प्राप्तिका लागि बिरामी जाँच र उपचारमा अस्पताल प्रशासन तथा कार्यरत कर्मचारीहरू संवेदनशील हुनुपर्ने बताउनुभयो । साथै उहाँले गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने सवालमा अस्पतालले दर्जागत विभेद विना समानता कायम गरी असल व्यवहार, उचित परामर्श, सहानुभूतिपूर्ण उपचारको माध्यमबाट सेवामा सबैको सरल र सहज पहुँच हुने वातावरणको सुनिच्चितता गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी अस्पताल प्रहरी संगठनको एक अत्यन्त महत्वपूर्ण अंग भएकोले यसको गरिमा र साखलाई कायम राख्न सौहार्दता र हार्दिकता कायम राख्दै आ-आफ्नो जिम्मेवारीप्रति कर्तव्यनिष्ठ भएर काम गर्न निर्देशन दिनुभयो । विश्वमा भएका प्रविधिजन्य परिवर्तनलाई अंगालेर अस्पतालको स्तरोन्नति गर्ने, कार्यरत कर्मचारीको वृत्ति विकास गर्ने लगायतका विषयमा संगठन सदैव सकारात्मक रहेको र त्यसको लागि आवश्यक सहयोग गर्न आफू सदैव तत्पर रहेको उहाँले बताउनुभयो ।   प्रहरी महानिरीक्षक सिंहले विभिन्न आरोह अवरोह, समस्या र कठिनाईहरूको सामना गर्दै विगत करिब ४० वर्षदेखि निरन्तर रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको अस्पतालले कोभिड-१९ को संक्रमण नियन्त्रणमा निर्वाह गरेको भूमिका सराहनीय रहेको चर्चा गर्नुहुँदै औषधिको गुणस्तर, पारदर्शी सेवा प्रवाहको साथै कमि कमजोरीमा सुधार गर्दै अगाडि बढ्नुपर्ने बताउनुभयो । विद्यमान सेवाहरूलाई व्यवस्थित र प्रभावकारी बनाउन तथा अस्पतालको दीर्घकालीन विकासको लागि सुधारका क्षेत्रहरू पहिचान गरी ठोस योजना बनाएर अगाडि बढ्न उहाँले निर्देशन दिनुभयो ।  उक्त अवसरमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन गर्नुहुँदै संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई पालना गर्दै काम गर्न प्रतिवद्ध रहेको बताउनुभयो । साथै उहाँले अस्पताललाई समयनाकूल स्रोत र साधन सम्पन्न बनाउँदै स्वास्थ्य क्षेत्रमा आएका नविनतम् प्रविधि र पद्दतिलाई अङ्गिकार गरी स्वस्थ वातावरण तथा विरामीमैत्री सेवा प्रदान गर्न सदैव तत्पर रहेको उल्लेख गर्नुभयो ।  प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.विजय राम श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त अवसरमा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालले प्रदान गर्दै आएको स्वास्थ्य उपचार गतिविधि सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत अस्पतालमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरूको उपस्थिति रहेको थियो । 

पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-०२-२५

नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ २३ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका उत्तमराज सुवेदी, अरुण कुमार बि.सी., दिवेश लोहनी, मुकुन्द राज आचार्य र पुजा सिंहलाई दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले प्रदोन्नति भएका वरिष्ठ प्रहरी अधिकृतहरु तथा उहाँहरुका परिवारलाई बधाई दिँदै नेतृत्वमा आइसकेपछि प्राथमिकता छुट्टाएर नविन कार्ययोजनाका साथ अगाडि बढनुपर्ने बताउनुभयो । प्रहरी संगठनमा वरियता र कार्यक्षमता लगायतका विभागीय मापदण्ड अनुसार निष्पक्षरुपमा पदोन्नति हुने उल्लेख गर्दै उहाँले प्रहरी कार्यलाई अझै तदारुकताका साथ संचालन गर्न प्रहरी कर्मचारीहरु सदैव तल्लीन हुने विश्वास व्यक्त गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले हाल भइरहेका कामलाई निरन्तरता दिँदै सुधारका पक्षलाई समेत समेट्दै उत्कृष्ट काम गर्ने विश्वास लिएको चर्चा गर्दै आगामी दिनको चुनौती समाना गर्न स्थानीय चुनावमा देखाएको व्यावसायिकतालाई कायम राख्दै क्रियाशिल हुन निर्देशन दिनुभयो । मनसुन नजिकै आएको अवस्थामा विपद् व्यवस्थापनमा पूर्वतयारीका साथ लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।   उक्त अवसरमा पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले आफ्नो बुद्धि, विवेकले भ्याएसम्म प्रहरी संगठन, देश र नागरिकको सेवामा उच्च मनोबल, नयाँ जोश जाँगर र ईमानदारिताका साथ काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै उहाँले अपराधका प्रवृत्ति र प्रकृति परिवर्तन भएको हालको अवस्थामा थपिएको चुनौतीलाई एकताबद्ध भई काम गर्न अगाडि बढ्ने विचार व्यक्त गर्नुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृत तथा प्रहरी जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट अनुगमन मूल्याङ्कन टोलीलाई निर्देशन
२०७९-०२-२२

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले स्थानीय तह निर्वाचनका लागि प्रहरी कार्यालयमा विनियोजित बजेट नियमानुसार संचालन भए/नभएको अनुगमन मूल्याङ्कनका लागि खटिई जान लागेका ८ वटा अनुगमन टोलीलाई नेपाल प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा निर्देशन दिनुभएको छ ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले प्रहरी कार्यालयहरूमा विनियोजित बजेट तोकिएको मापदण्ड अनुरूप संचालन भए नभएको प्रभावकारी तथा सुक्ष्म रूपमा अध्ययन गरी पारदर्शी प्रतिवेदन पेश गर्न निर्देशन दिनुभयो । आर्थिक प्रशासन ऐन, नियम बमोजिम रितपूर्वक खर्चको लेखा दुरूस्त राखे नराखेको लगायतका विविध आर्थिक बिषयमा अनुगमन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  स्थानीय तह निर्वाचन, २०७९ मा बजेट संचालन गर्ने नेपाल प्रहरीका विभिन्न कार्यालयहरूलाई विनियोजित रकम तोकिएको मापदण्ड, प्रचलित आर्थिक प्रशासनसँग सम्बन्धित ऐन/नियम तथा नेपाल प्रहरी प्रधान कार्यालयबाट समय समयमा जारी निर्देशिका र परिपत्र बमोजिम मितव्ययी, प्रभावकारी एवम् पारदर्शी ढंगबाट सम्पादन भएको नभएको, म्यादी प्रहरी नियुक्ति तथा सुविधा सम्बन्धी, निर्वाचन शान्ति सुरक्षा कायम गर्न परिचालन अवस्थाको स्थलगत अनुगमन, पृष्ठपोषण तथा सिफारिस प्रयोजनका लागि अनुगमन टोली परिचालन गरिएको हो । नेपाल प्रहरी प्रधान कार्यालय तथा काठमाडौं उपत्यका प्रहरी कार्यालय, सात वटै प्रदेश प्रहरी कार्यालयहरू तथा सो मातहतका सबै जिल्ला प्रहरी कार्यालयहरूमा खटिइ जान लागेका प्रहरी अधिकृत सहितका ८ वटै टोलीले जेठ २३ गतेदेखि असार १ गतेसम्म अनुगमन गरी प्रतिवेदन पेश गर्नुपर्ने छ । 

विशेष सक्रियताका साथ सुम्पिएको जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०२-२२

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले जघन्य अपराधको सफल अनुसन्धानको साथै विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधि नियन्त्रण, घरेलु हिंसा न्यूनिकरण तथा प्राकृतिक स्रोतको दोहन नियन्त्रणमा विशेष सक्रियता अपनाई प्रहरी कर्मचारीहरूले आफूलाई सुम्पिएको जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् आइतबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले मधेश प्रदेश प्रहरी कार्यालय एवम् प्रदेश मातहत जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक सिंहले आफूले निर्वाह गरेको जिम्मेवारी अनुरुप नै प्रहरी अधिकृतहरूको मूल्याङकन हुने उल्लेख गर्दै  जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आर्थिक पारदर्शिताको नीतिलाई अवलम्बन गरी आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । दण्ड र पुरस्कार अपरिहार्य तत्व रहेको उल्लेख गर्दै गल्ती गर्नेलाई तत्काल दण्डित गर्ने र राम्रो काम गर्नेहरूलाई संरक्षकको भूमिका निर्वाह गर्नुपर्ने विचार उहाँले व्यक्त गर्नुभयो । सिमावर्ती क्षेत्रमा हुने अपराध, तस्करी नियन्त्रण, भन्सार छलिको सामन बरामद राजश्व वृद्धि एवम् प्राकृतिक स्रोतको दोहन लगायत आपराधिक गतिविधिमा संलग्नलाई कानूनी दायरामा ल्याउन थप क्रियाशील हुन निर्देशन दिँदै प्रहरी महानिरीक्षक सिंहले आगामी दिनमा आउन सक्ने चुनौतिहरूको बिश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई आगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । साथै वर्षाको समयमा हुन सक्ने विपद्का घटना न्यूनिकरण एवम् उद्दारका लागि स्थानीय तह एवम् सरोकारवाला निकायसँग आपसी सहयोग र समन्वय गरी तयारी गर्न समेत उहाँले निर्देशन दिनुभयो ।  कार्यक्रममा मधेश प्रदेश प्रहरी कार्यालय जनकपुर तथा मातहातका नेपाल प्रहरी प्रदेश कार्यालय वीरगंज पर्सा, ८ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरू, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया बारा, प्रदेश प्रहरी तालिम केन्द्रका प्रमुख तथा प्रतिनिधिहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण एवम् सफल अनुसन्धानका मुख्य मुख्य उपल्ब्धीहरू, स्थानीय तहको निर्वाचनमा प्रहरीले निर्वाह गरेको भूमिका, तस्करी नियन्त्रण, राजश्व संकलन तथा भन्सार छलिका सामान बरामद सम्बन्धी विवरण, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै मधेश प्रदेश प्रहरी कार्यालय लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना
२०७९-०२-१९

 काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले बिहीबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले नेपाल सरकारले सुम्पिएको जिम्मेवारीमध्ये हालै एकै चरणमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो । स्थानीय तहको निर्वाचनमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उहाँले उल्लेख गर्नुभयो ।   कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “संगठन प्रमुख फेरिदैमा संगठनको प्राथमिकता फेरिदैन । शान्ति सुरक्षा कायम राख्नुका साथै बस्तुनिष्ठ अपराध अनुसन्धान, मानवअधिकारको संरक्षण, जघन्य अपराधको अनुसन्धानलाई प्राथमिकतामा राखेर अगाडि बढ्छु ।” संगठित अपराध अनुसन्धान एवम् नियन्त्रणमा मानवअधिकारको संरक्षण गर्दै प्रहरी संगठन अझ आक्रामक रूपमा प्रस्तुत हुने उल्लेख गर्दै उहाँले प्रहरीप्रतिको भरोसा कायम राख्न हालै गरिएका केही सुधारात्मक कार्यहरूबाट सुधारको संकेत देखापरेको र आगामी दिनमा प्रहरीले गरेका कामबाटै उपलब्धी प्रस्ट देखिने बताउनुभयो ।  प्रहरी कर्मचारीहरूको सरूवा, बढुवा कार्यसम्पादन मूल्याङ्कन लगायत संगठनको प्रणाली अनुरूप निष्पक्ष रूपमा हुने चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले यूएन मिसनमा प्रहरी कर्मचारीहरूको सहभागिताको लागि पहल गर्न समिति समेत गठन गरी प्रकृया अगाडि बढाइएको उल्लेख गर्नुभयो । स्थानीय तहको निर्वाचनमा सञ्चारकर्मीहरूबाट भएको सकारात्मक भूमिका निर्वाहप्रति आभार व्यक्त गर्दै प्रहरी संगठनको श्रीवृद्धि तथा सुदृढिकरणको लागि आगामी दिनमा समेत सञ्चारजगतबाट रचनात्मक सहयोग, सुझाव र समन्वयको सदैव अपेक्षा रहेको उहाँले चर्चा गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक सिंह र उपस्थित सञ्चारकर्मीहरूबीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।  उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

कानून कार्यान्वयनमा कठोर रूपमा प्रस्तुत हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०२-१९

  काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले विभिन्न तस्करी एवम् अवाञ्छित गतिविधिको साथै सामाजिक अपराधमा संलग्नलाई कानूनी दायरामा ल्याउनको लागि कानून कार्यान्वयनमा प्रहरी कर्मचारीहरू कठोर रूपमा प्रस्तुत हुनुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले १ नम्बर प्रदेश प्रहरी कार्यालय तथा मातहात १४ जिल्लाका जिल्ला प्रहरी कार्यालयहरू, मातहत ट्राफिक प्रहरी कार्यालय एवम् तालिम केन्द्रका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाई सुरक्षा व्यवस्था मजबुत बनाउनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफूलाई सुम्पिएको जिम्मेवारीलाई आफ्नो नेतृत्व विकासको अवसरका रूपमा लिएर कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । तस्करी, प्राकृतिक स्रोतको दोहन जस्ता गतिविधिमा शून्य सहनशीलताको नीतिलाई अवलम्बन गरी अवैध क्रियाकलापमा संलग्न जो कोहीलाई पनि कानूनी दायरामा ल्याउन अझ सक्रिय भई अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक सिंहले दण्ड र पुरस्कारमा आफू निर्मम रूपमा प्रस्तुत हुने उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आफ्नो मातहतका कर्मचारीहरू कुनै पनि आपराधिक गतिविधिमा संलग्न नहुने गरी काम कारवाही गर्न निर्देशन दिनुभयो । हालै एकै चरणमा सम्पन्न स्थानीय तहको निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले निर्वाह गरेको भूमिकाको चर्चा गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको उहाँले जानकारी दिनुभयो ।  कार्यक्रममा १ नम्बर प्रदेश प्रहरी कार्यालय मातहात १४ वटै जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूले आ-आफ्नो जिल्लाको शान्ति सुरक्षा सम्बन्धि विद्यमान अवस्था एवम् चुनौति, अपराध अनुसन्धान तथा नियन्त्रण, स्थानीय तहको निर्वाचनमा प्रहरीको भूमिका, भावी कार्ययोजना लगायतका विषयमा जानकारी दिनुभएको थियो ।  कार्यक्रममा नेपाल प्रहरी प्रधान कार्यालयस्थित वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरूण कुमार वि.सी. लगायत सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।  

असल संस्कृति र भातृत्वभावको विकास गर्दै काम गर्न प्रहरी कर्मचारीहरु प्रतिवद्ध हुनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०२-१९

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी कर्मचारीहरूले असल संस्कृति र भातृत्वभावको विकास गर्दै नागरिक सेवाको साथै आफूलाई सुम्पिएको जिम्मेवारी, दायित्व र कामप्रति अनुशासित एवं कटिबद्ध भई काम गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले काठमाडौं उपत्यका प्रहरी कार्यालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृतहरुलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले स्थानीय तहको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गराउन प्रहरी कर्मचारीहरुले व्यावसायिक रुपमा निर्वाह गरेको जिम्मेवारी र भूमिकाको प्रशंसा गर्दै सम्पूर्ण म्यादी प्रहरीहरुले समेत अत्यन्त राम्रो काम गरेको बताउनुभयो । उपत्यकास्थित प्रहरी कार्यालयहरुले गर्ने कामबाट देशभरिको पुलिसिङ मापन हुने हुनाले उपत्यकामा कार्यरत प्रहरी कर्मचारीहरुलाई रोलमोडल भई उदाहरणीय काम गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक सिंहले कामप्रतिको प्रतिबद्धताको अझै बढी खाँचो रहेको उल्लेख गर्दै प्राप्त चुनौती र अवसरलाई आफ्नो वृत्ति विकासको एक हिस्साको रुपमा लिई अगाडि बढ्नुपर्ने बताउनुभयो । के गर्दा पुलिसिङ अझै राम्रो बनाउन सकिन्छ भन्नेतर्फ ध्यान दिई काम गर्नुपर्नेमा जोड दिँदै उहाँले आपराधिक तत्वसँग साँठगाँठ, प्राकृतिक स्रोतको दोहन लगायत जस्तोसुकै गैरकानुनी काममा संलग्न रहेको पाइएमा जोकोहीलाई कारबाहीको दायरामा ल्याइने बताउनुभयो ।  कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै उपत्यका प्रहरी कार्यालय रानीपोखरीका निमित्त प्रमुख प्रहरी नायब महानिरीक्षक उत्तम राज सुवेदीले संगठन प्रमुखबाट प्राप्त निर्देशनलाई अक्षरस पालना गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।  

प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामा दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७९-०२-०६

काठमाडौं, नेपाल सरकार मन्त्रिपरिषद्को २०७९ जेठ ६ गतेको निर्णयअनुसार प्रहरी नायव महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनु भएका प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामा दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक सिंहले पदोन्नति भएका प्रहरी अतिरिक्त महानिरीक्षक लामालाई बधाइ दिँदै आगामी दिनमा उहाँको व्यक्तिगत, पारिवारिक एवम् व्यावसायिक जीवनको सफलताका लागि शुभकामना व्यक्त गर्नुभयो । व्यावसायिकता र उत्कृष्टता मूल्याङ्कनको आधारमा प्रहरी अधिकृतहरूको पदोन्नति हुने उहाँले चर्चा गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले हालै सम्पन्न स्थानीय तह निर्वाचनको समयमा नेपाल प्रहरीका कर्मचारीहरूले देखाएको व्यावसायिकताप्रति खुसी व्यक्त गर्दै यस कार्यको नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जानकारी दिनुभयो । सो अवधिमा देखिएका दुर्बल पक्षलाई बिश्लेषण गरी कमजोरी देखिएमा सम्बन्धितलाई कारवाहीको दायरामा ल्याइने उहाँले उल्लेख गर्नुभयो ।   उक्त अवसरमा मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्त कुमार लामाले आफू सेवाको उत्तरार्धमा भए पनि प्रहरी नेतृत्वलाई सफलीभूत एवम् संगठनको गरिमालाई उच्च बनाउनका लागि सदैव क्रियाशील रहने विचार व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र सुरक्षित तवरले सम्पन्न गर्नका लागि सुरक्षा व्यवस्था अझै चुस्त बनाउनुपर्ने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०१-२४

काठमाडौं, प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले एकै चरणमा सम्पन्न हुन लागेको स्थानीय तहको निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सुरक्षा व्यवस्थालाई अझै चुस्त बनाउन प्रहरी कर्मचारीहरू कटिबद्ध हुनुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् शनिबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा उपत्यका एवम् प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । निर्वाचनलाई निष्पक्ष एवम् भयरहित तवरले सम्पन्न गराउन आफ्नो व्यावसायिकता प्रदर्शन गर्ने अवसरको रुपमा लिनुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनको सुरक्षामा खटिने सबै प्रहरी अधिकृत तथा जवानहरूले निर्भिकता र व्यावसायिकताका साथ जिम्मेवारी वहन गर्नुपर्ने उल्लेख गर्नुभयो । निर्वाचन लक्षित गतिविधिहरूमा सीमित साधन स्रोतका वावजूद नेपाल प्रहरीले उत्कृष्ट कार्य गरिरहेको चर्चा गर्दै आउँदा दिनमा आउन सक्ने चुनौतिलाई समाधान गर्न आवश्यक सुरक्षा योजना, रणनीति तय गरी अन्य सुरक्षा निकायसँग आवश्यक सहकार्य एवम् समन्वय गर्दै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो ।सबै प्रदेशको आ-आफ्नो विशिष्टता अनुरुप आवश्यक सुरक्षा योजना बनाउँदा सुरक्षा व्यवस्था अझै प्रभावकारी हुने उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले विगतमा भएका सफल अभ्यासहरूलाई पछ्याउँदै सबै प्रदेश प्रहरी कार्यालयहरुले एकआपसमा समन्वय र सहकार्य गर्नुपर्ने बताउनुभयो । कार्यालय प्रमुखहरूले निर्वाचनको सुरक्षाका लागि खटिने प्रहरी अधिकृत तथा जवानहरूलाई आफ्नो जिम्मेवारी सम्बन्धी आवश्यक विफ्रिङ गर्नुको साथै निर्वाचनका समयमा हुन सक्ने सम्भाव्य घटना हुन नदिन कानुनसम्मत कारबाही गर्नुपर्ने उहाँले बताउनुभयो ।प्रहरी महानिरीक्षक सिंहले सिमावर्ती क्षेत्रमा हुन सक्ने तस्करी लगायतका आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्न थप क्रियाशील हुनुपर्ने उल्लेख गर्दै आपराधिक क्रियाकलापमा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी दायरामा ल्याउनुपर्ने बताउनुभयो ।कार्यक्रममा वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित
२०७९-०१-१९

काठमाडौं, नेपाल सरकार मन्त्रीपरिषद्को २०७९ बैशाख १८ गतेको निर्णयअनुसार बैशाख १९ गतेबाट लागू हुने गरी प्रहरी महानिरीक्षक पदमा पदोन्नति हुनुभएका धिरज प्रताप सिंह दर्ज्यानी चिन्हबाट सुशोभित हुनुभएको छ । नेपाल सरकार, गृहमन्त्रालय सिंहदरबारमा सोमबार आयोजित बिशेष समारोहबीच गृहसचिव टेक नारायण पाण्डेले प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई दर्ज्यानी चिन्हबाट सुशोभित गर्नुभएको हो ।  सुशोभन समारोहमा गृहसचिव पाण्डेले नेपाल सरकार गृह मन्त्रालयकोतर्फबाट प्रहरी महानिरीक्षक सिंहलाई बधाई तथा कार्यकाल सफलताको कामना गर्नुका साथै राज्य, सरकार, आमनागरिक र सिंगो समाजले राखेका अपेक्षा पूरा गराउन प्रहरी संगठनलाई दृढतापूर्वक अगाडि बढाउने पहल नयाँ नेतृत्वबाट हुने विश्चास व्यक्त गर्नुभयो । विगतमा भोगेका भन्दा नयाँ ढाँचा  र आधुनिक प्रकृतिका अपराधहरु विकसित हुँदै गएको अवस्थामा तिनको नियन्त्रण र चुनौती सामना गर्न सक्षम प्रहरी संगठन निर्माण गर्नुका साथै स्वस्थ्य सामाजिक संस्कार सभ्यताको विकासका लागि प्रहरी संगठनले आफ्नो भूमिकालाई स्थापित गर्नुपर्ने दायित्व रहेको उहाँले उल्लेख गर्नुभयो । गृहसचिव पाण्डेले हालै प्रहरी संगठनकोतर्फबाट प्रस्तुत स्थानीय तह निर्वाचन र शान्ति सुरक्षाको खाका समावेश भएको कार्ययोजना कार्यान्वयनका लागि गृहमन्त्रालयले अभ्यास, प्रयास र निरन्तरता दिने बताउनुभयो । प्रहरी संगठनलाई अपराध पत्ता लगाउने सुयोग्य साधन बनाउने र शान्ति सुरक्षाको अभिभारा पूरा गर्न प्रहरी संगठन सफल हुने सुभेक्षा उहाँले व्यक्त गर्नुभयो । सांगठनिक पुनसंरचनाको काम, जनशक्तिको क्षमता, संगठनलाई स्रोत साधन युक्त र संगठनमा क्षमतावान र प्रतिस्पर्धी जनशक्तिलाई भित्राउन टिकाउन र सक्षम नेतृत्व विकास गर्नुपर्ने चुनौतीलाई पूरा गर्न नेपाल सरकारले प्रहरी संगठनलाई सदैव सहयोग र सहकार्य गर्ने उहाँले बताउनुभयो ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक सिंहले व्यावसायिक निष्ठाकासाथ राष्ट्र सेवामा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै नेपाल सरकारले आफूलाई नेपाल प्रहरीको सर्वोच्च पद प्रहरी महानिरीक्षकमा पदोन्नति गरेकोमा नेपाल सरकार, सम्माननीय प्रधानमन्त्रीज्यू, माननीय गृह मन्त्रीज्यू तथा गृह मन्त्रालयप्रति हार्दिक कृतज्ञता सहित आभार व्यक्त गर्नुभयो । नेपाल सरकार र गृहमन्त्रालयको मार्ग निर्देशन प्रहरी संगठनका लागि मार्ग प्रशस्त गर्ने आधार भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “मानव अधिकारको संरक्षण र संवर्द्धन गर्दै विधिको शासन स्थापना गरी आर्थिक समृद्धि हाँसिल गर्ने नेपाल सरकारको प्रमुख लक्ष्यलाई सफल पार्न नेपाल प्रहरी कटिवद्ध र कृतसंकल्पित रहेको छ ।” सांगठनिक क्रियाकलापहरुलाई प्रक्रियागत एवं पारदर्शी बनाई कर्मचारीहरुमा जवाफदेहिता बढाउने र अकर्मण्यता पूर्णत: निर्मूल गर्ने, भ्रष्टाचारमा शून्य सहनशीलता कामय राख्ने, आपराधिक तत्वहरुसँगको साठगाँठलाई निमिट्यान्न पार्नेमा केन्द्रीत राखी सहकर्मीहरुको सहकार्यमा संगठन सुधारका कार्ययोजना लागू गर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, “शहरकेन्द्रित अपराधहरुको स्वरुपमा भैरहेको तीव्र परिवर्तनले थपिएका चुनौतीहरुको सामना गर्न नेपाल प्रहरीलाई आधुनिकीकरण गर्दै लैजानुको विकल्प छैन । अपराध र सुरक्षा चुनौतीका आधारमा मापदण्ड बनाई Urban Policing र Rural Policing को अवधारणा अनुरुप ‘सुरक्षित शहर र सुरक्षित गाउँ’ निर्माण गरी आमनागरिकहरु माझ नेपाल प्रहरीको विश्वास अभिवृद्धि गर्नेतर्फ प्रहरी रणनीति केन्द्रीत रहनेछ ।” राष्ट्रिय प्राथमिकतामा रहेको स्थानीय तहको निर्वाचनलाई सुरक्षित एवं भयरहित तवरबाट प्रत्येक नागरिकहरुले आफ्नो बालिग मताधिकारको प्रयोग गर्न सक्ने गरी निर्वाचन सुरक्षा योजना अनुरुप प्रहरीको सम्पूर्ण स्रोतसाधनहरु प्रभावकारी रुपमा परिचालित हुने उहाँले बताउनुभयो ।  कार्यक्रममा गृह मन्त्रालयका उच्चपदस्थ अधिकारीहरु, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल नेपालका उच्च प्रहरी अधिकृतहरु, राष्ट्रिय अनुसन्धान विभागका उच्चपदस्थ कर्मचारी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो । दर्ज्यानी चिन्हद्वारा सुशोभित भएपश्चात नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले सोमबारै आफ्नो कार्यकक्षमा पदबहाली गर्नुभएको छ । प्रहरी महानिरीक्षक सिंह नेपाल प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुले हार्दिक स्वागत गर्नुभयो ।  प्रहरी महानिरीक्षक सिंहले नेपाल प्रहरी प्रधान कार्यालय परिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुसाथै नेपाल प्रहरी प्रधान कार्यालय परिसरमा वृक्षारोपण समेत गर्नुभयो । विसं २०२४ कात्तिक २० गते दैलेख जिल्लाको नारायण नगरपालिका वडा नम्बर ७ मा जन्मनु भएका प्रहरी महानिरीक्षक सिंह २०४९ चैत ११ गते प्रहरी निरीक्षक पदबाट नेपाल प्रहरी सेवा प्रवेश गर्नुभएको थियो । प्रहरी महानिरीक्षक सिंह २०६२ जेठ २२ गते प्रहरी नायव उपरीक्षक, २०६९ माघ ११ गते प्रहरी उपरीक्षक, २०७४ साउन १९ गते प्रहरी वरिष्ठ उपरीक्षक, २०७७ वैशाख ७ गते प्रहरी नायब महानिरीक्षक र २०७८ चैत ८ गते प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएको  थियो ।राजनीतिशास्त्रमा स्नातकोत्तर गर्नुभएका प्रहरी महानिरीक्षक सिंहले कम्प्रिहेन्सिभ क्राईसिस मेनेजमेन्ट, अपराध अनुसन्धान, क्रिमिनल इन्टेलिजेन्स एनालाइसिस कोर्ष, एडभान्स ट्रेनिङ अन नेशनल सेक्युरिटी, ट्रेनिङ कोर्स अन बोर्डर ल ईनफोर्समेनट फर नेपाल, मानवश्रोत व्यवस्थापन लगायत विभिन्न १३ वटा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तालिम हासिल गर्नुभएको   छ । प्रहरी महानिरीक्षक सिंहले सुप्रवल जनसेवा श्री, गोरखा दक्षिणबाहु चौथो, संयुक्त राष्ट्र संघ पदक, गद्दी आरोहण रजत पदक, वीरेन्द्र ऐश्वर्य सेवा पदक, लगायतका विभूषणबाट विभूषित हुनुहुन्छ । यसैगरी उहाँले उत्कृष्ट व्यावसायिक कार्य सम्पादन गरेबापत ग्रेड थप तथा विभिन्न समयमा नगद पुरस्कार प्राप्त गर्नुको  साथै विभिन्न प्रशंसापत्रद्वारा सम्मानित हुनुभएको छ । 

असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने - प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह
२०७९-०१-१९

काठमाडौं,  प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले प्रहरी संगठनका असल अभ्यासहरूलाई निरन्तरता दिँदै समय अनुकूल पद्धति र प्रविधि उन्मुख नवीन परम्पराको थालनी गरिने बताउनुभएको छ । नैतिक आचरणयुक्त प्रहरी व्यावसायिकता अभिवृद्धि र अपराध अनुसन्धानमा वैज्ञानिकीकरणका साथै सुशासन प्रवर्धन गर्न कार्यविधि तथा मापदण्ड निर्माण, आर्थिक पारदर्शिता कायम र प्रहरी जवाफदेहिता सुनिश्चित गर्न विशेष पहल हुनेमा उहाँले जोड दिनुभएको छ ।  नेपाल प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित विशेष समारोहबीच प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन सम्बोधनका क्रममा प्रहरी महानिरीक्षक सिंहले प्रहरी संगठनको श्रीवृद्धिमा जोड दिँदै उक्त कुरा बताउनुभएको हो । आसन्न स्थानीय तहको निर्वाचन अहिले राष्ट्रिय प्राथमिकताको विषय भएको उल्लेख गर्दै प्रहरी महानिरीक्षक सिंहले निर्वाचनलाई निष्पक्ष, भयरहित एवम् सुरक्षित तवरबाट सम्पन्न गर्न उच्च सतर्कता, संवेदनशीलता र महत्वका साथ सफलतापूर्वक सम्पादन गर्न उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन दिनुभयो ।  कुनै पनि व्यक्ति वा संगठन आलोचना मुक्त नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘नेपाल प्रहरी र यसमा आवद्ध सकल दर्जा त झन् नागरिक जीवनको एक अभिन्न हिस्सा भएकोले हाम्रो हरेक क्रियाकलाप माथि नागरिकहरूले सुक्ष्म निगरानी राख्नु अस्वाभाविक ठान्दिन । मेरो मान्यता भनेको गुनासो र आलोचनालाई स्वीकार गर्नुपर्दछ र त्यसको उचित सम्बोधन गर्नुपर्दछ भन्ने हो । गुनासो र आलोचना उसैको हुन्छ, जसप्रति आशा र विश्वास जोडिएको हुन्छ ।’  नेपाल प्रहरीको आधार भन्नु नै नागरिक विश्वास र भरोसा भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक सिंहले समाज र राष्ट्रको हित र सुरक्षाका खाँतिर संगठन र यसमा आवद्ध सकल दर्जाका प्रहरी कर्मचारीहरूले कानूनी राज्यको मान्यता अनुरुप निष्पक्ष एवम् व्यावसायिक प्रहरी सेवा प्रवाह गर्न र कुनै प्रकारको सम्झौता नगर्न निर्देशन दिनुभयो । व्यक्तिगत स्वार्थ त्यागी निर्भिकताका साथ आ-आफ्नो व्यावसायिक धर्म निर्वाह गर्न सम्पूर्ण अधिकृत तथा जवानहरूलाई उहाँले निर्देशन दिनुभयो ।  गैर व्यावसायिक आचरण र व्यवहार किञ्चित सह्य र क्षम्य नहुने बताउँदै प्रहरी महानिरीक्षक सिंहले भन्नुभयो, ‘कानून सम्मत जिम्मेवारी बहन गर्ने सिलसिलामा कुनै अधिकृत तथा जवानहरूबाट अकर्मण्यता, लापरवाही र उदासीनता हुनेछैन ।’ भष्ट्राचारमा शून्य सहनशीलता अवलम्बन गर्नुका साथै चोरी निकासी गर्ने, प्राकृतिक स्रोतको दोहन गर्ने तथा अन्य आपराधिक कार्यमा संलग्न हुने तत्वहरूसँगको साठगाँठ एवम् अवाञ्छित क्रियाकलापमा संलग्न रहने, प्रश्रय दिने तत्वहरुको पहिचान गरी कारवाही गर्ने सवालमा आफू कठोररूपमा प्रस्तुत हुने उहाँले बताउनुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, प्रहरी प्रधान कार्यालय तथा उपत्यकास्थित वरिष्ठ प्रहरी अधिकृत तथा जवानहरुको साथै नेपाल प्रहरी प्रदेश कार्यालयहरूका प्रमुखहरूको भर्चुअल रूपमा उपस्थिति रहेको थियो ।

सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको बिदाइ
२०७९-०१-१८

काठमाडौं,  तीस वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई आइतबार प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उहाँहरुलाई नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले हार्दिक बिदाइ गर्नुभएको हो । बिदाइ समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले तीन दशक लामो प्रहरी सेवाको व्यावसायिक यात्राबाट औपचारिक बिश्राम लिई निवृत्त हुन लाग्दा भव्य बिदाइ कार्यक्रमको आयोजना गरी आफूलाई हार्दिकतापूर्वक सम्मान दिनुभएकोमा नेपाल प्रहरी संगठन परिवार र नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंह प्रति हार्दिक आभार प्रकट गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो नेतृत्व कार्यकालमा सहयोग पुर्‍याउने सबै सकल दर्जाका प्रहरी अधिकृत तथा जवानहरू प्रति आभार प्रकट गर्दै कोभिड-१९ को विषम परिस्थितिमा पनि आम नागरिकको सेवामा सदैव क्रियाशील रही गरेको उच्च  कार्यसम्पादनको प्रशंसा गर्नुभयो ।  संगठनमा सुधार तथा हितको लागि गरिएको प्रयासहरूमा सबैको सहयोग प्राप्त भएको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनियुक्त प्रहरी महानिरीक्षकले पनि संगठनको श्रीवृद्धिका लागि सबैको साथ र सहयोग पाउने विश्वास व्यक्त गर्नुभयो । सेवा निवृत्तपछि पनि संगठनप्रति सदैव सकारात्मक सोच रहने उल्लेख गर्दै संगठन हितको लागि सदैव क्रियाशील हुने प्रतिवद्धता उहाँले व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा सम्पादन भएका उल्लेखनीय कार्यहरू एवम् प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्री लगायत वरिष्ठ प्रहरी अधिकृतहरूलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो । उक्त अवसरमा नवनियुक्त प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले सेवानिवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतलाई राष्ट्र, नागरिक र संगठनप्रति पुर्‍याउनु भएको अमूल्य योगदानका लागि नेपाल प्रहरीको तर्फबाट हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो । उहाँहरूले चालेका रणनीतिक कदमहरूले नेपाल प्रहरीको आधुनिकीकरण, अपराध अनुसन्धानमा बैज्ञानिकीकरण, प्रहरी क्षमताको विकास, प्रशासनिक स्वच्छता, आर्थिक पारदर्शिता, बहालवाला तथा पूर्व र अमर तथा अशक्त प्रहरी एवम् उनीहरुका आश्रित परिवारहरूको कल्याण, इतिहासको संरक्षण लगायतका क्षेत्रमा महत्वपूर्ण उपलब्धी हासिल भई नेपाल प्रहरीको संस्थागत विकासमा दूरगामी प्रभाव पार्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।  सेवा निवृत्त हुन लाग्नुभएका वरिष्ठ प्रहरी अधिकृतहरुको व्यावसायिकता, नैतिकता, इमानदारिता र अविचलित रूपमा कर्तव्यपथमा लागि रहने क्षमता हाम्रा सामु स्पष्ट रहेको चर्चा गर्दै नवनियुक्त प्रहरी महानिरीक्षक सिंहले संगठनमा बहाल रहँदा र  सेवा निवृत्त भएपछि पनि संगठनको सफलता र गरिमा हामी सबैको गर्वको बिषय हुने तथा संस्थागत हितका लागि आगामी दिनमा उहाँहरूको सल्लाह र सुझावको अपेक्षा रहने बताउनुभयो ।  समारोहमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती सिर्जना थापालाई समेत बिदाइ गरियो । उहाँलाई श्रीमती कुसुमलता सिंहले सम्मान गर्नुभयो ।    प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँगै सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु तथा प्रहरी वरिष्ठ उपरीक्षकहरु समेत गरी १९ जना रहनुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृत तथा जवानहरुले समेत सेवा निवृत्त हुन लाग्नुभएका प्रहरी वरिष्ठ अधिकृतहरुलाई हार्दिक बिदाइ गर्नुभएको थियो ।

गृह मन्त्रालयद्वारा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको बिदाइ
२०७९-०१-१८

काठमाडौं,  गृहमन्त्री बालकृष्ण खाणले आइतबार गृह मन्त्रालय सिंहदरबारमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई शुभकामना सहित बिदाइ गर्नुभयो । साथै उहाँले प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई मायाको चिनो समेत प्रदान गर्नुभयो ।  उक्त अवसरमा गृहमन्त्री खाणले आफ्नो कार्यकाल सफलताको साथ सम्पन्न गरी सेवा निवृत्त हुन लाग्नु भएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीलाई बधाई दिँदै सेवा निवृत्त पछिको व्यवासायिक जीवनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो । गृहमन्त्री खाणले समाजमा हुने विभिन्न अवाञ्छित गतिविधि, अपराध अनुसन्धान तथा रोकथाम, प्राकृतिक विपद्को समयमा सीमित साधन श्रोतको वावजूद पनि प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरू परिचालन गरी उत्कृष्ट प्रहरी सेवा प्रदान गर्न निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । कोभिड-१९ को विषम परिस्थितिमा संक्रमण रोकथाम तथा नियन्त्रण एवम् आम नागरिकको सुरक्षाको लागि अंग्रपक्तिमा रहेको नेपाल प्रहरीले उत्कृष्ट भूमिका निर्वाह गरेको उहाँले बताउनुभयो । कार्यक्रममा गृहसचिव टेकनारायण पाण्डेले सेवा निवृत्त पछि पनि संगठनको हित एवम् विकासका लागि विज्ञ अनुभव उपयोगी हुने चर्चा गर्नुभयो । कार्यक्रममा गृह मन्त्रालयका वरिष्ठ अधिकारीहरू, नेपाल प्रहरी तथा सशस्र प्रहरी बल नेपालका वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा पत्रकार भेटघाट कार्यक्रम आयोजना
२०७९-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा पत्रकार भेटघाट तथा समसामयिक बिषयमा छलफल कार्यक्रमको आयोजना गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा भएका उल्लेखनीय कामहरूको चर्चा गर्दै माथिल्लो तहमा मात्रै नभई तल्लो तहका कर्मचारीहरूलाई प्राथमिकतामा राखेर काम गरेको, उनीहरूको लागि प्रहरी नियमावली संशोधन गरी कार्यान्वयनमा ल्याइएको, प्रहरी नियमावली अनुसार सरूवा/बढुवा गरिएको, अपराध अनुसन्धान लगायत फरार अभियुक्त पक्राउ एवम् लागूऔषध विरूद्धको अभियानलाई तीव्र पारिएको बताउनुभयो । नेपाल प्रहरी कार्ययोजना जारी गरी कार्यान्वयन गरिएको, नेपाल प्रहरीलाई एउटा प्रणालीमा लैजान बिशेष पहल गरिएको उहाँले उल्लेख गर्नुभयो । कार्यक्रममा संचारकर्मीहरुले राखेका जिज्ञासा निरुपण गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले कोभिड-१९ को संक्रमण नियन्त्रण तथा रोकथाममा निर्वाह गरेको भूमिका प्रशंसनीय रहेको बताउनुभयो । नेपाल प्रहरीमा नीतिगत सुधारका लागि विविध प्रयासहरू गरेको चर्चा गर्दै उहाँले प्रहरी ऐन तथा प्रहरी नियमावली अनुसार नेपाल सरकार र तालुक मन्त्रालयले गरेको निर्णयलाई कार्यान्वयन गर्दै काम गरिएको बताउनुभयो । कार्यक्रममा नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णु कुमार केसीले प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको कार्यकालका प्रमुख उपलब्धीहरू सहितको कार्य प्रगती विवरण प्रस्तुतीकरण गर्नुभयो । प्रस्तुतीकरणको क्रममा प्रहरी वरिष्ठ उपरीक्षक केसीले नेपाल प्रहरी कार्ययोजना २०७७, आर्थिक वर्ष २०७७/७८ र आर्थिक वर्ष २०७८/७९ मा वार्षिक कार्यसम्पादन सम्झौता तथा अनुगमन प्रणाली कार्यान्वयन, नीतिगत सुधार तथा कार्यक्रमहरू, भवन निर्माण, तालिम, अन्वेषणमा आधारित योजना निर्माण र कार्यान्वयन प्रणाली कार्यान्वयन, अपराध नियन्त्रण तथा अनुसन्धान, अन्तर्राष्ट्रिय प्रहरी समन्वय, समुदाय-प्रहरी साझेदारी कार्यक्रम, कोरोना रोकथाम तथा नियन्त्रण, नेपाली सेनाबाट नेपाल प्रहरीलाई हतियार हस्तान्तरण, वैदेशिक सहायता, कल्याणकारी कार्यक्रमबारे विश्लेषण सहित जानकारी दिनुभयो ।कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र उपस्थित सञ्चारकर्मीहरू बीच समसामयिक बिषयमा छलफल तथा अन्तरक्रिया समेत भएको थियो ।उक्त अवसरमा प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्य, वरिष्ठ प्रहरी अधिकृतहरूको साथै सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो । 

संगठनको हितको लागि निष्पक्ष भएर जिम्मेवारी वहन गर्नुपर्ने - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७९-०१-१४

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरूले संगठनको हितको लागि विधि सम्मत रूपले इमान्दारीता, निष्ठा र पूर्ण व्यावसायिकतासाथ निष्पक्ष रही आ-आफ्नो जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभएको छ ।नेपाल प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा भिडियो कन्फ्रेन्स मार्फत् बुधबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी प्रदेश कार्यालयका प्रमुखहरू, संघीय प्रहरी ईकाइ कार्यालयका प्रमुखहरू, जिल्ला प्रहरी कार्यालयहरूका प्रमुख तथा ट्राफिक प्रहरी कार्यालयका प्रमुखहरूलाई निर्देशन सम्बोधनको क्रममा उक्त कुरा बताउनुभएको हो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले एकै चरणमा हुन लागेको स्थानीय तह निर्वाचनलाई शान्तिपूर्वक एवम् निष्पक्ष रुपमा सम्पन्न गराउन सम्पूर्ण प्रहरी कर्मचारीहरूले आ-आफ्नो तर्फबाट पूर्ण सजगताका साथ भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो । सबै प्रहरी कर्मचारीहरू दरिलो हुन र निर्धक्क भएर कार्यसम्पादन गर्नुपर्ने उहाँले बताउनुभयो । सबै प्रदेश प्रहरी कार्यालयहरुले एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आफ्नो कार्यकालमा संगठनको हित तथा सुधारको लागि सामूहिक रूपमा गरेको कार्यसम्पादनमा सबै प्रहरी कर्मचारीहरूले देखाएको ऐक्यबद्धता एवम् निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो । संगठनको प्रणाली, कार्यविधि, नीति लगायत संगठनको सुधारको निम्ति तयार गरिएको कार्ययोजना एवम् मापदण्ड लागू गर्न सबै प्रहरी कर्मचारीहरूको भूमिका रहने उल्लेख गर्दै उहाँले आगामी दिनमा समेत स्वअनुशासन र चरित्र अंगिकार गर्दै थप क्रियाशील रहन आग्रह गर्नुभयो ।कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायतको उपस्थितिको साथै सहभागी प्रहरी कार्यालयहरूका प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन
२०७९-०१-०९

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका चार जना प्रहरी नायव महानिरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७९ वैशाख ८ गतेको निर्णयले प्रहरी वरिष्ठ उपरीक्षकबाट प्रहरी नायव महानिरीक्षक पदमा पदोन्नति हुनुभएका नल प्रसाद उपाध्याय, मोहन कुमार आचार्य, राजेन्द्र प्रसाद चौधरी र मसाउद आलम खाँलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व संगठनको श्रीवृद्धिको लागि निर्वाह गर्नुपर्ने बताउनुभयो । आगामी निर्वाचन भयरहित, निष्पक्ष र विधिवत तवरले सम्पन्न गर्न आफू मातहत प्रहरी कर्मचारीको नेतृत्व गर्न पदोन्नति भएका प्रहरी नायव महानिरीक्षकहरूलाई उहाँले निर्देशन दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक नल प्रसाद उपाध्यायले संगठनमा आवद्ध सदस्यहरू मार्फत भाइचारा र सहयोगात्मक भावनालाई बढाउँदै संगठनको श्रीवृद्धिका लागि सदैव क्रियाशील रहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

वार्षिक तालिम क्यालेण्डर तर्जुमा सम्बन्धी तीन दिवसीय गोष्ठी समापन
२०७९-०१-०९

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आ.व. २०७८/०७९ को तालिम समीक्षा तथा चालु आ.व. ०७९/८० को लागि नेपाल प्रहरीको तालिम क्यालेण्डर तर्जुमा गोष्ठी शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच समापन भएको छ । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी जवान र प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको लागि मुद्रण गरिएका सम्पूर्ण म्यानुअलहरुको प्रतिनिधिमूलक रुपमा प्रहरी सहायक निरीक्षक आधारभूत तालिमको अपराध अनुसन्धान विषयको प्रशिक्षक निर्देशिका र प्रशिक्षार्थी निर्देशिका बिमोचन गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी सेवामा प्रवेश भएका नयाँ जनशक्तिलाई प्रहरीको काम, कर्तव्य र संगठनले निर्धारण गरेको उद्देश्य प्राप्तिका लागि तालिम प्रदायक संस्थाहरुले आधुनिक प्रशिक्षण विधिलाई अवलम्बन गर्दै लैजानुपर्ने बताउनुभयो । आधुनिकीकरणसँगै बढ्दो अपराधिककरणलाई सहजरुपमा अनुसन्धान गर्नका लागि प्रहरी कर्मचारीहरुलाई कामको प्रकृति अनुसार तालिम प्रदान गरेमा अपराध अनुसन्धान तथा न्यूनीकरण गर्न थप सहज हुने उहाँले उल्लेख गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिम प्रदायक संस्थाहरुले प्रहरी सम्बन्धि ज्ञानमात्र नभई प्रहरी सेवामा चाहिने भाइचारा, स्वअनुशासन, आफ्नो कर्तव्यप्रति निष्ठावान र नैतिक शिक्षा प्रदान गर्न सदैव क्रियाशील हुनुपर्नेमा जोड दिनुभयो । समाजले चाहे अनुरुपको सेवा प्रदान गर्न र कार्यक्षेत्रमा देखिएका कमि कमजोरीलाई न्यूनीकरण गर्नका लागि तालिम प्रदायक संस्थाहरुले सोही अनुरुप पाठ्यक्रम तर्जुमा गरी प्रहरी जनशक्तिलाई तालिम प्रदान गर्नुपर्ने उहाँले चर्चा गर्नुभयो । सो अवसरमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्दै आगामी दिनहरुमा संचालन हुने तालिम कार्यक्रमहरुलाई व्यवस्थित रुपमा संचालन गर्न र कार्यक्षेत्रमा विद्यमान चुनौतीहरुलाई सामना गर्न सक्ने सीपयुक्त एवं व्यावसायिक प्रहरी जनशक्तिको विकास गर्न यस तालिम क्यालेण्डर तर्जुमा गोष्ठी फलदायी रहने विश्वास व्यक्त गर्नुभयो ।  प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा.देव बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्रतिष्ठानका उप-निर्देशक तथा तालिम शाखा प्रमुख प्रहरी उपरीक्षक तारा देवी थापाले गोष्ठीको सार संक्षेप एवम् आगामी वर्षको तालिम योजना सहितको प्रस्तुतीकरण गर्नुभएको थियो । प्रस्तुतीकरण पश्चात प्रहरी अधिकृतहरुले सुझाव तथा टिप्पणी गर्नुभएको थियो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा संचालित तीन दिवसीय उक्त गोष्ठीमा प्रतिष्ठानका साथै प्रदेश प्रहरी तालिम केन्द्रहरू, जुनियर प्रहरी अधिकृत शिक्षालय भरतपुर लगायत देशभरका अन्य प्रशिक्षण कार्यालयहरूका प्रमुख, तालिम शाखा प्रमुख तथा प्रतिनिधिहरुको सहभागितामा सेवाकालीन तालिमका विषयमा विभिन्न चरणमा घनीभूत छलफल भएको   थियो ।  समापन समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत बरिष्ठ प्रहरी अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।

नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव सम्पन्न
२०७८-१२-२७

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा आइतबार आयोजित कार्यक्रमबीच नेपाल प्रहरी अस्पताल महाराजगंजको ३८औं वार्षिकोत्सव समारोह सम्पन्न भएको छ ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पताल परिसरमा रहेको पूर्व प्रहरी अधिकृत प्रतिक्षालयको उद्‍घाटन गर्नुभयो । साथै उहाँले पूर्व प्रहरी तथा बहालवाला प्रहरी परिवारको उपचारको लागि प्रहरी कल्याण कोषले अस्पताललाई प्रदान गरेको २ करोड रुपैयाँको चेक अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण समेत गर्नुभयो । अस्पतालको विविध गतिविधि र स्वास्थ्यमूलक लेखहरु समेटेर प्रकाशन गरिएको वार्षिक स्मारिका ‘अस्पताल दर्पण २०७८’ र Nepal Medical Journal को समेत उहाँले लोकार्पण गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अस्पतालको सेवा प्रवाहमा अविश्मरणीय योगदान गर्दै २५ वर्ष अनवरत सेवा गर्नुहुने प्रहरी कर्मचारीहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।  साथै भिजिटिङ कन्सल्टेन्ट डा. विकल घिमिरे तथा अस्पतालको सेवा प्रवाहमा महत्वपूर्ण योगदान पुर्‍याउने महानगरीय सशस्त्र प्रहरी गण महाराजगंज र संघ संस्थालाई प्रशंसापत्र एवम् कार्य सम्पादन र सेवा प्रवाहको आधारमा उत्कृष्ट बिभाग अन्तर्गत अर्थोपेडिक विभागलाई शिल्ड तथा प्रशंसापत्र र अस्पतालका उत्कृष्ट प्रहरी कर्मचारीहरुलाई नगद पुरस्कार समेत उहाँले प्रदान गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी अस्पताललाई अहिलेको अवस्थामा ल्याउन पूर्व महानिरीक्षकहरुले निर्वाह गरेको योगदानको प्रशंसा गर्नुभयो । साथै कोभिड-१९ को संक्रमणका समयमा नेपाल प्रहरी अस्पतालले देखाएको लगन र निष्ठा उल्लेखनीय भएको बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आगामी दिनमा नेपाल प्रहरी अस्पतालबाट प्रवाह हुने सेवा अझै उत्कृष्ट हुने विश्वास व्यक्त गर्नुभयो । नेपाल प्रहरी अस्पतालको विद्यमान सेवाहरुलाई अझ व्यवस्थित गर्न र अस्पतालको दीर्घकालीन विकासका लागि प्रहरी प्रधान कार्यालय प्रतिवद्ध रहेको समेत उहाँले बताउनुभयो ।  सो अवसरमा नेपाल प्रहरी श्रीमती संघको तर्फबाट संघकी अध्यक्ष सिर्जना थापाले Combo ultrasound TENS and IFT Physiotherapy Machine अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहलाई हस्तान्तरण गर्नुभयो । साथै संघकी अध्यक्ष तथा संघका पदाधिकारीहरुले अस्पतालमा उपचाररत बिरामीहरुलाई फलफुल समेत वितरण गर्नुभएको थियो । समारोहमा अस्पतालका मेडिकल डाइरेक्टर प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. आशा सिंहले धन्यवाद ज्ञापन व्यक्त गर्दै नेपाल प्रहरी अस्पतालमा आउने सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन नेपाल प्रहरी अस्पताल सदैव प्रतिवद्ध रहेको बताउनुभयो । नेपाल प्रहरी अस्पतालका प्राविधिक प्रहरी नायव महानिरीक्षक डा.रामकृष्ण राजभण्डारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक छायाँ देवी गुरूङले स्त्री तथा प्रसुती सेवा सम्बन्धी प्रस्तुतीकरण तथा प्राविधिक प्रहरी उपरीक्षक रामेश्वर अधिकारीले अस्पतालको वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । समारोहमा पूर्व प्रहरी महानिरीक्षकहरु, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, पूर्व मेडिकल डाइरेक्टरहरु, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, प्रहरी अधिकृतहरु, भिजिटिङ कन्सल्टेन्टहरु लगायत आमन्त्रित महानुभावहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
२०७८-१२-२६

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको चैते दशैंका अवसरमा शनिबार प्रहरी प्रधान कार्यालय, सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नुभयो ।पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निसानमा पञ्जा छाप समेत लगाउनु भएको  थियो । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलोपूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी सहायक हवल्दार राम कुमार कार्कीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो । पूजा बिसर्जनपछि मूलकोत हुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।नेपाल प्रहरीको निशान नेपाली सेनाको रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मुख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष चिन्ह अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र चिन्ह अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षाका साथै अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा कमाण्डो तालिमको दिक्षान्त समारोह सम्पन्न
२०७८-१२-२२

नवलपरासी (पश्चिम), नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह नवलपरासी (पश्चिम) मा संचालित सातौं समूहको प्रहरी विशेष कला तथा कारवाही (कमाण्डो) तालिमको दिक्षान्त समारोह प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा सोही महाविद्यालयमा मंगलबार सम्पन्न भएको छ । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तालिममा सहभागी प्रशिक्षार्थीहरूमध्ये तालिमको विभिन्न विधामा सर्वोत्कृष्ट स्थान हासिल गर्ने प्रशिक्षार्थीहरूलाई पुरस्कार प्रदान गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सम्बोधनको क्रममा प्रशिक्षार्थीहरूलाई तालिममा हासिल गरेका युक्तिहरूलाई व्यक्तिगत लाभ भन्दा पनि नागरिकको सुरक्षाको लागि प्रयोग गरी नागरिकले सुरक्षाको अनुभूति गर्ने गरी अदम्य साहस र उर्जाका साथ कार्यसम्पादन गर्न निर्देशन दिनुभयो । सवै प्रहरी कर्मचारीले आफ्नो पेशाप्रति गर्व गर्नुपर्ने चर्चा गर्दै उहाँले स्वअनुशासनको पालना गर्दै संगठनको छविलाई उच्च राख्न लाग्नुपर्नेमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई निर्देशन समेत दिनुभयो । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंज काठमाडौंका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त समारोहमा नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक मसऊद आलम खाँले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  समारोहमा तालिम संयोजक प्रहरी नायव उपरीक्षक मेख बहादुर कुँवरले तालिम सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै जम्मा ९० कार्यदिन अवधिको उक्त तालिममा प्रहरी निरीक्षक ४ जना, प्रहरी सहायक निरीक्षक ८ जना र प्रहरी जवान ९२ जना गरी जम्मा १ सय ४ जनाको सहभागिता रहेको जानकारी दिनुभयो । उक्त समारोहमा प्रशिक्षार्थीहरुले इमिडियट एक्सन ड्रिल अन्तर्गत फायर एण्ड मुभ अभ्यास, होस्टेज रेस्क्यू अपरेसन डेमोन्स्ट्रेसन, स्याण्ड मोडल बिफ्रिङ, हतियार खोलजोड डेमोन्स्ट्रेसन, बाधापार डेमोन्स्ट्रेसन तथा अनआर्म कम्ब्याट समेत प्रदर्शन गरेका थिए । समारोहमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूको समेत उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन
२०७८-१२-१७

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा बिहीबार आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।नेपाल सरकार मन्त्रिपरिषद्को २०७८ चैत १७ गतेको निर्णयले चैत ८ गतेबाट लागू हुने गरी प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति हुनुभएका बसन्तकुमार पन्त, धिरज प्रताप सिंह र रबिन्द्र बहादुर धानुकलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति हुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूलाई बधाई दिँदै पदोन्नतिपछि प्राप्त नयाँ जिम्मेवारी र उत्तरदायित्व वहन गर्नको निम्ति सफल हुने विश्वास समेत व्यक्त गर्नुभयो । पदोन्नति हुनुभएका  प्रहरी अतिरिक्त महानिरीक्षकहरूले आगामी दिनमा देखाउनु हुने कर्तव्यपरायणता र ईमान्दारीताले पदोन्नतिलाई सिद्ध गर्ने उहाँले चर्चा गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठनको थप सुदृढीकरण र विकासका लागि आगामी दिनमा नीति निर्माण एवम् संगठनले अख्तियार गर्नु पर्ने अग्रगामी मार्ग प्रशस्त गर्न, अख्तियारीमा रहेका काम र कार्यविधिहरूलाई थप अध्यावधिक गर्ने लगायतका बिषयमा पदोन्नतिहुनुभएका प्रहरी अतिरिक्त महानिरीक्षकहरूले संगठनलाई योगदान पुर्‍याउनुहुनेमा विश्वास समेत व्यक्त गर्नुभयो । कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक बसन्तकुमार पन्तले संगठन र संगठनमा आवद्ध सदस्यहरूको लागि हक हित र श्रीवृद्धिका लगि सदैव प्रतिवद्ध रहेन उल्लेख गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट उदयपुरमा नवनिर्मित भवनहरुको उद्‌घाटन
२०७८-११-३०

उदयपुर, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित कार्यालय, व्यारेक, हिरासत कक्ष, कार्यालय प्रमुखको निवास, सिनियर प्रहरी अधिकृत आवास, प्रहरी भान्साघर तथा नागरिक सहायता कक्षको सोमबार आयोजित कार्यक्रमबीच उद्घाटन गर्नुभएको छ । उहाँले उक्त भवनहरूको निरीक्षण गर्नुका साथै भवन निर्माण कार्यमा उल्लेखनीय योगदान पुर्‍याउने महानुभावहरुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नयाँ भवनबाट पाउने प्रहरी सेवाको आशा नागरिकमा पनि बढ्ने भएकोले प्रहरीले प्रदान गर्ने सेवाको गुणस्तरलाई अझ प्रभावकारी बनाउनुपर्ने उल्लेख गर्नुभयो । चौबिसै घण्टा ड्युटीमा खटिनुपर्ने प्रहरी कर्मचारीहरुलाई नयाँ भौतिक सुबिधाले थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सृजना गर्ने विचार व्यक्त गर्दै थप जोश र उर्जाका साथ प्रहरी काम कारवाहीलाई अगाडि बढाउन कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो । सुरक्षा भनेको नागरिक र प्रहरीको संयुक्त जिम्मेवारी भएकाले अपराध नियन्त्रण कार्यमा प्रहरीलाई सहयोग गर्न उहाँले उपस्थित सर्वसाधारणलाई अनुरोध समेत गर्नुभयो ।              उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले धन्यवाद ज्ञापन गर्दै सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै प्रहरीद्वारा आम नागरिकलाई चुस्त दुरुस्त तथा थप प्रभावकारी ढंगले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफू बिश्वस्त रहेको बताउनुभयो । कार्यक्रममा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादब, त्रियुगा नगरपालिकाका प्रमुख बलदेव चौधरी तथा पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले शुभकामना मन्तब्य राख्नु भएको थियो ।त्रियुगा नगरपालिका-१० बोक्सेस्थित जिल्ला प्रहरी कार्यालय उदयपुरको हाताभित्र नवनिर्मित उक्त भवनहरू नेपाल सरकारको नियमित बजेटबाट कूल ९ करोड ४९ लाख ९६ हजार ६ सय ६८ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । उक्त कार्यक्रममा संघीय प्रहरी ईकाई कार्यालय धरानका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बिकासराज खनाल, विभिन्न सरकारी कार्यालयका जिल्लास्थित प्रमुख तथा प्रतिनिधि, बिभिन्न राजनैतिक दलका प्रतिनिधि, स्थानिय बुद्धिजीवी, समाजसेवी तथा प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न
२०७८-११-२८

चितवन, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शनिबार चितवनमा आयोजित कार्यक्रममा 'बाह्‍य प्रशिक्षक कार्यशाला तथा अवलोकन भ्रमण कार्यक्रम - २०७८' सम्पन्न भएको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको आयोजनामा बुधबारदेखि युनिक वाइल्ड रिसोर्ट सौराहा चितवनमा उक्त कार्यशाला सञ्चालन भएको थियो ।कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरीका प्रशिक्षण प्रदायक सबै इकाईहरूमा बाह्‍य प्रशिक्षणको सवालमा एकरूपता कायम गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रशिक्षार्थीहरूलाई ज्ञानको साथै अनुशासन, सीप र धारणामा केन्द्रित भएर प्रशिक्षण प्रदान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । साथै भर्ना छनौटलाई पारदर्शी बनाउन प्रशिक्षण प्रदायक सबै इकाईहरूलाई उहाँले निर्देशन समेत दिनुभयो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा बागमती प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्कीले छलफल तथा प्रस्तुतीकरणमा उठेका बिषयहरूमा टिप्पणी गर्नुभएको थियो ।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र प्रतिष्ठानको प्रत्यक्ष मातहतमा रहेका नेपाल प्रहरी शिक्षालय भरतपुर, नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह, सातवटै प्रदेश प्रहरी तालिम केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालय महाराजगंज समेतका प्रमुखहरु, बाह्‍य प्रशिक्षकहरू तथा व्यवस्थापकीय समूहको सहभागिता रहेको उक्त कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्री र सहभागी अधिकृतहरूबीच छलफल समेत भएको थियो ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न
२०७८-१०-२८

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक समारोहबीच राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको ६६औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले अनवरत रुपमा उक्त प्रतिष्ठान र अपराध अनुसन्धान विद्यालयमा सेवारत रहि घटनास्थल अनुसन्धान अधिकृत तालिम र अनुसन्धानात्मक अन्तर्वार्ता तालिमको थालनी एवं नेपाल प्रहरीको प्रशिक्षण विकासमा विशेष योगदान पुर्‍याउनु हुने अवकाश प्राप्त प्रहरी उपरीक्षक जयबिष्णु नेपालीलाई ‘लाईफ टाइम एचिभमेन्ट अवार्ड’ प्रदान गर्नुभयो । सोही अवसरमा उहाँले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजद्वारा प्रकाशित ‘प्रेरणा-२०७८’ को लोकार्पण समेत गर्नुभयो । समारोहमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साइबर युगको वर्तमान अवस्थामा साइबर युगलाई अभ्यास गर्ने गरी अपराध अनुसन्धानको पद्धतिलाई विकास गर्नुपर्ने बताउनुभयो । नेपाल प्रहरीले प्रशिक्षण पद्धतिमा परम्परागत प्रणालीको साथै आधुनिकतालाई पनि सम्बोधन गर्ने किसिमले प्रविधिप्रति दक्ष जनशक्ति उत्पादनका लागि आवश्यक पर्ने पाठ्यक्रम तथा पाठ्य सामग्रीहरु निर्माण गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरीले सर्वसाधरणलाई गर्नुपर्ने व्यवहारलाई मानवोचित बनाउन प्रशिक्षणका दौरान मानवोचित धर्म र कर्मलाई कसरी अक्षुण राख्ने भनि प्रशिक्षण दिनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।   उक्त अवसरमा प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले धन्यवाद ज्ञापन व्यक्त गर्दै वर्तमान अवस्थामा वैकल्पिक प्रशिक्षण विधि तथा प्रशिक्षणमा प्रविधिको प्रयोग हेतू प्रतिष्ठानले यस आर्थिक वर्षदेखि नेपाल प्रहरीको तालिम क्यालेण्डरमा नै राखी अनलाईन तालिमहरू सञ्चालन गरेको जानकारी दिनुभयो ।  सोही प्रतिष्ठानका निर्देशक प्रहरी नायव महानिरीक्षक डा. देब बहादुर बोहराले स्वागत मन्तव्य व्यक्त गर्नुभएको समारोहमा पिजिडिपिएस कार्यक्रमका सल्लाहकार प्रा.डा. राजीव विक्रम राणा, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु, सशस्त्र प्रहरी बल कमाण्ड तथा स्टाफ कलेजका सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरु, विभिन्न प्रशिक्षण संस्थाका प्रतिनिधिहरु लगायत प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

चेलीबेटी बेच-बिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ गीतको अडियो भिडियो हस्तान्तरण
२०७८-१०-१७

काठमाडौं, शुभ मिडिया होम प्रालिले तयार गरेको हरिवंश आचार्यको शब्द, संगीत र स्वरमा चेलीबेटी बेच-बिखन सम्बन्धी सचेतना जगाउने ‘कर्कलो कोक्याउला’ बोलको अडियो भिडियो गीत प्रहरी प्रधान कार्यालयलाई प्रदान गरिएको छ । उक्त श्रव्य दृश्य सामग्री प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमका बीच प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई वरिष्ठ हास्य कलाकार हरिवंश आचार्यले हस्तान्तरण गर्नुभएको हो ।समाजमा विभिन्न खालका परिवर्तित शैलीबाट चेलीबेटी बेच-बिखनका घटनाक्रमहरू भइरहेका छन् । गरिबी बेरोजगारी तथा अपेक्षाकृत जीवन व्यतीत गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । यस सन्दर्भमा समाजमा सचेतना अभिवृद्धि गरी मानब बेच-बिखनका घटनाहरू रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले यस श्रव्य दृश्य सामग्रीलाई प्रहरी कार्यालयहरुले आ-आफ्ना कार्यालय तथा समुदाय प्रहरी साझेदारी कार्यक्रमहरूमा व्यापक रुपमा प्रचार प्रसार गर्नेछन् । हस्तान्तरण कार्यक्रममा शुभ मिडिया होम प्रालिका अध्यक्ष सरोज ओली एवं नेपाल प्रहरीका वरिष्ठ अधिकृतहरू समेतको उपस्थिति रहेको थियो ।

प्रविधिमैत्री र सुविधा सम्पन्न प्रहरी भवन निर्माण गर्दै लगिने - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-१०-१६

गोरखा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आगामी दिनमा प्रविधिमैत्री एवम् सुविधा सम्पन्न प्रहरी भवनहरु निर्माण गर्दै लैजाने प्रहरी संगठनको नीतिलाई कार्यान्वयन गर्दै लगिने बताउनुभएको छ ।  जिल्ला प्रहरी कार्यालय गोरखा परिसरमा नवनिर्मित कार्यालय भवन, हिरासत, कार्यालय प्रमुख निवास, प्रहरी कर्मचारीहरुको लागि व्यारेक भवन, मेस भवन र सिनियर अधिकृत आवास भवनको आइतबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो ।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवनहरुको प्रयोग गरी प्रहरी कर्मचारीबाट गुणस्तरीय प्रहरी सेवा सञ्चालन गर्न सहज हुने अपेक्षा व्यक्त गर्नुभयो । प्रतिकूलताको बिचमा अनुकूलता ल्याउने मुख्य दायित्व प्रहरीको भएकोले आम नागरिकलाई पारदर्शी र प्रभावकारी प्रहरी सेवा प्रदान गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले तल्लो तहका प्रहरी कर्मचारीहरुको वृत्ति विकास र सुविधालाई बिशेष ख्याल गरेर लैजाने प्रतिबद्धता व्यक्त गर्दै ऐतिहासिक जिल्ला गोरखामा कार्यरत प्रहरी कर्मचारीहरुबाट गुणस्तरीय प्रहरी सेवा सहित प्रहरी पेशालाई मर्यादित र स्वाभिमानको पेशाको रुपमा अंगिकार गर्नुपर्ने तथा नागरिकहरुबाट पनि प्रहरी कार्यमा सहयोग र समन्वय गर्न आवश्यक भएको उल्लेख गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २०१२ सालमा नेपाल प्रहरीमा सेवा प्रवेश गरी ३३ वर्ष सेवा पूरा गरी अवकाश प्राप्त पूर्व प्रहरी नायव निरीक्षक ८६ वर्षीय नारायण भक्त अर्याललाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने जिल्ला समन्वय समितिको कार्यालय गोरखा, गोरखा नगरपालिकाको कार्यालय गोरखा र रोयल कन्‍सट्रक्सन धनगढी कैलालीलाई कदरपत्र प्रदान गर्नुभयो ।  गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै गुणस्तरीय प्रहरी सेवा प्रदान गर्नका लागि प्रहरीको भौतिक संरचना विस्तार गर्दै लैजानुपर्ने आवश्यकता रहेको बताउनुभयो ।  गोरखा जिल्लाका प्रमुख जिल्ला अधिकारी शंकर हरि आचार्य, गोरखा नगरपालिकाका प्रमुख राजन राज पन्त र नेपाल पत्रकार महासंघ गोरखा शाखाका अध्यक्ष नरहरि सापकोटाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी उपरीक्षक शेखर खनालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कूल ९ करोड २५ लाख ९३ हजार ४ सय ६२ रुपैयाँ ९४ पैसाको लागतमा उक्त भवनहरुको निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । उद्‌घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय गोरखा तथा मातहत कार्यालयमा कार्यरत प्रहरी अधिकृत तथा जवानहरुलाई समसामयिक बिषयमा निर्देशन दिँदै प्रहरी पेशालाई मर्यादित बनाउँदै आफ्नो व्यावसायिक वृत्ति विकासलाई समेत बिशेष ख्याल गरी नागरिकहरुलाई मुस्कान सहितको छिटो छरितो र गुणस्तरीय प्रहरी सेवा प्रदान गर्न प्रतिबद्ध हुनुपर्ने बताउनुभयो ।      

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०७८-१०-१४

कास्की,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय कास्की परिसरमा नवनिर्मित दुईवटा प्रहरी व्यारेक, प्रहरी मेश र हिरासत गरी छुट्टाछुट्टै चारवटा सुविधायुक्त भवनको शुक्रबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो ।  सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग गर्ने विभिन्न संघसंस्था, निर्माण व्यवसायी तथा जिल्लामा उत्कृष्ट कार्य गर्ने  प्रहरी अधिकृत तथा जवानहरुलाई कदरपत्र प्रदान गर्नुभयो ।  कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले साधन श्रोतको अभावमा अपेक्षित सेवा दिन नसकिने उल्लेख गर्दै समय सापेक्ष नविनतम प्रविधिसंगै पूर्वाधार निर्माण गरी प्रहरी संगठनलाई बलियो बनाउनुपर्ने बताउनुभयो । नागरिकको सुरक्षा एवम् संविधानको रक्षार्थ प्रहरी संगठनलाई पूर्वाधार सम्पन्न गराउनु पर्नेमा उहाँले जोड दिनुभयो ।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पूर्वाधारले सेवा प्रवाहमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै प्रहरी संगठनको लोकप्रियताकै कारण देशमा हाल ६ सय २७ प्रहरी युनिटहरु थप गर्न माग गरिएको जानकारी दिनुभयो । आफ्नो इमान्दारिता र जिम्मेवारीलाई सबैले आत्मसात गर्नुपर्ने आवश्यकता औल्याउँदै उहाँले कुनै पनि प्रहरी कर्मचारी आफ्नो काममा नचुकेमा संगठन झुक्न नपर्ने विचार व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले आम सर्वसाधारणले प्रहरी संगठनप्रति आशा एवम् विश्वास गरेको प्रसंग उल्लेख गर्दै राष्ट्रको शान्ति सुरक्षाको जिम्मा लिएको प्रहरी संगठनलाई सामाजिक सञ्जालमा देखिएका टिकाटिप्पणीका आधारमा मूल्यांकन गर्न नहुने उल्लेख गर्नुभयो । उक्त अवसरमा पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले शान्ति सुरक्षालाई प्रभावकारी बनाउन प्रहरी संगठनलाई पनि पुर्वाधार एवम् प्रविधि सम्पन्न बनाउनु पर्नेमा जोड दिंदै महानगरपालिकाले पुर्वाधार सम्पन्न बनाउन आफ्नो तर्फबाट निरन्तर साथ र सहयोग गरिरहेको बताउनुभयो । सोही अवसरमा कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले जनताको जिउ धनको सुरक्षार्थ खटिने प्रहरी पुर्वाधार अभावका कारण आफै असुरक्षित हुने अवस्था हुन नहुनेमा जोड दिंदै त्यसका लागि राज्यले आवश्यकता अनुसारको पुर्वाधारहरु तयार गरिदिनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रमुख प्रहरी नायव महानिरीक्षक दिवेश लोहनीले प्रहरीले सांगठानिक जिम्मेवारी पूरा गर्दै संघ र प्रदेश सरकारको आर्थिक सहयोगमा आवश्यकता अनुसार भौतिक पुर्वाधार निर्माण कार्यलाई निरन्तरता दिंदै आएको जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक रमेश थापाले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्राविधिक प्रहरी नायव उपरीक्षक केविनजंग थापाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल सरकारको कूल ७ करोड ६ लाख ११ हजार ८ सय ४२ रुपैयाको लागतमा निर्माण कार्य सम्पन्न भएका उक्त भवनहरुमा महिला तथा पुरुष व्यारेक, सिनीयर र जुनियर कर्मचारी व्यारेक, दुई वटा महिला सहित पाँच वटा हिरासत कक्ष, ८० जना क्षमताको मेशको निर्माण गरिएको जानकारी दिनुभयो । उद्‌घाटन कार्यक्रम पश्चात प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा लगायत पोखरास्थित विभिन्न प्रहरी कार्यालयका प्रहरी अधिकृत तथा जवानहरुलाई समसामयिक बिषयमा आवश्यक निर्देशन समेत दिनुभएको थियो । 

नेपाल प्रहरीको अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सम्पन्न
२०७८-१०-१०

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको उपस्थितिमा नेपाल प्रहरीको आ.व. २०७८/०७९ को अर्धवार्षिक कार्य प्रगति समीक्षा कार्यक्रम सोमबार प्रहरी प्रधान कार्यालयमा भर्चुअल रुपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको सकृयताका कारण फैसला कार्यान्वयन, जघन्य अपराध, तस्करी नियन्त्रण तथा अनुसन्धानका क्षेत्रमा सकारात्मक प्रगति भएको तथ्याङकले देखाएको चर्चा गर्दै सवारी दुर्घटना, लैंगिक हिंसाका घटनाहरुको न्यूनिकरण तथा अनुसन्धान एवम् हिरासत व्यवस्थापनमा अझ संवेदनशील तथा गम्भीरताका साथ परिचालन हुनुपर्नेमा जोड दिनुभयो । नागरिक सेवा एवम् मुलुकमा शान्ति सुव्यवस्था कायम गर्दै वस्तुनिष्ठ अपराध अनुसन्धान गर्न तथा कोभिड-१९ महामारीको समयमा समेत प्रहरी कर्मचारी विचलित नभई कार्य सम्पादन गर्न भर्चुअल रुपमा उपस्थित सबै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरुलाई निर्देशन दिनुभयो । पीडितले समयमै न्यायको आभाष गर्न सकेको अवस्थामा प्रहरीप्रतिको उनीहरुको भरोसा बढेर जाने भएकोले त्यसप्रति संवेदनशील भई कार्य गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मुद्दाको अनुसन्धान पश्चात अदालतमा गर्नुपर्ने बकपत्रको बिषय समेत अत्यन्तै संवेदनशील हुने भएकोले त्यसप्रति सचेत भई कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो ।   कोभिड-१९ संकट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश अनुसार काम कारवाही गर्न गराउन उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कोभिड-१९ को जोखिम न्यूनिकरण तथा रोकथामको लागि सबै प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुनुपर्ने बताउनुभयो ।   समीक्षा कार्यक्रममा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रतिनिधि, सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुले भर्चुअल रुपमा उपस्थित भई शान्ति सुरक्षाको प्रभावकारी व्यवस्थापन र सुधार, प्रभावकारी अपराध अनुसन्धान तथा प्रविधियुक्त अनुसन्धान प्रणाली विकास, ट्राफिक व्यवस्थापन सुधार, आर्थिक अनुशासन र पारदर्शिता, गुनासो व्यवस्थापन, भौतिक पूर्वाधार र स्रोत साधनको व्यवस्थापन, मानवस्रोतको व्यवस्थापन प्रणाली विकास, नागरिक केन्द्रीत प्रहरी सेवा प्रवाहमा सुदृढीकरण, मानवअधिकार संरक्षण र सम्वर्द्धन, सुरक्षा निकाय तथा अन्य निकायहरुको समन्वयमा प्रभावकारिता, विपद् व्यवस्थापन क्षमता अभिवृद्धि, नविनतम् कार्यको सुरुवात तथा कार्यान्वयन र अन्य उल्लेखनीय प्रयास तथा उपलब्धीबारे सम्पन्न भएका कार्यहरु सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी कर्मचारीहरुको उपस्थितिको साथै सात वटै प्रदेश प्रहरी कार्यालयका प्रमुखहरू तथा प्रतिनिधिको भर्चुअल उपस्थिति रहेको थियो ।

विभिन्न पदमा हालै पदोन्नति भएका २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७८-१०-०३

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको निर्णय अनुसार प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको निर्णय अनुसार प्राविधिक प्रहरी नायव उपरीक्षक र प्राविधिक प्रहरी निरीक्षक पदमा हालै पदोन्नति भएका २४ जनामध्ये २२ जना प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच पदोन्नति भएका प्रहरी अधिकृतहरुलाई दर्ज्यानी चिन्ह सुशोभन गर्नुभएको हो ।दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्रहरी नायव महानिरीक्षक पूजा सिंह, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक ई. राम कुमार चौधरी, ६ जना प्राविधिक प्रहरी नायव उपरीक्षकहरु र १४ जना प्राविधिक प्रहरी निरीक्षकहरु रहनुभएको छ ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई दिँदै पदोन्नतिसँगै थपिएको जिम्मेवारी वहन गर्न क्रियाशिल हुनुपर्ने उल्लेख गर्नुभयो । कोभिड-१९को बढ्दो संक्रमणप्रति संवेदनशील एवम् चनाखो भई आफू र आफ्नो मातहत प्रहरी कर्मचारी परिचालन गर्न उपस्थित प्रहरी अधिकृतहरुलाई निर्देशन दिँदै उहाँले समाजमा हुन सक्ने सुरक्षा चुनौतिप्रति सजग र सचेत भई शान्ति सुरक्षा कायम गर्न अझ क्रियाशिल हुनुपर्नेमा जोड दिनुभयो । उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक पूजा सिंहले पदोनन्तिसँगै थपिएको जिम्मेवारीलाई संगठनको गरिमा र महत्वलाई अझ सक्षम, सबल र सुदृढ बनाउन अग्रसर भई आ-आफ्नो स्थानबाट निष्ठापूर्वक र ईमान्दारीताका साथ खटिने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

हालै पदोन्नति भएका प्राविधिक प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित
२०७८-०९-२६

काठमाडौं, नेपाल सरकार गृह मन्त्रालय मन्त्रीस्तरको २०७८ पुस २३ गतेको निर्णयले पुस २१ गतेबाट लागू हुनेगरी प्राविधिक प्रहरी नायव महानिरीक्षक र प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक तथा नेपाल सरकार सचिवस्तरको २०७८ पुस २५ गतेको निर्णयले प्राविधिक प्रहरी नायव उपरीक्षक पदमा पदोन्नति भएका प्रहरी अधिकृतहरु दर्ज्यानी चिन्हद्वारा सुशोभित हुनुभएको छ ।  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले उक्त निर्णयबाट पदोन्नति भएका ४ जना प्राविधिक प्रहरी अधिकृतहरुलाई प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभित गर्नुभएको हो । दर्ज्यानी चिन्हबाट सुशोभित हुनेहरुमा प्राविधिक प्रहरी नायव महानिरीक्षक ई.फणिन्द्र बराल, प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकहरु डा. अभिमन्यु श्रेष्ठ तथा डा. बिपिन कुमार श्रेष्ठ र प्राविधिक प्रहरी नायव उपरीक्षक भुलाराज खनाल रहनुभएको छ ।  उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै पदोन्नतिसँगै थपिएको उर्जा, जिम्मेवारी र कर्तव्य परायणतालाई प्रहरी कर्मचारीहरूले थप मजबुत एवं व्यावसायिक बनाई काम गर्ने विश्वास व्यक्त गर्नुभयो । कोभिड-१९ को बढ्दो सङक्रमण लगायतका अन्य चुनौतिको सामना गर्न सुरक्षाको उचित प्रवन्ध गरी काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विगत पाँच महिनामा प्रहरीले गरेका कार्यहरूको समीक्षा गर्दै सो अवधिमा उल्लेख्य प्रगति भएको बताउनुभयो । प्राविधिक काम संगठनका लागि निकै महत्वपूर्ण हुने हुनाले संगठनको मूल्य, मान्यता र मापदण्डको पूर्ण पालना गर्दै पारदर्शी रुपमा काम गर्न प्रहरी कर्मचारीहरूलाई उहाँले निर्देशन दिनुभयो ।  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्राविधिक प्रहरी नायव महानिरीक्षक ई. फणिन्द्र बरालले पदोनन्तिसँगै थपिएको जिम्मेवारी पूरा गर्न परिस्कृत र पारदर्शी ढंगले निष्ठाका साथ उत्कृष्ठ काम गर्ने प्रतिवद्धता व्यक्त  गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो । 

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट प्राविधिक प्रहरी नायव महानिरीक्षकहरूलाई दर्ज्यानी चिन्ह सुशोभन
२०७८-०९-१८

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले हालै पदोन्नति हुनुभएका २ जना प्राविधिक प्रहरी नायब महानिरीक्षकहरूलाई प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभयो ।नेपाल सरकार गृह मन्त्रालय (मन्त्रीस्तर)को २०७८ पुस १६ गतेको निर्णयले पुस १४ गतेबाट लागू हुने गरी चिकित्सकतर्फ प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति हुनुभएका प्राविधिक प्रहरी नायब महानिरीक्षकद्वय डा. सञ्जय बिक्रम श्रेष्ठ र डा. गोपेश कुमार ठाकुरलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीले दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको हो ।  दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रममा उपस्थित प्रहरी अधिकृतहरूलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बिरामीलाई सेवा सुविधा तथा रोगको निदान गर्ने चिकित्सकको पेशागत धर्मलाई मनन गरी उनीहरूप्रति सदैव मर्यादित एवं देवतुल्य व्यवहार गर्नेतर्फ चनाखो हुनुपर्ने बताउनुभयो । पदोन्नतिसँगै जिम्मेवारी समेत बढ्ने भएकोले आफ्नो कार्य क्षमतालाई फराकिलो बनाई संगठनले खोजेको र सेवाग्राहीले पाउने उपचार पद्धतीलाई अझै उत्कृष्ट बनाउन आ-आफ्नो तर्फबाट पहल गर्न उहाँले निर्देशन दिनुभयो ।  प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सरुवा बढुवा लगायत सेवा सुविधाका लागि संगठनमा एउटा प्रणाली विकसित गरिएको चर्चा गर्दै हरेक प्रहरी कर्मचारीलाई नियम कानुन बमोजिम न्याय दिने संगठनको ध्येय रहेको बताउनुभयो । प्रहरी अस्पतालको सेवा तथा चिकित्सकको व्यवहारलाई स्मरणयोग्य बनाउनुपर्नेमा जोड दिनुपर्ने उल्लेख गर्दै पदोन्नती भएका प्रहरी अधिकृतहरूको व्यावसायिक सफलताको कामना समेत उहाँले गर्नुभयो ।  कार्यक्रममा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी नायव महानिरीक्षक डा. सञ्जय बिक्रम श्रेष्ठले पदोनन्तिले जे जति खुसी र गौरव प्रदान गरेको छ त्यो भन्दा बढी जिम्मेवारी बोध भएकोले जिम्मेवारीलाई हृदयदेखि मनन गरी पेशागत कार्यक्षमताका साथ उत्कृष्ट ढंगले काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अध्यक्षतामा MIPP को अन्तिम बैठक सम्पन्न
२०७८-०९-१६

काठमाडौं,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीको अध्यक्षतामा Modernization and Improvement of Policing Project (MIPP) को Steering Committee को अन्तिम बैठक प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।  बैठकमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले MIPP को अवधिमा प्रहरी संगठनलाई धेरै उपलब्धी भएको चर्चा गर्दै MIPP कार्यान्वयनमा नेपाल प्रहरीले व्यावसायिक क्षमता अभिवृद्धि, संस्थागत क्षमताको विकास तथा जनताको विश्वास सुनिश्चित गर्दै उल्लेखनीय प्रगति हासिल गरेको उल्लेख गर्नुभयो । नेपाल प्रहरी संगठनको विकासको लागि Integrated Program for Strengthening Security and Justice (IPSSJ) एवं MIPP जस्ता परियोजना धेरै नै महत्वपूर्ण रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बेलायत सरकार र अन्य सरोकारवाला संघसंस्थाले परियोजना कार्यान्वयन एवं प्रहरी संगठनको आत्मविश्वास, योग्यता र क्षमता विकास गर्न निर्वाह गरेको भूमिकाप्रति आभार प्रकट गर्नुभयो । आगामी दिनमा समेत अन्य परियोजनामा सहकार्य गर्दै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो । बैठकमा British Embassy नेपालका Deputy Head Of Mission Edward Roberts ले नेपाल प्रहरीसँगको सहकार्यमा MIPP कार्यान्वयनको अवधिमा सामना गरेका चुनौती बारेमा चर्चा गर्नुभयो । परियोजनाको महत्व एवं आगामी दिनमा समेत नेपाल प्रहरीसँग अन्य परियोजनामा सहकार्य गर्दै जाने उहाँले उल्लेख गर्नुभयो । प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका निर्देशक प्रहरी नायब महानिरीक्षक ईश्‍वर बाबु कार्कीले बैठकमा स्वागत मन्तव्य व्यक्त गर्दै MIPP को महत्व र उपलब्धीबारे चर्चा गर्नुभयो । गृह मन्त्रालयका सहसचिव डा. भिष्म कुमार भुसाल र केयर नेपालका Assistant Country Director मोना शेर्पाले MIPP परियोजनाको महत्वबारे चर्चा गर्नुभएको थियो । उक्त अवसरमा British Embassy नेपालका Peace, Security and Justice Adviser Mette Nielsen ले MIPP प्रोजेक्टको उपलब्धी, सिकाइ तथा भविष्यमा हुने साझेदारी सम्बन्धी तथा MIPP प्रोजेक्टको आयोजना प्रमुख कोमल कार्की र प्रहरी उपरीक्षक सविन प्रधानले MIPP प्रोजेक्टको कार्यान्वयनको अवस्था तथा प्रोजेक्टको समग्र प्रगति सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो । साथै कार्यक्रममा परियोजना कार्यान्वयन गर्ने साझेदारी संस्थाका प्रतिनिधिबाट अनुभव आदानप्रदान, सिकाइ तथा परियोजनाका गतिविधिहरू सम्बन्धी समीक्षा भएकोमा आगामी दिनमा सहयोग तथा साझेदारीको क्षेत्रहरू सम्बन्धमा छलफल तथा अन्तर्क्रिया भएको थियो ।सोही अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रोजेक्ट साझेदारी संस्थाहरु British Embassy, UNOPS, Voluntary Service Overseas, International Alert र Care Nepal का प्रतिनिधिहरुलाई कृतज्ञताको चिनो प्रदान गर्नुभयो ।नेपाल सरकार र तत्कालीन Department for International Development (DFID) हाल Foreign, Commonwealth and Development Office (FCDO) बीच सन् २०१५ जनवरी ६ मा द्विपक्षीय सम्झौता भई अपराध तथा घरेलु हिंसा रोकथाम र मुख्य रुपमा लैंगिक हिंसा न्यूनीकरणमा नेपालको प्रयासलाई सहयोग पुर्‍याउने उद्देश्यले DFID को आर्थिक सहयोगमा Integrated Program for Strengthening Security & Justice (IPSSJ) परियोजना संचालन भएको थियो । IPSSJ परियोजना अन्तर्गत नेपाल प्रहरीमा Modernization & Improvement of Policing Project (MIPP) कार्यक्रम सन् २०१५ देखि २०२१ डिसेम्बर ३१ सम्म संचालन भएको थियो । परियोजनाको लक्ष्य नेपालमा कानूनी शासन प्रणालीमा सुधार गर्नु रहेको थियो । उक्त परियोजना अन्तर्गत सम्पन्न भएका प्रमुख उपलब्धीहरुमा ७० वटा भौतिक संरचना निर्माण कार्य सम्पन्न, क्षमता अभिवृद्धि गर्न विभिन्न उन्नत तालिमहरु संचालन, Automated Fingerprint Information System (AFIS) प्रणाली ८४ वटा जडान, अपराधसम्बन्धी Database सफ्टवेयर National Crime Information Centre(NCIC) स्थापना तथा संचालन, नेपाल प्रहरी अस्पतालमा अक्सिजन प्लान्ट स्थापना, सामुदायिक अंकपत्र  सम्बन्धी म्यानुयल निर्माण तथा १ सय जना प्रहरी अधिकृतहरू प्रशिक्षित, MIPP परियोजनाको सहयोगमा विभिन्न म्यानुअल, पाठ्यक्रम र अन्य Knowledge Product निर्माण, विभिन्न चार विषयमा अनुसन्धान भई प्रतिवेदन प्राप्त तथा सिन्धुपाल्चोक, दैलेख, मोरङ, कंचनपुर, बर्दिया, सिरहा, बागलुङ र काठमाडौं गरी ८ वटा जिल्लाहरूमा मनोसामाजिक विमर्शकर्ताहरु नियुक्त गरी सेवा प्रवाह लगायत रहेका छन् ।   बैठकमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायब महानिरीक्षकहरू, प्रहरी वरिष्ठ अधिकृतहरुको साथै साझेदारी संस्थाका प्रमुख तथा प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो ।

राज्यले सुम्पिएको दायित्वलाई इमानदारीपूर्वक निर्वाह गर्नुस् - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०९-१३

झापा, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले राज्यले सुम्पिएको दायित्वलाई प्रहरी कर्मचारीहरूले इमानदारीपूर्वक निर्वाह गर्नुपर्ने बताउनुभएको छ ।जिल्ला प्रहरी कार्यालय झापाको मंगलबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले हरेक प्रहरी कर्मचारीले आपसमा भाइचारा सम्बन्धको विकास गर्नुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरूले आ-आफ्नो दायित्व कुशलतापूर्वक निर्वाह गरेको खण्डमा संगठनको छवि उच्च हुने उल्लेख गर्दै उहाँले भन्नुभयो, “संगठनको छवि प्रहरीले गर्ने काममा निर्भर गर्दछ । जति राम्रो काम गर्‍यो त्यति संगठनको छवि राम्रो हुन्छ ।”प्रहरी महानिरीक्षक थापा क्षेत्रीले महिला बालबालिका तथा जेष्ठ नागरिकहरूलाई केन्द्रविन्दुमा राखेर काम गर्न निर्देशन दिँदै प्रहरीसँग सम्बन्धित हरेक कामको सुनुवाई राम्रोसँग गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी कर्मचारीले आफ्नो कार्यालय र परिवारलाई सँगसँगै व्यवस्थापन गर्नुपर्ने चर्चा गर्दै उहाँले भन्नुभयो, “जसले परिवारलाई राम्रो व्यवस्थापन गर्न सक्छ उसले कार्यालयको व्यवस्थापन पनि राम्रो गर्न सक्छ ।” प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सीमावर्ती क्षेत्रमा हुने अपराध नियन्त्रणमा केन्द्रीत भई काम गर्नुपर्ने उल्लेख गर्दै हिरासतमा भएका थुनुवाहरूको सुरक्षामा समेत ध्यान दिनुपर्ने बताउनुभयो । सम्पूर्ण प्रहरी कर्मचारीहरूबाट पूर्ण व्यावसायिकताको अपेक्षा गरिएको उहाँले उल्लेख गर्नुभयो ।उक्त अवसरमा १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसी, प्रहरी प्रधान कार्यालयका प्रहरी नायव महानिरीक्षक ईश्वरबाबु कार्कीको साथै संघीय प्रहरी इकाई कार्यालय धरान र १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीका कार्यालय प्रमुखहरूको समेत उपस्थिति रहेको थियो । 

प्रहरी कर्मचारीहरू आफ्नो पेशाप्रति गौरवान्वित हुन आवश्यक - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०९-१३

मोरङप्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नो पेशाप्रति सबै प्रहरी कर्मचारीहरु गौरवान्वित हुन आवश्यक रहेको बताउनु भएको छ ।जिल्ला प्रहरी कार्यालय मोरङको सोमबार निरीक्षण भ्रमण पश्चात प्रहरी कर्मचारीहरुलाई निर्देशन दिंदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । निरीक्षण भ्रमणको क्रममा उहाँले प्रहरी सेवा लिन आएका केही सेवाग्राहीहरुसंग अन्तरक्रिया समेत गर्नुभएको थियो ।निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुको आचार संहिता सम्बन्धी कार्यादेश, २०७७ को अक्षरस पालना गर्दै नागरिकमैत्री प्रहरीको अवधारणा अनुसार हरेक क्षेत्रका व्यक्तित्वहरुसंग समन्वय गरी नागरिकलाई छिटो छरितो एवं पारदर्शी प्रहरी सेवा उपलब्ध गराउने कार्यमा दत्तचित्त भएर लागि पर्नुपर्नेमा जोड दिनुभयो ।  शून्य सहनशिलताको अक्षरस पालना गर्दै विविध जनचेतनामूलक कार्यक्रमहरु संचालन गरी अनुसन्धान पद्धतीलाई प्रविधिमैत्री बनाउँदै प्रमाण र परिणाममूखी अनुसन्धान पद्धतीबाट आम नागरिकलाई प्रत्याभूत हुने गरी सुरक्षा व्यवस्था मिलाउन पर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले विविध अपराधिक घटनाहरु नियन्त्रणमा बहुआयामिक तरिकाबाट कार्य गर्दै थप सशक्त रुपमा काम कारवाही गर्न निर्देशन दिनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले फरार अपराधीहरुको खोजतलास र पक्राउ गर्न, पुराना पेण्डिङ अपराधका मुद्दाहरुलाई प्राथमिकतामा राखी फर्छौट गर्न र हिरासत व्यवस्थापन, लागूऔषध ओसारपसार रोकथाम तथा नियन्त्रण गर्न र महिला तथा बालबालिका माथि हुने हरेक घटनालाई गम्भीरता पुर्वक लिई त्यसतर्फ विशेष ध्यान केन्द्रीत हुन समेत निर्देशन दिनुभयो । कुनै पनि नागरिकलाई बिना झंझट प्रहरी सेवा प्राप्त गर्ने वातावारण बनाउने, नागरिक सहायता कक्षलाई अझ प्रभावकारी बनाउन, कन्ट्रोलमा खटिने प्रहरी कर्मचारीहरुले नागरिकहरुसंग शिष्ट व्यवहार गर्नु पर्नेमा समेत उहाँले निर्देशन दिनुभयो । कोभिड-१९ को प्रभाव पुन दोहोरीन सक्नेतर्फ बिशेष ध्यान दिँदै उक्त महामारीको रोकथाम तथा नियन्त्रणको लागि बिशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत उहाँले उपस्थित प्रहरी कर्माचारीहरुलाई निर्देशन दिनुभयो । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जिल्ला सुरक्षा समितिका पदाधिकारीहरुसंग जिल्लाको समग्र सुरक्षा व्यवस्था र हालको अवस्थाको बारेमा छलफल तथा अन्तरक्रिया समेत गर्नुभएको थियो ।   

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित भवनहरू उद्‍घाटन
२०७८-०९-१२

सप्तरी, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले २ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर सम्पर्क कार्यालय राजविराजमा नवनिर्मित महिला आवास गृह, कक्षाकोठा तथा अतिथि गृह भवनहरूको सोमबार आयोजित एक कार्यक्रमबीच उद्‌घाटन गर्नुभयो । सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा विभिन्न क्षेत्रबाट सहयोग पुर्‍याउने इन्जिनियर तथा प्रहरी कर्मचारीहरूलाई प्रशंसापत्र वितरण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कार्यक्रममा उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिदै समाजसेवामा आवद्ध नेपाल प्रहरी संगठनमा आएर नागरिकको हरेक समस्या समाधानको लागि हर-हमेसा साथ र सहयोग गर्नुपर्ने बताउनुभयो । साथै उहाँले भवन निर्माण कार्यमा आ-आफ्नो क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो ।  कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने उक्त तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक केदार ढकालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । Modernization and Improvement of Policing Project (MIPP) परियोजना अन्तर्गत UNOPS को सहयोगमा करिब १५ करोड रुपैयाँको लागतमा उक्त भवनहरू नवनिर्माण गरिएको हो ।  कार्यक्रममा सप्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी, जिल्लास्थित सुरक्षा समितिका पदाधिकारीहरू, UNOPS बाट प्रोजेक्ट म्यानेजर कोमल कार्की, जिल्लास्थित स्थानीय तहका पदाधिकारीहरू र संचारकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित कार्यालय भवन उद्‍घाटन
२०७८-०८-२२

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालय परिसरभित्र नवनिर्मित कार्यालय भवन बुधबार आयोजित कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले उक्त भवन तथा कार्यालय कक्षहरुको निरीक्षण समेत गर्नुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने तुलसीभक्त कन्स्ट्रक्सन प्रालिका नवराज श्रेष्ठ तथा प्रहरी नायव उपरीक्षकद्वय सुन्दर लाखे र रोशन सारुलाई प्रशंसापत्र समेत प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नवनिर्मित भवन आधुनिक तथा प्रविधियुक्त भएको चर्चा गर्दै भवन निर्माणमा प्रत्यक्ष एवं अप्रत्यक्ष योगदान पुर्‍याउने व्यक्तिहरूप्रति आभार प्रकट गर्नुभयो । भवन प्राप्तीसँगै प्रहरीको कार्य सम्पादनमा पनि स्तर वृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नवनिर्मित कार्यालय भवनमा कार्यरत रहने प्रहरी कर्मचारीहरूले भवनको उपयोग हुनेगरी कार्यसम्पादन गर्नुका साथै त्यसको आवश्यक मर्मत सम्भार एवं जगेर्नाको लागि क्रियाशील रहन उहाँले निर्देशन दिनुभयो । कार्यक्रममा प्रहरी प्रधान कार्यालय भौतिक पूर्वाधार निर्देशनालयका प्रहरी उपरीक्षक ई. रामकुमार चौधरीले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै नेपाल प्रहरीको नियमित बजेटबाट निर्मित ४ तले उक्त भवन कूल १६ करोड १९ लाख ६३ हजार ६ सय ३० रुपैयाँ ९२ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिनुभयो । प्रहरी प्रधान कार्यालय परिसरलाई आधुनिक एवम् व्यवस्थित बनाउनुका साथै सुरक्षित सेवा प्रवाह गर्ने हेतूले थप भौतिक पूर्वाधारहरु निर्माण गरिएको हो । नियो क्लासिकल डिजाईन प्ल्याटफर्ममा आधारित रही तयार गरिएको उक्त भवन भूकम्प प्रतिरोधात्मक संरचनामा रहेको छ । नवनिर्मित भवनमा प्रहरी निरीक्षणालय, सवारी महाशाखा, संचार निर्देशनालय, अन्वेषण योजना तथा विकास निर्देशनालय, सुरक्षा सेवा व्यवस्थापन महाशाखा, प्रशासन महाशाखा लगायतका कार्यालयहरुबाट कार्य संचालन भइरहेको छ । उक्त कार्यालय भवनको वेसमेन्टमा २ वटा स्टोर रुमहरूको व्यवस्थापन सँगै दुई पाङ्ग्रे सवारी साधन पार्किङको व्यवस्था रहेको छ । वेसमेन्ट बाहेकको ४५ हजार ४ सय १३ वर्गफिटमा फैलिएको उक्त भवनमा कूल १ सय ४ वटा कार्यकक्षहरू, २० वटा शौचालय, ५ वटा चेन्जिङ रुम, ४ वटा स्टोर रुम, ११ वटा बैठक कक्ष र तालिम सञ्चालनको लागि २ वटा कक्षा कोठा रहेका छन् । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, राष्ट्रिय वाणिज्य बैंकका उच्च पदस्थ अधिकृत एवम्  वरिष्ठ प्रहरी अधिकृत तथा प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

निमित्त प्रहरी महानिरीक्षक निरज बहादुर शाहीबाट दर्ज्यानी चिन्ह सुशोभन
२०७८-०८-१०

काठमाडौं, निमित्त प्रहरी महानिरीक्षक प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका ८ जना प्रहरी अधिकृतहरूलाई शुक्रबार प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रमबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको । दर्ज्यानी चिन्हबाट सुशोभित हुने प्रहरी अधिकृतहरूमा प्रहरी उपरीक्षकहरू जनक बहादुर शाही, रामेश्वर कार्की, चक्रराज जोशी, अर्जुन प्रसाद तिमिल्सिना, रामहरि पाण्डे, लक्ष्मीराज अधिकारी, रमेश पण्डित र अर्जुन रानाभाट रहनुभएको छ । नेपाल सरकार गृह मन्त्रालय सचिवस्तरको २०७८ मंसिर ९ गतेको निर्णयअनुसार उहाँहरू प्रहरी नायव उपरीक्षकबाट प्रहरी उपरीक्षक पदमा पदोन्नति हुनुभएको हो ।   उक्त अवसरमा निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको गहन एवम् महत्वपूर्ण जिम्मेवारी सम्हाल्ने पदमा पदोन्नति भएकोमा बधाई दिँदै नयाँ जिम्मेवारी तथा पदीय गरिमालाई कायम राख्न उच्च मनोबलका साथ कार्यसम्पादन गर्नुपर्ने बताउनुभयो । पदोन्नतिसँगै प्राप्त जिम्मेवारीलाई नेपाल सरकार र प्रहरी संगठनको नीति निर्देशन अनुसार बहन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।  निमित्त प्रहरी महानिरीक्षक शाहीले संगठनको श्रीवृद्धिका लागि सबै प्रहरी कर्मचारीहरुको भूमिका महत्वपूर्ण हुने चर्चा गर्दै कानूनले उपलब्ध गरेको अधिकार र दायित्वलाई कायम राखी नागरिकको सेवामा समर्पित हुन प्रहरी अधिकृतहरुलाई निर्देशन समेत दिनुभयो ।  उक्त अवसरमा पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तब्य व्यक्त गर्दै प्रहरी उपरीक्षक जनक बहादुर शाहीले नयाँ जिम्मेवारीलाई व्यावसायिक निष्ठा र इमानदारिताका साथ उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।  कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेल, प्रहरी नायव महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन टर्की प्रस्थान
२०७८-०८-०५

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोल महासचिवालयको आयोजनामा टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म संचालन हुने इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार त्यसतर्फ प्रस्थान गर्नुभएको छ । National Central Bureau (NCB) नेपालका प्रमुख समेत रहनुभएका प्रहरी महानिरीक्षक थापा क्षेत्रीसँग महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।    उहाँहरुलाई प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही, प्रहरी नायव महानिरीक्षक लगायत वरिष्ठ प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा शुभकामना सहित हार्दिक विदाई गर्नुभयो ।१९४ इन्टरपोल सदस्य राष्ट्रका Head of NCB तथा प्रतिनिधिहरू सहभागी हुने महासभामा सदस्य राष्ट्रहरुको वार्षिक प्रतिबेदन पेश हुने, इन्टरपोल अध्यक्ष तथा कार्यकारिणी समितिका विभिन्न पदाधिकारीहरुको निर्वाचन हुने, नयाँ सदस्यताका लागि आवेदन गर्ने देशका लागि मतदानद्वारा निर्वाचन हुने र विभिन्न देशबीच विविध विषयमा द्विपक्षीय छलफल तथा निर्णय हुने लगायतका कार्यक्रम रहेका छन् । यस वर्ष महासभामा इन्टरपोल सदस्यताको लागि दि फेडेरेटेट स्टेट्स अफ माईक्रोनेसियाले आवेदन गरेको छ ।महासभामा इन्टरपोल तथ्याङ्क प्रशोधनको आवश्यकता, प्रहरी कार्य तथा प्रविधि, बजेट, संगठित अपराध, साइबर क्राइम, आतंकवाद, मानव बेचबिखन जस्ता अपराध लगायतका विविध विषयमा संकल्प प्रस्ताव प्रस्तुत हुने तथा प्रस्तुत प्रस्तावमा छलफल भई महासभाबाट पारित हुने कार्यक्रम हुनेछन ।साथै नेपालको प्रतिनिधि मण्डलले टर्की, यूएई, दंक्षिण कोरिया र बंगलादेशसँग समेत विविध विषयमा छलफल गर्ने कार्यक्रम रहेको छ ।   प्रहरी महानिरीक्षक थापा क्षेत्रीको अनुपस्थितिमा प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्नु हुनेछ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित बहुउद्देश्यीय भवन उद्‍घाटन
२०७८-०८-०२

रुपन्देही, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवल रुपन्देहीको परिसरमा नवनिर्मित बहुउद्देश्यीय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । उहाँले उक्त भवनको निरीक्षण गर्नुका साथै सोही परिसरभित्र वृक्षरोपण समेत गर्नुभयो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्माण कार्यमा सहयोग प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग पुर्‍याउने सम्पूर्ण महानुभावहरूलाई धन्यवाद दिनुहुँदै भवनको समुचित प्रयोग गर्न उपयुक्त कार्यबिधि निर्माण गरी संरक्षण एवं सम्वर्दन गर्नुपर्ने उल्लेख गर्नुभयो ।सीमित साधन स्रोतका बाबजुद उत्कृष्ट प्रहरी सेवा प्रदान गर्नुपर्ने बताउँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, ‘नागरिकलाई प्रदान गर्ने सेवामा कुनैपनि सम्झौता गर्न सक्दैनौ । प्रहरीले जनताप्रति देखाउने व्यवहार र प्रहरी सेवामा सुधार गर्दै क्रियाशिल हुनुपर्छ ।’ महिला तथा बालबालिका विरुद्ध हुने हिंसामा शून्य सहनशिलता अपनाई पीडित महिला एवं बालबालिकाहरूले पाउनुपर्ने सद्‌भावपूर्ण व्यवहार एवं परामर्श र पीडकहरूले पाउनुपर्ने सजायको निम्ती कटिबद्ध हुन उपस्थित प्रहरी कर्मचारीहरुलाई उहाँले निर्देशन समेत दिनुभयो । लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी नायव महानिरीक्षक मुकुन्द राज आचार्यले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा FCDO (Foreign, Commonwealth and Development Office), UK का प्रतिनिधि डा. करुणा वन्त र प्रोजेक्ट मेनेजर कोमल कार्कीले मन्तव्य व्यक्त गर्नुभएको थियो । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र बुटवलका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक राम दत्त जोशीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । FCDO को सहयोगमा UNOPS अन्तर्गत Modernization and Improvement of Policing Project (MIPP) आयोजनाबाट कूल ७ करोड ७६ लाख ६३ हजार २ सय ३२ रुपैयाँ ८१ पैसा लागतमा उक्त भवन निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षकहरू, लुम्बिनी प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।यसैगरी प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले संघीय प्रहरी ईकाई कार्यालय भैरहवा रुपन्देहीमा बिहीबार आयोजित कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालय मातहतका लुम्बिनी प्रदेश तालिम केन्द्र बुटवल, लुम्बिनी प्रदेश ट्राफिक कार्यालय बुटवल, दङ्गा नियन्त्रण प्रहरी गण सुनवल नवलपरासी, जिल्ला प्रहरी कार्यालय रुपन्देही, जिल्ला प्रहरी कार्यालय नवलपरासी(पश्चिम), जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुखहरु तथा मातहत विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई समसामहिक बिषयमा निर्देशन समेत दिनुभयो । निर्देशनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले समाजमा हुने आपराधिक कृयाकलाप लगायत महिला तथा बालबालिका विरुद्ध हुने अपराधमा थप संवेदनशील भई जिम्मेवारी वहन गर्नुपर्ने बताउनुभयो । कानुन कार्यान्वयनको सिलसिलामा कुनैपनि सम्झौता गर्न नहुने बताउँदै उहाँले संगठनले लिएको नीति एवं कार्ययोजनाप्रति कटिबद्ध रहन समेत बताउनुभयो । 

कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी काम गर्नुपर्ने - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०७-२३

चितवन,  प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले आफ्नो आचरण व्यवहारमा नम्रता देखाउनुपर्ने तर कानुन कार्यान्वयनमा कुनै सम्झौता नगरी नागरिकमैत्री व्यवहार प्रदर्शन गरी काम गर्नुपर्ने बताउनुभएको छ ।  नेपाल प्रहरी शिक्षालय भरतपुरमा संचालित विभिन्न उन्नत तथा आधारभूत तालिममा तालिमरत प्रशिक्षार्थी, प्रशिक्षक वर्ग साथै चितवन जिल्लास्थित विभिन्न प्रहरी ईकाईका प्रमुखहरुलाई सोही शिक्षालयमा मंगलबार निर्देशन सम्बोधनको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शिक्षालयमा संचालित विभिन्न तालिममा सहभागी प्रहरी कर्मचारीहरुलाई नेपाल प्रहरी जस्तो गर्व गर्न लायक सेवामूलक पेशा छनौट गरेकोमा बधाई तथा धन्यवाद दिँदै नेपाल प्रहरी सेवाको निष्ठा र मर्यादालाई मनन गरी बद्लिदो परिवेश तथा चुनौतीलाई सामना गर्न आफ्ना जिम्मेवारी र उत्तरदायित्वप्रति कटिवद्ध भई निष्पक्षरुपमा नागरिक सेवामा कटिबद्ध हुन निर्देशन दिनुभयो । प्रशिक्षण प्रदायक संस्थाहरुमा कार्यरत प्रशिक्षकवर्गले नव आगन्तुक प्रशिक्षार्थी प्रहरी कर्मचारीहरुमा निहित व्यक्तिगत सिर्जनशिलतालाई यथावत रहन दिनुपर्ने तथा असल प्रशिक्षकले मात्र असल जनशक्ति उत्पादन गर्न सक्ने हुँदा प्रत्येक प्रशिक्षक आफैमा आदर्श हुनुपर्ने उहाँले बताउनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले कर्तव्यपालनाको सिलसिलामा आउन सक्ने विभिन्न आरोह अवरोहहरुलाई पेशागत निष्ठा र धर्म अनुसार सामना गर्दै व्यक्तिगत आचरण र व्यवहारमा समय सापेक्ष सुधार गरी आफ्नो तह अनुसारको जीवन जिउने शैली अनुशरण गरेमा मात्र प्रहरी पेशालाई गौरवशाली बनाउन सकिने बताउनुभयो । प्रत्येक प्रहरी कर्मचारीहरुले पारिवारिक जीवन र पेशागत जीवनमा सामञ्जस्यता मिलाई प्रभावकारी र नतिजामूलक कार्यसम्पादन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी व्यवहार निष्पक्ष र यथोचित हुनुपर्नेमा जोड दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले भन्नुभयो, “प्रहरी पोशाक र पेशाप्रति स्वाभिमानी हुन सिक्नुस् ।” हरेक काम कारवाहीमा पारदर्शी भई शून्य सहनशिलताको नीति अवलम्बन गर्नुपर्ने उल्लेख गर्दै प्रहरी संगठनको नीति विपरित काम गर्ने जो कोही कारवाहीको भागिदार हुने उहाँले बताउनुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले नेपाल प्रहरी शिक्षालय भरतपुर परिसर, कार्यालय तथा आवस गृहको निरीक्षण समेत गर्नुभएको थियो ।उक्त अवसरमा बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाशजंग कार्की, उक्त शिक्षालयका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक बिष्णु कुमार केसी लगायत अन्य प्रहरी अधिकृतहरु समेतको उपस्थिति रहेको थियो । 

अपराध निर्मूल गर्न विशेष योजना तर्जुमा गरी काम गर्नुपर्ने - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०७-२२

सर्लाही,     प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले सीमा नाकामा हुने अपराध, लागूऔषधको अवैध कारोबार लगायतका अपराध निर्मूल गर्नका लागि प्रहरी कर्मचारीहरुले विशेष प्राथमिकताका साथ आवश्यक कार्ययोजना तर्जुमा गरी काम गर्नुपर्ने बताउनुभएको छ ।     जिल्ला प्रहरी कार्यालय सर्लाही तथा मातहत कार्यालयका कार्यालय प्रमुख तथा कार्यरत प्रहरी अधिकृत एवं जवानहरुलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीमा सोमबार निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।    प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीले गरेका हरेक क्रियाकलाप प्रहरी संगठनसँग जोडिने हुनाले प्रहरी कर्मचारीहरुले आफ्नो कर्तव्य सदैव पारदर्शी रुपमा बहन गर्नुपर्ने उल्लेख गर्नुभयो । प्रहरी जीवन सार्वजनिक जीवन हो भन्नुहुँदै आफ्नो आचरण र व्यवहारमा अझै सुधार ल्याउन, नम्र भाषा प्रयोग गर्न र खुसी साथ विना भेदभाव नागरिकलाई समान एवं प्रविधिमैत्री सेवा प्रदान गर्न उहाँले निर्देशन दिनुभयो । महिला, बालबालिका र जेष्ठ नागरिकलाई उच्च प्राथमिकतामा राखी सेवा दिन उहाँले आग्रह समेत गर्नुभयो ।     प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीहरुले अपराध नियन्त्रण तथा सफल अनुसन्धान, तस्करी तथा सीमा अपराध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण लगायत जनसरोकारका कार्य सञ्चालनको क्रममा स्थानीय प्रशासन, सरकारी वकिलको कार्यालय, अन्य सुरक्षा निकायहरु, स्थानीय तह लगायत सरोकारवाला निकायहरुसँग समन्वय राखी काम गर्नुपर्ने बताउनुभयो । आन्तरिक मनोबल उच्च राख्न हरेक प्रहरी कार्यालयले प्रहरी नियमावलीमा भएका व्यवस्था लागू गर्न र आफ्ना परिवारलाई पनि महत्व दिनेतर्फ ध्यान दिनुपर्नेमा उहाँले जोड दिनुभयो ।     उक्त अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले जिल्ला प्रहरी कार्यालय सर्लाही परिसरको निरीक्षण समेत गर्नुभएको थियो ।    कार्यक्रममा २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी वरिष्ठ उपरीक्षक मसाउद आलम खाँ, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक कृष्ण प्रसाईं लगायत प्रहरी अधिकृत तथा जवानहरुको उपस्थिति रहेको थियो ।

प्रहरीबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्दछ - प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०७-१२

सोलुखुम्बु, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले समाजमा शान्ति सुरक्षा बहाल राख्दै नागरिकको वैयक्तिक अधिकारको संरक्षण र प्रवर्द्धन गरी समुन्नत समाज निर्माणको लागि दत्तचित्त रही आम नेपालीको आशा र भरोसाको केन्द्रको रुपमा रहेको नेपाल प्रहरी संगठनबाट सम्पादित कार्य न्यायोचित, कानुन सम्मत र विवेकपूर्ण हुनुपर्ने बताउनुभएको छ ।  ईलाका प्रहरी कार्यालय नाम्चे सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय, आवास तथा मेस भवनको शुक्रबार उद्‍घाटन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनुभएको हो । उद्‍घाटन पश्चात उहाँले पहिलो पटक सगरमाथा आरोहण गर्ने आरोहण दलका सदस्य ९४ वर्षीय कान्छा शेर्पालाई अभिनन्दन गर्नुको साथै प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो ।  भवन उद्‍घाटनका अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरीको कार्य प्रकृतिको संवेदनशीलताले गर्दा प्रहरी भवनहरूको फरक आवश्यकता र सुरक्षा मापदण्ड हुने र नागरिकको सुरक्षाका खातिर चुनौतीहरूको सामना गर्दै हर प्रहर ड्यूटिमा तैनाथ रहने प्रहरी कर्मचारीहरूलाई सुविधा सम्पन्न कार्यालय र आवासको व्यवस्था गर्ने कार्यलाई संगठनले उच्च प्राथमिकतामा राखेको बताउनुभयो । भौतिक संरचनाहरू व्यवस्थित र गुणस्तरीय हुँदा त्यसले कर्मचारीको स्वास्थ्य र मनोबलमा सकारात्मक प्रभाव पर्ने र स्वस्थ कार्य वातावरण निर्माण भई सेवा प्रवाहलाई गुणस्तरीय एवं प्रभावकारी बनाउन सहयोग पुग्ने उल्लेख गर्दै उहाँले भन्नुभयो, “नव निर्मित भवनको उपभोगबाट यहाँ कार्यरत प्रहरीहरूको बसाइँ सहज र व्यवस्थित हुने तथा सेवाग्राहीहरूको सेवा प्राप्तिमा समेत सहजीकरण हुने विश्वास लिएको छु ।” प्रहरी महानिरीक्षक थापा क्षेत्रीले देशी विदेशी हरेक मानव जातिको लागि आकर्षणको केन्द्र रहेको सगरमाथा क्षेत्रमा हुन सक्ने अपराधहरू रोकथामको लागि नागरिक र प्रहरीबीचको समन्वय र सहकार्य अत्यन्त महत्वपूर्ण रहने चर्चा गर्दै निकुञ्जबाट हुन सक्ने अवैध चोरी निकासी पैठारीको विषयमा पनि उत्तिकै सजग र सचेत रहनु पर्नेमा जोड दिनुभयो । नव निर्मित भवन नेपाल प्रहरीको मात्र नभई स्थानीय नागरिकको समेत सम्पत्ति रहेकोले आम नागरिकबाट सदैव सद्‌भाव र सहयोग प्राप्त भइरहने विश्वास उहाँले व्यक्त  गर्नुभयो ।  समारोहमा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले  भौतिक सुबिधाले प्रहरी कर्मचारीको थप मनोवल बढ्ने र कार्यक्षेत्रमा समेत यसले अनुकूल वातावरण सिर्जना हुने विश्वास व्यक्त गर्नुभयो ।  सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको उक्त समारोहमा सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष सोनाम ग्यालजिन शेर्पालेसमेत मन्तव्य व्यक्त गर्नुभएको थियो ।  जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । १\१ तले ३ वटै भवन नेपाल सरकार राष्ट्रिय पुन: निर्माण प्राधिकरणको आर्थिक सहयोगमा कूल २ करोड ४ लाख ४७ हजार ८ सय ५५ रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो ।  समारोहमा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, संचारकर्मी, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट नवनिर्मित कार्यालय तथा आवास भवन उद्‍घाटन
२०७८-०७-१०

सोलुखुम्बु, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ईलाका प्रहरी कार्यालय लुक्ला सोलुखुम्बु परिसरमा नवनिर्मित कार्यालय तथा आवास भवनको बुधबार आयोजित एक कार्यक्रमबीच उद्‍घाटन गर्नुभयो । साथै उहाँले प्रहरी कार्यमा सहयोग गर्ने विभिन्न महानुभावहरूलाई कदरपत्र तथा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीहरूलाई पुरस्कार समेत प्रदान गर्नुभयो । उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा सबैको साझा जिम्मेवारी रहेको उल्लेख गर्दै नयाँ भवनसँगै कार्यरत प्रहरी कर्मचारीहरुमा नयाँ सोच र धारणा आउनुपर्ने बताउनुभयो । प्रहरी कर्मचारीहरूको व्यवहार तथा बोलीवचन सदैव उत्कृष्ट हुनुपर्नेमा उहाँले जोड दिनुभयो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निष्पक्ष र सेवामुखी भावनाका साथ आफ्नो आचरण र व्यवहारमा शुद्धता कायम गरी क्रियाशील रहँदै जनसमुदायको सेवा र सुरक्षामा गम्भीर भएर काम गर्न प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो । लुक्लावासीसँग साक्षात्कार गर्न पाउँदा आफूलाई गौरव महशुस भएको उल्लेख गर्दै उहाँले जनआकांक्षा, प्रविधिमैत्री प्रहरी सेवा, जनभावनाको कदर, संसारभरीबाट आउने पर्यटकहरूको सुरक्षाप्रति प्रहरी कर्मचारीहरू विशेष सजग र संवेदनशील हुनुपर्ने बताउनुभयो । कार्यक्रममा धन्यवाद ज्ञापन गर्दै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बिसीले सुबिधा सम्पन्न भवन प्राप्त भएसँगै कार्यरत प्रहरी कर्मचारीहरू नागरिक सेवामा अझ प्रभावकारी ढंगले अगाडि बढ्ने विश्वास व्यक्त गर्नुभयो । उक्त कार्यक्रममा सोलुखुम्बु जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । साथै खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष आङ फुर्वा शेर्पाले मन्तव्य व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न अहोरात्र खटिने प्रहरी र स्थानीयबीच सहकार्य गर्न वडावासी प्रतिवद्ध रहेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रमुख प्रहरी नायव उपरीक्षक कवित कटवालले स्वागत मन्तव्य व्यक्त गर्नुभएको उक्त कार्यक्रममा प्रहरी नायव उपरीक्षक ई.अनिल रानाले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साढे २ तले उक्त भवन नेपाल सरकारको नियमित बजेटबाट कूल २ करोड ६६ लाख ३३ हजार रुपैयाँको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । कार्यक्रममा १ नम्बर प्रदेशस्थित प्रहरी अधिकृतहरू, स्थानीय जनप्रतिनिधिहरू, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरू, भद्रभलादमी एवं स्थानीयवासीहरूको उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट मौलो पूजा सम्पन्न
२०७८-०६-२८

काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नेपाल प्रहरीले परम्परागत रुपमा मनाउँदै आएको वडा दशैंका अवसरमा बिहीबार प्रहरी प्रधान कार्यालय सशस्त्र प्रहरी गण नम्बर १ नक्सालस्थित मौलोमा पूजाअर्चना तथा सङ्कल्प गर्नुभयो ।पूजाअर्चनाको क्रममा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले बली पूजा तथा निशानमा पञ्जा छाप समेत लगाउनु भयो । साथै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मौलो पूजाका अवसरमा विशेष कार्य गर्ने प्रहरी नायव निरीक्षक भवानी चन्दलाई पगरी तथा नगद पुरस्कार र प्रहरी जवान दुर्गा बहादुर सिंजालीलाई नगद पुरस्कार प्रदान गर्नुभयो ।सो अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु, वरिष्ठ प्रहरी अधिकृतहरु लगायत प्रहरी अधिकृतहरु समेतले मौलो परिक्रमा गर्नुभएको थियो ।पूजा बिसर्जनपछि मूलकोत हनुमानढोकाको लागि निशान प्रस्थान गराइएको थियो । साथै पुजारीबाट टीका तथा प्रसाद ग्रहण गरिएको थियो ।नेपाल प्रहरीको निशान रामदल पल्टनबाट आएको हो । जसमा दुई वटा निशान रहेका हुन्छन् । मूख्य निशानमा सूर्य र चन्द्रको बिचमा राम धनुष अंकित भएको हुन्छ भने सहायक निशानमा सूर्य र चन्द्र अंकित हुन्छ । नेपाल प्रहरीलाई राष्ट्र र नागरिकको शान्ति सुरक्षा अमन चयन कायम राख्‍ने जस्तो संवेदनशील एवं महत्वपूर्ण कार्यमा सफलता प्राप्तिका लागि शक्तिपिठ र ईष्‍ट देवताको प्रतीकका रुपमा निशान झण्डालाई लिईन्छ । संगठनको कार्य सम्पादनमा कुनै पनि किसिमको अनिष्ट नहोस् र सम्पूर्ण कार्यमा सफलता प्राप्‍त होस् भनि निशान झण्डालाई पूजा गर्ने परम्परा रही आएको छ । नेपाल प्रहरीले बिक्रम सम्बत २०११ सालमा निशान झण्डा प्राप्‍त गरे पश्चात हरेक वर्ष वडा दशैं र चैते दशैंमा निरन्तर रुपमा मौलो पूजा गर्दै आएको छ ।

चाडपर्वको समयमा थप चनाखो भई जिम्मेवारी वहन गर्नुपर्ने -प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री
२०७८-०६-२५

 काठमाडौं, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले नजिकिदै गरेको नेपालीहरुको महान चाडपर्व विजया दशमी, शुभदिपावली, छठ र नेपाल सम्वतको समयमा हुन सक्ने अपराधहरु र सवारी दुर्घटना न्यूनिकरणतर्फ कार्यालयका प्रमुखहरुले थप चनाखो भई आ-आफनो जिम्मेवारी उत्कृष्ट ढंगले वहन गर्नुपर्ने बताउनुभएको छ ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयबाट सोमबार भिडियो कन्फ्रेन्स मार्फत महानगरीय प्रहरी कार्यालय रानीपोखरी, ७ वटै प्रदेश प्रहरी कार्यालयहरु, नेपाल प्रहरी प्रदेश कार्यालयहरु, महानगरीय प्रहरी परिसरहरु र जिल्ला प्रहरी कार्यालयहरुका प्रमुखहरुलाई निर्देशन दिँदै उक्त कुरा बताउनुभएको हो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले चाडपर्वको समयमा जुवातास तथा मादकपदार्थ सेवनको कारण हुन सक्ने अपराधलाई नियन्त्रण गर्न विशेष योजना बनाई चाडपर्वलाई उत्साह र उमंगका साथ मनाउने वातावरण सिर्जना हुने गरी सुरक्षा नीति तर्जुमा गरी काम गर्नुपर्ने बताउनुभयो । कानून विरूद्धको कार्य गर्नेलाई यथाशीघ्र कानूनको दायरामा ल्याउन समेत उहाँले निर्देशन दिनुभयो । सवारी दुर्घटना न्यूनिकरण गर्न ट्राफिक प्रहरी र नागरिक समाजसँग समन्वय गरी सामुहिक रूपमा जनचेतनामूलक कार्यहरू संचालन गर्नुको साथै  प्रहरी हेल्प डेस्क समेतलाई क्रियाशील गराई आवश्यक पहल गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।हिरासत कक्ष भित्रको सुरक्षामा कार्यालय प्रमुख आफैं चनाखो भई हिरासत कक्ष व्यवस्थापनमा थप सजक र सचेत भई तोकिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने उल्लेख गर्दै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले सिमा नाकामा हुने विभिन्न चोरी, तस्करी तथा लुटपाट जस्ता घटनाहरूमा सिमापार रहेका सुरक्षाकर्मीहरूसँग समन्वयकारी भूमिका निर्वाह गरी त्यस्ता घटनाप्रति कठोर भएर लाग्न निर्देशन दिनुभयो । समाजमा शान्ति सुरक्षा प्रत्याभूत गर्न सबै सुरक्षा निकायहरू बिच संयुक्त रुपमा समन्वय र समझदारी हुनुपर्ने चर्चा गर्दै उहाँले ऐन कानुनको परिधिभित्र रही मानवअधिकारको सम्मान गरी आ-आफ्नो काम कारवाही अगाडि बढाउनुपर्ने बताउनुभयो । प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामा समेतको उपस्थिति रहेको भिडियो कन्फ्रेन्स कार्यक्रममा उक्त सबै प्रहरी कार्यालयहरुका कार्यालय प्रमुख तथा प्रतिनिधिहरूको भर्चुअल उपस्थिति रहेको थियो ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीद्वारा मास्क वितरण
२०७८-०६-१७

काठमाडौं, २०७८ असोज १७ गते प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले ६६औं प्रहरी दिवस २०७८ को अवसरमा काठमाडौं गौशाला चोकमा आइतबार मास्क वितरण गर्नुभएको छ । प्रहरी दिवसको अवसरमा ‘तपाइको मास्क खोई कार्यक्रम’ अन्तर्गत उक्त चोकमा स्थानीयवासी, सवारी साधन तथा पैदल ओहोरदोहोर गर्ने महानुभावहरूलाई प्रहरी महानिरीक्षक थापा क्षेत्रीको साथै उपस्थित वरिष्ठ प्रहरी अधिकृतहरूले मास्क तथा जनचेतनामूलक पर्चा वितरण गर्नुभएको हो ।उक्त अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले मास्क वितरण गर्दै प्रहरीको हरेक काम कारबाहीमा आम नागरिकको उपस्थिति नेपाल प्रहरीलाई प्रेरणादायी स्रोतको रुपमा रहेको बताउनुभयो । नेपालीहरूको महान पर्व वडादशै र तिहारको पूर्वसन्ध्यामा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले भन्नुभयो, “यो दशैं उल्लास तर सतर्कता सहित, सामिप्यता तर भौतिक दूरी कायम गर्दै मास्क सहित मनाउन अनुरोध गर्दछु ।”साथै सोही कार्यक्रम अन्तर्गत प्रहरी अतिरिक्त महानिरीक्षक हरि बहादुर पालले काठामाडौं सुन्धारा, प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीले काठमाडौं बालाजु माछापोखरी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक विश्वराज पोखरेलले काठमाडौं कलकी चोक, प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल बहादुर थापाले काठमाडौं कोटेश्वर र प्रहरी नायव महानिरीक्षक राजेश कुमार लाल कर्णले ललितपुर सातदोबाटो चोकमा मास्क वितरण गर्नुभएको छ । उक्त अवसरमा प्रहरी अतिरिक्त महानिरीक्षकहरूको साथै उपस्थित अन्य प्रहरी वरिष्ठ अधिकृतहरु समेतले मास्क वितरण गर्नुभएको थियो ।महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ र उपत्यकास्थित सामुदायिक प्रहरी सेवा केन्द्रहरुको समन्वयमा उक्त कार्यक्रम आयोजना गरी सम्पन्न गरिएको हो ।कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीले गत बैशाख ६ गतदेखि ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम संचालन गर्दै आएकोमा आजको कार्यक्रम अन्तर्गत कलंकीमा ५ हजार, ललितपुर सातदोबाटोमा १ हजार ५ सय, सुन्धारामा १ हजार ५ सय, कोटेश्वरमा १ हजार २ सय, गौशालामा २ सय र बालाजुमा ३ सय थान मास्क वितरण गरिएको छ ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीबाट वृक्षारोपण
२०७८-०६-१७

काठमाडौँ, २०७८ असोज १७ गते  ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले महानगरीय सशस्त्र प्रहरी गण नम्बर २ महाराजगंज परिसरमा आइतबार वृक्षरोपण गर्नुभएको छ ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीका साथै प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत प्रहरी अधिकृत तथा जवानहरु समेतले प्रहरी दिवसको अवसरमा ‘एक प्रहरी एक विरुवा’ कार्यक्रम अन्तर्गत वृक्षरोपण गर्नुभएको हो ।महानगरीय प्रहरी कार्यालय रानीपोखरीको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एभोकाडो, सुन्तला, कागती, अम्बा, तेजपत्ता, भोगटे, लप्सी र सिरिस लगायत विभिन्न जातका ७१ वटा विरुवाहरु रोपिएको छ ।

अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुसँग शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम सम्पन्न
२०७८-०६-१५

काठमाडौं, २०७८ असोज १५ गते ६६औं प्रहरी दिवस २०७८ को अवसरमा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु र वरिष्ठ प्रहरी अधिकृतहरू बिच शुभकामना आदान प्रदान तथा अन्तरसंवाद कार्यक्रम प्रहरी प्रधान कार्यालयमा शुक्रबार सम्पन्न भएको छ ।कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले अवकाश प्राप्त अग्रज प्रहरी महानिरीक्षकज्यूहरु संगठन प्रमुखको रुपमा रहँदा संगठनको हित एवं श्रीवृद्धिका लागि पुर्‍याउनुभएको योगदानको चर्चा गर्नुभयो । अन्तरसंवादको क्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकज्यूहरुबाट प्राप्त अनुभव, राय, सुझाव एवं निर्देशनहरु संगठनको नीति निर्माण तथा सुदृढिकरणमा अत्यन्त उपयोगी हुने विश्वास उहाँले व्यक्त गर्नुभयो ।प्रहरी महानिरीक्षक थापा क्षेत्रीले संगठन सुदृढिकरण एवं प्रणालीगत विकासको लागि हाल विभिन्न कार्ययोजना तय गरी लागू गरिएको चर्चा गर्दै मातहत कर्मचारीहरुको मनोबल उच्च राख्न संगठन क्रियाशिल रहेको बताउनुभयो ।सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुलाई कृतज्ञताको चिनो समेत प्रदान गर्नुभयो ।कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षक मोतिलाल बोहराले अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै अन्तरसंवाद कार्यक्रम संगठनको हितको लागि अत्यन्तै फलदायी हुने चर्चा गर्नुभयो । समाजको कार्यशैली र व्यवहारमा सुधार भएमा प्रहरीको व्यवहार एवं कार्यशैलीमा समेत स्वयं सुधार देखिने बताउँदै अवकाश प्राप्त प्रहरी महानिरीक्षक बोहराले प्रहरीले जनसहभागिता कार्यक्रमलाई अभिवृद्धि गर्दै अझ प्रभावकारी रुपमा लैजानुपर्नेमा जोड दिनुभयो । अहिलेको अवस्थामा समाजमा शान्ति सुरक्षा कायम राख्न प्रहरीले कठिनाई तथा चुनौतिको सामना गर्नुपरेको उल्लेख गर्दै मातहत प्रहरी कर्माचारीको मनोबल उच्च राख्न उनीहरुको वृत्तिविकास, हकहित लगायतका विषयमा संगठन केन्द्रीत हुनुपर्ने धारणा उहाँले व्यक्त गर्नुभयो ।अन्तरसंवादको क्रममा उपस्थित अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरूले प्रहरी संगठन सम्बन्धी समसामयिक विषयमा आ-आफ्नो धारणा व्यक्त गर्नुका साथै अनुभव एवं सुझावहरू प्रस्तुत गर्नुभएको थियो ।कार्यक्रममा प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास निर्देशनालयका प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर बाबु कार्कीले वर्तमान कानूनी व्यवस्था, प्रहरी कर्मचारी समायोजनको अवस्था र संगठनको संरचना सम्बन्धी प्रस्तुतीकरण गर्नुभएको थियो ।अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु प्रहरी प्रधान कार्यालय प्रवेश गर्नुहुँदा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री, प्रहरी अतिरिक्त महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले उहाँहरूलाई हार्दिक स्वागत गर्नुभएको थियो । सो अवसरमा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरुले प्रहरी प्रधान कार्यालयस्थित केन्द्रीय पोलिग्राफ शाखा, डाटा सेन्टर, केन्द्रीय फरेन्सिक ल्याब, केन्द्रीय हेल्थ डेक्स र नवनिर्मित भवनहरू समेतको अवलोकन गर्नुभएको थियो ।कार्यक्रममा अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरु मोतिलाल बोहरा, श्याम भक्त थापा, ओम बिक्रम राणा, हेम बहादुर गुरूङ, रमेश चन्द ठकुरी, रविन्द्र प्रताप शाह, कुबेर सिंह राना, उपेन्द्र कान्त अर्याल, सर्वेन्द्र खनाल र ठाकुर प्रसाद ज्ञवाली, प्रहरी अतिरिक्त महानिरीक्षकहरु, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ अधिकृतहरुको उपस्थिति रहेको थियो ।